Wednesday, July 27, 2016

विविध सांस्कृतिको एक व्यवस्थापन विधीः सिंगापुरको सामाजिक सिष्टाचार संहिता (विक्रम सुब्बा)

१। तथ्यहरूः सिंगापुरको जनसंख्या ५.३१ मिलियन (२०१२) रहेकोछ भने नेपालजस्तै बहु-सांस्कृतिक, बहु-धार्मिक, बहु-भाषिक र बहु जातिय मुलुक पनि हो । यहाँ ७४.१% चिनीया; १३.३% मले; आप्रवासी भारतीय ९.१% रहेकाछन् । मले जातिहरूलाई ‘जनजाति’को पहिचान दिईएकोछ । कामकाजी भाषाको रुपमा अंग्रेजीका साथै चिनीया (मेण्डरिन) र तमील भाषा समेत चलाईएकोछ । बुद्ध मार्गी, ईसाई, ईस्लाम, ताओवादी, हिन्दु, शीख, र कन्फ्यशियसवादी गरेर सात किसिमका धर्माहरू मानिन्छन् । सिंगापुरले प्रति महिला २.१ मात्र वच्चा जन्माउँने नीति अबलम्बन गरेर जनसंख्यालाई नियन्त्रणमा राखेकोछ ।

२। परिवारः सिंगापुरमा सामुदायिक भावना, सामजिक सद्भाव, र एकापसी सुरक्षाको अवधारणालाई व्यक्तीकोभन्दा उच्च स्थानमा राखेर हेर्ने-बुझ्ने-अपनाउँने गर्नु पर्छ । सामजिक संरचनाको केन्द्रमा परिवार राखिएकोछ र सबैको एकता र परिवारका पिता-पूर्खा तथा बरिष्ठ नागरिकहरू प्रति सम्मान गर्नु पर्नै संस्कारगत नियम छ । ‘परिवार’लाई “आफ्नो रगतको नाता लाग्ने मानिसहरू र आफ्नो नजिकका मित्रहरु” भनेर परिभाषित गरिएकोछ । परिवारका बरिष्ठ नागरिकको सम्मान गर्नु र परिवारको आफैले ख्याल गर्ने तथा पालनपोषणको जिम्मा सिंगापुरका नागरिकको नभईनहुने मुल्य-मान्यता (Value system) बनिसकेकोछ ।

३। आदर-सत्कारः “अनुहार” (ईज्जत) मानिसको पहिलो महत्वपूर्ण सम्पती र मर्यादा हो भन्ने कुरा सबैले भुझ्नेगरी बाल्यकालदेखि नै प्रशिक्षित गरिन्छ । सिंगापुरीको निम्ती आफ्नो अनुहार (ईज्जत) कायम राख्ने कुरा जीवनको हरेक पक्षमा लागु गर्नु पर्छ । अनुहार (ईज्जत) भनेको पुरस्कारका रुपमा समाजबाट पाईने सम्मान-आदर-सत्कार हो जुन गुमाउँन सकिन्छ, खोसिन सक्छ तर राम्रो काम गरेर फेरि हासिल पनि गर्न सकिन्छ भनेर हरेक बालबालिकालाई सिकाईन्छ । हरेक विद्यार्थीले राम्रो काम गर्नेलाई “नामी”, राम्रो चरित्र भएकोलाई “असल” र आफ्ना साथीहरूले मनपराएको “साथी” हुनु नै “आदर्श” व्यक्ती हुनु हो भनेर नैतिक शिक्षा दिईन्छ । ईज्जतवाला हुनु र अरुलाई आदर गर्नु सिंगापुरीहरूको विशेषताका रुपमा स्थापित गरिएकोछ । अनुहार (ईज्जत) जोगाउँन मरिमेट्ने मुल्य र मान्यताले नै सिंगापुरीहरूलाई असल सम्बन्धहरू स्थापित गर्ने र कायम राख्ने संस्कारी बनाएकोछ ।

४। समाजिक वर्गः सिंगापुरमा वर्ग छैनन् र यो समतामुलक समाज हो भने पनि अझै केही फरक “वर्गीय” सम्बन्धहरू देख्न सकिन्छ । जस्तैः माता-पिता र सन्तान, शिक्षक र विद्यार्थी, रोजगार दाता र रोजगार ग्राही, आदि । यी “वर्गीय” मुल्य र मान्यताहरू कन्फ्युसियस धर्मले स्थापित गरेको समाजिक मुल्य-मान्यता हो । किनभने कन्फ्युसियसले आफुभन्दा (उमेर र पदमा) ठुलाको सम्मा गर्नु, उनको कुरा मान्नु भन्ने नियम स्थापित गरेका हुन् ।आफुभन्दा पाका व्यक्तीहरूलाई सरकारी लगायत जुनसुकै क्षेत्रमा हार्दिक सम्मानका साथ हेर्नै पर्छ । चिनेको होस या नचिनेको पाको मानिसलाई आदर र सम्मान पूर्वक सहयोग गर्नु पर्छ भन्ने सामजिक नियम-संस्कार-संस्कृति नै हो । सभा-सम्मेलन वा भेटघाटमा सबैभन्दा पहिले पाका व्यक्तीहरूलाई परिचय गराईन्छ । बस र रेलमा उनका निम्ती उठेर सीट छोडिदिनै पर्छ । होटलहरूमा र घरमा उनले चाहेकोजस्तो र शरिर सुहाउँदो स्वस्थ र स्वादको खाना बनाएर दिनु पर्छ भन्ने समाजिक कानुनजस्तै बनेकोछ । बाटोमा हिँडीरहेको पाको मानिसलाई जसले पनि आवश्यक परेको सहयोग गर्नु पर्छ । सन् १९९६ मा हरेक युवा सन्तानले आफ्नो परिवारका पाका मानिसहरूको निम्ती छुट्टै आर्थिक संचय कोष खडा गरेर उनको आर्थिक आवश्यकता पुरा गर्नु पर्छ भन्ने कानुन नै पास गरेर लागु गरिएकोछ । यो कानुन बमोजिम हरेक सन्तानले नै आफ्नो परिवारका पाका मानिसको आर्थिक दायित्व लिनै पर्छ । यसो गर्दा सिंगापुरको समाज (पाश्चात्य मुलुकजस्तो) व्यक्तीवादी हुनबाट जोगिएर आफ्नै विशेष पहिचानसहितको विकसित तथा अत्याधुनिक मुलुक हुन पुगेको हो ।

५। जातिय विविधताः चिनीया, मले र भारतीयहरूको बेज्जोड जातिय-सह-अस्तित्व भएको मुलुक हो सिंगापुर जुन बाहिर देख्दा पाश्चात्य मुलुकको ‘कस्मोपोलिटिन शहर’ जस्तो लाग्छ । यो मुलुक तीन मुख्य जातिहरू उच्चतम सद्भावका साथ मिलेर बसेको एक विशेष नमुना मुलुक नै हो ।

६। शारिरिक ईसाराको संचारः सिंगापुरमा ईसारा वा शारिरिक हाव-भावको भाषा धेरै चल्छ । त्यसको साथै बोल्दाको नम्रता वा ठूलो स्वर वा हँसिलोपन वा रुखोपन र बोल्दा प्रयोग गरिने शब्द, त्यसमा प्रयुक्त नम्रता वा रुखोपन (Tone) र प्रयोग गरिने शारिरिक हावभाव(Body language)को आधारमा कुनै पनि “वाक्य” वा बोलि-वचनको अर्थ (Inference) निकालिन्छ । कतिपय ठाउँमा बोलेको शब्दभन्दा पनि शरिरको हाव-भावले संप्रेशण गरेको सन्चार (Communication) लाई नै सही अर्थ बुझ्ने आधार मानिन्छ । सिंगापुरीहरूको संचार शैली सुक्ष्म, सांकेतिक र घुमारो किसिमको हुने गर्छ । कुनै कुरा कसैको बारेमा भन्नु पर्दा भरसक उसको “इज्जत”मा धक्का नलाग्ने किसिमेले बोल्ने प्रयास गरिन्छ । किनभने ‘सबैको इज्जत हुन्छ र त्यसको सम्मान मैले गरे मात्र मेरो पनि अरुले इज्जत गर्छन्र्छ’ भन्ने मान्यता रहेकोछ । त्यसैले सिंगापुरी मानिसले “हुन्न” भन्ने जवाफ दिनुको सट्टा “म प्रयास गरुँला”, “हेरौँ म के गरिदिन सक्छु” भनेर घुमाएर (Indirect) जवाफ दिन्छन् । यो तरिका सामाजिक सदभाव कायम राख्न उपयोगी शैली र रणनीति दुबै हो । सिंगापुरीहरूको सन्चारमा “चुप बस्नु” पनि एउटा शसक्त संचार रणनैतिक शैली हो । आफुलाई मन नपरेको कुरालाई नकारात्मक किसिमले कडा शब्दमा भन्नुभन्दा “चुपचाप” बसेर झन दरो जवाफ दिन सकिन्छ भनिन्छ । कुनैकुरालाई “अलि जोडदिएर भने” त्यस बिषयमा छलफल गरेर निर्णय गरि सकेको रहेछ भनेर बुझ्नु पर्छ । सिंगापुरीहरूका निम्ती पाश्चात्य मुलुकहरुमा जस्तो हतार हतार केही बोल्नु, तुरुन्तै गल्ती महसुस गर्नु र छिट्टै “सरी” भन्नु भनेको ईज्जतिलो कुरा होईन । भरसक “सरी” भन्न पर्ने खण्ड नआओस् भनेर होसियारसाथ बोल्ने वा विचार राख्ने गर्नु पर्छ भन्ने सांस्कृतिक नियम र शैली नै बसेकोछ ।

७। भेटघाट र ढोग-भेटः “जात र उमेर” का आधारमा ढोग-भेटको प्रोटोकल फरक-फरक रहेकाछन् । यी प्रोटोकलहरूलाई हरेक जातले मान्नु र व्यवहारमा लागु गर्नै पर्छ । मल्टिनेशनल कंपनीहरूमा काम गर्ने युवा पुस्ताले पश्चिमी शैलीमा सबैसँग ‘ह्याण्ड-शेक’ गर्छन् होला तर समजमा, आफुभन्दा पाकाहरूसँग भेटघाट र ढोगभेट गर्दा यो चल्दैन । चिनीयाहरू पनि ‘ह्याण्ड शेक’ गर्छन् तर उनीहरूको हात समात्ने तरिका ‘हल्का किसिम’को र अलि लामो समय सम्म आत्मियताका साथ समाईरहने हुन्छ । महिला र पुरुषका वीचको ‘हेण्ड शेक’मा महिलाले पहिले हात अघि नबढाएसम्म पुरुषले हात अघि बढाउँनु असभ्यता र अपमान मानिन्छ । परिचय गराउँदा जहिले पनि (समाजमा) उमेर, प्रतिष्ठा र (कार्यालयमा) पदीय मर्यादाका आधारमा  गर्नु पर्छ । मले पुरुषहरू ‘हेण्ड शेक’ गर्छन् । तर, मुस्लीम भएकोले मले महिला-पुरुषले सार्वजनिक स्थलहरूमा ‘हेण्ड शेक’ गर्न मनाही छ । युवा मलेहरूले विदेशी महिलाहरूसँग ‘हेण्ड शेक’ गरेपनि ‘सलाम’ गर्नुलाई ईज्जतिलो अदप मानिन्छ । महिलाहरुसँगको भेट-घाटमा पनि ‘सलाम’ गर्नु नै उपयुक्त मानिन्छ । भारतीय (तमील)हरू पुरुष-पुरुष भेट्दा ‘हेण्ड शेक’ गर्छन् । कसैलाई परिचय गराउँदा शिर (स्वीकृती सुचक) हल्लाउँदै मुस्कुराउँनु उचित हुन्छ । बढी उछृङखल भए पनि राम्रो मानिन्न । यी फरकफरक संहिताहरु अनुसार नै फरकफरक जातिले भेटघटा-ढोगभेट गर्दाको संहिताको सम्मान गर्दै सोही अनुरुप अपनाउँनै पर्छ । यसले पनि जातिय सदभाव बढाउँने काम गर्छ ।

८। पद र नामहरूः १) चिनीयाहरूको प्राय ३ नाम हुन्छन् । परिवार (जात)जनाउँने र त्यसपछि २ वटा व्यक्ती जनाउँने नाम । संबोधन गरेर बोल्न परे जात जनाउँने नाममा बोलाउँने चलन छ । यदि पहिलो (जात जनाउँने) नामले नबोलाउँने चाहना भए उनले आफै मलाई ‘यो नामले बोलाउँनु होला’ भनेर सुचित गर्नेछन् । किनभने कोही चिनीयाहरूले व्यवसायको सन्दर्भमा पाश्चात्य नाम पनि राख्ने गरेकाछन् । २) मलेहरूको हकमा आफ्नो नाम र आफ्नो पिताको नामलाई ‘वीन’ (नेपालमा नामको वीचमा प्रसाद या बहादुर राखेजस्तै) वीचका राखेर जोड्छन् । जस्तैः नूर वीन ईशा । यसको मतलब ‘ईशाको छोरा’ भन्ने हुन्छ । महिलाहरूको हकमा ‘वीन’ को सट्टा ‘विन्ती’ प्रयोग हुन्छ । जस्तैः जरीना विन्ती ईशा । यसको मतलब ‘ईशाको छोरी जरीना’ भन्ने हुन्छ । कुनै पुरुषले नामभन्दा अघि ‘हाजी’ र महिलाले ‘हज्जाह’ राखेकोछ भने मक्का (तीर्थ गर्न) गईसकेको भन्ने बुझिन्छ । तेस्तै ‘शैयद’ (पुरुषले) र ‘शारीफाह’ (महिलाले) नाममा जोडेको छ भने प्रोफेट मोहमदकै शाखा-सन्तान भनेर पहिचानित हुन्छ । ३) कैयौँ भारतीयहरू आफ्नो जातको भन्दा पनि बाबुको नामसँग ‘s/o’ (Son of) या ‘d/o (Daughter of) भनी राखेर कस्को छोरा वा छोरी हो भनी जनाउँने नाम राख्छन् । प्राय भारतीयहरूको नाम धेरै लामो हुने भएकोले धेरैका नामको छोटो रुप वा उपनाम पनि हुने गर्छ । महिलाहरूले बिबाह गरेपछि पिताको नाम त्यागेर श्रीमानको नामसँग आफ्नो नाम जोडेर नयाँ नाम सृजना गर्छन् । शीख भारतीयहरूले प्राय जातको रुपमा ‘सिंह’ राख्छन् जसले शीख धर्मावलम्बी भनेर बुझाउँछ । फरकफरक जातकाहरूले एकापसलाई संवोधन गर्दा यो संहितालाई पालना गर्नै पर्छ । यसले पनि जातिय सदभाव बढाउँन मद्दत गर्दछ ।

९। सौगात दिने-लिने चलनः सौगात (गीफ्ट) दिने वा लिने पनि आ-आफ्नै संस्कृति अनुसार फरक हुन्छ । जस्तैः चिनीयाहरूमा कसैले सौगात दिए करीब ३ पटक “चाहिँदैन३” भनेर नम्रता व्यक्त गरेर अन्तमा मात्र थापिन्छ । यसो नगरी गीफ्टा दिना साथ हतार हतार थापे सौगात लिने मानिस “लोभी” रहेछ भन्ने सन्देश जान्छ । कैँची र चक्कु वा कुनै पनि काट्ने सामान सौगातका रुपमा दिए सम्बन्ध काटिन्छ भनेर अशुभ मानिन्छ । घडी, रुमाल, परालको चप्पल वा जुत्ता सौगातका रुपमा दिए ज्यादै अशुभ मानिन्छ । किनभने यी समानलाई मलामी र मृत्यूका प्रतिकका रुपमा हेरिन्छ । तेस्तै गरेर सौगातलाई सेतो, नीलो र कालो कागजले बेरेको छ भने पनि अशुभ मानिन्छ । यी तीन रंगहरू कसैको मृत्यूपछि कोरा बस्दा मात्र प्रयोग गरिन्छ । तर सौगातलाई रातो, पिंक र पहेँलो रंगमा बेरेर दिए राम्रो मानिन्छ । खान बोलाएको ठाउँमा खानेकुरा सौगातको रुपमा लिएर गए ‘खान बोलाउँनेले अघाउँजी खान दिन सक्दैन तेसैले खाना बोकेर आएको’ भन्ने सन्देश जान्छ । खान बोलाएको घरमा बालबालिका छन् भने उनलाई सुहाउँने फलफुल, मिठाई, केक आदि “केटाकेटिको निम्ती” भनेर लिएर गए राम्रो नै मानिन्छ । किनभने केटाकेटीहरु घरका सबैभन्दा महत्वपूर्ण सदश्य हुन् । फूलहरू सौगातका रुपमा राम्रो मानिँदैन किनभने फूल लिएर बिरामी भेटन वा आर्यघाटमा मात्र जाने हो । मलेहरूमा सौगातको रुपमा रक्सी लैजानु अपमान गरेको हुन्छ । केटाकेटीलाई खेलौना कुकुर दिनु पनि राम्रो मानिँदैन । कुनै पनि सौगातमा सुँगुरको चित्र वा अंग केही राखिएको छ भने यो झन घोर अपमान हो । किनभने मलेहरू मुस्लीम हुन् । मुस्लीम चलन अनुसार छुट्टिने बेलामा सौगात लेन-देन गरिन्छ, भेट्दा होईन । सेतो कागजमा सौगात बेरिएको हुनुहुन्न किनभने यो शोकको प्रतीक हो । सौगातलाई रातो या हरियो काजगमा बेरेको राम्रो । मासु खुवाउँने हो भने हलाल गरेको मात्र चल्छ । कुनै सौगात वा सामान दिँदा दाहिने हात या सौगात ठूलो भए दुबै हातले दिनु राम्रो । सौगात दिने बित्तिकै खोलेर हेर्नु हुन्न । भारतीयहरूमा उपहारको रुपमा Frangipani फूल दिनु हुन्न किनभने यो फूल शोकको बेला मात्र चल्छ । पैसा दिँदा विजोडी (५, ७, ११, १३) दिनु (१०, ८, १२, १६, २० भन्दा) राम्रो र शुभ मानिन्छ । उपहारहरु दिँदा दाहिने हातले दिने र ठूलो भए दुबै हातले दिनु राम्रो । उपहारलाई सेतो र कालो काजगमा बेरेको छ भने अशुभ मानिन्छ तर रातो, पहेँलो र हरियो कागजमा बेरेको राम्रो । हिन्दुहरूलाई कुनै पनि छालाबाट बनेको सामान वा रक्सी उपहार दिनु राम्रो मानिन्न । उपहार लिने बित्तिकै खोलेर हेर्नु पनि उचित ठानिँदैन । हरेक जातकाहरूले सौगात लिने-दिने यी संहितालाई पालना गर्नै पर्छ । किनभने यसले पनि जातिय आदरभाव गरिएको महसुस गराउँछ र सदभाव बढाउँन मद्दत गर्दछ ।


१०। सिंगापुरी सिष्टाचारः कुनै पनि व्यवसायिक कामलाई सिंगापुरमा अधिकतम औपचारिक र व्यवसायिक (Professional) किसिमले सम्पादन गरिन्छ । कुनै कंपनी या कार्यालयको इज्जत वा साखलाई व्यक्तीकोभन्दा महत्वपूर्ण मानिन्छ । मानिसहरूको मर्यादाक्रमलाई गंभीरताका साथ अपनाईन्छ । कुनै मानिसले हेला गरेको नठानोस् वा गल्ती कम होस् भनेर धेरै शारिरिक हाव-भाव (Non-verbal communication) ले संचार गरिन्छ । आँखाको भाव र शारिरिक भाषा र शब्द सबैलाई मिहिन किसिमले ख्याल गरेर ‘कुरा’को अर्थ निकालिन्छ । बोलेको शब्द (भावना व्यक्त गर्न) अधुरो, कमजोर हुन सक्छ तर आँखा र शरिरको भाषाले ढाँट्दैन र यो सन्सारभरिका धेरै मानिसले बुझ्ने किसिमको हुन्छ भनि ठानिन्छ  । सिंगापुरीहरूमा यस किसिमको सिष्टाचार संहिता पालन गर्नु नै सभ्य हुनु हो भनी स्थापित यी संहितालाई पालना गर्नै पर्छ । यसले पनि सबैमा असल संबन्ध कायम गर्न गराउँन मद्दत गर्दछ ।

११। व्यवसायिक बैठकः कुनै पनि मानिसलाई कम्तीमा २ हप्ता अघि नै अप्वोइन्टमेन्ट लिएर मात्र भेट्ने गरिन्छ । बैठकका बारेमा सम्बन्धित व्यक्तीहरूलाई फ्याक्स वा ईमेलबाट लिखित रुपमा वा टेलिफोन गरेर अग्रिम सूचित गरिनु पर्छ । चिनीया नयाँ वर्ष परेको हप्तामा कुनै पनि एप्वोइन्टमेन्ट राख्ने चलन हुँदैन । बैठक सुरु गर्न अघि केही समय ‘अनौपचारिक कुराकानी’को निम्ती समय छुट्याईन्छ । बैठकमा समयमै नपुग्नु ठूलो अपमान गरेको मानिन्छ । ढीलो हुनेभए खबर गर्नै पर्छ । कुनै पनि हाकिमले बोलिरहेको बेला विचमै अरुले प्याच्च बोल्न पाइँदैन । प्रस्तुती सकिएपछि प्रश्न हँसिलो भएर सोध्न पाइन्छ । कुनै पनि प्रस्तुतीकरणहरू गर्दा प्रमाणित गर्ने तथ्यांक तथा सामग्रीसहित हुनु पर्दछ । सार्वजानिक समारोहहरूमा आफ्नो हाकिमसँग असहमत हुने वा हाकिमको आलोचना गर्ने गर्न पाइँदैन । यस्तो गरे यसले व्यवसायिक संबन्ध बिग्रने निश्चित छ । ‘नन-भर्वल संचार’मा सँधै ध्यान दिनु अनिवार्य छ । बैठक बारेको यो संहिताले पनि सिंगापुरीहरूको सफलतामा मद्दत पुर्‍याएको हो भनिन्छ र यस किसिमको संहितालाई निरन्तरता दिनु पर्छ, अझ सुधार्दै लैजानु पनि पर्छ भनिन्छ ।

१२। नेगोशिएसनः नेगोशिएसनमा को को व्यक्ती समेल हुनेछन्? तिनको नामावली समयमै तोकेर पठाउँनु पर्छ । नेगोशिएसनमा जाँदा कुन सीटमा को बस्नु पर्ने हो सो नभने सम्म जुन पायो त्यही कुर्सीमा बस्नेलाई असभ्य ठानिन्छ । बसाईको पनि मर्यादाक्रम अनुसार हुने प्रोटोकललाई मान्नै पर्छ । कुनै पनि व्यवसायिक नेगोशिएसनको वार्ता (गल्ती नहोस भनेर) ढीलो गतीमा अघि बढाईन्छ । सिंगापुरीहरू भरसक ‘कन्फ्रण्ट’ नगर्ने स्वाभावका हुन्छन् । उनीहरू सिधै No भन्नु हुँदैन भन्ने ठान्छन् । किनभने यसले व्यवसायिक संबन्धहरूमा नकारात्मक उर्जा प्रवाह गर्छ । सिंगापुरीले Yes भनेको पनि साँच्चै Agreement होईन भन्ने कुरा बुझ्नु पर्छ । सिंगापुरीहरू कुनै कुरा बोल्दा वीच वीचमा केही सेकेण्ड रोकिने र आफुले बोलेको कुराको प्रभाव के कस्तो परिरहेको छ? मैले अब आफ्नो कुरा कसरी राख्नु पर्ला? भनि ‘छ्यान विचार’ गर्ने गर्छन् । तसर्थ सिंगापुरी देलिगेट वीचमा रोकिँदा प्याच्च बोल्नु राम्रो मानिन्न । ‘तपाइँको विचार के छ?’ वा ‘केही प्रश्न छन कि?’ भनेर छलफलको निम्ती फ्लोर नखुले सम्म वीचमा प्याच्च बोल्नु असभ्यता हो । सिंगापुरीहरूलाई ‘दररेट’ र ‘समयावधी तोक्ने’ मामलामा चाम्रा किसिमका नेगोशिएटर मानिन्छन् । निर्णयहरू सहमतीय हुनु सके नै दुबैको निम्ती ‘वीन-वीन’ हुन्छ भन्ने धारणा राखिन्छ । सिंगापुरीसँगको नेगोशिएसनमा बस्दा ‘धैर्य गुमाउँनु हुन्न नत्र सबै कुरा बिग्रिने संभावना हुन्छ’ भनिन्छ । यदि तपाइँ सिंगापुरी चिनीयासँगको व्यवसायिक सम्झौतामा सही गर्दै हुनुहुन्छ भने फेङसुई अनुसारको “साईत” पनि हेरेर मात्र चिनीयाहरूले ‘सही’ गर्ने चलनलाई आदर गर्नु पर्नेछ ।

१३। विजनेश कार्डः परिचय भएको केही पछि मात्र विजनेश कार्ड लेनदेन गरिन्छ । दुबै हातले विजनेश कार्ड दिने वा लिने गर्नु लाई सभ्य ठानिन्छ । चिनीया व्यवसायिकसँग विजनेश कार्ड लेनदेन गर्दा कार्डको एकातिर चिनीया (मेन्डरिन) भाषा-लिपिमा लेखिएको पनि भए ‘सम्मान’ गरेको मानिन्छ । चिनीया अक्षरहरू स्वर्ण रंगमा लेखिएकोलाई भाग्यशाली ठानिन्छ । आफ्नो कार्ड दिने बेलामा मेन्डरिन अक्षर लेखिएको देखिने गरी हस्तान्तरण गर्नुपर्छ । तेसैले बिजनेश कार्ड पहिले नै होसियारीपूर्वक ठिक्क पारेर बट्टामा राख्नु राम्रो हुन्छ । बिजनेश कार्ड थापेर त्यसलाई पढेर केही आदरपूर्वक प्रशंसामा दुइचार शब्द बोलेर गोजीमा बिस्तारै राखे सभ्य मानिन्छ । यसले दुइपक्ष वीच हँसिलो-खुसिलो वातावरण बनाउँन योगदान गरिरहेको हुन्छ । तपाइँले आफ्नो बिजनेश कार्ड पनि तरोताजा किसिमले राखेको र नयाँ देखिने खालको दिनुभयो भने त्यसले तपाइँको भावना स्वच्छ रहेको मानिन्छ ।

टिप्पणी: सिंगापुरको सांस्कृतिक संहितालाई एक कैरन (Case) या असल उदाहरण (Good practice) को रुपमा यहाँ राखेको मात्र हो । सन्सारका सबै मुलुकहरूमा सांस्कृतिक विविधता छन् र तिनलाई आ-आफ्नै किसिमले व्यवस्थापन गर्दै आएकाछन् । सिंगापुरले जस्तो सांस्कृतिक विविधतालाई राम्रो व्यवस्थापन गर्नेहरूको मुलुकमा सामजिक, राजनैतिक तथा साँस्कृतिक द्वन्द कम भएको र उन्नती प्रगती राम्रो भएको देखियो तर विविधताहरूको उचित व्यवस्थापन गर्न नसकेका मुलुकहरूमा धेरै जातिय, सांस्कृतिक, धार्मिक, भाषिक, आर्थिक र राजनैतिक द्वन्दहरू भईरहेको देखिन्छ जसले गर्दा प्रचुर संभावना (Potential) हुँदाहुँदै पनि मुलुकको प्रगती उन्नती हुने प्रकृया खल्बलिने गरेको देखिन्छ । अर्थात, सामाजिक सदभाव पनि मुलुकको आर्थिक विकासको निम्ति एक पूर्वशर्त (Precondition) हो । सिंगापुरले सांस्कृतिक विविधतालाई उचित ढंगले सम्बोधन गरेकोले  राजनैतिक स्थाईत्व कायम हुन सक्यो र प्राकारान्तरले मुलुकको आर्थिक विकास गर्न र सबै मुलुकका नागरिकमा खुशहाली ल्याउँन यो स्थाईत्वले योगदान गर्‍यो । यसबाट केही कुरा निचोडको रुपमा निकाल्न सकिन्छ ।

१। सिंगापुरमा चाहेजस्तो सामाजिक सद्भाव आफै कायम भएको होईन । यो By design भएको हो । बेलायती उपनिवेशबाट मुक्त (१९५७) भएपछि र मलेशियासंग छुट्टिएर (१९६५) एक्लो सांस्कृतिक विविधताले भरिएको एउटा सानो गरीव सिंगापुरमा ली क्वान यू र उनको टीमका मानिसहरूले (राजनैतिक, कुटनैतिक, आर्थिक विकासको सोच र कार्यान्वयन, आदि) कुसलतापूर्वक थुप्रै काम गरेर सिंगापुर बनेको हो । अनेक काम मध्ये एउटा काम - सांस्कृतिक विविधतालाई उचित किसिमले संवोधन गरिएन भने मुलुकमा द्वन्द बढ्छ र आर्थिक विकासको मुद्दामा सबैको ध्यान केन्द्रित हुँदैन भन्ने कुरा बेलैमा पहिचान गरेर सिंगापुरका सबै संस्कृतिहरूलाई सम्मान गर्ने ‘सांस्कृतिक नीति’ ‘कार्यक्रम’ विकास गरेर कार्यान्वयन गर्ने ‘संरचना’ खडा गरेर र चाहिने ‘बजेट छुट्याएर’ प्रभावकारी कार्यान्वयन समेत गरेको परिणाम स्वरुप सिंगापुर सबैभन्दा कम सामाजिक द्वन्द भएको र आर्थिक विकासमा ‘मिराकल’ गरेको मुलुकका रुपमा स्थापित हुन सकेको हो । नेपाल पनि बहु सांस्कृतिक मुलुक हो । यहाँका सबै संस्कृतिहरूलाई सम्मान गर्ने ‘सांस्कृतिक नीति’ ‘कार्यक्रम’ विकास गरेर कार्यान्वयन गर्ने ‘संरचना’ खडा गरेर र चाहिने ‘बजेट छुट्याएर’ काम किन गरिँदैन? जबसम्म यसमा काम गरिन्न सामाजिक द्वन्द कायम रहनेछ । सरकारले यसमा ध्यान नदिने हो भने सरकार नै द्वन्दको स्रोत ठहरिनेछ, जिम्मेदार हुनेछ ।  

२। कुनै पनि मुलुकको सांस्कृतिक, धार्मिक, भाषिक र जातिय विविधतालाई स-सम्मान मुलुककै संपदाको रुपमा संरक्षण, संबर्धन तथा विकास गर्न सरकारले न्यायपूर्ण तथा तर्कसंगत भूमिका खेल्नु पर्छ । मुलुकका प्रत्येक जातजातिका मानिसले पनि एकापसका सांस्कृतिक विविधताहरूलाई राष्ट्रको सम्पती-सम्पदाको रुपमा सम्मान गर्नु पर्छ । ‘मेरो संस्कृति ठीक, तिम्रो(उसको) संस्कृति बेठिक या इन्फेरियर’ भन्ने सोचाई नै विखण्डनकारी सोचाई हो । जसले द्वन्दतिर मुलुकलाई धकेल्छ भने ‘मेरो समाजमा मेरो संस्कृति ठीक र उसको समाजमा उसकै संस्कृति ठीक’ हुन्छ भन्ने धारणाको प्रवर्धन गर्दै ‘मुलुक भित्रका सबै संस्कृतिहरू हाम्रै संपदा हुन् यिनलाई हामीले नै ससम्मान सम्पदाको रुपमा र मुलुकको विशिष्ट पहिचानका तत्वको रुपमा स्वीकार्नु पर्छ’ भन्ने अवधारणा स्थापित गर्नु पर्छ । यसको निम्ती सरकारले हरेक नागरिकलाई प्रशिक्षित गर्नु पर्छ  र यो संभव छ भन्ने कुरा सिंगापुरको कैरनबाट देखिन्छ ।

३। सांस्कृतिक विविधताहरूको सम्मान र संरक्षण-संबर्धन गर्ने काम बजेटले मात्र भएर पनि पुग्दैन । यसको निम्ती हरेक बालबालिकाका र नागरिकहरूको अवधारणा परिवर्तन गर्ने गरी दार्शनिक तथा वौद्धिक लगानी पनि चाहिन्छ । विधीको रुपमा स्कुल तथा अन्य शैक्षिक संस्थाहरूमा दिईने शिक्षाको पाठ्यक्रममै सांस्कृतिक विविधताको महत्व र आपसी संस्कृतिको सम्मान गर्ने बारे शैक्षिक पाठहरू समाबेस गरी समातामुलक भावना जगाउँने काम सरकारी स्तरबाटै नीतिगत तथा कार्यक्रमिक रुपमा व्यवस्था हुनु पर्छ । यो संभव छ र यसले नै फरक फरक संस्कृतिका मानिसहरूलाई भावनात्मक रुपमा ‘एउटै राष्ट्रियता’मा गोलबन्द गर्ने गराउँने काममा मद्दत गर्दोरहेछ भन्ने कुरा सिंगापुरको कैरनबाट प्रष्ट हुन्छ ।

४। मुलुकमा विद्यमान सांस्कृतिक, धार्मिक, भाषिक र जातिय विविधताहरूमा निहित खास-खास विशेषताहरुको समग्र योगले नै कुनै एउटा मुलुकको गौरबपूर्ण सिंगो पहिचान निर्माण भएको हुन्छ । नेपालमा, “हामीसँग विविधता छ” यसलाई ससम्मान सम्पदाको रुपमा हेरे सिंगो मुलुकमा, प्रान्तहरूमा, गाउँपालिका र नगरपालिकाका जातजातिका वीच सदभावना बढ्छ तर विविधतालाई उचित “व्यवस्थापन” नगरेमा वा सरकारले कुनै संस्कृतिलाई “काखा” कुनै संस्कृतिलाई “पाखा” गरेमा सरकारले नै जातजातिहरूका वीच द्वन्दको वीउ रोपेको ठहर्दछ । द्वन्दले जुनसुकै मुलुक वा समाजको विकासका प्रकृयाहरू बिथोल्छ । द्वन्द अहिलेको सन्सारमा समाजलाई गरिवीतिर धकेल्ने एक खतरनाक रणनैतिक हतियार हो भनिन्छ । कुनै पनि मुलुकलाई वा समाजलाई गरीब बनाउँने हो भने द्वन्दमा फसाउँनु पर्छ केही वर्षमै त्यो मुलुक वा समाजको आर्थिक सूचकहरू खस्किन थाल्छन् भन्ने कुराको श्रीलंका एउटा राम्रो उदाहरण हो । बांग्लादेश, अफगानिस्तान जस्ता मुलुकहरु द्वन्दमा फसेरै हैरना भईरहेको देखिएकैछन् । अबको नेपाल गरिवीतिर कि समृद्दितिर? कतातिर जाने हो? यो सोचाईको बृहद चित्रमा सांस्कृतिक विविधताको व्यवस्थापनलाई हेरिनु पर्छ ।

५। मुलुकका अनेक संस्कृति र धार्म मान्ने, फरकफरक भाषा बोल्ने र अनेक जात(Gene)का मानिसहरूले एकले अर्काको संस्कृति, धर्म, भाषालाई सम्मान गर्ने नियम-संहिता विकास गरेर यसको उलंघनलाई दंण्डनीय कानुन समेत बनाएर  बालबालिका लगायत सबै नागरिकलाई प्रशिक्षित गर्न सकिन्छ र यसले फरक फरक जातिहरू वीच सामजिक सदभाव बढाउँने काम गर्छ । जुन सद्भाव शान्तिपूर्ण समाजको निम्ती नभई नहुने पूर्वाधार हो । कुनै पनि समाजमा आफ्नो संस्कृति, धर्म र संस्कारलाई “सभ्य तरिका” र अरुको धर्म, संस्कृति र संस्कारलाई “ईन्फेरियर” मान्ने मानिसहरू हुन्छन् होला । तर ‘सरकार’ले यस्तो भेदभाव गरे अक्षम अपराध हुनेछ ।     

सिंगापुरको शिष्टाचार संहिता जस्ताको तेस्तै नक्कल गर्न सकिन्न र नक्कल गर्नु हुन्न पनि । नेपालकै विविध सांस्कृतिक विशेषताहरू मुताबिक सिष्टाचार संहिता विकास गरेर कार्यान्वयन गर्न सकिन्न? स्कुलहरूका पाठ्यक्रममै राखेर सिकाउँन सकिन्न? सकिन्छ । यसो गरे सांस्कृतिक विविधताहरूको राम्रो व्यवस्थापन हरेक व्यक्तीहरूबाट समेत हुँदै जानेछ । जसबाट सबै जातजातिले नेपालमा ‘मेरो संस्कृति, धर्म र भाषाको पनि सम्मान भएकोछ’ भन्ने महसुस गर्न थाल्नेछन् । हरेक जातजातिहरूले एकार्काको संस्कृतिको सम्मान गर्ने वातावरण बन्न थाल्नेछ । सरकारको ‘समावेशी-नियत’ मात्र हुनुपर्छ यो विल्कुल संभव छ । एउटा जातले अर्को जातलाई सिध्याउँने किसिमको कुनै पनि पार्टी वा गुठको सरकारले शासन गरे सिंगो नेपाल र नेपाली प्रान्तहरू तथा स्थानीय निकायहरूमा उचित किसिमले सांस्कृतिक विविधताको व्यवस्थापन हुन सक्दैन । आशा गरौँ अब बन्ने संघीय तथा प्रान्तीय सरकारहरूले यस बारे सोचेर “विविधताहरू वीच सदभाव”को निम्ती काम गरेर नश्लवादी सरकार हुनबाट आफुलाई जोगाउँनेछन् ।

Ref.

https://en.wikipedia.org/wiki/Demographics_of_Singapore

चाणक्यका चखिला चालिस कुरा (अनुः विक्रम सुब्बा)


१। मूर्खलाई उपदेश दिन थाले, एउटी दुष्ट पत्नी राखे, या कुनै पनि मानिससँग अति घनिष्ट संवन्ध राखेमा एक विद्वान मानिस पनि कष्टहरूमा फस्नेछ ।

२। गुजाराका निम्ती मानिसले धन संचय गर्नु पर्छ । पत्नीको सुरक्षा गर्नु परे धन-सम्पती पनि त्याग्नु पर्छ । तर, आफ्नो मुलुककै सुरक्षाको कुरा आउँछ भने सम्पती र पत्नी समेत त्याग्नु पर्छ ।

३। एकजना पनि धनवान नभएको गाउँ, एक विद्वान पनि नभएको स्थान, एउटा असल राजा नभएको मुलुक, एउटा स्वच्छ नदी नबग्ने प्रदेश, र एक चिकित्सक गरेर यी ५ कुरा नभएको ठाउँमा कसैले पनि नबस्नु ।

४। जहाँ रोजगारी पाइँदैन, कसैले कसैको डर मान्दैन, कोही पनि कुनै कुराको लाज मान्दैनन्, जहाँ ज्ञानी-गुनी मानिस छैनन् र जहाँका मानिसमा परोपकारी (दान-दक्षिणा गर्ने) भावना छैन त्यस्तो मुलुकमा वुद्धिमान मानिसले प्रवेशै गर्नु हुन्न ।

५। खाद्य पदार्थ आफुसँग हुनु र खाना पचाउँने क्षमता पनि हुनु, आफुसँगै सुन्दर स्त्री हुनु र उसलाई भोग्ने शक्ती पनि हुनु, धन हुनु र दान गर्ने भावना पनि हुनु जस्ता संयोग ज्यादै कम देख्न पाईन्छ ।

६। पुत्र त्यही हो जो पिताको कुरा मान्छ, पिता त्यही हो जसले आफ्ना वालवच्चाको राम्रो पालनपोषण गर्छ, मित्र त्यही हो जसलाई परेको बेला विश्वास गर्न सकिन्छ र पत्नी त्यही हो जसको साथले सँधै आनन्द दिन्छ ।

७। सन्तानलाई शिक्षा नदिने बा-आमा सन्तानका घोर दुश्मन हुन् । अशिक्षित बालबालिकालाई सभामा त्यसरी नै तिरस्कार गरिन्छ जसरी हाँसहरूको बथानमा पसेको बकुल्लालाई छिःछि दुर दुर गरिन्छ।

८। केही पनि सुबिधा नभएको गाउँमा बस्नु परोस् । नीच हाकिमको मातहतमा काम गर्नु परोस् । विषाउँने भोजन खानु परोस् । सँधै रिसाइरहने श्रीमतीसँग गुजारा गर्नु परोस् । मूर्ख छोरो होस् । विधवा छोरीको अभिभावक हुनु परोस् । यी सबै भएपछि जलेर मर्न “आगो” किन पो चाहियो र?

९। जहिले सुकै घुमिरहे मानिस छिट्टै बुढो हुन्छ । घोडालाई सँधै बाँधेर राखे छिट्टै बूढो हुन्छ । श्रीमानसँग प्रणय-पृत नगर्ने श्रीमती छिट्टै बूढी हुन्छे । सँधै घाममा राखेको लुगा छिट्टै खुइलिन्छ ।

१०। काग पक्षीहरूमा फोहरी हुन्छ, पशुहरूमा कुकुर नीच हुन्छ, घृणित काम गर्ने तपस्वी घिनलाग्दो हुन्छ । तर, यी सबैभन्दा घिनलाग्दो व्यक्ती त्यो जो ‘दिनभरि अर्काको कुरा काटेर बस्छ’ ।

११। नीच व्यक्ती हो भने त्यसलाई पैसा दिएर जित्नु । मध्यम वर्गको मानिसलाई ईज्जत बढाई दिएर जित्नु ।  उच्च वर्गको मानिसलाई ‘सम्मान’ गरेर जित्नु ।

१२। उखुमा फल फल्दैन । चन्दनको रुख फुल्दैन । विद्वानसँग धन हुँदैन र राजाको आयु लामो हुँदैन ।

१३। अमृत सबैभन्दा ठूलो औषधी हो । भोक लागेको बेला खान पाउँनु सबैभन्दा ठूलो सुख । आँखा सबैभन्दा सुन्दर ईन्द्रिय हो र शिर सर्वश्रेष्ठ अंग हो ।

१४। उठ्ने वित्तिकै आज के के गर्ने भनेर सोच्नोस्, हरेक दिन दिउँसो एक पटक आमालाई सम्झनोस् र राती घरमा चोर पस्ला कि? भनेर जरुर सोच्नोस् ।

१५। जोसँग राम्रो शिक्षा हुन्छ उ गरीव हुन्न तर जोसँग शिक्षा हुन्न उ लाख किसिमको गरिवीमा बाँचेको हुन्छ ।

१६। कुनै पनि ठाउँमा राम्रो हेरेर मात्र टेक्नु । जहिले पनि शुद्ध-स्वच्छ पानी मात्र पिउनु । तर्कसंगत कुरा मात्र बोल्नु र त्यही काम मात्र गर्नु जसका बारेमा विस्तृत छलफल गरेर उचित ठानिएकोछ ।

१७। जसलाई ईन्द्रिय सुख, मोज-मस्ती र मज्जा मात्र मन पर्छ उसले विद्या आर्जन गर्न सक्दैन । जसको ध्यान ज्ञान-गुन विद्या-शिक्षातिर लागेको हुन्छ उसले ईन्द्रिय सुखतिर ध्यान भ्याउँदैन ।

१८। भिखारीलाई लोभी-कन्जुस मानिस दुश्मनजस्तो लाग्छ । मूर्खलाई राम्रो सल्लाहकार दुश्मनजस्तो लाग्छ । नाठो खेलाउँने पत्नीलाई श्रीमान दुश्नजस्तो लाग्छ । चोर्न निस्केको चोरको निम्ती जून पनि दुश्मनजस्तो लाग्छ ।

१९। जोसंग शिक्षा, तप, ज्ञान, राम्रो स्वभाव, असल गुण र दया जस्ता गुणहरू छैन उ दुई खुट्टे पशु हो, धर्तीको भार हो ।

२०। त्यो ब्राह्मण जो अरुको काममा बाधा हाल्छ, जो दम्भी छ, स्वार्थी छ, धोखेबाज छ, अरुलाई घृणाको दृष्टिले हेर्छ, जो मीठो बोल्छ तर मनमा क्रुर भावना राख्छ त्यो एउटा बिरालो जस्तै हो, ब्राह्मण हुन सक्दैन ।

२१। जस्ले पोखरी, कुवा, पानीको स्रोत, बगैँचा र मन्दिर नष्ट गर्छ त्यो मानिस ब्राह्मण होईन म्लेच्छ हो ।

२२। एउटा ब्राह्मण जो मूर्ति चोर्छ, एउटा आध्यात्मिक गुरु जो अर्काको श्रीमतीसँग संभोग गर्छ र एउटा ब्राह्मण आफ्नो स्वार्थको निम्ती जे गर्न पनि तैयार हुन्छ त्यो नै चण्डाल हो ।

२३। जसले एक पैसा पनि दान नगरी मरेको,  जसको कानले कुनै शिक्षा ग्रहण नगरेको, जसको आँखाले साँचो भक्त नदेखेको, जसको खुट्टाले कुनै तीर्थ नटेकेको, जसले अधर्मी किसिमले कमाएर खाएको, जसले आफ्नो स्वार्थ पुरा गर्दा मात्र आफ्नो शिर उच्च हुने ठानेको र मरेको लास हो भने स्यालले पनि नखाओस । किनभने त्यस्तो लास विषालु हुन्छ र खायोभने स्याल पनि मर्च ।

२४। अब “मानिसले एक क्षण मात्र बाँच्न पाउँछ” भने पनि असल काम गर्नमै त्यो क्षणलाई लगाउँनु पर्छ । खराब काम गरेर सय वर्ष बाँच्नु पनि के बाँच्नु?

२५। नीच मानिसहरू अरुले गरेको राम्रो काम देखेर जल्छन् र अरुलाई अपशब्द प्रयोग गर्दै गाली-गलौज गर्छन् । हुन पनि गाली-गलौज गर्नु बाहेक तिनको अरु हैसियत नै हुँदैन ।

२६। हजारौँको बथानमा पनि बाच्छी आफ्नो आमा चिनेर आमाकै पछिपछि हिन्छ त्यसै गरी असल, ज्ञानी-गुनी मानिसको पछि धेरै मानिस लाग्छन् ।

२७। गुमाएको धन-सम्पती, पत्नी वा राज्य तिमी फेरि हासिल गर्न सकौला तर गुमाईसकेको उमेर फेरि हासिल गर्न सक्दैनौ ।

२८। यदि हामी धेरैजना भयौँ भने दुश्मलाई हराउँन सक्छौँ जसरी मिलेर बसेका रुखहरू बर्षातमा पैरो आउँन नै दिँदैनन् ।

२९। पानीमा पसेको तेल, एउटा हरामी मानिसलाई सुनाएको गोप्य कुरा, एक असल मानिसलाई दिईएको दान, र एक वुद्धिमान मानिसलाई पढाईएको सास्त्र र ज्ञान आफ्नो स्वभाव अनुसार छिट्टै चारतिर फैलँदै जान्छन् ।

३०। कसैसँग केही हासिल गर्नु पर्ने छ भने उसलाई दंग पार्ने किसिमले मीठो कुरा गर्नु पर्छ जस्तो कि एउटा सिकारीले हरिणलाई बाण हान्न अघि मधुर गीत गाएर दंग पार्छ ।

३१। जुन मानिस राजा, आगो, धर्म गुरु र स्त्रीको ज्यादै नजिक हुन्छ उ छिट्टै नष्ट हुन्छ । जुन मानिस यिनीहरूमा पूर्ण आस्रित हुन्न उसैले आफ्नो भलो गर्छ । अर्थात, राजा, आगो, धर्म गुरु र स्त्रीसँगको ज्यादै नजिक र ज्यादै दूरी पनि ठीक हुन्न ।

३२। प्रसंग अनुसार कुरा मिलाएर बोल्ने, आफ्नो औकात अनुसार अरुको सेवा गर्ने र आफ्नो रिसलाई बसमा राख्न सक्ने मानिस नै पंडीत हो ।

३३। एउटै वस्तु फरक फरक मानिसको निम्ती फरक फरक देखिन्छ । ध्यान गर्ने ध्यानीको ध्यान कुनै दृश्यले भंग हुँदैन तर एउटा लम्पट मानिसले हरेक वस्तु आईमाई जस्तो देख्छ र कुकुरलाई हरेक वस्तु मासुको चोक्टा जस्तो लाग्छ ।

३४। एक वुद्धिमान व्यक्तीले यी कुरा अरुलाई सुनाउँदैन - १) रोगीलाई निको पार्ने आफुले बनाएको औषधी बारे; २) आफुले गरेको परोपकार बारे; ३) आफ्नो घरको झगडा बारे; ४) पति-पत्नीका विच हुने कुराहरू बारे; ५) उसले खाएको नमिठो-काँचो खाना बारे; र, ६) उसले सुनेका गालीगलौजका शब्दहरू बारे ।

३५। कोईली तबसम्म चुपचाप बस्छे जबसम्म मधुर गीत गाएर स्रोताहरूलाई मन्त्रमुग्ध पार्ने क्षमता उसमा विकास भईसकेको हुन्न ।

३६। जुन मानिसको मन सबै प्राणीको सेवा गर्न पग्लिन्छ उसको निम्ती ज्ञान, मुक्ती, धन-सम्पती, घर केही चाहिँदैन ।

३७। प्रेम भनेको त्यही हो जुन अरुलाई दिन सकिन्छ । वुद्धि भनेको त्यही हो जसले पाप गर्नबाट रोक्छ । दान भनेको त्यही हो जुन कसैलाई नभनि चुपचाप हल्ला नगरी गरिन्छ ।

३८। एउटा व्यक्ती जसले दुनियाको सारा ज्ञान कण्ठस्त गरेको छ तर आफ्नै आत्मा बारे केहि बुझेको छैनभने त्यो मानिस त्यही चम्चाजस्तो हुन्छ जसले अनेक मीठा मीठा पकवानहरू चलाउँछ र मानिसको मुखमा पनि हालिदिन्छ तर आफै चाहीँ कुनै पनि पकवानहरूको स्वाद थाहा पाउँन अक्षम हुन्छ ।

३९। चन्दनको रुख काटिए पनि मगमगाउँन छोडदैन । हात्तीले बुढेसकालमा पनि नाच्न छोडदैन । उखुलाई जतिसुकै निचोरेपनि उसको गुलियोपन छोडदैन । तेस्तै असल सँस्कारमा हुर्केको मानिसले जतिसुकै कष्ट र गरिबी भोग्न परेपनि सभ्यता-सिष्टता छोड्दैन ।

४०। खाना खाने, सुत्ने, डराउँने-आत्तिने, संभोग गर्ने, बाँच्ने र मर्ने काम पशु र मानिस दुबैले गर्छन् । तर, मनिसलाई सर्वश्रेष्ठ प्राणी मानिन्छ किनभने उसँग ज्ञान हुन्छ । अर्थात, जुन मानिससँग ज्ञान हुँदैन उ पनि पशु नै हो ।


स्वीट्जरलेण्डको डाइरेक्ट डेमोक्रेसी (विक्रम सुब्बा)


१। डेमोक्रेसी कसरी फेल भयोः  सभ्यताहरूको ईतिहासमा “धर्म”हरूले, त्यसपछि “बन्दुक”(सेना-पुलिस)ले, अनि “डेमोक्रेसी”ले शासन चलाए । अहिले ‘डेमोक्रेसी’ पनि ‘फेल’ हुँदै गएपछि “व्यापार”हरूले सन्सारभरिका राज्य(सरकार)लाई नै खरिद गरेर शासन सन्चालन गरिरहेछन् । तेसो त “व्यापार”ले - “धर्म”, “बन्दुक”, “डेमोक्रेसी” र “व्यापार” यी चारै धारिला हतियारहरूलाई एक्कैचोटी आफ्नो अचुक अस्त्र बनाएर सपलता हासिल गरिरहेकोछ ।   

ईतिहास हेर्दा जर्मनीमा डेमोक्रेसीले “नाजीवाद” र “हिटलर” जन्मायो । दक्षिण अफ्रिकामा गोराले कालामाथि रजाइँ गर्ने “जातिवादी शासन” जन्मायो, मण्डेलालाई ३० वर्ष जेल हाल्यो । सबैभन्दा “ठूलो” भारतको डेमोक्रेसीमा “अराजकता”, “गरिबी” र “किसानहरूको आत्महत्या” मात्र फष्टायो । चीन, सिंगापुरमा त “डेमोक्रेसी” पस्नै पाएन । भारत र नेपालजस्ता मुलुकमा डेमोक्रेसीको नाममा ‘सामन्तीकृत डेमोक्रेटिक शासन’ चलाईरहेछन् । अर्थात, “डेमोक्रेसी विथआउट डेमोक्र्याट्स” भएकोछ नेपाल । यूरोप र अमेरिकामा २००८-२००९ को आर्थिक मन्दीका बेला चीनको अर्थतन्त्र बलियो भईसकेको थियो । “डेमोक्रेसी” छैन, “मानवअधिकार” छैन भन्नेले चीनबाटै ऋण लिएर मुलुकको आर्थिक उद्दार गरे । बेलायती (Westminster) तथा अमेरिकी (Liberal Democracy) तथा अमेरिका र यूरोपले निर्यात गरेको “मानवअधिकार” बिना पनि आ-आफ्नै “डेमोक्रेसी” र “मानवअधिकार”को आधारमा जापान, सिंगापुर, कोरियाले विकास हुन सक्छ भनेर देखाए ।

लेरी समर (हार्डभार्ड विश्वविद्यालय) लेख्छन् – ‘अमेरिकाको तिब्र आर्थिक उन्नती हुँदा पनि ३० वर्षमा मात्र आर्थिक क्षमता दोब्बर हुने गरेकोमा चीनको आर्थिक क्षमता हरेक दशकमा दोब्बर हुँदै आएको देखियो । यसै बेला चीनले सरकारी लगायत हरेक क्षेत्रको माथिल्लो पदमा पढाईमा सबैभन्दा उच्च अंक हासिल (Meritocracy)का आधारमा जनशक्तीहरू नियुक्त गर्ने नीति लियो । अर्थात, तथाकथित ‘डेमोक्रेसी’भन्दा पनि कार्य कुशलता र सेवाग्राही जनता-मैत्री सेवाप्रदायकहरू हरेक कार्यलयमा भएपछि प्रगती-उन्नतीलाई कतै पनि वाधा अवरोध रहेन । राजनैतिक नेतृत्व पनि १० वर्ष (राष्ट्रपतिको ५-५ वर्षको २ टर्म) सम्म ढुक्कसाथ काम गर्न पाउँने र छानिएका ट्यालेण्टेड कार्यकर्ताहरूको नियमित रिक्रुट्मेन्टले गर्दा नै चीनिया कम्युनिष्ट पार्टीले आफ्नो लक्षहरू भनेजस्तैगरी हासिल गर्न थाल्यो । चीनले राष्ट्र निर्माणका ठुलाठुला कामहरू छोटो समयमै गरेर देखायो जुन काम ‘डेमोक्रेसी’वाला मुलुकहरूमा गर्न परेको भए पचासौँ वर्ष लाग्ने थियो । चीन २४० मिलियन ग्रामिण जनतालाई पेन्सन दिन समेत सफल भयो । परिणामस्वरुप ८५% चीनिया जनता सरकारको कामबाट सन्तुष्ट छन् जबकी अमेरिकाको ३१% जनता मात्र सरकारको कामसँग सन्तुष्ट छन् । चीनले १९७५ देखि अहिलेसम्म १६ करोड ३० लाख मानिसलाई गरिवीको रेखमुनिबाट बाहिर निकाल्यो । यस्तो काम त बेलायती ‘डेमोक्रेसी’ र अमेरिकी ‘मानवअधिकार’ले चिताउँनै सक्दैनन् ।‘ सन्सारमा फरक फरक मुलुकहरूले आ-आफ्नै किसिमले विकास गर्छन्, मेरै मोडल अनुसार विकास गर नत्र म मान्दिन भनेर अमेरिकाले भनेको भनेकै छ । तर एशिया, यूरोप, लेटिन अमेरिका र अफ्रिकाका धेरै मुलुकका हात्तीका पाईलाहरू आफ्नै किसिमले लम्किरहेछन् । स्वीट्जरलेण्डको जीवनको गुणस्तर (Quality of life), शुसान र शान्ति सन्सारको नमुना मानिन्छ । यहाँको प्रगती उन्नती बेलायतको वेष्टमिन्स्टर मोडलको डेमोक्रेसीले गरेको होईन बरु ‘डाइरेक्ट डेमोक्रेसी’ले गर्दा भएको भनिन्छ ।

छैठौँ सताव्दीतिर (508 BC) एथेन्समा र करीब यही समयमा भारतीय समाजमा “संघ” र “गण” हरूमा बसेर “सामाजिक सवालहरूमा छलफल” गर्न अपनाएको विधीबाट सुरु भएको ‘डेमोक्रेटिक प्रकृया’लाई सोक्रेटस, प्लेटो, एरिष्टोटलहरूले राज्य सन्चालन विधीका रुपमा सैद्धान्तिकिकरण गरे जुन धेरै मुलुकहरूमा निर्यात भयो र थपथाप (Improvisation) समेत हुँदै गयो । पछिल्लो समयमा ‘डेमोक्रेसी’लाई सुधार गरेर बचाउँन ‘मानवअधिकार’, ‘नागरिक अधिकार’, ‘राजनैतिक अधिकार’, ‘महिला अधिकार’, ‘जनजातिको अधिकार’, आदि थपेर (F. Fukuyama, The End of History and the Last Man) सबै शासकलाई चाहिने हतियारको रुपमा साम्राज्यवादी सुपरमार्केटहरूबाट जताततै ‘होम डेलिभरी’ भइरहेकैछ । जहाँ पनि चाहिने र पाइने बनाईएकोछ यो डेमोक्रेसी जुन पश्चिमी मुलुकहरूको एक (‘बर्गर’जस्तै आज खायो भोलि पेट बिग्रने) “जंक प्रडक्ट” हो । यसलाई कतै संवैधानिक राजतन्त्र(उदः बेलायत, जापान) सहितको प्रजातन्त्र भनियो जसले राजतन्त्रमा धमिरा लगायो; कतै संवैधानिक गणतन्त्र (उदाः भारत) सहितको प्रजातन्त्र भनियो जसले ‘गणतन्त्र’मा धमिरा लगायो; कतै संसदीय प्रणाली (उदाः ईटाली, भारत) सहितको प्रजातन्त्र भनियो र संसदीय प्रणालीलाई विद्रुप पारियो; कतै अर्ध-राष्ट्रपतीय प्रणाली (उदाः ताइवान, फ्रान्स) सहितको प्रजातन्त्र भनियो र राष्ट्रपति प्रणालीलाई अर्धनारेश्वरजस्तो बनाईयो, आदि । तेसो त पाश्चात्य राजनीति शास्त्रीहरूको भित्रि नियत आफ्नै अवधारणात्मक चार किल्ला (Conceptual framework) मै दुनियालाई राख्न खोजेको सबैले बुझेकै हो । फुकुमायाको यही पछिल्लो सिम्फोनी सुन्न त धेरै विद्यार्थीले पढे-सुने तर त्यसमा सन्सार नाचेन । तथापी, शीतयुद्धपछि “ग्लोबलाईजेशन” भनेर (व्यापारको माध्यमबाट सन्सारमा शासन गर्ने ‘बिल्डरवर्ग ग्रुप’को सिद्धान्त, योजना र रणनीति मुताबिक) साम्राज्यवाद अघि बढ्यो जसको हतियार अहिलेपनि ‘बाइबल(Invisible weapon)’, ‘बन्दुक’, ‘डेमोक्रेसी’,  र ‘व्यापार’ नै हुन् ।

२। सभ्यताहरूको युद्धको थेशीसः दुनियामा ईसाई, ईस्लाम, हिन्दु (भारत) र वौद्ध (जापान-चीन)मार्गीहरूको वीचमा द्वन्दहरू (कतै देखिने कतै नदेखिनेगरि) फैलिँदै युद्धको अभिन्न अंग बन्दै आयो जुन अहिले आएर फेरि चर्को रुपमा देखिनथालेकोछ । यही कुरालाई देखेर अबको युद्ध ‘सभ्यताहरूका बीच’ हुने (S. Huntington, Clash of Civilizations) भने नयाँ थेशिस अघि सारे । हन्टिङटनले भने - ‘अब पाश्चात्य (ईशाई) सभ्यता, ईस्लाम सभ्यता, अर्थोडक्स चर्च (रशियन) सभ्यता, हिन्दु सभ्यता, जापानी सभ्यता, लेटिन अमेरिकन सभ्यता र अफ्रिकन (७) सभ्यताहरूका बीच द्वन्द र युद्ध हुनेछ ।‘ यसै शीलसिलामै भारतले आफुलाई “हिन्दु राष्ट्र”को रुपमा (सन् २०२५ सम्ममा) घोषणा गर्ने र ईस्लाम तथा ईसाई सभ्यतासँग (नत्र हिन्दुहरूको पहिचान सिद्दिने देखेपछि) भिड्ने भनेर भित्री योजनामा लागेको हो । यही अवधारणा अन्तर्गतको एक कडीका रुपमा नै नेपाललाई पनि ‘हिन्दु राष्ट्र’ बनाउँन खरबौँ खर्च गरेर भारत लागि परेको र नेपाली कांग्रेस, राप्रपा, एमाले र माओवादीलाई हिन्दु राष्ट्र संविधानमा व्यवस्था गराउँने भनेर कन्भिन्स गरेको पनि हो । तर सो (ईशाईहरूले उछिनेर) नभएपछि परिस्थिती ‘नाकाबन्दी’सम्म पुगेको हो । यहाँ पनि सभ्यताको अदृश्य (Invisible) युद्धमा भारतले उत्तानो बल्ड्याङ खायो ।  चीनले पनि (सन् २०२५ सम्ममा) आफुलाई ‘वुद्धिष्ट राष्ट्र’को रुपमा घोषणा गर्ने र ईसाई तथा ईस्लाम सभ्यताहरूसँग ‘सभ्यताहरूको युद्ध मैदान’ (Cultural War Front)मा पनि लड्ने योजना बनाएको छ भनेर बुझिएकैछ । अमेरिकाले विभिन्न थरिका ईस्लामहरूलाई लडाएर युद्ध सामग्रीको व्यापार गरेर आफ्नो अर्थतन्त्रलाई सन्सारको १ नंबरमा कायम राखेको देखिएकैछ । ईसाइ र ईस्लामको त घनघोर विश्व युद्ध जताततै निरन्तर चलि नै रहेकोछ । नेपालमा समेत सनातनी सभ्यता, वुद्ध मार्गी सभ्यता, किरात सभ्यता, ईशाई सभ्यता, ईस्लाम सभ्यताहरूको भित्रभित्र दन्द्व (Latent conflict) जतासुकै (पार्टी, संगठन, कार्याल, सार्वजनिक स्थान, मिडिया, साहित्य, संगीत, आदिमा) हरेक क्षण महसुस गरिईरहिएकैछ । एकातिर परम्परागत ‘डेमोक्रेसी फेल खाँदै गएको र सभ्यताहरूमा आधारित लगायत अनेक किसिमका द्वन्दहरूलाई समेत संबोधन गर्न सक्ने डेमोक्रेसी भए मात्र मुलुकमा शान्ति स्थापित हुनसक्छ भन्ने देखियो तर स्वीट्जरलेण्डको सन्सारकै पुरानो मध्येको (१८४८) संविधान (१९९९ मा सुधार गरिएको) ले धेरै अघि नै राज्य संचालनको आफ्नै विधी विकास गर्‍यो जसलाई ‘डाइरेक्ट डेमोक्रेसी’ भन्दै आएकोछ ।  

३। स्वीट्जरलेण्ड[1]को डाइरेक्ट डेमोक्रेसीः स्वीट्जरलेण्डजस्तो बहुजातिय, बहुभाषिक[2] र फरकफरक किसिमले विविधताहरूलाई व्यवस्थापन गर्ने प्रचलन-संस्कृति भएको र भूपरिबेष्टित मुलुक (जुन मुलुकलाई यही मुलुकका जर्मनहरूले श्वार्ट्स, फ्रेन्चले श्वीस्से, ईटलियनहरूले श्वीज्जेरा र रोमानिशहरू ज्वित्सरे नाम दिएकाछन् ।) जहाँ सिरिफ ८०.०२ लाख (2012) मात्र जनसंख्या भएपनि २४८५ “स्वायत्त  नगरपालिका”हरू र (१३५३ को ८ क्यान्टोनबाट बढेर १९७९मा) २६ “सार्वभौम प्रान्त (जसलाई क्यान्टोन या Lieus भनिन्छ । यहाँ वास्तबमा २० क्यान्टोन र ६ अर्ध क्यान्टोन रहेकाछन्)”हरू (सन् १२९१मा स्थापित फेडरेशन अनुसार) “स्वीस फेडरेशन”का (स्वतन्त्र तथा सार्वभौम) सदश्यका रुपमा आवद्ध रहेर मुलुकको विविधतालाई नमुना किसिमले व्यवस्थापन गरीरहेकाछन् । जनताको स्वास्थ्य, सामजिक सुरक्षा, शिक्षा, आदि क्यान्टोनहरूकै जिम्मा हुन्छ र उनले नै आ-आफ्नो क्यान्टोनमा कर निर्धारण (फरकफरक) गर्छन्, हरेक क्यान्टोनहरूले सरकारी वा कामको तलब-भत्ता आ-आफ्नै किसिमले (फरक-फरक) निर्धारण (नेपालमा पनि हुम्ला-जुम्लामा फरक तलब-भत्ता तोके जस्तै) समेत गर्छन् । हरेक प्रान्तको निशानी चिन्ह (Coat of arms) पनि फरक-फरक र आफ्नै पहिचान अनुसार तोकेर बनाई प्रचलनमा ल्याएकाछन् ।    

स्वीट्जरलेण्डमा ‘डाइरेक्ट डेमोक्रेसी’ भएपनि प्रतिनिधीमुलक प्रजातन्त्र मार्फत नै शासन चलेको छ । कानुनहरू संघीय र प्रान्तीय तथा स्थानीय प्रतिनिधीले नै बनाउँछन् । तर, ती कानुनका कुनै पनि प्राब्धानहरू ठीक नलागे, जनमत देखाएर जनताले अस्वीकार गर्न समेत सक्छन् । यसो गर्न ५० हजार (चुनाव क्षेत्रको १%) भोटरले १०० दिनभित्र हस्ताक्षर गरेर बनेको कुनै पनि कानुन वा कानुनी बुँदालाई “स्वीकार नगर्ने” भनी जनताले चुनौती दिएपछि जनमत संग्रह गरिन्छ जहाँ साधारण बहुमत पाए जीत हासिल हुन्छ । अहिलेसम्म १०० मा ९६ पटक जनमत संग्रहमा जीत हासिल गरेकाछन् । यसै कारण स्वीट्जरलेण्डलाई सन्सारको सबैभन्दा धेरै जनमत संग्रह गरिने मुलुक तथा जनताको इच्छा अनुसार शासन चल्ने देश पनि भन्ने गरिन्छ । सन् १९९५ देखि २००५ सम्ममा यहाँ ३१ पटक १०३ वटा सवालमा जनमत संग्रह भएको थियो जबकि यही समयमा फ्रान्समा जन्मा २ पटक मात्र जनमत संग्रह भयो । यहाँ गज्जबको कुरा के छ भने कसैले भोट दिएनभने ३ डलर जरिबाना समेत लाग्छ । १८४८ देखि अहिलेसम्म ५५० पटक जनमत संग्रह भइसकेकाछन् । यति सम्म कि स्वीट्जरलेण्ड धेरै पछि (सन् २००२ मा) संयुक्त राष्ट्र संघको सदश्य हुँदा समेत जनमत संग्रह गरेर यूएनको ‘सदश्य हुनु पर्छ’ भन्नेले बहुमत ल्यापछि मात्र सदश्य भएको हो । यो प्रचलनले गर्दा कुनैपनि सांसदहरू ऐन-कानुन बनाउँने प्रकृयामा लाग्दा जनतासंग धेरैभन्दा धेरै ‘कन्सल्टेशन’ गर्ने गरेको देखिन्छ ।

संविधानको कुनै धारा संसोधन गर्न परेपनि (जनताले चाहेभने) जनमत साबित गरेर फेर्न सक्छन् । तर, अन्तर्राष्ट्रिय कानुन तथा (स्वीट्जरलेण्डले सहीछाप गरिसकेका) बडापत्रका र मानवअधिकारका कुनै प्रावधान(हरू) नै उलंघन गर्ने कुरा चाहीँ गर्न पाईन्न । संविधानको धारा तथा प्राब्धान नै संसोधन गर्न जनताले १ लाखको हस्ताक्षर १८ महिनाभित्र संकलन गरेर पेश गर्न सके सो बारे जनमत संग्रह गरेर साधारण बहुमतको आधारमा निर्णय लिईन्छ । यसका साथै २६ मध्ये ८ प्रान्त(क्यान्टोन)हरूले मिलेर पनि ‘फेडेरल संविधान’को प्रावधानमा संसोधन गर्न जनमत संग्रहको निम्ती आवेदन गर्न सक्छन् । यसरी डाइरेक्ट डेमोक्रेसीमा जनता र प्रान्त (क्यान्टोन)हरू नै (संसदले पास गरेका ऐन-कानुनका प्रावधानहरू समेत फेरेर, संविधानका प्रावधानहरू समेत संसोधन गरेर) शासन सन्चालनमा सकृय सहभागी हुन्छन् । यति सम्म कि स्वीस  सरकारले कुनै अरु मुलुकसँग गरेका वा गर्न लागेका अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा समेत जनमत पुर्‍याएर फेर्ने वा अस्वीकार गर्ने वा ‘स्वीट्जरलेण्डले मान्नु हुन्न’ भनेर निर्णय जनताले दिन सक्छन् । यही हो डाइरेक्ट डेमोक्रेसी ।

१८४८ मा स्थापित भएको गणतन्त्रात्मक मुलुक स्वीट्जरलेण्डमा बेलायतमाजस्तो कुनै एउटा पार्टीको (बहुमतको नाममा) ‘इन्डाइरेक्ट तानाशाही शासन’ नभई मुलुकभित्र उठेका सबैका सवालहरू ‘मुलुकका आफ्नै घाउखटीरा र समस्या हुन्’ भनेर तिनलाई (यो पार्टीको वा उ पार्टीको वा यो जातिको वा उ जातिको वा त्यो  समूहको वा त्यो क्षेत्रको वा त्यो लिंगको वा त्यो र उ वर्गको सवाल भनेर नपन्छाईकन) तर्कसंगत किसिमले संवोधन गर्ने प्रणालीका रुपमा स्थापित भएकोछ ।

तेसो त स्वीट्जरलेण्ड यहाँ आईपुग्न पनि धेरै वर्ष लाग्यो, धेरै आन्दोलनहरू गर्नु पर्‍यो, कैयौँको ज्यान गयो तर यो रिफाइन्ड-फाइनट्यून्ड हुँदै हुँदै आएर मुलुकका सबै जात-जातिका, सबै धर्मवलम्बीमा, सबै संस्कृतिक समुहका, भाषागत समाजका र हरेक नागरिकको समस्याहरूलाई संबोधन शासन प्रणालीका रुपमा स्थापित तथा संचालित रहेकोछ । यसमा पनि सुधारहरू हुँदै जाने नै छन् । यस प्रणालीमा अल्पमतले प्रस्ताब गरेका ऐन-कानुनहरू संसदमा ‘बहुमत’ले फेल गरेभने जनमतले “पास” गर्ने पनि गुन्जायस रहन्छ । सरकारले प्रस्ताब गरेका कुराहरू संसदले फेल गराएमा पनि जनमतले फेरि “पास” गरिदिने गुन्जायस रहन्छ । ‘सरकार वा संसदले आफ्नो कुरा फेल गरे जनतामा जानु’ भनेको यही त हो ।  

डाइरेक्ट डेमोक्रेसीमा हरेक प्रान्त (क्यान्टोन) र नगरपालिकाहरूको आ-आफ्नै संविधान र ऐन कानुन हुन्छन् जुन आधुनिक युगको उच्चतम प्रजातन्त्रको रुप पनि हो । यसो गर्दा सबै जनताका सवालहरुको विशेष किसिमले (Peoples specific) संबोधन हुने र सबै जनता जुटेर आर्थिक विकासको काममा लाग्ने भएकोले आर्थिक उन्नतीको काममा पनि कुनै बाधा नपुगेको प्रतक्ष्य अनुभव गरिएकोछ । नेपालमै पनि प्रान्त नं १, ३ र ७ वा हरेक प्रान्तमा एउटै किसिमको संविधान-ऐन-कानुनले शासन चलाउँन खोज्नु भनेको ‘एकात्मवादी सोच’, गणतन्त्र विरोधी र चरम अव्यवहारिक पनि हो ।

स्वीट्जरलेण्डको डाइरेक्ट डेमोक्रेसीले जनप्रतिनिधीमुलक संसदीय व्यवस्थालाई झन जनमुखी र नागरिक-मैत्री, विविधत जातजाति-मैत्री, शासन-व्यवस्थामा समेत जनताको प्रतक्ष सहभागिताजस्ता विशेषता भएको व्यवस्थाको रुपमा विकसित हुन मद्दत गरेकोछ । “जनप्रतिनिधी”हरूलाई हर क्षण ‘चेक एण्ड व्यालेन्स’ “जनता”ले नै सिधै गर्ने हुँदा जनता पनि डेमक्रेसी र शासन सन्चालनमा नित्य सकृय (चुनावको बेला भोट हाल्ने र निस्कृय हुने मात्र होइन) एक पक्षका रुपमा कृयाशील हुने भए ।  यही हो डाइरेक्ट डेमोक्रेसीले सृजना गरेको ‘डाइनामिक्स’ पनि । नेपालले यो प्रणाली जस्ताको तेस्तै नक्कल गर्न सक्दैन र हुँदैन पनि । तर -

४। टिप्पणीः नेपालमा पनि प्रान्तहरू बन्नेवाला छन् । अबको बदलिएको परिस्थितीमा, संघीय संविधान र संघीय ऐन-कानुनहरूका साथै - (क) हरेक प्रान्तहरूले आफ्नै ‘प्रान्तीय संविधान’ (प्रथाजनित कानुनहरूका समेत आधारमा, जुन सहमतीय हुन्छन्, र जनताद्वारा अनुमोदन गराएर) निर्माण गर्ने; (ख) मुलुकको ‘संघीय संविधान’, आफ्नै ‘प्रान्तीय संविधान’का आधारमा हरेक प्रान्तले ‘प्रान्तीय ऐन-कानुन’ (प्रथाजनित कानुनहरूका समेत आधारमा, जुन सहमतीय हुन्छन्, र जनताको प्रतक्ष संलग्नतामा) बनाउँने; (ग) संघिय संविधान, संघीय ऐन-कानुन, प्रान्तीय संविधान, प्रान्तीय ऐन-कानुनका धारमा हरेक ‘नगरपालिका ऐन-कानुन’ (प्रथाजनित कानुनहरूका समेत आधारमा, जुन सहमतीय हुन्छन्, र जनताको प्रतक्ष संलग्नतामा)’, ‘गाउँपालिकाका ऐन-कानुन(प्रथाजनित कानुनहरूका आधारमा र जनताको प्रतक्ष संलग्नतामा)’, ‘विशेष क्षेत्र ऐन-कानुन’ (प्रथाजनित कानुनहरूका आधारमा, जुन सहमतीय हुन्छन्, र जनताको प्रतक्ष संलग्नतामा)’ तथा ‘विशेष संरक्षित क्षेत्र ऐन-कानुन’ (प्रथाजनित कानुनहरूका आधारमा, जुन सहमतीय हुन्छन्, र जनताको प्रतक्ष संलग्नतामा)’ बनाउँने ।

यसो गर्न सकेमा नै नेपालको जातिय, सांस्कृतिक, भाषिक, धार्मिक विविधताहरुमा निहित विविध सवाल र समस्याको व्यवस्थापन-संवोधन गर्न सक्ने व्यबहारिक तथा स्वायत्त शासनप्रणाली (केन्द्रदेखी स्थानीय तहसम्म) वा ‘विकेन्द्रिकृत गणतन्त्र’ हुने देखिन्छ । यसो नगरेर ‘सिंगो नेपालको “एउटा मात्र संविधान” र “एउटा मात्र मुलुकी ऐन” वा ‘एउटा मात्र विषयगत (वन, कृषि, शिक्षा, स्वास्थ्य, आदि) ऐन’ले सबै प्रान्त, सबै नगरपालिका, सबै गाउँपालिका, सबै विशेष क्षेत्र वा सबै विशेष संरक्षित क्षेत्रहरूका सवाल र समस्याहरुलाई संवोधन गर्न खोजे त्यो चरम अव्यवहारिक र द्वन्द बल्झाईरहने, स्थानिय स्तरमा जनता र समुदायहरूको विशिष्ट सवालहरूलाई विशेष किसिमले (Location specific) संवोधन नगर्ने, कसैको पनि चित्त नबुझ्ने घुमिफिरी चरम “एकात्मक गणतान्त्रिक शासन” मात्र हुनेछ र यसले मुलुकको कल्याण गर्नु भन्दा द्वन्द मात्र बढाउँनेछ ।
------------     -----------------       ---------------
Ref
http://www.economist.com/news/essays/21596796-democracy-was-most-successful-political-idea-20th-century-why-has-it-run-trouble-and-what-can-be-do



[1] फ्रेन्च शब्द “श्वीस्से”बाट आएको ।
[2] जर्मन (धेरैमा ६४.४७%), फ्रेन्च, ईटालियन, रोमानिश, सर्वो-क्रोएशियन, अलबानियन, पोर्तुगीज, स्पेनीस, टर्किस, तामील, अरबीक, डच, रशियन, चाईनीज, थाई, कुर्दीश, मेसेडोनीयन, हङ्गेरियन, स्वेडीश, चेक, पोलेण्डी, ग्रीक, तनामेसे, पर्शियन, रोमानियन, तागालोग, डेनिश, सोमाली, फिनिश, स्लोभाक, स्लोभेनी, बुल्गेरियन, हिन्दी-उर्दु, णर्वेजियन, आर्माइक, कोरियन, हिब्रु र टिबेटन (कम्तीमा ०.०२%) ।

क्लेप्टोक्रेसी (विक्रम सुब्बा)


के हो क्लेप्टोक्रेसी? - “डेमोक्रेसी”, “एरिष्टोक्रेसी”, “ब्यूरोक्रेसी” भनेझैँ “क्लेप्टोक्रेसी” पनि एक शासन पद्धति हो । शाब्दिक प्रयोगमा यो Kleptocracy, Cleptocracy र Kleptarchy को रुपमा समेत लेखिन्छ । ग्रीक भाषामा kleptes भनेको Thief (चोर) र kratos भनेको Rule (शासन) हुन्छ । अर्थात ‘चोर वा चोरहरू’को शासन नै क्लेप्टोक्रेसी हो । एकजना वा एकजनाभन्दा बढी “चोर” वा “फटाहा”ले मुलुकको स्रोत आफु, आफ्ना परिवार, आफ्ना जात, आफ्नो समुह वा दल वा गुटको निम्ती कानुन अनुसार र भ्रष्टाचार समेत गरी फायदा उठाएर शोषण-दोहन गरेर वा लुटेर वा चोरेर वा छलेर राज्यको सबथोक आफ्नैझैँ बनाएर राज्य सन्चालन गरिने पद्दतीलाई नै “क्लेप्टोक्रेसी” भनिन्छ । यो प्रणाली राज्यको ढुकुटीमा रहेको मुलुकी स्रोत आफु खुसी र बदनियतपूर्वक हिनामिना गरेर; आफुलाई जसरी पनि फायदा हुने आर्थिक नीति र कानुन र ट्याक्स नीति बनाएर वा फेरबदल गरेर; जनतालाई दिने सेवासुविधाहरू भित्रभित्र बेची-खाई दुरुस्त तर झुठो प्रतिवेदन तैयार समेत गरेर संचालित हुने गर्छ ।

क्लेप्टोक्रेसीका सूचकहरू? – क) क्लेप्टोक्रेट्सहरूको संबन्ध जहिले पनि डिक्टेटर शासक, हुकुमी शासक या शैनिक शासकहरूसँग बढी हुन्छ; ख) यिनले “क्षमता र योग्यता” भन्दा पनि “आफ्नो मान्छे”लाई शासन सन्चालनका हरेक महत्वपूर्ण पदहरूमा “गेट किपर” राखेर शासन गर्छन् ताकि उनले गरेका कुनै पनि फट्याइँहरू, चोरीहरू, लुट-खसोटहरू “बाहिर”का मानिसले थाहा नपाउन; ग) यिनले जहिले पनि आयात र निर्यातको काम आफ्नै विश्वासिलो मानिसलाई “ठेक्का”मा दिएर गोप्यरुपमा कमिशनको खेल खेल्छन्; घ) यिनले राज्यको ढुकुटीलाई “आफ्नै बाउको”जस्तै गरेर मनपरि आफ्ना मानिसलाई र आफुलाई मनपरेका मानिस वा संघ-सँस्थालाई बाँढ्छन्; ङ) यिनले राज्यको ढुकुटीलाई “मोजमस्ती र सुखसुबिधाको” निम्ती बेफिक्री उडाउँछन्; च) यिनले राज्यको ढुकुटीबाट कैयौँ रुपिया-पैसा आफ्नो व्यक्तीगत (स्वदेशी-विदेशी) “गोप्य बैँक-खाता”मा जम्मा समेत गर्छन् र आफु शासनबाट हटेपछि प्रयोग गर्छन् ।

क्लेपट्क्रेसी कस्तो मुलुकहरूमा मौलाउँछ? - क्लेप्टोक्रेसी अविकसित (Under developed) वा विकासशील (Developing) मुलुकहरूले अपनाउँने सामन्ति शासनकै अवशेष हो । किनभने यी मुलुकहरूमा जनता धेरै अशिक्षित छन् । अशिक्षित धेरै भएको ठाउँमा फटाहा, चोर, बेइमानहरूले आफ्नो कमाल देखाउँछन् । क्लेप्टोक्रेट्सहरूले प्राय कब्जा गर्ने मुलुकको प्राकृतिक स्रोत (Natural resources) हरू हुन् जसलाई उनीहरू विदेशतिर बेच्ने काम गर्छन् । यस्तो काम राजधानीका भव्य (होटलका) कोठाहरूमा हुने गरेकोले सर्वसधारण जनतालाई थाहै पनि हुन्न ।

क्लेप्टोक्रेसीका असरहरू – क) क्लेप्टोक्रेट्सहरूलाई मुलुकको अर्थतन्त्र सुध्रियोस् कि डुबोस् केही मतलब हुन्न सिरिफ कमाउँन पाए पुग्यो । यसले मुलुकको अर्थतन्त्रलाई भताभुंग पारिदिन्छ; ख) यिनका निम्ती मुलुकको राजनैतिक अवस्था जति विग्रियो उति राम्रो किनभने यो नै “मालामाल” हुने अवस्था हो । राजनीति जति बिग्रियो उति नै नेता खरिद गर्न सजिलो हुन्छ र “मालामाल” भइन्छ; ग) क्लेप्टोक्रेट्सहरूलाई नागरिक अधिकारहरूको केही मतलब हुन्न । बरु मुलुकमा नागरिक अधिकार जति गडबड भयो उति नै कमाउँने मौका हुन्छ । मस्त कमाएपछि २-४ पुरस्कार, केही चन्दा दिएर फेरि आफुलाई चोख्याईहाल्छन्, प्रतिष्ठा बढाईहाल्छन् । चोर, फटाहालाई आदर-सम्मान गर्ने सँस्कृति समाजमा स्थापित हुन्छ र तिनै चोर-फटाहाले जे जे गरिरहेछन् त्यही गर्नु नै उचित हो भनेर समाज नै भ्रष्टिकृत हुन्छ; ग) क्लेप्टोक्रेट्सहरूको शासनमा मुलुकको घरेलु अर्थतन्त्रको जग कमजोर हुन्छ र विदेशीहरूको “मार्केट” जस्तो मात्र हुन पुग्छ । बोर्डरका हरेक नाकाहरू कालाबजारीका राजमार्ग बन्छन्; घ) क्लेप्टोक्रेट्सहरूको शासनमा बजारमा “कमसल”, “नक्कली”, “डेट एक्स्पायर” मालहरूको विगविगी चल्छ; ङ) क्लेप्टोक्रेट्सहरूको शासनमा भयानक किसिमले ट्याक्स छल्ने काममा व्यापारीहरूलाई सरकारी कर्मचारीहरूले नै नजरानाको आधारमा सहयोग गरिरहेका हुन्छन् । मुलुकमा “अन्डरवर्ल्ड”को शासन चल्छ । मन्त्रीले कतै जानु परे पुलिससँग आफ्ना पालित गुण्डाहरूसँग “सुरक्षा” कस्तो छ? भनेर सोद्धछन् । गुण्डाहरुकै शासन चल्छ; च) क्लेप्टोक्रेट्सहरूले भन्न त दिनै “डेमोक्रेसी” नै भनिरहेका हुन्छन् तर खासमा मुलुकमा “चोरतन्त्र” चलिरहेको हुन्छ । चोरतन्त्रले मुलुकमा जरा गाडेपछि यसलाई उखेलेर फाल्न ५० औँ वर्ष लाग्नेछ । बेलायतले फोहोर भएको “थेम्स नदी”लाई सफा गर्न पनि ५० वर्ष लागेको थियो । नेपालमा बागमती कति वर्षमा सफा होला केही पत्तो छैन ।

छानिएका १० प्रख्यात क्लेप्टोक्रेटिक शासकहरू – १) ईन्डोनेशियाका भूपु राष्ट्रपति सुहार्तो (३५ बिलियन डलर लुटेर आफ्नो बनाए); २) फिलिपिन्सका भूपु राष्ट्रपति मार्कोस (२१.६ बिलियन डलर लुटेर-हिनामिना गरेर आफ्नो बनाए); ३) कंगोका भूपु राष्ट्रपति मोबुतु (५ बिलियन डलर लुटेर आफ्नो बनाए); ४) नाइजेरियाका भूपु राष्ट्र प्रमुख अवाचा (१ देखि ५ बिलियन डलर लुटेर आफ्नो बनाए भनिन्छ) ; ५) युगोस्लाभियाका भूपु राष्ट्रपति मिलोसोविच (१ बिलियन डलर लुटेर आफ्नो बनाए); ६) हेटीका भूपु राष्ट्रपति डुभालियर (३०० देखि ८०० मिलियन डलर लुटेर आफ्नो बनाए भनिन्छ); ७) पेरुका भूपु राष्ट्रपति फुजिमोरी (६०० मिलियन डलर लुटेर आफ्नो बनाए); ८) उक्रेनी भूपु प्रधानमन्त्री लाजारेन्को (११४ देखि २०० मिलियन डलर लुटे भनिन्छ); ९) निकारागुवाका भूपु राष्ट्रपति अलेमान (१०० मिलियन डलर लुटे); १०) फिलिपिन्सका भूपु राष्ट्रपति एस्त्रेदाले (७८-८० मिलियन डलर लुटे भनिन्छ) ।

टिप्पणी – नेपालका पृथ्वी नारायण शाहले ‘मेरा साना दुःखले आर्ज्याको होइन यो मुलुक’ भनेर नेपाल नै मेरो व्यक्तिगत ‘बैभव-सम्पती’ हो झैँ बोलेको कुरा क्लेप्टोक्रेटिक नै हो । राणाहरूले चाकडी गरेर खुशी पार्नेलाई कुनै ‘मौजा’ ‘विर्ता’ बाँड्थे । यिनले नेपाली जनताको पनि नागरिक अधिकार छ भन्ने कुरा कहिल्यै सोचेनन् बरु उनले पनि ‘नेपाल हाम्रै सम्पति हो’ भनेझैँ परिवारका सदश्यहरूमा बाँडचुँड गरेको कुरा ईतिहासले भन्छ । राणा शासन पछि यही क्लेप्टोक्रेसी शासन-सँस्कार-सँस्कृतिले नै हरेक शासकहरूको धारणागत राज्यसंचालनको ढाँचा बन्यो । शाह शासन आएपछि राणाहरूको ठाउँ अब पञ्चले लिए । राजा-भक्ती-चाकडीको आधारमा क्लेप्टोक्रेटिक-पञ्चहरूले मुलुकलाई लुट्नसम्म लुटे । पञ्चायत ढल्यो । राजतन्त्र ढल्यो । प्रजातन्त्र आयो । डेमोक्रेसीलाई ‘प्रजातन्त्र’ भन्ने र ‘लोकतन्त्र’ भन्नेहरूले “प्रजातन्त्र” वा “लोकतन्त्र”लाई “पार्टीतन्त्र”मा ढालेर शासन गरे । त्यसपछि डेमोक्रेसी भनेको “गणतन्त्र” पो हो त भन्नेहरूले त झन गणतन्त्रलाई “गिरोहतन्त्र” बनाएर मुलुकलाई मिलेर लुट्ने क्लेप्टोक्रेसी चलाईरहेछन् ।

एउटा प्रणाली र विचार मानसिले ग्रहण गरेर व्यबहारमा लागु गर्न धेरै समय लिने रहेछ । एउटा (कार्य संपादन वा समाज व्यवस्थापन) प्रणाली वा सँस्कृतिमा सुधार आउँन वा फेरिन पनि झट्टै नहुने रहेछ । यही कारण होला नेपाली शासक पनि “प्रजातन्त्र”, “लोकतन्त्र” र “गणतन्त्र” भनिरहेछन् तर “क्लेप्टोक्रेसी” नै चलाईरहेछन् । शासकहरूको ‘माइण्ड शेट’मा बसेको क्लेप्टोक्रेसीलाई भत्काउँन पनि ठुलै प्रयासको क्रान्ती नेपालमा चाहिने देखियो । अहिले सम्म धेरै भौतिकवादी कम्निष्ट प्रधानमन्त्रीले प्रधानमन्त्री निवास प्रवेश गर्दा साइत हेरेर, सनातनी पुजा-शंख-घंट बजाएर र चरू पोलेर, निवासका हरेक कोठामा पुजाको धुवाँ र कलशको शुद्ध जल छर्केर मात्र “निवाश प्रवेश” गरे । यो नै छाती भित्र सनातनि (हिन्दु भनिने) सँस्कृति र धर्मले हालिदिएको सामन्ती सोच-सँस्कृतिको शासन प्रणालीका रुपमा प्रकट भएको क्लेप्टोक्रेसी हो जसले आधारभूत रुपमा नेपाली शासकहरूलाई संचालन गर्ने गर्छ ।
------------     -----------   ----------
Ref.

https://en.wikipedia.org/wiki/Kleptocracy