Saturday, May 28, 2016

सामन्तवादको धरोहर मिसोजनीज्म (Misogynyism): “स्त्रीहेलावाद” (विक्रम सुब्बा)


अवधारणा - कुनै पनि युवती वा महिलालाई देख्नै नसक्ने, मन नपराउँने वा घृणा गर्ने भावना “मिसोजनिज्म” अर्थात “स्त्रीहेलावाद” हो । यो भावना व्यबहारमा अनेक किसिमले प्रकट हुने गर्दछ । जस्तैः यौनका आधारमा महिलालाई अपहेलना गर्ने वा विभेद गर्ने, महिला प्रति नकारात्मक सोचाई राख्ने, पुरुष सुप्रीम हुन् आईमाई भनेका खुट्टाका जुत्ता हुन् भनि ठान्ने अवधारणा, महिलालाई कमजोर वा केही गर्न नसक्ने वा कफल्ला प्राणी ठान्ने, महिलाका विरुद्ध हिंसा गर्नुलाई समाजमा अनुशासन कायम गर्नु हो र यो उचित छ भनि ठान्ने, महिलालाई सिरिफ यौन-खेलौना र वच्चा जन्माउँने मेशिन ठान्ने, आदि ।

“मिसोजनी महिला भएकै नाताले महिलालाई घृणा गर्न साँस्कृतिक अवधारणा हो । यो कुनै सामाजिक मुल्यको रुपमा धारणा बनेर बसेको (सबैभन्दा खतरनाक) हतियार हो जसको आधारमा पितृसत्तात्मक समाजका लोग्ने मानिसले महिलालाई दमन गर्ने कामलाई साँस्कृतिक बैधानिकता प्रदान गर्दछन् ।“ (एलेन जी जोन्सोन, समाजशास्त्री)

“मिसोजनी महिलाले नै महिलाको बिरुद्ध हेला गर्ने दुर्भावनामा वा आफ्नै शरिर “स्त्री” भएकोमा पटक्कै मन नपरेको भावनामा समेत प्रकट हुने गर्छ । यो पितृसत्तात्मक प्रणाली व्याप्त भएको घर-समाजदेखि कार्यालयहरूमा हजारौँ वर्षदेखिको साँस्कृतिक-भावनामा निहित रहेर दैनिक नीति निर्माणदेखि घर-समाज र कार्यालयहरूमा गरिने निर्णय प्रकृयामा जताततै उजागर हुने गर्छ । ‘मिसोजनिष्टिक भावना’ विसकित मुलुक भनिएको अमेरिकी हलीउड चलचित्रदेखि यूरोपका आधुनिक उपन्यास वा कथाहरूमा समेत व्याप्त देख्न सकिन्छ । यति सम्म कि अमेरिका र यूरोपका कतिपय पढेलेखेका र शिक्षित आधुनिक महिलाहरूमा समेत मिसोजनीकाई स्वीकार गरेको पाईन्छ ।“ (माईकल फ्लड, समाजशास्त्री)

एरिष्टोटल मिसोजनिष्ट थिए भनेर उनको निम्न विचार अघि सारिन्छ - “लोग्ने मानिसको हिम्मत स्त्रीहरूलाई अदपमा राख्न सक्नुमा निहित हुन्छ भने स्त्रीहरूको हिम्मत पुरुषहरूको हुकुम खुरुखुरु शिरोधार्य गर्नुमा निहित रहेकोछ । कुनै पनि स्त्री एक पुरुषको साथबिना अपुरो-अधुरो हुन्छे, ईन्फेरियर हुन्छे । तेसैले एक स्त्री पात्रलाई कुनै पनि नाटकमा “बहादुर” या “चलाख” य “सक्षम” देखाईयो भने नाटक सफल “ट्रेजेडी” बन्दैन ।“

धर्महरूमा मेसिजनी – ‘वुद्ध मार्ग पनि सोचेकैजस्तो न त कम यौनवादी छ न त समतावदी नै छ । वुद्ध मार्गले पनि आमाहरु र श्रीमतीहरूलाई के के काम गर्ने भनि तोकिदिएको हुन्छ ।‘ (बर्नार्ड फाउर, कोलम्बीय विश्वविद्यालय) । ‘ईसाई धर्ममा मिसोजनी धरोहरका रुपमा रहेको कुरा चर्चको हरेक पुजारीहरूलाई Fathers भनेकैबाट पनि पुष्टि हुन्छ ।‘ (K. K. Ruthven, Feminist Literary Studies: An Introduction) । ‘स्त्री भनेका ‘भूत-प्रेतका द्वार’ त हुँदै हुन् यी फोहर नालीमाथि खडा भएका मन्दिर पनि हुन् ।‘ (ईसाई लेखक Tertullian) । ईस्लाम अनुसार – ‘लोग्ने मानिस स्त्रीजातिका रक्षक हुन् किनभने अल्लाहले पुरुषलाई महिलाभन्दा अघि बढ्नेगरी भनेर नै सृष्टि गरेका हुन् र स्त्रीहरूलाई पुरुषका आज्ञाकारी हुन सृष्टि गरेका हुन् ।‘ यो कुरा बंग्लादेशका ताज हास्मीको अध्ययनले पनि ईस्लाममा मिसोजनी सबैभन्दा खराब रुपमा विद्यमान रहेको पाईएकोछ ।

दार्शनिकहरू - एरिस्टोटलले स्त्रीजाति भनेको पुरुषकै “खराब स्वरुप” हो भनेका थिए । उनले Politics नामक पुस्तकमा लेखेकै छन् – ‘पुरुषहरू स्वभावैले “सुपेरियर” हुन्छन् र स्त्रीहरू “ईन्फेरियर” हुन्छन् । पुरुषहरू शासक हुन जन्मेका र स्त्रीहरू शासित हुन जन्मेका हुन् ।‘ जीनज्याक रुस्सोले “एमीले”मा लेखेकाछन् – ‘कुनै न कुनै तर्क वा कारणका साथ जसरी पनि स्त्रीजातिमाथि अनेक बोझहरू लाद्ने काम गर्नु पर्छ । स्त्रीजातिलाई बाल्य कालदेखिनै अनेक बाधा-अवरोधहरूमा बस्न तालिम देउ ताकि उनले आफुलाई पुरुषहरूका समक्ष समर्पित गरुन् । अर्थात, स्त्रीजातिलाई घरमै कैद गरेर राख । स्त्रीजातिले पिता र पतिको निर्णयलाई चर्चको निर्णयजस्तै सिरोधार गर्ने बनाउ ।‘ चर्ल्स डार्विनले The Descent of Men नामक पुस्तकमा लेखे – ‘प्राणीको विकास क्रममा स्त्रीजातिको तुलनामा पुरुषहरू प्रगतीशील देखिए । बालबालिका र स्त्री जातिको गिदी नै कम हुन्छ जसले गर्दा उनीहरू “तर्क” भन्दा पनि ‘ईन्स्टिंक्ट’का आधारमा चल्छन् ।‘ डार्विनको यो कुरा वैज्ञानिकहरूका वीच फैलियो र प्रोफेशर कार्ल भोग्टले त ‘स्त्रीजातिहरू पशुको नजिकका मनुस्य हुन् । तेसैले वौद्धिक रुपमा उनीहरू कमजोर हुन्छन् ।‘ समेत भन्न पुगे । आर्थर स्कोपेनहाउरले भनेका थिए – ‘स्त्रीजाति सानो चित्तको ‘वर्तमान’मा मात्र बाँच्ने किसिमका हुन्छन् । स्त्रीजातिको काम नै बच्चा जन्माउनु मात्र हो । स्त्रीजातिको यही गुणले गर्दा नै लोग्ने मानिसलाई मायाजालमा फसाएर नियन्त्रण गर्न सक्छन् ।‘ फ्रेडेरिक नित्सेले ‘सँस्कृतिको विकासको निम्ती स्त्रीजातिलाई कठोर किसिमले नियन्त्रनमा राख्नु पर्छ’ भन्दै अघि अझ भने – ‘तिमी कुनै स्त्रीजातिलाई भेट्न जाँदैछौ भने कोर्रा पनि लैजान नभुल्नु ।‘

ईन्टरनेटमा मिसोजनी – अहिले नेट, च्याट, एसएमएस, फेसबुक र यूट्युबमा मिसोजनी छ्याप्छ्याप्ती व्याप्त रहेको छ । कैयौँ महिलाहरूलाई उत्ताउलो र भल्गर टेक्स्ट लेखेर पठाउँने, अनेक अश्लील सामग्री महिलाहरूलाई बेनामी पठाउँने काम करौडौँ पुरुषले गरिरहेकाछन् । यसका बारेमा खपिनसक्नु भएपछि केही महिलाले (जस्तैः अनिता सारकीनसियन, क्यारोलिन क्रियाडो पेरेज, स्टेला क्रिजी र लिण्डी वेष्ट, आदि) मुख खोलेर बिरोधै गरे ।

फेमिनिष्ट सिद्धान्त - Madonna–whore complex अनुसार स्त्रीजाति कि “आमा” हुन् कि “वेश्या” हुन् । त्यो बाहेक केही होइनन् । यो मनोविज्ञानको कुरा सिगमण्ड फ्रायडले उल्लेख गरेकाछन् । अझ अर्को मनोविज्ञानका अनुसार लोग्ने मानिसहरू “भर्जिन वेश्या” खोज्ने रोगी पनि हुन्छन् । यसैकारण ‘मिसोजनी’ मानव डीएनए मै व्याप्त रहेको देखिन्छ । फेमिनिष्ट सिद्धान्तकार मेरलिन फ्रेईले मिसोजनीलाई phallogocentric (पुरुषहरूको विचारलाई नै केन्द्रविन्दुमा राख्ने विचार) हो भनेकाछन् । पछिल्ला फेमिनिष्टहरूले मिसोजनी पितृ सत्तात्मक सामजिक संरचनाको “कारण र प्रतिफल” दुबै हो भनेर उल्लेख गरेकाछन् ।

दक्षिण एसियामा मिसोजनी भारत, बांग्लादेश, पाकिस्तानमा मिसोजनीको एउटा घटिया स्वरुप “ठिटी जिस्क्याउँने (Eve teasing) रहेकोछ जुन पुरुषहरूले बाल्य कालदेखिनै सिक्छन् र यो “केटा”हरूद्वारा सडक, गल्ली, बस स्टप, सांस्कृतिक कार्यक्रम स्थल, मन्दिर, आदि सार्वजानिक ठाउँमाहरूमा गरिने मिसोजनिष्टिक यौन हिंसा हो ।

भारतमा मिसोजनी- अहिले आएर मिसोजनिष्टिक अवधारणा हिन्दी फिल्महरूमा जतासुकै छताछुल्ल देख्न पाईन्छ । कतिपय सिनेमामा त महिलालाई सिरिफ “नांगो नाच” वा “तिघ्रा देखाउँन” वा “अंग प्रदर्शन”को निम्ती मात्र भाडामा लिए सरह देखिन्छ । यसले हरेक दर्शकहरूमा ‘महिला भनेका पुरुषको निम्ती मनोरन्जनका साधन हुन्’ भन्ने धारणागत सन्देश दिएर “मिसोजनीज्म” फैलाईरहेछ । यस्तो किन हुन्छ? किनभने फिल्मको स्कृप्ट लेख्ने पुरुष, डाइरेक्टर पुरुष, कोरियोग्राफर पुरुष, एडिटर पुरुष, प्रोड्यूसर पुरुष भनेपछि यस्तो नभएर कस्तो हुन्थ्यो र? अर्थात मिसोजनिष्टहरूले नै मिलेर बनाएको फिल्म तेस्तै हुने नै भयो ।

 

भारतमा दिनदिनै महिलालाई बलात्कार गरेर मारेर फालिन्छन् । केही सजाय हुँदैन । यसले महिला त सिरिफ “यूज एण्ड थ्रो” गर्न सकिने “माल”को रुपमा मात्र हेर्ने अवधारणाले जरा गाड्ने नै भयो । हुँदा हुँदा भारतमामहिलाहरू पनि छोरीप्रति मिसोजनिष्टिभएर गर्भमा आएको छोरीलाई फाल्ने, छोरीलाई आमालेनै हेला गर्ने जस्ता भयानक अनैतिक कमा गरिरहेको जताततै  व्याप्त देखिन्छ अनेक महिलालेस्त्रीको जन्मलाई श्रापको रुपमा महिलाले नै  मान्ने गर्दछन्


शायद, भारतका सबैभन्दा खतरनाक ‘मिसोजनिष्ट’ मनु हुन् जसले मनुस्मृती मार्फत अनेकौ मिसोजनिष्टिक अवधारणालाई सनातनी सामाजिक कानुनका रुपमा विकास गरे । जस्तैः ‘पुत्री, पत्नी, माता या कन्या (युवा या वृद्धा जुनसुकै उमेरका भएपनि नारी)लाई स्वतंन्त्रता दिनु हुन्न । (अध्याय-९ श्लोक-२-६); “पतिले पत्नीलाई त्याग्न, कंगाल बनाएर राख्न  वा बेच्न पनि सक्छ । तर, कुनै पनि स्त्रीलाई यो अधिकार दिईएको छैन । विवाहपछि, हर हालतमा पत्नीले पतिकै पत्नी भएर आजिवन रहनु पर्छ । (अध्याय-९ श्लोक-४५); “संपति र अधिकारका हिसाबले शूद्रको स्त्रीहरू पनि "दास" हुन् । कुनै पनि स्त्रीहरूलाई सम्पती राख्ने अधिकार हुँदैन । स्त्रीहरूका संपतिको मलिक पनि उनका पति, पूत्र, या पिता मात्र हुन्छन् । (अध्याय-९ श्लोक-४१६) । (विस्तृत हेर्नुहोस् -http://esamata.com/2015/culture/मनुस्मृतिका लेखक-मनु )

मासमिडियामा मिसोजनी- अहिले सन्सारभरकै मासमिडियामा मिसोजनी व्याप्त रहेको देखिन्छ । जस्तैः यौनजन्य चलचित्रमा महिलालाई “बस्तु”का रुपमा प्रयोग गरेको; सन् २००१ मा गरेको अध्ययन अनुसार “र्‍याप म्युजिक”मा २२% गीतहरू मिसोजेनिष्ट पाईए; रक म्यूजिकका ५७% गीतहरूमा पुरुषलाई महिलाको अभिभावकका रुपमा वर्णन गरिको पाईयो; भिडिओ गेममा ८०% महिलालाई यौन साधनको रुपमा प्रस्तुत गरिएका छन्; एउटा अध्ययनले (करीब करीब हलिउड फिल्मले जत्तिकै व्यापार गर्ने) पोर्नोग्राफी हेर्ने पुरुष अन्यभन्दा डबल आक्रामक भएको पाईयो; महिलालाई अन्याय हुँदा संप्रेशण गरिने समाचार र पुरुषबारे संप्रेशण गरिने समाचारमै पनि फरक फाइन्छ; हरेक मिडिया हाउसमा महिला पत्रकारलाई कमजोर बिट्सको जिम्मा दिईन्छ । कान्तिपुर दैनिकमै महिला पत्रकारलाई पुरुष सहकर्मीले अभद्र व्यबहार गरेको कुरा छरपष्टै भएको नेपालमै देखियो, आदि ।

राजनीतिमा मिसोजनी- राजनीतिमा पनि मिसोजनी  प्रकट भएको देखिन्छ । जस्तैः भारतमा चलचित्रका हिरोईनहरूलाई चुनावमा उठाउँने र चुनाव र्‍यालीमा, भीड जम्मा गर्न, घुमाउँने गरेको पाईन्छ । तेस्तै अमेरिकामा पनि सारा पाउलीनलाई पनि “राम्री” र “आकर्सक” भएकैले उपराष्ट्रपतिको उम्मेद्वार बनाईएको थियो । नेपालमा हिरोईनसँग प्रचंण्ड नाचेर मानिसको ध्यान खिच्ने काम गरेकै हो । हालै बाबुरामको पार्टीले पनि महिला सिने कलाकारलाई सदस्य बनाएर धेरै मानिसको ध्यान खोच्ने रणनीति अपनाएकै हो । राजनीति र पार्टीमा सून्य योगदान भएका महिलाहरूलाई “आकर्षण” कै निम्ती आफ्नो पार्टीको माथिल्लो तहमा नियुक्त गर्नु योगदानको आधारमा नभएर ‘मिसोजनिष्टिक’ सोचाईबाट मात्र प्रेरित भएको कुरा हो ।

महिला राजनीति कर्मीहरूलाई पुरुष सहकर्मी र कामरेडहरूले जे जे भन्यो त्यही त्यही मान्ने बनाएको यही नेपालमा जताततै देखिन्छ । कैयौँ उपभोक्ता समूहहरूमा श्रीमती सदश्य रहेको तर बैठकहरूमा श्रीमान गएर भत्ता थापेको कुरा यहीँ बेस्सरी चलेकोछ । श्रीमतीको नाममा घर-जग्गा राखेर श्रीमानले नै बेचबिखनको निर्णय गर्ने गरेको पनि जताततै नेपालमा व्याप्त देखिन्छ । सन्सार प्रसिद्ध घटना एकपटक मौमरगद्दाफीले बृटिश प्रधानमन्त्री मार्गरेट थ्याचरको सन्दर्भमा भनेका थिए – ‘कुनै पनि महिलालाई पुरुषले यो गर नभने सम्म आफै गर्दैनन्’ भनेर तात्कालिन अमेरिकी राष्ट्पति रोनाल्ड रेगनले अराएपछि मात्र थ्याचरले गर्ने हो भन्ने कुरा उजागर भएको थियो ।

के भइरहेछ? - सन् २०१६ को चुनावका निम्ती रिपब्लिकन पार्टीको तर्फका प्रत्याशी अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले मानिसहरूलाई मिसोजनीका बारेमा केही मतलब छैनभनेर आफ्नो अडान (Position) प्रष्ट पारे । तर डेमोक्रेटका प्रत्यासी हिलरी क्लिन्टनले ‘मिसोजनी’को प्रेतका बिरुद्ध लड्नु पर्छ ।‘ भनिन् । अर्थात, अझै पनि पुरुषहरू ‘मिसोजनी’लाई नराम्रो मान्दैनन् तर महिलाहरु ‘मिसोजनी’ महिला मुक्तीको बाटोमा खराब (अमेरिकामा समेत) बाधा-अडचन हो यसलाई जतिसक्यो छिटो हटाउँनु पर्छ‘ भन्ने काम गरिरहेछन् ।

नेपालमा २००७, २०१७, पंचायत, प्रजातन्त्र, दशवर्षे जनयुद्ध वा गणतन्त्र आदिमा जो-जसले परिवर्तनका कुरा गरेपनि “राजनैतिक परिवर्तन” मात्रको कुरा हो । राजनीतिमा गणतन्त्र आयो होला । अर्थतन्त्रमा पुँजीवादले कब्जा गर्‍यो होला । तर, नेपालीहरूको हरेक घर र घरका हरेक कोठाकोठामा बस्ने मानिसहरहरूको मलिलो दिमागमा सामन्तवादी धरोहर ‘मिसोजनी’ मनिप्लाण्टजस्तै सप्रिएकोछ । नेपालका शासकहरू भनेका गणतन्त्रको गीत गाउँदै पुँजीवादी फेशनमा सजिएर सामन्ती संस्कृतिक डबलीमा नाचिरहेका नकटा जस्ता लाग्छन् ।

नेपालको सँस्कृतिमा मिसोजनी- मातृ सत्तात्मक प्रथा समाप्त गरेर पुरुषहरूले  शासन शक्ती हत्याएपछि “मिसोजनी’ हरेक पुरुष र केही महिलामा धर्मले, दार्शनिकहरूले, गुरुहरूले, मासमिडियाले, शिक्षाले, समाजले दिमागमा कोचिकोचि हालिदिएको अवधारणा वा चिन्तन हो जसबाट हरेक पुरुष नेपाली परिचालित हुनेगर्छ ।  मिसोजनी महिलाहरूलाई दबाएर राख्ने सामन्तवादको (अनेक मध्ये एक) धारिलो सांस्कृतिक हतियार हो ।

नेपालमा विद्यमान सँस्कृतिहरूमा ‘मिसोजनिष्ट’ धारणा के कस्तो रुपमा रहेको छ? भन्ने बारे अध्ययन गरिएको छैन । भारतकै तथ्यहरूलाई “प्रोक्सी सूचक” मान्ने हो भने हरेक दिन हेरिने भारतका सिनेमा र सिरियलहरू, हरेक साँझ बिहान पढिने धर्म ग्रन्थहरू, दिन रात पुजिने देवी देउताहरू, बैकुण्ठ बासको लागि र पाप मुक्तीका निम्ती धाईने तीर्थ-वर्त गर्ने स्थानहरू र देवालय-मन्दिरहरू, गाईने भजन-फिल्मी वा सुफी वा गीत-गजलहरू, जन्मिँदा-मर्दा गरिने उत्सब र कृया-पकृया-प्रोटोकलहरू, व्यापार-व्यवसायसँग जोडिएका सम्बन्धहरू आदिका प्रभावलाई ध्यानमा राखेर भारतमा जे जस्तो ‘मिसोजनी’ व्याप्त छ र नेपालमा पनि करीब करीब उस्तै ‘मिसोजनी’ विद्यमान छ भन्न सकिन्छ । नेपालका (करीव करिव) सबै जातजातिको संस्कृति (सामान्यतया), “पुरुषप्रधान” र “पितृसत्तात्मक” रहेकोछ । जुन सामन्ती युगले पुरुषहरूको मनोविज्ञानमा स्थापित गरेको सांस्कृतिक मुल्य,  मान्यता, प्रचलनको नाममा महिलाहरूलाई कज्याएर राख्ने धारिला हतियार हुन् । अर्थात, नेपालमा पनि “स्त्रीहेलावाद”(मिसोजनीज्म) को संस्कृति व्याप्त छ भन्न “ईम्पिरिकल डाटा” संकलन गरेर विश्लेषण गरिरहनु पर्दैन । यहाँका समाज र संस्कृतिहरूमा “छोरी”, “श्रीमती”, “महिला”लाई कुनै न कुनै किसिमले हेय दृष्टिले हेर्ने सामन्ती अवधारणा विद्यमान छ । केही अहिले नै समाजले दिनदिनै भोगिरहेका प्रथागत सूचकमा नै हेर्ने हो भने पनि १) “बोक्सी”को अवधारणा; २) अलच्छिनी-डंकिनीको अवधारणा; ३) छाउपडीको अवधारणा; ४) छोरीको विवाहमा ज्वाइँलाई दहेज वा तिलक तिर्ने अवधारणा; ५) छोरी भनेको “अर्काको घर जाने जात” भन्ने अवधारणा; ६) छोरालाई बोर्डिङमा, छोरीलाई सरकारी स्कुल पढाउँने अवधारणा; ७) छोरालाई अमेरिका र छोरीलाई दक्षिण भारत वा नेपालमै कलेज पढाउँने सोच; ८) महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक (ज्वलन्त एक उदाहरण  - चलचित्र खेल्दा पुरुष र महिला कलाकारले पाउँने पारिश्रमिक) दिने अवधारणा; ९) ५१% प्रतिशत महिलालाई ३०% मात्र सिट छुट्याउँने अवधारणा; १०) छोरीलाई अंश नदिने अवधारणा, आदि सबै मिसोजेनिष्टिक सोचकै प्रकटिकरण हुन् । नेपालमा (शिक्षाका पाठ्यक्रम मार्फत) सरकारले, राजनैतिक पार्टीहरूले, गैससहरूले, जातजातिका संगठनहरूले र मिडियाहरूले यी उल्लेखित १० वटा सामन्ती अवधारणागत कुप्रथाहरूको जरा नै उखेल्नेगरी जिल्ला-जिल्ला, गाउँ-गाउँ र शहर-शहरमा अभियान चलाए मात्र पनि १० वर्षमा नेपालीहरूको चिन्तनमा आमूल परिवर्तन आउँने पक्का छ । तर यहाँ यसो गरिन्न । किनभने सरकारमा वा पार्टीहरूमा वा गैससहरूमा वा मिडियाहरूमा समेत “मिडजनिष्ट”हरूकै कब्जा छ यी कुप्रथाहरुका विरुद्ध अभियान चलाउँनु भनेको आफ्नै स्वार्थ विरुद्ध हुन्छ भनेर उनले नबुझ्ने कुरै भएन । चेतना भया ।
----------   ------------------   ----------------
Ref
http://ecommerce-journal.com/2016/05/gop-chair-people-dont-care-about-misogyny-allegations/
https://en.wikipedia.org/wiki/Third-wave_feminism


Saturday, May 14, 2016

रेपारसन्स (Reparations) - विक्रम सुब्बा

रेपारेशन्स (Reparations)
विक्रम सुब्बा

१- के हो रेपारेशन्स?
अमेरिका, बेलायत आदिजस्ता गोरा जातिय नेतृत्ववाला शक्ती मुलुकहरूले विगतमा काला (र नेटिभ अमेरिकन समेत)हरूलाई ‘दाश’को रुपमा किनबेच गरेर युगौँ दाशत्वमा राखेर काला जातिहरूमाथि घोर अत्याचार गरे । दाशका रुपमा खरिद गरिएकाहरूले आफ्नो परिवार, समाज, जाति, देश, सँस्कृती, भाषा, धर्म, चाड-पर्व, उत्सव, खुशी, रमाईलो केही भन्न पाउँदैनथे । उनीहरूलाई पशुलाई जस्तै व्यवहार गरिन्थ्यो । यो गोरा जातिहरूको राज्य स्तरबाट गरिएका वदनियतपूर्ण मानव विरोधी ठुलो बर्बर हिंसाको युग थियो । त्यस्तो बर्बर अमेरिका र बेलायत लगायतका अपराधी मुलुकहरूलाई दण्डित गर्नु पर्छ र दाशत्वमा पारिएका जातिका सन्तानहरूलाई ती अत्याचारी मुलुकहरूले कुनै न कुनै किसिमको ‘हर्जाना(?)’ सजायका रुपमा भुक्तानी गर्नु पर्छ भन्ने अवधारणा सहित “रेपारेशन” आन्दोलन अमेरिका र बेलायतको विरुद्धमा चलेको धेरै भइसक्यो ।



साम्राज्यवादी-उपनिवेशवादी मुलुकहरूले कैयौँ मुलुकहरूलाई जबरजस्ती कब्जा गरेर उपनिवेश बनाएर ती मुलुकहरूको सभ्यता, उत्पादन प्रणाली, शिक्षा, कला, सँस्कृती, धर्म, ईतिहास, भाषा सबै ध्वस्त गर्ने अपराध पनि गरेका थिए । ती सम्राज्यवादी मुलुकहरूले उपनिवेश हुन बाध्य पारिएका मुलुकहरूका खानीहरूबाट सारा स्रोत (सुन, चाँदी, टीन, तेल, फलाम, आदि) लुटेर आफु धनी र सम्पन्न भए जसको आधारमा आज पनि उनका सन्तानले (शिक्षा, स्वस्थ्य, सम्पती, मान-सम्मान, आदि) खुसहाली कायम राखेकाछन् । यो शक्ती राष्ट्रहरू(बेलायत, फ्रान्स, पोर्तुगल, नेदरलेण्ड्स, स्पेन, गर्मनी, जापान)को खुशहाली उपनिवेशहरूलाई लुटेको बैभवको जगमा खडा छ । तसर्थ ती उपनिवेवादी मुलुकहरूले उपनिवेश बनाईएका मुलुकहरूमाथि अत्याचर गर्ने अपराधका निम्ती १) माफी माँग्नु पर्छ, र २) हर्जाना तिर्नु पर्छ भनेर पनि उपनिवेशबाट मुक्त मुलुकहरूबाट ‘रेपारेशन्स’को निम्ती आवाज उठिरहेकोछ ।

YouTube मा हेर्नोस्

२ - रेपारेशन्स आन्दोलन र माँगहरूः
सन् १९९९ मा “विश्व अफ्रिकन रेपारेशन्स र रेपारेशन ट्रुथ कमिशन”ले “the West” अर्थात साम्राज्यवादी-हैकमवादी मुलुकहरूलाई ५ वर्षभित्र ७७७ ट्रिलियन डलर दण्ड-हर्जाना तिर्न पर्ने भनेर ‘क्लेम’ गर्‍यो । सन् २००४ मा Lloyd's of London लाई अफ्रिकन दाशका (काला जातिहरूका) सन्तानहरूले रेपारेशन्सको निम्ती मुद्दा हाले । मुद्दाको सुनुवाई भएन । सन् २००४ मै जमैकाको Rastafari movement groups ले यूरोपेली मुलुकहरूले, खास गरी बेलायत, दाश-व्यापारमा संलग्न भएको अपराधमा ती काला दाशका ५ लाख सन्तानहरूलाई ७२.५ बिलियन पाउण्ड रेपारेशन्स (हर्जाना?) तिर्न पर्छ भनेर ‘क्लेम’  गर्‍यो । जुन ‘क्लेम’लाई बेलायती सरकारले “बिगत सयौँ साल अघि घटेका घटना वा गरिएका गल्तीका निम्ती वर्तमान सरकारलाई जवाफदेही बनाउँन सकिन्न” भनेर नकार्‍यो । तर यो नयाँ आन्दोलन रोकिएको छैन ।

अहिलेसम्म देखिएका कैरन अध्ययनका आधारमा हेर्दा रेपारेशन्स ५ किसिमका देखिन्छन् १) दाशत्व रेपारेशन (गोरा शासकले काला जातिलाई दास बनाए बापत); २) जातिसंहार रेपारेशन (जर्मनीका नाजीहरूले यहुदीहरुको जातिसंहार गरे बापत); ३) यद्ध रेपारेशन (प्रथम र दोस्रो विश्व युद्द लगायत ईतिहासमा एक पक्षले अर्को पक्षलाई युद्ध थोपरे बापत); ४) उपनिवेश रेपारेशन (कुनै शक्ती राष्ट्रले अर्को कमजोर राष्ट्रलाई उपनिवेश बनाएर त्यस मुलुकको दोहन-शोशण गरे बापतर; ५) यौन दाशत्व रेपारेशन्स (युद्धका बेला जित्नेहरूले हार्ने पक्षका महिलाहरूलाई कब्जामा लिएर आफ्नो शैनिक क्याम्पमा बन्दी बनाई यौन शिषण गरे बापत); र ६) घर-गाउँ तथा भूभाग दखलअन्दाज रेपारेशन (कुनै जातजातिका मानिसहरूको घर-गाउँ र जमीन-भूभाग कब्जा गरेर ती जातिजनजातिमाथि अन्याय गरे बापत) ।

३ - के के भयो त अहिले सम्म?
सन् २००६ नोभेम्बर २७ का दिन ईतिहासमा ‘दाशहरूको व्यापार’जस्तो अमानवीय काममा बेलायत संलग्न भएकोमा बहालवाला प्रधानमन्त्री टोनी ब्लेयरले खेद प्रकट गर्दै “आंशिक माफी” माँगे । यो कुरालाई अधिकारवादी अफ्रिकनहरूले यस्ता “खोक्रा कुरा” र लोलोपोतोले उठिरहेको गंभीर सवाल(Issue)लाई संबोधन नगरेको भनेर तुरन्तै नकारीदिए । प्रधानमन्त्री टोनी ब्लेयरले फेरि सन २००७ मार्च १४ का दिन पनि “माफी” माँगे ।
सन् २००७ कै अगष्ट २४ का दिन लण्डनका मेयर केन लिभिङ्ष्टनले लण्डनले ईतिहासमा ‘दाश-व्यापार’ गरेकोमा “दुःख” प्रकट गरे । यही लण्डनमा हेर्नोस्, दाशहरूको व्यापार गरेर मुनाफा कमाउँने गरेका केही सँस्थाहरू तिनै दाश-व्यापारबाट कमाएर स्थापित भए र अझैपनि धनी-मानी भएर फायदा लिईरहेकाछन्” लण्डनका मेयरले आँशु नै झारेर लण्डनकै Financial district तिर ईंगित गरेका थिए । मेयरले अझ थपे – ‘ईतिहासमा हाम्रा पूर्खाले ‘दाश-व्यापार’ गरेकाले मानव सभ्यतामा ‘दाश प्रथा’को शर्मनाक त्रास र घिन लाग्दो डरको धब्बा लण्डनको अनुहारमा कहिल्यै नमेटिने गरी टाँसिएकोछ ।‘ Jesse Jackson ले लण्डनका मेयरको यो पश्चातापयुक्त स्वीकारोक्तीको प्रशंसा गरे र भने – “लण्डनले ‘दाश’का (काला जातिका) एक एक सन्तानहरूसँग माफी माँगेर लण्डनले गरेको काला जाति बिरुद्ध गरेको मानवता विरोधी हिंसाको निम्ती रेपारेशन्स भुक्तान गर्ने पर्छ ।“

सन् २००७ मा गायना सरकारले नै यूरोपेली मुलुकहरूलाई रेपारेशन्स भुक्तान गर्न घोषितरुपमा आह्वान गर्‍यो । सन २०११ मा ‘जुन जुन मुलुकहरूले ‘दाश-व्यापार’ वा ‘दाश-प्रथा’ चलाएर ती काला जातिका परिवारहरू छुट्याएर वा बिखण्डन गरे, तहसनहस पारे, उनको व्यक्तीगत रुपमा, समुदायका रुपमा र जातिका रुपमा बाँच्न पाउँने मनावीय अधिकारनै ध्वस्त पारेर मानव क्षमता विकास समेत हुन नदिने किसिमको काला जातिमाथि हिंसा गरे त्यसको निम्ती ती अपराधी मुलुकहरूले रेपारेशन्स भुक्तान गर्नु पर्दछ’ भनेर Antigua & Barbuda ले United Nations मा आवेदन दिए ।

सन २०१२ मा जमैकाले ‘रेपारेशन्स आयोग’लाई फेरि पुनर्गठन गरेर बेलायतले काला जातिको ‘दाश-वयापार’ गरे बापत रेपारेशन्सको निम्ती बेलायतलाई ‘माफी मात्र मगाउँने’ कि ‘रेपारेशन्स (हर्जाना?) पनि तिराउँने?’ बारेको सवालमा छलफल अघि बढायो ।

सन् २०१३ मा सन् १७६३ को Berbice Slave विद्रोह २५० वर्ष पुगेको सम्झनामा गायनाको जर्जटाउनमै विशेष कार्यक्रम आयोजना गरियो । जहाँ University of the West Indies का प्रिन्सिपल सर हिलारी बेकल्सले सारा केरबियन राष्ट्रहरू तथा समुदायहरूलाई ‘तेतिखेरको यहुदीका पदहरूलाई पुनःस्थापित गरौँ जुन यहूदीहरूलाई दोस्रो विश्वयुद्धमा हत्या गरिएको थियो’ भनेर आह्वान गरे । परिणामस्वरुप, Jewish reparations fund स्थापित भयो र जर्मनीले यहुदीहरूलाई लादेको ‘दाशत्व’को निम्ती जर्मनीबाट रेपारेशन्स भुक्तानी गराउँने अभियान सुरु भयो ।

४ - कसले नेतृत्व गरिरहेछ?
बार्बाडस सरकारले सन् २०१२ मा १२ सदशीय ‘कार्यदल’ गठन गरेर स्थानिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा रेपारेशन्सको निम्ती काम गर्ने जिम्मा दियो । रेपारेशन्सको सवाललाई अघि बढाएर ईतिहासमा सैयौँ मुलुकहरूलाई जबरजस्ती उपनिवेशको रुपमा कब्जा गरेर दाश-प्रथा, दाश-व्यापार सन्चालन गरेर लाखौँ काला जातिका परिवार, समाज, सभ्यता, सँस्कृती, आर्थिक, राजनैतिक, साँस्कृतिक, धार्मिक, शैक्षिक, ऐतिहासिक हिंसा र अपराधमा संलग्न भई मानव जीवन र सभ्यता तहस नहस गर्ने काम गरेक साम्राज्यवादी तथा हैकमवादी मुलुकहरूलाई माफी मगाउँनु, सजाय दिलाउँनु, तिनलाई रेपारेशन्स भुक्तान गराउँनु पर्छ । यसो गर्न सके भविश्यमा कुनै पनि शक्ती राष्ट्रले कमजोर राज्य वा समाज वा जातजातिमाथि अन्याय-अत्याचार गर्नेछैनन् भन्ने ‘अभियान’को नेतृत्व अहिले वार्बाडसले गरिरहेकोछ ।

५ - अहिलेसम्म रेपारेशन्स भुक्तानीहरु
१)      सन् २०१५ अक्टोबरमा अमेरिकाको ओबामा सरकारले ‘जातिसंहार’बाट बाँचेका यहुदीहरूका निम्ती १२ मिलियन डलर रेपारेशन्स दिने घोषणा गरे ।
२)      सन् १९९५ मा जापान सरकारले Asian Women’s Fund” का रुपमा ३० हजार डलर ३६४ जना ताइवानी, फिलिपिनी र दक्षिण कोरियन former comfort women हरुलाई रेपारेशन्स तिर्‍यो ।
३)      सन् १९९० मा अमेरिकाले जापानी अमेरिकनहरूलाई (२० हजार डलर प्रति व्यक्तीका दरले) १.२ बिलियन डलर रेपारेशन्स तिर्‍यो
४)      सन् १९९० मा अस्ट्रियाले ‘आमसंहार’बाट प्रभावित यहूदीहरूलाई २५ मिलियन डलर रेपारेशन्स तिर्‍यो ।
५)      सन् १९८८ मा क्यानाडा सरकारले नेटिभ ईन्डियन र एस्किमोहरूलाई २ लाख ५० हजार स्क्वायर माईल जमीन रेपारेशन्सका रुपमा फिर्ता गर्‍यो ।
६)      सन् १९८८ मा क्यानाडा सरकारले ‘केनेडियन जापानिज’हरूलाई ३५० मिलियन डलर रेपारेशन्स तिर्‍यो ।
७)      सन् १९८६ मा अमेरिकी सरकारले मिचिगनका ओट्टावाजहरूलाई सन् १८३६ को सन्धी मुताबिक ३२ मिलियन डलर रेपारेशन्स तिर्‍यो
८)      सन् १९८५ मा अमेरिकाले विस्कान्सिनका चिप्पेवाजहरूलाई ३१ मिलियन डलर रेपारेशन्स तिर्‍यो
९)      सन् १९८५ मा अमेरिकले फ्लोरिडाका सेमिनोलेशहरूलाई १२.३ मिलियन डलर रेपारेशन्स तिर्‍यो ।
१०)   सन् १९८५ मा साउथ डकोटाका सिओक्सहरूलाई १०५ मिलियन डलर रेपारेशन्स तिर्‍यो ।
११)   सन् १९८० मा ओरेगनका क्लामाथ्सहरूलाई ८१ मिलियन डलर रेपारेशन्स तिर्‍यो ।
१२)   सन् १९७१ मा अमेरिकी सरकारले अलाश्काका रैथाने जनजातिहतरूलाई १ बिलियन डलर र ४४ मिलियन एकड जमीन रेपारेशन्सका रुपमा (फिर्ता) फिर्ता गर्‍यो ।
१३)   सन् १९५२ मा जर्मन सरकारले जर्मनीको आमसंहार (Holocaust)बाट प्रभावित यहूदी बस्तीहरूलाई ८२२ मिलियन डलर रेपारेशन्स तिर्‍यो

.१ - युद्ध रेपारेशन्स –
१। ग्रेको-टर्की युद्ध (१८९७) मा ग्रीसले जित्यो तर रेपारेशन्सको रुपमा ग्रीसले ४ मिलियन पाउण्ड तिर्नु पर्‍यो । फ्रान्स-पर्सियाको युद्ध पछि फ्रान्सले (फ्रेङ्कफर्टको सम्झैता मे १०, १८७१ अनुसार) ५ वर्षमा ५ बिलियन गोल्ड फ्राङ्क क्षतीपूर्ति तिर्‍यो
२। पहिलो विश्वयुद्धपछि बुल्गेरियाले ईन्टन्टेलाई ९० मिलियन पाउण्ड रेपारेशन्स भुक्तान गर्नु पर्‍यो । तेस्तै जर्मनीले (पहिलो विश्वयुद्धपछि) ट्रिपल ईन्टेन्टेलाई १३२ बिलियन गोल्ड मार्क रेपारेशन्स भुक्तानी गर्नु  पर्‍यो । जसलाई पछि अलि घटाईयो ।
३। दोस्रो विश्वयुद्धपछि जर्मनीले आफ्ना ‘एलाईज’हरूलाई २३ बिलियन डलर भुक्तान गर्नु पर्ने पर्‍यो । जर्मनीले ईजरायललाई ‘आमसंहार रेपारेशन्स’का रुपमा ३ बिलियन डइचमार्क तिर्नु परेको थियो भने ‘वर्ल्ड ज्युईस कंग्रेस’लाई ४५० मिलियन डइचमार्क तिर्‍यो
४। दोस्रो विश्वयुद्धपछि पेरिस पीस ट्रिटी १९४७ अनुसार ईटालीले यूगोस्लाभियालाई १२५ मिलियन डलर, ग्रीसलाई १०५ मिलियन डलर, सोभियत यूनियनलाई १०० मिलियन डलर, ईथियोपियालाई २५ मिलियन र अल्बानियालाई ५ मिलियन डलर तिर्‍यो
५। युद्ध रेपारेशन्सकै रुपमा फिनलेण्डले ३०० मिलियन डलर सोभियत यूनियनलाई तिरेको थियो भने हंगेरीले पनि सोभियत यूनियनलाई २०० मिलियन डलर चेकोस्लाभाकिया र यूगोस्लाभियालाई १०० मिलियन डलर तिरेको थियो ।
६। जापान-चीन युद्श १८९५ पछि शीमोनोसेकी ट्ट्री १८९५ अनुसार चीनले जापानलाई ३.६१ बिलियन येन क्षतिपूर्ति स्वरुप तिर्नु पर्‍यो । जापानले ट्रीटि अफ पीस १९५१ अनुसार आफ्ना युद्ध अलाईजलाई धेरै रेपारेशन्स भुक्तान गर्नु पर्‍यो । जसमा अमेरिकालाई ५५० मिलियन डलर, ३९ मिलियन डलर भियतनामलाई, ४.५ मिलियन पाउण्ड रेड क्रसलाई तिर्नु पर्नाका साथै विदेशमा रहेको २३.६८१ बिलियन डलर बराबरको अचल संपती जापानले गुमाउँनु पर्‍यो ।
७। ईराकले कुवेतमाथि हमला गरेपछि ३५० बिलियन डलर बराबरको क्षति भएको हिसाब गरियो र त्यसको ३०% क्षतिपूर्ति ईराकले तिर्नु पर्‍यो । जुन उसले oil for food कार्यक्रम मार्फत तिर्‍यो ।
८। बेलायतको निम्ती अनेकौँ युद्धमा सामेल भएर सैयौँ गोर्खाली सेनाले ज्यान गुमाएको तर बेलायत सरकारले “गोरा” र “गोर्खाली”लाई अनेक किसिमको बिभेदपूर्ण व्यवहार गरेको बारे मुद्दा परेपछि सन् २००८ मा बेलायतको “हाई कोर्ट”ले वेलायत सरकारलाई “गोर्खा शैनिक”का बारे के गर्ने हो? “प्रष्ट गर्नु” भनेर विशेष निर्देशन जारी गर्‍यो । जसको आधारमा १९९७ सम्मका “गोर्खा शैनिक”हरूले बेलायतमा बसोबास गर्न पाउँने भन्ने बेलायती सरकारको निर्णय सन् २१ मे २००९ मा बेलायतका होम सेक्रेटरी Jacqui Smith ले घोषणा गरे । परिणामस्वरुप गोर्खाली सेनाहरू अहिले बेलायती (पहिले Indefinite stay passport र पछि बेलायती नागरिक) भएर बेलायतमै बसोबास गरिरहेकाछन् ।

६ - नेपालको सन्दर्भमा –
नेपालको ईतिहासमा कुन कुन सरकारको पालामा कुन कुन जातजाति वा समुहलाई आफ्नो परम्परागत थात्थलोबाट वा परम्परागत साँस्कृति बास स्थानबाट विस्थापित गर्ने काम भएका छन्? त्यसका असरहरू (व्यक्तीमा, समुदायमा) के के परे? भनेर अध्ययन-अनुसन्धान भएको छैन । तथापी अहिले धेरै मानिसको स्मरणमा ताजै रहेका केही ऐतिहासिक घटनाक्रमहरूलाई पुनः स्मरणका निम्ती उल्लेख गर्न सकिन्छ –

१। सुगौली सन्धी अघि नेपालले ईष्ट ईण्डिया कंपनी(बृटीश)सँग पटक पटक युद्ध गर्नु पर्‍यो । जसले गर्दा नेपालले आफ्नो भूभागहरू - दार्जिलिङ-टिस्टा र पश्चिममा किल्ला कांगाडा देखि दक्षिणमा कहाँ सम्म गुमाउँनु पर्‍यो ? तर बेलायत सरकार भारतबाट गईसकेपछि नेपालको सकली त्यो भूभाग बेलायत सरकारसँग कुरा गरेर फिर्ता गर्ने रेपारेशन्सको प्रकृया थाल्नु पर्ने देखिन्छ ।

२। भारतले नेपालजस्तो भूपरिबेष्टित मुलुकको मौलिक अधिकार हनन गरेर पटक पटक नाकाबन्दी गरेको छ । जसले नेपालको विकास, आर्थिक पक्ष र जनजीवनलाई पटकपटक क्षतविक्षत पार्ने काम गरेकोछ, खरबौँ नोक्सान पुर्‍याएकोछ । यो अन्तर्राष्ट्रीय अपराधको निम्ती भारतलाई रेपारेशन्स तिराउँनु पर्छ ।

३। नेपालका बिभिन्न जनजातिहरूको जमीनको हक किपटको रुपमा (जस्तैः लिम्बुहरूको) रहेको थियो । यो उनीहरुको अर्थ तन्त्रको मेरुदण्ड थियो । जसलाई राजा महेन्द्रको पालामा पञ्चायती सरकारले भूमिसुधार लागु गरेर ‘किपट प्रणाली’ ध्वस्त गरिदियो । परिणामस्वरुप ती जनजातिहरुको आर्थिक जीवन अहिले सम्म नै अस्तव्यस्त भएकोछ । यस किसिमको राज्य हिंसाको विरुद्धमा रेपारेशन्सको “क्लेम” गर्नु पर्छ ।

४। रारा ताललाई राष्ट्रिय निकुन्ज घोषणा गरेपछि सो ताल वरिपरि बसोबास गरिरहेका समुदायहरूलाई त्यहाँबाट विस्थापित गरेर तराईमा झारियो । यसो गर्दा रारामै रहँदा-बस्दाका समुदायहरूले नयाँ ठाउँमा पुगेपछि आफ्नो मौलिक सँस्कृती-सँस्कार छोडेर नयाँ सँस्कृती-सँस्कार अपनाउनु वा मान्नु पर्ने भयो । यो एक किसिमको पीडादायी अवस्था हो राज्यले गरेको हिंसा हो । यसको निम्ती नेपाल सरकारसंग रेपारेशन्स भुक्तानी ‘क्लेम’ गर्न पर्छ ।

५। नेपालका थारुहरू ‘कमैया’ तथा ‘कमलरी’ प्रथामा रहेका थिए । यो दाशत्वको अवस्था थियो । त्यसबाट मुक्ती दिलाउँने कुरा राम्रो थियो । तर कुनै उचित बिकल्पको व्यवस्था नगरी “कमैया मुक्ती” मात्र गरिदिँदा उनीहरूको बिजोग भयो । कैयौँको रोग लागेर मृत्यू भयो । सुहाउँदिलो बिकल्पै तैयार नगरी “मुक्ती”को मात्र कुरा गरेर कमैया वा कमलरीहरूको जीवन पद्दतीलाई झन तहसनहस पार्ने हिंसा गरेकोले सरकारसँग कमैया र कमलरीहरुले रेपारेन्स ‘क्लेम’ गर्नु पर्छ ।  

६। अहिले संघीयताको निम्ती अनेक गाउँ-ठाउँ-जिल्लाहरू जाति-जनजातिको स्वीकृती बिना नै प्रदेशहरुमा हाल्ने काम भएकोछ । यो जनताको इच्छाविरुद्धको राज्य हिंसा हो । यसको निम्ती अहिले देखि नै UN मा ‘राज्यको निर्णय बदर’ गर्न-गराउँन ‘रेपारेशन्स क्लेम’ गर्नु पर्छ ।

यी केही ‘नमुना कैरन(Case)’हरू पेश गरेर सवाल (Issue) उठान मात्र गरेको हुँ । नेपालमा राज्यले संचालन गरेका अनेक हिंसा र आतंकहरू पक्कै होलान् । किनभने अहिलेको २१ सताब्दीको सन् २०१६ को ओली नेतृत्वको राज्य त घोर असमावेशी, अप्रजातान्त्रिक अत्याचारीको रुपमा काम गरिरहेको देखिन्छ भने विगतमा नेपाल सरकारले योभन्दा पनि धेरै क्रुर, अत्याचारी, भ्रष्ट र अमानवीय कामहरू गरेको हुनुपर्छ भनेर अन्दाज गर्न सकिन्छ ।  नेपालमा राज्यले नेपालका जातजातिहरूमाथि गरेका ती सबै अत्याचार तथा क्रुरताहरूको अध्ययन-पहिचान गरेर रेपारेशन्स (हर्जाना?)को निम्ती अभियान सन्चालन गर्नु पर्ने एक जल्दोबल्दो सवाल हो भन्ने मलाई लाग्छ यो ढिलो वा छिटो उठ्ने नै छ । यो पनि सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्ने एक विधी हो ।
-------  --------   --------
Ref.
2.        https://www.youtube.com/watch?v=f7CW7S0zxv4
4.        https://www.youtube.com/watch?v=h_go5Pa-8yE;
12. http://www.brandeis.edu/projects/fse/conferences/beyond-slavery/videos/adrienne-davis.html