Tuesday, March 17, 2020

भूपि शेरचनको ‘हामी’ कविता: विक्रम सुब्बाको समिक्षा (नागरिक देनिकका निम्त)


१) भूपि शेरचनलाई कसरी चिन्नुहुन्छ ?

भूपि शेरचनलाई उनका कविताहरू पढेरै ‘आहा, कवि!’का रुपमा चिनेँ । “हुदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुइ चार सपूत मरेर नगए” या “मैले पिएकोमा रिसाएका साथीहरू, पिएर त हेर, पिउन झन् गाह्रो छ; मरेर शहीद हुनेहरू,जिएर त हेर, जिउन झन् गाह्रो छ !” जस्ता उखानै बनि सकेका कवितांशहरू पढेपछि - अभिशप्त घर, असार, घुम्ने मेचमाथि अन्धो मान्छे, घण्टाघर, बेड-ल्याम्प, भूपि शेरचन, मेरो चोक, मैनबत्रीको शिखा, शीत-युध्दकालका बाँदरहरू, हल्लै हल्लाको देश, तथा हामी जस्ता उनका शसक्त कविताहरू पढेँ । र, मुलुकका मानिसहरूको भावनालाई कवितामा सर्लक्क उतार्ने एक कुसल शिल्पीका रुपमा चिनेँ भूपिलाई । नजिक संगत गर्न जुरेन, तर, अक्सिजन सिलिण्डर सहित ओछ्यानमा, मेरा एक मित्रसँग, भेट्न पुगेको थिएँ, मृत्यूसँग लडिरहेका कविसँग बसेर निकै बेर भलाकुसारी गर्दै एक महान कविको जीवनको अन्तिम अनुच्छेद पढेर फर्केपछि कोठामा म भावुक भएको थिएँ ।


२) “हामी” कविताले के भन्छ ?

भूपिका सबैभन्दा शक्तिसाली मध्येका एक “हामी” कविता हो । यो कविताले नेपालीका प्रमुख ‘हिप्पोक्रेटिक’ प्रवृत्तिलाई नांगोझार पारेर कहन्छ, तर, यसो गर्दा कविले आफुलाई समेत त्यही प्रवृत्तिले ग्रसित ‘कठै बरा विचरा भूपि शेरचन” का रुपमा सामेल गर्ने हिम्मत गरेका छन् । “हामी”मा नेपाली आनीबानी-बेहोरा-चुत्थोपन-दम्भीपना-खिच्चोपना-घटियापन सबथोक उजागर गरी डङ कि डङ लेखेको यो कविता पढ्नेहरूको सोचमा ७ रेक्टरस्केलको भुइँचाले झट्का हान्छ र जब जब यो कविताको सम्झना आउँछ पाठकको मनमा पराकम्प ल्याइरहन्छन् यी हरफहरु - “कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने; हामी रङ्ग–रोगन छुटेका,टुटेका, फुटेका पुरानो क्यारमबोर्डका गोटी हौँ, एउटा मनोरञ्जक खेलका सामग्री, एउटा खेलाडीमाथि आश्रित, आफ्नो गति हराएका, एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित; हो, हामी मानिस कम र बर्ता गोटी हौँ । हामी वीर छौँ, तर बुद्धू छौँ, हामी बुद्धूछौँ र त हामी वीर छौँ, हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौँ ।” यो कविता पढेपछि एउटा कविले समाजको कसरी बेज्जोड तथा ईमान्दार समिक्षा गर्छ भन्ने कुरा पाठकले बुझ्छ ।

अझ, यो कविताको शस्वत पक्ष - ब्रम्हाण्डमा करोडौँ ग्रहका प्रणाली, हरेक प्रणालीमा अनेक ग्यालेक्सी, ती मध्ये एउटा सानो ‘मिल्की ग्यालेक्सी’, जसका करोडौँ ग्रहमन्डलहरू छन् ‘सौर्य मण्डल’ जसको सिरिफ एउटा सानो ‘मण्डल’ हो र जसमा ९ ग्रहहरू रहेकाछन्, ती ग्रहमध्ये (ब्रह्माण्डको तुलनामा) एउटा सानो कण जत्रो ग्रह हो पृथ्वी । जहाँ अनेक देश छन् र ती स-साना देशहरू मध्ये एउटा सानो देश नेपाल हो । यो सानो देश नेपालमा अनेक सभ्यता, भाषा र संस्कृतिहरू छन् । हरेक सभ्यता र संस्कृतिका नेपालीको आफुलाई ठूलो र अरुलाई भुसुना ठान्ने हाम्रो प्रवृत्तिमा भूपि -”हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगुरौँ, जतिसुकै ठूलो स्वरमा गर्जौ तर, हामी फगत् पानीको थोपा हौँ !” भनि बम प्रहार गरेर हामी सबैलाई ‘वास्तवमा हामी फगत पानीको फोका भएको र केही समयमै प्याट्टै फुटेर सून्यमा हराईजाने अस्तित्वहीन अस्तित्व हौँ’ भन्ने यथार्थको झापटले पाखण्डी सोच भएका “हामी”लाई लोकल ‘साईज’मा ठ्याम्मै झार्छन् कविले ।


३) शिल्पको कसीमा यो कस्तो कविता हो ?

Free verse भन्ने, संभ्रान्त वर्गीय छन्दको नियम भत्काएर गद्य कविताको ‘फर्म्याट’मा कविता लेख्ने अभियान १८८० तिर फ्रान्सबाट सुरु भयो । अमेरिकी कवि वाल्ट ह्विटमन (१८१९ – १८९२) लाई अमेरिकमा गद्य कविता आन्दोलनका प्रणेता मानिन्छ । २० औँ सताव्दीको सुरुवात देखि बेलायतका अंग्रेजी कविहरूले गद्य कविता लेख्ने अभियान थालेपछि बेलायती उपनिवेशहरूमा पनि अंग्रेजी भाषाका कविता पढ्ने कविहरूका वीच गद्य कविताको आन्दोलन फैलियो । यसरी गद्य फर्म्याटमा कविता लेखनको आन्दोलन बेलायती साम्राज्यवादसँगै भारतीय महाद्वीपमा समेत फैलियो । नेपाली कविताको ईतिहासमा (माइकल हट) कवितामा छन्दवध्द लेखनलाई बहिस्कार गरेर गद्य कविता लेख्ने पहिलो शसक्त क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल (१९१८-१९७३) हुन् । अंग्रेजी कविताको Free verse लेखन भारतमा आएर गद्य कविताको रुपमा आन्दोलन चल्यो र भारतबाटै प्रजातन्त्रको निम्ती ‘क्रान्ति’ वनारस, कलकत्ता र दार्जिलिङ हुँदै नेपाल पस्दा ‘गद्य कविता’ पनि नेपाल छिर्‍यो । गद्य कविताको ‘फर्म्याट’को प्रयोगमा (रिमाल पछि) अर्का एक सगरमाथा भूपि शेरचन पनि हुन् ।

शिल्पको दृष्टिले नेपाली गद्य कविताहरू बूढा-पाकाले लोक तथा तिलस्मी कथा सुनाउँने ‘मीथ’को शैलीलाई रिमालले सर्लक्कै समातेर क्रान्तिको ‘सन्देश’ दिए भने भूपि शेरचानले जनजिब्रोले बातमार्दा बोल्ने भाषा-शैलीलाई ठ्याक्कै समाते । तेस्तै, अर्का कवि वैरागी काइँलाले वौद्धिकता तथा हिन्दु, पाश्वात्य र लिम्बू मीथहरू टिपेर वुद्धिमा आक्रमण गर्ने ‘न्यू टेष्ट इन टाउन’को रुपमा ‘फ्यूजन’ शैली आविस्कार गरे । कविले गर्ने मौलिक अन्वेषण नै शैली हो । नेपाली गद्य कवितामा रिमाल, भूपि र काइँलाका शैलीहरूको खुँखार उपस्थिती र माधव घिमिरेको पद्य कविताको बेज्जोड स्मारकलाई उछिन्ने पछिल्ला कविहरूबाट नयाँ शैली वैषिस्ट्यताको आविस्कार हुन सकेको छैन । नेपाली कविता शैलीको ‘ल्याण्डस्केप’को मानचित्र खोलेर हेर्दा भूपि आफ्नै कसिमले ‘जनबोली’ या ‘जनजिब्रो’ या ‘बोलिचाली’या रैथाने “झर्रा झ्याउरे’ शब्दहरू टिपेर बोलिचालिकै ‘टाइप’का वाक्य गठन गरेर हरफ हरफमा ‘रिदमिक’ कविता सृजना शैली भूपिको मौलिक अन्वेशण हो । जनजीवनमा जनजनको सामुदायिक द्रष्टा बनेर सार्वजनिक विसंगतीहरू देख्ने सुक्ष्म आँखा समेत पाठकलाई दिने काम भूपिले गरेको प्रमाण “हामी” कविता हो । यो कविता पढ्नु अघि पाठक एक अलग्गै व्यक्ति हुन्छ तर “हामी” कविता पढ्दै जाँदा भूपिको आँखाले देखेकै ‘हिप्पोक्रेटिक’ समाज पाठकले पनि देख्छ । रिमाल, काईँला र घिमिरेका कविता पढदा रिमालको, काइँलाको या घिमिरेको कविता पढ्दैछु भन्ने लाग्छ, र, क्या लेख्यो यार यो कविले’ भन्ने लाग्छ । तर भूपिको ‘हामी’ कविता पढ्दा सुरुदेखी नै पाठकलाई ‘मेरै कविता मै पढ्दैछु’ जस्तो महसुस हुन्छ, आफ्ना चुत्था बानी बेहोरा म आफैले बकिरहेको छु जस्तो लाग्छ । भूपिको “हामी”म निहित यही शक्तिसाली नशालु शैलीले आउँदो जुगजुग सम्म पाठकहरूलाई लट्ठ मात लाग्नेछ ।


४) समय चेतका दृष्टिले यो कस्तो कविता हो ?

भूपिको समय चेतका स्रोत - थकाली समाजको ‘वोन’ धर्म र ‘वोन’ तथा ‘बुद्ध’ मार्ग मिस्सिएको ‘टिबेटन बुध्दिज्म’ पहिलो हो भने ‘थाक खोला’को ‘ट्हू चे’ दरवार छोडेर बाहिर आएपछि भूपि साम्यवादी दर्शनबाट प्रशिक्षित भए । ‘वोन’ धर्म सन्सारकै सबैभन्दा पुरानो पारम्परिक धर्म मध्ये एक हो, जसले कठोर हिमाली मौसम र हावा पानीको नांगा पर्वतमालाका भूभाग र कष्टकर पर्यावरणीय परिवेशमा समेत जिउँन जब्बरता सिकाउँछ । वुध्द दर्शनले ‘कारण र असर (Cause and effect)’ र ‘लगानी र प्रतिफल (Means and end)’ जस्तो सर्वस्वीकार्य ‘लजिक’ मा प्रशिक्षित गरेर ‘लजिक मिल्छ भने मात्र पत्याउ’ भन्ने सिकाउँछ । भूपिको चेतको तेस्रो स्रोत द्वन्दात्मक भौतिकवाद (Dailectical mateealism) हो जुन दर्शन कार्ल मार्क्सले आडम स्मीथको ‘सरप्लस भेल्यू’लाई नै समाजको व्याप्त ‘शोषण’ हो भन्ने विश्लेषण अघि सारेर त्यसतो शिषणमा आधारित समाज व्यवस्थालाई भत्काउँने र समतामूलक समाजको निर्माण गर्ने दार्शनिक भिजन र कार्यक्रमिक दस्ताबेज “कम्निष्ट मेनिफेष्टो” लेखे । यसरी थकलाी परम्परा, वोन सभ्यता, मानव तथा अर्थ राजनैतिक दार्शनिक ‘स्कूलिङ’हरूबाट नयाँ आकार ग्रहण गरेको भूपिको वर्गीय आधारमा समाजलाई हेर्ने तथा शोषण-दमनका विरुध्द विद्रोही चेत उनका कविताहरूमा प्रष्टै झल्किएको पाइन्छ । तथपी, “हामी” कवितामा अलि भिन्न किसिमले तर सुक्ष्म समाज निरिक्षणका आधारमा बनेको कठोर यथार्थबादी तथा राष्ट्रिय समय चेत निहित रहेको छ जसले ‘सेल्फ क्रिटिकल अप्रोच’ लिन्छ । यो कविताले सकल नेपालीहरूको झूर हिप्पोक्रिटिक प्रवृत्तिहरूको आँखो देखा हाल उतारेर ‘क्वालिटेटिव डाटा बेश’ खडा गरेको छ । गजबको कुरा के छ भने नेपालीहरूको प्रवृत्ति अहिले पनि भूपिले विसं २०१७ मा संकलन गरेर ‘रुपरेखा’मा छापेको तथ्यांक “हामी” जस्तै नै छ, अझ बिग्रेको होला ।


५) “हामी” कविताको दर्शन र सन्देशको आयु कति देख्नुहुन्छ ?


“हामी” कविताले हरेक पाठकलाई ‘सेल्फ क्रिटिसिज्म’ गर्न सिकाउँछ यही हो यसको दर्शन । अरुलाई चोर औँला देखाउँने तँ चाहीँ कस्तो छस्, गमेर आफुलाई हेर’ भन्छ कविताले । आफुलाई मात्र सप्रेको देख्ने अरु सबलाई खत्तम देख्ने खोटो आँखामा टाँसिएको दृष्टिकोणले नेपाली समाज अघि बढ्दैन भन्ने पीडाले छटपटिएर मात्र यस्तो रचनाको जन्म हुन्छ । ‘किङ मेक्स नो रङ’ भन्ने सामन्ती सोचको जमाना गयो । अब त आफैले आफ्ना कमी कमजोरी खोज्ने (किन भने - ‘म कति हरामी छु भन्ने मैलाई मात्र थाहाछ’ भन्ने भनाई पनि छ) र हटाउँने काम नगरे नेपालीहरू आजको नचाहेको अवस्थाबाट चाहेको अवस्थातिर अघि बढ्दैनन् भन्ने पीरलो यो कवितामा अभिव्यक्त भएको छ । फारसी ‘मिष्टिक कवि’ तथा ‘सुफी’ र ‘गजल’का पिता मानिने जलाल अद मोहम्मद रूमी (30 Sept 1207 – 17 Dec 1273) आज ७३४ वर्ष पछि पनि अमेरिकामा समेत कविताको क्षेत्रमा टप १० बेष्ट सेलर भएर जिवित राखेको उनकै ‘मिस्टिक शैली’ले हो भने भूपि शेरचन पनि नेपाली कविता फाँटमा आफ्नो जनबोलीमा ‘सेल्फ क्रिटिकल’ शैलीको शैलीको उर्जाले हजारौँ वर्ष जिवित रहनेछन् ।

तर याद रहोस, भूपिले देखाएका कमी कमजोरी सुधार नगरे कवितामा भने जस्तै “हामी” पनि “पाइताला” मात्र बन्ने जोखिम टडकारो देखिन्छ, जसले भन्छ -

हामी पाइतला हौँ,
कैबल पाइतला
र फगत पाइतला,
पाइतला : जसको भरमा शरीर उभिन्छ
पाइतला : जसको आधारमा शरीर हिँड्छ
पाइतला : जसको भरोसामा शरीर दगुर्छ
पाइतला : तर जो भन्ठान्छ
कि शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाइई सँग–सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ
सधैँ शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधैँ–सधैँ नतमस्तक रहन्छ
हामी पाइतला हौँ
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो निधारले टीका थाप्छ
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौँ
र हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लाउने घाँटी अर्कै छ
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ
हामी त फगत कसैको इशारामा
टेक्ने, हिँड्ने र दगुर्ने पाइताला हौँ
केवल पाइताला र फगत पाइताला ।

(19 September 2019, Pokhara)

No comments:

Post a Comment