Thursday, September 7, 2017

‘पहिचान’को शब्दार्थ: एक जिकिर




‘पहिचान’को शब्दार्थ: एक जिकिर

१। सनातनी सभ्यतावालाहरूले आफ्नो पहिचान (जरा वा Root) खोज्दा‘गोत्र’लाई आधार लिन्छन् । सँस्कृतमा ‘गोत्र’ शब्दको अर्थ ‘गाईको बगाल वा झून्ड’ हुन्छ । जसलाई ‘कुनै एक पूर्खाका शाखा-सन्तानहरूको बगाल या झूण्ड वा गण’ भन्ने अर्थमा‘गोत्र’ शब्दको प्रयोग गरिएको छ । अर्थात, कुन पूर्खा (तथाकथित ऋषि) को सन्तान हो? भनेर प्रष्ट छुट्याउँन आफ्ना पूर्खाको नाम सँग आफ्नो पहिचान जोड्छन् । जस्तै: अत्री गोत्री (अत्री नामक पूर्खाका सन्तान), कस्यप गोत्री (कस्यप नामक पूर्खाका सन्तान), गौतम गोत्री (गौतम नामक पूर्खाका सन्तान), जमदग्नि गोत्री (जमदग्नि नामक पूर्खाका सन्तान), भारद्वाज गोत्री (भारद्वाज नामक पूर्खाका सन्तान), आदि आदि ।

२। सनातनी सभ्यतावालाहरूका यी पूर्खाहरू कहाँ थिए? - उल्लेखित पूर्खाहरू हालको पाकिस्तानमा पर्ने ‘सिन्धु घाटी’ भन्ने (सिन्धु नदीको किनारमा खास गरेर मोहेन्जोदारो, हरप्पा र घागर नदी क्षेत्रमा) ठाउँमा विकास भएको सभ्यताका मानव समुह हुन् । जसका सन्तानहरू नै सिन्धुघाटी छोडेर बसैँ सर्दै छरिँदै भारत हुँदै नेपालमा (थप सैयौँ नयाँ गोत्र सृजना गर्दै आए । जस्तै: अगस्त्य गोत्री, आत्रेय गोत्री, गर्ग गोत्री, अंगीरस गोत्री, कपील गोत्री, कत्यायन गोत्री, कौडिन्य गोत्री, मुगदल गोत्री, आदि आदि । ) समेत आईपुगेको देखिन्छ । तर, आफ्नो पूर्खा केलाउन परे (विशेष गरेर विवाहको निम्ति केटा र केटीको नाता पर्छ कि? विवाह गर्न वर्जित हो वा स्वीकार्य हो?’ भनेर छुट्याउँन) ‘गोत्र’ केलाउँछन् र निर्णय गर्छन् । जस्तै: केटा र केटी दुबै एकै गोत्री भए विवाह गर्न बर्जित हुन्छ ।

३। यही प्रसंगमा ‘थर’को कुरा पनि थप -- अनेक जातका मानिसको “थर”हरू धेरै पछि‘नविन पहिचान’को (आफुलाई के भनेर चिन्ने? भन्ने सवाललाई संवोधन गर्न) रुपमा राखेको हो । ती प्राय स्थान विशेषमा आधारित लगायत राजदरबारमा दिएको पदविका र अन्य अनेक आधारमा राखिए । जस्तै: स्थानमा आधारित -- सिन्जाबाट आएकोले सिन्जाली, अर्जेबाट आएकाले अर्याल, वाग्लाबाट आएकाले वाग्ले, ग्यावाबाट आएकाले ग्यावाली, थलाजुङबाट आएकोले थलाजुङे, वनेनेबाट आएकोले वनेम, आदि थर राखे । कर्ममा आधारित – कारवारि काम गरेकोले कार्की, राजाको प्रशासन हेर्ने गरेकोले अधिकारी, राजाको भण्डार हेर्ने गरेकोले भँडारी/भण्डारी, आदि । जन्मको आधारमा – जेठो भएर जन्मिएकोलै तुम्बापो, भाले बास्ने बेलामा जन्मेकोले ईङवाबा, आदि ।

‘थर’बाट आफ्नो मूल (Root) खोज्दै जाँदा ‘जात’मा पुगिन्छ र ‘थर’ हराउँछ । ‘जात’बाट मुल (Root) खोज्दै जाँदा ‘गोत्र’मा पुगिन्छ र ‘जात’ हराउँछ । वैज्ञानिकहरूले रक्त समुह (O, A, B, AB) मा मानव समुहहरूलाई वर्गिकरण गरेर पहिचान स्थापित गरे । जस अनुसार एकै रक्त समुहको मानिसले मात्र कुनै विरामी मानिसलाई रगत दिन सक्छ । अर्को रक्त समुहको रगत दिँदा विरामीको शरिरले ग्रहण गर्दैन, मर्न पनि सक्छ । यही हो रगतको साईनो भनेको । एकै रक्त समुहका मानिसलाई उस्तै उस्तै रोग लाग्ने, स्वभाव उस्तै उस्तै हुने, सवल पक्ष र दुर्वल पक्ष उस्तै उस्तै हुने देखियो । अझ पछिल्लो समयमा त वैज्ञानिकहरूले मानव समुहलाई DNA (1. Y-line DNA , 2. Mitochondrial DNA , 3. Autosomal DNA , 4. The X Chromosome) भित्रको पनि Gene (पूर्खाहरूको शारिरिक स्वरुप तथा अन्य पुस्तौँ पुस्ता सर्दै आएका पूर्खाका विशेषताहरूको जानकारी दिने तत्व) जाँचेर Genetically कुनकुन मानव समुह नजिकका हुन र को को टाढाका हुन्? भनि छुट्याउँनको निम्ती Gene लाई नै‘पहिचान’को आधार मान्न थालिसके । यही आधारमा भारतमा डा. स्वामी सुब्रमन्ययनले भारतका (ब्रह्मण भनिने) सनातनी मानव समुह र मुस्लीम समुहको Genetic test गर्दा भारतका मुस्लीमहरूको Gene र सनातनीहरुको Gene एकै पाईयो । जसको आधारमा भारतका मुस्लीमहरू मौलिक रुपमा (हिन्दु भनिने) सनातनी सभ्यताका ब्राह्मण मानब समुहकै सन्तान हुन् भन्ने प्रमाणित भयो । जसबाट भारतमा धेरै पछि सनातनी मानव सहुमलाई नै मुस्लीम घर्ममा Conversion गरिएका मात्र हुन्’ भनेर पनि प्रमाणित भयो । यसरी भारतका‘हिन्दु भनिने र मुस्लीम भनिने मानव समुह हामी एकै हौँ’ भन्ने नयाँ तर्कसंगत Theory विकास गर्न खोजिरहेछन् । Gene विज्ञानले “थर”, “जात”, ‘गोत्र’लाई ‘पहिचान’ मान्ने कुरालाई पुरानो परम्परावादी ‘मीथ’ वा ‘किंवदन्ती’ मा परिणत गरिदिईसकेकोछ । ईतिहासमा यस्तो हुन्छ । नयाँ नयाँ कुरा अनुसन्धानबाट पत्ता लाग्दै गएपछि पुराना कतिपय धारणाहरू तथा ज्ञान-गुन ठानेका मान्यताहरू भत्किन्छन् । क्रान्ति भनेको यही त हो ।


४। अहिले सम्म चलिरहेको ‘गोत्र’लाई नै ‘पहिचान’को रुपमा स्वीकर गर्ने मानव समुह सनातनी सभ्यतावालाहरूले पहिचानको अर्थ ‘आफ्नो मूल (Root)’ हो भनेर बुझ्छन् । उनीहरूको निम्ती भाषा, सँस्कृति, धर्म, जल, जमीन, (पूर्खाहरूको राजनैतिक) ईतिहास पहिचानको विषय भए पनि यी पहिचानका स्थाई आधार होइनन् । यी तरल र कमजोर किसिमको पहिचानका अस्थाई आधार मात्र हुन् । अर्थात, भाषा त जहाँ जहाँ पुगिन्छ त्यहीँको सिकिन्छ र फेरि त्यो देश छोडेर अर्को भाषा बोलिने देशमा पुगे त्यहीँको भाषा (जस्तै: अहिले बेलायत पुगेकाले अंग्रेजी सिके भने कोरिया, जापान, रुस, भारत, हङकङ गएकाले त्यँहीको भाषा सिकेर Survive गर्ने Tool को रुपमा भाषालाई उपयोग गरिरहेछन्) सिकिन्छ । ठीक तेस्तै, सँस्कृति पनि जहाँ पुग्यो त्यहीँको सिकिन्छ (जस्तै: काठमाण्डुमा जोशी बाहुन र झा बाहुन, राजबंशी पनि बाहिरबाट आएर यहाँ धेरै पहिले देखि बसोबास गरिरहेछन् जसलेSurvival strategy का रुपमा नेवारी भाषा र सँस्कृति अबलम्बन गरेकाछन् ।) र फेरि अर्को देश वा क्षेत्रमा पुगे त्यहिँको सँस्कृति सिकिन्छ र अबलम्बन गरिन्छ । तेस्तै, धर्म पनि जुन जुन देशमा पुगिन्छ त्यहाँ बाँच्न सजिलो होस् भनेर आफ्नो मौलिक धर्म छोड्दै त्यही देशको धर्म ग्रहण गरिन्छ या आफ्नो पुरानो धर्मलाई नै नयाँ रुप दिईन्छ । फेरि अर्को धर्म मान्ने मुलुकमा पुगे फेरि नयाँ धर्म अबलम्बन गरिन्छ । तेस्तै, जमीन भन्ने त झन यस्तो प्राकृतिक स्रोत हो जुन नयाँ ठाउँमा पुग्ना साथ टेकिन्छ । अर्थात, जहाँ जहाँ पुगिन्छ त्यहाँ उभिन, हिँड्न, बस्न वा बसोबास गर्नको निम्ती चाहिने हो जुन कुनै देशको भनिने जमीनलाई कुनैपनि बेला छोड्न सकिन्छ र अर्को मुलुकमा पुगेमा फेरि हासिल गर्नै पर्छ ।

अब ईतिहासको कुरा गरौँ - हिजोको (आफ्ना पूर्खाले शासन गरेको) ईतिहास पनि विगतको सन्दर्भ बुझ्न मात्र हो । नयाँ नयाँ युगमा त नयाँ नयाँ ईतिहास लेख्दै जाने हो । अर्थात, भाषा, सँस्कृति, धर्म, जमीन र ईतिहास भन्ने कुराहरू बाच्नको निम्ती चाहिने औजार (Survival Tools) बढी हुन् । ती ‘पहिचान’का बलिया आधार होइनन बरु तरल, अस्थाई तथा कमजोर आधार हुन् । बलियो आधार भनेको ‘गोत्र’ हो भन्ने अवधारणाका आधारमा सनातनी सभ्यतावाला समुदायले पूर्खाका नाममा आधारित (Genealogy/Ancestry based identity) पहिचान स्थापित गरेर प्रचलनमा ल्याएको बुझिन्छ । अहिले त जीनका आधारमा चिनिने (Genetics based identity) पहिचान सबैभन्दा वैज्ञानिक विधी (Method) हो भन्ने युगै आईसक्यो ।

५। यहाँ कुरा बझाउँन सजिलोको निम्ती (उदाहरण मात्र) - केही लिम्बु समाजमा चलेको‘पहिचान’को मौलिक २ शब्दहरू लिउँ । लिम्बु समाजमा ‘माङगेन्ना’ लगायत कतिपय अनुष्ठान सम्पादन गर्दा ‘ल्हास गोत्र’ हौ कि ‘काशी गोत्र’ हौ? भनी (केही थरी लिम्बुहरुका पूर्ख्येली केलाउँदा) सोधेर पूर्खा (Root) पहिचान गर्न २ शब्द प्रयोग गरेर पुर्ख्यौली पहिचान गर्ने काम गरिन्छ । ‘काशी’ तिब्बतको एउटा ठाउँको नाम हो । यसलाई खसगर पनि भनिन्छ । यो भारतको काशीसँग संबन्धित छैन । काशी (खसगर। कसहर) भन्ने ठाउँलाई मानचित्र (Map)मा हेर्न गुगलको एशियाको म्याप डाउनलोड गरेर Kashi, Tibet China टइप गरेर हेर्न सकिन्छ । यो काशी (जसलाई ‘खसघर’ पनि भनिन्छ) भन्ने ठाउँ पश्चिम तिब्बत (पाकिस्तानको उत्तरी सिमा नजिक) पर्छ । आर्थात, सो काशी भन्ने ठाउँबाट बसैँ सर्दै लिम्बुवान क्षेत्रमा आईपुगेको मानव समुहले आफ्नो पहिचान ‘काशी गोत्र’ भनेर राखे । भारत र नेपालमा आफ्नो मूल (Root) सँग ‘गोत्र’ जोडेर ‘पहिचान’ जनाउँने चलन भएकोले ‘काशी’ सँग ‘गोत्र’ जोडेर (सनातनिहरूको प्रभावमा?) ‘काशी गोत्र’ (काशीबाट बसैँ सरेर आउँनेका शाखा-सन्तान भनि जनाउँन) भनेको हुनु पर्दछ । ठीक तेस्तै ‘ल्हास गोत्र’ भन्ने शब्दको पनि अर्थ ‘ल्हासा’ भन्ने (तिब्बतको राजधानी एउटा स्थान) ठाउँबाट बसैँ सर्दै हालको लिम्बुवान क्षेत्रमा आईपुगेको कुनै झूण्ड या गणलाई संकेत गर्ने वा पहिचान जनाउँन ‘ल्हासा गोत्र’ (ल्हासाबाट बसैँ सरेर आउँनेका शाखा-सन्तान भनि जनाउँन) राखेको हुनुपर्छ । यसरी लिम्बुहरूले जमीनमा आधारित (Land/Place based identity) पहिचान स्थापित गरेको बुझिन्छ ।

६। माथि उल्लेखित तथ्यहरूको आधारमा सनातनी सभ्यतावालाले आफ्ना पूर्खाहरूको“नाम”लाई ‘गोत्र’ राखेर (Genealogy/Ancestry based identity) आफ्नो पहिचान स्थापित गरेर प्रचलनमा ल्याएको बुझिन्छ भने लिम्बुहरूले आफ्नो ‘जमीन’ या ‘गाउँठाउँ’ वा‘देश’ (जस्तै: पूर्खाले बसोबास गरेको काशी वा ल्हासा, आदि) लाई आफ्नो पूर्ख्यौली (Root) मानेर त्यसै आधारमा (Land/Place based identity) पहिचान स्थापित गरेको बुझिन्छ ।

७। माथि छलफल गरेको आधारमा ‘पहिचान’को शब्दाअर्थ (Semantics) सनातनी सभ्यतावालाहरूको निम्ती आफ्ना ‘पूर्खा’ या ‘गोत्र’सँग जोडेर (Genealogy/Ancestry based identity) चिनिनु हो भन्ने अर्थ लगाएको र सोही अनुसार बुझेको देखियो । जब कि लिम्बुहरूको निम्ती त्यही ‘पहिचान’ शब्दको अर्थ ‘आफ्नो जमीनसँग जोडेर (Land/Place based identity) चिनिनु’ भन्ने लगाएको देखिन्छ ।

८। शब्दको अर्थ भनेको के हो? --- कुनै शब्द सुन्दा आफ्नो दिमागमा जुन तस्विर उत्रिन्छ त्यही नै अर्थ हो । जस्तै: “धर्म” भन्ने शब्द सुन्दा दिमागमा ‘मन्दिर’ ‘गीता’ ‘पुजा गर्ने कर्मकाण्डी बाहुन’ ‘पुजाका सामग्रीहरू’ ‘कल्याणकारी काम गर्न वरपीपल रोपेको’ ‘पुल पाटी कुवा-धारा बनाएको’ आदिको तस्विरहरु हाजिर हुन्छन् र त्यही नै अर्थ हो । तेस्तै Religion भन्ने शब्द सुन्दा दिमागमा ‘बाइबल’ ‘चर्च’ ‘पादरी’को तस्विर हाजिर हुन्छ र त्यही हो अर्थ ।

नेपालमा चलेको ‘पहिचान’को आन्दोलनमा ‘पहिचान’ भन्ने शब्द सुन्दा सनातनीहरूको दिमागमा आफ्ना पूर्खा ऋषि-मुनी (गोत्र वा Root) र तिनका सन्तानको तस्विर उत्रिन्छ । लिम्बुले‘पहिचान’ भन्ने शब्द सुन्दा दिमागमा आफ्नो ‘गाउँ-ठाउँ’हरूको चित्र दिमागमा उत्रन्छ । अर्थात, ‘पहिचान’ शब्दको (नेपालका) फरक फरक सभ्यताका मानिसहरूले फरक फरक अर्थ (Meaning) बुझ्दै आएकोले ‘पहिचान’ बारे बुझाईमै समानता नभएकोले बेस्सरी गोलमाल भएको देखिन्छ । गोलमाल भएपछि धमिलो पानीमा बाठो-छट्टुहरूले दाउ पार्ने त भईहाले ।
अन्य मुलुकको पहिचानको परिभाषा:
१। भारत: भारतको पहिचान 'हिन्दुत्व' हो । ‘हिन्दुत्व’लाई मुस्लीम, ख्रिश्चियन र जोरष्ट्रियन बाहेक भारतमा बसोबास गर्ने सबै मानिसहरू हिन्दु हुन्’ भनेर परिभाषित गरेर भारतमा ८०% भन्दा बढी हिन्दु छन् भनेर झेल्ला Claim गरे ।
२। अमेरिकाको राष्ट्रिय पहिचान – पहिले, Country of immigrants (बसैँ सरेर आएकहरूले बनेको देश) भन्ने गर्दै आएका थिए । Samuel Huntington नामक राजनीतिशास्त्रीले अमेरिकाको पहिचानलाई नियाँ किसिमले (Who Are We? मा) परिभाषित गरेर लेखे - 'गेरा, एङ्गलो सेक्शन, प्रोटेष्टेण्ट धर्म मान्ने र अंग्रेजी बोल्ने मानिस अमेरिकन पहिचान हो । यी बाहेक अरु पनि मानिस अमेरिकामा बस्छन् तर ती ‘अमेरिकका नागरिक’ मात्र हुन् अमेरिकाको पहिचानकै तत्व होइनन् ।
३। चीनले आफ्नो पहिचानला: ‘जुनसुकै देशको नागरिक भए पनि चिनीया भाषा बोल्ने र संस्कृति मान्ने मानिस नै हाम्रो पहिचान ।‘ भनेर परिभाषित गरेको देखिन्छ ।

४। बेलयातले आफ्नो पहिचान – ‘अंग्रेजी भाषा बोल्ने र ख्रश्चियन मानिस बृटिश हो’ भनेर परिभाषित गरेको छ । 


हरेक देशहरूले आफ्नो राष्ट्रिय पहिचानलाई परिभाषित गरेकाछन् । नेपालको राष्ट्रिय पहिचान के हो? पत्तो छैन ।

Monday, July 24, 2017

आत्मकथामा सामाजिक ईतिहास



मित्र प्राडा केआर खम्बुको “स्मृतिका तरेलीहरू”को पाण्डुलिपि रुचिपूर्वक पढेँ । यसको शिर्षक ‘सँस्मरण (Memoir)’ जस्तो लाग्छ तर यो ‘आत्म कथा (Autobiography)’ हो जसले एक कालखण्डमा नेपालको विद्यार्थी तथा राजनीतिक आन्दोलनको सत्यकथा समेत कहन्छ । मन्तव्य अनुरोध मुताविक मेरा इम्प्रेसनहरू लेख्दैछु । आत्मकथा किन लेख्ने? शायद - (१) कस्तो जीवन भोगियो? के के काम गरियो? भन्ने कुराहरूलाई अभिलेखिकरण गर्न; (२) आफ्नो विगतका गल्ती कमी-कमजोरी र आफु प्रति गलत बुझाईहरू ‘रिकन्साइल’ गर्न; (३) पुस्तक विक्रीबाट पैसा कमाउँन; (४) आफ्ना अनुभवले नयाँ पुस्ता-सन्तानलाई सूचित-प्रशिक्षित गर्न । तथापी, नं ३ चाहीँ खम्बुजीको हकमा कम लागु होला तर अन्य वुँदाहरू उतिकै ‘भेलिड’ हुनुपर्छ ।

खम्बुजीले गरेको तीन काम (क) प्रगतीशील विद्यार्थी राजनीति ; (ख) माले तथा (हाल) एमालेको पक्षमा राजनैतिक सहयोगी; र, (ग) अनुसन्धाता तथा शिक्षक । हिन्दु सम्राटको निरंकुश पञ्चायती व्यवस्थाको बेला भूमिगत रुपमा रहेको मालेको विद्यार्थी ‘फ्रन्ट’को एक विद्यार्थी नेता, माले-एमाले कार्यकर्ता र एक अनुसन्धाता तथा ईमान्दार शिक्षकका तीन पक्षिय अनुभवहरू  बाटिएर  “स्मृतिका तरेलीहरू” एक चुल्ठीझैँ बनेकोछ । अनेरास्ववियू र माले-एमालेको ईतिहास खोज्नेहरूको निम्ती एक कालखण्डको अनेक सूचना दिने गहकिलो सन्दर्भ ग्रन्थ (Reference document) पनि बनेकोछ । गाउँ तहको स्कुलदेखि विश्वविद्यालय सम्मका विद्यार्थीहरू कसरी संगठित भएर निरंकुश पञ्चायत फाल्न लागेका हुन्थे? तिनलाई कसले परिचालन गर्दथ्यो? भन्ने कुराको सजीव सामाजिक ईतिहास (Social History) को रुपमा पनि यो पुस्ताक तैयार भएकोछ । 

विज्ञान (Physics) भन्छ - खरबौँ Subatomic particles हरूको अति सुक्ष्म गती तथा Interactions ले धर्तीमा र सारा ब्रम्हाण्डमा परिवर्तनहरूको स्वरुप निर्धारण गर्न योगदान गरिरहन्छन् । पूर्वीय चिन्तकहरू पनि हरेक व्यक्ती-व्यक्तीका वुद्धि (Intellect), मानस (Brain), अहंकार (Sense of identity) र चित्त(Intelligence) हरूको Interactions तथा ‘कोअर्डिनेटेड’ चिन्तनहरूको गतिशीलताले जीवन र जगतमा हुने परिवर्तनको स्वरुप निर्धारण गर्दछ भन्दछन् । अर्थात, नेपालको परिवर्तनलाई पनि गाउँ, बस्ती, शहरका अनेक गतिशील भइरहने भित्री लाखौँ चिन्तन र ती चिन्तनहरूले पैदा गरेको गतीले निर्धारण गर्ने हो । खम्बुजीको यो पुस्तकमा उनी आफु सकृय हुँदाका बखत सन्सारको एक मात्र हिन्दु सम्राटको सामन्ती निरंकुश पञ्चायती शासनका बिरुद्ध ती Subatomic particles तहका लाखौँ-लाख सामाजिक, राजनैतिक लगायतका तत्वहरु मध्ये विद्यार्थी ‘फ्रन्ट’को एउटा तत्वले के कसरी समाजका अन्य तत्वहरूसँग Interactions गर्दै परिवर्तनको गतीलाई अघि बढाउँने काममा निरन्तर योगदान गरेको थियो भन्ने कुरालाई आफ्नै संलग्नता सहितको सत्य-तथ्य विवरणहरू ‘डकुमेन्टेड’ भएकाछन् ।

खम्बुजीको व्याक्तीत्व मुल रुपमा एक Science Scholar हो । लेखकका रुपमा उनको “मेरो अनुसन्धान यात्रा (२०६८)”मा पहिलो पटक चिनेको हुँ । यी दुइ कृति पढिसकेपछि शैलीगत रुपमा खम्बुजीको लेखाईलाई पनि (देवकोटाले भनेझैँ)  ‘पोथी गद्य’ रहेछ भनि बुझेँ । हरेक मसिना-मसिना तथा सुक्ष्म कुराहरू, घटनाहरु ‘डिटेल’मा अभिलेख गर्ने र तिनको आफ्नो भावनात्मक संबन्धलाई समेत अन्तरघुलित गरी सिकेका कुरा सहित अभिव्यक्त गर्ने । यो शैलीले मानिसहरूलाई ‘हार्डकोर’ तथ्यहरू पेश गरेर पाठकका संवेदना समेतमा छोएर कहिले भावुक बनाउँछ त कहिले जोस-जाँगर भरिदिन्छ । पढुँपढुँ लाग्छ, तानिरहन्छ, बोर लाग्दैन । पढेपछि खम्बुजीको अनुभवहरूबाट पत्तैविना केही न केही सिकिन्छ जुन शैलीगत एप्रोचलाई Positive deviance (Jerry and Monique, 1990s) भनिन्छ । यो एप्रोचमा ठूला-ठूला सैद्धान्तिक ‘बम्ब्लाष्ट’ नगरी नजिकैको सकारात्मक उदाहरण पेश गरेर शुलभ किसिमले सिक्नेका निम्ती ‘कन्ड्यूशीव’ वातावरण तैयार गरिन्छ । खम्बुजीको शैलीगत विशेषतामा यो पनि एक पक्ष रहेकोछ । सन्सारका ठुल्ठूला विद्वानका सैद्धान्तिक कुरा नगरी आफ्नै वरिपरिका ‘सक्सेस केश’ या ‘पोजिटिभ तथा क्रिटिकल ईन्सिडेन्सेस’हरूको प्रमाण पेश गरेर पाठकहरूको निम्ती सिक्ने प्रकृयालाई ‘फसिलिटेट’ मात्र गर्छन् केआर खम्बु । सकारात्मक तर रैथाने उदाहरण दिएर मानिसको चित्तको तहमा परिवर्तनको वीउ छर्ने, उमार्ने र फलाउँने ‘मेथड’ हो यो । मानव ‘एटिट्यूड’मा परिवर्तन गर्नको निम्ती सबैभन्दा शसक्त विधी मध्ये एक यो पनि हो ।

मेरो पढ्ने रूचीमा ईमान्दार मानिसका आत्मकथा (Autobiography) पनि हो । मेरा निम्ती केआर खम्बु सबैभन्दा पहिले एक ईमान्दार मानिस हुन् । अरु गुण त त्यही मानिसका कमाई हुन् । मैले खम्बुजीका ‘बोनाफाइड’ कृतिहरूमा ‘जेनुइन’ कुरा हुनुपर्छ भनेर पढेँ । मेरो Expectation कहिले पनि mismatch भएन । आफ्नै ‘डिजाइन’ मुताबिक एक ईमान्दार व्यक्तीको रुपमा जीवन विताएकोमा खम्बुजीलाई –क्यावात !! त्यसपछि, कृतिहरू मार्फत आफ्ना अनुभवले अरुलाई पनि प्रशिक्षित गर्ने काम गरेकोमा – स्याब्बास  यार !!!

केआर खम्बुसँगको संगत, उनको जीवन र दुइ कृतिबाट मैले हासिल गरेका सकारात्म उर्जाहरूको सूचि यस्तो छ -
१। सबैभन्दा पहिले मानिस ‘ईमान्दार’ हुनु पर्छ । ईमान्दार मानिसको ‘गहना-गुण’ भनेको जहिले पनि सकारात्म किसिमले सोच्ने र सोही अनुसारको कार्य शैली (Appreciative Inquiry by Cooperrider, Srivastva and Diana Whitney, 1996) अपनाउँने हुन्छ ।  बेइमानी र नाईन्साफी गरे त सम्राटलाई पनि सिंहाशनबाट गलहत्याएर जनताले लखेट्छन् ।

२। हरेक मानिसले आफ्नो डायरी नियमित लेखी जोगाएर राख्ने आफ्ना अनुभवहरूको पुस्तक लेख्ने बेलामा यी डायरीले ‘डाटा वेश’को काम गर्छन् ।

३। जहिले पनि आफ्नो उद्देश्यतिर लागिरहनु पर्छ । खम्बुजीले नेत्र-दृष्टि गुमाएपछि पनि यत्रा ठुल्ठुला किताब लेखे । यो उनको निरास नभई लागिरहने संघर्षशील स्वाभावकै नतिजा हो । जीवनमा सास ‘ईन्हेल र एक्सहेल’ गर्दा समेत हामी संघर्ष नै गरिरहेका हुन्छौँ । कुनै दिन त ‘निषेधको निषेध (Law of negation of the negation by G. Hegel) नियम’ अनुसार पञ्चतत्व (फृथ्वी, जल, अग्नी, वायु र आकाश) मा फिर्ता हुनेछौँ । तर फेरि पनि Subatomic particles मा परिणत भएर पनि निरन्त्र परिवर्तनको निम्ती कृयाशील हुनुनै छ । तथापी यो जुनीमा आफ्ना अनुभवहरू लेखेर छोडिराखे समाज परिवर्तन प्रकृयामा कहीँ-कतै गती थपिरहन पुस्तकले हाम्रो वारिसको काम गरिरहन्छ ।

४। कम्बुजीको काम गर्ने एप्रोच जहिले पनि self-fulfilling prophecy (Robert K. Merton) रहने गरेको मैले देखेको हो । जस अनुसार ‘यो काम हुन्छ हुन्छ’ भनी सोचेर गरे सफल हुन्छ तर ‘यो काम सफल हुन्न क्यारे’ भन्ने मनमा सोच्दै काम गरे असफल नै हुन्छ । मानिसले “सफलता” र “असफलता” दुबैबाट सिक्नु नै अघि बढ्दै जाने कडी पनि हो । खम्बुजी कुनै पनि काम गर्दा ‘यो काम हुन्छ’ भन्ने विश्वासको उर्जा आफ्ना सारा वुद्धि, मानस, अहंकार र चित्तमा भरेर लाग्ने मानिस हो । यसको परिणाम प्राय राम्रो हुन्छ र यस एप्रोचमा काम गर्नेको निम्ती कुनै असफलता भोग्न परे पनि त्यसबाट ‘लर्निङ पोइन्ट’ खोजेर भविश्यको निम्ती आफुलाई एडुकेट गर्छन् । यो कुरा पनि खम्बुजीको विशेषताको रुपमा मैले Observe गरेर उहाँबाट थोर बहुत उर्जा लिने गरेको छु । नत्र मानिसमा Learning disability (Joseph K. Torgesen 1986) सुरु हुन्छ र ज्युँदै मर्छ ।

मैले छानिछानि Autobiography र Biography हरू पढेकोछु । नेपालका Autobiography लेखकहरू (प्रो सुरेशराज शर्मा र हिमालय शम्सेरका बाहेक)को पुस्तक पढ्दा यो मुलुक र सन्सारै उनैले थामेजस्तो गरी लेखेका हुन्छन् । सारा गुणैगुणले भरिएका स्वस्थानीमा वर्णित हमादेवको कथा जस्तै । खम्बुजी यस किसिमको क्यान्सरिलो रोगबाट केही हदसम्म मुक्त छन् । जीवनका हरेक पल र लेखनमा समेत सँधै बलियो साथ दिने उनकी जीवनसँगी शुभलक्ष्मीलाई पनि यो पुस्तकका अनेक पन्नामा उपस्थित रहेको पाएकोछु । यो पुस्तक शुभलक्ष्मी र केआर खम्बुले आधा-आधा लेखेर (भैरव रिसालको आत्मकथा “शुसिला भैरव” जस्तै) एउटा कृतिको रुप दिए गज्जब हुने थियो भन्ने मलाई लागि रह्यो । शायद हामी पुरुषहरू जतिसुकै प्रगतिशील र ‘समानता’को कुरा गरेपनि श्रीमतीलाई Taken for granted लिन्छौँ ।

नेपालमा पुस्तक पढ्ने सँस्कृति कमजोर छ । एउटा पण्डितले पुस्तक बाँचेर सुनाउँने र अरुले हप्तादिन हात जोडेर सुन्ने सँस्कार भएकोले पण्डित एकजनाको पुस्तकले नै सैयौँलाई पुगिहाल्छ । किनेरै त थोरैले पढ्छन् । खम्बुजीका किताब जतिले पढलान् उनले ‘बेकारमा मेरो समय खेरो गयो’ किमार्थ भन्ने छैनन् ।

विक्रम सुब्बा
शंखमूल, काठमाण्डु, नेपाल (२०७३ फागुन २५)