Wednesday, July 27, 2016

आर्थिक विकासका मोडेलहरू (विक्रम सुब्बा)


१। विगतः पहिले ‘विकास’ भन्ने चलन थिएन । “आधुनिकिकरण (Modernization), “पाश्चात्यिकरण” (Westernization)”  र “औद्योगिकिकरण (Industrialization)” शब्दले नयाँ ‘प्रगती-उन्नती’ भएको वा हुने बुझाउँथे । दोस्रो विश्वयुद्धपछि तेस्रो विश्वका निम्ती “आर्थिक विकास” शब्द अमेरिकाका तात्कालिन राष्ट्रपति ह्यारी ट्रुमन (कार्यकाल: 12 April 1945 - 20 January 1953) ले भाषणमा  प्रयोग गरे - ‘दुनियाका आधाभन्दा बढी मुलुकका मानिसहरू गरिवीमा बाँचिरहेकाछन् । खाना छैन, अनेक रोगले मानिस ग्रस्त छन् । उनको आर्थिक जीवन जंगली अवस्थाको जस्तो र गतिहीन रहेकोछ । तिनमा रहेको व्याप्त गरिवीले उनकै निम्ती र छिमेकी धनी मुलुकहरूको निम्ती पनि जोखिम सृजना भएकोछ । मलाई लाग्छ हामीले ती गरीव मुलुकहरूको निम्ती हामीसँग भएका ज्ञान तथा प्रविधी दिएर उनको अवस्थामा सुधार ल्याउँन सहयोग गर्नु पर्छ । म के देखिरहेकोछु भने प्रजातान्त्रिकरण गर्दै आर्थिक विकासको मुलधारमा तिनलाई ल्याउँन सकिन्छ ।‘

ट्रुमनले ‘विकास’को माध्यमले दुनियालाई (अमेरिकी किसिमको) ‘प्रजातान्त्रिकिकरण’ गर्ने नियत राखे । यो ‘कम्युनिष्ट’हरूको बढ्दै गईरहेको प्रभावलाई ध्वस्त गर्ने ‘मिसाईल-नियत’ थियो । यसपछि अनेक ‘विकासका सिद्धान्तहरू’ निस्के र सबैको ‘कम्युनिष्ट’को प्रभावलाई ध्वस्त गर्ने कार्यभार (ToR) नै थियो, तेस्रो मुलुकहरूको मायाले विकासको कुरा गरेको होइन । अब यसै अनुरुप संरचनाहरू स्थापित र कृयाशील भए । ‘व्याकप्याक’मा विकास बोकेर अमेरिकाका गल्लीहरूमा केरा बेच्ने, रक्सि बेच्ने झत्ते-झल्लु अमेरिकनहरूका निम्ती ‘विकासविज्ञ’, ‘डेभेलप्मेन्ट टुरिष्ट’ र ‘सीआईएका जासुस’ गरी ‘थ्री ईन वान’का रुपमा आकर्सक ‘रोजगारी’ खुल्यो ।  

२। नव-उदारवादः ‘नव-उदारवादी आर्थिक विकास (१९८०)’को अवधारणा आयो जसले ‘स्वतन्त्र व्यापार’को कुरा गरेर अविकसित मुलुकहरूको ‘औद्योगिकिकरण’ गर्ने विचारलाई ठ्याम्मै रोकेर, आफ्नै मुलुकमा ‘उत्पादन गर्ने’ (जसलाई “नेशनल प्रोडक्ट” भनी मेड इन अमेरिका, मेड इन जापान, जर्मन गाडी, आदि नाममा ब्रान्डिङ गरे) र अविकसित मुलुकहरूलाई निस्कृय ‘बजार’मा परिणत गरे । अब “विकास” भन्नाले - ‘उपचार, पोषण, झाडापखाला, रुघा-खोकी-निमोनिया, साक्षरता, शिक्षा, खानेपानी, केही विद्यार्थीलाई चात्रवृत्ति दिएर सीआईएको निम्ती काम गर्ने अघोषित जासुस बनाउँने जस्तोमा  केन्द्रित भयो । ठुलठुला बाटाघाटा, उध्योग-धन्दा, व्यापार-व्यवसायको कुरा गर्नु हुन्न, त्यो “सस्टेनेवल विकास” होईन भनियो । यो झेली कुरा नसुनि चीन, सिंगापुर, कोरीया, हङकङ, अर्जेन्टिना, चिली, सुडान र युगाण्डा जस्ता मुलुकहरूले “आर्थिक विकास” गरिदिए । अमेरिकी र यूरोपेलीलाई यो खपिसक्नु भएन । त्यसपछि तिनले तेस्रो मुलुकमा हुने ‘आर्थिक विकास’लाई सैद्धान्तिकिकरण (Knowledge Industry) गर्ने र सन्सारभरि ‘प्याजिङ गरेर’ बेच्ने चतुर काम आफ्नो विश्वविद्यालयका प्रोफेसरहरू र उनका दोकान-ल्याबलाई जिम्मा दिए ।

३। के हो विकास? ‘नचाहेको अवस्था’ बदलेर ‘चाहेको अवस्था’मा पुग्न लागिपर्ने गतिशील “प्रकृया” नै विकास हो । अर्थात, विकास स्थीर (Static) वा केही हासिल गरेर चुपचाप बसेको अवस्था हुँदैन । हिजोभन्दा आज र आजभन्दा भोलि हुँदै निरन्तर अघि बढने गतिशील प्रकृया हो विकास ।  “आर्थिक विकास” के हो त? – समाजको “गरिवी”, “असमानता” र “बेरोजगारी”हरू पुरै हटनु वा कम हुनु “आर्थिक विकास” हो ।

४। आर्थिक विकासका सिद्धान्तहरू - आर्थिक विकासका सिद्धान्तकारहरू तीन कुरामा सहमत छन्  – १) मुलुकका अर्थतन्त्रहरूले अनेक किसिमका बांगाटिंगा बाटो हुँदै समय लिएर विकास गर्दै जान्छन्; २) विकासका अवरोधहरू (जहाँ पनि हुन्छन्) तिनको पहिचान गरेर, तिनलाई हटाउँन सके मात्र विकास हुन्छ; र, ३) सरकारहरूले सुहाउँदिलो नीतिहरू (Conducive policy environment) बनाएर विकासलाई अघि बढ्न सहजीकरण (Facilitate) गर्न सक्छन् । हरेक समाज र मुलुकमा आफ्नो छुट्टै आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक अनुभवसहित अनेक विशेषता हुने भएकोले कुनै पनि विकासको एउटा सिद्धान्त वा मोडल जस्ताको तेस्तै थपक्कै अनुसरण गर्न कसैले पनि सक्दैन । बरु, सबै विकासका सिद्धान्त तथा मोडलका सुहाउँदिला तत्वहरू (Cascading approach) लिएर हरेकले आफ्नै “मोडल” तैयार गरेर विकास गर्दै जान्छन् ।

५। आर्थिक विकास गर्ने दुई अवधारणाहरूः १) उस्तैउस्तै “लगानी” गरेर अरु मुलुकहरूकोभन्दा “बढी उत्पादन” गर्न सके आफ्नो लागी ‘एब्सोलुट एडभान्टेज’को अवस्था सृजना हुन्छ । जस्तैः चीनले यूरोप र अमेरिकाभन्दा कम लागतमा बढी उत्पादन गरेर सस्तोमा सामान उपलब्ध गराएर अमेरिकी र यूरोपेली बजार कब्जा गरिदियो । यो चीनको निम्ती ‘एब्सोलुट एडभान्टेज’ भयो । २) उस्तैउस्तै वा अझ कम “लगानी” गरेर अरुकोभन्दा “बढी उत्पादन गर्न” जसले सक्छ उसैले कम्पेरिभ एडभान्टेज (डेविड रिकार्डो १८१७) पाउँछ । जस्तैः अहिले आएर चीनले भन्दा भारतले सस्तोमा कतिपय सामान (जस्तैः भारतमा कम्युटर ईन्जिनियरहरूलाई कम तलब दिएर सफ्टवेयर निर्मण तथा Supply गर्न सक्यो) उपलब्ध गराउँन सकेकोले चीनले भन्दा भारतले अमेरिका र यूरोपको बजारमा ‘कम्पेरटिभ एडभान्टेज’ पायो र आर्थिक वृद्धि दर बढायो ।  

६। आर्थीक विकासका केही मोडलहरू - रोस्तोभको ‘चरणगत आर्थिक विकास’को मोडलले कुनै पनि मुलुकले आफुलाई आधुनिक राष्ट्रको दिशामा विकास गर्दै जाँदा “प्राथमिक(Primary)” “द्वितीय(Secondary)” तथा “तेस्रो (Tertiary)” चरणहरू पार गर्दै अघि बढछन् भन्यो । हार्रोड-डोमारको “वचत”मा आधारित विकास मोडल अनुसार  समाजमा उच्चतम “वचत” भए उच्चतम “लगानी” हुन्छ र मुलुकमा आर्थिक विकास हुन्छ भनियो । लेविसको “दोहोरो क्षेत्र”मा आधारित विकास मोडलले मुलुकको विकासको निम्ती कुनै एउटा विषयगत क्षेत्र (Sector) मा मात्र निर्भर नभई एकभन्दा बढी क्षेत्र (Sectors)हरूमा लगानी गरेर आर्थिक विकास गर्ने कुरा गर्‍यो । लेविसले कृषिसँगै उद्योगिक क्षेत्रको पनि विकास गरे मात्र आर्थिक विकास हुन सक्छ भन्ने कुरालाई अघि सारे । आर्थिक विकासको ट्रिकल डाउन मोडल अनुसार पहिलो चरणमा धनाड्य व्यापारी-व्यवसायीहरूलाई फायदा हुने किसिमको उद्योग-धन्दाहरूलाई प्रोत्साहन गर्ने परिणाम स्वरुप गरीबले पनि ‘काम गर्ने’ मौका पाउँछन् र विस्तारै गरीबहरूको जीवनमा पनि आर्थिक उन्नती ट्रिकल डाउन (थोपाथोपा झरेर) भएर समाजमा आर्थिक विकास हुनेछ ।‘ टबिन ट्याक्स मोडलले त  आफ्नो मुलुकमा केही नगर, विदेशीले सामान विच्न ल्याउँदा बेस्सरी ट्याक्स लगाउ र आर्थिक उन्नती गर भन्यो ।

वासिंटन सहमतीमा आधारित विकास मोडल: सन् १९८९ मा अर्थशास्त्री जोन विलियम्सनले ‘आर्थिक उदारीकरणको निम्ती चाहिनेजत्ति नीतिहरू (सरकारले) बनाई देउ, आर्थिक विकास नीजि क्षेत्रका व्यवसायीले आफै गर्दै लैजान्छन्’ भन्ने थियो । जसलाई विश्व बैँक, IMF US Treasury ले सन्सारभरि फिँजाए ।  नेपालमा, यसका अघोषित लप्टन रामशरण महत भए । जसले नेपालको आर्थिक विकास चौपट पारे बापत ‘सर्वश्रेष्ठ अर्थमन्त्री’को पुरस्कार थापे । विलियम्सनको खाकामा ‘नीजिकरण’ मात्र (रामशरण महतले बुझेको) थिएन बरु १० तत्वहरू थिएः १) कडा वित्तिय अनुशासन; २) सरकारी तथा नीजि क्षेत्रको खर्च-व्यय प्रणालीको पुनःसंरचना; ३) कर प्रणालीमा व्यापक सुधार; ४) बैँकका व्याजदरहरूमा उदारता; ५) प्रतिस्पर्धात्मक मुद्रा विनिमय दर; ६) व्यापारमा उदारवाद; ७) वैदेशिक (फरेन डाइरेक्ट ईन्भेष्टमेन्ट) लगानी प्रकृयामा सहजता र उदारता; ८) उचित नीजिकरण; ९) उचित, सरकारी, नियमन तर कम नियन्त्रण; १०) सम्पतीको अधिकार, आदि । तर राम शरणले नं ८ मात्र देखे-बूझे । किनभने यसैबाट कमाई हुने देखे ।

बेजिङ सहमतीमा आधारित विकास मोडल (Beijing Consensus Model): देङ स्याओपिङ (१९७६) को नेतृत्वमा (२ दशक भित्र) चीनले ८ गुणा आर्थिक विकास गर्‍यो । जसमा “बेजिङ सहमती” नामक विकास मोडलको हात थियो ।  यसका खास तत्वहरू थिए – १) नवीन खोज गर्ने; २) गतिशील लक्ष पछ्याउँने; ३) आत्म-संकल्पका साथ लाग्ने ।

१। नवीन खोज कसरी गर्ने? चीन सरकारले जनता के चाहान्छन्? भन्ने बारे आफै विस्तृत सर्भेक्षण गरेर बनाउँनु पर्ने नवीन नीति के हुनु पर्छ र गर्नु पार्ने नवीन कार्यरअ के के हुन् भनेर पहिचान गर्ने गर्छ । जस्तैः ‘एक बच्चा नीति’ बनाउँदा विस्तृत अध्ययन गरेर बनाईएको थियो । ३। चीनले GDP को आधारमा विकासलाई नाप्ने पाश्चात्य मोडलको सट्टा ‘जीवन-स्तरमा सुधार गर्ने’ र हरेक ‘व्यक्तीले पाउँने भागको (Share) आकारमा वृद्दी’लाई जोड दियो । यसका साथै विकासले “सन्तुलन”लाई विशेष जोड दिएर ‘गाउँ तथा सहरमा सन्तुलन ल्याउँने विकास’; ‘(मुलुकका) बिभिन्न क्षेत्रहरूमा सन्तुलन कायम गर्ने विकास’; ‘मानव जीवन र प्रकृतीमा सन्तुलन कायम गर्ने विकास’; ‘आर्थीक तथा समाजिक स्वरुपमा सन्तुलन कायम गर्ने विकास’; ‘आन्तरिक (देशीय) तथा वाह्य (वैदेशिक) मुलुकसँग सन्तुलन स्थापित गर्ने विकास’, आदि । यो किसिमको विकासको अवधारणा पाश्चात्य मुलुकहरूले बुझ्न पनि सकेका छैन् । ३। तेस्रो कुरो, बेजिङ कन्फ्रेन्सले हरेक मुलुकहरूले कुनै पनि बाह्य मुलुकको दवादबाट (जस्तैः अमेरिकाको हैकम)बाट मुक्त हुँदै जानु पर्छ भन्ने अवधारणा अघि सार्‍यो । यसपछि मात्र “आत्म संकल्प”का साथ ‘आफ्नो मुलुकको विकासको योजना तर्जुमा गरेर अघि बढ्न सक्छन् भन्ने कुरा अवलम्बन गर्‍यो ।

७। रोस्तोवको विकास मोडलः धेरैले रुचाएको (WW Rostow 1960) रोस्तोवको विकास मोडलका ५ चरणहरू बारे छोटो जानकारी – १। परम्परागत चरण - समाज ज्यादै प्राथमिक चरणमा हुँदाको यो अवस्था हो । यसबेला खान पुग्नेगरी खेती गरेर फलाउँनु, बस्तुभाउ पाल्नु र आफ्नो खाध्यान्न वा पशुजन्य उत्पादनसँग अरु समान साटासाट गरेर (Barter) आफ्नो आवश्यकत पूर्ति गरिन्थ्यो । २। संक्रमणकालिन चरण – यो चरणमा केही विषयहरूमा विशेषज्ञताहरू हासिल भए, कमाईबाट केही थप बचत गर्न थालियो र केही आर्थिक विकासका (बाटो, पुल, घट्ट) पूर्वाधारहरू पनि बन्न थाले । घोडा, खच्चड, उँट, हात्तीलाई सामान बोकाएर वेचबिखन गर्न थालियो । ३। ‘टेक अफ’को चरण – यो चरणमा आएर औद्योगिक क्रान्ति भयो र उद्योगहरू खुल्न थाले, उद्योगहरूमा लगानी बढ्न थाल्यो, (एउटा मुलुक मात्र होइन) क्षेत्रीय स्तरमै व्यापार फैलिन थाल्यो जसले अनेक राजनैतिक परिवर्तन गर्न समेत वातावरण तैयार गर्‍यो । ४। परिपक्व हुने चरण – व्यापारको विविधिकरण, नयाँ नयाँ इन्नोभेशन, आयातमा कम निर्भर रहने र उद्योग-उत्पादनमा लगानी वृद्दि गर्ने अवस्था । ५। अधिकतम उपभोगमुखी चरण – उपभोग कर्तालाई मन पर्ने कुराको उत्पानमा जोड, हेर्दै मनमोहक वस्तु उत्पादनमा ध्यान, सेवा-उद्योगहरूको हैकम । मुलुकको आर्थिक विकास तेस्रो (टेक अफ) चरणमा पुगेको बेला जीडीपी १५-२०% सम्म पनि बढ्नु पर्छ । यसका साथै राष्ट्रिय वचत ५% छ भने ऋण वा सहयोग १०-१५% सम्म लिएर भएपनि ‘वचत ग्याप (Savings gap)’ हुन नदिई मुलुकको आर्थिक विकासलाई अझ जोड (Push) गर्नु पर्छ । यसपछि मात्र आर्थिक विकास चौथो चरणमा प्रवेश गरेर आर्थिक विकासला स्थीरता हासिल गरेर स्वचालित हुन थाल्नेछ ।

मलेशियका महाथीर मोहमदले यही रोस्तोवको आर्थिक विकास मोडललाई नयाँ स्वरुप दिएको देखिन्छ । जस्तैः आर्थिक विकासको ३० वर्से ‘भिजन २०२०’ लाई ४ चरणमा बिभक्त गरेर काम गरियो – (१) १९७१-१९९० - (२० वर्ष सम्म) “गरिवी निवारण” गर्ने उद्देश्यमा फोकस; (२) १९९१-२००० - “सबै विषयगत क्षेत्रहरूको संतुलित विकास” गर्ने उद्देश्यमा फोकस; (३) २००१-२०१० - “विश्वमा प्रतिस्पर्धात्मक मुलुक हुने” बन्ने उद्देश्यमा फोकस, र (४) २०११-२०२० – “विश्वको उच्च आय भएका मुलुक मध्ये एक हुने”, आदि । तेस्तै अहिले नेपालमा बाबुराम भट्टराईको केही चरणमा आर्थिक विकास गर्ने ‘हाइपोथेसिस’ पनि रोस्तोभकै मोडलको ‘बाबुरामकृत’ स्वरुप जस्तो देखिन्छ ।

नेपालमा अहिलेसम्म आर्थिक विकासको ‘वाशिंटन कन्सेन्सस’ मोडलले नै सराकारी, गैरसरकारी र नीजि क्षेत्रका दिमाग ‘ईन्डक्ट्रीनेट’ गरिएकोछ । अब नेपाली दिमागको पनि ‘पुनःसंरचना’ नगरी हुन्न । विकासका ‘दिमागी मानिस (Think tank) हरूले पनि नयाँ किसिमले विकासका योजना तर्जुमा गर्ने पद्दतीहरू अपनाउँनै पर्छ । नेपालका हरेक प्रान्तले आफ्ना विशेषता मुताबिक आ-आफ्नै किसिमको आर्थिक विकास गर्ने मोडल अपनाउँन सक्नु पर्छ । हरेक नगरपालिका, गाउँपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र, र संरक्षित क्षेत्रहरूले पनि आ-आफ्नै विशेषता अनुसार सुहाउँदिलो किसिमको (Micro level development) आर्थिक विकासको मोडल अपनाउँनु पर्छ । यसो नहुने र एउटै आर्थिक विकासको मोडल सबैलाई लाद्ने हो भने यो त “एकात्मक” चिन्तनको फ्रेममा “संघीयता”लाई जबरजस्ती कैद गरेको हुनेछ । अब सोचाईमा समेत “पुनःसंरचना” भनेको त हरेक प्रान्त र स्थानीय निकायहरूलाई उनकै विशिष्टता अनुसार आफ्नो आर्थिक विकासको मोडल छान्ने ‘आत्मनिर्णयको अधिकार’ दिनु हो । ‘राज्यको पुनःसंरचना’ भन्ने कुरा गर्ने ‘दिमागको पुनःसंरचना’ नगर्ने कुरा त फाल्तु जोकरको गफ मात्र हो । जसले एकछिन हँसाउँछ होला तर समाजमा त परिवर्तन र विकास चाहिएकोछ जसको प्रस्थान बिन्दु नै दिमागको पुनःसंरचना हो ।   
-------- -------

Ref.

http://www.inquiriesjournal.com/articles/134/the-beijing-consensus-chinas-alternative-development-model

No comments:

Post a Comment