Friday, March 20, 2020

तीनै सभ्यताको अन्तर्घुलन आवश्यक’ शनिबार, १५ पुष २०७४, ०७ : १८ | नागरिक

कवि विक्रम सुब्बाका शान्तिको खोजमा (खण्डकाव्य), कविको आँखा कविताको भाका (कवितासंग्रह), सगरमाथा नांगै देखिन्छ (कवितासंग्रह), सुम्निमा पारुहाङ (मुन्धुम काव्य), कन्साइस लिम्बू ग्रामर एन्ड डिक्स्नरी लगायत कृति प्रकाशित छन् भने आज शनिबार राजधानीमा उनको कविता संग्रह ‘रोज्जा कविता’ विमोचन हुँदै छ । कविताबारे विक्रम सुब्बालाई केही प्रश्न ।
तपाईंको परिभाषामा कविता के हो ?
मानवले आफ्नो मनको कुरा सुनाउने माध्यम इसारा, हाउ–भाउ अर्थात् बडी ल्यांग्वेज र ‘भाषा’ हुन् । श्रोता समेतको चित्त हर्ने किसिमले मनको कुरालाई मिलाएर मीठो किसिमले भन्नु, सुनाउनु कविता गर्नु हो । अर्थात् भाषा ‘दूध’ हो भने कविता तर हो, जुन थोरै भएर पनि सुस्वादु हुन्छ । तथापि, भातकै सट्टा धेरै पनि खाइन्न ।
तपाईं कविता किन लेख्नुहुन्छ ?
मभित्र मेरा पिता–पूर्खा र अझ आमाको डिएनएबाट सर्दै आएको गुणहरू– दया, माया, करुणा, मुदिता तथा प्रेम भावना छन्, तिनै मानवीय विशेष गुण सम्प्रेषण गर्न कविता लेख्छु । 
मभित्र मेरो जन्म–थलो र मेरो मुलुकको आदर तथा देशभक्ति छ, त्यही जमिन तथा मुलुकको प्रशंसामा कविता लेख्छु । 
यो ब्रह्माण्ड, संसार, धर्ती, पृथ्वी, जीवन–जगत् कहाँबाट आयो, जीवन केही दिन घामछाया जस्तो रहेर अनेक इष्र्या, डाह, खुसी र दुःख झेल्छ तर फेरि कसरी, किन शून्यमा बिलाउँछ ? भनेजस्ता जिज्ञासा मभित्र अनेक छन् । केही बुझेँ–बुझेँ जस्तो लाग्छ तर करोडौँ कुरा बुझ्नै कठिन छन्, तिनै जिज्ञासाहरू आफ्नै र अन्य सन्धाताका दिमागमा झट्का हान्न कविता लेख्छु ।  
अन्य विधा र कवितामा के फरक छ ?
अन्य सबै विधा उसिनेका मासु हुन् । तिनमा कवितात्मक हरफ सामेल भएपछि मात्र स्वादिलो कवाफ बन्छ । जस्तै ः देवकोटाका निबन्धबाट र नारायणगोपालका गीतबाट कवितात्मक हरफ निकालेर फाल्ने हो भने ती कस्ता बेस्वादिला खत्तम झम्पाट–झुर होलान्, सोच्नोस् त ?
 कवितामा विचार र भावनाको भूमिका के कति हुन्छ ?
‘विचार’ कविताको प्राण हो । प्राण भौतिक रूपमा आँखाले देखिन्न तर ७५ ट्रिलियन सूक्ष्म कोषहरूमा त्यो निहित हुन्छ । प्राण नभएका अंगहरू त कुहिएर झर्छन् । भावनाभित्रका अनेक तह–पक्षमध्ये ‘चित्त’ सबैभन्दा महत्वपूर्ण हो, जुन कसैबाट प्रभावित नहुने तथा सम्यक्–सङलो हुन्छ ।
कविताको जन्म यही चित्तमा हुन्छ । त्यस्तै, कविता (पाठकले) ग्रहण गर्ने पनि यही चित्तले हो । चित्त बुझेपछि कविता लेखिन्छ । पढ्दा चित्त बुझेपछि कविताले पाठकको मनमा दमदार छाप छोड्छ । चित्तलाई कविताको शैलीले ध्यान आकर्षण गर्ने मात्र हो, तर निहित ‘विचार’ले मानिसभित्रको परिवर्तनको प्रक्रियामा योगदान गर्छ । प्रकारान्तरले पाठकभित्रको परिवर्तन या क्रान्तिका निम्ति कविताले ‘होस्टेमा हैँसे’ गर्छ ।
विचारविना कविता बन्छ कि बन्दैन ?
‘विचारविना’ पनि कविता बन्छ या विचारविना कविता बन्दैन भन्ने पनि विचारै हुन् । विचारविनाको मानिस हुँदैन, कसैले बाहिर निकाल्ला, कसैले भित्रै राख्ला, यति मात्र फरक हो । ठीक त्यस्तै विचारविनाको कविता पनि बन्दैन भन्ने मेरो धारणा हो । किनभने, भनिन्छ हरेक मानिसको दिमागमा दैनिक ६० हजार विचार आउँछन्–जान्छन् र तिनै विचारमध्ये मन परेका विचारलाई नै कविता या निबन्ध या लेख या रचनाका रूपमा अक्षरहरूको माध्यमले समातेर राख्ने हो ।
अहिले नेपाली कविता कुन अवस्थामा छ ?
नेपाली कविता भन्नु नेपाली समाजको मनोसामाजिक अवस्थाका आधारमा निर्माण हुने कलात्मक सिर्जना हो । नेपाली समाज अहिले डरलाग्दो किसिमले अलमल तथा दोधारमा छ । कविताहरू पनि त्यसकै प्रकटीकरण हुने नै भए । तथापि, मुलुकको यस अवस्थालाई चिर्न नेपाली कविता तीक्ष्ण किसिमले आलोचक हुँदै पुरानो भत्काएर नयाँ सिर्जना गर्ने ‘निषेधको–निषेध’ विज्ञान तथा अणु–परमाणु तहको मन–चित्तको युद्ध मोर्चामा डटेको छ ।
नेपाली कवितामाथि कस्तो बहस हुन आवश्यक छ ?
नेपाली कविताको अनुहार नेपाली राष्ट्रिय पहिचानमा आधारित हुन्छ, नेपालमा हुनुपर्ने पहिलो र आधारभूत बहसको विषय यही हो । राष्ट्रिय पहिचानविनाको मुलुक हुँदैन । यो मुलुकलाई स्थापना गर्ने आधारभूत तीन संस्थापक सभ्यताहरू र तिनमा निहित मूल्य–मान्यतागत महत्व नै (मैले बुझेको) नेपालको राष्ट्रिय पहिचान हो । 
क) किरात सभ्यता र मुन्धुममा निहित प्रकृतिपूजक मान्यता । 
ख) सनातनी सभ्यतामा निहित ‘काम’, ‘अर्थ’, ‘धर्म’ र ‘मोक्ष’ तथा ‘वसुधैव कुटुम्बकम (संसार नै मेरो परिवार)’ ठान्ने मान्यता प्रणाली ।
 ग) बौद्ध सभ्यताको मूल सिद्धान्त– चार आर्य सत्य तथा आर्य अष्टांगी मार्ग ।
यी तीन सभ्यताका मूल्य र मान्यताको अन्तर्घुलनबाट नेपालको राष्ट्रिय पहिचान बन्छ । यस सैद्धान्तिक पक्षमा सहमत भएपछि हरेक कुरा सोहीमुताबिक हेर्न, सोच्न, बोल्न वा लेख्न थालिन्छ । यसपछि कुनै एउटा सभ्यताको मूल्य–मान्यतालाई मात्र नेपालको राष्ट्रिय पहिचान भन्ने गलत सोचाइ अमान्य हुन्छ ।
खासमा, यिनै रैथाने विविध नेपाली मूल्य–मान्यतावाला तीन सभ्यताका जातजाति र संस्कृतिप्रति आपसी आदर–सम्मानले अहिलेसम्म सहअस्तित्वमा रहँदै–बस्दै आएका ‘नेपाली’ भनिने मानव समूह हौँ, हामी । यिनै आपसी सम्मानको आधारमा कविता लेखियो भने बिछट्टका नेपाली कविता बन्छन्, बनिरहेका छन्, जुन दुनियाँ–संसारमै नयाँ स्वादका छन्, बन्नेछन् । जसलाई संसारले समेत स–सम्मान स्वाद लिनेछ, कसैले अपहेलना गर्न सक्ने कुरै भएन । किनभने, यस्ता कविता नेपाली धर्तीको सुगन्धले भरिएका विशेष कविता हुन्छन्, जुन अरु कुनै देशको भन्दा स्वतः फरक छन्, हुनेछन् । यसबारे कविहरूले बहस–छलफल गर्नु र आफ्नो धारणालाई कञ्चन बनाउनुपर्छ ।
समाजलाई विभाजन गर्नेहरुलाई यो मुलुकको विशिष्ट विविधतालाई सम्पत्ति ठानेर जोड्ने–जोगाउने भनेर बाटो देखाउनेछन् । नत्र कविहरू सिरिफ स्रष्टा मात्र होलान् । समाजलाई बाटो देखाउने द्रष्टा हुन असफल हुनेछन् । 
बहसको अर्को विषय– नेपाली कवि र कविताको गुणवेत्ताको विकासका निम्ति कवि र कविताहरूको उपयुक्त तथा सर्वमान्य सूचक तथा आधारहरू विकास गरेर सूचकअनुसार प्राप्त अंकभारको आधारमा ‘क’, ‘ख’, ‘ग’ गरी श्रेणी तोक्ने प्रचलन थाल्न सकिन्छ (हुन त अहिले पनि वरिष्ठ कवि, समसामयिक कवि तथा युवा कवि भनेर पनि एक किसिमले अघोषित रूपमा श्रेणी छुट्याएको देखिन्छ) ।
श्रेणी छुट्याउने गरे ‘ग’ले ‘ख’ श्रेणीमा उक्लिन प्रयास गर्नेछ र ‘ख’ले ‘क’ श्रेणीमा पुग्न खोज्ने कलात्मक सिँढी चढ्ने प्रतिस्पर्धात्मक प्रणाली तयार हुनेछ । यसले गुणवेत्तायुक्त कविता लेखनको सुहाउँदिलो र स्वस्थ प्रतिस्पर्धाको लोकतान्त्रिक अखाडा तयार हुनेछ, जहाँबाट उत्कृष्ठ नेपाली कविताको सिर्जना गर्ने सिर्जनात्मक ढोका खुल्नेछ । नत्र अहिलेको धारिलो प्रतिस्पर्धाको युगमा ‘चलिहाल्छ नि’ भन्ने अगतिलो धारणाले त विशिष्टीकरणतिर छलाङ मार्न नसक्ने भुत्ते कविता मात्र नेपालमा लेखिनेछन् । 
                                                                                                                     प्रस्तुति ः ध्रुवसत्य परियार

No comments:

Post a Comment