भेटिङ (Vetting): कुनै व्यक्तिलाई पदमा बहाली गर्न, चुनावमा उम्मेद्वार बनाउन र पुरस्कार दिने निर्णय
गर्नुअघि सो व्यक्ति हरदृष्टिले सही हो या होइन भनी उसको पृष्ठभूमिबारे विस्तृत (Background
check) जाँच-पडताल गर्ने कार्य “भेटिङ”
हो । घोडा-दौड प्रतियोगितामा संलग्न घोडाहरू स्वस्थ्य छन् कि छैनन्
भनी पशु डाक्टरले भेटिङ गर्थे पुरानो जमानामा । पछि ‘जाँच
गर्नु’ भन्ने अर्थमा भेटिङ चल्यो । १९औँ शताब्दीमा आएर भेटिङ
मूल्यांकनको पर्यायवाची शब्द नै बन्यो । अहिले, अमेरिकामा
राष्ट्रपतिको उम्मेद्वारबारे विस्तृत जाँच गर्ने कामलाई पनि भेटिङ भनिन्छ । भेटिङ
शब्द अनेक परिप्रेक्ष्यमा प्रयोग गरिन्छ ।
संक्रमणकालमाः क्रान्तिपछि अर्को नयाँ
संक्रमणकालमा उथलपुथलका बेला पक्ष र विपक्ष दुवै संलग्न भएका मानिसले मानवअधिकार
हनन् गरे कि गरेनन् भनेर भेटिङ गरेर को को चोखो वा को को कसुरदार भनी छुट्याएर
कसुर मुक्तलाई मात्र नयाँ संक्रमणकालीन व्यवस्थामा कुनै पदभार लिन योग्य छन् कि
छैनन् भनी निर्क्यौल गर्न संक्रमणकालीन न्यायमा पनि भेटिङ गरिन्छ ।
नेपालमा सरकारी र माओवादी पक्षका निम्ती भेटिङ गर्ने कार्य गर्ने
प्रचलन नहुँदा जनयुध्दका बेला मानवअधिकार विरोधी काममा संलग्न भएकाहरू पनि आज
पुरस्कृत (मन्त्री समेत) भएको भनेर चर्चा चल्ने गरेको छ । जस्तै: ‘संविधान जारी नभएको भए हामी धेरै
माओवादीलाई जेल हालिने अवस्था थियो त्यसैले संविधान जारी भएको राम्रो भएको छ’
भनेर एमाओवादीका कृष्णबहादुर महराले काभ्रेमा भाषणमै सार्वजानिक
स्थानमा भने । यो भनेको के ? ‘हामीले जनयुध्दका बेला
मानवअधिकारको धेरै उल्लंघन गरेका थियौँ र राम्रोसँग छानबिन गरेको भए हामी सबै जेल
जानुपर्थ्यो, तर अब संविधान जारी नै भइसकेपछि हाम्रा सबै “अपराध माफ भयो” भनेको हो भनेर बुझ्न सक्ने क्षमता
अण्डर एसएलसी प्रम या अर्थमन्त्रीहरूसँग पनि छ भनेर भन्न सकिन्छ ।
कर्मचारी छनौटमाः प्रतिस्पर्धात्मक युगमा
सक्षम उम्मेद्वारमध्येबाट पनि कुनै एकजनालाई महत्वपूर्ण पदको निम्ति अन्तिम केही
जनामध्ये सबैभन्दा उपयुक्त व्यक्ति को हुन सक्छ भनी भेटिङ गरिन्छ । तर भेटिङ गरिने
बारे उम्मेद्वारसँग लिखित अनुमति लिएको हुनु पर्छ । भेटिङका सिलसिलामा थाहा भएका
उम्मेद्वारका व्यक्तिगत सूचना गोप्य राख्ने, दुरुपयोग नगर्ने व्यावसायिक नैतिकता (Ethics) कायम गर्नुपर्दछ ।
सुरक्षा कर्मचारी छनौटमाः
बेलायत सरकारले देशी
दुश्मन र आतंकवादी लगायतबाट मुलुकलाई बचाउने प्रयोजनका निम्ति केही विशेष सुरक्षा
पदमा नियुक्ति गर्दा ‘यो उम्मेद्वार सरकारी सूचना र सामग्रीबारे गोपनीयता राख्न सक्ने’ भनी विश्वस्त हुन सकिन्छ कि सकिन्न भनेर विशेष किसिमले भेटिङ गर्ने र
विश्वास गर्न सकिने ठहर भएपछि मात्र उक्त उम्मेद्वारलाई नियुक्त गर्ने गरिन्छ ।
राष्ट्रपतिको
उम्मेद्वारीमाः अमेरिकामा सन् ७० तिर ग्यारी हार्टले भन्ने मानिस डेमोक्रेटिक
पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार हुन चाहे । एक महिलासँग ग्यारीको अनैतिक
सम्बन्धको कुरा मिडियाले उठायो । ग्यारीले इन्कार गरे । मिडियाले अनैतिक सम्बन्धबारे
प्रमाण पेस गर्यो । अन्तमा ग्यारीले उम्मेद्वारको टिकट पाएनन् । त्यस्तै, एडवार्ड केनेडीको सहयोगी उनकै
कारको दुर्घटनामा परेर मरेको कुरा उठ्यो जसले गर्दा उनले पनि राष्ट्रपतिको
उम्मेद्वार हुने टिकट पाएनन् । अर्थात, भेटिङ गरेर सक्दो
स्वच्छ छविवालालाई मात्र पार्टीले आफ्नो उम्मेद्वारका रुपमा टिकट दिने प्रयास गर्छ
। राष्ट्रपतिको उम्मेद्वार हुनेले आफ्नो उप-राष्ट्रपतिको नाम पनि राखेर मनोयनको
निम्ति आवेदन दिनुपर्छ । यो प्रक्रियामा उप-राष्ट्रपति पदको निम्ति व्यक्ति छान्दा
राष्ट्रपतिको उम्मेद्वारले पनि सम्भावित उप-राष्ट्रपतिको बेस्सरी भेटिङ गराएर
मात्र छान्छन् ।
के जाँच्ने ?
१) बायोडाटामा उल्लेखित शैक्षिक योग्यता, शैक्षिक सँस्था र उल्लेखित
कामका अनुभव कुरा साँचो छन् कि छैनन् ? पुलिस रिपोर्ट कस्तो छ ? हरेक
साल ट्याक्स तिरेको छ छैन ? कुनै काम गरिसकेको भए कतै घुस
खाएको वा बेथिती गरेको छ कि? वकिल या न्यायाधीश रहिसकेको हो भने उसले के कस्ता
मुद्दा किनारा लगाएको थियो ? यी कुरा जाँचिन्छन् ।
२) सर्वोच्च पदका निम्ती हो भने मुलुकको अर्थतन्त्र कस्तो छ ? नराम्रो भए त्यसलाई सुधार्न
उम्मेद्वारसँग के के गर्ने योजना छन् ? जलवायु परिवर्तनका
सवालमा के धारणा छ ? यी कुराहरूमा उपरोक्त व्यक्ती अपडेटेड छ
छैन भनि जाँचिन्छन् ।
३) उम्मेद्वारको वाल्यकाल देखिकै विगत कस्तो थियो ? जस्तै: कलेज जीवनका बेला
उम्मेद्वारको कुनै उग्रवादी समूहसँग सम्बन्ध थियो कि ? सो
पनि जाँच गरिन्छ ।
४) उम्मेद्वारले घरमा काम गर्ने राखेको छ भने त्यो मानिस गैरकानुनी
आप्रवासी हो कि ? उम्मेद्वारले
श्रीमतीसमेत महिलाहरूलाई, अन्य कुनै जाति वा लिंगका मानिसलाई
अपहेलना गरेको थियो कि भनेर समेत जाँच गरिन्छ ।
नेपालमा कस्तो अभ्यास छ त
? राजनीतिक पार्टीहरूले चुनावको बेला टिकट दिँदा उसको योग्यता, कार्य क्षमता हेर्ने जाँच्ने वा
भेटिङ गर्नेभन्दा पनि “आफ्नो मान्छे”, जसरी
पनि “चुनाव जित्न सक्ने” विशेषता भएको
मान्छे, पार्टीलाई “ठूलो चन्दा”
रकम दिन वा दिलाउन सक्ने मानिस, विरोधीको भोट
काट्न सक्ने क्षमता भएको मानिस आदि जस्ता आधार बनाइने गरेको सुनिन्छ ।
समानुपातिक कोटा त झन् “६-७ करोड रुपियाँ”सम्मको
बढाबढमा किन-बेच हुने वा “आफ्नै श्रीमती” वा “सम्धी”लाई दिने गरेको कुरा
समेत पत्रपत्रिकामा पढ्न-सुन्न पाइयो । त्यस्तै, राजनीतिक
नियुक्ति र सरुवा-बढुवामा पनि “आफ्नो मान्छे”, “पोलिटिकल्ली करेक्ट”, “पार्टीलाई आर्थिक सहयोग गर्न
सक्ने” जस्ता आधार लिइने कुरा ओपन सिक्रेटजस्तै छ । राजदूत र
केही आयोगका प्रमुख छान्दा संसदीय समितिले ‘जाँच’ गरेझैँ गर्छ तर पूरै भेटिङ गर्दैन ।
नेपालमा प्रजातान्त्रिक र साम्यवादी सिध्दान्तमा आधारित पार्टीहरूले
टिकट दिन मानिस छान्दा सैध्दान्तिक रुपमा “बलियो मानिस” भनेर पनि कहिल्यै
कतै पनि प्रावधान राखेको सुनिँदैन ।
अचेल “साझा सवाल” (बीबीसी) जस्ता टिभी र रेडियोले भेटिङको
छनक दिने कार्यक्रम गरेको पाइन्छ । तर स्रोता-दर्शकबाट “स्कोर”
गराउने, दिएको स्कोर संकलन गर्ने, प्रशोधन गर्ने, नतिजाको वैज्ञानिक विश्लेषण गरेर
प्रतिवेदन तैयार गर्ने र भेटिङ गरिएको व्यक्तिको १, २,
३ रेङ्किङ गरेको पाइन्न । यसले गर्दा ती कार्यक्रमको प्रभाव ज्यादै
न्यून रहेको छ ।
केही पत्रपत्रिकाले सरकारी लाभको पदमा रहिसकेका व्यक्तिहरूको
सम्पतिको स्रोतबारे फाट्टफुट्ट खोतल्ने गरेको पनि देखिन्छ । तर यो भेटिङ गर्ने
उद्देश्यले भन्दा पनि बदला लिन वा पत्रकारको पावर देखाएर थर्काउन मात्र गरेको पो हो
कि भने जस्तो बुझिन्छ । यसबाट नेपालको पत्रकारिता क्षेत्रलगायत कुनै पनि निकाय, कार्यालय र संस्थाहरू भेटिङको
निम्ति तालिमप्राप्त भई नसकेको रहेछ भन्ने बुझिन्छ ।
यसको खास अर्थ, मानिस छनौट गर्ने प्रक्रिया नै कमजोर भएपछि संसदमा,
मन्त्रिमण्डलमा, राजनीतिक नियुक्तिमा अक्षम
मानिसहरू भरमार पस्ने भए । मुहानमै पहिरो गएपछि कुलोमा धमिलो पानी त आउने नै भयो ।
तर मुलुकलाई र गणतन्त्रलाई दरिलो बनाउने हो भने यस क्षेत्रमा काम नगरी हुन्न ।
नेपाल सरकारले, नेपालका राजनीतिक पार्टीहरूले र नेपालका संघसंस्थाले
भेटिङजस्तो काम थाल्ने कुरै भएन । तर नेपालका मिडियाहरूले यसबारे तालिम लिएर,
जनसमुदायको उपस्थितिमा, उदाहरण: सांसदको टिकट आकांक्षी
प्रतिस्पर्धीहरूको, राजदूत नियुक्ति आकांक्षी
प्रतिस्पर्धीहरूको, विभिन्न आयोगका प्रमुख नियुक्ति आकांक्षी
प्रतिस्पर्धीहरूको भेटिङ गर्ने प्रचलन सुरु गरे राज्य संचालनका निम्ति योग्य र असल
मानिस छान्ने “प्रत्यक्ष प्रजातन्त्रिक(Direct
democracy) अभ्यास”मा सानो योगदान पुग्नेथियो
। नत्र जहिले पनि “ब्ल्याक मार्केट”ले “टेकओभर” गरेर समानान्तर सरकार चलिरहनेछ र डिजुरे
सरकार त सिरिफ दिफ्याक्टो सरकारको क्लरिकल सहायक भएर रहनेछ । जहाँ गुड गभर्नान्सको
कुरा भयानक जोक मात्र हुनेछ ।
Ref
1.
https://www.securityclearedjobs.com/staticpages/10283/Security-Vetting/
2. https://en.wikipedia.org/wiki/Vetting
3. http://www.blogster.com/winning/the-vetting-of-american-presidents-and-presidential-candidatesa-uniquely-american-process
2. https://en.wikipedia.org/wiki/Vetting
3. http://www.blogster.com/winning/the-vetting-of-american-presidents-and-presidential-candidatesa-uniquely-american-process
No comments:
Post a Comment