Thursday, December 1, 2016

वुद्ध मार्गी अर्थशास्त्रका केही पक्ष ई. एफ. शूमाकर (अनु - विक्रम सुब्बा)


१। उत्पादन, उपभोग र धन-दौलतको विकास गर्ने ज्ञानलाई अर्थशास्त्र भनिन्छ । दुःख अन्त्य गर्न वुद्धद्वारा प्रतिपादित आर्य अष्टाङ्गी मार्गको एउटा बुँदा  – ‘सही किसिमको जीवन यापन गर्नेछ । वुद्ध मार्गी अर्थशास्त्रको जग यही हो । सबैले मानेको मानव श्रम नै उत्पादन र धन-दौलतको स्रोतहो । यसलाई हेर्ने दृष्टिकोण (Perception) फरक-फरक वर्गको फरक-फरक हुन्छ । जस्तैः सस्तोमा श्रमकिन्न सके नाफाहुन्छ भन्ने उद्योग-मालिकको धारणा र चाहना हुन्छ । तर, मजदुर को - ज्याला जसले धेरै दिन्छ उसैलाई श्रम बेच्ने दृष्टिकोण र चाहना हुन्छ । श्रमजिवीहरूको यही चाहनाले गर्दा नै आज नेपालका श्रजिवीहरू नेपाल बाहिरका मुलुकहरूमा र अझ कोरिया, जापान तिर आफ्नो श्रम बेच्न जाने गरेको हो । नत्र नेपालमा पनि थोर-बहुत त कमाइराखेकै हुन् ।


२। पाश्चात्य मुलुकको औद्योगिक क्रान्ति र प्रविधीको विकासले मेसिनहरू चलाएर काम गरिदिएपछि छोटो समयमा धेरै उत्पादनगर्न संभव भयो र उनले छिट्टै धन-दौलत कमाउँन सकेको हो । वुद्ध मार्गीहरू यही उत्पादन कार्य सम्पदान गर्न तीन कुरालाई महत्व दिन्छन् ) मानिसमा कमाउँने शीपको विकास गर्नु; ) मानिसमा निहित अहंकारमाथि विजय हासिल गर्न समुहिक काममा सहभागी हुने वातावरण मिलाईदिनु; , ) मानव अस्तित्व कायम राख्न आवश्यक उत्पादन गर्ने र सेवाहरूको विकास  गर्नु  । उल्लेखित तेस्रो बुँदालाई गलत किसिमले असिमित उत्पादन गर्नेतथा असिमित सेवाहरुको व्यवस्था गर्ने भनेर पनि बुझ्ने गरिन्छ तर तेसो होइन । यहीँनिर वुद्ले भनेको सम्यक(Balance)को कुरा आउँछ  । कामआरामदुबैमा सन्तुलन कायम गर्नु पर्ने हुन्छ । किनभने कामआरामदुबै एकार्काका परिपुरक हुन् । चाहिँदो आरामपुगेको शरिरले मात्र उत्पादनशील भएर कामगर्न सक्छ ।


३। वुद्ध मार्गी अर्थशास्त्रले (घर बाहिर गएर गर्ने कामको हकमा) सकेसम्म सबैलाई रोजगारी दिनेभन्नेमा जोड दिन्छ एउटै मानिसले २-३ ठाउँमा काम गर्नु भनेको अरूको काम पाउँने अवसर खोस्नु हो । एउटै परिवारको मानिस २-३ जनाले रोजगारी पाउँनु तर कुनै परिवारको एउटैले पनि रोजगारी नपाउँनु भनेको आर्थिक स्रोतको वितरण प्रणालीमा असन्तुलन हो ।  यो पनि एक किसिमको सामाजिक, राजनैतिक रुपमा अपराध हो, अनैतिक काम हो । किनभने यस किसिमको आर्थिक प्रणाली अपराध र अशान्तीको आधार हुन पुग्छ । अहिले कताकतै 'एक घर एक रोजगारी' भन्ने नारा पनि सुनिन्छ । यो वुद्ध मार्गी अर्तशास्त्रको अंग हो । यसलाई मात्र अबलम्बन गर्न सके पनि पुँजीको सन्तुलित वितरण हुने र सबै परिवारले न्युनतम भएपनि आम्दामी गरेर जीवन यापन गर्ने अवस्था सृजना हुन्छ ।


४। वुद्ध मार्गी अर्थशास्त्र अनुसार - महिलाहरुको हकमा, वच्चा पाएपछि, घर बाहिर गर्ने काम गर्दा वच्चालाई उचित किसिमले हुर्काउँने र वच्चाहरूलाई असल, सभ्य र सक्षम नागरिक बनाउँने गंभीर ईन्जिनिरिङबाट चुकिन्छ । यसो गरेमा उदंण्ड, अनुशासनहीन बालबालिकाले र कालान्तरमा खराब मानिसले समाज  भरिनेछ, देशै यिनले कब्जा गर्नेछन् । आमाले बाहिर काम गरेर केही पैसा त भित्र्याउँछिन् होला तर समाज र मुलुकको निम्ती खराबनागरिक उत्पादन गरेर ठूलो ड्यामेजगर्ने काम भईदिन्छ । यो कुरा आधुनिक पुँजीवादी अर्थशास्त्रीहरुले स्वीकार्दैनन् । तथापी कैयौँले वुद्धिमान बा-आमाले एउटा वच्चा पाउँने निर्णय भनेको २० वर्षे प्रोजेक्ट थाल्नु हो भनेर वच्चा पाएपछि आमाले काम नगरेको पनि देखिएकोछ । यसो गरेर उनले वच्चालाई भावनात्मक, मनोवैज्ञानिक रुपमा र क्षणक्षणमा जीवन-शीप (Life skill) सिकाउँने आधारभूत तर महत्वपूर्ण काम आमाले गरिदिन्छिन् र एउटा सक्षम नागरिकको विकास गर्छिन् ।


५। भौतिकवादी-पुँजीवादी अर्थशास्त्रीहरूको ध्यान धेरैभन्दा धेरै उत्पादन गर्नेमा हुन्छ भने वुद्धमार्गीहरूको ध्यान यो सान्सारिक जीवनका दुःखहरूबाटनिर्वाण प्राप्त गर्नेमा हुन्छ । धेरै उत्पादन गर्नु र धेरै धन-दौलत कमाउँनुले त झन धेरैझन धेरैअझै धेरै भन्ने असिमित चाहना र लोभको कुचक्रमा मानिसलाई धकेल्छ जहाँ हमेसा धन-दौलतसँगै द्वन्द, तनाव, पिरलो, डर, त्रास, असुरक्षा आदि पनि नत्थि भएर आएका हुन्छन् र शान्ति’, ‘खुशीआनन्द बिहिन सिरिफ टनाटन पैसा भएको मानिस भइन्छ ।  यसको मतलब भौतिक सुविधाहरू चाहिन्न भन्ने होइन बरु पुग्दो भन्दा अधिक र असिमितचाहनाले आफुलाई शान्ति नदिने र अरुको भाग सबै आफैले खोस्ने काम गरिन्छ । जसले हुने मानिसनहुने मानिस’ समाजमा सृजना गरिदिन्छ र यो नै समाज व्यवस्थापनको समतामुलक-सन्तुलन भंग गरेर प्रकारान्तरले अशान्ति तथा द्वन्दको स्रोत हुन पुग्छ ।


६। उल्लेखित पृष्ठभूमिका आधारमा उत्पादन प्रकृयाको यान्तृकिकरणलाई वुद्ध मार्गीहरूले दुई पक्षमा ध्यन दिएर गर्नु उपयक्त हुन्छ भनि ठान्छन् ) एक किसिमका यान्त्रृतिकिकरण जसले मानिसको शीप, क्षमतालाई उजागर गर्न सघाउ पुर्‍याउँछ; ) अर्को थरिको यान्त्रृकिकरण जसले मानिसलाई दाशका रुपमा परिणत गरिदिन्छ । जस्तैः क) कार्पेट बुन्ने लूममा केही यन्त्रको अंश र परम्परागत कार्यशैली सहित मानिस पनि संलग्न हुन्छ तर बिजुलीले चल्ने कार्पेट बुन्ने यान्त्रिक लूममा मानिसले गर्ने धेरै काम मेसिनले नै गरिदिन्छ र मानिस एउटा मेसिनको सहयोगीका रुपमा मात्र संलग्न हुन्छ । ख) मानिसलाई औजारहरूले उसको काम गर्ने प्रकृयामा सजिलो पारिदिन्छ भने मेशिनहरूले मानिसलाई मेशिनकै मामुली सहयोगीबनाई दिन्छ । अर्थात औजारले मानिसलाई साम्यर्थ्यवानबनाउँछ भने “मेशिन”ले मानिसलाई विचरो सहयोगी बनाईदिन्छ प्राकृतिक वातावरणमा समेत यसले ठूलो असर पार्छ । पाश्चात्य मुलुकहरु औजार त्यागेर विसाल मेशिनहरू बनाएर धेरैभन्दा धेरै कमाउँन लाग्दा नै आज अनेक पर्यावरणीय समस्याहरू उब्जिएर अनेक स्वास्थ्य समस्याहरू सृजना भइरहेको देखिएकैछ । यसरी हेर्दा पाश्चात्य अर्थशास्त्रले मानिसलाई भन्दा उत्पादनया माललाई महत्वपूर्ण मान्छ । तेस्तै मानिसको सृजनशीलता’, ‘रचनात्मकतालाई भन्दा बढीभन्दा बढी उपभोगहुनुलाई महत्व दिन्छ । जसलाई अचेल ‘उपभोगवादी समाज’ समेत भन्ने गरेको सुनिन्छ । यसरी श्रमीकभन्दा उत्पादन र मानिसभन्दा ‘सहायक-मानिस’ हुँदै गएर मानिस त कुनै दिन पापीको रुप लिनेजस्तो र मेशिनको पुजा हुने अवस्था पो आउलाजस्तो छ ।


७। माथिका कुराहरू हर्दा वुद्ध मार्गी अर्थशास्त्रले मध्य मार्गीबाटो लिन्छ जसमा मानिसलाई केन्द्रविन्दुमा राखेर आधुनिकिकरण या औजारीकरण गर्दै चाहिएको भौतिक सुबिधाहरूको विकास गर्नु पर्छ भनि ठान्छ ।  वुद्ध मार्गी अर्थशास्त्र भौतिक सुविधा, बैभव-सम्पतीको पुरै विरोधी होइन । अर्थात, के बुझ्नु पर्दछ भने वुद्ध मार्गको निर्वाणप्राप्त गर्ने पथमा सम्पती समस्याको रुपमा आउँने होइन बरू सम्पतीप्रतिको लोभ, लालच र आशक्तीले मानिसलाई निर्वाणतिर जानै नसक्ने बनाईदिन्छ । आनन्द, मोजमज्जा पनि समस्या होईन बरु यिनिहरूप्रतिको (नभइनहुने) आशक्ती नै समस्या हो । किनभने आशक्ती भए ती कुरा नपाउँदा मानिस दुखीभइ त हाल्छ । सम्पती, धन-दौलत छ तर मानिसमा लोभ, लालच, आशक्ती, घमण्ड, अहंकार छैन भने उ सम्यक अवस्थामा रहेर हरेक कार्यहरू संतुलित र न्यायसंगत किसिमले संपादन गर्दछ र निर्वाणतिर अघि बढछ । अर्थात, वुद्ध मार्गी अर्थ शास्त्रले सरल जीवन जिउने, आफुसँग जे छ त्यसमै सन्तुष्ट हुने गरे मनमा शान्तिले बास गर्छ र शान्त मनले मात्र असल काम गर्न सक्छ, अशान्त मन, रिसाईरहेको मन या तनावमा भएको मनले सर्वप्रथम आफैलाई र ढीलो-चाँडो समाजलाई हानी पुग्ने काम गर्ने खतरा सँधै रहिरहन्छ । अनेक किसिमका सामाजिक अपराध र आतंकवादको मूल जरा नै यही हो ।


८। पुँजीवादी अर्थ शास्त्रीहरुको निम्ती ‘सरल जीवन, जे छ त्यसैमा सन्तुष्ट हुने र शान्तिको निम्ती अर्थतन्त्र’ भन्ने कुरा बुझ्नै मुस्किल हुन्छ । किनभने उनले त थोरै मात्र खर्च गर्ने भन्दा धेरै खर्च गर्नेको जीवनको गुणस्तर उच्च हुन्छभन्ने जीवनको गुणात्मकताको स्तरीकरण तोक्ने सूचकांक नै स्थापित गरेकाछन् । जसलाई वुद्ध मार्गले स्वीकार गर्दैन । उद्देश्य त ठीक्क-थोरै वा चाहिएजति मात्र खर्च गरेर चाहेकोजस्तो सन्तुष्टी र आनन्द पाउँनु पर्छ भन्ने हो ।


९। आधुनिक पुँजीवादी अर्थतन्त्रले आफ्ना सारा गतिबिधीलाई बढी भन्दा बढी खपतगर्ने-गराउँने र कमाउँने कुरालाई नै उन्नती प्रगतीको केन्द्रबिन्दुमा राख्छ । यसकै निम्ती (बढी) उत्पादनका साधनहरू (जमीन, श्रम र पुँजी) लाई साधन (Means) का रुपमा लिन्छ । यसरी हेर्दा वुद् मार्गी अर्ततन्त्रले उत्पादित वस्तुहरूको खपत मानिसको सन्तुष्टी हो भन्ने मानेर यसैलाई केन्द्रविन्दुमा राख्छ भने पुँजीवादी अर्थतन्त्रले मानिसको मानसिक सन्तुष्टीको केही वास्ता गर्दैन बरु अनेक किसिमका Stress, depression खपेर भएपनि उत्पादन बढाउँने खपत बाढाउँने बेसी भन्दा बेसी कमाउँनेकामलाई नै विकास र उन्नती हो भन्ने ठान्छ । यही कारणले पुँजीवादी मुलुकहरूमा (जस्तैः अमेरिकामा) मानसिहरू पैसा त कमाउँछन् तर सँधै तनावमा हुन्छन् । अमेरिकाको जीवन चक्रलाई एकजना अमेरिकी (मैले नाम बिर्सेँ, अनुवादक) कविले चित्रण गरेका छन् 

उठ, मुख धोउ
ब्रेकफाष्ट खाउ र काममा जाउ
लन्च ब्रेकमा हतार हातर
घर, गाडीको मोरगेज तिर
काम पछि फर्केर आउ
कोकमा रक्सी र स्न्याक्स खाउ
खाना खाएर सेक्स गर र सुत
फेरि विहान उठ, मुख धोउ,
काममा जाउ…..अमेरिका जिन्दावाद!'
'अमेरिका - महान देश' भन ।
(यो कविताले चित्रण गरेको जस्तो जीवनामा त जीवनको गुणात्कम पक्ष नै छैन । यस किसिमको गुणहिन जीवनमा सुख, शान्ति र आनन्द कहाँ छ र?)


१०। सरल र हिंसारहित जीवनका वीच पनि नजिकको संबन्ध हुन्छ । उत्पादनको अधिकतम खपतको सट्टा तुलनात्मक रुपले कम उपभोग गरेर पनि हामी सन्तुष्टी हासिल गर्न सक्छौँ । परिणामस्वरुप यसबाट तनाव घटाएर तुलनात्मक रुपमा शान्त जीवन जिउँन समेत सक्छौँ । यसको निम्ती आपराधी मनलाई रोक्नु तालिम दिनु पर्छ र मनलाटई असल काम गर्ने विशेष मन बनाएर काम थाल्नु पर्छ। यो संभव छ । नत्र – ‘सरल गाउँले जीवन यापन गर्नेहरूभन्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको ठूलो ठूलो व्यापार व्यसाय गर्नेहरू धेरै आपराधिक गतिबिधीमा संलग्न भएको र मानसिक तनावमा बाँचिरहेको त जताततै देखिएकैछ ।‘      


११। उल्लेखित कुरालाई ध्यानमा राखेर स्थानिय स्तरमा हुने उत्पादनहरू (जस्तैः नेपालको प्रकृतिले गर्दा गाउँ-गाउँमा २ देखि साढे दुइसय किसिमका उत्पादन हुन्छन्) आफ्नो गाउँठाउँलाई पुग्ने गरी उत्पादन आफैले गर्ने गरे अरु मुलुकको आयातमा परनिर्भर हुनै पर्दैन, कुनै विदेशीको हेपिलो कुरा सुन्नै पर्दैन । यसो गरे आफ्नै ठाउँमा कर्म गरेर सुख-शान्तिसँग बाँच्न पाइने भयो भन्ने कुरालाई बुद्ध मार्गी अर्थतन्त्रले बोल्छ । विदेशबाट खाद्यान्न सामग्री आयात गर्नु पर्ने वाद्यता त यूरोपका मुलुकहरुलाई थियो । किनभने उनको मुलुकमा ५-६ किसिमको मात्र उत्पादन हुन्छ । धेरै कुरा विदेशबाट आयात गर्न उनीहरू वाध्य रहेका छन् । यही वाध्यताले बृटिश ईष्ट ईण्डिया कंपनी भारत लगायत अनेक मुलुकहरूमा पहिले व्यापारी कंपनीका रुपमा आएको र विस्तारै उक्त मुलुकहरूमा राजनीति समेत कब्जा गरेको हो । अर्थात, अनेक किसिमका उत्पादनहरूको आपूर्ति बेलायतमा गराउँनकै निम्ती उनले "व्यापारी" र "साम्राज्यवादी" रुप लिन पुगे । आफ्नो मुलुकको जनतालाई चाहिने सामग्री त आपुर्ति गर्दा १) सबैभन्दा पहिले आवश्यक सामग्री खरीद गर्ने; २) खरीद गर्ने सर्तहरू आफ्नो अनुकुल बनाउँने; ३) नं (२) को निम्ती उक्त मुलुकको राजनितिक निर्णय कर्तालाई प्रभावित गर्ने; ४) नं (३) नमिले दुइ देश वीच युद्ध हुने; ५) युद्ध(साम्राज्यवाद)मा जसले जित्यो उसैले उक्त मुलुकमा हरेक निरण्यहरू आफ्नो अनुकुल गर्ने-गराउँने । यही प्रकृया चलेको र हाल पनि चलिरहेको देखिन्छ ।


१२। अर्को झस्काउँने पक्ष हेरौँ पुँजीवादी अर्थशास्त्रले प्राकृतिक स्रोतहरूको ‘सक्दो दोहन गर्ने र कमाउँने’ कुरामा जोड दिन्छ भने वुद्ध मार्गी अर्थशास्त्रले संतुलित किसिमले प्राकृतिक वस्तुहरूको दोहन गरेर हाम्रा सन्तान-दर-सन्तानको निम्ती पनि उपयोगी धर्ती छोडेर जानु पर्छ भन्ने कुरामा जोड दिन्छ । प्रकृतिलाई पुनरजीवन दिन जहाँ पनि (आफ्नो घर-बरण्डामा, बैठक कोठामा, कार्यालय कक्षमा, दोकानमा, फ्याक्ट्री वरिपरी, गाउँहरूका छेउछाउ, बाटाका दाँया-बाँया, पानीका मुहानतिर, खोलाखोल्सीतिर, आदि) ठूला-साना फलफुलका रुख-विरुवाहरू रोप्ने, हुर्काउँने र फल्न फुल्न सघाउँने काम पनि गर्नु पर्छ । यसो गर्दा आफ्नै निम्ती प्राण वायु अक्सिजन प्राप्त हुन्छ, आफ्नो वरिपरिको वातावरणलाई सुद्धता पनि प्रदान गरिन्छ र चराचुरुंगी तथा कीटपतंगलाई खाना र वासस्थान दिने कल्याणकारी काम पनि गरिन्छ । अर्थात, सबै प्राणी, बोट विरुवा, कीटपतंग, आदिसँग मानिस सन्तुलित किसिमले अन्तरनिर्भताका साथ जिउँन पाईन्छ र वुद्धले भने जस्तै ‘सही किसिमले जीवन यापन’ गरिन्छ । जसले शान्ति हासिल गर्ने गराउँने काममा मद्दत गर्छ ।


नोटः नेपालीहरूको विकासको सिलिङ के हो? 
के नेपालले जापानलाई, अमेरिकालाई, चीनलाई जित्न विकास गर्ने हो? 

यो होइन र संभव पनि छैन । नेपालको विकासको सिलिङ – ‘सबैलाई खान, लाउँन, बस्न, वालबालिका पढाउँन र विरामी परे औषधी गर्न’ पुग्ने अवस्था सृजना गर्नु हो । यसैलाई ध्यानमा राखेर नेपालको राजनीतिक प्रणाली, अर्थिक प्रणाली, नीति तथा योजना र सम्यक तथा परस्पर सम्मान गर्ने सामाजिक सँस्कार-सँस्कृतिको प्रवर्धन गर्न सके र कसैलाई पनि कसैले अपहेलना गरेको अनुभव गर्नु नपर्ने अवस्था सृजना गर्न सके पुग्छ । यस्तो अवस्था सृजना गर्नको निम्ती कस्तो अर्थतन्त्र अपनाउँने? भन्ने किसिमको रणनैतिक अवधारणा तैयार गर्न वौद्ध मार्गी अर्थतन्त्रले पनि सघाउ पुर्‍याउँनेछ । परन्तुमा, समावेशी अर्थतन्त्र (Inclusive Economics) ले मात्र समाजमा शान्ति स्थापना गर्न मद्दत गर्ने छ । ‘जसको शक्ती उसकै भक्ती’ भन्ने अवधारणामा आधारित पुँजीवादी अर्थतन्त्रले मुलुकका १%लाई त धनी बनाउँछ होला तर ९९%लाई गरीब बनाउँने र चारतिर द्वन्द र अशान्ति सृजना गर्ने पक्काछ । यस कुरामा पनि संघीय, प्रान्तीय र स्थानीय स्तरको आर्थिक उन्नतीको योजना तर्जुमा गर्दा सबैको ध्यान जाओस् ।

(Small is Beautiful, Chapter 4 को सारांश अनुवादः विक्रम सुब्बा)

छोरीलाई पुँजीवाद सम्झाउँदा (विक्रम सुब्बा)

(मेरी छोरी अदिती बेलायत पढ्न गई । केन्ट विश्वविद्यालयमा पढाई सुरु भयो । केही दिनपछि यहाँका मानिसहरू किन बेग्लै किसिमका छन्? भनेर सोधी । पुँजीवादले गर्दा उनको व्यवहार नै फरक भएको कुरा बुझाउँन पुँजीवादका केही कुरा समझाएर छोरीलाई सन् २०११ को अन्ततिर लेखेको लामो ईमेलमा केही थपघट गरेको लेख यहाँ आर्काइभ गरेको।)


पुँजीवादः  सम्पती बनाउँने (उत्पादनको) साधन (जस्तैः मेशिन, फ्याक्ट्री, गाडी, हवाइजहाज, दोकानहरू, होटल, आदि इत्यादि सबै) धनी वा सम्पतीवालाले आफ्नो नीजि(बैँकको रीण समेत लिएर)पैसा लगानी गरेर सन्चान गर्ने, उत्पादन गरिएको माल (जस्तैः चाउचाउ, बिस्कुट, औषधी, कृषि-सामग्री, ट्याक्टर, गाडी, हातहतियार, हवाइ जहाज, आदि जे जे उत्पादन हुन्छ)को दाम पनि आफैले तोक्ने र बजारमा विक्री-वितरण पनि आफैले गरेर (सक्दो) नाफा-पैसा कमाउँने । जसलाई Free market पनि भनिन्छ । यो यस्तो आर्थिक प्रणाली हो जसमा सरकारले ऐन-नियम-कानुन बनाउँने, कानुन र नियम बमोजिम भए-नभएको अनुगमन-जाँच गर्ने र कसैले गलत गरेकोछ भने सजाय गर्छ नत्र पुरै अर्थतन्त्रलाई नीजि क्षेत्रका व्यापारी, लगानी कर्ता वा धनी मानिसहरूले नै चलाएर बेस्सरी फायद कमाउँने गर्छन् । जस्तैः अमेरिका, बेलायत, जापान, सिंगापुर, यूरोपका मुलुकहरूमा यही व्यवस्था छ । अर्थात, “नाफाको निम्ती काम गर्ने” प्रणाली हो - पुँजीवाद !


तर, पुँजीवादमा (ट्याक्स संकलन गरेर) सरकारले जनतालाई सक्षम गराउँने र जनताको भलो हुने कामहरू गर्छ । जस्तैः १) निशुल्क स्कूल-कलेज सन्चालन गरेको हुन्छ । पढाइ सकिएपछि काम दिने कर्तव्य सरकारको हुन्छ र काम गर्न थालेपछि नागरिकले ट्याक्स अनिवार्य तिर्नु पर्छ; २) स्वास्थ्य सेवा पनि सबैलाई निशुल्क हुन्छ; ३) खान पुग्ने गरी बेरोजगारीलाई भत्ता, बृद्ध भत्ता हुन्छ । यसलाई नै सामाजिक सुरक्षा (Social security) भनिन्छ । जनताको निम्ती सार्वजनिक ठुल्ठुला रोडहरू, एयरपोर्टहरू, ठाउँठाउँमा टोइलेट, खानेपानी, बिजुलीको व्यवस्था, गार्डेनहरू, राष्ट्रिय निकुन्जहरू सरकारले विकास गरिदिन्छ । तेस्तै अन्य मुलुकहरूसँग आफ्नो मुलुकको उत्पादन बेच्ने र अन्य मुलुकले उत्पादन गरेका आफुलाई चाहिने सामानहरू खरीद-विक्री बारे सम्झौता गरेर वैदेशिक व्यापार बढाउँने । आफ्नो मुलुकको सुरक्षाको निम्ती अन्य मुलुकहरूसँग शान्ति-मैत्री सम्झौता गर्ने, आदि । अर्थात, पुँजी नागरिकले कमाउँछ तर सरकारले व्यवस्थापकको काम गरेर जनताकै पैसा (ट्याक्स) लिएर जनताको निम्ती सेवा-सुबिधाहरू व्यवस्थित र सन्चालन गरिदिन्छ ।


समाजवादः यस प्रणालीमा सार्वजनिक सम्पती (जस्तैः जग्गाजमीन, खोला-नाला, हिमाल, जंगल, खानी, आदि) र उत्पादनका साधनहरू (जस्तैः केही उत्पादन गर्ने फ्याक्ट्रीहरू, गाडी कंपनीहरू, हवाइजहाज कम्पनीहरू, ठुल्ठुला दोकानहरू, होटलहरू, खेतीपातीका जमीनहरू आदि इत्यादि सबै) धेरै जसो सरकारी हुन्छ । जनताले ती उत्पादनका साधन (फ्याक्ट्रीहरू, गाडी कंपनीहरू, हवाइजहाज कम्पनीहरू, ठुल्ठुला दोकानहरू, होटलहरू, खेतीपातीका जमीनहरूमा) काम गर्छन् र काम-रोजगारी गरे बापत ज्याला पाउँछन् ।


सरकारले निशुल्क स्कूल-कलेज सन्चालन गरेको हुन्छ । पढाइ सकिएपछि काम दिने कर्तव्य सरकारको हुन्छ र काम गर्न थालेपछि नागरिकले ट्याक्स अनिवार्य तिर्नु पर्छ । स्वास्थ्य सेवा पनि सबैलाई निशुल्क हुन्छ । खान पुग्ने गरी बेरोजगारीलाई भत्ता, बृद्ध भत्ता हुन्छ । यसलाई नै सामाजिक सुरक्षा (Social security) भनिन्छ । अहिले यूरोप, यूके र उत्तर अमेरिकाका धेरै मुलुकहरूमा जनताको निम्ती सार्वजनिक ठुल्ठुला रोडहरू, एयरपोर्टहरू, ठाउँठाउँमा टोइलेट, खानेपानी, बिजुलीको व्यवस्था, गार्डेनहरू, राष्ट्रिय निकुन्जहरू सरकारले विकास गरिदिन्छ । आदि । 


समाजवाद पुँजीवादपछि आउँने सामाजिक अवस्था हो । तेसैले पुँजीवादी देशहरूमा समाजवादले दिने सुविधाहरु दिन सुरु गरिएको हुन्छ भनेर भनिन्छ । यूरोप, यूके र उत्तर अमेरिकाका धेरै मुलुकहरूमा, चीन, जापान, सिंगापुर जस्ता मुलुकहरूमा “समाजवाद” भनि या नभनिकनै विस्तारै समाजवाद आउँदै गईरहेकोछ । समाजवाद पुँजीवाद पछि आउँनै पर्ने स्वाभाविक सामाजिक विकासको चरण हो । यसलाई कसैले रोक्छु भनेर रोक्न मिल्दैन । किनभने जनता अशिक्षित हुँदा पो टाठाबाठाले ठगी खाने! जनता गरीव हुँदा पो महाजनहरूले-उद्योगपतिहरूले गरीबलाई चुसी खाने तर सतप्रतिशत जनता शिक्षित भएपछि कसले कसलाई ठग्ने वा चुस्ने आँट गर्ला? सबैले सबैको अधिकार थाहा पाएपछि कसले कसलाई हेप्ने? कसैलाई शोषण गर्नु वा हेप्नु कानुन विरुद्ध हुन्छ र दण्डनीय हुन्छ । सरकारले कारबाही गर्छ ।


कम्युनिज्मः यस प्रणालीमा समुदायहरू नै हरेक सम्पतीका साझा मालिक हुन्छन् भनेर परिकल्पना गरिएकोछ । अहिले सम्म सन्सारमा कुनै मुलुकमा पनि यो आएको छैन । यो कल्पित समाज (Utopia) मात्र हो । तथापि अवधारणात्मक सिनारियो के हो भने सम्पती कुनै धनी मानिस वा नीजि कम्पनीको हुँदैन बरु सबै समुदाय(जनता)को हुन्छ । यो प्रणालीमा हरेक मानिसको श्रम मात्र आफ्नो नीजि हुन्छ बाँकी सम्पती सबै समुदाय(जनता)को हुन्छ जहाँ हरेक व्यक्तीको निम्ती कामको ग्यारेण्टी गरिन्छ । त्यसैले लोभ गर्ने, सम्पती थुपार्ने कुरा कम भएर जान्छ । सबै १००% शिक्षित,  १००% सबैले काम गर्ने र ज्याला पाउँने हुन्छ,  काम नगर्नेले नपाउँने हुन्छ, बेरोजगारले भत्ता पाउँछ, रोगीले स्वास्थ्य सेवा पाउँछ, वृद्धले निशुल्क रेखदेख पाउँछ, १००%ले आफ्नो र अरु सबैको अधिकारको सम्मान गर्न जनेको हुन्छ भनेर एउटा सुन्दर तथा समतामूलक समाजको कल्पना गरिएको छ ।


ऐतिहासिक रुपमा हेर्ने हो भने –
१)       सबैभन्दा पहिले मानिस जंगली अवस्थामा थियो । त्यतिखेर प्राकृतिक आपतविपतबाट र जन्तुजनावरबाट कसरी जोगिने? भन्ने नै ठूलो समस्या थियो । खानाको समस्या थिएन किनभने मानिस कम तर जंगलमा फलफुल प्रसस्त हुन्थे तेसैले खान पुग्थ्यो । खेतीपाती गर्न सिकिसकेको थिएन । जग्गाजमीन कसैको थिएन बरु सबैको थियो । यसैलाई प्राचीन साम्यवाद भनिएकोछ । तेतिखेर जवान र राम्री केटीलाई हासिल गर्न पुरुषहरूको वीचमा प्रतिस्पर्धा, झगडा र मारामार हुने गर्दथ्यो ।  जुन बलियो पुरुषले अरु कमजोर धेरैलाई जित्न सक्यो उसैले सबैभन्दा राम्रीलाई स्वस्नी बनाउँने । रामायणमा बलिया रामले धनुष भाँचेर बल देखाएपछि सीतासँग बिहे गरेको पनि यसैको पछिल्लो स्वरुप हुनु पर्छ । यसैलाई डार्विनले Natural selection भने । यो भनेको राम्रो (बलियो) वीउको छनौट हो । हामी अहिले पनि मकै, धान, आलु, सिमीको राम्रो वीउ खोज्छौँ किन? किनभने राम्रो फल लागोस भनेर । बलियो केटा र राम्री केटीको संसर्गबाट पनि बलियो र स्वस्थ्य बच्चा जन्मिने र मानव जातिको जात अझ उन्नत हुने भयो । तेसैले सबैलाई जित्नेलाई छानेर केटीले बिहे गर्नु भनेको उन्नत बीउ छान्नु हो जुन समाजमा अहिले पनि चलेकै चलन हो । अहिले पनि केटीहरूले अरुभन्दा हेन्डसम, अग्लो, वुद्धिमान, निरोगी, धेरै कमाउँने,सक्षम छान्छन् किन? किनभने सन्तान राम्रो जन्मियोस भन्ने अचेतन मनले नै यस्तो गराएर  । यही हो डार्विनको Natural selection । यही राम्रो वीउ छान्ने स्वाभाविक छनौटको विधी चलेकोले नै मानिस जाति अनेक किसिमका संकटहरूबाट पनि जोगिँदै र अनेकौँ किसिमका अवस्थामासमेत आफुलाई (रक्त समुहहरू समेत नयाँ नयाँ उजागर गरेर समेत) बाँच्न योग्य बनाउँदै अहिले सम्म आईरहेको हो । नत्र कैयौँ प्राणीहरू बाँच्न नसकेर बिलाएर गए तर मानिस जाति बाँचेर आयो । यसैलाई डार्विनले Survival of the fittest (जस्तोसुकै अवस्थामा पनि बाँच्न योग्य मात्र बाँच्छ, अयोग्य त बिलाएर जान्छ) भने । अहिले पनि जो बलियो छ उ नै Survive गर्न सक्छ, दुर्वल त छेउ लाग्दै जान्छ भनिन्छ । कतिसम्म भने यौन सम्बन्ध पछि लाखौँ सुक्रकिटहरू निस्कन्छन् र जो सबैभन्दा सक्षम हुन्छ उसैले सबैभन्दा पहिले महिलाले उत्पादन गरेको अण्डमा प्रवेश गरेर मानिस बन्छ भनिन्छ । यही हो Survival of the fittest. कतिपयले यसैलाई उदाहरन दिएर समाजमा बलियोले अरुलाई पाखा लगाएरै शासन गर्ने हो भनेर समेत Interpretation गर्छन् । उनको तर्क - सरकारमा पुग्न योग्यहरू पुग्ने हो र जो पुग्यो उनैले शासन गर्ने हो अरु त शासित हुने हो समेत भन्छन् ।


२)      मानिसले जब खेतीपाती गर्न थाल्यो तब टाठाबाठाहरू जग्गाजमीनको मालिक भए । सोझाहरू दाश भए । दाशहरू मालिककोमा काम गर्थे । एउटा मालिककोमा सैयौँ दाश हुन्थे । यसलाई दाश युग भनिन्छ । दाश भनेको मानिस होइन मालिकको सम्पती सरह मानिन्थ्यो । त्यसैले दाशको छोरी वा बुहारी समेतलाई मालिकले भोग गर्न पाउँथ्यो । ३०-४० वर्ष अघि सम्म नेपालको मधेशतिर कतिपय ठाउँमा गरीबले बिहे गरेर ल्याउँदा श्रीमतीलाई पहिलो रात जमिन्दारसँग सुत्न पठाउँने चलन थियो । यो दाश युगको अवशेष हो । अहिले पनि तामाङहरुलाई तोकेरे नेपाली सेनाका पीपाको दर्जामा नियुक्त गर्ने गरिन्छ । यो पनि दाश युगको अवशेष हो । गर्खाली सेनाहरुले बृटिश सेनामा ‘गोर्खा मेजर’भन्दा माथिल्लो दर्जा (योग्य भएपनि) पाउँदैनन् । योभन्दा माथिल्लो दर्जाहरू “गोरा”को निम्ती मात्र भनेर कानुन बनाएकाछन् । यो आधुनिक किसिमको दाश प्रथा नै हो । नेपालका पार्टीहरूले कुनै परियोजना सन्चालन गरे (प्राविधीक रुपमा नजान्ने नै भए पनि) पार्टीकै एउटा मानिसलाई नै टीम लीडर बनाइन्छ । यो पनि दाश प्रथाको अत्याधुनिक अवशेष हो । मलेशियामा नेपालका थुप्रै मजदुरी गर्न गएकाछन् । मलेशिया सरकारले नीति नै बनाएर मलेसियनहरूलाई चाहीँ Middle and high level management को निम्ती तालिम दिएर भएपनि राख्ने र गरीब मुलुकहरूबाट सस्तोमा मजदुर ल्याउँने गरेकोछ । यो पनि एकप्रकारको दाश प्रथाको अवशेष हो ।


३)      दाशहरूका (दाशका श्रीमतीहरुलाई पेट बोकाएर जन्मेका समेत) सन्तान-दर-सन्तानले दाश प्रथाको विरोध गरे । धेरै पटक विद्रोह भयो । परिणमास्वरुप, दाशहरूले आफ्नै खेतीपाती गरेर आफ्नै घरमा स्वतन्त्र रुपमा बस्न पाउँने भयो । तर पनि धेरै खेतबारी त मालिकहरूसँगै थिए । केही समय अघि थारु कमैयाहरूलाई मुक्त गर्दा जस्तै फरक घरमा बसेपनि काम गर्न त्यही धेरै जग्जा-जमीन हुने धनी मानिसको खेतबारीमै काम गर्न पर्ने अवस्था आयो । यो युग सामन्ती युग हो । अर्थात, दाशहरु किसान र मालिकहरू जमिन्दारमा परिणत भए । जमिन्दारले धेरै किसानहरूलाई खन्ने-जोत्ने लगायत खेतीपातीका काम गराएर थोरै ज्याला दिएर सम्पती थुपार्ने चलन नै सामन्तवादी चलन हो ।


४)      धेरै पछि यूरोपमा प्रविधीको विकास भयो । कलकारखान खुले । त्यसपछि जमिन्दारहरूले लगानी गरेर फ्याक्ट्री, उद्योग खोले भने किसानहरु  फ्याक्ट्री, उद्योगहरूमा काम गर्ने मजदुर भए । अब उद्योगपति र मजदुर भन्ने नयाँ आर्थिक-सामाजिक संबन्ध सुरु भयो । यहीँबाट पुँजीवाद सुरु भएको हो । यो ऐतिहासिक पृष्ठभूमि सहित बुझे पात्र पुँजीवाद, समाजवाद र साम्यवादलाई होलसेलमा बुझिन्छ । नत्र टुक्रामा बुझै टापटिपे बुझाईमा फस्न पुगिन्छ भनेर यो ऐतिहासिक कुरा पनि लेखिदिएको ।


अब भविष्यमा के होला त?
म बेलायत, अमेरिका, सिंगापुर घुमेकोछु र हेरेको-देखेकोछु । त्याहाँ पुँजीवाद छ तर पुँजीवादकै गर्भबाट विस्तारै समाजवाद जन्मिरहेछ । कसरी? कसरी भने – यी मुलुकहरूमा अहिले नै पढाई, उपचार निशुल्क छ । पढिसकेपछि काम सरकारले (Job center बाट) खोजिदिन्छ, काम नपाए सम्म बेरोजगारी भत्ता दिन्छ, बृद्धावस्थामा वृद्ध भत्ता दिन्छ । वृद्धहरु बस्ने एक तल्ले घरहरु बनाईदिन्छ, वृद्धाश्रममा बस्छु भन्नेलाई बृद्धाश्रम पनि सरकारले बनाईदिएकोछ, म बाच्न चाहन्न मर्छु भन्नेलाई स्विट्जरलेण्ड र नेदरलेण्द्स (२ देशमा मात्र) आफैले सुई लगाएर आफुलाई मार्ने सुई समेत उपलब्ध गराएर मर्ने अधिकार दिएकोछ । यसरी पुँजीवादी मुलुकहरूमा विस्तारै समाजवादी चरित्र विकसित हुँदै गएको देखिन्छ ।


तेस्तै, चीन अहिले समाजवादको एउटा आफ्नै स्वरुप विकास गरेर अघि बढिरहेछ । जस्तैः चीनमा कुनै पनि (स्वदेशी विदेशी) कम्पनी, फ्याक्ट्री या उद्योग (लगानी कर्ताले) खोल्न परे नीजि क्षेत्र एक्लैले खोल्न पाउँदैन । त्यहाँ सरकारको पनि हिस्सा हुनै पर्छ । यसले गर्दा नीजि लगानीकर्ताले अमेरिका र यूरोपमा जस्तो मनपरी गर्न नपाउँने गरी ठाउँको ठाउँमा सरकारको प्रतिनिधीले चेक गरिदिन्छ । यही मोडल अहिले मलेशियाले पनि थालेकोछ । आदि ।


नेपालमा? नेपालमा सहकारी सँस्थाहरू समाजवादी अर्थतन्त्रिन्मुख नमुना हुन् । जसको मुल नारा नै “सबैले लगानी गर्ने र सबेले फायदा लिने” हुन्छ । सामन्तवाद र पुँजीवादमा यस्तो हुँदैन । अहिले पैसाको सहकारी, तरकारीको सहकारी, स्वास्थ्य सहकारी, सिँचाई सहकारी, सामुदायिक वन, सामुदायिक रेडियो, जलविद्युत आयोजनामा स्थानीयलाई पनि शेयर अनिवार्य दिनै पर्ने, बैँकहरूले कम्तीमा ५% ग्रामिण क्षेत्रमा लगानी गर्नै पर्ने, बैँकहरूमा सबैले शेयर (त्यहीँ काम गर्ने सेक्यरिटी गार्डहरूले समेत) किन्न पाउँने, नेपाल टेलिकमले स्टाफलाई पनि शेयर दिएको, कृषि विकास बैँकले किसानहरुलाई शेयर दिएको, बृद्ध(थोरै भएपनि)भत्ता, (नमुनकै रुपमा मात्र भए पनि) केही औषधी सहित निशुल्क स्वस्थ्य सेवा, १२ क्लास सम्म शिक्षा निशुल्क, किसानहरुको खेतीको ईन्सयोरेन्स, किसानका गाई-भैँसीहरूको ईन्स्योरेन्स, आदि पनि समाजवादतिर उन्मुख कार्यक्रमहरू हुन् । गरीब मुलुक र भ्रष्टाचारले गर्दा भनेजस्तो गरी चलेका छैनन् होला तर यी समाजवादका तत्वहरू नै हुन् । गज्जबको कुरा केही बर्ष देखि हिन्दी सिनेमाका हिरो हिरोइनहरू पनि समाजवाद समातेर चल्न थाले । पहिले पहिले सलमान खान लगायतका चलेका कलाकारले सिनेमा खेलेको पारिश्रमिक मात्र लिन्थे । अहिले आएर सिनेमा खेलेको पारिश्रमिक लिने र सिनेमाबाट हुने नाफाको १०-१५% दिने भए मात्र खेल्ने भन्ने सुरु भएकोछ । सुन्छु आमीर खानले त सिनेमा खेलेको पैसा नलिने तर सिनेमाले कमाएको ५०% आफुलाई दिने भए मात्र खेल्छु भनेर भर्खरै एउटा सिनेमा प्रोड्युसरसँग कुरा गरे’रे । अर्थात, सिनेमा बनाउँदा ५० करोड खर्च गरेकोछ भने सिनेमा खेले बापत कलाकारहरूलाई थप ४०-५० करोड दिन्छन् । तर सिनेमाले ३०० करोड कमाउँछ भने १०० करोड लगानि गरेर २०० करोड त चोक्खो कमाउँने भयो । यो त शोषण हो भन्ने तर्क गरेर अब सिनेमा खेलेको पैसा नलिने नाफाको ५०% लिने भए मात्र सिनेमा खेल्ने भए रे भन्ने सुनियो । हो होइन आफ्नो ठाउँमा छ । तर पुँजीवादले भयंकर शोषण गर्छ तेसैले अहिले सन्सारभरका २५०० जना धनीहरूको हातमा सन्सार भरिको सम्पतीको ८५% कब्जामा छ । यो त सरासर अन्याय भइरहेकोछ । मानिस खान नपाएर औषधि नपाएर मरिरहेछन् मुट्ठीभर मानिसले सारा स्रोत र सम्पती थुपारेर राखेकाछन् । यो सम्पति थोरैले थुपारेर राख्न नपाउँने र शोषण गर्न नपाउँने प्रणाली समाजवादमा मात्र संभव छ । साम्यवाद त अलि पछि आउला जहाँ व्यक्तीगत सम्पती नै हुँदैन तर चाहिएको सबथोक पाइन्छ ।


अहिलेलाई यी आधारभूत कुरा बुझे पुग्छ । थप पढदै जानु पर्छ र बुझ्दै जानु पर्छ । पढेन भने बुझिन्न । चीनका कन्फ्युसियसले आफ्ना छोरा केइयेलाई सिकाएको एउटा घटना छ ।
कन्फयुसियस – एइ केइये, यहाँ आइज !
केइये (बाको नजिक आएर उभिन्छ)
कन्फयुसियस – उ त्यो पर्खालको भित्तमा उभएर भित्तालाई हेर !
केइये (बाले भने जस्तै उभिन्छ र भित्तालाई हर्छ)
कन्फयुसियस – केही दुन्दर कुरा देख्छस्?
केइये – देख्दिन ।
कन्फयुसियस – हो, किताब पढेनभने यस्तै हुन्छ । केही पनि देखिँदैन ।