(मेरी छोरी अदिती बेलायत पढ्न गई । केन्ट विश्वविद्यालयमा पढाई सुरु
भयो । केही दिनपछि यहाँका मानिसहरू किन बेग्लै किसिमका छन्? भनेर सोधी । पुँजीवादले गर्दा उनको व्यवहार नै फरक भएको कुरा बुझाउँन पुँजीवादका
केही कुरा समझाएर छोरीलाई सन् २०११ को अन्ततिर
लेखेको लामो ईमेलमा केही थपघट गरेको लेख यहाँ आर्काइभ गरेको।)
पुँजीवादः सम्पती बनाउँने
(उत्पादनको) साधन (जस्तैः मेशिन, फ्याक्ट्री, गाडी, हवाइजहाज, दोकानहरू, होटल, आदि
इत्यादि सबै) धनी वा सम्पतीवालाले आफ्नो नीजि(बैँकको रीण समेत लिएर)पैसा लगानी
गरेर सन्चान गर्ने, उत्पादन गरिएको माल (जस्तैः चाउचाउ, बिस्कुट, औषधी,
कृषि-सामग्री, ट्याक्टर, गाडी, हातहतियार, हवाइ
जहाज, आदि जे जे उत्पादन हुन्छ)को दाम पनि आफैले तोक्ने र बजारमा विक्री-वितरण पनि
आफैले गरेर (सक्दो) नाफा-पैसा कमाउँने । जसलाई Free market पनि भनिन्छ । यो यस्तो आर्थिक प्रणाली हो जसमा
सरकारले ऐन-नियम-कानुन बनाउँने, कानुन र नियम बमोजिम भए-नभएको अनुगमन-जाँच गर्ने र
कसैले गलत गरेकोछ भने सजाय गर्छ नत्र पुरै अर्थतन्त्रलाई नीजि क्षेत्रका व्यापारी,
लगानी कर्ता वा धनी मानिसहरूले नै चलाएर बेस्सरी फायद कमाउँने गर्छन् । जस्तैः
अमेरिका, बेलायत, जापान, सिंगापुर, यूरोपका मुलुकहरूमा यही व्यवस्था छ । अर्थात, “नाफाको
निम्ती काम गर्ने” प्रणाली हो - पुँजीवाद !
तर, पुँजीवादमा (ट्याक्स संकलन गरेर) सरकारले जनतालाई सक्षम गराउँने र
जनताको भलो हुने कामहरू गर्छ । जस्तैः १) निशुल्क स्कूल-कलेज सन्चालन गरेको हुन्छ
। पढाइ सकिएपछि काम दिने कर्तव्य सरकारको हुन्छ र काम गर्न थालेपछि नागरिकले
ट्याक्स अनिवार्य तिर्नु पर्छ; २) स्वास्थ्य सेवा पनि सबैलाई निशुल्क हुन्छ; ३)
खान पुग्ने गरी बेरोजगारीलाई भत्ता, बृद्ध भत्ता हुन्छ । यसलाई नै सामाजिक सुरक्षा
(Social security) भनिन्छ । जनताको निम्ती
सार्वजनिक ठुल्ठुला रोडहरू, एयरपोर्टहरू, ठाउँठाउँमा टोइलेट, खानेपानी, बिजुलीको
व्यवस्था, गार्डेनहरू, राष्ट्रिय निकुन्जहरू सरकारले विकास गरिदिन्छ । तेस्तै अन्य
मुलुकहरूसँग आफ्नो मुलुकको उत्पादन बेच्ने र अन्य मुलुकले उत्पादन गरेका आफुलाई
चाहिने सामानहरू खरीद-विक्री बारे सम्झौता गरेर वैदेशिक व्यापार बढाउँने । आफ्नो
मुलुकको सुरक्षाको निम्ती अन्य मुलुकहरूसँग शान्ति-मैत्री सम्झौता गर्ने, आदि । अर्थात, पुँजी नागरिकले कमाउँछ तर सरकारले व्यवस्थापकको काम गरेर जनताकै पैसा (ट्याक्स) लिएर जनताको निम्ती सेवा-सुबिधाहरू व्यवस्थित र सन्चालन गरिदिन्छ ।
समाजवादः यस प्रणालीमा सार्वजनिक सम्पती (जस्तैः जग्गाजमीन, खोला-नाला, हिमाल, जंगल, खानी, आदि) र उत्पादनका साधनहरू (जस्तैः केही उत्पादन गर्ने फ्याक्ट्रीहरू, गाडी कंपनीहरू, हवाइजहाज कम्पनीहरू, ठुल्ठुला दोकानहरू, होटलहरू, खेतीपातीका जमीनहरू आदि इत्यादि सबै) धेरै जसो सरकारी हुन्छ । जनताले ती उत्पादनका साधन (फ्याक्ट्रीहरू, गाडी कंपनीहरू, हवाइजहाज कम्पनीहरू, ठुल्ठुला दोकानहरू, होटलहरू, खेतीपातीका जमीनहरूमा) काम गर्छन् र काम-रोजगारी गरे बापत ज्याला पाउँछन् ।
सरकारले निशुल्क स्कूल-कलेज सन्चालन गरेको हुन्छ । पढाइ सकिएपछि काम दिने कर्तव्य सरकारको हुन्छ र काम गर्न थालेपछि नागरिकले ट्याक्स अनिवार्य तिर्नु पर्छ । स्वास्थ्य सेवा पनि सबैलाई निशुल्क हुन्छ । खान पुग्ने गरी बेरोजगारीलाई भत्ता, बृद्ध भत्ता हुन्छ । यसलाई नै सामाजिक सुरक्षा (Social security) भनिन्छ । अहिले यूरोप, यूके र उत्तर अमेरिकाका धेरै मुलुकहरूमा जनताको निम्ती सार्वजनिक ठुल्ठुला रोडहरू, एयरपोर्टहरू, ठाउँठाउँमा टोइलेट, खानेपानी, बिजुलीको व्यवस्था, गार्डेनहरू, राष्ट्रिय निकुन्जहरू सरकारले विकास गरिदिन्छ । आदि ।
समाजवाद पुँजीवादपछि आउँने सामाजिक अवस्था हो । तेसैले पुँजीवादी देशहरूमा समाजवादले दिने सुविधाहरु दिन सुरु गरिएको हुन्छ भनेर भनिन्छ । यूरोप, यूके र उत्तर अमेरिकाका धेरै मुलुकहरूमा, चीन, जापान, सिंगापुर जस्ता मुलुकहरूमा “समाजवाद” भनि या नभनिकनै विस्तारै समाजवाद आउँदै गईरहेकोछ । समाजवाद पुँजीवाद पछि आउँनै पर्ने स्वाभाविक सामाजिक विकासको चरण हो । यसलाई कसैले रोक्छु भनेर रोक्न मिल्दैन । किनभने जनता अशिक्षित हुँदा पो टाठाबाठाले ठगी खाने! जनता गरीव हुँदा पो महाजनहरूले-उद्योगपतिहरूले गरीबलाई चुसी खाने तर सतप्रतिशत जनता शिक्षित भएपछि कसले कसलाई ठग्ने वा चुस्ने आँट गर्ला? सबैले सबैको अधिकार थाहा पाएपछि कसले कसलाई हेप्ने? कसैलाई शोषण गर्नु वा हेप्नु कानुन विरुद्ध हुन्छ र दण्डनीय हुन्छ । सरकारले कारबाही गर्छ ।
कम्युनिज्मः यस प्रणालीमा समुदायहरू नै हरेक सम्पतीका साझा मालिक हुन्छन् भनेर परिकल्पना गरिएकोछ । अहिले सम्म सन्सारमा कुनै मुलुकमा पनि यो आएको छैन । यो कल्पित समाज (Utopia) मात्र हो । तथापि अवधारणात्मक सिनारियो के हो भने सम्पती कुनै धनी मानिस वा नीजि कम्पनीको हुँदैन बरु सबै समुदाय(जनता)को हुन्छ । यो प्रणालीमा हरेक मानिसको श्रम मात्र आफ्नो नीजि हुन्छ बाँकी सम्पती सबै समुदाय(जनता)को हुन्छ जहाँ हरेक व्यक्तीको निम्ती कामको ग्यारेण्टी गरिन्छ । त्यसैले लोभ गर्ने, सम्पती थुपार्ने कुरा कम भएर जान्छ । सबै १००% शिक्षित, १००% सबैले काम गर्ने र ज्याला पाउँने हुन्छ, काम नगर्नेले नपाउँने हुन्छ, बेरोजगारले भत्ता पाउँछ, रोगीले स्वास्थ्य सेवा पाउँछ, वृद्धले निशुल्क रेखदेख पाउँछ, १००%ले आफ्नो र अरु सबैको अधिकारको सम्मान गर्न जनेको हुन्छ भनेर एउटा सुन्दर तथा समतामूलक समाजको कल्पना गरिएको छ ।
ऐतिहासिक रुपमा हेर्ने हो भने –
१)
सबैभन्दा पहिले मानिस जंगली अवस्थामा थियो ।
त्यतिखेर प्राकृतिक आपतविपतबाट र जन्तुजनावरबाट कसरी जोगिने? भन्ने नै ठूलो समस्या
थियो । खानाको समस्या थिएन किनभने मानिस कम तर जंगलमा फलफुल प्रसस्त हुन्थे तेसैले
खान पुग्थ्यो । खेतीपाती गर्न सिकिसकेको थिएन । जग्गाजमीन कसैको थिएन बरु सबैको थियो
। यसैलाई प्राचीन साम्यवाद भनिएकोछ । तेतिखेर जवान र राम्री केटीलाई हासिल गर्न
पुरुषहरूको वीचमा प्रतिस्पर्धा, झगडा र मारामार हुने गर्दथ्यो ।
जुन बलियो पुरुषले अरु कमजोर धेरैलाई जित्न सक्यो उसैले सबैभन्दा राम्रीलाई
स्वस्नी बनाउँने । रामायणमा बलिया रामले धनुष भाँचेर बल देखाएपछि सीतासँग बिहे गरेको पनि यसैको पछिल्लो स्वरुप हुनु पर्छ । यसैलाई डार्विनले Natural selection भने । यो भनेको राम्रो (बलियो) वीउको छनौट हो ।
हामी अहिले पनि मकै, धान, आलु, सिमीको राम्रो वीउ खोज्छौँ किन? किनभने राम्रो फल
लागोस भनेर । बलियो केटा र राम्री केटीको संसर्गबाट पनि बलियो र स्वस्थ्य बच्चा
जन्मिने र मानव जातिको जात अझ उन्नत हुने भयो । तेसैले सबैलाई जित्नेलाई छानेर
केटीले बिहे गर्नु भनेको उन्नत बीउ छान्नु हो जुन समाजमा अहिले पनि चलेकै चलन हो ।
अहिले पनि केटीहरूले अरुभन्दा हेन्डसम, अग्लो, वुद्धिमान, निरोगी, धेरै कमाउँने,सक्षम छान्छन्
किन? किनभने सन्तान राम्रो जन्मियोस भन्ने अचेतन मनले नै यस्तो गराएर । यही हो डार्विनको Natural selection । यही राम्रो वीउ छान्ने स्वाभाविक छनौटको विधी
चलेकोले नै मानिस जाति अनेक किसिमका संकटहरूबाट पनि जोगिँदै र अनेकौँ किसिमका
अवस्थामासमेत आफुलाई (रक्त समुहहरू समेत नयाँ नयाँ उजागर गरेर समेत) बाँच्न योग्य बनाउँदै अहिले सम्म आईरहेको हो । नत्र कैयौँ
प्राणीहरू बाँच्न नसकेर बिलाएर गए तर मानिस जाति बाँचेर आयो । यसैलाई डार्विनले Survival of the fittest (जस्तोसुकै अवस्थामा पनि
बाँच्न योग्य मात्र बाँच्छ, अयोग्य त बिलाएर जान्छ) भने । अहिले पनि जो बलियो छ उ नै Survive गर्न सक्छ, दुर्वल त छेउ लाग्दै जान्छ भनिन्छ । कतिसम्म भने यौन सम्बन्ध पछि लाखौँ सुक्रकिटहरू निस्कन्छन् र जो सबैभन्दा सक्षम हुन्छ उसैले सबैभन्दा पहिले महिलाले उत्पादन गरेको अण्डमा प्रवेश गरेर मानिस बन्छ भनिन्छ । यही हो Survival of the fittest. कतिपयले यसैलाई उदाहरन दिएर समाजमा बलियोले अरुलाई पाखा लगाएरै शासन गर्ने हो भनेर समेत Interpretation गर्छन् । उनको तर्क - सरकारमा पुग्न योग्यहरू पुग्ने हो र जो पुग्यो उनैले शासन गर्ने हो अरु त शासित हुने हो समेत भन्छन् ।
२)
मानिसले जब खेतीपाती गर्न थाल्यो तब टाठाबाठाहरू
जग्गाजमीनको मालिक भए । सोझाहरू दाश भए । दाशहरू मालिककोमा काम गर्थे । एउटा
मालिककोमा सैयौँ दाश हुन्थे । यसलाई दाश युग भनिन्छ । दाश भनेको मानिस होइन
मालिकको सम्पती सरह मानिन्थ्यो । त्यसैले दाशको छोरी वा बुहारी समेतलाई मालिकले
भोग गर्न पाउँथ्यो । ३०-४० वर्ष अघि सम्म नेपालको मधेशतिर कतिपय ठाउँमा गरीबले
बिहे गरेर ल्याउँदा श्रीमतीलाई पहिलो रात जमिन्दारसँग सुत्न पठाउँने चलन थियो । यो
दाश युगको अवशेष हो । अहिले पनि तामाङहरुलाई तोकेरे नेपाली सेनाका पीपाको दर्जामा नियुक्त
गर्ने गरिन्छ । यो पनि दाश युगको अवशेष हो । गर्खाली सेनाहरुले बृटिश सेनामा
‘गोर्खा मेजर’भन्दा माथिल्लो दर्जा (योग्य भएपनि) पाउँदैनन् । योभन्दा माथिल्लो
दर्जाहरू “गोरा”को निम्ती मात्र भनेर कानुन बनाएकाछन् । यो आधुनिक किसिमको दाश
प्रथा नै हो । नेपालका पार्टीहरूले कुनै परियोजना सन्चालन गरे (प्राविधीक रुपमा नजान्ने
नै भए पनि) पार्टीकै एउटा मानिसलाई नै टीम लीडर बनाइन्छ । यो पनि दाश प्रथाको अत्याधुनिक
अवशेष हो । मलेशियामा नेपालका थुप्रै मजदुरी गर्न गएकाछन् । मलेशिया सरकारले नीति नै बनाएर मलेसियनहरूलाई चाहीँ Middle and high level management को निम्ती तालिम दिएर भएपनि राख्ने र गरीब मुलुकहरूबाट सस्तोमा मजदुर ल्याउँने गरेकोछ । यो पनि एकप्रकारको दाश प्रथाको अवशेष हो ।
३)
दाशहरूका (दाशका श्रीमतीहरुलाई पेट बोकाएर
जन्मेका समेत) सन्तान-दर-सन्तानले दाश प्रथाको विरोध गरे । धेरै पटक विद्रोह भयो ।
परिणमास्वरुप, दाशहरूले आफ्नै खेतीपाती गरेर आफ्नै घरमा स्वतन्त्र रुपमा बस्न
पाउँने भयो । तर पनि धेरै खेतबारी त मालिकहरूसँगै थिए । केही समय अघि थारु कमैयाहरूलाई मुक्त गर्दा जस्तै फरक घरमा बसेपनि
काम गर्न त्यही धेरै जग्जा-जमीन हुने धनी मानिसको खेतबारीमै काम गर्न पर्ने अवस्था
आयो । यो युग सामन्ती युग हो । अर्थात, दाशहरु किसान र मालिकहरू
जमिन्दारमा परिणत भए । जमिन्दारले धेरै किसानहरूलाई खन्ने-जोत्ने लगायत खेतीपातीका काम गराएर थोरै
ज्याला दिएर सम्पती थुपार्ने चलन नै सामन्तवादी चलन हो ।
४)
धेरै पछि यूरोपमा प्रविधीको विकास भयो ।
कलकारखान खुले । त्यसपछि जमिन्दारहरूले लगानी गरेर फ्याक्ट्री, उद्योग खोले भने
किसानहरु फ्याक्ट्री, उद्योगहरूमा काम गर्ने मजदुर भए । अब उद्योगपति र मजदुर भन्ने नयाँ आर्थिक-सामाजिक संबन्ध सुरु भयो
। यहीँबाट पुँजीवाद सुरु भएको हो । यो ऐतिहासिक पृष्ठभूमि सहित बुझे पात्र
पुँजीवाद, समाजवाद र साम्यवादलाई होलसेलमा बुझिन्छ । नत्र टुक्रामा बुझै टापटिपे
बुझाईमा फस्न पुगिन्छ भनेर यो ऐतिहासिक कुरा पनि लेखिदिएको ।
अब भविष्यमा के होला त?
म बेलायत, अमेरिका, सिंगापुर घुमेकोछु र हेरेको-देखेकोछु । त्याहाँ
पुँजीवाद छ तर पुँजीवादकै गर्भबाट विस्तारै समाजवाद जन्मिरहेछ । कसरी? कसरी भने –
यी मुलुकहरूमा अहिले नै पढाई, उपचार निशुल्क छ । पढिसकेपछि काम सरकारले (Job center बाट) खोजिदिन्छ, काम नपाए सम्म बेरोजगारी भत्ता
दिन्छ, बृद्धावस्थामा वृद्ध भत्ता दिन्छ । वृद्धहरु बस्ने एक तल्ले घरहरु
बनाईदिन्छ, वृद्धाश्रममा बस्छु भन्नेलाई बृद्धाश्रम पनि सरकारले बनाईदिएकोछ, म बाच्न
चाहन्न मर्छु भन्नेलाई स्विट्जरलेण्ड र नेदरलेण्द्स (२ देशमा मात्र) आफैले सुई लगाएर
आफुलाई मार्ने सुई समेत उपलब्ध गराएर मर्ने अधिकार दिएकोछ । यसरी पुँजीवादी
मुलुकहरूमा विस्तारै समाजवादी चरित्र विकसित हुँदै गएको देखिन्छ ।
तेस्तै, चीन अहिले समाजवादको एउटा आफ्नै स्वरुप विकास गरेर अघि बढिरहेछ । जस्तैः चीनमा कुनै पनि (स्वदेशी विदेशी) कम्पनी, फ्याक्ट्री या उद्योग (लगानी कर्ताले) खोल्न परे नीजि क्षेत्र एक्लैले खोल्न पाउँदैन । त्यहाँ सरकारको पनि हिस्सा हुनै पर्छ । यसले गर्दा नीजि लगानीकर्ताले अमेरिका र यूरोपमा जस्तो मनपरी गर्न नपाउँने गरी ठाउँको ठाउँमा सरकारको प्रतिनिधीले चेक गरिदिन्छ । यही मोडल अहिले मलेशियाले पनि थालेकोछ । आदि ।
नेपालमा? नेपालमा सहकारी सँस्थाहरू समाजवादी अर्थतन्त्रिन्मुख नमुना हुन् । जसको मुल नारा नै “सबैले लगानी गर्ने र सबेले फायदा लिने” हुन्छ । सामन्तवाद र पुँजीवादमा यस्तो हुँदैन । अहिले पैसाको सहकारी, तरकारीको सहकारी, स्वास्थ्य सहकारी, सिँचाई सहकारी, सामुदायिक वन, सामुदायिक रेडियो, जलविद्युत आयोजनामा स्थानीयलाई पनि शेयर अनिवार्य दिनै पर्ने, बैँकहरूले कम्तीमा ५% ग्रामिण क्षेत्रमा लगानी गर्नै पर्ने, बैँकहरूमा सबैले शेयर (त्यहीँ काम गर्ने सेक्यरिटी गार्डहरूले समेत) किन्न पाउँने, नेपाल टेलिकमले स्टाफलाई पनि शेयर दिएको, कृषि विकास बैँकले किसानहरुलाई शेयर दिएको, बृद्ध(थोरै भएपनि)भत्ता, (नमुनकै रुपमा मात्र भए पनि) केही औषधी सहित निशुल्क स्वस्थ्य सेवा, १२ क्लास सम्म शिक्षा निशुल्क, किसानहरुको खेतीको ईन्सयोरेन्स, किसानका गाई-भैँसीहरूको ईन्स्योरेन्स, आदि पनि समाजवादतिर उन्मुख कार्यक्रमहरू हुन् । गरीब मुलुक र भ्रष्टाचारले गर्दा भनेजस्तो गरी चलेका छैनन् होला तर यी समाजवादका तत्वहरू नै हुन् । गज्जबको कुरा केही बर्ष देखि हिन्दी सिनेमाका हिरो हिरोइनहरू पनि समाजवाद समातेर चल्न थाले । पहिले पहिले सलमान खान लगायतका चलेका कलाकारले सिनेमा खेलेको पारिश्रमिक मात्र लिन्थे । अहिले आएर सिनेमा खेलेको पारिश्रमिक लिने र सिनेमाबाट हुने नाफाको १०-१५% दिने भए मात्र खेल्ने भन्ने सुरु भएकोछ । सुन्छु आमीर खानले त सिनेमा खेलेको पैसा नलिने तर सिनेमाले कमाएको ५०% आफुलाई दिने भए मात्र खेल्छु भनेर भर्खरै एउटा सिनेमा प्रोड्युसरसँग कुरा गरे’रे । अर्थात, सिनेमा बनाउँदा ५० करोड खर्च गरेकोछ भने सिनेमा खेले बापत कलाकारहरूलाई थप ४०-५० करोड दिन्छन् । तर सिनेमाले ३०० करोड कमाउँछ भने १०० करोड लगानि गरेर २०० करोड त चोक्खो कमाउँने भयो । यो त शोषण हो भन्ने तर्क गरेर अब सिनेमा खेलेको पैसा नलिने नाफाको ५०% लिने भए मात्र सिनेमा खेल्ने भए रे भन्ने सुनियो । हो होइन आफ्नो ठाउँमा छ । तर पुँजीवादले भयंकर शोषण गर्छ तेसैले अहिले सन्सारभरका २५०० जना धनीहरूको हातमा सन्सार भरिको सम्पतीको ८५% कब्जामा छ । यो त सरासर अन्याय भइरहेकोछ । मानिस खान नपाएर औषधि नपाएर मरिरहेछन् मुट्ठीभर मानिसले सारा स्रोत र सम्पती थुपारेर राखेकाछन् । यो सम्पति थोरैले थुपारेर राख्न नपाउँने र शोषण गर्न नपाउँने प्रणाली समाजवादमा मात्र संभव छ । साम्यवाद त अलि पछि आउला जहाँ व्यक्तीगत सम्पती नै हुँदैन तर चाहिएको सबथोक पाइन्छ ।
अहिलेलाई यी आधारभूत कुरा बुझे पुग्छ । थप पढदै जानु पर्छ र बुझ्दै जानु पर्छ । पढेन भने बुझिन्न । चीनका कन्फ्युसियसले आफ्ना छोरा केइयेलाई सिकाएको एउटा घटना छ ।
कन्फयुसियस – एइ केइये,
यहाँ आइज !
केइये (बाको नजिक आएर
उभिन्छ)
कन्फयुसियस – उ त्यो
पर्खालको भित्तमा उभएर भित्तालाई हेर !
केइये (बाले भने जस्तै
उभिन्छ र भित्तालाई हर्छ)
कन्फयुसियस – केही दुन्दर
कुरा देख्छस्?
केइये – देख्दिन ।
कन्फयुसियस – हो, किताब
पढेनभने यस्तै हुन्छ । केही पनि देखिँदैन ।
ramro lagyo dai hajur ko bichar.
ReplyDeleteज्ञानबर्दक लेख दाइ । धन्यवाद ।
ReplyDelete