अवधारणा - कुनै पनि
युवती वा महिलालाई देख्नै नसक्ने, मन नपराउँने वा घृणा गर्ने भावना “मिसोजनिज्म” अर्थात “स्त्रीहेलावाद”
हो । यो भावना व्यबहारमा अनेक किसिमले प्रकट हुने गर्दछ । जस्तैः यौनका आधारमा महिलालाई
अपहेलना गर्ने वा विभेद गर्ने, महिला प्रति नकारात्मक सोचाई राख्ने, पुरुष सुप्रीम
हुन् आईमाई भनेका खुट्टाका जुत्ता हुन् भनि ठान्ने अवधारणा, महिलालाई कमजोर वा
केही गर्न नसक्ने वा कफल्ला प्राणी ठान्ने, महिलाका विरुद्ध हिंसा गर्नुलाई समाजमा
अनुशासन कायम गर्नु हो र यो उचित छ भनि ठान्ने, महिलालाई सिरिफ यौन-खेलौना र वच्चा
जन्माउँने मेशिन ठान्ने, आदि ।
“मिसोजनी
महिला भएकै नाताले महिलालाई घृणा गर्न साँस्कृतिक अवधारणा हो । यो कुनै सामाजिक
मुल्यको रुपमा धारणा बनेर बसेको (सबैभन्दा खतरनाक) हतियार हो जसको आधारमा
पितृसत्तात्मक समाजका लोग्ने मानिसले महिलालाई दमन गर्ने कामलाई साँस्कृतिक
बैधानिकता प्रदान गर्दछन् ।“ (एलेन जी जोन्सोन, समाजशास्त्री)
“मिसोजनी
महिलाले नै महिलाको बिरुद्ध हेला गर्ने दुर्भावनामा वा आफ्नै शरिर “स्त्री” भएकोमा
पटक्कै मन नपरेको भावनामा समेत प्रकट हुने गर्छ । यो पितृसत्तात्मक प्रणाली
व्याप्त भएको घर-समाजदेखि कार्यालयहरूमा हजारौँ वर्षदेखिको साँस्कृतिक-भावनामा निहित
रहेर दैनिक नीति निर्माणदेखि घर-समाज र कार्यालयहरूमा गरिने निर्णय प्रकृयामा
जताततै उजागर हुने गर्छ । ‘मिसोजनिष्टिक भावना’ विसकित मुलुक भनिएको अमेरिकी हलीउड
चलचित्रदेखि यूरोपका आधुनिक उपन्यास वा कथाहरूमा समेत व्याप्त देख्न सकिन्छ । यति
सम्म कि अमेरिका र यूरोपका कतिपय पढेलेखेका र शिक्षित आधुनिक महिलाहरूमा समेत मिसोजनीकाई
स्वीकार गरेको पाईन्छ ।“ (माईकल फ्लड, समाजशास्त्री)
एरिष्टोटल मिसोजनिष्ट
थिए भनेर उनको निम्न विचार अघि सारिन्छ - “लोग्ने मानिसको हिम्मत स्त्रीहरूलाई
अदपमा राख्न सक्नुमा निहित हुन्छ भने स्त्रीहरूको हिम्मत पुरुषहरूको हुकुम
खुरुखुरु शिरोधार्य गर्नुमा निहित रहेकोछ । कुनै पनि स्त्री एक पुरुषको साथबिना
अपुरो-अधुरो हुन्छे, ईन्फेरियर हुन्छे । तेसैले एक स्त्री पात्रलाई कुनै पनि
नाटकमा “बहादुर” या “चलाख” य “सक्षम” देखाईयो भने नाटक सफल “ट्रेजेडी” बन्दैन ।“
धर्महरूमा मेसिजनी – ‘वुद्ध मार्ग पनि सोचेकैजस्तो न त कम यौनवादी छ न त समतावदी नै छ ।
वुद्ध मार्गले पनि आमाहरु र श्रीमतीहरूलाई के के काम गर्ने भनि तोकिदिएको हुन्छ ।‘
(बर्नार्ड फाउर, कोलम्बीय विश्वविद्यालय) । ‘ईसाई धर्ममा मिसोजनी धरोहरका रुपमा रहेको
कुरा चर्चको हरेक पुजारीहरूलाई Fathers
भनेकैबाट पनि पुष्टि हुन्छ ।‘ (K.
K. Ruthven, Feminist
Literary Studies: An Introduction) । ‘स्त्री
भनेका ‘भूत-प्रेतका द्वार’ त हुँदै हुन् यी फोहर नालीमाथि खडा भएका मन्दिर पनि
हुन् ।‘ (ईसाई लेखक Tertullian) । ईस्लाम अनुसार – ‘लोग्ने मानिस स्त्रीजातिका रक्षक
हुन् किनभने अल्लाहले पुरुषलाई महिलाभन्दा अघि बढ्नेगरी भनेर नै सृष्टि गरेका हुन्
र स्त्रीहरूलाई पुरुषका आज्ञाकारी हुन सृष्टि गरेका हुन् ।‘ यो कुरा बंग्लादेशका
ताज हास्मीको अध्ययनले पनि ईस्लाममा मिसोजनी सबैभन्दा खराब रुपमा विद्यमान रहेको पाईएकोछ
।
दार्शनिकहरू - एरिस्टोटलले
स्त्रीजाति भनेको पुरुषकै “खराब स्वरुप” हो भनेका थिए । उनले Politics नामक पुस्तकमा लेखेकै छन् – ‘पुरुषहरू स्वभावैले
“सुपेरियर” हुन्छन् र स्त्रीहरू “ईन्फेरियर” हुन्छन् । पुरुषहरू शासक हुन जन्मेका
र स्त्रीहरू शासित हुन जन्मेका हुन् ।‘ जीनज्याक रुस्सोले “एमीले”मा लेखेकाछन् –
‘कुनै न कुनै तर्क वा कारणका साथ जसरी पनि स्त्रीजातिमाथि अनेक बोझहरू लाद्ने काम
गर्नु पर्छ । स्त्रीजातिलाई बाल्य कालदेखिनै अनेक बाधा-अवरोधहरूमा बस्न तालिम देउ
ताकि उनले आफुलाई पुरुषहरूका समक्ष समर्पित गरुन् । अर्थात, स्त्रीजातिलाई घरमै
कैद गरेर राख । स्त्रीजातिले पिता र पतिको निर्णयलाई चर्चको निर्णयजस्तै सिरोधार
गर्ने बनाउ ।‘ चर्ल्स डार्विनले The Descent of Men नामक पुस्तकमा लेखे – ‘प्राणीको
विकास क्रममा स्त्रीजातिको तुलनामा पुरुषहरू प्रगतीशील देखिए । बालबालिका र स्त्री
जातिको गिदी नै कम हुन्छ जसले गर्दा उनीहरू “तर्क” भन्दा पनि ‘ईन्स्टिंक्ट’का
आधारमा चल्छन् ।‘ डार्विनको यो कुरा वैज्ञानिकहरूका वीच फैलियो र प्रोफेशर कार्ल
भोग्टले त ‘स्त्रीजातिहरू पशुको नजिकका मनुस्य हुन् । तेसैले वौद्धिक रुपमा उनीहरू
कमजोर हुन्छन् ।‘ समेत भन्न पुगे । आर्थर स्कोपेनहाउरले भनेका थिए – ‘स्त्रीजाति
सानो चित्तको ‘वर्तमान’मा मात्र बाँच्ने किसिमका हुन्छन् । स्त्रीजातिको काम नै
बच्चा जन्माउनु मात्र हो । स्त्रीजातिको यही गुणले गर्दा नै लोग्ने मानिसलाई
मायाजालमा फसाएर नियन्त्रण गर्न सक्छन् ।‘ फ्रेडेरिक नित्सेले ‘सँस्कृतिको विकासको
निम्ती स्त्रीजातिलाई कठोर किसिमले नियन्त्रनमा राख्नु पर्छ’ भन्दै अघि अझ भने –
‘तिमी कुनै स्त्रीजातिलाई भेट्न जाँदैछौ भने कोर्रा पनि लैजान नभुल्नु ।‘
ईन्टरनेटमा मिसोजनी – अहिले
नेट, च्याट, एसएमएस, फेसबुक र यूट्युबमा मिसोजनी छ्याप्छ्याप्ती व्याप्त रहेको छ ।
कैयौँ महिलाहरूलाई उत्ताउलो र भल्गर टेक्स्ट लेखेर पठाउँने, अनेक अश्लील सामग्री
महिलाहरूलाई बेनामी पठाउँने काम करौडौँ पुरुषले गरिरहेकाछन् । यसका बारेमा
खपिनसक्नु भएपछि केही महिलाले (जस्तैः अनिता सारकीनसियन, क्यारोलिन क्रियाडो
पेरेज, स्टेला क्रिजी र लिण्डी वेष्ट, आदि) मुख खोलेर बिरोधै गरे ।
फेमिनिष्ट सिद्धान्त - Madonna–whore complex अनुसार
स्त्रीजाति कि “आमा” हुन् कि “वेश्या” हुन् । त्यो बाहेक केही होइनन् । यो
मनोविज्ञानको कुरा सिगमण्ड फ्रायडले उल्लेख गरेकाछन् । अझ अर्को मनोविज्ञानका
अनुसार लोग्ने मानिसहरू “भर्जिन वेश्या” खोज्ने रोगी पनि हुन्छन् । यसैकारण
‘मिसोजनी’ मानव डीएनए मै व्याप्त रहेको देखिन्छ । फेमिनिष्ट
सिद्धान्तकार मेरलिन फ्रेईले मिसोजनीलाई phallogocentric
(पुरुषहरूको विचारलाई नै केन्द्रविन्दुमा राख्ने विचार) हो भनेकाछन् । पछिल्ला फेमिनिष्टहरूले
मिसोजनी पितृ सत्तात्मक सामजिक संरचनाको “कारण र प्रतिफल” दुबै हो भनेर उल्लेख
गरेकाछन् ।
दक्षिण एसियामा मिसोजनी भारत,
बांग्लादेश, पाकिस्तानमा मिसोजनीको एउटा घटिया स्वरुप “ठिटी जिस्क्याउँने (Eve teasing) रहेकोछ जुन पुरुषहरूले बाल्य
कालदेखिनै सिक्छन् र यो “केटा”हरूद्वारा सडक, गल्ली, बस स्टप, सांस्कृतिक कार्यक्रम
स्थल, मन्दिर, आदि सार्वजानिक ठाउँमाहरूमा गरिने मिसोजनिष्टिक यौन हिंसा हो ।
भारतमा मिसोजनी- अहिले आएर मिसोजनिष्टिक अवधारणा
हिन्दी फिल्महरूमा जतासुकै छताछुल्ल देख्न पाईन्छ । कतिपय सिनेमामा त महिलालाई
सिरिफ “नांगो नाच” वा “तिघ्रा देखाउँन” वा “अंग प्रदर्शन”को निम्ती मात्र भाडामा
लिए सरह देखिन्छ । यसले हरेक दर्शकहरूमा ‘महिला भनेका पुरुषको निम्ती मनोरन्जनका
साधन हुन्’ भन्ने धारणागत सन्देश दिएर “मिसोजनीज्म” फैलाईरहेछ । यस्तो किन हुन्छ?
किनभने फिल्मको स्कृप्ट लेख्ने पुरुष, डाइरेक्टर पुरुष, कोरियोग्राफर पुरुष, एडिटर
पुरुष, प्रोड्यूसर पुरुष भनेपछि यस्तो नभएर कस्तो हुन्थ्यो र? अर्थात
मिसोजनिष्टहरूले नै मिलेर बनाएको फिल्म तेस्तै हुने नै भयो ।
भारतमा
दिनदिनै महिलालाई बलात्कार गरेर मारेर फालिन्छन् । केही सजाय हुँदैन । यसले महिला
त सिरिफ “यूज एण्ड थ्रो” गर्न सकिने “माल”को रुपमा मात्र हेर्ने अवधारणाले जरा
गाड्ने नै भयो । हुँदा हुँदा भारतमा ‘महिला’हरू पनि छोरीप्रति ‘मिसोजनिष्टि’ भएर गर्भमा आएको छोरीलाई फाल्ने, छोरीलाई आमालेनै हेला गर्ने जस्ता भयानक अनैतिक कमा गरिरहेको जताततै व्याप्त देखिन्छ । अनेक महिलाले “स्त्रीको जन्म”लाई श्रापको रुपमा महिलाले नै मान्ने गर्दछन् ।
शायद,
भारतका सबैभन्दा खतरनाक ‘मिसोजनिष्ट’ मनु हुन् जसले मनुस्मृती मार्फत अनेकौ
मिसोजनिष्टिक अवधारणालाई सनातनी सामाजिक कानुनका रुपमा विकास गरे । जस्तैः ‘पुत्री, पत्नी, माता या कन्या (युवा या वृद्धा जुनसुकै उमेरका भएपनि नारी)लाई स्वतंन्त्रता
दिनु हुन्न । (अध्याय-९ श्लोक-२-६); “पतिले पत्नीलाई त्याग्न, कंगाल बनाएर राख्न वा बेच्न पनि सक्छ । तर, कुनै पनि स्त्रीलाई यो अधिकार दिईएको
छैन । विवाहपछि, हर हालतमा पत्नीले पतिकै पत्नी भएर आजिवन रहनु पर्छ ।“ (अध्याय-९
श्लोक-४५); “संपति र अधिकारका हिसाबले शूद्रको स्त्रीहरू
पनि "दास" हुन् । कुनै पनि स्त्रीहरूलाई सम्पती राख्ने अधिकार हुँदैन । स्त्रीहरूका संपतिको मलिक पनि उनका
पति, पूत्र, या पिता मात्र हुन्छन् ।“ (अध्याय-९
श्लोक-४१६) । (विस्तृत हेर्नुहोस् -http://esamata.com/2015/culture/मनुस्मृतिका लेखक-मनु )
मासमिडियामा
मिसोजनी- अहिले सन्सारभरकै
मासमिडियामा मिसोजनी व्याप्त रहेको देखिन्छ । जस्तैः यौनजन्य चलचित्रमा महिलालाई
“बस्तु”का रुपमा प्रयोग गरेको; सन् २००१ मा गरेको अध्ययन अनुसार “र्याप
म्युजिक”मा २२% गीतहरू मिसोजेनिष्ट पाईए; रक म्यूजिकका ५७% गीतहरूमा पुरुषलाई
महिलाको अभिभावकका रुपमा वर्णन गरिको पाईयो; भिडिओ गेममा ८०% महिलालाई यौन साधनको
रुपमा प्रस्तुत गरिएका छन्; एउटा अध्ययनले (करीब करीब हलिउड फिल्मले जत्तिकै
व्यापार गर्ने) पोर्नोग्राफी हेर्ने पुरुष अन्यभन्दा डबल आक्रामक भएको पाईयो;
महिलालाई अन्याय हुँदा संप्रेशण गरिने समाचार र पुरुषबारे संप्रेशण गरिने समाचारमै
पनि फरक फाइन्छ; हरेक मिडिया हाउसमा महिला पत्रकारलाई कमजोर बिट्सको जिम्मा दिईन्छ
। कान्तिपुर दैनिकमै महिला पत्रकारलाई पुरुष सहकर्मीले अभद्र व्यबहार गरेको कुरा
छरपष्टै भएको नेपालमै देखियो, आदि ।
राजनीतिमा
मिसोजनी- राजनीतिमा पनि मिसोजनी प्रकट भएको देखिन्छ । जस्तैः भारतमा चलचित्रका
हिरोईनहरूलाई चुनावमा उठाउँने र चुनाव र्यालीमा, भीड जम्मा गर्न, घुमाउँने गरेको
पाईन्छ । तेस्तै अमेरिकामा पनि सारा पाउलीनलाई पनि “राम्री” र “आकर्सक” भएकैले
उपराष्ट्रपतिको उम्मेद्वार बनाईएको थियो । नेपालमा हिरोईनसँग प्रचंण्ड नाचेर
मानिसको ध्यान खिच्ने काम गरेकै हो । हालै बाबुरामको पार्टीले पनि महिला सिने
कलाकारलाई सदस्य बनाएर धेरै मानिसको ध्यान खोच्ने रणनीति अपनाएकै हो । राजनीति र
पार्टीमा सून्य योगदान भएका महिलाहरूलाई “आकर्षण” कै निम्ती आफ्नो पार्टीको
माथिल्लो तहमा नियुक्त गर्नु योगदानको आधारमा नभएर ‘मिसोजनिष्टिक’ सोचाईबाट मात्र
प्रेरित भएको कुरा हो ।
महिला
राजनीति कर्मीहरूलाई पुरुष सहकर्मी र कामरेडहरूले जे जे भन्यो त्यही त्यही मान्ने
बनाएको यही नेपालमा जताततै देखिन्छ । कैयौँ उपभोक्ता समूहहरूमा श्रीमती सदश्य
रहेको तर बैठकहरूमा श्रीमान गएर भत्ता थापेको कुरा यहीँ बेस्सरी चलेकोछ ।
श्रीमतीको नाममा घर-जग्गा राखेर श्रीमानले नै बेचबिखनको निर्णय गर्ने गरेको पनि
जताततै नेपालमा व्याप्त देखिन्छ । सन्सार प्रसिद्ध घटना एकपटक मौमरगद्दाफीले बृटिश
प्रधानमन्त्री मार्गरेट थ्याचरको सन्दर्भमा भनेका थिए – ‘कुनै पनि महिलालाई
पुरुषले यो गर नभने सम्म आफै गर्दैनन्’ भनेर तात्कालिन अमेरिकी राष्ट्पति रोनाल्ड
रेगनले अराएपछि मात्र थ्याचरले गर्ने हो भन्ने कुरा उजागर भएको थियो ।
के
भइरहेछ? - सन् २०१६ को चुनावका
निम्ती रिपब्लिकन पार्टीको तर्फका प्रत्याशी अमेरिकी राष्ट्रपतिका उम्मेद्वार
डोनाल्ड ट्रम्पले ‘मानिसहरूलाई मिसोजनीका बारेमा केही मतलब छैन’ भनेर आफ्नो अडान (Position) प्रष्ट पारे । तर
डेमोक्रेटका प्रत्यासी हिलरी क्लिन्टनले ‘मिसोजनी’को प्रेतका बिरुद्ध लड्नु पर्छ
।‘ भनिन् । अर्थात, अझै पनि पुरुषहरू ‘मिसोजनी’लाई नराम्रो मान्दैनन् तर महिलाहरु
‘मिसोजनी’ महिला मुक्तीको बाटोमा खराब (अमेरिकामा समेत) बाधा-अडचन हो यसलाई
जतिसक्यो छिटो हटाउँनु पर्छ‘ भन्ने काम गरिरहेछन् ।
नेपालमा
२००७, २०१७, पंचायत, प्रजातन्त्र, दशवर्षे जनयुद्ध वा गणतन्त्र आदिमा जो-जसले
परिवर्तनका कुरा गरेपनि “राजनैतिक परिवर्तन” मात्रको कुरा हो । राजनीतिमा गणतन्त्र
आयो होला । अर्थतन्त्रमा पुँजीवादले कब्जा गर्यो होला । तर, नेपालीहरूको हरेक घर
र घरका हरेक कोठाकोठामा बस्ने मानिसहरहरूको मलिलो दिमागमा सामन्तवादी धरोहर ‘मिसोजनी’
मनिप्लाण्टजस्तै सप्रिएकोछ । नेपालका शासकहरू भनेका गणतन्त्रको गीत गाउँदै
पुँजीवादी फेशनमा सजिएर सामन्ती संस्कृतिक डबलीमा नाचिरहेका नकटा जस्ता लाग्छन् ।
नेपालको
सँस्कृतिमा मिसोजनी- मातृ
सत्तात्मक प्रथा समाप्त गरेर पुरुषहरूले
शासन शक्ती हत्याएपछि “मिसोजनी’ हरेक पुरुष र केही महिलामा धर्मले,
दार्शनिकहरूले, गुरुहरूले, मासमिडियाले, शिक्षाले, समाजले दिमागमा कोचिकोचि
हालिदिएको अवधारणा वा चिन्तन हो जसबाट हरेक पुरुष नेपाली परिचालित हुनेगर्छ । मिसोजनी महिलाहरूलाई दबाएर राख्ने सामन्तवादको (अनेक
मध्ये एक) धारिलो सांस्कृतिक हतियार हो ।
नेपालमा
विद्यमान सँस्कृतिहरूमा ‘मिसोजनिष्ट’ धारणा के कस्तो रुपमा रहेको छ? भन्ने बारे
अध्ययन गरिएको छैन । भारतकै तथ्यहरूलाई “प्रोक्सी सूचक” मान्ने हो भने हरेक दिन
हेरिने भारतका सिनेमा र सिरियलहरू, हरेक साँझ बिहान पढिने धर्म ग्रन्थहरू, दिन रात
पुजिने देवी देउताहरू, बैकुण्ठ बासको लागि र पाप मुक्तीका निम्ती धाईने तीर्थ-वर्त
गर्ने स्थानहरू र देवालय-मन्दिरहरू, गाईने भजन-फिल्मी वा सुफी वा गीत-गजलहरू,
जन्मिँदा-मर्दा गरिने उत्सब र कृया-पकृया-प्रोटोकलहरू, व्यापार-व्यवसायसँग जोडिएका
सम्बन्धहरू आदिका प्रभावलाई ध्यानमा राखेर भारतमा जे जस्तो ‘मिसोजनी’ व्याप्त छ र नेपालमा
पनि करीब करीब उस्तै ‘मिसोजनी’ विद्यमान छ भन्न सकिन्छ । नेपालका (करीव करिव) सबै
जातजातिको संस्कृति (सामान्यतया), “पुरुषप्रधान” र “पितृसत्तात्मक” रहेकोछ । जुन
सामन्ती युगले पुरुषहरूको मनोविज्ञानमा स्थापित गरेको सांस्कृतिक मुल्य, मान्यता, प्रचलनको नाममा महिलाहरूलाई कज्याएर
राख्ने धारिला हतियार हुन् । अर्थात, नेपालमा पनि “स्त्रीहेलावाद”(मिसोजनीज्म) को
संस्कृति व्याप्त छ भन्न “ईम्पिरिकल डाटा” संकलन गरेर विश्लेषण गरिरहनु पर्दैन । यहाँका
समाज र संस्कृतिहरूमा “छोरी”, “श्रीमती”, “महिला”लाई कुनै न कुनै किसिमले हेय
दृष्टिले हेर्ने सामन्ती अवधारणा विद्यमान छ । केही अहिले नै समाजले दिनदिनै भोगिरहेका
प्रथागत सूचकमा नै हेर्ने हो भने पनि १) “बोक्सी”को अवधारणा; २) अलच्छिनी-डंकिनीको
अवधारणा; ३) छाउपडीको अवधारणा; ४) छोरीको विवाहमा ज्वाइँलाई दहेज वा तिलक तिर्ने
अवधारणा; ५) छोरी भनेको “अर्काको घर जाने जात” भन्ने अवधारणा; ६) छोरालाई बोर्डिङमा,
छोरीलाई सरकारी स्कुल पढाउँने अवधारणा; ७) छोरालाई अमेरिका र छोरीलाई दक्षिण भारत
वा नेपालमै कलेज पढाउँने सोच; ८) महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक (ज्वलन्त
एक उदाहरण - चलचित्र खेल्दा पुरुष र महिला
कलाकारले पाउँने पारिश्रमिक) दिने अवधारणा; ९) ५१% प्रतिशत महिलालाई ३०% मात्र सिट
छुट्याउँने अवधारणा; १०) छोरीलाई अंश नदिने अवधारणा, आदि सबै मिसोजेनिष्टिक सोचकै
प्रकटिकरण हुन् । नेपालमा (शिक्षाका पाठ्यक्रम मार्फत) सरकारले, राजनैतिक
पार्टीहरूले, गैससहरूले, जातजातिका संगठनहरूले र मिडियाहरूले यी उल्लेखित १० वटा
सामन्ती अवधारणागत कुप्रथाहरूको जरा नै उखेल्नेगरी जिल्ला-जिल्ला, गाउँ-गाउँ र
शहर-शहरमा अभियान चलाए मात्र पनि १० वर्षमा नेपालीहरूको चिन्तनमा आमूल परिवर्तन
आउँने पक्का छ । तर यहाँ यसो गरिन्न । किनभने सरकारमा वा पार्टीहरूमा वा गैससहरूमा
वा मिडियाहरूमा समेत “मिडजनिष्ट”हरूकै कब्जा छ यी कुप्रथाहरुका विरुद्ध अभियान
चलाउँनु भनेको आफ्नै स्वार्थ विरुद्ध हुन्छ भनेर उनले नबुझ्ने कुरै भएन । चेतना भया
।
----------
------------------
----------------
Ref
http://ecommerce-journal.com/2016/05/gop-chair-people-dont-care-about-misogyny-allegations/
https://en.wikipedia.org/wiki/Third-wave_feminism
No comments:
Post a Comment