१। मूर्खलाई उपदेश
दिन थाले, एउटी दुष्ट पत्नी राखे, या कुनै पनि मानिससँग अति घनिष्ट संवन्ध राखेमा
एक विद्वान मानिस पनि कष्टहरूमा फस्नेछ ।
२। गुजाराका निम्ती
मानिसले धन संचय गर्नु पर्छ । पत्नीको सुरक्षा गर्नु परे धन-सम्पती पनि त्याग्नु
पर्छ । तर, आफ्नो मुलुककै सुरक्षाको कुरा आउँछ भने सम्पती र पत्नी समेत त्याग्नु
पर्छ ।
३। एकजना पनि
धनवान नभएको गाउँ, एक विद्वान पनि नभएको स्थान, एउटा असल राजा नभएको मुलुक, एउटा
स्वच्छ नदी नबग्ने प्रदेश, र एक चिकित्सक गरेर यी ५ कुरा नभएको ठाउँमा कसैले पनि
नबस्नु ।
४। जहाँ रोजगारी
पाइँदैन, कसैले कसैको डर मान्दैन, कोही पनि कुनै कुराको लाज मान्दैनन्, जहाँ
ज्ञानी-गुनी मानिस छैनन् र जहाँका मानिसमा परोपकारी (दान-दक्षिणा गर्ने) भावना छैन
त्यस्तो मुलुकमा वुद्धिमान मानिसले प्रवेशै गर्नु हुन्न ।
५। खाद्य पदार्थ
आफुसँग हुनु र खाना पचाउँने क्षमता पनि हुनु, आफुसँगै सुन्दर स्त्री हुनु र उसलाई
भोग्ने शक्ती पनि हुनु, धन हुनु र दान गर्ने भावना पनि हुनु जस्ता संयोग ज्यादै कम
देख्न पाईन्छ ।
६। पुत्र त्यही हो
जो पिताको कुरा मान्छ, पिता त्यही हो जसले आफ्ना वालवच्चाको राम्रो पालनपोषण गर्छ,
मित्र त्यही हो जसलाई परेको बेला विश्वास गर्न सकिन्छ र पत्नी त्यही हो जसको साथले
सँधै आनन्द दिन्छ ।
७। सन्तानलाई शिक्षा
नदिने बा-आमा सन्तानका घोर दुश्मन हुन् । अशिक्षित बालबालिकालाई सभामा त्यसरी नै
तिरस्कार गरिन्छ जसरी हाँसहरूको बथानमा पसेको बकुल्लालाई छिःछि दुर दुर गरिन्छ।
८।
केही पनि सुबिधा नभएको गाउँमा बस्नु परोस् । नीच हाकिमको मातहतमा काम गर्नु परोस्
। विषाउँने भोजन खानु परोस् । सँधै रिसाइरहने श्रीमतीसँग गुजारा गर्नु परोस् ।
मूर्ख छोरो होस् । विधवा छोरीको अभिभावक हुनु परोस् । यी सबै भएपछि जलेर मर्न
“आगो” किन पो चाहियो र?
९। जहिले सुकै घुमिरहे मानिस छिट्टै बुढो
हुन्छ । घोडालाई सँधै बाँधेर राखे छिट्टै बूढो हुन्छ । श्रीमानसँग प्रणय-पृत नगर्ने
श्रीमती छिट्टै बूढी हुन्छे । सँधै घाममा राखेको लुगा छिट्टै खुइलिन्छ ।
१०। काग पक्षीहरूमा फोहरी हुन्छ, पशुहरूमा
कुकुर नीच हुन्छ, घृणित काम गर्ने तपस्वी घिनलाग्दो हुन्छ । तर, यी सबैभन्दा
घिनलाग्दो व्यक्ती त्यो जो ‘दिनभरि अर्काको कुरा काटेर बस्छ’ ।
११। नीच व्यक्ती हो भने त्यसलाई पैसा दिएर
जित्नु । मध्यम वर्गको मानिसलाई ईज्जत बढाई दिएर जित्नु । उच्च वर्गको मानिसलाई ‘सम्मान’ गरेर जित्नु ।
१२। उखुमा फल फल्दैन । चन्दनको रुख
फुल्दैन । विद्वानसँग धन हुँदैन र राजाको आयु लामो हुँदैन ।
१३। अमृत सबैभन्दा ठूलो औषधी हो । भोक
लागेको बेला खान पाउँनु सबैभन्दा ठूलो सुख । आँखा सबैभन्दा सुन्दर ईन्द्रिय हो र
शिर सर्वश्रेष्ठ अंग हो ।
१४। उठ्ने वित्तिकै आज के के गर्ने भनेर
सोच्नोस्, हरेक दिन दिउँसो एक पटक आमालाई सम्झनोस् र राती घरमा चोर पस्ला कि? भनेर
जरुर सोच्नोस् ।
१५। जोसँग राम्रो शिक्षा हुन्छ उ गरीव
हुन्न तर जोसँग शिक्षा हुन्न उ लाख किसिमको गरिवीमा बाँचेको हुन्छ ।
१६। कुनै पनि ठाउँमा राम्रो हेरेर मात्र
टेक्नु । जहिले पनि शुद्ध-स्वच्छ पानी मात्र पिउनु । तर्कसंगत कुरा मात्र बोल्नु र
त्यही काम मात्र गर्नु जसका बारेमा विस्तृत छलफल गरेर उचित ठानिएकोछ ।
१७। जसलाई ईन्द्रिय सुख, मोज-मस्ती र
मज्जा मात्र मन पर्छ उसले विद्या आर्जन गर्न सक्दैन । जसको ध्यान ज्ञान-गुन विद्या-शिक्षातिर
लागेको हुन्छ उसले ईन्द्रिय सुखतिर ध्यान भ्याउँदैन ।
१८। भिखारीलाई लोभी-कन्जुस मानिस
दुश्मनजस्तो लाग्छ । मूर्खलाई राम्रो सल्लाहकार दुश्मनजस्तो लाग्छ । नाठो खेलाउँने
पत्नीलाई श्रीमान दुश्नजस्तो लाग्छ । चोर्न निस्केको चोरको निम्ती जून पनि दुश्मनजस्तो
लाग्छ ।
१९। जोसंग शिक्षा, तप, ज्ञान, राम्रो
स्वभाव, असल गुण र दया जस्ता गुणहरू छैन उ दुई खुट्टे पशु हो, धर्तीको भार हो ।
२०। त्यो ब्राह्मण जो अरुको काममा बाधा हाल्छ,
जो दम्भी छ, स्वार्थी छ, धोखेबाज छ, अरुलाई घृणाको दृष्टिले हेर्छ, जो मीठो बोल्छ
तर मनमा क्रुर भावना राख्छ त्यो एउटा बिरालो जस्तै हो, ब्राह्मण हुन सक्दैन ।
२१। जस्ले पोखरी, कुवा, पानीको स्रोत,
बगैँचा र मन्दिर नष्ट गर्छ त्यो मानिस ब्राह्मण होईन म्लेच्छ हो ।
२२। एउटा ब्राह्मण जो मूर्ति चोर्छ, एउटा
आध्यात्मिक गुरु जो अर्काको श्रीमतीसँग संभोग गर्छ र एउटा ब्राह्मण आफ्नो स्वार्थको
निम्ती जे गर्न पनि तैयार हुन्छ त्यो नै चण्डाल हो ।
२३। जसले
एक पैसा पनि दान नगरी मरेको, जसको कानले
कुनै शिक्षा ग्रहण नगरेको, जसको आँखाले साँचो भक्त नदेखेको, जसको खुट्टाले कुनै
तीर्थ नटेकेको, जसले अधर्मी किसिमले कमाएर खाएको, जसले आफ्नो स्वार्थ पुरा गर्दा मात्र
आफ्नो शिर उच्च हुने ठानेको र मरेको लास हो भने स्यालले पनि नखाओस । किनभने
त्यस्तो लास विषालु हुन्छ र खायोभने स्याल पनि मर्च ।
२४। अब “मानिसले एक क्षण मात्र बाँच्न
पाउँछ” भने पनि असल काम गर्नमै त्यो क्षणलाई लगाउँनु पर्छ । खराब काम गरेर सय वर्ष
बाँच्नु पनि के बाँच्नु?
२५। नीच मानिसहरू अरुले गरेको राम्रो काम
देखेर जल्छन् र अरुलाई अपशब्द प्रयोग गर्दै गाली-गलौज गर्छन् । हुन पनि गाली-गलौज
गर्नु बाहेक तिनको अरु हैसियत नै हुँदैन ।
२६। हजारौँको बथानमा पनि बाच्छी आफ्नो आमा
चिनेर आमाकै पछिपछि हिन्छ त्यसै गरी असल, ज्ञानी-गुनी मानिसको पछि धेरै मानिस
लाग्छन् ।
२७। गुमाएको धन-सम्पती, पत्नी वा राज्य तिमी
फेरि हासिल गर्न सकौला तर गुमाईसकेको उमेर फेरि हासिल गर्न सक्दैनौ ।
२८। यदि हामी धेरैजना भयौँ भने दुश्मलाई
हराउँन सक्छौँ जसरी मिलेर बसेका रुखहरू बर्षातमा पैरो आउँन नै दिँदैनन् ।
२९। पानीमा पसेको तेल, एउटा हरामी
मानिसलाई सुनाएको गोप्य कुरा, एक असल मानिसलाई दिईएको दान, र एक वुद्धिमान
मानिसलाई पढाईएको सास्त्र र ज्ञान आफ्नो स्वभाव अनुसार छिट्टै चारतिर फैलँदै
जान्छन् ।
३०। कसैसँग केही हासिल गर्नु पर्ने छ भने
उसलाई दंग पार्ने किसिमले मीठो कुरा गर्नु पर्छ जस्तो कि एउटा सिकारीले हरिणलाई
बाण हान्न अघि मधुर गीत गाएर दंग पार्छ ।
३१। जुन मानिस राजा, आगो, धर्म गुरु र
स्त्रीको ज्यादै नजिक हुन्छ उ छिट्टै नष्ट हुन्छ । जुन मानिस यिनीहरूमा पूर्ण
आस्रित हुन्न उसैले आफ्नो भलो गर्छ । अर्थात, राजा, आगो, धर्म गुरु र स्त्रीसँगको
ज्यादै नजिक र ज्यादै दूरी पनि ठीक हुन्न ।
३२। प्रसंग अनुसार कुरा मिलाएर बोल्ने,
आफ्नो औकात अनुसार अरुको सेवा गर्ने र आफ्नो रिसलाई बसमा राख्न सक्ने मानिस नै
पंडीत हो ।
३३। एउटै वस्तु फरक फरक मानिसको निम्ती
फरक फरक देखिन्छ । ध्यान गर्ने ध्यानीको ध्यान कुनै दृश्यले भंग हुँदैन तर एउटा
लम्पट मानिसले हरेक वस्तु आईमाई जस्तो देख्छ र कुकुरलाई हरेक वस्तु मासुको चोक्टा
जस्तो लाग्छ ।
३४। एक वुद्धिमान व्यक्तीले यी कुरा
अरुलाई सुनाउँदैन - १) रोगीलाई निको पार्ने आफुले बनाएको औषधी बारे; २) आफुले
गरेको परोपकार बारे; ३) आफ्नो घरको झगडा बारे; ४) पति-पत्नीका विच हुने कुराहरू
बारे; ५) उसले खाएको नमिठो-काँचो खाना बारे; र, ६) उसले सुनेका गालीगलौजका शब्दहरू
बारे ।
३५। कोईली तबसम्म चुपचाप बस्छे जबसम्म
मधुर गीत गाएर स्रोताहरूलाई मन्त्रमुग्ध पार्ने क्षमता उसमा विकास भईसकेको हुन्न ।
३६। जुन मानिसको मन सबै प्राणीको सेवा
गर्न पग्लिन्छ उसको निम्ती ज्ञान, मुक्ती, धन-सम्पती, घर केही चाहिँदैन ।
३७। प्रेम भनेको त्यही हो जुन अरुलाई दिन
सकिन्छ । वुद्धि भनेको त्यही हो जसले पाप गर्नबाट रोक्छ । दान भनेको त्यही हो जुन
कसैलाई नभनि चुपचाप हल्ला नगरी गरिन्छ ।
३८। एउटा व्यक्ती जसले दुनियाको सारा
ज्ञान कण्ठस्त गरेको छ तर आफ्नै आत्मा बारे केहि बुझेको छैनभने त्यो मानिस त्यही
चम्चाजस्तो हुन्छ जसले अनेक मीठा मीठा पकवानहरू चलाउँछ र मानिसको मुखमा पनि
हालिदिन्छ तर आफै चाहीँ कुनै पनि पकवानहरूको स्वाद थाहा पाउँन अक्षम हुन्छ ।
३९। चन्दनको रुख काटिए पनि मगमगाउँन
छोडदैन । हात्तीले बुढेसकालमा पनि नाच्न छोडदैन । उखुलाई जतिसुकै निचोरेपनि उसको
गुलियोपन छोडदैन । तेस्तै असल सँस्कारमा हुर्केको मानिसले जतिसुकै कष्ट र गरिबी
भोग्न परेपनि सभ्यता-सिष्टता छोड्दैन ।
४०। खाना खाने, सुत्ने, डराउँने-आत्तिने,
संभोग गर्ने, बाँच्ने र मर्ने काम पशु र मानिस दुबैले गर्छन् । तर, मनिसलाई
सर्वश्रेष्ठ प्राणी मानिन्छ किनभने उसँग ज्ञान हुन्छ । अर्थात, जुन मानिससँग ज्ञान
हुँदैन उ पनि पशु नै हो ।
No comments:
Post a Comment