Wednesday, July 27, 2016

अन्तर-साँस्कृतिक समवेदनशीलता कसरी विकास गर्न सकिन्छ? (विक्रम सुब्बा)


उठानः फरक-फरक साँस्कृतिक विराशद (Cultural baggage)  भए का मानिस/समाजहरु मुलुक, जिल्ला वा गाउँघरमा थिए, छन् र पछि पनि रहनेछन् । किनभने हाम्रा पूर्खाहरूले वाँच्न (for survival) र समाज सन्चालन (Management) को निम्ती सँस्कृति विकास गरेर ल्याएक हुन् र जुनसुकै समाज पनि यही सामाजिक संविधान र पछि आएर सरकारी संविधान-ऐन-कानुन समेतबाट नै समाज-राज्यहरू व्यवस्थित हुँदै आएकछन् । संसार, जीवन, समाज र चालचलनलाई हेर्ने दृष्टिकोण सँस्कृति अनुसार फरक हुन्छन् । यसैले अहंकार (पहिचान) दिन्छ । तेसै अनुरुप अनुरुप आहार, विहार र प्रत्याहार पनि फरक हुन्छन् । दृष्टिकोणहरु फरक भएपछि समाजहरू फरक-फरक अडानमा अड्छन् जसले गर्दा प्राय द्वन्द पनि हुने गर्दछन् । तर, द्वन्द गर्दागर्दै पनि विगत तथा वर्तमानमा मानिस र समाजहरू मिलेर बसेका थिए र छन् । अर्थात समय-समयमा द्वन्द-मिलान-द्वन्द भन्ने कुरा समाजको गतिशीलता (Dynamics) को अंग नै हो । ‘द्वन्दको स्थितीबाट मिलेर बस्न सक्ने स्थिती’ कसरी सृजना हुन्छ? द्वन्दको अवस्थाबाट कुन कुन चरणहरू पार गर्दै मानिस मिलेर बस्ने स्थितीमा पुग्छ?’ यसका बारेमा (अन्तर-साँस्कृतिक सञ्चार, समाजशास्त्र र सामाजिक भाषाविज्ञान विज्ञ) डा. मिल्टन जे. बेन्नेटले “अन्तर-साँस्कृतिक समवेदनशीलताको विकासः एक मोडल (Developmental Model of Intercultural Sensitivity)  विकास गरेकाछन् । यो मोडल एक मापक (Measurement continuum) हो जसले साँस्कृतिक विविधता बारे मानिसमा कसरी चेतना (Awareness) बढछ र, साँस्कृतिक बिभिन्नता भएका मानिसहरूले कसरी मिलेर बस्ने अवस्थाको सृजना गर्न सक्छन्न्? भन्ने कुराको लेखाजोखा-नापजोख गर्न सघाउँछ ।

(क) ‘म र मेरो मुल्य-मान्यता मात्र ठीक अरु सबै बेठीक’ ठान्ने चरण (Ethnocentric stage):
कुनै पनि मानिस आफ्नै सँस्कृतिको चस्माले यो दुनियाँ, जीवन र समाजलाई हेर्छ । किनभने, जन्मेदेखि नै उसले कुनै एउटा परिवार र समाजद्वारा साँस्कृतिक तालिम पाउँन थाल्छ । र, करिब ९ वर्षको उमेर पुग्दा नपुग्दा उसले आफ्नो विश्व-दृष्टिकोण निर्माण गरिसक्छ । अर्थात, उसको  साँस्कृतिक चस्माले हेर्दा “म र मेरो मुल्य-मान्यता मात्र ठीक अरु सबै बेठीक” भन्ने देख्न थाल्छ । जसलाई Ethnocentric चरण भनिन्छ । यस चरणका पनि तीन शुक्ष्म उप-चरणहरु छन् । जस्तैः

क१। ‘निषेध’को चरण (Denial): यो चरणमा मानिसले ‘मानवहरूमा भिन्नता नै छैन’; ‘भिन्नता छ भन्ने कुरा म मान्दै मान्दिन’; ‘सबैको हात, खुट्टा, नाक, मुख, कान, पेट, भोक छ खोइ कहाँ छ भिन्नता?; भनेर अडान लिन्छ । मानिस-मानिसमा, समाजहरूमा, सँस्कृतिहरूमा फरक छ भन्ने आधारभूत (Fundamental) कुरालाई ठाडै निषेध (Deny) गर्छ ।

क२। प्रतिरक्षाको चरण (Defense): देश-दुनिया भोग्दै-बुझ्दै-देख्दै छलफल-तर्कवितर्क गरेर सिक्दै सँश्लेषण गरेर यो चरणमा पुगेका मानिसले ‘मानिसहरुमा’, ‘समाज, समुदाय र समुहहरूमा’ फरक रहेछ भन्ने महसुस त गर्दछ तर ‘तिनीहरू तेस्ता’; ‘हामी भनेका ती भन्दा उत्कृष्ठ’ भनि अन्य समाज वा समुहलाई हेय दृष्टिले हेर्छ । अरु जातकालाई हियाएर बोल्ने, हेला गर्ने, उडाउँने, खिसी-ट्युरी गर्ने, असहिस्णु हुने, सम्मान-आदर नगर्ने तर आफुलाई तर आफ्नो सँस्कृतिलाई अरु सबैले ‘आदर-सम्मान गर्नु पर्छ’ भनि अपेक्षा गर्ने, सेवा-ढोग खोज्ने, आफू उच्चो र अरुलाई सबै जातका मानिसलाई हीन प्राणी ठान्ने हुन्छ । यसै चरणका पुग्दै गरेका वा पुगेर अड्किएर रहेका मानिस खाँट्टी यथास्थितिवादी हुन्छन् । परिवर्तन गरे ‘खाइपाइ आएको गुम्छ’ भनि ठान्छन् । तर अचम्म के छ भने यस चरणका मानिस विदेशी सँस्कृती र भेषभुषा-शैलीलाई ‘आधुनिक’ (Modern) ठान्ने र “पुजै” गर्ने, विदेशतिर घुम्ने मौका पाए समाजमा अरुलेभन्दा आफु सफल भएको ठान्ने, छोराछोरी विदेश बस्छन् भन्दा गर्वले छाती फुलाउँने हुन्छन् । आफ्नो संस्कृतिलाइ महान ठान्ने तर अर्काको धर्म-सँस्कृतिले बनेको मुलकमा ‘हेला’ सहँदै बस्न परके आफ्ना सन्तान प्रति “गौरव”? यही हो दहीच्यूरे (Hippocratic) सँस्कार ।

क३। न्यूनिकरणको चरण (Minimization): अध्ययन, भनुभव, देखि-घुमी (Exposure), आदिले गर्दा जुन मानिसले हरेक समाज-समुदायका ‘सँस्कार-सँस्कृतीहरू फरक रहेछन्, मानिसका बाँच्ने शैली, बोल्ने भाषा र व्याकरण समेत फरक रहेछन्, सन्सारलाई र जीवनलाई हेर्ने र बुझ्ने दृष्टिकोण फरक हुँदा रहेछन् र यो स्वाभाविक कुरा रहेछ’, आदि भनेर बुझ्दछ अनि उसमा रहेको “मानिसमा फरक छैन” भन्ने उग्र विचार घट्दै जान्छ । यसै बेला उसले ‘मैले आफुभित्र ठूलो परिवर्तन थालेँ’, ‘अब म आफु मात्र ठीक भन्ने जडसुत्रवादी मानिस (Ethnocentric) रहिन’ भनेर दंग पर्दछ । यस किसिमका मानिसहरू अर्को सँस्कृतिक समुदायमा पसेर उनको निम्ती काम गरेको देखाएर दुबैतिरको लड्डु मुठ्याउँने चरित्रका हुन्छन् । तथापी, ‘म मात्र ठीक’ भन्ने अडानलाई भत्काएर यो अलि अघि बढेको केही प्रगतीशील स्थिति पक्कै हो । यस चरणको मानिस ‘दुइजिब्रे’ हुन्छन् ।

ख। ‘ठीक र बेठीक भन्ने कुरा सापेक्ष हुन्छ’ भनेर स्वीकार गर्ने चरण( Ethno-relative stage):  
मानिसले विस्तारै “म मात्र ठीक” भन्ने अडानबाट “ठीक वा बेठीक भन्ने कुरा सापेक्ष हुन्छ” भन्न थाल्छ । अर्थात, ‘मेरो मुल्य र मान्यता मेरो साँस्कृतिक र सामाजिक सन्दर्भमा ठीक हुन्छ तर अर्को साँस्कृतिक र सामाजिक सन्दर्भमा बेठिक हुन सक्छ । अर्कको साँस्कृतिक मुल्य र मान्यता उनका साँस्कृतिक तथा सामाजिक सन्दर्भमा ठीक होलान् तर मेरो साँस्कृतिक र सामाजिक सन्दर्भमा ठीक नहुन सक्छन्’ भनि महसुस गर्ने अवस्था हो यो । यसका पनि तीन सुक्ष्म उप-चरण हुन्छन् । जस्तैः

ख४। बिभिन्नता स्वीकार्य (Acceptance): आफ्नै सँस्कृति समेत अनेक सुक्ष्म दृष्टकोणहरूले बनेको कुरा मानिसले बिस्तारै बुझ्दछ । निरन्तर विविध सँस्कृतिहरूसँग उठ-बस-व्यबहार गर्छ । हरेक समाजले आ-आफ्नै किसिमले आफ्नो सभ्यतालाई व्यवस्थापन गर्दै, अस्तित्व जोगाउँदै, एक-अर्कासित सहमत नभए पनि सह-अस्तित्वमा बाँचेकोछ, ‘मानिस-मानिसमा फरक छन्’, ‘सँस्कृतीहरू फरक छन्’, ‘मानिसका सोचाइहरू फरक छन्’ भन्ने कुरा यो चरणमा स्वीकार्य हुनथाल्छ । यस चरणको प्रमुख विशेषताका रुपमा ‘एकार्का प्रति सदासयता’ वा ‘एकार्काबाट सिक्ने प्रयास’ जस्ता प्रकृयाहरू घनिभूत रुपमा हुन थाल्छन् । विस्तारै आपसमा सदभाव विकास हुने आधार तैयार हुन थाल्छ ।

ख५। समायोजन (Adaptation): यो चरणमा मानिसले आफ्नो भाषा बाहेक अन्य भाषा पनि आदरपूर्वक सिक्छन्-बोल्छन् । आफ्नो बाहेक स्थानीय सँस्कृति पनि पनाउँछन्, एकार्काको सँस्कृतिप्रति सम्मान गर्छन् । जस्तो – काठमाण्डु-भक्तपुर उपत्यकामा गैर-नेवारहरू (राजवंशी, झा, आदि) पनि नेवार भाषा बोल्छन्, नेवार सँस्कृती मान्छन्, नेवारी गीत-भजनै गाएर रमाउँछन्, नेवारी साहित्य लेख्छन्-पढ्छन् । साँस्कृतिक समायोजनको यो उदाहरण हो ।

ख६। सम्मिलन (Integration): यो चरणमा, मानिसको शारिरिक संरचना, केही आफ्नो साँस्कृतिक ‘पन’ आदि कायमै राखेर अर्को छुट्टै सँस्कृतिक विशेषता अंगालेर विकसित (Improvised) रुपमा सम्मिलित हुन्छ ।  जस्तैः अमेरिकी राष्ट्रपति बाराक ओबामा, काला जातिको मुसलमान सँस्कृतिक पूर्खाका सन्तान हुन् । तर उनको वर्तमान रहन्सहनमा शारिरिक संरचना, साँस्कृतिक आफ्नोपन कायम राखेपनि अब उनी आफ्नो पुरानै सँस्कृतीमा ढलोट मानिस रहेनन् । अर्थात, हरेक सँस्कृतिहरूले एकापसलाई प्रभवित गर्दै नयाँ स्तरमा आफ्ना सँस्कृतिहरूको विकास गर्न मद्दत गर्दछन् । अर्को एक सुक्ष्म उदाहरण – भनिन्छ ‘६० नाँघेपछि श्रीमान श्रीमतीको अनुहार पनि उस्तै-उस्तै हुन्छ ।‘ अर्थात, सुरु सुरुमा श्रीमान श्रीमती भिन्न परिवार, समुदाय र सँस्कृतीमा फरक फरक दृष्टिकोणका साथ हुर्केका हुन सक्छन् । पहिचान फरक फरक हुन्छ । बानी बेहोरा र रुची फरक हुन्छ । तर विवाहपछि, दिन-रात सँगै रहँदैबस्दै जाँदा एकले अर्कालाई प्रभावित गर्दै जान्छन् र धेरैदिन पछि स्वाभाब, खानापीनको रुची, बोल्ने तौरतरिका, सन्सारलाई हेर्ने र विश्लेषण गर्ने दृष्टिकोणमा धेरै हदसम्म समानता आउँन थाल्छ । अनि उनीहरू कुनै पनि कुराका बारेमा बोल्दा समान दृष्टिकोण पेश गर्ने, उस्तै उस्तै खाना खाने र दैनिक दिनचर्या उस्तै हुँदा ‘अनुहार’ पनि कता कता उस्तै हुन थाल्छ । यो उदाहरण सम्मिलनको बेजोड उदाहरण हो ।

साँस्कृतिक संवेदनशीलता विकास गर्ने रणनीति (Evolutionary Strategy)?:
कुनै पनि बहु-साँस्कृतिक, बहु-भाषिक, बहु-धार्मिक समाजका मानिसहरूले युगयुगदेखि विविधतामा पनि मिलेर बस्नका खातिर निम्नानुसार रुपान्तरणका रणनैतिक तौरतरिका अपनाउँदै आएको देखिन्छ ‍--

१। निषेध (Denial) बाट प्रतिरक्षा (Defense)मा रुपान्तरण:- मानिस सुरुमा Denial stage मा हुन्छ । तर साँस्कृतिक विविधताबारे जानकारी पाउँदै गएपछि ‘फरक त रहेछ तर मेरो सँस्कृति चाहीँ ठीक छ, अरुको ठीक छैन’ भनेर सोच्दछ । यो भनेको मानिसहरूमा केही फरक छैन भन्ने अवस्थाबाट अघि बढे पनि ‘अरु बेठिक म-हामी ठीक’ भनेर आफ्नो सँस्कृतीको प्रतिरक्षा गर्ने अवस्था हो । यस्तो अवस्थामा भएको व्यक्ती वा समुदायहरूलाई साँस्कृतिक फरकपनाहरूका बारेमा अनुशिक्षण दिन सके उनीहरूमा रुपान्तरणको प्रकृया अझ सभ्य-सन्तुलित हुँदै जान्छ । जस्तैः विविध सँस्कृतीहरूले युक्त समाजका बारेमा साँस्कृतिक जानिफकार (Local culture experts) हरूबाट सँस्कृतिका विविध पक्ष बारे प्रवचन र छलफल चलाएर आपसी साँस्कृतिक विशेषताका बारेमा सुन्ने-जान्ने-बुझ्ने-सिक्ने काम गर्ने गराउँने, आदि । जसले धारणामा रुपान्तरको काम गर्न सघाउँदछ ।

२। प्रतिरक्षा (Defense)बाट न्यूनिकरण (Minimization)मा रुपान्तरण:- जब मानिस Defense को अवस्थाबाट Minimization तिर अग्रसर हुन्छ त्यतिबेला मानिसको नकारात्मक धारणागत ध्रूवीकृत अडानको ध्वस्तता (Depolarized) हुन थाल्छ र साँस्कृतिक समानताहरू देख्न थाल्छ । उसले आफ्नो मात्र साँस्कृतिक महानता (Cultural supremacy) बारे घमण्ड नगरेर अरुका सँस्कृतिका महत्वका बारेमा पनि बोल्न थाल्छ । सबै साँस्कृतिक सम्पदाहरू हाम्रा सम्पती हुन भन्न थाल्छ । यस्तो अवस्थामा पनि अनुशिक्षण दिनु पर्दछ । जस्तैः मानिसको सृष्टि कसरी भयो? मानिसहरूमा बिभिन्न नस्लहरू कसरी जन्मे? हामी कसरी बिभिन्न जात र रंगमा परिणत भयौँ? मानिसका फरक फरक जातका विच के के समानता र भिन्ताहरू रहेका छन्? फरक-फरक सँस्कृती कसरी विकासित भए? भन्ने बारे प्रवचन-अनुशिक्षण गर्नु पर्दछ ।

३। न्युनिकरण (Minimization) बाट स्वीकार्यता (Acceptance)मा रुपान्तरण:- मानिसले जब आफुलाई Acceptance तिर अग्रसर गराउँन थाल्छ त्यतिबेला उसले अरुका साँस्कृतिक विसेषताहरूलाई सजिलै स्वीकार गर्न थाल्छ । जस्तैः अर्को समुदायका पनि देवी देउताको पुजा गर्ने, भोज भतेरमा सामेल भएक अरु जातका मानिसको सँस्कृति अनुसारका खाना खाने, आदि । मुम्बइमा सलमान खान (मुसलमानले) गणेश (गणपती बाब्बा)को पुजा गरेको देखिन्छ ।  यो बेलामा मानिसलाई अझ धेरै तालिम-अनुशिक्षण दिएर प्रोत्साहित गर्नु पर्दछ । जस्तैः बिभिन्न जातका मानिसको के के साँस्कृतिक विशेषताहरू समाज सन्चालनका निम्ती उपयोगी देखिन्छन् र सो कुरा सबैले कसरी सिक्न सकिन्छ? आदि ।

४। स्वीकार्यता (Acceptance) बाट समायोजन (Adaptation)मा रुपान्तरण:- मानिसले आफुबाहेकको समाजका सँस्कृतिक गहिराईहरूको खोज-तलास (Research/Study) गर्न र बुझ्न थाल्दछ । यसरी खोज-तलास गरेपछि उसले ‘हरेक समुदायको सँस्कृति आ-आफ्नो विकास चरणको चुलीमा यहाँ सम्म आई पुगेका रहेछन्, कुनै सँस्कृति पछि परेको वा कुनै सँस्कृति सुसँस्कृत (Refined) हुने होइन रहेछन्, कुनै समाज राम्रो/असल वा कुनै समाज नराम्रो होइन रहेछन् । बरु, फरक-फरक किसमको सँस्कृति अपनाउँनु भनेको फरक-फरक भौगोलिक तथा वातावरणीय परिस्थितीमा बाँच्न अपनाइएका तरिका (Survival strategies) रहेछन्’ भनेर बुझ्दछ । यस किसिमको बुझाइले एकापसी साँस्कृतिक समझदारी (Understanding) बढ्छ । परिणाम स्वरुप एकापसमा साँस्कृतिक सदभाव पनि बढ्छ । जसले गर्दा एकापसका साँस्कृतिक तत्वहरु लेनदेन सुरु हुन थाल्छ । जस्तैः ताप्लेजुङ फुलबारीका प्रसाइँ(कुमाई)हरूले लिम्बु समाजको पुजनिय युमा (बोजु) देवीलाई ‘बुढी-बोजु’ भनी आफ्नो घरभित्र प्रतिस्थापित गरेर पुजा गरेको पाईएकोछ । तेस्तै, काठमाण्डुका धेरै गैर-नेवारहरूले नेवारी देवी देउताको पुजा गरेको देखिन्छ । यो भनेको स्वीकार्यताबाट अझ अघि बढेर समायोजन (Adaptation) तिर रुपान्तरण भएको अवस्था हो । यो प्रकृयालाई बिभिन्न सँस्कृतिका युवा-युवतीको वैबाहिक सम्बन्धले पनि नजिक ल्याउँने काम गर्दछ ।

५। समायोजन (Adaptation) बाट सम्मिलन (Integration)मा रुपान्तरण:- यो प्रकृयामा मानिस आफ्नो बाहेकको सँस्कृतिप्रति संवेदनशील हुन्छ, अर्काको सँस्कृतीलाई आदर गर्छ तथा समानुभूति (Empathy)को विकास गर्दछ । यो रुपान्तरणको सर्बोच्च चरणगत रुप हो । जस्तैः नेपालमा हिन्दु मन्दिरहरूमा वौद्ध र वौद्ध चैत्यहरूसँगै हिन्दु देवीका थान हामी देख्छौँ । हिन्दुले वौद्ध स्तुपामा मजाले ढोगेको र वौद्धले पनि हिन्दु देवी देउतालाई ढुक्कै स्रद्धापूर्वक ढोगेको देख्छौँ । यसरी नेपालमा एक किसमले हिन्दु र वौद्ध साँस्कृतिक एकिकरण हुन थालेकोछ र यो प्रकृया नेवारी समाजमा व्यापक देखिन्छ । किनभने आफुलाई वुद्ध मार्गी भन्ने नेवारले हिन्दु देवी-देउता र परम्परा समेत मजाले अपनाएको यहिँ देखिन्छ । यो किन र कसरी भयो भनेर हेर्ने हो भने आपसी लामो सँसर्ग र अन्तरकृया, छलफल, विचार आदान-प्रदानले आपस्तको बुझाइ (Understanding) बढाएरै भएको हो । यसो हुनुमा शिक्षा, अर्थिक अवस्थामा सुधार, बिभिन्न दुनिया-सन्सार देख्नु-घुम्नु (Exposure), शहरीकरण, नयाँ नयाँ प्रविधीहरूको प्रयोग आदिले भूमिका खेलेको देखिन्छ ।

निचोड मानिस कुनै न कुनै एक परिवारमा र समाजमा जन्मिन बाध्य छ । यसमा उसको र कसैको पनि रोजाई या नियन्त्रण चल्दैन । आफु जन्मेको परिवार र आफ्नो नजिकै (Proximity) को सामाजिक साँस्कृतिक मुल्य-मान्यताले उसलाई तालिम (Mental programming) दिन्छ । त्यसै अनुरुप उसको विश्व-दृष्टिकोण, जीवन दृष्टिकोण बन्छ । उसको निम्ती त्यही दृष्टिकोण वास्तविकता (Psychological र धेरै हद सम्म Existential reality समेत) हुन्छ । त्यसैलाई उसले अरुका सँस्कृतिक मुल्य-मान्यताका तुलनामा उत्कृष्ठ ठान्छ । यो Ethnocentric stage हो र यो स्वभाविक हो । तर जब मानिसले अन्य साँस्कृतीका मानिसहरूसँग पनि उठ-बस, कारोबार गर्न थाल्छ त्यस बखत अन्य सँस्कृतीका मुल्य-मान्यताबाट सृजीत व्यबहारहरू (Behaviors) सामना गर्नु पर्दछ । यसबेला दुबै पक्षले आपसका सँस्कृतिमा निहित मुल्य-मान्यताहरूलाई आदर गरे मात्र दुबैले मिलेर बस्ने वातावरण बन्छ भन्ने बुझ्दै जान्छ । यसरी सुरुको Ethnocentric मानिसलाई (सरकारी स्तरबाटै प्रयास गरे झन तीब्र रुपले) विस्तारै Ethno relative stage तिर जान्छ र सह-अस्तित्वको शान्तिपूर्ण समाज कायम हुन सक्छ । सह-अस्तित्व र शान्तिपूर्ण समाज चाहना हो भने, यो केही नगरी त हासिल हुन्न, त्यसका निम्ती सचेतनतापूर्वक (तालिम, स्कुल-कलेज शिक्षा, राष्ट्रिय र स्थानीय स्तरमा सेमिनार-गोष्ठी, पत्रपत्रिकमा र पुस्तक लेखन, आदि मार्फत) काम गर्नु पर्दछ ।


नोटः मानव स्वाभावको एउटा पक्ष Idiosyncratic पनि हुन्छ ।  जसको सोचाईमा ‘मेरो धार्मिक-सामाजिक सोचाई वा विश्व दृष्टिकोण समग्रमा (Broadly) ठीक, त्यसमा पनि मेरो गाउँकाले गरेको व्याख्या ठीक, अझ मेरो जातकाले गरेको व्याख्या ठीक, अझ मेरो परिवारकाले गरेको व्याख्या ठीक र गाँठी कुरा गर्ने हो भने मैले भनेको मात्र ठीक’ भन्ने हुन्छ । यही Idiosyncratic सोचाइले गर्दा नै नेपालका पार्टीहरू मिलेर काम गर्न सक्दैनन् । किनभने त्यहाँ पनि ‘मेरो पार्टीको सोच समग्रमा (Broadly) ठीक, त्यसमा पनि मेरो गुटले गरेको व्याख्या ठीक, अझ मेरो (जस्तैः कोइराला) परिवारकाले  गरेको व्याख्या ठीक र गाँठी कुरा गर्ने हो भने मैले (म गिरीजा प्रसाद कोइरालाले) भनेको मात्र ठीक’ भन्ने सोचाई जुनसुकै पार्टीका व्याक्तीहरूमा व्याप्त पाइन्छ । यही Idiosyncratic syndromeले गर्दा नेपालका राजनीतिमा लाग्नेले विशाल मन, फराकिलो छाती लिएर काम गर्नेभन्दा संकुचित घेराको निम्ती मात्र सोच्ने प्रवृत्ति व्याप्त भएको हो र प्रकारान्तरले यस किसिमको सोचाई (Attitude) ले समाजका कतिपय साझा सवालमा समेत मत (जस्तैः नेपालका पार्टीहरूको “नेपालको राष्ट्रियता” बारे सोच) भिन्नता सृजना हुनेभयो । यस किसिमको आधारभूत कुरामा समेत मत नमिलेपछि मानिसलाई (जुटाउँनेभन्दा) फुटाउँने काम गर्नु पार्टीहरूको ToR हुनेभयो । पार्टीको जुन सदश्यले जनता, समुदायलाई जति धेरै फुटाउँन सक्यो पार्टीमा उति नै धेरै ‘राम्रो’ मुल्यांकन हुने भयो, मर्यादा बढ्ने भयो र पुरस्कृत हुने भयो । यसरी मुलुकमा जनता, समुदायहरूलाई जुटाउँने भन्दा फुटाउँने (समाजिक अपराधी) काम गर्ने सँस्थाका रुपमा सैयौँ पार्टीहरू चुनाव आयोगमा दर्ता भएर वार्षिक बजेट समेत लिएर, लाखौँ सदश्य बनाएर सकृय हुने भएपछि कसरी “नेपाली एक” हुने?

No comments:

Post a Comment