के हो क्लेप्टोक्रेसी? - “डेमोक्रेसी”, “एरिष्टोक्रेसी”, “ब्यूरोक्रेसी” भनेझैँ “क्लेप्टोक्रेसी” पनि एक शासन
पद्धति हो । शाब्दिक प्रयोगमा यो Kleptocracy,
Cleptocracy र Kleptarchy को रुपमा समेत लेखिन्छ । ग्रीक भाषामा kleptes भनेको Thief (चोर) र kratos भनेको Rule (शासन) हुन्छ । अर्थात ‘चोर वा चोरहरू’को शासन नै
क्लेप्टोक्रेसी हो । एकजना वा एकजनाभन्दा बढी “चोर” वा “फटाहा”ले मुलुकको स्रोत
आफु, आफ्ना परिवार, आफ्ना जात, आफ्नो समुह वा दल वा गुटको निम्ती कानुन अनुसार र
भ्रष्टाचार समेत गरी फायदा उठाएर शोषण-दोहन गरेर वा लुटेर वा चोरेर वा छलेर
राज्यको सबथोक आफ्नैझैँ बनाएर राज्य सन्चालन गरिने पद्दतीलाई नै “क्लेप्टोक्रेसी”
भनिन्छ । यो प्रणाली राज्यको ढुकुटीमा रहेको मुलुकी स्रोत आफु
खुसी र बदनियतपूर्वक हिनामिना गरेर; आफुलाई जसरी पनि फायदा हुने आर्थिक नीति र
कानुन र ट्याक्स नीति बनाएर वा फेरबदल गरेर; जनतालाई दिने सेवासुविधाहरू
भित्रभित्र बेची-खाई दुरुस्त तर झुठो प्रतिवेदन तैयार समेत गरेर संचालित हुने गर्छ
।
क्लेप्टोक्रेसीका सूचकहरू? – क) क्लेप्टोक्रेट्सहरूको संबन्ध जहिले पनि
डिक्टेटर शासक, हुकुमी शासक या शैनिक शासकहरूसँग बढी हुन्छ; ख) यिनले “क्षमता र
योग्यता” भन्दा पनि “आफ्नो मान्छे”लाई शासन सन्चालनका हरेक महत्वपूर्ण पदहरूमा
“गेट किपर” राखेर शासन गर्छन् ताकि उनले गरेका कुनै पनि फट्याइँहरू, चोरीहरू,
लुट-खसोटहरू “बाहिर”का मानिसले थाहा नपाउन; ग) यिनले जहिले पनि आयात र निर्यातको
काम आफ्नै विश्वासिलो मानिसलाई “ठेक्का”मा दिएर गोप्यरुपमा कमिशनको खेल खेल्छन्;
घ) यिनले राज्यको ढुकुटीलाई “आफ्नै बाउको”जस्तै गरेर मनपरि आफ्ना मानिसलाई र
आफुलाई मनपरेका मानिस वा संघ-सँस्थालाई बाँढ्छन्; ङ) यिनले राज्यको ढुकुटीलाई
“मोजमस्ती र सुखसुबिधाको” निम्ती बेफिक्री उडाउँछन्; च) यिनले राज्यको ढुकुटीबाट
कैयौँ रुपिया-पैसा आफ्नो व्यक्तीगत (स्वदेशी-विदेशी) “गोप्य बैँक-खाता”मा जम्मा
समेत गर्छन् र आफु शासनबाट हटेपछि प्रयोग गर्छन् ।
क्लेपट्क्रेसी कस्तो मुलुकहरूमा मौलाउँछ?
- क्लेप्टोक्रेसी अविकसित (Under developed) वा विकासशील (Developing) मुलुकहरूले
अपनाउँने सामन्ति शासनकै अवशेष हो । किनभने यी मुलुकहरूमा जनता धेरै अशिक्षित छन्
। अशिक्षित धेरै भएको ठाउँमा फटाहा, चोर, बेइमानहरूले आफ्नो कमाल देखाउँछन् ।
क्लेप्टोक्रेट्सहरूले प्राय कब्जा गर्ने मुलुकको प्राकृतिक स्रोत (Natural resources) हरू हुन् जसलाई उनीहरू विदेशतिर बेच्ने काम गर्छन् ।
यस्तो काम राजधानीका भव्य (होटलका) कोठाहरूमा हुने गरेकोले सर्वसधारण जनतालाई थाहै
पनि हुन्न ।
क्लेप्टोक्रेसीका असरहरू – क) क्लेप्टोक्रेट्सहरूलाई मुलुकको अर्थतन्त्र
सुध्रियोस् कि डुबोस् केही मतलब हुन्न सिरिफ कमाउँन पाए पुग्यो । यसले मुलुकको
अर्थतन्त्रलाई भताभुंग पारिदिन्छ; ख) यिनका निम्ती मुलुकको राजनैतिक अवस्था जति
विग्रियो उति राम्रो किनभने यो नै “मालामाल” हुने अवस्था हो । राजनीति जति
बिग्रियो उति नै नेता खरिद गर्न सजिलो हुन्छ र “मालामाल” भइन्छ; ग) क्लेप्टोक्रेट्सहरूलाई
नागरिक अधिकारहरूको केही मतलब हुन्न । बरु मुलुकमा नागरिक अधिकार जति गडबड भयो उति
नै कमाउँने मौका हुन्छ । मस्त कमाएपछि २-४ पुरस्कार, केही चन्दा दिएर फेरि आफुलाई
चोख्याईहाल्छन्, प्रतिष्ठा बढाईहाल्छन् । चोर, फटाहालाई आदर-सम्मान गर्ने सँस्कृति
समाजमा स्थापित हुन्छ र तिनै चोर-फटाहाले जे जे गरिरहेछन् त्यही गर्नु नै उचित हो
भनेर समाज नै भ्रष्टिकृत हुन्छ; ग) क्लेप्टोक्रेट्सहरूको शासनमा मुलुकको घरेलु
अर्थतन्त्रको जग कमजोर हुन्छ र विदेशीहरूको “मार्केट” जस्तो मात्र हुन पुग्छ ।
बोर्डरका हरेक नाकाहरू कालाबजारीका राजमार्ग बन्छन्; घ) क्लेप्टोक्रेट्सहरूको
शासनमा बजारमा “कमसल”, “नक्कली”, “डेट एक्स्पायर” मालहरूको विगविगी चल्छ; ङ) क्लेप्टोक्रेट्सहरूको
शासनमा भयानक किसिमले ट्याक्स छल्ने काममा व्यापारीहरूलाई सरकारी कर्मचारीहरूले नै
नजरानाको आधारमा सहयोग गरिरहेका हुन्छन् । मुलुकमा “अन्डरवर्ल्ड”को शासन चल्छ ।
मन्त्रीले कतै जानु परे पुलिससँग आफ्ना पालित गुण्डाहरूसँग “सुरक्षा” कस्तो छ?
भनेर सोद्धछन् । गुण्डाहरुकै शासन चल्छ; च) क्लेप्टोक्रेट्सहरूले भन्न त दिनै
“डेमोक्रेसी” नै भनिरहेका हुन्छन् तर खासमा मुलुकमा “चोरतन्त्र” चलिरहेको हुन्छ ।
चोरतन्त्रले मुलुकमा जरा गाडेपछि यसलाई उखेलेर फाल्न ५० औँ वर्ष लाग्नेछ ।
बेलायतले फोहोर भएको “थेम्स नदी”लाई सफा गर्न पनि ५० वर्ष लागेको थियो । नेपालमा
बागमती कति वर्षमा सफा होला केही पत्तो छैन ।
छानिएका १० प्रख्यात क्लेप्टोक्रेटिक
शासकहरू – १) ईन्डोनेशियाका भूपु
राष्ट्रपति सुहार्तो (३५ बिलियन डलर लुटेर आफ्नो बनाए); २) फिलिपिन्सका भूपु
राष्ट्रपति मार्कोस (२१.६ बिलियन डलर लुटेर-हिनामिना गरेर आफ्नो बनाए); ३) कंगोका
भूपु राष्ट्रपति मोबुतु (५ बिलियन डलर लुटेर आफ्नो बनाए); ४) नाइजेरियाका भूपु
राष्ट्र प्रमुख अवाचा (१ देखि ५ बिलियन डलर लुटेर आफ्नो बनाए भनिन्छ) ; ५) युगोस्लाभियाका
भूपु राष्ट्रपति मिलोसोविच (१ बिलियन डलर लुटेर आफ्नो बनाए); ६) हेटीका भूपु
राष्ट्रपति डुभालियर (३०० देखि ८०० मिलियन डलर लुटेर आफ्नो बनाए भनिन्छ); ७) पेरुका
भूपु राष्ट्रपति फुजिमोरी (६०० मिलियन डलर लुटेर आफ्नो बनाए); ८) उक्रेनी भूपु
प्रधानमन्त्री लाजारेन्को (११४ देखि २०० मिलियन डलर लुटे भनिन्छ); ९) निकारागुवाका
भूपु राष्ट्रपति अलेमान (१०० मिलियन डलर लुटे); १०) फिलिपिन्सका भूपु राष्ट्रपति
एस्त्रेदाले (७८-८० मिलियन डलर लुटे भनिन्छ) ।
टिप्पणी – नेपालका पृथ्वी नारायण शाहले ‘मेरा साना दुःखले
आर्ज्याको होइन यो मुलुक’ भनेर नेपाल नै मेरो व्यक्तिगत ‘बैभव-सम्पती’ हो झैँ बोलेको
कुरा क्लेप्टोक्रेटिक नै हो । राणाहरूले चाकडी गरेर खुशी पार्नेलाई कुनै ‘मौजा’
‘विर्ता’ बाँड्थे । यिनले नेपाली जनताको पनि नागरिक अधिकार छ भन्ने कुरा कहिल्यै
सोचेनन् बरु उनले पनि ‘नेपाल हाम्रै सम्पति हो’ भनेझैँ परिवारका सदश्यहरूमा
बाँडचुँड गरेको कुरा ईतिहासले भन्छ । राणा शासन पछि यही क्लेप्टोक्रेसी शासन-सँस्कार-सँस्कृतिले
नै हरेक शासकहरूको धारणागत राज्यसंचालनको ढाँचा बन्यो । शाह शासन आएपछि राणाहरूको
ठाउँ अब पञ्चले लिए । राजा-भक्ती-चाकडीको आधारमा क्लेप्टोक्रेटिक-पञ्चहरूले मुलुकलाई
लुट्नसम्म लुटे । पञ्चायत ढल्यो । राजतन्त्र ढल्यो । प्रजातन्त्र आयो ।
डेमोक्रेसीलाई ‘प्रजातन्त्र’ भन्ने र ‘लोकतन्त्र’ भन्नेहरूले “प्रजातन्त्र” वा “लोकतन्त्र”लाई
“पार्टीतन्त्र”मा ढालेर शासन गरे । त्यसपछि डेमोक्रेसी भनेको “गणतन्त्र” पो हो त
भन्नेहरूले त झन गणतन्त्रलाई “गिरोहतन्त्र” बनाएर मुलुकलाई मिलेर लुट्ने
क्लेप्टोक्रेसी चलाईरहेछन् ।
एउटा प्रणाली र विचार मानसिले
ग्रहण गरेर व्यबहारमा लागु गर्न धेरै समय लिने रहेछ । एउटा (कार्य संपादन वा समाज
व्यवस्थापन) प्रणाली वा सँस्कृतिमा सुधार आउँन वा फेरिन पनि झट्टै नहुने रहेछ ।
यही कारण होला नेपाली शासक पनि “प्रजातन्त्र”, “लोकतन्त्र” र “गणतन्त्र” भनिरहेछन्
तर “क्लेप्टोक्रेसी” नै चलाईरहेछन् । शासकहरूको ‘माइण्ड शेट’मा बसेको
क्लेप्टोक्रेसीलाई भत्काउँन पनि ठुलै प्रयासको क्रान्ती नेपालमा चाहिने देखियो ।
अहिले सम्म धेरै भौतिकवादी कम्निष्ट प्रधानमन्त्रीले प्रधानमन्त्री निवास प्रवेश
गर्दा साइत हेरेर, सनातनी पुजा-शंख-घंट बजाएर र चरू पोलेर, निवासका हरेक कोठामा
पुजाको धुवाँ र कलशको शुद्ध जल छर्केर मात्र “निवाश प्रवेश” गरे । यो नै छाती भित्र सनातनि
(हिन्दु भनिने) सँस्कृति र धर्मले हालिदिएको सामन्ती सोच-सँस्कृतिको शासन प्रणालीका
रुपमा प्रकट भएको क्लेप्टोक्रेसी हो जसले आधारभूत रुपमा नेपाली शासकहरूलाई संचालन
गर्ने गर्छ ।
------------
----------- ----------
Ref.
https://en.wikipedia.org/wiki/Kleptocracy
No comments:
Post a Comment