Monday, July 24, 2017

'खस' कुराको कुरा (भानु जयन्तीको सन्दर्भमा)





कुनै पनि भाषाभन्दा पहिले कुनै मानव सभ्यता वा जनजाति-जाति हुन्छ । त्यो जाति-जनजातिले आफ्नो मनको कुरा बोल्ने र अरु मानिसलाई सन्चार गर्ने वोली वा भाषा हुन्छ । त्यस्तै, केही सय वर्ष अघि ‘खस’ जनजातिले बोल्ने भाषालाई ‘खस कुरा’ भनिन्थ्यो । ‘खस कुरा’को ईतिहास बुझ्न ‘खस’ जनजातिको जातिकै ईतिहास नबुझि बुझ्न सकिन्न । ‘खस’ जनजाति भारतको उत्तराखण्डका (पश्चिम नेपालसँग जोडिएको, महाकाली नदी पारी टनकपुर देखि पिथौडागढदेखि देहरादून तिर समेत फैलिएको पहाडी भूभागमा बसोबास गरेका) लडाकु जनजाति हुन् भनेर चिनिन्छन् । खसहरुलाई  घटोत्क्चका छोरा ‘बार्बरिक र मुरु (यादव राजा)का छोरी मौरवी (आहिल्यावती) का सन्तान हुन् भनिन्छ । बार्बरिकको सिद्धान्तै जो कमजोर छ उसकै पक्षमा लड्ने भन्ने थियो जसले गर्दा महाभारतको युद्धमा कौरवहरूको पक्षमा पाण्डवहरुसँग लडेको भन्ने समेत भनिन्छन् । नेपालको ईतिहासमा किराती राजा ‘यलम्बर’लाई समेत ‘बार्वरिक’ जस्ता भनेर उल्लेख गरेको पाइन्छ । भारतको राजस्थानमा ‘वार्वरिक’लाई ‘खतुस्यामजी’ र गुजरातमा ‘वालियादेव’को नामले अहिले पनि महाभारतको युद्ध जित्न सघाउँने लडाकुहरु भनेर पुजिन्छन् ।

शिव कुमार राईका अनुसार ‘खस’ जनजातिहरू पहाडी क्षेत्रमा बसोबास गर्ने भएकोले नै ‘खस कुरा’मा पहाडी प्रकृतिहरू प्रतिध्वनित हुने ‘अनुकरणात्मक शब्द’हरू प्रचुर मात्रामा रहेकाछन् । जस्तै: सररररर पानी पर्नु, हुरुरुरुरुरु आगो बल्नु, सलललललललल खोला बग्नु, सुइँसुइँ हिँड्नु, जुरुक्कै उठनु, डङ कि डङ कुट्नु, ठ्याम कि ठ्याम गाला पडकाउँनु, हुरुक्कै हुनु, ठनक्कै भाँचिनु, आदि आदि । यी अनुकरणात्मक शब्दहरू ‘खस कुरा’का विशेषता हुन् । यस्तो अनुकरणात्मक शब्दहरू यति प्रचुर मात्रामा हिन्दी, अंग्रेजी दि भाषाहरुमा पाइँदैन । बरु, हाल जनाजति भनेर पहिचानित गरिएका समुदायहरूले बोल्ने भाषामा पनि यो विशेषता पाइन्छ ।
ब्रायन हड्जनका अनुसार ‘खस कुरा’का बक्ताहरुले धेरै शब्दहरु हिन्दीबाट लिएर आफ्नो भाषामा मिसाएर गडवाली भाषा बनाए । ‘खस जनजाति’ नै पिथौडागढ हुँदै महाकाली नदि वारी तरेर हालको सुदुर पश्चिम महाकाली अन्चलको दार्चुला, बैतडी, दीपायल-डोटी, अछामतिर प्रवेश गर्दा उनले भाषा पनि लिएर आए र अहिले पनि डोट्याली भाषा र गडवाली भाषा धेरै नजिक छन् । जस्तै: गढवाली भाषाका केही नमुना हेरौँ:

१। ‘तिम्रो नाम के हो?’ भन्न परे - ‘त्यार नाम क्या छ?’

२। मेरो नाम कमल हो’ भन्न परे – ‘म्यार नाम कमल छ ।‘

३। ‘आजकल के गर्छौ?’ भन्न परे – ‘आजकल क्या कानु छे?’

४। ‘म स्कुलमा शिक्षक छु’ भन्न परे – ‘मे इक स्कुल मा पढानो छु ।‘

५। ‘तिम्रो बहिनी कुन क्लासमा पढछिन?’ भन्न परे – ‘भुली कै क्लास मा पढनि छ?’

६। ‘उ ११ मा पढ्छे’ भन्न परे – ‘वह ११ मा छ ।‘ आदि ।

‘खस कुरा’लाई अहिले भाषावैज्ञानिकहरूले ‘भारतइरानी (Indo-Iranian)’ वर्गमा राख्ने गरेकाछन् । तर केही ईतिहासकारहरूले जीन (Gene) का आधार समेतलाई ध्यानमा राखेर ‘खस कुरा’ र तिब्बत क्षेत्रको ‘खाम’ क्षेत्रमा बोलिने भाषा नजिकका भाषा हुन भन्ने तर्क गर्दछन् ।

यसरी हेर्दा कुनै बेला ‘खस कुरा’ खस (हालको कर्णाली क्षेत्र?) साम्राज्य (करीव १० औँ देखि १३ औँ सताव्दी सम्म)मा बोलिन्थ्यो । खस साम्राज्य ढलेपछि खस जनजातिहरु पूर्वतिर बसैँ सर्दै आए । १६ औँ सताव्दी (१५५९ BC) को मध्यतिर द्रव्य शाहले गोरखाका रैथाने जनजाति राजालाई सत्ताच्युत गरेर आफ्नो गोरखा राज्य स्थापना गरे । उनै द्रव्य साहका सन्तान पृथ्वी नारायण शाहले १८ औँ सताब्दीमा आएर नेपालका अनेक भुरे-टाकुरे राजा रजौटाहरुलाई जितेर ठुलो गोरखा राज्य बनाए, गोरखा भाषालाई राजपाटको भाषाको रुपमा चलाए ।

माथि उल्लेखित गडवाली भाषा यसरी हालको नेपालको पश्चिमबाट पसेर पुर्वतिर विस्तार हुँदै जाँदा भोटे, मगर, गुरुङ, तामाङ, नेवार, राइ, लिम्बु र शेर्पा भाषाहरु समेतका शब्दावलीहरू मिसाएर नयाँ ‘खस कुरा’को विकास भयो जसलाई पहिले ‘गोरखा भाषा’ भनिन्थ्यो । जुन भाषामा अनेक जनजातिका भाषाहरु समेत मिस्सिएर बनेको हो । जस्तै:

१। दौरा, गुन्यू, पाटुका, कोदो शब्दहरू मगर भाषाबाट आएका हुन् ।

२। कुन्यू, वैदाङ, चिहान, गुन्द्रुक, कुम्लो आदि शब्द राई भाषाबाट आएका हुन् ।

३। खुर्मी, पसल, झ्याल, सुकुल, सीकर्मी, पाटी, फलैँचा, (नारान) हिटी शब्दहरू नेवार बाषाबाट आएका हुन् ।

४। राडी, थुन्से, रोदी, घूम, खूर्पा शब्दहरू गुरुङ भाषाबाट आएका हुन् ।

५। तेस्तै डम्फू तामाङ भाषाबाट, मुन्धुम तथा सेवा रो ! र च्याब्रुङ लिम्बुबाट र फिन्स्यो शब्द भोटे भाषाबाट आएका हुन् । आदि ।

अहिलेको प्रज्ञाप्रतिष्ठानको पहिलो नाम नै ‘गोरखा भाषा प्रकाशिनि समिती’ भन्ने थियो । त्यही ‘गोरखा भाषा’ पछि आएर ‘नेपाली भाषा’ भनेर नयाँ नाम दिईएकोछ र यही भाषा बिभिन्न भाषिक समुदाय वीच ‘माध्यम भाषा (Lingua franca)’ बन्न पुगेकोछ । जुन भाषामा अनेक जनजातिका भाषाहरु समेत मिस्सिएर बनेको हो । जुन नेपाल लगायत दार्जिलिङ, सिक्किम, भुटान, आसाम, मेघालय, मणिपुर हुँदै बर्मा (हालको म्यानमार) सम्म र पछिल्लो समयमा जहाँ जहाँ नेपाली पुग्दैछन् (अष्ट्रेलिया, यूके, हङकङ, आदि मुलुकहरूमा पनि) फैलिएको छ ।

यही माथि उल्लेखित ‘खस कुरा’ वा ‘गोरखा भाषा’ फैलाउँने काम १) भानुभक्तको (खस कुरामा अनुदित) रामायणले र २) पृथ्वी नारायण शाहले सरकारी कामकाजी भाषा बनाएपछि संभव भयो । किनभने खस जनजातिहरू जहाँ जहाँ पुगे त्यहाँ रामायणका श्लोकहरू वाचन गरेर सुन्ने सुनाउँने काम गरे भने पृथ्वी नारायण शाहको शासन प्रशासन जहाँ जहाँ पुग्यो त्यहाँ ‘गोर्खा भाषा’मै सरकारी आदेश-पत्र आदि लेख्ने र लेखाउँने सरकारी संयन्त्रले गर्दै गयो ।

अहिले पछिल्लो समयमा ‘नेपाली’ भनिने भाषालाई ‘भारोपेली (Indo-European) भाषा परिवारमा भाषा शास्त्रीहरूले राखेका भएपनि यो (खस, गोर्खा हुँदै ‘नेपाली’ बनेको) भाषालाई ‘चिनीया-भोट-बर्मेली (Sina-Tibeto-Burmese) भाषा परिवारका अनेक शब्दहरू समेत मिस्सिएर बनेको भाषा हो भन्न सकिन्छ भन्ने कुरा माथि उल्लेख गरिएका बिभिन्न (मगर, गुरुङ, नेवार, राइ, लिम्बु, भोटे) भाषाका शब्दहरूको उदाहरणले नै प्रष्ट पार्दछ ।

No comments:

Post a Comment