Monday, July 24, 2017

आत्मकथामा सामाजिक ईतिहास



मित्र प्राडा केआर खम्बुको “स्मृतिका तरेलीहरू”को पाण्डुलिपि रुचिपूर्वक पढेँ । यसको शिर्षक ‘सँस्मरण (Memoir) जस्तो लाग्छ तर यो ‘आत्म कथा (Autobiography) हो जसले एक कालखण्डमा नेपालको विद्यार्थी तथा राजनीतिक आन्दोलनको सत्यकथा समेत कहन्छ । मन्तव्य अनुरोध मुताविक मेरा इम्प्रेसनहरू लेख्दैछु । आत्मकथा किन लेख्ने? शायद - (१) कस्तो जीवन भोगियो? के के काम गरियो? भन्ने कुराहरूलाई अभिलेखिकरण गर्न; (२) आफ्नो विगतका गल्ती कमी-कमजोरी र आफु प्रति गलत बुझाईहरू ‘रिकन्साइल’ गर्न; (३) पुस्तक विक्रीबाट पैसा कमाउँन; (४) आफ्ना अनुभवले नयाँ पुस्ता-सन्तानलाई सूचित-प्रशिक्षित गर्न । तथापी, नं ३ चाहीँ खम्बुजीको हकमा कम लागु होला तर अन्य वुँदाहरू उतिकै ‘भेलिड’ हुनुपर्छ ।

खम्बुजीले गरेको तीन काम (क) प्रगतीशील विद्यार्थी राजनीति ; (ख) माले तथा (हाल) एमालेको पक्षमा राजनैतिक सहयोगी; र, (ग) अनुसन्धाता तथा शिक्षक । हिन्दु सम्राटको निरंकुश पञ्चायती व्यवस्थाको बेला भूमिगत रुपमा रहेको मालेको विद्यार्थी ‘फ्रन्ट’को एक विद्यार्थी नेता, माले-एमाले कार्यकर्ता र एक अनुसन्धाता तथा ईमान्दार शिक्षकका तीन पक्षिय अनुभवहरू  बाटिएर  “स्मृतिका तरेलीहरू” एक चुल्ठीझैँ बनेकोछ । अनेरास्ववियू र माले-एमालेको ईतिहास खोज्नेहरूको निम्ती एक कालखण्डको अनेक सूचना दिने गहकिलो सन्दर्भ ग्रन्थ (Reference document) पनि बनेकोछ । गाउँ तहको स्कुलदेखि विश्वविद्यालय सम्मका विद्यार्थीहरू कसरी संगठित भएर निरंकुश पञ्चायत फाल्न लागेका हुन्थे? तिनलाई कसले परिचालन गर्दथ्यो? भन्ने कुराको सजीव सामाजिक ईतिहास (Social History) को रुपमा पनि यो पुस्ताक तैयार भएकोछ । 

विज्ञान (Physics) भन्छ - खरबौँ Subatomic particles हरूको अति सुक्ष्म गती तथा Interactions ले धर्तीमा र सारा ब्रम्हाण्डमा परिवर्तनहरूको स्वरुप निर्धारण गर्न योगदान गरिरहन्छन् । पूर्वीय चिन्तकहरू पनि हरेक व्यक्ती-व्यक्तीका वुद्धि (Intellect), मानस (Brain), अहंकार (Sense of identity) र चित्त(Intelligence) हरूको Interactions तथा ‘कोअर्डिनेटेड’ चिन्तनहरूको गतिशीलताले जीवन र जगतमा हुने परिवर्तनको स्वरुप निर्धारण गर्दछ भन्दछन् । अर्थात, नेपालको परिवर्तनलाई पनि गाउँ, बस्ती, शहरका अनेक गतिशील भइरहने भित्री लाखौँ चिन्तन र ती चिन्तनहरूले पैदा गरेको गतीले निर्धारण गर्ने हो । खम्बुजीको यो पुस्तकमा उनी आफु सकृय हुँदाका बखत सन्सारको एक मात्र हिन्दु सम्राटको सामन्ती निरंकुश पञ्चायती शासनका बिरुद्ध ती Subatomic particles तहका लाखौँ-लाख सामाजिक, राजनैतिक लगायतका तत्वहरु मध्ये विद्यार्थी ‘फ्रन्ट’को एउटा तत्वले के कसरी समाजका अन्य तत्वहरूसँग Interactions गर्दै परिवर्तनको गतीलाई अघि बढाउँने काममा निरन्तर योगदान गरेको थियो भन्ने कुरालाई आफ्नै संलग्नता सहितको सत्य-तथ्य विवरणहरू ‘डकुमेन्टेड’ भएकाछन् ।

खम्बुजीको व्याक्तीत्व मुल रुपमा एक Science Scholar हो । लेखकका रुपमा उनको “मेरो अनुसन्धान यात्रा (२०६८)”मा पहिलो पटक चिनेको हुँ । यी दुइ कृति पढिसकेपछि शैलीगत रुपमा खम्बुजीको लेखाईलाई पनि (देवकोटाले भनेझैँ)  ‘पोथी गद्य’ रहेछ भनि बुझेँ । हरेक मसिना-मसिना तथा सुक्ष्म कुराहरू, घटनाहरु ‘डिटेल’मा अभिलेख गर्ने र तिनको आफ्नो भावनात्मक संबन्धलाई समेत अन्तरघुलित गरी सिकेका कुरा सहित अभिव्यक्त गर्ने । यो शैलीले मानिसहरूलाई ‘हार्डकोर’ तथ्यहरू पेश गरेर पाठकका संवेदना समेतमा छोएर कहिले भावुक बनाउँछ त कहिले जोस-जाँगर भरिदिन्छ । पढुँपढुँ लाग्छ, तानिरहन्छ, बोर लाग्दैन । पढेपछि खम्बुजीको अनुभवहरूबाट पत्तैविना केही न केही सिकिन्छ जुन शैलीगत एप्रोचलाई Positive deviance (Jerry and Monique, 1990s) भनिन्छ । यो एप्रोचमा ठूला-ठूला सैद्धान्तिक ‘बम्ब्लाष्ट’ नगरी नजिकैको सकारात्मक उदाहरण पेश गरेर शुलभ किसिमले सिक्नेका निम्ती ‘कन्ड्यूशीव’ वातावरण तैयार गरिन्छ । खम्बुजीको शैलीगत विशेषतामा यो पनि एक पक्ष रहेकोछ । सन्सारका ठुल्ठूला विद्वानका सैद्धान्तिक कुरा नगरी आफ्नै वरिपरिका ‘सक्सेस केश’ या ‘पोजिटिभ तथा क्रिटिकल ईन्सिडेन्सेस’हरूको प्रमाण पेश गरेर पाठकहरूको निम्ती सिक्ने प्रकृयालाई ‘फसिलिटेट’ मात्र गर्छन् केआर खम्बु । सकारात्मक तर रैथाने उदाहरण दिएर मानिसको चित्तको तहमा परिवर्तनको वीउ छर्ने, उमार्ने र फलाउँने ‘मेथड’ हो यो । मानव ‘एटिट्यूड’मा परिवर्तन गर्नको निम्ती सबैभन्दा शसक्त विधी मध्ये एक यो पनि हो ।

मेरो पढ्ने रूचीमा ईमान्दार मानिसका आत्मकथा (Autobiography) पनि हो । मेरा निम्ती केआर खम्बु सबैभन्दा पहिले एक ईमान्दार मानिस हुन् । अरु गुण त त्यही मानिसका कमाई हुन् । मैले खम्बुजीका ‘बोनाफाइड’ कृतिहरूमा ‘जेनुइन’ कुरा हुनुपर्छ भनेर पढेँ । मेरो Expectation कहिले पनि mismatch भएन । आफ्नै ‘डिजाइन’ मुताबिक एक ईमान्दार व्यक्तीको रुपमा जीवन विताएकोमा खम्बुजीलाई –क्यावात !! त्यसपछि, कृतिहरू मार्फत आफ्ना अनुभवले अरुलाई पनि प्रशिक्षित गर्ने काम गरेकोमा – स्याब्बास  यार !!!

केआर खम्बुसँगको संगत, उनको जीवन र दुइ कृतिबाट मैले हासिल गरेका सकारात्म उर्जाहरूको सूचि यस्तो छ -
१। सबैभन्दा पहिले मानिस ‘ईमान्दार’ हुनु पर्छ । ईमान्दार मानिसको ‘गहना-गुण’ भनेको जहिले पनि सकारात्म किसिमले सोच्ने र सोही अनुसारको कार्य शैली (Appreciative Inquiry by Cooperrider, Srivastva and Diana Whitney, 1996) अपनाउँने हुन्छ ।  बेइमानी र नाईन्साफी गरे त सम्राटलाई पनि सिंहाशनबाट गलहत्याएर जनताले लखेट्छन् ।

२। हरेक मानिसले आफ्नो डायरी नियमित लेखी जोगाएर राख्ने आफ्ना अनुभवहरूको पुस्तक लेख्ने बेलामा यी डायरीले ‘डाटा वेश’को काम गर्छन् ।

३। जहिले पनि आफ्नो उद्देश्यतिर लागिरहनु पर्छ । खम्बुजीले नेत्र-दृष्टि गुमाएपछि पनि यत्रा ठुल्ठुला किताब लेखे । यो उनको निरास नभई लागिरहने संघर्षशील स्वाभावकै नतिजा हो । जीवनमा सास ‘ईन्हेल र एक्सहेल’ गर्दा समेत हामी संघर्ष नै गरिरहेका हुन्छौँ । कुनै दिन त ‘निषेधको निषेध (Law of negation of the negation by G. Hegel) नियम अनुसार पञ्चतत्व (फृथ्वी, जल, अग्नी, वायु र आकाश) मा फिर्ता हुनेछौँ । तर फेरि पनि Subatomic particles मा परिणत भएर पनि निरन्त्र परिवर्तनको निम्ती कृयाशील हुनुनै छ । तथापी यो जुनीमा आफ्ना अनुभवहरू लेखेर छोडिराखे समाज परिवर्तन प्रकृयामा कहीँ-कतै गती थपिरहन पुस्तकले हाम्रो वारिसको काम गरिरहन्छ ।

४। कम्बुजीको काम गर्ने एप्रोच जहिले पनि self-fulfilling prophecy (Robert K. Merton) रहने गरेको मैले देखेको हो । जस अनुसार ‘यो काम हुन्छ हुन्छ भनी सोचेर गरे सफल हुन्छ तर ‘यो काम सफल हुन्न क्यारे भन्ने मनमा सोच्दै काम गरे असफल नै हुन्छ । मानिसले “सफलता” र “असफलता” दुबैबाट सिक्नु नै अघि बढ्दै जाने कडी पनि हो । खम्बुजी कुनै पनि काम गर्दा ‘यो काम हुन्छ’ भन्ने विश्वासको उर्जा आफ्ना सारा वुद्धि, मानस, अहंकार र चित्तमा भरेर लाग्ने मानिस हो । यसको परिणाम प्राय राम्रो हुन्छ र यस एप्रोचमा काम गर्नेको निम्ती कुनै असफलता भोग्न परे पनि त्यसबाट ‘लर्निङ पोइन्ट’ खोजेर भविश्यको निम्ती आफुलाई एडुकेट गर्छन् । यो कुरा पनि खम्बुजीको विशेषताको रुपमा मैले Observe गरेर उहाँबाट थोर बहुत उर्जा लिने गरेको छु । नत्र मानिसमा Learning disability (Joseph K. Torgesen 1986) सुरु हुन्छ र ज्युँदै मर्छ ।

मैले छानिछानि Autobiography Biography हरू पढेकोछु । नेपालका Autobiography लेखकहरू (प्रो सुरेशराज शर्मा र हिमालय शम्सेरका बाहेक)को पुस्तक पढ्दा यो मुलुक र सन्सारै उनैले थामेजस्तो गरी लेखेका हुन्छन् । सारा गुणैगुणले भरिएका स्वस्थानीमा वर्णित हमादेवको कथा जस्तै । खम्बुजी यस किसिमको क्यान्सरिलो रोगबाट केही हदसम्म मुक्त छन् । जीवनका हरेक पल र लेखनमा समेत सँधै बलियो साथ दिने उनकी जीवनसँगी शुभलक्ष्मीलाई पनि यो पुस्तकका अनेक पन्नामा उपस्थित रहेको पाएकोछु । यो पुस्तक शुभलक्ष्मी र केआर खम्बुले आधा-आधा लेखेर (भैरव रिसालको आत्मकथा “शुसिला भैरव” जस्तै) एउटा कृतिको रुप दिए गज्जब हुने थियो भन्ने मलाई लागि रह्यो । शायद हामी पुरुषहरू जतिसुकै प्रगतिशील र ‘समानता’को कुरा गरेपनि श्रीमतीलाई Taken for granted लिन्छौँ ।

नेपालमा पुस्तक पढ्ने सँस्कृति कमजोर छ । एउटा पण्डितले पुस्तक बाँचेर सुनाउँने र अरुले हप्तादिन हात जोडेर सुन्ने सँस्कार भएकोले पण्डित एकजनाको पुस्तकले नै सैयौँलाई पुगिहाल्छ । किनेरै त थोरैले पढ्छन् । खम्बुजीका किताब जतिले पढलान् उनले ‘बेकारमा मेरो समय खेरो गयो’ किमार्थ भन्ने छैनन् ।

विक्रम सुब्बा
शंखमूल, काठमाण्डु, नेपाल (२०७३ फागुन २५)

No comments:

Post a Comment