Wednesday, July 27, 2016

प्रकृती पुजक तिव्वतका वोन्पो र किरातहरूमा के सम्बन्ध छ? (विक्रम सुब्बा)


१। वोन धर्म - यो तिब्बतका जनजातिहरूको परम्परागत रैथाने धर्म हो । जसलाई (सन् ७ औँ सताव्दीमा) वुद्ध धर्मले आफुमा मिसाएर “टिबेटन वुद्धिज्म” भन्ने नयाँ शाखा-धर्मको जन्म नै भयो । “वोन धर्म”ले वुद्ध धर्मलाई प्रभावित गर्‍यो या वुद्ध धर्मले वोन धर्मलाई प्रभावित गर्‍यो भन्ने दुबै मत सुनिन्छ । वोन धर्मलाई तिब्बती भाषामा “व्योन” ( ‘O’ Rounded vowel) भनि उच्चारण गरिन्छ । यसलाई “वोनवाद” पनि भन्छन् र यो धर्म पालना गर्नेलाई ‘वोन्पो’ या ‘वोन-पो’ भनिन्छ ।

केही तथ्यः १। स्थापना मितीः यो १६००० वर्ष ईशापूर्व (BC) ‘युङद्रुङ वोन’ले (‘वोनपो’हरूको किंवदन्ती अनुसार) सुरु गरेका हुन् । जसलाई १४ औँ सताव्दी (AD) मा नयाँ रुप दिईयो । २। मुलुकः यो तिब्बतमै उत्पति र स्थापित धर्म हो । ३। सँस्थापकः भनिन्छ क) यो कसैले स्थापना गरेको होइन । जनताले नै विकास गरेको रैथाने धर्म हो; ख) ‘युङद्रुङ वोन’ अर्थात ‘तोन्पा शेनरब मिवोचे’ नामक गुरुले स्थापना गरेको हो’ भन्ने दुइमत सुनिन्छ । ३। वोन मार्गीः एउटा अन्दाज अनुसार तिब्बतमा १ लाख जति यस धर्मका अनुयायी होलान् भनिन्छ ।

२। ईतिहासः वोन धर्मका अनुसन्धाता र वोन धर्मावलम्बी दुबै पक्षले मौलिक(Original)” र “आधुनिक(Modern) वोन धर्म भनेर स्वीकार गरेकाछन् । “मौलिक वोन धर्म” भन्नाले तिब्बतका आदिवासि जनजाति समाजमा आदि कालदेखि प्रचलनमा रहेको परम्परागत वोन धर्मलाई बुझिन्छ । जुन “प्रकृती पुजक (Animistic) आत्मवादी” रहेकोछ । अर्थात, प्रकृतिक (Natural forces and ancestors) शक्ती (घाम, पानी, माटो, हावा, आगो, घरको मुल थाम, भूतप्रेत र पितृ)हरू सबैमा आत्मा छ भनि विश्वास गर्ने र ढोग-आदर-पुजा गर्ने, धामी-झाँक्रीहरूको सहयोगमा (Shamanistic) अध्यात्मिक (Spiritual) व्यवस्थापन विधी अपनाउँने तर कुनै आकारयुक्त देवी-देउताको पुजा गर्ने चलन नभएको समाज नै वोन्प समाज हो ।

‘वोन’ भन्ने शव्द संभवतया  पुजा-कर्मकाण्ड गर्दा ‘धामी-झाँक्री’ले फलाक्ने वा फतुर्ने वा “प्रार्थना” भन्ने अर्थबाट सृजना भएर रहेको हुन सक्छ भनिन्छ । मौलिक वोन धर्मको रुप कस्तो थियो? भनेर ठोकेरै भन्न सकिन्न किनभने अहिले लिखित रुपमा पाईने जतिपनि पुराना कागजात-अभिलेखहरूमा वुद्ध धर्मका आधारमा व्याख्या गरेको कुरा जताततै मिस्साईएको र अन्तरघुलित भएर छुट्याउँनै मुस्किल देखिन्छ । यसको राजनैतिक कारण छ । ७ औँ सताब्दीमा जब वुद्ध धर्माबलम्बीहरूले तिब्बतमा शासन गर्न सुरु गरे तब वोन धर्मलाई पेलेर, दबाएर नष्ट पार्न राज्य स्तरबाटै सक्दो प्रयास गरियो । तथापी वोन धर्म तिब्बतबाट मासिएन बरू झन संगठीत भएर आयो । दुःखको कुरा सारा प्राणीको निम्ती शान्तिको कुरा गर्ने ‘वुद्ध’ मार्गी ब्बती शासकहरूले ११ औँ सताब्दीमा फेरि वोन धर्मलाई चरम दमन गरे र वोन धर्मलाई वुद्ध धर्मसँग बेस्सरी मिसाईदिएर छुट्याउँनै नसकिने बनाईदिए ।

वोन धर्मावलम्बी गुरुहरू अध्यापी वोन धर्मको दोस्रो चरणमा ‘युङद्रुङ वोन’को प्रसंग ल्याउँछन्, जसलाई वुद्धिष्टहरू “होईन” भनेर सिधै नकार्दछन् । वोन धर्मका गुरुहरुका अनुसार दोस्रो चरणमा वुद्धजस्तै ‘शेनराव मिवोचे’ (१८००० वर्ष अघि) नामक एक अचम्मका गुरु तिब्बत नजिकै झाङझुङ भन्ने ठाउँमा थिए जसले वोन धर्मको स्थापना गरेका हुन् ।

किम्ब दन्ती अनुसार शेनराव मिवोचे पनि लुम्बिनीका सिद्दार्थजस्तै राजकुमार थिए जसले राजदरवार त्यागे र भिक्षु बने । अध्ययन-ध्यान-तपष्या गरे र निर्वाण प्राप्त गरे । त्यसपछि निर्वाण प्राप्त गर्न सकिने उपाय बारे अरुलाई प्रवचन दिन थाले । उनैले मौलिक वोन धर्मलाई “युङद्रुङ (आत्मिक) वोन”मा विकसित गरिदिए । यस अनुसार वुद्ध धर्मभन्दा अघि पनि वोन धर्मलाई नयाँ रुपमा सुधार गरिएको रहेछ भन्ने बुझिन्छ । कतिपय अनुसन्धाताहरूले टिबेटन वुद्ध धर्मको  स्वरुपको विकासमा ‘वोन धर्ममा लाओ-त्ज्यु’ र शेनरावको समेत योगदानको कुरा जोडेर ‘वोन धर्म तओवादबाट आएको’ पनि भन्छन् । आधुनिक अनुसन्धाताहरूले त शैव (हिन्दु) धर्म कास्मीरतिरबाट तिब्बत पसेर वोन धर्मको विकासमा योगदान गरेको हो भनेर दावी गरेको समेत पाइन्छ ।

कालान्तरमा अहिले आएर ‘नयाँ वोन धर्म’ र टिबेटन वुद्ध धर्म (वोन र वुद्ध धर्म पुरै मिस्सिएको) एउटै भइसकेको देखिन्छ । यसको कारण १४ औँ सताब्दीमा आएर वोन धर्म गुरुहरूले टिबेटन वुद्ध धर्मको पद्मसंभवलाई अंगिकार गर्नुले नै हो भनिन्छ । त्यसो त नयाँ वोन धर्म पनि युङद्रुङ वोन धर्मभन्दा धेरै भिन्न देखिन्छ । नयाँ वोन धर्म मान्नेहरू वोन धर्मकै विभिन्न चरणगत स्वरुपहरूको निरन्तरता चलिरहेको मान्छन् । अक्सोफर्डको ‘डिक्शनेरी अफ वर्ल्ड रिलिजन्स’ अनुसार ‘प्राचीन वोन धर्म र आधुनिक वोन धर्म वीच नगण्य समानता र संबन्ध रहेको’ छ ।

धेरैले टिबेटन वुद्ध धर्मले वोन धर्म मिस्साएपछि नयाँ आकार ग्रहण गरेको हो भन्ने गर्छन् तर ‘डिक्शनेरी अफ वर्ल्ड रिलिजन्स’का अनुसार त्यो सही होइन । बरू वोन धर्मलाई भारतबाट टिबेट पुगेको महायान वुद्ध धर्मले ठूलो प्रभाव पारेको देखिन्छ । वोन धर्म मान्ने हालका दलाई लामा पनि यो कुरालाई स्वीकार्छन् । अहिले वोन धर्म पश्चिम तिब्बतको सानो ठाउँमा र दलाई लामासँगै भारतमा बसिरहेकाले मात्र मानेको देखिन्छ । यस धर्मका हालका गुरु लुङतोक तेनपि ङीमा हुन् ।

चिनीया जनगणना अनुसार तिब्बतमा १०% (करीब १ लाख) ले वोन धर्म अहिले पनि मानिरहेकाछन् । कम्युनिष्ट पार्टीले तिब्बतलाई लिँदासम्म तिब्बत र पश्चिम चीनमा गरेर करीव ३०० वोन गुम्बाहरू कृयाशील थिए भने अहिले २६४ गुम्बा, आनीहरू बस्ने स्थल र आश्रमहरू मात्र कृयाशील रहेकाछन् ।


३। वोन धर्मका आस्था-विश्वासहरू - मौलिक वोन धर्म अनुसार - प्रकृतीका ‘आकाश, घाम, जून, विजुली चम्केको, चट्याङ, पशु-पक्षी, विरुवा-बनस्पती, आदि सबैमा आत्मा हुन्छ र तिनको पुजा गर्नु पर्छ’ भनि विश्वास गरिन्छ ।  सुरुसुरुमा र परम्परागत रुपमा वोन धर्मले (विरामी हुँदा वा केही नराम्रो घटना हुँदा वा केही शुभ कार्य थाल्दा) जोखाना हेर्ने, लयात्मक किसिमले मन्त्र फतुरेर कुनै प्रताडित (Victim) व्यक्तीको रक्षाको निम्ती देउतालाई फकाउँने-मनाउँने, लयात्मक मन्त्रोच्चारण गर्दै वा कुनै बेला हकार्दै र रिसाएको हावभाव गर्दै झारफुक गरेर खराब आत्मा वा भुत-प्रेतलाई प्रताडित व्यक्तिको शरिरबाट या छाँयाबाट भगाएर विरामी निको पार्ने उद्देश्यले मन्साउँने-धपाउँने, देवी-देउता वा भुतप्रेतलाई अंश दिएर फकाउँन वली (रगत) समेत चढाएर दुःख नदिन अनुरोध गर्ने-मन्साउँने, अलौकिक शक्ती शरिरमा चढाएर जादु-टुना गरी (मानसिक?) उपचार गर्ने, आदि गरेको पाइन्छ र पछि आएर धेरै कुराहरू वुद्ध धर्मका संहिताहरूलाई नै अपनाएको देखिन्छ ।

अहिले आएर वोन धर्म ३ फरकफरक “मत”हरूमा बिभक्त रहेको छ – १) ब्रिडोल मतीय वोन जसले जादु-टुना गर्ने काम गर्छन्; २) भिख्यर मतीय वोन जसमा तीन तान्त्रिकहरूले नयाँ सिद्धान्त निकाल्न खोजे तर यिनले पनि जादु-टुनालाई नै अन्तमा अपनाए; र, ३) बिस्ग्युर मतीय वोन जुन वोन र वुद्ध धर्मको वीचमा वैचारिक संघर्ष चल्दा जन्मेको ‘मत’ हो यसको सोझो अर्थ (वोन धर्मलाई वचाउँन) ‘अनुवाद’ वा ‘व्याख्याता’को काम गर्दै आयो ।

अहिले आएर पनि धेरै तिब्बतीहरू आफुलाई वोन धर्मावलम्बी नै हुँ भनेर आफ्नो पहिचान दिन्छन् । अझै पनि आत्माहरूलाई नियन्त्रण गर्ने भनेर तिब्बतका पर्वतहरूमा विशेष झण्डाहरू फहराईरहेछन् ती वोन धर्मका निशानी चिन्हका झण्डा हुन् । धेरै मन्त्रहरू वुद्ध धर्मबाट लिएर वाचन गरिन्छ । यसरी एक किसिमले वोन र वुद्ध धर्म सह-अस्तित्वमा बाँचेकाछन् ।

मौलिक वोन धर्ममा निहित विश्वासका तत्वहरू केलाउँदा ‘कुनै दैवी शक्तीमा विश्वास गर्ने, ब्रह्माण्ड-सन्सार र जीनजन्तुको रचना ‘असल’ र ‘खराव' दुई शक्तीबाट भएको भनि विश्वास गरिन्छ । तर, आधुनिक वोन धर्मामा धेरै कुरा वुद्ध धर्मका कुराहरु पसिसकेका छन् जुन ‘निश्वरवादी (Non-theistic)’ मतमा आधारित छन् ।
 
वोन कर्मकाण्डहरूमा अहिले पनि पुजा गरिन्छ, दैवी शक्तीको प्रतीक (मूर्ति) थपना गरिन्छ, शान्त तथा रिसाहा देवी-देउतालाई ध्यानमा बसेर (टिबेटन वुद्ध धर्म अनुसार) याद-सम्झना गरिन्छ । वोन धर्मले शान्त र रिसाहा देवी-देउता बाहेक ‘ज्ञानी वा दिक्षित (enlightened) र ‘सांसारिक (of this world)’ वा ‘पूर्ण दिक्षित नभईसकेका’ देवि-देउताहरु मसेत छुट्याएर हेर्दछ । शान्तिपूर्ण देवि-देउताको हकमा ४ अलौकिक परमेश्वर छन् । जस्तैः १) ‘युम’ अर्थात ‘आमा’; २) ‘ल्हा’ अर्थात देवता; ३) ‘सिपा’ अर्थात सृष्टिकर्ता वा पिता; ४) ‘त्योन्पा’ अर्थात शिक्षक वा गुरु ।

वोन धर्मका कर्मकाण्डहरू मुख्यतया “रिसाहा-संहारक” या “पालक-पोषक” देवी-देउता(यीदाम)हरूमा केन्द्रित रहेर कार्य सम्पादन गरिन्छ । यी देवी-देउताहरूलाई बडो भयानक रुपवाला भनेर वर्णन गरिएकाछन् जसका सहस्र हात-पयर जडित भएको उल्लेख गरिएकोछ, डरलाग्दा अनेक हातहतियार हातमा लिएका हुन्छन् र आफ्ना दुश्मनहरूलाई खुट्टाले टेकेर निसहाय अवस्थामा राखेको देखाइन्छ । टिबेटन वुद्ध धर्म अनुसार ‘ध्यान’ गर्नु भनेको १) रिसाहा देवी-देउताहरु मध्ये कसको नियत कस्तो हुन्छ सो बुझ्न; २) सत्य कुराहरू थाहा पाउन; र ३) निर्वाण प्राप्त गर्ने बाटोमा लाग्नको लागी हो ।           

वोन धर्मले वुद्ध धर्मको निङमापा अनुसार ९ ‘यान’ (Ways of vehicles) हरू हुन्छन् जसले ध्यानमा निपूर्णता हासिल गर्न सघाउँछ । ती हुन् – १) भविश्यवाणी गर्नु अर्थात ज्योतिषको बाटो; २) देखिने सन्सार अर्थात मनोभौतिक ब्रह्माण्डको बाटो; ३) भ्रम निवारण अर्थात नकारात्मक शक्तीहरुलाई धपाउँने-मन्साउँने बाटो; ४) अस्तित्व अर्थात मृत्यू र अन्तेष्टीको बाटो; ५) समर्थक (चेला) बनाउँनु अर्थात दश सिद्धान्तका गतिबिधी गर्नु; ६) भिक्षु हुनु अर्थात गुम्बाको संहिता अनुसार चल्नु; ७) आदि-अन्त्यको ध्वनी अर्थात निर्वाणको बाटोमा लाग्नु; ८) आदि-अन्त्यको शेन अर्थात सही तान्त्रिक गुरु तथा अध्यात्ममा लागेर तान्त्रिक गुरुको चेला हुने बाटो; ९) सर्वोच्च सिद्धान्त अर्थात महान परिपूर्णताको बाटो ।

४। दैनिक कर्मकाण्डहरू - वोन धर्माबलम्बीले पनि अचेल टिबेटन वुद्ध धर्मका दैनिक कार्मकाण्ड सन्चालन गरेको पाइन्छ । जस्तैः थाङ्का र मण्डलाको प्रयोग गर्ने, अनेक देवी-देउताहरूलाई सम्झेर ध्यान गरेर निर्वाण प्राप्तीको काममा नित्य लाग्ने, गुम्बाकै कडा संहिताहरु पालन गर्दै गुम्बाकै जीवन यापन गर्ने र मौलिक वोन धर्मबाट आएका ज्योतिष शास्त्र र जडिबुटीले उपचार गर्ने कामलाई निरन्तर कायम राख्ने ।

नेपालमा वोन धर्म - भनिन्छ, वुद्धिष्ट शासकहरूको दमन खप्न नसकेर वोनपोहरू हाल नेपालको माथिल्लो डोल्पातिर आफ्नो अस्तित्व जोगाउँन भनी बसाइँ सरेर आएका हुन् । नेपालको डोल्पा क्षेत्रमा वोन धर्मका गुम्बाहरू अहिले पनि आफ्नो परम्परा कायम राखेर सकृय रहेकाछन् । जस्तैः मुस्ताङको क्लु ब्राग गुम्बा; डोल्पा जिल्लाका ग्युङ द्रुङ शुङ ट्शाल गुम्बा; डर रिग्यास टशोग्स ग्लीङ गुम्बा; याङ ड्गोङ गुम्बा; ब्साम ग्लीङ गुम्बा; म्था श्रुङ गुम्बा; स्पुङ मो र स्पु मेर्र मन्दिरहरू; ग्युङ द्रुङ ट्रे स्टन ग्लीङ गुम्बा; श्रीड रग्याल गुम्बा । आदि । रुकुमका वोन गुम्बाहरूमा ढोरपाटन गुम्बा; मोन री जुर गसुम मन्दिर, आदि । काठमाण्डुमा ख्री ब्रतान नोर बु रट्चे गुम्बा; ट्रिटेन नोर्बुचे गुम्बा, आदि । यी मध्ये ट्रिटेन नोर्बुचे गुम्बा बोन्पो प्रशिक्षण केन्द्रको रुपमै सन्चालित रहेकोछ ।

सांकेतिक (Hypothetical)टिप्पणीः
१। नेपालमा किरात लगायतका जनजातिहरू भाषागत हिसाबले टिबेटो-बर्मन र सिनो-टिबेटन भाषा बोल्ने गरेकोबाट यी जनजातिहरूको सम्बन्ध तिब्बत र चीनका भाषाहरूसँग रहेको बुझ्न सकिन्छ । भाषा मिल्नु भनेको कुनै न कुनै रुपमा एउटै जाति भएको प्रामाण पनि हो । तसर्थ नेपालका किरातीहरू वोन्पोबाट किराती भए कि तिब्बतका वोन्पोहरु किरातीबाट वोन्पो भए? यो सोधकै विषय हो ।
२। नेपालका किरात लगायतका जनजातिहरूको सँस्कार-सँस्कृतीहरूमा निहित सामाजिक संहिताहरूमा तिब्बतको वोन धर्मावलम्बीहरूको सँस्कार-सँस्कृतीहरूसँग समानता देखिन्छ । जस्तैः झारफुक गरेर (Shamanistic) रोगीको उपचार गर्ने परम्परा, प्राकृतिक शक्तीहरूलाई पुजा गर्ने (Animistic) परम्परा; कुनै पनि सामाजिक सवालहरू समाजकै गन्यमान्य व्यक्तीहरूले समाजमै छलफल गरेर फैसला गर्ने परम्परा, आकार रहित देवी-देउताहरूको पुजा गर्ने परम्परा, भुत-प्रेत-आँखी-डाही (Evil spirits) लागे त्यसलाई मन्साएर (Psychological treatment) व्यवस्थापन गर्ने परम्परा, आदि । यसले पनि वोन्पो र किरातीहरूमा कुनै न कुनै सम्बन्ध छ भन्ने कुरा ईङगित गर्छ । विस्तृत अध्ययन गर्नु पर्ने देखिन्छ ।

‘डेस्क स्टडी’को आधारमा यो छोटो लेख तैयार गर्नुको उद्देश्य तिब्बतको मौलिक वोन धर्म, आधुनिक वोन धर्म, टिबेटन वुद्ध धर्म र नेपालका हिमाल तथा पहाडी क्षेत्रमा बसोबास गर्ने जनजातिहरूको ‘जनेटिक्स’, ‘भाषागत’, ‘सँस्कृतिगत’ सामिप्यताहरूका बारेमा थप रुची बढोस् र अध्ययन अनुसन्धान हुँदै जावोस् भन्ने हो ।

-------   ------   ----
Ref.
- Bön - Internet Encyclopedia of Religion
- About Bön - The Bön Foundation
- The Bönpo's Tradition - The Government of Tibet in Exile
- The Bön Religion - tibetanbon.com

- http://blog.nepaladvisor.com/bon-a-unique-religion-and-culture-in-the-himalayas/

No comments:

Post a Comment