जेनोसाईड?: 'कुनै एक मानव समूहले अर्को समुहलाई हत्या गरेर सखाप पार्नु
"जेनोसाईड" हो । जस्तै: हिटलर(नाजी जाति)ले यहुदी(जाति)लाई जर्मनीमा
सखाप मारे । रुवाण्डामा हुतुजातिले तुत्सीजातिका मानिसलाई सखाप मारे । जेनोसाईडलाई वर्गीकरण समेत गरिन्छ । जस्तै: १। राजनैतिक, २। सामाजिक, ३।
साँस्कृतिक। ४। आर्थिक, ५। जैविक, ६। भौतिक, ७। धार्मिक, र ८। नैतिक जेनोसाईड, आदि
। यी बाहेक अटोजेनोसाईड (सरकारले नै कुनै जातिलाई मारेर सखाप पार्ने); लिङ्ग्वीसाईड
(आफै वा राजनैतिक कारणले कुनै भाषा मर्नु वा मारिनु) को पनि कुरा हुँदै आएकोछ ।
चरणहरू: ग्रेगोरी
स्ट्यानटोन, http://genocidewatch.org का अध्यक्ष, ले
जेनोसाईटका ८ चरण उल्लेख गरेकाछन् ।
१। वर्गीकरण: यो पहिलो चरणमा "हामी" र "उनीहरू" भनेर जातिहरूलाई छुट्याउँने
काम गरिन्छ । जस्तैः
हामी उच्च जातका उनीहरू सानो जातका, आदि ।
२। उपमा दिने: यो चरणमा 'मन नपरेको' जातिलाई नकारात्मक 'उपमा' दिईन्छ । जस्तैः चुच्चे,
थेप्चे, आदि ।
३। अमानविकीकरण: यो चरणमा आफुलाई मन नपरेको जातिको मानिसलाई पशुका रुपमा चित्रण गरिन्छ । जस्तैः
सुँगुरजस्त मान्छे, ब्वाँसाजस्ता मान्छे, दि ।
४। संगठन: जेनोसाईड सँगठित कारबाही हो । अर्थात यो कार्य गर्ने कुनै तालिम प्राप्त दल
वा मिलिशिया वा बाहिनी वा लडाकु दस्ता वा (सरकारको हकमा) विशेष
रुरक्षा दस्ता, आदि बनाएर कार्य सम्पादन गरिन्छ । जस्तैः शीव शेना,
आदि ।
५। ध्रुवीकरण: यस चरणमा जातिगत रुपमा घृणा फैलाउँने किसिमको प्रोपोगाण्डा गर्दै
पत्रपत्रिकामा लेख्ने, अन्तरवार्ता दिने, भाषण-वक्तव्य दिने र तिनलाई ठूला ठूला
"ब्यानर न्यूज"मा संप्रेशण गरिन्छ ।
६। तैयारी: यो चरणमा कुनै जातिय वा धार्मिक वा साँस्कृतिक समुहलाई अन्य जातिय वा
धार्मिक वा साँस्कृतिक समुहबाट एक्ल्याईन्छ । अर्थात, त्यो जातिय वा धार्मिक वा साँस्कृतिक समुहलाई
अरु कुनै पनि जातिय समुहले साथ-सहयोग नदिने किसिमले वातावरण सृजना गरेर कमजोर
अवस्थामा पुर्याईन्छ ।
७। ध्वस्तीकरण: माथि उल्लेखित चरणहरुद्वारा विरोधी समुहको स्वरुपलाई बेस्सरी विगार्दै
ल्याएर चरण ६ मा एक्लो र आफुभन्दा कमजोर तुल्याईसकेपछि ताकिएको समुहको
"आमहत्या" वा " "आंशिकहत्या" वा उनको संग्रहालय
"ध्वस्त" वा प्रमाण र ईतिहास "जलाउँने" र नष्ट गर्ने काम
बिजुली चम्केझैँ झटपट सम्पन्न गरिन्छ ।
८। नकार: 'ध्वस्त' भएको कुरा सन्चार माध्ययममा सबैभन्दा पहिले आफैले लेखेर लेखाएर वा
बोलेर बोल्न लगाएर आफु चोखिने किसिमको कुरा गर्दै प्रोपोगान्डा
गरिन्छ । प्रोपोगाण्डा अझ १-२ हप्ता वा महिना गरेर आफुले सो "जेनोसाईड"
वा संग्रहालय "ध्वस्त" नगरेको बरू "आन्दोलन, द्वन्द र क्रान्तिका
बेला यस्तो भइहाल्छ" भन्दै सो घटनालाई ढिसमिस गरिन्छ ।
'साँस्कृतिक जेनोसाईड' – ‘साँस्कृतिक जेनोसाईड' वा ‘साँस्कृतिक क्लिन्जिङ' यी
दुई शब्दमा निहित अवधारणालाई कानुनविद राफाएल लेम्किनले १९४४ तिर 'जेनोसाईड'को एक
छुट्टै अंग हुनुपर्छ भनि अघि सारेका थिए । यही शब्द सन् २००७ तिर United Nations Declaration on the Rights of
Indigenous Peoples (UNDRIP) बारे छलफल हुँदा पनि ‘साँस्कृतिक जेनोसाईड’लाई छुट्टै राख्नु पर्छ भनि
कुरा उठेको थियो । 'साँस्कृतिक जेनोसाईड' लाई "कुनै जातिगत समुह वा धार्मिक
समुह वा जनजाति समुह वा राष्ट्रियता समुहलाई नष्ट गर्ने ईरादा राख्ने वा नष्ट
गर्ने कार्य गर्नु नै साँस्कृतिक जेनोसाईड हो" भनि परिभाषित गरिएको छ । United Nations Declaration on the Rights of
Indigenous Peoples (UNDRIP) को धारा ७ अनुसार - आदिवासि जनजातिको कुनै पनि
किसिमको 'जेनोसाईड'बाट मुक्त रहने 'व्यक्तीगत' वा 'सामुहिक' अधिकार हुनेछ । त्यसका
निम्ती निम्न कारवाही रोक्नु वा सुधार गर्दै जानु पर्नेछ:
(क) आदिवासि
जनजातिहरूको आफ्नोपन वा उनको साँस्कृतिक मुल्य-मान्यता वा जातिय पहिचानलाई दखल अन्दाजी
गर्ने कुनै पनि कार्यलाई रोक्नु वा सुधार गर्नु पर्छ; (ख) आदिवासि जनजातिहरूलाई उनको आफ्नो
परम्परागत भूमि, क्षेत्र वा स्रोतहरूबाट उठिबास गराउँने कार्य गर्न पाईने छैन; (ग)
आदिबासि जनजातिलाई उनको ईच्छा बिपरित कुनै किसिमको 'बसाइँ सराई' गराउँने कार्य
गर्नु उनको अधिकारको हनन् हो । यस्तो कार्यलाई रोक्नु पर्दछ; (घ) आदिबासि
जनजातिलाई कुनै पनि किसिमले अरुको सँस्कृतीमा मिलान वा एकिकरण गर्ने वा अरुको साँस्कृतिक
शैली लाद्ने कानुनी वा प्रशासनिक वा कुनै पनि कार्य रोक्नु पर्दछ; (ङ) आदिवासि
जनजातिका विरुद्ध गरिने कुनै पनि किसिमका प्रचार-प्रसार या 'प्रोपोगाण्डा' रोक्नु
पर्दछ ।
व्यबहारमा साँस्कृतिक जेनोसाईड: ब्यबहारमा कुनै पनि कमजोर जातिको साँस्कृतिक पक्ष उजागर
गर्ने तत्वहरूलाई बलिया जातिले नष्ट गर्छन् । जस्तै: जातिबारेका पुस्तक,
कलाकारिता, शैली वा ढाँचाहरू नष्ट गरिँदै आएकोछ । शासकहरूद्वारा 'उचित नठानेका' जनजातिका साँस्कृतिक गतिविधिहरुलाई दमन गर्ने वा रोक लगाउँने कार्य गरिँदै आएकोछ ।
यसका तरिका अनेक हुन सक्छन् । जस्तै: कुनै समुदाय-समुहको धार्मिक प्रतिमा वा
मूर्ति वा मठ-मन्दिर-गुम्बा वा संग्रहालयहरू ध्वस्त गर्ने; अभियानै चलाएर कुनै
जातिसँग सम्बन्धित ऐतिहासिक प्रमाणहरू नष्ट गरी सून्यमा झार्ने । तेस्तै, उपनिवेशवादीले आफ्नै
धर्म, सँस्कृती, भेषभुसा,
नाच-गान, शिक्षाको प्रयोग गर्ने गराउँने गरेर पनि आदिवासि जनजातिहरूको सँस्कृती
मास्ने काम गेर्दै आएकाछन् । यही हो
साँस्कृतिक जेनोसाईड ।
जेनोसाईड
विरुध्दको कन्भेन्सनले के भन्छ? कन्भेन्सनको धारा २ अनुसार 'जेनोसाईड भन्नाले निम्न
उल्लेखिता कार्य गरेर कसैको राष्ट्रियता, जातियता, र धर्मलाई (सम्पूर्ण वा आंशिक) नष्ट गर्नु हो । जस्तै: (क) कुनै जातिय समुहका मानिसहरूको
हत्या गर्नु; (ख) कुनै जातिय समुहहरूको मानिसलाई गंभिर शारिरक वा मानसिक नोक्सान पुर्याउँनु; (ग) कुनै
जातिय समुहको विद्यमान अवस्थालाई तोडमरोड गरेर चरणबध्द रुपले कालान्तरमा उनको
पहिचानलाई ध्वस्त पार्नु; (घ) कुनै जातिको नवजात शिसुलाई त्यही जातिगत समुहमा जन्मिन नदिने उपाय लाद्नु; (ङ) कुनै
जातिको नवजात शिसुलाई जबरजस्ती
अर्को जातिको साँस्कृतिक वातावरणमा हुर्काउँनु, आदि ।
धारा – ३ अनुसार निम्न कार्य
दण्डनीय हुनेछन्: क) जेनोसाईड
कार्य गरेमा; ख) जेनोसाईड गराउँने षडयन्त्र गरेमा; ग) सोझै वा सार्वजानिक रुपमा
जेनोसाईड गर्ने-गराउँने हेतुले उत्तेजना
फैलाएमा; घ) जेनोसाईड गर्ने प्रयास गरेमा; ङ) जेनोसाईडका निम्ती कुनै पनि कृयाकलाप
गरेमा ।
धारा ४: चाहे जिम्मेदार शासक होस् वा सरकारी अधिकृत वा कुनै
व्यक्ती जस्कसैले पनि धारा ३ अनुसारको जेनोसाईड गर्ने-गराउँने आपराधिक कार्य गरेको
पाईएमा सो दण्डनीय कार्य ठहर्दछ ।
नेपाल र अन्यत्र: नेपालमा 'साँस्कृतिक
जेनोसाईड'बारे अध्ययन अनुसन्धान गरेको पाइँदैन । तर ईतिहासमा हेर्ने हो भने लिम्बु
जातिका कैयौँ ‘मुन्धुम र अन्य
शास्त्र वा
अभिलेखहरू लगायतका ऐतिहासिक दस्ताबेजहरु’ शासकहरूले 'जलाउँन' आदेश दिएर
नष्ट गराएको पाईन्छ । लिम्बुवान क्षेत्रको "किपट" प्रणाली (लिम्बु
समाजको अर्थतन्त्र) लाई राज्यद्वारा (राजा महेन्द्रको पालामा) नै भूमिसुधार मार्फत
ध्वस्त पारिँदा र खस
भाषामा शिक्षा लिनु पर्ने अवस्था सृजना गरिएपछि, लिम्बु समाजको आर्थिक अवस्था तहसनहस भयो प्रकारान्तरले
लिम्बुहरूको भाषा-सँस्कृती पनि कमजोर हुँदै गयो । यूएन को परिभाषालाई हेर्ने हो भने यो साँस्कृतिक
जेनोसाईड हो ।
पृथ्वीनारायण शाहले जितेपछि काठमान्डु
उपत्यकामा नेपाल भाषामा लेखिएका कैयौँ तमसुक
कागजपत्र इत्यादीलाई दिई आएको कानूनी मान्यता हटाईयो, नेपाल भाषालाई सरकारी कामकाजी
भाषाबाट प्रतिबन्ध लगाईयो । नेपाल भाषामा साहित्य वा कविता रच्ने व्याक्तीलाई जेल
सजाय समेत दिने काम गरियो । निरङ्कुश पंचायती व्यबस्थाको
समयमा रेडियो नेपालबाट प्रसारण हुँदैआएको
नेपाल भाषाको १० मिनेटको समाचार पनि हटाईयो
। ०२८ सालमा आएर स्कुलमा पढाई भईरहेको नेपाल भाषालाई मात्र “ऐक्षिक बिषय”
बनाईयो । "एउटै भाषा एउटै भेष" भन्ने नारा लगाएर सरकारी योजना मुताबिक
नै नेपाल भाषा लगायत रैथाने भाषाहरूलाई उठ्नै दिईएन । लाल्टिन बालेर राती लिम्बु
भाषा सिकाए बापत वीर नेम्बाङलाई जेल हालियो । यो साँस्कृतिक जेनोसाईड हो ।
केशव स्थापित मेयर हुँदा काठमाडौं
महानगरपालिकामा खस–भाषाका अतिरिक्त नेपाल भाषालाई पनि कामकाजी भाषाका रुपमा चलाउन
शुरु गरियो जुन पाटन, भक्तपुर, कीर्तीपुर नगरपालिकहरुमा पनि फैलिएको
थियो । तेस्तै धनुषा, रावविराजमा
मैथिली भाषा चलाउने प्रयास भएको थियो । तर यसको पूर्ण कार्यान्वयन हुनु अगावै यज्ञनधि दाहालले सर्वोच्च अदालतमा
मुद्दा हाले । सर्वोच्च अदालतले ती प्रयासहरुमा रोक
लगाईदियो र अघि बढ्नै पाएन । यो साँस्कृतिक जेनोसाईड हो ।
पछिल्लो घटना – केही
वर्ष अघि, राज्यले उचित बिकल्प नै तैयार नगरी "मुक्त कमैया" घोषणा गरेपछि
थारु समुदाय लथालिंग-छरपस्ट र आर्थिक रुपले बेहाल-तहसनहस भयो । धेरै “मुक्त कमैया”हरू अनेक रोग लागेर मरे र हाल पनि मरिरहेछन् । यसलाई "जेनोसाईड"
(साँस्कृतिक जेनोसाईड समेत) भएको भन्न सकिएला नसकिएला? अध्ययन भएको छैन । केही
वर्ष अघि बुटवल नजिकैको 'थारु संग्रहालय'मा आगो लगाएर ध्वस्त गरियो । यो
साँस्कृतिक 'जेनोसाईड' हो कि होइन? अहिले नेपालमा एक जाति र अर्को जातिका वीचको 'ध्रुवीकरण'
("मधिशे" र 'पहाडे", आदि) ले गहिरो जरा गाड्दै गईरहेकोछ जसले 'जेनोसाईड'को
घटना घट्ने संकेत गर्दछ ।
ईतिहास हेर्दा
तिब्बतमा जब वुद्ध धर्म
छिर्यो विस्तारै त्यहाँको रैथाने "वोन धर्म"लाई वुध्द धर्मले आफुमा समाहित
गरेर (नयाँ) "टिबेटन वुध्दिज्म"को रुप लियो । भारतको ईतिहास हेर्ने हो
भने मुस्लिमहरूले कैयौँ मन्दिर र भवनहरूमा कुँदिएका सुन्दर आकृतीहरूलाई
कोट्याई-कोट्याई ध्वस्त गरेका थिए । यो साँस्कृतिक जनोसाईड हो कि होईन? ख्रिश्चीयनहरूले भारतको (एक उदाहरण मात्र) नागालेण्ड पसेर नागाहरूको
धर्म नै "ख्रिस्चीयन" बनाईदिए । नाँगाहरुको आफ्नो धर्म सँस्कृती
नष्ट भयो । यस्ता अनेक
घटना जताततै घटेकाछन् । यो साँस्कृतिक
जेनोसाईड हो कि होईन? केहीवर्ष अघि अफगानिस्तानमा ‘बनियन वुध्द’ मूर्तिलाई तालिबानहरूले बम हानेर
ध्वस्त गरे । यो साँस्कृतिक जेनोसाईड हो कि होईन?
यो दुनियाको सभ्यताहरू एउटाले अर्को अमुक सभ्यता(हरू)लाई नष्ट गरेर आफु र
आफुजस्तै बलियो जात वा जीन मात्र बाँच्न-फैलिन योग्य (Survival
of the fittest) हुन्छ
वा छ भन्ने जंगली सिद्धान्तका
आधारमा चल्दै आएका देखिन्छन् । तर मानव समाज त जंगलबाट निस्केर आधुनिक गाउँ-सहरको
अनेक जातजाति मिलेर बस्ने सभ्यताको चरणमा आईपुगेकोछ जहाँ सबैका पहिचानले आ-आफ्नै उचित स्थान (Rightful place) को माँग गर्दछन् । सबैलाई उचित स्थान दिएर सहअस्तित्वमा
बाँच्ने तरिकाले मात्र समाजमा शान्ति बहाल हुन सक्छ । कसैले कसैलाई सिध्याउँने काम
गर्दै गए “सिध्याउँने” सँस्कृतीले नै एक दिन "सिध्याउँनेलाई" पनि सिध्याउँनेछ ।
------------ ----------- --------
References:
4. http://www.hrweb.org/legal/genocide.html
Interesting.
ReplyDelete