Wednesday, July 27, 2016

आर्थिक विकासका मोडेलहरू (विक्रम सुब्बा)


१। विगतः पहिले ‘विकास’ भन्ने चलन थिएन । “आधुनिकिकरण (Modernization)”, “पाश्चात्यिकरण” (Westernization)”  र “औद्योगिकिकरण (Industrialization)” शब्दले नयाँ ‘प्रगती-उन्नती’ भएको वा हुने बुझाउँथे । दोस्रो विश्वयुद्धपछि तेस्रो विश्वका निम्ती “आर्थिक विकास” शब्द अमेरिकाका तात्कालिन राष्ट्रपति ह्यारी ट्रुमन (कार्यकाल: 12 April 1945 - 20 January 1953) ले भाषणमा  प्रयोग गरे - ‘दुनियाका आधाभन्दा बढी मुलुकका मानिसहरू गरिवीमा बाँचिरहेकाछन् । खाना छैन, अनेक रोगले मानिस ग्रस्त छन् । उनको आर्थिक जीवन जंगली अवस्थाको जस्तो र गतिहीन रहेकोछ । तिनमा रहेको व्याप्त गरिवीले उनकै निम्ती र छिमेकी धनी मुलुकहरूको निम्ती पनि जोखिम सृजना भएकोछ । मलाई लाग्छ हामीले ती गरीव मुलुकहरूको निम्ती हामीसँग भएका ज्ञान तथा प्रविधी दिएर उनको अवस्थामा सुधार ल्याउँन सहयोग गर्नु पर्छ । म के देखिरहेकोछु भने प्रजातान्त्रिकरण गर्दै आर्थिक विकासको मुलधारमा तिनलाई ल्याउँन सकिन्छ ।‘

ट्रुमनले ‘विकास’को माध्यमले दुनियालाई (अमेरिकी किसिमको) ‘प्रजातान्त्रिकिकरण’ गर्ने नियत राखे । यो ‘कम्युनिष्ट’हरूको बढ्दै गईरहेको प्रभावलाई ध्वस्त गर्ने ‘मिसाईल-नियत’ थियो । यसपछि अनेक ‘विकासका सिद्धान्तहरू’ निस्के र सबैको ‘कम्युनिष्ट’को प्रभावलाई ध्वस्त गर्ने कार्यभार (ToR) नै थियो, तेस्रो मुलुकहरूको मायाले विकासको कुरा गरेको होइन । अब यसै अनुरुप संरचनाहरू स्थापित र कृयाशील भए । ‘व्याकप्याक’मा विकास बोकेर अमेरिकाका गल्लीहरूमा केरा बेच्ने, रक्सि बेच्ने झत्ते-झल्लु अमेरिकनहरूका निम्ती ‘विकासविज्ञ’, ‘डेभेलप्मेन्ट टुरिष्ट’ र ‘सीआईएका जासुस’ गरी ‘थ्री ईन वान’का रुपमा आकर्सक ‘रोजगारी’ खुल्यो ।  

२। नव-उदारवादः ‘नव-उदारवादी आर्थिक विकास (१९८०)’को अवधारणा आयो जसले ‘स्वतन्त्र व्यापार’को कुरा गरेर अविकसित मुलुकहरूको ‘औद्योगिकिकरण’ गर्ने विचारलाई ठ्याम्मै रोकेर, आफ्नै मुलुकमा ‘उत्पादन गर्ने’ (जसलाई “नेशनल प्रोडक्ट” भनी मेड इन अमेरिका, मेड इन जापान, जर्मन गाडी, आदि नाममा ब्रान्डिङ गरे) र अविकसित मुलुकहरूलाई निस्कृय ‘बजार’मा परिणत गरे । अब “विकास” भन्नाले - ‘उपचार, पोषण, झाडापखाला, रुघा-खोकी-निमोनिया, साक्षरता, शिक्षा, खानेपानी, केही विद्यार्थीलाई चात्रवृत्ति दिएर सीआईएको निम्ती काम गर्ने अघोषित जासुस बनाउँने जस्तोमा  केन्द्रित भयो । ठुलठुला बाटाघाटा, उध्योग-धन्दा, व्यापार-व्यवसायको कुरा गर्नु हुन्न, त्यो “सस्टेनेवल विकास” होईन भनियो । यो झेली कुरा नसुनि चीन, सिंगापुर, कोरीया, हङकङ, अर्जेन्टिना, चिली, सुडान र युगाण्डा जस्ता मुलुकहरूले “आर्थिक विकास” गरिदिए । अमेरिकी र यूरोपेलीलाई यो खपिसक्नु भएन । त्यसपछि तिनले तेस्रो मुलुकमा हुने ‘आर्थिक विकास’लाई सैद्धान्तिकिकरण (Knowledge Industry) गर्ने र सन्सारभरि ‘प्याजिङ गरेर’ बेच्ने चतुर काम आफ्नो विश्वविद्यालयका प्रोफेसरहरू र उनका दोकान-ल्याबलाई जिम्मा दिए ।

३। के हो विकास? ‘नचाहेको अवस्था’ बदलेर ‘चाहेको अवस्था’मा पुग्न लागिपर्ने गतिशील “प्रकृया” नै विकास हो । अर्थात, विकास स्थीर (Static) वा केही हासिल गरेर चुपचाप बसेको अवस्था हुँदैन । हिजोभन्दा आज र आजभन्दा भोलि हुँदै निरन्तर अघि बढने गतिशील प्रकृया हो विकास ।  “आर्थिक विकास” के हो त? – समाजको “गरिवी”, “असमानता” र “बेरोजगारी”हरू पुरै हटनु वा कम हुनु “आर्थिक विकास” हो ।

४। आर्थिक विकासका सिद्धान्तहरू - आर्थिक विकासका सिद्धान्तकारहरू तीन कुरामा सहमत छन्  – १) मुलुकका अर्थतन्त्रहरूले अनेक किसिमका बांगाटिंगा बाटो हुँदै समय लिएर विकास गर्दै जान्छन्; २) विकासका अवरोधहरू (जहाँ पनि हुन्छन्) तिनको पहिचान गरेर, तिनलाई हटाउँन सके मात्र विकास हुन्छ; र, ३) सरकारहरूले सुहाउँदिलो नीतिहरू (Conducive policy environment) बनाएर विकासलाई अघि बढ्न सहजीकरण (Facilitate) गर्न सक्छन् । हरेक समाज र मुलुकमा आफ्नो छुट्टै आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक अनुभवसहित अनेक विशेषता हुने भएकोले कुनै पनि विकासको एउटा सिद्धान्त वा मोडल जस्ताको तेस्तै थपक्कै अनुसरण गर्न कसैले पनि सक्दैन । बरु, सबै विकासका सिद्धान्त तथा मोडलका सुहाउँदिला तत्वहरू (Cascading approach) लिएर हरेकले आफ्नै “मोडल” तैयार गरेर विकास गर्दै जान्छन् ।

५। आर्थिक विकास गर्ने दुई अवधारणाहरूः १) उस्तैउस्तै “लगानी” गरेर अरु मुलुकहरूकोभन्दा “बढी उत्पादन” गर्न सके आफ्नो लागी ‘एब्सोलुट एडभान्टेज’को अवस्था सृजना हुन्छ । जस्तैः चीनले यूरोप र अमेरिकाभन्दा कम लागतमा बढी उत्पादन गरेर सस्तोमा सामान उपलब्ध गराएर अमेरिकी र यूरोपेली बजार कब्जा गरिदियो । यो चीनको निम्ती ‘एब्सोलुट एडभान्टेज’ भयो । २) उस्तैउस्तै वा अझ कम “लगानी” गरेर अरुकोभन्दा “बढी उत्पादन गर्न” जसले सक्छ उसैले ‘कम्पेरिभ एडभान्टेज’ (डेविड रिकार्डो १८१७) पाउँछ । जस्तैः अहिले आएर चीनले भन्दा भारतले सस्तोमा कतिपय सामान (जस्तैः भारतमा कम्युटर ईन्जिनियरहरूलाई कम तलब दिएर सफ्टवेयर निर्मण तथा Supply गर्न सक्यो) उपलब्ध गराउँन सकेकोले चीनले भन्दा भारतले अमेरिका र यूरोपको बजारमा ‘कम्पेरटिभ एडभान्टेज’ पायो र आर्थिक वृद्धि दर बढायो ।  

६। आर्थीक विकासका केही मोडलहरू - रोस्तोभको ‘चरणगत आर्थिक विकास’को मोडलले कुनै पनि मुलुकले आफुलाई आधुनिक राष्ट्रको दिशामा विकास गर्दै जाँदा “प्राथमिक(Primary)” “द्वितीय(Secondary)” तथा “तेस्रो (Tertiary)” चरणहरू पार गर्दै अघि बढछन् भन्यो । हार्रोड-डोमारको “वचत”मा आधारित विकास मोडल अनुसार  समाजमा उच्चतम “वचत” भए उच्चतम “लगानी” हुन्छ र मुलुकमा आर्थिक विकास हुन्छ भनियो । लेविसको “दोहोरो क्षेत्र”मा आधारित विकास मोडलले मुलुकको विकासको निम्ती कुनै एउटा विषयगत क्षेत्र (Sector) मा मात्र निर्भर नभई एकभन्दा बढी क्षेत्र (Sectors)हरूमा लगानी गरेर आर्थिक विकास गर्ने कुरा गर्‍यो । लेविसले कृषिसँगै उद्योगिक क्षेत्रको पनि विकास गरे मात्र आर्थिक विकास हुन सक्छ भन्ने कुरालाई अघि सारे । आर्थिक विकासको ट्रिकल डाउन मोडल अनुसार ‘पहिलो चरणमा धनाड्य व्यापारी-व्यवसायीहरूलाई फायदा हुने किसिमको उद्योग-धन्दाहरूलाई प्रोत्साहन गर्ने परिणाम स्वरुप गरीबले पनि ‘काम गर्ने’ मौका पाउँछन् र विस्तारै गरीबहरूको जीवनमा पनि आर्थिक उन्नती ट्रिकल डाउन (थोपाथोपा झरेर) भएर समाजमा आर्थिक विकास हुनेछ ।‘ टबिन ट्याक्स मोडलले त  आफ्नो मुलुकमा केही नगर, विदेशीले सामान विच्न ल्याउँदा बेस्सरी ट्याक्स लगाउ र आर्थिक उन्नती गर भन्यो ।

वासिंटन सहमतीमा आधारित विकास मोडल: सन् १९८९ मा अर्थशास्त्री जोन विलियम्सनले ‘आर्थिक उदारीकरणको निम्ती चाहिनेजत्ति नीतिहरू (सरकारले) बनाई देउ, आर्थिक विकास नीजि क्षेत्रका व्यवसायीले आफै गर्दै लैजान्छन्’ भन्ने थियो । जसलाई विश्व बैँक, IMF र US Treasury ले सन्सारभरि फिँजाए ।  नेपालमा, यसका अघोषित लप्टन रामशरण महत भए । जसले नेपालको आर्थिक विकास चौपट पारे बापत ‘सर्वश्रेष्ठ अर्थमन्त्री’को पुरस्कार थापे । विलियम्सनको खाकामा ‘नीजिकरण’ मात्र (रामशरण महतले बुझेको) थिएन बरु १० तत्वहरू थिएः १) कडा वित्तिय अनुशासन; २) सरकारी तथा नीजि क्षेत्रको खर्च-व्यय प्रणालीको पुनःसंरचना; ३) कर प्रणालीमा व्यापक सुधार; ४) बैँकका व्याजदरहरूमा उदारता; ५) प्रतिस्पर्धात्मक मुद्रा विनिमय दर; ६) व्यापारमा उदारवाद; ७) वैदेशिक (फरेन डाइरेक्ट ईन्भेष्टमेन्ट) लगानी प्रकृयामा सहजता र उदारता; ८) उचित नीजिकरण; ९) उचित, सरकारी, नियमन तर कम नियन्त्रण; १०) सम्पतीको अधिकार, आदि । तर राम शरणले नं ८ मात्र देखे-बूझे । किनभने यसैबाट कमाई हुने देखे ।

बेजिङ सहमतीमा आधारित विकास मोडल (Beijing Consensus Model): देङ स्याओपिङ (१९७६) को नेतृत्वमा (२ दशक भित्र) चीनले ८ गुणा आर्थिक विकास गर्‍यो । जसमा “बेजिङ सहमती” नामक विकास मोडलको हात थियो ।  यसका खास तत्वहरू थिए – १) नवीन खोज गर्ने; २) गतिशील लक्ष पछ्याउँने; ३) आत्म-संकल्पका साथ लाग्ने ।

१। नवीन खोज कसरी गर्ने? चीन सरकारले जनता के चाहान्छन्? भन्ने बारे आफै विस्तृत सर्भेक्षण गरेर बनाउँनु पर्ने नवीन नीति के हुनु पर्छ र गर्नु पार्ने नवीन कार्यरअ के के हुन् भनेर पहिचान गर्ने गर्छ । जस्तैः ‘एक बच्चा नीति’ बनाउँदा विस्तृत अध्ययन गरेर बनाईएको थियो । ३। चीनले GDP को आधारमा विकासलाई नाप्ने पाश्चात्य मोडलको सट्टा ‘जीवन-स्तरमा सुधार गर्ने’ र हरेक ‘व्यक्तीले पाउँने भागको (Share) आकारमा वृद्दी’लाई जोड दियो । यसका साथै विकासले “सन्तुलन”लाई विशेष जोड दिएर ‘गाउँ तथा सहरमा सन्तुलन ल्याउँने विकास’; ‘(मुलुकका) बिभिन्न क्षेत्रहरूमा सन्तुलन कायम गर्ने विकास’; ‘मानव जीवन र प्रकृतीमा सन्तुलन कायम गर्ने विकास’; ‘आर्थीक तथा समाजिक स्वरुपमा सन्तुलन कायम गर्ने विकास’; ‘आन्तरिक (देशीय) तथा वाह्य (वैदेशिक) मुलुकसँग सन्तुलन स्थापित गर्ने विकास’, आदि । यो किसिमको विकासको अवधारणा पाश्चात्य मुलुकहरूले बुझ्न पनि सकेका छैन् । ३। तेस्रो कुरो, बेजिङ कन्फ्रेन्सले हरेक मुलुकहरूले कुनै पनि बाह्य मुलुकको दवादबाट (जस्तैः अमेरिकाको हैकम)बाट मुक्त हुँदै जानु पर्छ भन्ने अवधारणा अघि सार्‍यो । यसपछि मात्र “आत्म संकल्प”का साथ ‘आफ्नो मुलुकको विकासको योजना तर्जुमा गरेर अघि बढ्न सक्छन् भन्ने कुरा अवलम्बन गर्‍यो ।

७। रोस्तोवको विकास मोडलः धेरैले रुचाएको (WW Rostow 1960) रोस्तोवको विकास मोडलका ५ चरणहरू बारे छोटो जानकारी – १। परम्परागत चरण - समाज ज्यादै प्राथमिक चरणमा हुँदाको यो अवस्था हो । यसबेला खान पुग्नेगरी खेती गरेर फलाउँनु, बस्तुभाउ पाल्नु र आफ्नो खाध्यान्न वा पशुजन्य उत्पादनसँग अरु समान साटासाट गरेर (Barter) आफ्नो आवश्यकत पूर्ति गरिन्थ्यो । २। संक्रमणकालिन चरण – यो चरणमा केही विषयहरूमा विशेषज्ञताहरू हासिल भए, कमाईबाट केही थप बचत गर्न थालियो र केही आर्थिक विकासका (बाटो, पुल, घट्ट) पूर्वाधारहरू पनि बन्न थाले । घोडा, खच्चड, उँट, हात्तीलाई सामान बोकाएर वेचबिखन गर्न थालियो । ३। ‘टेक अफ’को चरण – यो चरणमा आएर औद्योगिक क्रान्ति भयो र उद्योगहरू खुल्न थाले, उद्योगहरूमा लगानी बढ्न थाल्यो, (एउटा मुलुक मात्र होइन) क्षेत्रीय स्तरमै व्यापार फैलिन थाल्यो जसले अनेक राजनैतिक परिवर्तन गर्न समेत वातावरण तैयार गर्‍यो । ४। परिपक्व हुने चरण – व्यापारको विविधिकरण, नयाँ नयाँ इन्नोभेशन, आयातमा कम निर्भर रहने र उद्योग-उत्पादनमा लगानी वृद्दि गर्ने अवस्था । ५। अधिकतम उपभोगमुखी चरण – उपभोग कर्तालाई मन पर्ने कुराको उत्पानमा जोड, हेर्दै मनमोहक वस्तु उत्पादनमा ध्यान, सेवा-उद्योगहरूको हैकम । मुलुकको आर्थिक विकास तेस्रो (टेक अफ) चरणमा पुगेको बेला जीडीपी १५-२०% सम्म पनि बढ्नु पर्छ । यसका साथै राष्ट्रिय वचत ५% छ भने ऋण वा सहयोग १०-१५% सम्म लिएर भएपनि ‘वचत ग्याप (Savings gap)’ हुन नदिई मुलुकको आर्थिक विकासलाई अझ जोड (Push) गर्नु पर्छ । यसपछि मात्र आर्थिक विकास चौथो चरणमा प्रवेश गरेर आर्थिक विकासला स्थीरता हासिल गरेर स्वचालित हुन थाल्नेछ ।

मलेशियका महाथीर मोहमदले यही रोस्तोवको आर्थिक विकास मोडललाई नयाँ स्वरुप दिएको देखिन्छ । जस्तैः आर्थिक विकासको ३० वर्से ‘भिजन २०२०’ लाई ४ चरणमा बिभक्त गरेर काम गरियो – (१) १९७१-१९९० - (२० वर्ष सम्म) “गरिवी निवारण” गर्ने उद्देश्यमा फोकस; (२) १९९१-२००० - “सबै विषयगत क्षेत्रहरूको संतुलित विकास” गर्ने उद्देश्यमा फोकस; (३) २००१-२०१० - “विश्वमा प्रतिस्पर्धात्मक मुलुक हुने” बन्ने उद्देश्यमा फोकस, र (४) २०११-२०२० – “विश्वको उच्च आय भएका मुलुक मध्ये एक हुने”, आदि । तेस्तै अहिले नेपालमा बाबुराम भट्टराईको केही चरणमा आर्थिक विकास गर्ने ‘हाइपोथेसिस’ पनि रोस्तोभकै मोडलको ‘बाबुरामकृत’ स्वरुप जस्तो देखिन्छ ।

नेपालमा अहिलेसम्म आर्थिक विकासको ‘वाशिंटन कन्सेन्सस’ मोडलले नै सराकारी, गैरसरकारी र नीजि क्षेत्रका दिमाग ‘ईन्डक्ट्रीनेट’ गरिएकोछ । अब नेपाली दिमागको पनि ‘पुनःसंरचना’ नगरी हुन्न । विकासका ‘दिमागी मानिस (Think tank)’ हरूले पनि नयाँ किसिमले विकासका योजना तर्जुमा गर्ने पद्दतीहरू अपनाउँनै पर्छ । नेपालका हरेक प्रान्तले आफ्ना विशेषता मुताबिक आ-आफ्नै किसिमको आर्थिक विकास गर्ने मोडल अपनाउँन सक्नु पर्छ । हरेक नगरपालिका, गाउँपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र, र संरक्षित क्षेत्रहरूले पनि आ-आफ्नै विशेषता अनुसार सुहाउँदिलो किसिमको (Micro level development) आर्थिक विकासको मोडल अपनाउँनु पर्छ । यसो नहुने र एउटै आर्थिक विकासको मोडल सबैलाई लाद्ने हो भने यो त “एकात्मक” चिन्तनको फ्रेममा “संघीयता”लाई जबरजस्ती कैद गरेको हुनेछ । अब सोचाईमा समेत “पुनःसंरचना” भनेको त हरेक प्रान्त र स्थानीय निकायहरूलाई उनकै विशिष्टता अनुसार आफ्नो आर्थिक विकासको मोडल छान्ने ‘आत्मनिर्णयको अधिकार’ दिनु हो । ‘राज्यको पुनःसंरचना’ भन्ने कुरा गर्ने ‘दिमागको पुनःसंरचना’ नगर्ने कुरा त फाल्तु जोकरको गफ मात्र हो । जसले एकछिन हँसाउँछ होला तर समाजमा त परिवर्तन र विकास चाहिएकोछ जसको प्रस्थान बिन्दु नै दिमागको पुनःसंरचना हो ।   
-------- -------

Ref.

http://www.inquiriesjournal.com/articles/134/the-beijing-consensus-chinas-alternative-development-model

प्रकृती पुजक तिव्वतका वोन्पो र किरातहरूमा के सम्बन्ध छ? (विक्रम सुब्बा)


१। वोन धर्म - यो तिब्बतका जनजातिहरूको परम्परागत रैथाने धर्म हो । जसलाई (सन् ७ औँ सताव्दीमा) वुद्ध धर्मले आफुमा मिसाएर “टिबेटन वुद्धिज्म” भन्ने नयाँ शाखा-धर्मको जन्म नै भयो । “वोन धर्म”ले वुद्ध धर्मलाई प्रभावित गर्‍यो या वुद्ध धर्मले वोन धर्मलाई प्रभावित गर्‍यो भन्ने दुबै मत सुनिन्छ । वोन धर्मलाई तिब्बती भाषामा “व्योन” ( ‘O’ Rounded vowel) भनि उच्चारण गरिन्छ । यसलाई “वोनवाद” पनि भन्छन् र यो धर्म पालना गर्नेलाई ‘वोन्पो’ या ‘वोन-पो’ भनिन्छ ।

केही तथ्यः १। स्थापना मितीः यो १६००० वर्ष ईशापूर्व (BC) ‘युङद्रुङ वोन’ले (‘वोनपो’हरूको किंवदन्ती अनुसार) सुरु गरेका हुन् । जसलाई १४ औँ सताव्दी (AD) मा नयाँ रुप दिईयो । २। मुलुकः यो तिब्बतमै उत्पति र स्थापित धर्म हो । ३। सँस्थापकः भनिन्छ क) यो कसैले स्थापना गरेको होइन । जनताले नै विकास गरेको रैथाने धर्म हो; ख) ‘युङद्रुङ वोन’ अर्थात ‘तोन्पा शेनरब मिवोचे’ नामक गुरुले स्थापना गरेको हो’ भन्ने दुइमत सुनिन्छ । ३। वोन मार्गीः एउटा अन्दाज अनुसार तिब्बतमा १ लाख जति यस धर्मका अनुयायी होलान् भनिन्छ ।

२। ईतिहासः वोन धर्मका अनुसन्धाता र वोन धर्मावलम्बी दुबै पक्षले “मौलिक(Original)” र “आधुनिक(Modern) वोन धर्म” भनेर स्वीकार गरेकाछन् । “मौलिक वोन धर्म” भन्नाले तिब्बतका आदिवासि जनजाति समाजमा आदि कालदेखि प्रचलनमा रहेको परम्परागत वोन धर्मलाई बुझिन्छ । जुन “प्रकृती पुजक (Animistic) आत्मवादी” रहेकोछ । अर्थात, प्रकृतिक (Natural forces and ancestors) शक्ती (घाम, पानी, माटो, हावा, आगो, घरको मुल थाम, भूतप्रेत र पितृ)हरू सबैमा आत्मा छ भनि विश्वास गर्ने र ढोग-आदर-पुजा गर्ने, धामी-झाँक्रीहरूको सहयोगमा (Shamanistic) अध्यात्मिक (Spiritual) व्यवस्थापन विधी अपनाउँने तर कुनै आकारयुक्त देवी-देउताको पुजा गर्ने चलन नभएको समाज नै वोन्प समाज हो ।

‘वोन’ भन्ने शव्द संभवतया  पुजा-कर्मकाण्ड गर्दा ‘धामी-झाँक्री’ले फलाक्ने वा फतुर्ने वा “प्रार्थना” भन्ने अर्थबाट सृजना भएर रहेको हुन सक्छ भनिन्छ । मौलिक वोन धर्मको रुप कस्तो थियो? भनेर ठोकेरै भन्न सकिन्न किनभने अहिले लिखित रुपमा पाईने जतिपनि पुराना कागजात-अभिलेखहरूमा वुद्ध धर्मका आधारमा व्याख्या गरेको कुरा जताततै मिस्साईएको र अन्तरघुलित भएर छुट्याउँनै मुस्किल देखिन्छ । यसको राजनैतिक कारण छ । ७ औँ सताब्दीमा जब वुद्ध धर्माबलम्बीहरूले तिब्बतमा शासन गर्न सुरु गरे तब वोन धर्मलाई पेलेर, दबाएर नष्ट पार्न राज्य स्तरबाटै सक्दो प्रयास गरियो । तथापी वोन धर्म तिब्बतबाट मासिएन बरू झन संगठीत भएर आयो । दुःखको कुरा सारा प्राणीको निम्ती शान्तिको कुरा गर्ने ‘वुद्ध’ मार्गी ब्बती शासकहरूले ११ औँ सताब्दीमा फेरि वोन धर्मलाई चरम दमन गरे र वोन धर्मलाई वुद्ध धर्मसँग बेस्सरी मिसाईदिएर छुट्याउँनै नसकिने बनाईदिए ।

वोन धर्मावलम्बी गुरुहरू अध्यापी वोन धर्मको दोस्रो चरणमा ‘युङद्रुङ वोन’को प्रसंग ल्याउँछन्, जसलाई वुद्धिष्टहरू “होईन” भनेर सिधै नकार्दछन् । वोन धर्मका गुरुहरुका अनुसार दोस्रो चरणमा वुद्धजस्तै ‘शेनराव मिवोचे’ (१८००० वर्ष अघि) नामक एक अचम्मका गुरु तिब्बत नजिकै झाङझुङ भन्ने ठाउँमा थिए जसले वोन धर्मको स्थापना गरेका हुन् ।

किम्ब दन्ती अनुसार शेनराव मिवोचे पनि लुम्बिनीका सिद्दार्थजस्तै राजकुमार थिए जसले राजदरवार त्यागे र भिक्षु बने । अध्ययन-ध्यान-तपष्या गरे र निर्वाण प्राप्त गरे । त्यसपछि निर्वाण प्राप्त गर्न सकिने उपाय बारे अरुलाई प्रवचन दिन थाले । उनैले मौलिक वोन धर्मलाई “युङद्रुङ (आत्मिक) वोन”मा विकसित गरिदिए । यस अनुसार वुद्ध धर्मभन्दा अघि पनि वोन धर्मलाई नयाँ रुपमा सुधार गरिएको रहेछ भन्ने बुझिन्छ । कतिपय अनुसन्धाताहरूले टिबेटन वुद्ध धर्मको  स्वरुपको विकासमा ‘वोन धर्ममा लाओ-त्ज्यु’ र शेनरावको समेत योगदानको कुरा जोडेर ‘वोन धर्म तओवादबाट आएको’ पनि भन्छन् । आधुनिक अनुसन्धाताहरूले त शैव (हिन्दु) धर्म कास्मीरतिरबाट तिब्बत पसेर वोन धर्मको विकासमा योगदान गरेको हो भनेर दावी गरेको समेत पाइन्छ ।

कालान्तरमा अहिले आएर ‘नयाँ वोन धर्म’ र टिबेटन वुद्ध धर्म (वोन र वुद्ध धर्म पुरै मिस्सिएको) एउटै भइसकेको देखिन्छ । यसको कारण १४ औँ सताब्दीमा आएर वोन धर्म गुरुहरूले टिबेटन वुद्ध धर्मको पद्मसंभवलाई अंगिकार गर्नुले नै हो भनिन्छ । त्यसो त नयाँ वोन धर्म पनि युङद्रुङ वोन धर्मभन्दा धेरै भिन्न देखिन्छ । नयाँ वोन धर्म मान्नेहरू वोन धर्मकै विभिन्न चरणगत स्वरुपहरूको निरन्तरता चलिरहेको मान्छन् । अक्सोफर्डको ‘डिक्शनेरी अफ वर्ल्ड रिलिजन्स’ अनुसार ‘प्राचीन वोन धर्म र आधुनिक वोन धर्म वीच नगण्य समानता र संबन्ध रहेको’ छ ।

धेरैले टिबेटन वुद्ध धर्मले वोन धर्म मिस्साएपछि नयाँ आकार ग्रहण गरेको हो भन्ने गर्छन् तर ‘डिक्शनेरी अफ वर्ल्ड रिलिजन्स’का अनुसार त्यो सही होइन । बरू वोन धर्मलाई भारतबाट टिबेट पुगेको महायान वुद्ध धर्मले ठूलो प्रभाव पारेको देखिन्छ । वोन धर्म मान्ने हालका दलाई लामा पनि यो कुरालाई स्वीकार्छन् । अहिले वोन धर्म पश्चिम तिब्बतको सानो ठाउँमा र दलाई लामासँगै भारतमा बसिरहेकाले मात्र मानेको देखिन्छ । यस धर्मका हालका गुरु लुङतोक तेनपि ङीमा हुन् ।

चिनीया जनगणना अनुसार तिब्बतमा १०% (करीब १ लाख) ले वोन धर्म अहिले पनि मानिरहेकाछन् । कम्युनिष्ट पार्टीले तिब्बतलाई लिँदासम्म तिब्बत र पश्चिम चीनमा गरेर करीव ३०० वोन गुम्बाहरू कृयाशील थिए भने अहिले २६४ गुम्बा, आनीहरू बस्ने स्थल र आश्रमहरू मात्र कृयाशील रहेकाछन् ।


३। वोन धर्मका आस्था-विश्वासहरू - मौलिक वोन धर्म अनुसार - प्रकृतीका ‘आकाश, घाम, जून, विजुली चम्केको, चट्याङ, पशु-पक्षी, विरुवा-बनस्पती, आदि सबैमा आत्मा हुन्छ र तिनको पुजा गर्नु पर्छ’ भनि विश्वास गरिन्छ ।  सुरुसुरुमा र परम्परागत रुपमा वोन धर्मले (विरामी हुँदा वा केही नराम्रो घटना हुँदा वा केही शुभ कार्य थाल्दा) जोखाना हेर्ने, लयात्मक किसिमले मन्त्र फतुरेर कुनै प्रताडित (Victim) व्यक्तीको रक्षाको निम्ती देउतालाई फकाउँने-मनाउँने, लयात्मक मन्त्रोच्चारण गर्दै वा कुनै बेला हकार्दै र रिसाएको हावभाव गर्दै झारफुक गरेर खराब आत्मा वा भुत-प्रेतलाई प्रताडित व्यक्तिको शरिरबाट या छाँयाबाट भगाएर विरामी निको पार्ने उद्देश्यले मन्साउँने-धपाउँने, देवी-देउता वा भुतप्रेतलाई अंश दिएर फकाउँन वली (रगत) समेत चढाएर दुःख नदिन अनुरोध गर्ने-मन्साउँने, अलौकिक शक्ती शरिरमा चढाएर जादु-टुना गरी (मानसिक?) उपचार गर्ने, आदि गरेको पाइन्छ र पछि आएर धेरै कुराहरू वुद्ध धर्मका संहिताहरूलाई नै अपनाएको देखिन्छ ।

अहिले आएर वोन धर्म ३ फरकफरक “मत”हरूमा बिभक्त रहेको छ – १) ब्रिडोल मतीय वोन जसले जादु-टुना गर्ने काम गर्छन्; २) भिख्यर मतीय वोन जसमा तीन तान्त्रिकहरूले नयाँ सिद्धान्त निकाल्न खोजे तर यिनले पनि जादु-टुनालाई नै अन्तमा अपनाए; र, ३) बिस्ग्युर मतीय वोन जुन वोन र वुद्ध धर्मको वीचमा वैचारिक संघर्ष चल्दा जन्मेको ‘मत’ हो यसको सोझो अर्थ (वोन धर्मलाई वचाउँन) ‘अनुवाद’ वा ‘व्याख्याता’को काम गर्दै आयो ।

अहिले आएर पनि धेरै तिब्बतीहरू आफुलाई वोन धर्मावलम्बी नै हुँ भनेर आफ्नो पहिचान दिन्छन् । अझै पनि आत्माहरूलाई नियन्त्रण गर्ने भनेर तिब्बतका पर्वतहरूमा विशेष झण्डाहरू फहराईरहेछन् ती वोन धर्मका निशानी चिन्हका झण्डा हुन् । धेरै मन्त्रहरू वुद्ध धर्मबाट लिएर वाचन गरिन्छ । यसरी एक किसिमले वोन र वुद्ध धर्म सह-अस्तित्वमा बाँचेकाछन् ।

मौलिक वोन धर्ममा निहित विश्वासका तत्वहरू केलाउँदा ‘कुनै दैवी शक्तीमा विश्वास गर्ने, ब्रह्माण्ड-सन्सार र जीनजन्तुको रचना ‘असल’ र ‘खराव' दुई शक्तीबाट भएको भनि विश्वास गरिन्छ । तर, आधुनिक वोन धर्मामा धेरै कुरा वुद्ध धर्मका कुराहरु पसिसकेका छन् जुन ‘निश्वरवादी (Non-theistic)’ मतमा आधारित छन् ।
 
वोन कर्मकाण्डहरूमा अहिले पनि पुजा गरिन्छ, दैवी शक्तीको प्रतीक (मूर्ति) थपना गरिन्छ, शान्त तथा रिसाहा देवी-देउतालाई ध्यानमा बसेर (टिबेटन वुद्ध धर्म अनुसार) याद-सम्झना गरिन्छ । वोन धर्मले शान्त र रिसाहा देवी-देउता बाहेक ‘ज्ञानी वा दिक्षित (enlightened)’ र ‘सांसारिक (of this world)’ वा ‘पूर्ण दिक्षित नभईसकेका’ देवि-देउताहरु मसेत छुट्याएर हेर्दछ । शान्तिपूर्ण देवि-देउताको हकमा ४ अलौकिक परमेश्वर छन् । जस्तैः १) ‘युम’ अर्थात ‘आमा’; २) ‘ल्हा’ अर्थात देवता; ३) ‘सिपा’ अर्थात सृष्टिकर्ता वा पिता; ४) ‘त्योन्पा’ अर्थात शिक्षक वा गुरु ।

वोन धर्मका कर्मकाण्डहरू मुख्यतया “रिसाहा-संहारक” या “पालक-पोषक” देवी-देउता(यीदाम)हरूमा केन्द्रित रहेर कार्य सम्पादन गरिन्छ । यी देवी-देउताहरूलाई बडो भयानक रुपवाला भनेर वर्णन गरिएकाछन् जसका सहस्र हात-पयर जडित भएको उल्लेख गरिएकोछ, डरलाग्दा अनेक हातहतियार हातमा लिएका हुन्छन् र आफ्ना दुश्मनहरूलाई खुट्टाले टेकेर निसहाय अवस्थामा राखेको देखाइन्छ । टिबेटन वुद्ध धर्म अनुसार ‘ध्यान’ गर्नु भनेको १) रिसाहा देवी-देउताहरु मध्ये कसको नियत कस्तो हुन्छ सो बुझ्न; २) सत्य कुराहरू थाहा पाउन; र ३) निर्वाण प्राप्त गर्ने बाटोमा लाग्नको लागी हो ।           

वोन धर्मले वुद्ध धर्मको निङमापा अनुसार ९ ‘यान’ (Ways of vehicles) हरू हुन्छन् जसले ध्यानमा निपूर्णता हासिल गर्न सघाउँछ । ती हुन् – १) भविश्यवाणी गर्नु अर्थात ज्योतिषको बाटो; २) देखिने सन्सार अर्थात मनोभौतिक ब्रह्माण्डको बाटो; ३) भ्रम निवारण अर्थात नकारात्मक शक्तीहरुलाई धपाउँने-मन्साउँने बाटो; ४) अस्तित्व अर्थात मृत्यू र अन्तेष्टीको बाटो; ५) समर्थक (चेला) बनाउँनु अर्थात दश सिद्धान्तका गतिबिधी गर्नु; ६) भिक्षु हुनु अर्थात गुम्बाको संहिता अनुसार चल्नु; ७) आदि-अन्त्यको ध्वनी अर्थात निर्वाणको बाटोमा लाग्नु; ८) आदि-अन्त्यको शेन अर्थात सही तान्त्रिक गुरु तथा अध्यात्ममा लागेर तान्त्रिक गुरुको चेला हुने बाटो; ९) सर्वोच्च सिद्धान्त अर्थात महान परिपूर्णताको बाटो ।

४। दैनिक कर्मकाण्डहरू - वोन धर्माबलम्बीले पनि अचेल टिबेटन वुद्ध धर्मका दैनिक कार्मकाण्ड सन्चालन गरेको पाइन्छ । जस्तैः थाङ्का र मण्डलाको प्रयोग गर्ने, अनेक देवी-देउताहरूलाई सम्झेर ध्यान गरेर निर्वाण प्राप्तीको काममा नित्य लाग्ने, गुम्बाकै कडा संहिताहरु पालन गर्दै गुम्बाकै जीवन यापन गर्ने र मौलिक वोन धर्मबाट आएका ज्योतिष शास्त्र र जडिबुटीले उपचार गर्ने कामलाई निरन्तर कायम राख्ने ।

नेपालमा वोन धर्म - भनिन्छ, वुद्धिष्ट शासकहरूको दमन खप्न नसकेर वोनपोहरू हाल नेपालको माथिल्लो डोल्पातिर आफ्नो अस्तित्व जोगाउँन भनी बसाइँ सरेर आएका हुन् । नेपालको डोल्पा क्षेत्रमा वोन धर्मका गुम्बाहरू अहिले पनि आफ्नो परम्परा कायम राखेर सकृय रहेकाछन् । जस्तैः मुस्ताङको क्लु ब्राग गुम्बा; डोल्पा जिल्लाका ग्युङ द्रुङ शुङ ट्शाल गुम्बा; डर रिग्यास टशोग्स ग्लीङ गुम्बा; याङ ड्गोङ गुम्बा; ब्साम ग्लीङ गुम्बा; म्था श्रुङ गुम्बा; स्पुङ मो र स्पु मेर्र मन्दिरहरू; ग्युङ द्रुङ ट्रे स्टन ग्लीङ गुम्बा; श्रीड रग्याल गुम्बा । आदि । रुकुमका वोन गुम्बाहरूमा ढोरपाटन गुम्बा; मोन री जुर गसुम मन्दिर, आदि । काठमाण्डुमा ख्री ब्रतान नोर बु रट्चे गुम्बा; ट्रिटेन नोर्बुचे गुम्बा, आदि । यी मध्ये ट्रिटेन नोर्बुचे गुम्बा बोन्पो प्रशिक्षण केन्द्रको रुपमै सन्चालित रहेकोछ ।

सांकेतिक (Hypothetical)टिप्पणीः
१। नेपालमा किरात लगायतका जनजातिहरू भाषागत हिसाबले टिबेटो-बर्मन र सिनो-टिबेटन भाषा बोल्ने गरेकोबाट यी जनजातिहरूको सम्बन्ध तिब्बत र चीनका भाषाहरूसँग रहेको बुझ्न सकिन्छ । भाषा मिल्नु भनेको कुनै न कुनै रुपमा एउटै जाति भएको प्रामाण पनि हो । तसर्थ नेपालका किरातीहरू वोन्पोबाट किराती भए कि तिब्बतका वोन्पोहरु किरातीबाट वोन्पो भए? यो सोधकै विषय हो ।
२। नेपालका किरात लगायतका जनजातिहरूको सँस्कार-सँस्कृतीहरूमा निहित सामाजिक संहिताहरूमा तिब्बतको वोन धर्मावलम्बीहरूको सँस्कार-सँस्कृतीहरूसँग समानता देखिन्छ । जस्तैः झारफुक गरेर (Shamanistic) रोगीको उपचार गर्ने परम्परा, प्राकृतिक शक्तीहरूलाई पुजा गर्ने (Animistic) परम्परा; कुनै पनि सामाजिक सवालहरू समाजकै गन्यमान्य व्यक्तीहरूले समाजमै छलफल गरेर फैसला गर्ने परम्परा, आकार रहित देवी-देउताहरूको पुजा गर्ने परम्परा, भुत-प्रेत-आँखी-डाही (Evil spirits) लागे त्यसलाई मन्साएर (Psychological treatment) व्यवस्थापन गर्ने परम्परा, आदि । यसले पनि वोन्पो र किरातीहरूमा कुनै न कुनै सम्बन्ध छ भन्ने कुरा ईङगित गर्छ । विस्तृत अध्ययन गर्नु पर्ने देखिन्छ ।

‘डेस्क स्टडी’को आधारमा यो छोटो लेख तैयार गर्नुको उद्देश्य तिब्बतको मौलिक वोन धर्म, आधुनिक वोन धर्म, टिबेटन वुद्ध धर्म र नेपालका हिमाल तथा पहाडी क्षेत्रमा बसोबास गर्ने जनजातिहरूको ‘जनेटिक्स’, ‘भाषागत’, ‘सँस्कृतिगत’ सामिप्यताहरूका बारेमा थप रुची बढोस् र अध्ययन अनुसन्धान हुँदै जावोस् भन्ने हो ।

-------   ------   ----
Ref.
- Bön - Internet Encyclopedia of Religion
- About Bön - The Bön Foundation
- The Bönpo's Tradition - The Government of Tibet in Exile
- The Bön Religion - tibetanbon.com

- http://blog.nepaladvisor.com/bon-a-unique-religion-and-culture-in-the-himalayas/

स्वीट्जरलेण्डको डाइरेक्ट डेमोक्रेसी (विक्रम सुब्बा)


१। पृष्ठभूमिः भनिन्छ सभ्यताहरूको ईतिहासमा राज्य संचालनको विधीलाई हेर्दा मानिसले संगठित सबैभन्दा पहिले “धर्म”लाई जिम्मा दिए । जब “बन्दुक” जन्म्यो त्यसपछि सेना-पुलिसलाई राज्य सन्चालनको जिम्मा दिए । त्यसपछि मानिसले “डेमोक्रेसी” भन्ने हतियार सृजना गरे र राज्य सन्चालनको जिम्मा लगाए । डेमोक्रेसी पनि फेल हुँदै गएपछि अहिले “व्यापार”हरूले सन्सारभरिका राज्यलाई सन्चालन गरिरहेछन् । यो ऐतिहासिक प्रकृयामा यी उल्लेखित राज्य सन्चालक तत्वहरू पनि मिसाउँदै ल्याईए । अर्थात, धर्म पछि बन्दुकले शासन गर्दा ‘धर्म’ र ‘बन्दुक’को आधारमा शासन गरे । त्यसपछि ‘डेमोक्रेसी’मा – धर्म, बन्दुक र डेमोक्रेसी मिसाएर शासन गरे । अहिले पछिल्लो समयमा “व्यापार”ले सन्सारमा शासन गरिरहँदा  - “धर्म”, “बन्दुक”, “डेमोक्रेसी” र “व्यापार” यी चारै हतियार शासन सन्चालनका पनि अस्त्रका रुपमा चलिरहेछन् । अब धर्मले मात्र, बन्दुकले मात्र, डेमोक्रेसीले मात्र वा व्यापारले मात्र शासन गर्ने होइन बरु यी सबै हतियारहरु चलाएर शासन गर्ने जमाना आयो । कुनै ठाउँमा “धर्म”ले ढाल्नु पर्ला, कुनै ठाउँमा बन्दुकले मार्नु पर्ला, कुनै बेला डेमोक्रेसीको कुराले मानिसको दिमाग गोलमाल पारिदिनु पर्ला, कहिले एक वा दुइ हतियार एकैचोटी चलाएर वा कुनै बखत सबै किसिमका हतियारहरू विभिन्न तरिकाले चलाएर पनि आफ्नो हैकम कायम गर्नु पर्ला भन्ने कुरा त परिस्थिति अनुसार हुने भयो तर सबै हतियार धारिलो राख्ने र उपयुक्त समयमा उपयुक्त हरियार(हरू) चलाउँनेले नै जित्दै आएका पनि छन् । अर्थात, अब पुरानो ‘डेमोक्रेसी’ एक्लै सबै कुराको ‘होलसेल’ जवाफका रुपमा चल्ने कुरा संभव छैन, फेल भइसक्यो ।

२। डेमोक्रेसी कसरी फेल भयोः  २० औँ सताब्दीको मध्यसम्म हाई! हाई !! भइराखेको ‘डेमोक्रेसी’मा विस्तारै धमिरा लाग्यो । किन? ईतिहास हेर्दा देखिन्छ – जर्मनीमा डेमोक्रेसीले “नाजीवाद” र “हिटलर” जन्मायो । दक्षिण अफ्रिकामा डेमोक्रेसीले गोराहरूको “जातिवादी शासन” जन्माएर काला जातिहरूको निम्ती उनको आफ्नै मुलुकलाई नर्क बनाईदियो, नेल्शन मण्डेलाले ३० वर्ष जेल बस्नु पर्‍यो । सन्सारको सबैभन्दा “ठूलो डेमोक्रेसी” भनिने भारतमा डेमोक्रेसीले “अराजकता”, “गरिबी” र “किसानहरूको आत्महत्या” मात्र फैलायो । चीन, सिंगापुरजस्ता मुलुकमा त “डेमोक्रेसी” पस्न पनि सकेन । हुँदा हुँदा सन् २००० पछि कैयौँ मुलुकका शासकहरू डेमोक्रेसीको नाममा ‘सामन्तीकृत शासन’ चलाईरहेछन् । त्यो भनेको, मरेर गएपछि पनि केही दिन, केही महिना ‘डेमोक्रेटिक पार्टीको अध्यक्ष’ वा सभापति रहिरहने । डेमोक्रेसीलाई सामन्तिकरण गर्ने कार्यशैली हेरौँ – (नेपालमा) १ लाख वा २ लाख वा ३ लाख पार्टी (चौवन्नी) सदश्य बनाउँने र हरेक पार्टी सदस्यहरूलाई (नयाँ किसिमका) हरुवा-चरुवा, लठैत जस्तै बनाएर राख्ने । हरेक चौवन्नी सदश्यलाई आफु बाहेक (कम्तीमा) ४-५ जना भोटर बनाउँनको निम्ती हुकुमी जिम्मा दिने । यसो गरेपछि एक लाख पार्टी सदश्यवालाले करीव ५-६ लाख भोट कम्तीमा ल्याउँने भयो र केही न्युट्रल भोट पनि तान्न सके ५० हजारदेखि १ लाख थपिने पनि संभावना रह्यो । २ र ३ लाख पार्टी (चौवन्नी) सदश्यवाला पार्टीले १०-१५ देखी १८-२० लाख भोट ग्यारेण्टीका साथ ल्याउँने भयो । अझ भोटको बेलामा कुनै आकर्सक नारा (Demagogue गरेर) दिएर “लहर” सृजना गर्न सके थप २-३ लाख न्यूट्रल भोट तान्न सकिने संभावना पनि रह्यो । अब चौवन्नी सदश्यहरूको निँधारमा अमुक पार्टीको “सिन्दुर” यसरी लाग्छ कि उनीहरू अरु पार्टीको मानिस हुनै सक्दैनन् वा स्वतन्त्र नागरिक हुनै (मेरा कवि मित्र विमल निभाले ‘मलाई एमाले हुन सजिलो भयो तर अब एमाले हुन्न भनेको एमाले “नहुन” पो गारो हुने रहेछ । ‘म अब एमाले होइन’ भन्यो सारा सन्सारले ‘तँ एमाले नै होस्’ भन्छन् । यता एमालेले ‘तँ एमाले होइनस्’ भन्छ ।‘ भनेजस्तो । चौवन्नी सदश्यहरूलाई अप्ठ्यारो खाडलमा हुलेर सँधै (नयाँ दाशझैँ) कज्याउँने र उपयोग गर्ने गर्छन्।) सक्दैनन् । मुलुकको निम्ती राम्रो नीति, कार्यक्रम ल्याएको भरमा होइन कि यही धूर्त सामन्तिकृत ट्याक्टिसको भरमा आफु १ नं पार्टी वा २ नं पार्टी वा ३ नं पार्टी हुने र भागबण्डा गरेर कहिले कुन सामन्तले कहिले कुन सामन्तले पालो पालो लगातार नव-सामन्ती शासन चलाईरहने भए । यही हो “सामन्तिकृत नेपाली डेमोक्रेसी” जसले खाँट्टी ‘डेमोक्रेसी’को निम्ती चाहिने उपयुक्त सँस्था र प्रणालीहरू नबनाउँने, जनताको अधिकारहरू कुण्ठित गरेर राख्ने, भ्रष्टाचार-कालो बजारी गरेर शासन गर्ने, आदि भएपछि ‘डेमोक्रेसी’को लाश मात्र बाँकी रह्यो र नेपालमा गरज्जबको “डेमोक्रेसी विथआउट डेमोक्र्याट्स” भयो । 

अर्को तर्फ हेरौँ, यूरोप अमेरिकाको सन् २००७-२००८ मा सुरु भएको आर्थिक मन्दीका बेला चीनको अर्थतन्त्र बलियो भएर उदाईसकेको थियो । यो उदयले ‘डेमोक्रेसी’वाला मुलुकहरूलाई आर्थिक मात्र नभएर मनोवैज्ञानिक रुपमा पनि अवसान (Depression) मा धकेलिदिएकै थियो । किनभने चीनमा “डेमोक्रेसी” छैन, “मानवअधिकार” छैन भन्नेहरू मन्दीका बेला चीनबाटै ऋण लिन पुगेको देखियो । अर्थात बेलायती (Westminster) तथा अमेरिकी (Liberal Democracy) तथा अमेरिका र यूरोपले आफ्नै संस्कृतिहरूको नर्सरीबाट निकालेर सन्सारभरि रोपेको “मानवअधिकार” (जसलाई महाथीर मोहमदले एकपटक ‘यूरोपको मानवअधिकार यूरोपको लागि मात्र सुहाउँने खालकोछ तर एशियाको संस्कृति सन्सारभरिको निम्ती उचित हुने खालकोछ’ भनेका थिए) बिना एशिया र आ-आफ्नै मुलुक सुहाउँदो किसिमको “डेमोक्रेसी” र “मानवअधिकार”को आधारमा पनि जापान, सिंगापुर, कोरियाले विकास हुन सक्दो रहेछ भन्ने कुरो यही धर्तीमा देखाए । कुनै पनि मुलुकको उन्नती प्रगती र खुशहालीको निम्ती अमेरिका र यूरोपकै मोडलका “डेमिक्रेसी” वा “मानवअधिकार” वा अमरिकाले गरेजस्तो आफ्ना विश्वविद्यालयहरूमा ‘स्कलरशीप’ दिएर दिमागमा हालेर पठाएको ‘खुल्ला बजारतन्त्र’को फ्रेमवर्क बिना पनि मुलुकहरू चल्दारहेछन्, प्रगति गर्दा रहेछन् भनेर देखियो ।  

हार्डभार्ड विश्वविद्यालयका लेरी समर लेख्छन् – ‘अमेरिकाको तिब्र आर्थिक उन्नती हुँदा पनि ३० वर्षमा मात्र आर्थिक क्षमता दोब्बर हुने गरेकोमा चीनको आर्थिक क्षमता हरेक दशकमा दोब्बर हुँदै आएको देखियो । यसै बेला चीनले सरकारी लगायत हरेक क्षेत्रको माथिल्लो पदमा पढाईमा सबैभन्दा उच्च अंक हासिल (Meritocracy)का आधारमा जनशक्तीहरू नियुक्त गर्ने नीति लियो । अर्थात, तथाकथित ‘डेमोक्रेसी’भन्दा पनि कार्य कुशलता र सेवाग्राही जनता-मैत्री सेवाप्रदायकहरू हरेक कार्यलयमा भएपछि प्रगती-उन्नतीलाई कतै पनि वाधा अवरोध रहेन । तेस्तै राजनैतिक नेतृत्व पनि १० वर्ष (राष्ट्रपतिको ५-५ वर्षको २ टर्म) सम्म ढुक्कसाथ काम गर्न पाउँने र छानिएका ट्यालेण्टेड कार्यकर्ताहरूको नियमित रिक्रुट्मेन्टले गर्दा नै चीनिया कम्युनिष्ट पार्टीले आफ्नो लक्षहरू भनेजस्तैगरी हासिल गर्न थाल्यो । चीनले राष्ट्र निर्माणको ठुलाठुला कामहरू छोटो समयमै गरेर देखायो जुन काम ‘डेमोक्रेसी’वाला मुलुकहरूमा गर्न परेको भए पचासौँ वर्ष लाग्ने थियो । चीनले दुइवर्षको अवधीमा थप २४० मिलियन ग्रामिण जनतालाई पेन्सन दिन समेत सफल भयो । परिणामस्वरुप ८५% चीनिया जनता सरकारको कामबाट सन्तुष्ट छन् जबकी अमेरिकाको ३१% जनता मात्र सरकारको कामसँग सन्तुष्ट छन् भन्ने देखिएकोछ । चीनले १९७५ देखि अहिलेसम्म १६ करोड ३० लाख मानिसलाई गरिवीको रेखमुनिबाट बाहिर निकालिसक्यो । यस्तो काम त बेलायती ‘डेमोक्रेसी’ र अमेरिकी ‘मानवअधिकार’ले गर्न सकेकै छैन ।‘ सन्सारमा फरक फरक मुलुकहरूले आ-आफ्नै किसिमले विकास गर्न सक्छन् । मेरै मोडल अनुसार विकास गर नत्र म मान्दिन भनेर अमेरिकाले भनेको भनेकै छ तर एशिया, यूरोप, लेटिन अमेरिका र अफ्रिकाका धेरै मुलुकका हात्तीका पाईलाहरू आफ्नै किसिमले लम्किरहेछन् । स्वीट्जरलेण्डको जीवनको गुणस्तर (Quality of life), शुसान र शान्ति सन्सारको नमुना मानिन्छ । स्वीट्जरलेण्डको यो प्रगती उन्नती बेलायतको वेष्टमिन्स्टर मोडलको डेमोक्रेसीले गरेको होईन बरु ‘डाइरेक्ट डेमोक्रेसी’, सन्सारको उदाहरणीय शुसान र उच्च शीपयुक्त जनशक्तीले गर्दा भएको हो भनिन्छ ।

बेलायती ‘वेष्टमिन्स्टर’ तथा अमेरिकी मोडलको डेमोक्रेसीलाई सुधार गरेर बचाउँदै लैजानकै निम्ती ‘मानवअधिकार’, ‘नागरिक अधिकार’, ‘राजनैतिक अधिकार’, ‘महिला अधिकार’, ‘जनजातिको अधिकार’ लगायत थपेर (Francis Fukuyama, The End of History and the Last Man) र डेमोक्रेसी जहाँ पनि फिट हुनसक्छ भने - संवैधानिक राजतन्त्र(जस्तैः बेलायत, जापान) सहितको प्रजातन्त्र, संवैधानिक गणतन्त्र (जस्तैः भारत) सहितको प्रजातन्त्र, संसदीय प्रणाली (जस्तैः ईटाली, भारत) सहितको प्रजातन्त्र, अर्ध-राष्ट्रपतीय प्रणाली (जस्तैः ताइवान, फ्रान्स) सहितको प्रजातन्त्र भनेर पनि ‘उत्तर-आधुनिक डेमोक्रेसी’को सिद्धान्तलाई पुनर्व्याख्या गरे । तेसो त भित्रि नियत आफ्नो अवधारणात्मक चार किल्ला (Conceptual framework) मा दुनियालाई थुनेर राख्न खोजेको सबेले बुझेकै हो । सजलेगर्दा   फुकुमायाको सिम्फोनी सन्न त सुने तर त्यसमा सन्सार नाचेन ।

शीतयुद्धपछि, अझ जब “ग्लोबलाईजेशन”को रुपमा नयाँ (व्यापारको माध्यमबाट सन्सारमा शासन गर्ने ‘बिल्डरवर्ग ग्रुप’को सिद्धान्त, योजना र रणनीति मुताबिक) साम्राज्यवाद अघि बढ्यो तब सन्सारका ठूला-ठूला र लाखौँ वर्ष लगाएर विकसित भएका सभ्यताहरूले जताततै ईसाई सभ्यताले आफ्नो अस्तित्वमाथि नै नयाँ किसिमले युद्ध सुरु गरेको महसुस गरे । यही कुरालाई देखेर अबको युद्ध सभ्यताहरूका बीच हुने (Samuel Huntington, Clash of Civilizations) भनेर नयाँ युगको ‘हाईपो-थेशिस’को निम्ती आधार तैयार भयो । जसमा भनियो ‘अब पाश्चात्य (ईशाई) सभ्यता, ईस्लाम सभ्यता, अर्थोडक्स चर्च (रशियन) सभ्यता, हिन्दु सभ्यता, जापानी सभ्यता, लेटिन अमेरिकन सभ्यता र अफ्रिकन (७) सभ्यताहरूका बीच द्वन्द र युद्ध हुनेछ ।‘ यसै शीलसिलामै भारतले आफुलाई हिन्दु राष्ट्रको रुपमा (सन् २०२५ सम्ममा) घोषणा गर्ने र ईस्लाम तथा ईसाई सभ्यतासँग (नत्र हिन्दुहरूको पहिचान सिद्दिने देखेपछि) भिड्ने भनेर भित्री योजनामा लागेको हो र यही अवधारणा अन्तर्गतको एउटा सानो कडीका रुपमा नै नेपाललाई पनि ‘हिन्दु राष्ट्र’ बनाउँन खरबौँ खर्च गरेर भारत लागि परेको हो । यही ‘डक्ट्रिन’का आधारमा भारतले नेपाली कांग्रेस, राप्रपा, एमाले र माओवादीलाई हिन्दु राष्ट्र संविधानमा व्यवस्था गराउँने भनेर कन्भिन्स गरेको तर सो (ईशाईहरूले उछिनेर) नभएपछि परिस्थिती ‘नाकाबन्दी’सम्म पुगेको हो । चीनले पनि (सन् २०२५ सम्ममा) आफुलाई ‘वुद्धिष्ट राष्ट्र’को रुपमा घोषणा गर्ने र ईसाई तथा ईस्लाम सभ्यताहरूसँग ‘सभ्यताहरूको युद्ध मैदान’ (Cultural War Front)मा पनि लड्ने योजना बनाएको छ भनेर बुझिएकैछ । अमेरिकाले विभिन्न थरिका ईस्लामहरूलाई लडाएर युद्ध सामग्रीको व्यापार गरेर आफ्नो अर्थतन्त्रलाई सन्सारको १ नंबरमा कायम राखेको देखिएकैछ । ईसाइ र ईस्लामको त घनघोर विश्व युद्ध जताततै निरन्तर चलि नै रहेकोछ । नेपालमा समेत हिन्दु सभ्यता, वुद्ध मार्गी सभ्यता, ईशाई सभ्यता, ईस्लाम सभ्यता, किरात सभ्यताहरूको भित्रभित्र दन्द्व (Latent conflict) जतासुकै हरेक दिन महसुस गरिईरहिएकैछ । यस किसिमको सभ्यताहरूमा आधारित लगायत अनेक किसिमका द्वन्दहरूलाई समेत संबोधन गर्न सके मात्र मुलुकमा शान्ति स्थापित हुनसक्छ भनेर स्वीट्जरलेण्डले केही अघि नै राज्य संचालनको आफ्नै विधी विकास गर्‍यो जसलाई ‘डाइरेक्ट डेमोक्रेसी’ भनेकोछ ।

३। स्वीट्जरलेण्डको डाइरेक्ट डेमोक्रेसीः बेलायत, अमेरिका र न्यूजिलेण्ड जस्ता केही मुलुकहरूले मात्र संसदीय प्रणालीलाई लगभग सय वर्षदेखि निरन्तर चलाउँदै आएकाछन् । तर स्वीट्जरलेण्डजस्तो बहुजातिय, बहुभाषिक र फरकफरक किसिमले विविधताहरूलाई व्यवस्थापन गर्ने प्रचलन-संस्कृति भएको मुलुक पनि छ । जहाँ सिरिफ ७० लाख जनसंख्या भएपनि ३ हजार “स्वायत्त  नगरपालिका”हरू र २६ “सार्वभौम प्रान्त”हरू विविधतालाई नमुना किसिमले संवोधन गर्दै मजासित चलिरहेकाछन् ।

स्वीट्जरलेण्डमा ‘डाइरेक्ट डेमोक्रेसी’ भएपनि प्रतिनिधीमुलक प्रजातन्त्र मार्फत नै शासन चलेको छ । कानुनहरू संघीय र प्रान्तीय तथा स्थानीय प्रतिनिधीले नै बनाउँछन् । तर के (बेलायतको इन्डाइरेक्ट डेमोक्रेसीको तुलनामा) फरक छ भने बनेका ऐन-कानुनका बुँदाहरूलाई (जनताले चाहेको खण्डमा) जनमत देखाएर जनताले अस्वीकार गर्न समेत सक्ने अन्तिम निर्णय जनतामा हुने प्रावधान रहेकोछ । यसको निम्ती ५० हजार (चुनाव क्षेत्रको १%) भोटरले १०० दिनभित्र हस्ताक्षर गरेर बनेको कुनै पनि कानुन वा कानुनी बुँछदालाई “स्वीकार नगर्ने” भनेर जनताले फैसला दिए सो कानुन रद्द हुन्छ । अहिलेसम्म १०० मा ९६ पटक जनताले जनमत देखाएर आफ्नो निर्णय अनुसार गराएकाछन् । यसै कारण स्वीट्जरलेण्डलाई सन्सारको सबैभन्दा धेरै जनमत संग्रह गरिने मुलुक तथा जनताको इच्छा अनुसार शासन चल्ने देश पनि भन्ने गरिन्छ । यो प्रचलनले गर्दा कुनैपनि सांसदहरू ऐन-कानुन बनाउँने प्रकृयामा लाग्दा धेरै गंभीर हुन बाध्य हुने गरेको र हरेक कानुन बनाउँदा जनतासंग धेरैभन्दा धेरै ‘कन्सल्टेशन’ गर्ने गरेको देखिन्छ ।

स्वीट्जरलेण्डमा संविधानको कुनै धारा संसोधन गर्न परेपनि जनताले चाहेभने जनमत साबित गरेर फेर्न सक्छन् । तर, जनताले जनमत साबित गर्ने भन्दैमा अन्तर्राष्ट्रिय कानुन तथा (स्वीट्जरलेण्डले सहीछाप गरिसकेका) बडापत्रका र मानवअधिकारका कुनै प्रावधान(हरू) नै उलंघन गर्ने कुरा चाहीँ गर्न पाईन्न । ती बाहेकका संविधानको धारा तथा प्राब्धान नै संसोधन गर्न जनताले १ लाखको हस्ताक्षर १८ महिनाभित्र संकलन गरेर पेश गर्न सके सो बदर हुन्छ ।  

यसरी स्वीट्जरलेण्डको डाइरेक्ट डेमोक्रेसीमा मुलुकका नागरिकले नै (संसदले पास गरेका ऐन-कानुनका प्रावधानहरू फेरेर, संविधानका प्रावधानहरू संसोधन गरेर) शासन सन्चालनमा दरो नियन्त्रण गर्दछन् । यति सम्म कि स्वीस  सरकारले कुनै अरु मुलुकसँग गरेका वा अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरु समेत जनमत पुर्‍याएर फेर्ने वा अस्वीकार गर्ने वा ‘स्वीट्जरलेण्डले मान्नु हुन्न’ भनेर निर्णय दिन सक्छन् । यही हो स्वीट्जरलेण्डको डाइरेक्ट डेमोक्रेसी ।

गजबको कुरो के छ भने यो डाइरेक्ट डेमोक्रेसीले स्वीट्जरलेण्डको प्रतिनिधी मुलक संसदीय व्यवस्थालाई पनि कमजोर बनाएको छैन । बरु १८४८ मा स्थापित भएको गणतन्त्रात्मक मुलुक स्वीट्जरलेण्डमा बेलायतमाजस्तो कुनै एउटा पार्टीको (बहुमतको नाममा) ‘इन्डाइरेक्ट तानाशाही शासन’ नभई मुलुकभित्र उठेका सबैका सवालहरू ‘मुलुकका आफ्नै घाउखटीरा र समस्या हुन्’ भनेर तिनलाई (यो पार्टीको वा उ पार्टीको वा यो जातिको वा उ जातिको वा त्यो  समूहको वा त्यो क्षेत्रको वा त्यो लिंगको वा त्यो र उ वर्गको सवाल भनेर नपन्छाईकन) तर्कसंगत किसिमले संवोधन गर्ने प्रणालीका रुपमा स्थापित भएकोछ । यही हो डाइरेक्ट डेमोक्रेसीले पुर्‍याएको योगदान । चाहे डेमोक्रेसी भन्नोस् या समाजवाद, चाहिएको नीति र सरकार भनेको न्यायसंगत किसिमले जनतालाई खुशहाल दिनु त हो ।

तेसो त स्वीट्जरलेण्ड डाइरेक्ट डेमोक्रेसीमा आईपुग्न पनि धेरै वर्ष लाग्यो, धेरै प्रजातन्त्रिक आन्दोलनहरू गर्नु पर्‍यो, कैयौँको ज्यान गयो तर यो रिफाइन्ड-फाइनट्यून्ड हुँदै हुँदै आएर अहिले मुलुकका सबै जात-जातिका, सबै धर्मवलम्बीमा, सबै संस्कृतिक समुहका, भाषागत समाजका र हरेक नागरिकको समस्याहरूलाई संबोधन गर्ने तथा हरेक नागरिकले शासन प्रणालीमा योगदान गर्ने, निर्णय दिने किसिमको डाइरेक्ट डेमोक्रेसीको रुपमा स्थापित तथा संचालित रहेकोछ । यसमा पनि सुधारहरू हुँदै जाने नै छन् । यस प्रणालीमा अल्पमतले प्रस्ताब गरेका ऐन-कानुनहरू संसदमा ‘बहुमत’ले फेल गरेभने जनमतले “पास” गर्ने पनि गुन्जायस रहन्छ । सरकारले प्रस्ताब गरेका कुराहरू संसदले फेल गराएमा पनि जनमतले फेरि “पास” गरिदिने गुन्जायस रहन्छ । ‘सरकार वा संसदले आफ्नो कुरा फेल गरे जनतामा जानु’ भनेको यही हो र यो डाइरेक्ट डेमोक्रेसीमा मात्र संभव हुन्छ ।

डाइरेक्ट डेमोक्रेसीमा हरेक प्रान्त (क्यान्टोन) र नगरपालिकाहरूको आफ्नै संविधान हुन्छन् जुन आधुनिक युगको उच्चतम प्रजातन्त्रको रुप पनि हो । यसो गर्दा सबै जनताका सवालहरुको उचित संबोधन हुने र सबै जनता जुटेर, सबैको निम्ती सेवासुबिधा जुटाउँने तथा आर्थिक विकासको काममा लाग्ने भएकोले आर्थिक उन्नतीको काममा पनि कुनै बाधा नपुगेको प्रतक्ष्य अनुभव गरिएकोछ । नेपालमै पनि प्रान्त नं १ र ७ मा एउटै किसिमको संविधान-ऐन-कानुनले शासन चलाउँन खोज्नु भनेको ‘एकात्मवादी सोच’ हुन्छ । जुन चरम अव्यवहारिक पनि हो ।

स्वीट्जरलेण्डको डाइरेक्ट डेमोक्रेसीको अनुभवमा जनप्रतिनिधीमुलक संसदीय व्यवस्थालाई यसले झन जनमुखी र नागरिक-मैत्री, विविधता-मैत्री, शासन-व्यवस्थामा समेत जनताको प्रतक्ष सहभागिताजस्ता विशेषता भएको व्यवस्थाको रुपमा विकसित भएको देखिन्छ । जुन सबै जनताले नै चाहेको र मनपराएको व्यवस्था हो किनभने मुलुकका महत्वपूर्ण सवालहरुमा ‘जनमत’ले निर्णय दिने भए र कैयौँ सवालहरू संसदले नै आफै ऐन-कानुन बनाएर मुलुक, प्रान्त तथा नगरपालिकाहरू सन्चालन पनि हुने भए । यसरी “जनप्रतिनिधी”हरूलाई हरेक कदममा ‘चेक एण्ड व्यालेन्स’ “जनता”ले नै सिधै गर्ने हुँदा जनता पनि डेमक्रेसीमा र शासन सन्चालनमा नित्य सकृय (चुनावको बेला भोट हाल्ने मात्र होइन) एक पक्षका रुपमा कृयाशील हुने भए ।  यही हो डाइरेक्ट डेमोक्रेसी ।

४। टिप्पणीः नेपालमा पनि प्रान्तहरू बन्नेवाला छन् । अबको बदलिएको परिस्थितीमा, संघीय संविधान र संघीय ऐन-कानुनहरूका साथै
क। हरेक प्रान्तहरूले आफ्नै ‘प्रान्तीय संविधान’ (प्रथाजनित कानुनहरूका आधारमा र जनताद्वारा अनुमोदन गराएर) समेत बनाउँने;
ख। मुलुकको ‘संघीय संविधान’ तथा आफ्नै ‘प्रान्तीय संविधान’ र का आधारमा हरेक प्रान्तले प्रान्तीय ऐन-कानुन (प्रथाजनित कानुनहरूका आधारमा र जनताको प्रतक्ष संलग्नतामा) बनाउँने;
ग। संघिय संविधान, संघीय ऐन-कानुन, प्रान्तीय संविधान, प्रान्तीय ऐन-कानुनका धारमा हरेक ‘नगरपालिका ऐन-कानुन(प्रथाजनित कानुनहरूका आधारमा र जनताको प्रतक्ष संलग्नतामा)’, ‘गाउँपालिक ऐन-कानुन(प्रथाजनित कानुनहरूका आधारमा र जनताको प्रतक्ष संलग्नतामा)’, ‘विशेष क्षेत्र ऐन-कानुन(प्रथाजनित कानुनहरूका आधारमा र जनताको प्रतक्ष संलग्नतामा)’ तथा ‘विशेष संरक्षित क्षेत्र ऐन-कानुन(प्रथाजनित कानुनहरूका आधारमा र जनताको प्रतक्ष संलग्नतामा)’ बनाउँने प्रचलन सुरु गर्ने ।

यसो गर्न सकेमा नै गणतन्त्र लगायत नेपालको जातिय, सांस्कृतिक, भाषिक, धार्मिक विविधताहरुमा निहित विविध सवाल र समस्याहरूलाई संवोधन गर्न सक्ने शासनप्रणाली (केन्द्रदेखी स्थानीय तहसम्म) हुने देखिन्छ । यसो नगरेर सिंगो नेपालको एउटा मात्र संविधान र एउटा मात्र मुलुकी ऐन वा एउटा मात्र विषयगत (वन, कृषि, शिक्षा, स्वास्थ्य, आदि) ऐनले सबै प्रान्त, सबै नगरपालिका, सबै गाउँपालिका, सबै विशेष क्षेत्र वा सबै विशेष संरक्षित क्षेत्रहरूका सवाल र समस्याहरुलाई संवोधन गर्न खोजे त्यो अव्यवहारिक र द्वन्द झन बल्झाउँने, स्थानिय स्तरमा जनता र समुदायहरूको विशिष्ट सवाल संवोधन नगर्ने, कसैको पनि चित्त नबुझ्ने हुन जानेछ र त्यो फेरि पनि घुमिफिरि चरम “एकात्मक शासन” नै मात्र हुनेछ । यो भए त प्रजातन्त्र, गणतन्त्रको सट्टा उही “पञ्चायततन्त्र” घुमारो तथा ‘उत्तरआधुनिक रुप’ मात्र हुनेछ ।
------------     -----------------       ---------------
नोटः ‘प्रथाजनित कानुन (Customary Law)हरू’ समवेश गर्ने भन्नाले (उदाहरणको निम्ती) प्रान्त नं १ को ‘संविधान’ वा ‘ऐन-कानुन’ लेख्दा किराती(मुन्धुम/मुद्दुम/मुग्दुम), शेर्पा, तामाङ र क्षेत्री-बाहुन लगायतको प्रथाजनित कानुनहरू समाबेश गर्नु पर्छ भने क्षेत्र नं १ कै कुनै नगरपालिका, गाउँपालिका वा संरक्षित क्षेत्र वा विशेष संरक्षित क्षेत्रको ऐन-नियम बनाउँदा तत्त भौगोलिक क्षेत्रमा बसोबास गर्ने जाति-जनजातिका प्रथाजनित कानुनहरू समेत समाबेश गर्नु पर्छ । यसरी नै हरेक प्रान्तहरूमा, नगरपालिकाहरूमा, गाउँपालिकाहरूमा र विशेष वा संरक्षित क्षेत्रहरुको, गैससहरूको, सामाजिक सँस्थाहरूको, आमा समुहहरूको, सामुदायक समितिहरू, आदिको ऐन-कानुन-नियमावली बनाउँदा स्थानीय प्रथाजनित कानुनका प्रावधानहरू पनि समावेश गरे मात्र व्यबहारिक हुनेछ । 


Ref

http://www.economist.com/news/essays/21596796-democracy-was-most-successful-political-idea-20th-century-why-has-it-run-trouble-and-what-can-be-do