Thursday, May 5, 2016

३ सुनखानीमा वुद्ध (विक्रम सुब्बा A Travelogue 3)


२। एमिली डिकिन्सन् (डिसेम्बर १०, १८३० मे १५, १८८६):

जब मैले कविता लेख्न थालेँ र, दुनियाभरका कविहरुलाई पढ्दै जाँदा, अमेरिकन कविहरू पनि पढेँ । त्यस बखत एउटा अनौठो जीवन बाँचेकी कवियत्री एमिलीलाई पनि पढेँ । एमिलीको बाँचुन्जेल आफ्नो कविता प्रकाशितै नगरी मृत्यू पछि छापिएका उनका कविताले अमेरिकामा र कविताका क्षेत्रमा सकृय सन्सारका मानिसलाई प्रभावित पारेको घटनाले गज्जबसँग मलाई छोएको थियो । एमिलीकै जीवन पढेर मैले 'राम्रो काम गर्दै जानु पर्छ मरेपछि पनि मानव सभ्यताप्रति योगदान गर्न सकिन्छ' भन्ने ज्ञान हासिल भएको हो । नेपालका भानुभक्तले लेखेका कुरा पनि उनीपछि मोतिराम भट्टले दुनियाको सामु ल्याएका हुन् भनिन्छ ।

"आशा पखेटासहितको एक यस्तो चरा हो जुन आत्माको हाँगामा बस्छ र कुनै शब्दबिनाको धून निरन्तर गाईरहन्छ" भन्ने एमिलीको उक्ती धेरैले सम्झने गर्दछन् ।

सन् १८३० को १० डिसेम्बरका दिन मासाचुसेट्सको आमहर्स्टमा जन्मेकी एमिलीले स्कुलको पढाइ त्याग गरेर घर-गोठकै एकान्ती जीवन विताउँन थालिन् । तर, उनले नित्य आफ्नो डायरीमा सयौँ कविता र चिट्ठीहरू लेख्दै राख्ने गरिन् । उनका तिनै कविता र चिट्ठीहरू उनको मृत्यूपछि सन् १८८६ मे १५, बल्ल आमहर्स्टमा प्रकाशित भए । जसको परिणमास्वरुप एमिली अमेरिकाको साहित्यको ईतिहासमा सदा सम्मानपूर्वक नाम लिनै पर्ने व्यक्तित्वका रुपमा स्थापित भईन् ।

एमिलीको जीवन हेर्दा उनलाई प्रभावित गर्ने अनेक सानातिना घटनाहरू देखिन्छन् । जस्तै: उनी स्कुलमा प्रतिभाशाली विद्यार्थी थिईन् । उनले सनै उमेरदेखि कविता लेख्न थालिन् । उनी सानैदेखि रोगी थिईन् । घरमा पटक पटक लामो लामो समय विमारी भएर एक्लै सुत्नु पर्दा उनी उदासिन रहन थालिन् ।  यही उदासिनताका कारण भावुक एमिलीले स्कुल पढ्न छोडेकी हुन् भनेर पनि भनिन्छ ।

एमिलीलाई जीवनमा प्रभावित गर्ने व्यक्तीहरू, आमहर्स्ट एकेडेमीका प्रिन्सिपल, लियोनार्ड हाम्फ्रे पहिला हुन् भने डिकिन्सनहरूका परिवारिक साथी बेन्जामिन फ्रेङ्कलिन न्यूटन दोस्रा हुन् जसले विलियम वर्ड्सवर्थका कविताहरू पढ्न दिएर एमिलीको कलिलो कवि मनमस्तिस्कलाई कविता शिल्पको मलजल गर्ने काम गरेका थिए । एमिलीले फिलडेल्फियाका चार्ल्स वड्सवर्थसँग साथीको रुपमा चिट्ठी लेखालेख गरेको पनि देखिन्छ भने उनका आत्मीय साथी र सल्लाहकारका रुपमा सुसान गिलबर्ट देखिन्छिन् । सुसानले १८५६ मा एमिलीका दाइ विलियमसँगै बिबाह समेत गरिन् ।

एमिलीले रोगी आमालाई १८५० देखि १८८२ (आमा नमरेसम्म) सम्म हेरविचार (Care giver) गर्ने काम गरिन् । एमिली र उनकी बहिनी लाभिनियाले कहिले पनि बिहे नै नगरी आफ्नै गाउँमा मृत्यु वरण गरेका थिए । रोगी आमाको हेरचाह गर्दागर्दै एमिलीलाई आगोराफोबिया (मानिसहरूसँग भेटघाट गर्न नरुचाउँने मानसिक रोग) वा डिप्रेशन भएको भनेर विज्ञहरूले अनुमान गर्ने गरेकाछन् । यसरी घरै घरमै बसेर आमाको हेरचाह गर्दैगर्दा एमिलीले डायरीमा मनका भावनाहरू र कविता लेख्ने काम पनि गर्दैछिन् भन्ने कुरा परिवारमा कसैलाई पनि थाहा थिएन । एमिलीले घर बस्दा बनस्पती शास्त्र (Botany) पनि अध्ययन गरेर जडीबुटी संकलन गर्ने काम (herbarium) गरेको देखिन्छ । त्यति बेला उनको जज ओटिस लर्डसँग चिट्ठी लेखालेख हुँदाहुँदै प्रेम बसेको तर लर्डको १८८४ मा मृत्यु भएकोले एमिली झन निरास भएको पनि बुझिन्छ ।

एमिलीलाई मृगौलाको रोगले मे १५, १८८६ का दिन (५६ वर्षको उमेरमा) सन्सारबाट लग्यो । उनको पार्थिव शरिरलाई डिकिन्सन परिवारकै जमिनमा गाडियो जहाँ अहिले डिकिन्सन संग्रहालय खडाछ । उनका दुइ छोटा कविताहरू अनुवाद गरेर यहाँ राखेकोछु:

१।
म आफुलाई लुकाउँछु आफ्नै फूलहरूमा
फुलहरू तिमीले छातीमा सिउरिँदा
पत्तैबिना मलाई पनि त्यहाँ टाँसेको, कुरा
देवदुतलाई पनि पत्तो हुँदैन सम्झिँदा ।

म आफुलाई लुकाउँछु आफ्नै फूलहरूमा
जब फुलदानीमा फूल ओईलाएको भेट्नेछौ
त्यतिबेला पत्तैबिना मलाई, तिमीले
एक्लो र निरास भएर बसेको देख्नेछौ

२।
घाइते मृग सबैभन्दा धेरै उफ्रन्छ, भनेर
सिकारीले भनेको मैले सुनेको हो
यो शायद हुनुपर्छ मृत्यूको आनन्द
जसले सुन्य-महानिर्वाण बुनेको हो

पत्थर बेस्सरी घोटिएपछि हीरा बन्छ
बेस्सरी पिटिएको फलाम लचकदार बन्छ
चेकजाँच गर्दा आगो रातो हुन्छ
र बेस्सरि मौरीलेजस्तै चिल्छ

मोजमज्जाले पीडाको सन्देश ल्याउँछ
जहाँ सावधानीले अंगालो हालेको हुन्छ
नत्र कसैले रगत जाँच गरोस्, पक्का छ
त्यतिबेला तिम्रो "ऐय्या !" सबैले सुन्छ ।


६। सुनखानीमा बुद्ध: मेरा छोरा-बुहारीहरूले निचिरेन बुद्ध धर्म  (अमेरिकामा 0.% जनसंख्याल मान्ने, २०१४)  अपनाएकाछन् । उनीहरू "सोका गाक्काई" नामक निचिरेन वुद्धिष्ठ सँस्थाका सदश्य पनि हुन् । यो धर्ममा के कसरी कर्मकाण्ड वा पुजा-आजा र दैनिकी (Practice)  के कसरी गरिन्छ था-पत्तो थिएन । वुद्धिज्मका बारेमा किताब पढेको, गुम्बाहरूमा घुमेर केही लामाहरूसँग गफसफ गरेको, नेपालका केही वुद्धिष्ट साथीहरूसँग भेटघाट गरेको र काठमाण्डु बुढनीलकण्ठभन्दा माथि मुहान पोखरीको धर्म श्रृङ्गामा दुइ पटक (१०-१० दिनको) विपाश्यना (मौन साधना) बस्दा प्राचार्य गोयन्काको प्रवचन सुनेर केही जानकारी (वुद्ध भगवान होइनन् बरु "मन"का वैज्ञानिक हुन् भन्ने मेरो धारणा बनेको) पाएको बाहेक दैनिक जीवनमा कसरी अभ्यास गरिन्छ? कस्तो अनुशासनमा बस्नु पर्छ? आदि बारे केही थाहा थिएन ।


एकदिन बिहान हामी बुडा-बुडी दुबैजना र परिवारका सबैलाई छोरोले Chanting गर्ने  कोठामा बोलायो बत्ती बाल्यो, डसिङगिङ बउल बजायो   Chanting गर्न थाल्यो – "नाम्-म्योहो-रेङगे-क्यो" । पहिले ३ पटक "नाम्-म्योहो-रेङगे-क्यो", त्यसपछि अलि धेरै पटक, अनि फेरि जापानी भाषामा के के फत्फताउँने र अन्तमा ३ पटक "नाम्-म्योहो-रेङगे-क्यो", अनि सिङ्ग्गिङ बउललाई टिङङङ टिङङङ गरेर बिस्तारै बजाउँनेयस्तै विधी विधानले गरि सकेर फेरि त्यो दिनको (हरेक मितीको फरक-फरक हुने) विशेष कोटेशन मन्त्र पाठ गर्ने र त्यसको छोटो व्याख्या गर्ने । "नाम्-म्योहो-रेङगे-क्यो"को अर्थ "म आफुलाई लोटस सुत्रको महान नियम विधानमा समर्पित गर्दछु" भन्ने हुँदो रहेछ । ("लोटस सुत्र" का बारेमा तल छुट्टै अंश लेखिएको छ । हेर्नु होला) । यहाँ "निचिरेन बुद्ध धर्म" बारेमा छोटो जानकारी राख्दछु:

निचिरेन बुद्ध धर्म: १३औँ सताब्दीतिर बुद्ध धर्मालम्बी गुरु निचिरेनले जापानमा स्थापना गरेको महायान बुद्ध धर्मको एक शाखा धर्म नै निचिरेन बुद्ध धर्म रहेछ  निचिरेन बुद्ध धर्मका सिद्धान्तहरू शाक्यमुनी बुद्धका सारगर्भित शिक्षाहरूको संगालो लोटस शूत्रबाट लिइएक रहेछ 

निचरेन (१२२२-१२) बुद्ध धर्मले सिकाउँने लोटस शूत्रको मूलभुत शिक्षा "नाम्-म्योहो-रेङगे-क्यो" भनि गरिने गेयात्मक मन्त्रवाक्यमा निहित रहेकोछ जसले उच्चतम सार्वलौकिक नियमलाई व्यक्त गर्दछ । निचिरेन बुद्ध धर्मको प्रमुख शिक्षा भनिने लोटस शूत्रले सबै मानिसले, चाहेमा, आफुमा बुद्ध वा बुद्धत्वको विकास गर्न सक्दछन् भन्ने बुद्धकै वाणीलाई स्वीकार्दछ ।

निचिरेन बुद्ध धर्मले नै नाम-म्योहो-रेङ्गे-क्यो भन्ने मन्त्रवाक्य गाउँने प्रचलन सुरु गर्‍यो जुन मन्त्रवाक्यको नित्य स्तुतिले सार्वलौकिक नियमअनुसार हरेक व्यक्तिभित्र सामन्जस्यतापूर्ण सन्तुलन स्थापित गर्दछ र हरेक मानिसभित्रको आफैंमा बुद्धका गुणहरूले सुसज्जित गरेर विवेकसहित सशक्तिकरण गर्ने सामर्थ्य उजागर गर्ने प्रकृयाको ढोका खोलिदिन्छ । त्यसबाहेक, निचिरेन बुद्ध धर्मले आफ्नो व्यक्तिगत खुशीलाई अरु मानिसभित्रको सामर्थ्यलाई जगाउँने कार्यसँग जोड्ने काम गर्नुपर्दछ भनी सिकाउँदछ जुन बुद्धको अनुकम्पाभित्रकै कार्य हो ।

वुध्द धर्मका आधारभूत सिद्धान्त (Doctrine)

चार सत्यहरू 

क) जीवनमा दु:ख छ । कसैले पनि चाहेको सबथोक पाउँन सक्दैन । तर, दु:ख पनि अनित्य (Impermanent)  हुन्छ ।

ख) दु:खको कारण छ । दु:खको कारण अज्ञानता र लोभ-लालच हो । अज्ञानताले चाहना बढछ । चाहना गरेपछि पाईन्छ । तर त्यो पनि अनित्य (Impermanent) भएकोले ढीलो वा चाँढो गुम्छ । आफ्नो हात र साथबाट गुम्ने बित्तिकै दु:ख लाग्छ वा दु:ख उत्पन्न हुन्छ । हामी कुनै वस्तु वा चिजबिज मात्र होइन कुनै विचार वा सिद्धान्त पनि "मेरो" भनेर समाउँछौँ र त्यसले काम गरेनभने दु:ख मान्छौँ ।

ग) दु:खको अन्त्य "अपेक्षा" सुन्यमा पुगेपछि मात्र हुन्छ । अर्थात, अपेक्षा नै नगरेपछि "नपाए पनि" दु:ख लाग्दैन । जब दु:ख लाग्न छोड्छ तब जीवनबाट दु:ख हट्दै जान्छ ।

घ) दु:खलाई अन्त्य गर्ने निश्चित अष्टाङ्गिक मार्ग (Eightfold path):
१)      सही दृष्टिकोण (Samma Ditthi): अर्थात, सन्सारलाई घृणा, भ्रम, लोभ नगरी र कुनै पूर्वाग्रह बिना जस्ताको तेस्तै हेर्ने । यसले सत्य कुरा पत्ता लगाउँन मद्दत गर्छ परिणाम स्वरुप सुखको अनुभूति हुन्छ ।

२)      सही आशय (Samma Sankalpa): अर्थात, कुनै पनि काम असल आशय राखेर सम्पादन गर्ने । असल आशय राखेर गरेको कामबाट परिणाम राम्रो निस्कन्छ र यसले सुखको अनुभूति गराउँछ ।

३)      सही प्रयास (Samma Vayama): अर्थात, काम गर्दा सही किसिमको आचारसंहिता पालना गरेर कार्य सम्पादन गर्ने । किनभने, सही आचारसंहिता अपनाएर हासिल भएको परिणामले मात्र स:ख दिन्छ ।

४)      सही वचन (Samma Vaca): अर्थात, सत्य वचन पनि उपयोगी हुने किसिमले भन्ने । किनभने सत्य कुरा पनि उपयोगी किसिमले भने मात्र सर्वस्वीकार्य र सुखदायी हुन्छ ।

५)      सही कार्य (Samma Kammanta): अर्थात, कुनै पनि कार्य (Action)  गर्दा त्यसले दु:ख नजन्माओस भनि सोचेर गर्ने    किनभने सही कार्य गरे मात्र परिणाम पनि सुखदायी हुन्छ ।

६)      सही जीवनयापन (Samma Ajiva):  अर्थात, अरु मानिसलाई दु:ख नदिई आफ्नो निम्ती कमाई गरेर गुजारा गर्ने । किनभने अरुलाई दु:ख नदिई गरेको कमाईले मात्र सु:खदायी परिणाम दिन्छ ।

७)      सही विचारशीलता (Samma Sati): अर्थात, हरेक कुरालाई राम्रो सोचविचार गरेर मात्र स्वीकार वा तिरस्कार गर्ने । किनभने राम्रो सोचविचार गरेर काम गरे परिणाम सर्वस्वीकार्य हुन्छ र त्यसले सुखको अनुभूति प्रदान गर्छ ।

८)      सही कुरामा ध्यान (Samma Samadhi):  अर्थात, एक पटकमा एउटा कुरामा ध्यान दिने वा ध्यान गरेर आफ्नो चेतनालाई सँधै धारिलो पार्ने । किनभने ध्यान गर्दा नै विस्तारै नकारात्मक सोच, लोभ-लालच, र घृणाहरू त्याग्न सकिन्छ जसको परिणामस्वरुप सुखको अनुभूति हुन थाल्दछ ।

अष्ठशीलः मानिसले पालना गर्नु पर्ने ८ अनुशासन्
१। हत्या-हिँसा नगर्ने
२। चोरी नगर्ने
३। झूठो नबोल्ने
४। परस्त्री गमन नगर्ने
५। मादक पदार्थ सेवन नगर्ने
६। मध्यन्ह पछि खाना नखाने
७। साधारण वस्त्र पहिरिने
८। साधारण ओछ्यानमा सुत्ने



द्देश्य तथा सिद्धान्तहरू: निचरेन वुद्धिज्मले -

१। मानव जीवनको खुशी तथा कल्याण खातिर शान्ति, सँस्कृती तथा शिक्षामा निरन्तर योगदान पुर्‍याउँनेछ ।

२। कुनै पनि व्यक्तिमाथि कुनै पनि आधारमा भेदभाव नगर्ने आधारभूत मानव अधिकारको सधैँ बचाव गर्नेछ ।

३। सधैँ धार्मिक स्वतन्त्रता तथा धार्मिक अभिव्यक्तिको आदरपूर्वक संरक्षण गर्ने छ ।

४। सबै वर्ग र समूहमा प्रचारप्रसार तथा प्रवर्द्धन गरेर हरेक व्यक्तिहरूका सुख-शान्तिको निम्ती योगदान पुर्‍याउँनेछ ।

५। आफ्नो समाज तथा असल नागरिकहरूको खुसहालीका निम्ती योगदान पुर्‍याउँन सबैलाई प्रेरित गर्नेछ ।

६। हरेक मुलुकको परिस्थिती र अवस्था अनुकूल, आफ्नो मातहतमा कृयाशील सबै संगठनहरूको स्वतन्त्रता र स्वशासन अधिकारको आदर गर्नेछ ।

७। बुद्ध धर्मको सहनशीलतामा आधारित सोच अनुसार सबै धर्मप्रति आदरभाव राख्ने र मानवतासँग सम्बन्धित सवालहरूमा सबैसँग मिलेर वार्तालापको माध्यमबाट समस्या समाधानका उपाय निकाल्ने प्रयत्न गर्नेछ ।

८। साँस्कृतिक विविधताको आदर गर्नुका साथै साँस्कृतिक आदानप्रदान गर्ने कार्यको प्रवर्धन गरेर आपसी सद्भाव तथा मेलमिलापले भरिएको अन्तर्राष्ट्रिय समाज सृजना गर्ने कार्यमा सधैँ अग्रसरता लिनेछ ।

९। बुद्ध धर्मको पारस्परिक सहजीवनको सिद्धान्त अनुरूप प्रकृति तथा वातावरणको संरक्षण कार्यको प्रवर्धन गर्नेछ ।

१०। मानिसहरूको चरित्र सुधार गर्दै सुख-शान्ति हासिल गर्नका निम्ती र वौद्धिक विकासका निम्ती आवश्यक मानव शिक्षाको प्रवर्धनमा नियमित योगदान गरिरहनेछ ।

कारण-असरको नियम:  वुद्ध दर्शनको एक महत्त्वपूर्ण आधार यही जीवनको कार्य-प्रकृया हो भन्ने तर्कसंगत सोचाइमा निहित रहेकोछ । जसलाई भाग्य भन्ने गरिन्छ त्यो आफ्नै कार्य-प्रकृया द्वारा नै निर्देशित हुने गर्दछ । यसको अन्तरनिहित अवधारणा कर्म (Action)’ हो जुन कुनै पनि व्यक्तिले जीवनमा गर्ने कार्य-प्रकृयाका कारणले गर्दा नतिजाका रूपमा हासिल हुने सिरिफ एक अवस्था हो ।


बुद्ध धर्मले कारण-असरको सार्वलौकिक नियमको कुरा सिकाउँदछ । कारण-असरको प्रकृयाबाट प्राप्त हुने नतिजाहरूको नियम केवल जीवनको वर्तमानमा मात्र लागु हुने नभएर भूत, वर्तमान र भविश्यत् तीनै कालमा लागु हुन्छ । यही नै बुद्धको शास्वत जीवन सम्बन्धी एक दृष्टिकोण हो ।
कारणहरू नकारात्मक वा सकारात्मक हुन सक्दछन् तर तिनीहरू जहिले पनि हाम्रा बिचार, शब्द र कृयाकलापमा प्रतिविम्बित हुने गर्दछन् । हामी अहिले जे छौँ त्यो हाम्रै विगतका कर्म (Actions) हरूको प्रतिफल हो । त्यसै गरेर भोलि हामी के हुने? भन्ने कुरा पनि आज हामीले जे जे कर्महरू (Actions) गर्दछौँ त्यसैका प्रतिफलका रूपमा हासिल हुनेछन् ।

त्यसैगरेर बुद्ध धर्मले कारण-असर तत्कालै प्रकट हुने सिद्धान्तलाई अंगिकार गर्दागर्दै पनि कुनै कुनै कारणहरूको प्रतिफल देखिन केही समयसमेत लाग्न सक्छ भन्ने अर्को तथ्यगत कुरा पनि स्वीकार गर्दछ । यसैकारण हामीले सधैँ सकारात्मक प्रयासहरू गर्दै जानुपर्दछ । वर्तमान समयलाई कदर गर्दै जानुपर्दछ जुन समय कुनै पनि बेला जीवनको महत्त्वपूर्ण मोड हुन सक्दछ ।

सिद्धार्थ र घाईते हाँस
एक पटक सिद्धार्थ बगैँचामा बसेर आकाशमा उडिरहेका हाँसहरूका बथान  हेरिरहेका थिए । अचानक एउटा हाँस घाइते भएर रगतसरी भुइँमा खस्यो  सिद्धार्थले घाईते हाँसलाई समाए । हाँस पीडाले छटपटाईरहेको थियो । हाँसको पखेटाको गहिरो घाउमा तीर अड्किएको थियो । "ल मैले तीर निकालिदिएँ है त!" भनेर सोद्धार्थले हाँसलाई भने – "ल अब कसरी औषधी गर्ने होला !"
सिद्धार्थले नजिकै जडिबुटी खोजे, औषधी बनाए र हाँसको घाउमा लगाएर आफ्नो लुगा नै च्यातेर पट्टी बाँधिदिए ।
यतिकैमा "ओइ सिद्धार्थ, त्यो हाँस मेरो हो ।" भन्ने आवाज सुनियो । फर्केर हेर्दा, सिद्धार्थका भाइ पर्ने, देवदत्त देखिए । देवदत्तले हातमा तीर-धनुष बोकेका थिए, भने – "मैले यो हाँसलाई हानेर झारेको हो । मलाई देउ हाँस ।"
सिद्धार्थले भने – "यो हाँस त आकाशमा स्वतन्त्र घुम्ने पक्षी हो । तिम्रो होइन । यसको जीवनप्रति तिम्रो हक लाग्दैन । तेसैले यो हाँस म तिमीलाई दिन्न ।"
सिद्धार्थबाट यस्तो जवाफ सुनेपछि देवदत्तले भन्यो – "के भनेको? तिमीलाई हाम्रो मुलुकको कानुन थाहा छैन? यहाँ सिकार जहिले पनि हानेर झार्ने सिकारीको हुन्छ ।"
"मालाई कानुन थाहा छ । तर यहाँको कानुन अनुसार मरेको सिकार मात्र सिकारीको हुन्छ । यो हाँस त जिउँदो छ र यसको बाँच्ने अधिकार छ । हाँसको त्यो अधिकारको निम्ती औषधी गरेर बचाउँन खोजिरहेकोछु ।" भनेर सिद्धार्थले देवदत्तको आँखामा विनम्रतापूर्व हेरे र हाँसलाई सुम्सुम्याउँन थाले ।
देवदत्त रिसले आगो हुँदै बोल्यो – "हेर, यी सबै साथीहरू साक्षी छन् । मैले नै यो हाँसलाई हानेर झारेको कुरा यी सबैले देखेकाछन् ।"
सिद्धार्थले देवदत्तका साथीहरूतिर हेरेर विनम्रतापूर्वक मुस्कुराएर भने – "तिमीले हानेर यो हाँस झारेको होइन कसले भनेकोछ र देवदत्त? ल हामी कचहरीमा जाउँ र त्यहाँ छलफल गरेर यो घाइते हाँस बारे, जानिफकार मन्त्रीहरूले, जे निर्णय गर्छन् त्यही मानौँला ।"
सबै कचहरीमा पुगे । छलफल सुरु भयो । देवदत्तले रिसाएर कुरा राख्यो – "हामी यहाँ तपाइँहरूबाट न्यायको निम्ती आएको । यो हाँसलाई मैले तीरले हानेर झारेको हो । त्यसैले यो मेरो हुनु पर्छ ।"
"तिम्रो यो कुरा त ठीकै हो । हाम्रो मुलुकको कानुनले पनि त्यहि भन्छ ।" मन्त्रीहरूले भने ।
"हाँस मरे मात्र सिकारी देवदत्तको हुन सक्छ । तर, यो हाँस त घाइते मात्र छ । मरेको छैन । त्यसैले यो हाँसको बाँच्ने पुरा अधिकार छ । यस्तो अवस्थामा यो कसैको हुन सक्दैन ।" सिद्धार्थले आफ्नो तर्क नम्रतापूर्वक राखे ।
सिद्धार्थका पिता, राजा सुद्धोधन पनि त्यहाँ उपस्थित थिए जो धेरैबेरदेखि कुरा सुनिरहेका थिए । सुद्धोधनले भने – "मैले आज एकजना जानिफकार मानिसलाई भेटेँ र यहाँको छलफलमा उनको विचार सुन्न फाइदा होला भनेर बोलाएकोछु । हामी उनको कुरा सुनौँ ।"
ती जानीफकार मानिसले भने – "राजकुमार सिद्धार्थले जे भने त्यो सत्य हो । हाँसको स्वतन्त्र हुने अधिकार छ । सिद्धार्थ भनिरहेकाछन् उनले हाँसको जीवन बचाउँन औषधी गरिरहेकाछन् । त्यसैले यो हाँसलाई सिद्धार्थले राख्नु पर्छ ।"
मन्त्रीहरूले टाउको हल्लाएर 'यो कुरा सही हो' भने । राजा सुद्धोधनले निर्णय सुनाए – "यो निर्णय यहाँ सुनाईन्छ कि सिद्धार्थले घाइते हाँसको रेखदेख-औषधी-पानी गर्नेछन् ।"
केही हप्तापछि हाँस निको भयो । सिद्धार्थले हाँसलाई बगैँचामा ल्याए र भने – "ल अब जाउ मेरो पृय साथी ! तिमी जाउ तिम्रा साथीहरूसँग स्वतन्त्र भएर उड ।" हेर्दाहेर्दै दुइवटा हाँस त्यहाँ देखापरे जसले निको भएको हाँसलाई जाने बाटो देखाउँदै उडाएर लगे ।


लोटस सुत्र: सँस्कृतमा सद्धर्मपुण्डरिका सुत्र अथवा "अनौठो विधानका लोटस सुत्रहरू" भनकोछ । लोटस सुत्र अनेक खण्डमा बिभक्त छन् । सुत्रहरू केही कवितात्म छन् भने केही गद्यमा लेखिएकाछन् । लोटस सुत्रमा तीनवटा सिद्धान्तको कुरा रहेकोछ:

१) सबै बाहन एउटा बाहन हो । ज्ञान हासिल (Enlightenment) गर्ने उपाय त्रियाना हो: क) वुद्ध(ज्ञानी)का प्रवचनहरू सुनेर र बुझेर ज्ञान हासिल गर्ने; ख) आफ्न राम्रा कर्म गरेर ज्ञान हासिल गर्ने; ग) बोधिसत्वको बाटोमा समर्पित भएर ज्ञान हासिल गर्ने   तर यी तिनै बाहनहरूको एउटै वाहन "वुद्ध वाहन" हो । जसको माध्यमबाट हरेक मानिस बुद्ध हुन सक्दछन् ।

२) हरेक प्राणी वुद्ध हुन सक्छ: कुनै पनि प्राणीले वुद्धको बाटो पछ्याएर निर्वाण प्राप्त गर्न सक्छ । किनभने हरेक प्राणीमा वुद्ध हुने सक्ने गुण लुकेको हुन्छ, सिरिफ त्यसलाई सचेनतापूर्वक जगाउँनु मात्र पर्दछ ।   

३) विश्वास र उपासना: वुद्धत्व केवल वौद्धिक अभ्यास गरेर वा गुम्बामा बसेर मात्र प्राप्त हुन सक्दैन । बरु, बुद्धले भनेका कुराहरू विश्वासपूर्वक नियमित रुपमा बुझ्ने कोशिष गर्ने, बुझेका कुराहरू आफ्नै जीवनमा लागु गर्ने, आफ्नै जीवनमा भएको परिवर्तनको उदाहरण दिएर अरुलाई पनि प्रेरित गर्ने काम निरन्तर गर्नु पर्दछ ।


मैले यसबेला डा. मार्टिन लुथर किङ (जुनियर) लाई पनि सम्झेँ जसले अमेरिकामा (कालाहरुको) नागरिक अधिकार (बसमा कालाले गोरालाई सीट छोड्न नपर्ने, कलेजका क्याफ्टेरियाहरूमा कालाले पनि खान पाउँने र कालाले पनि भोट दिन पाउँने अधिकार)का निम्ती बेज्जोड आन्दोलनको नेतृत्व गरेका थिए ;



मार्टिन लुथर किङ  जुनियर – Martin Luther King Jr. (१९२९-१९६८)

सन् १९६४ मा शान्ति नोबेल पुरस्कार दिईएका मार्टिन लुथर किङ (जुनियर) सन् १९२९ को जनवरी १५ का दिन एटलाण्टाको जर्जियामा जन्मेका हुन् । उनका बुबा माइकल किङ (सिनियर) चर्चका पादरी थिए । मार्टिन लुथर किङ (जुनियर) ले पहिले समाजशास्त्रको अध्ययन गरे  पछि गएर उनले धर्म शास्त्रमा क्रोजेर थेओलोजिकल मेसिनरी, पेनसिलभानियाबाट उच्च शिक्षा हासिल गरे । किङ (जुनियर) आफ्नो बुबा र बुबाजस्ता यथास्थितीवादी सोचाई राख्नेहरूसँग असहमत थिए । आफ्नो असहमती, ख्रिश्चियन भएर पनि, बियर खाएर, पुल खेलेर, गोरा केटीहरूसँग लहसिएर दर्शाऊँदथे ।

पढाईको अन्तिम बर्षतिर किङ (जुनियर) को जीवनमा बेन्जामिन ई मेयस आए जसले किङ (जुनियर) भित्र अध्यात्मिक   विकास गर्न मद्दत गरे । मेयस जातिय समानताका निम्ती वकालत गर्ने मानिस थिए र 'ख्रिश्चियन धर्मले चाहेको परिवर्तन गर्न सक्छ' भन्ने ठान्थे । त्यसर्थ यिनैले किङ (जुनियर) लाई  ख्रिश्चियन धर्मका विशेषताहरूको समिक्षा गर्न लगाए । किङ (जुनियर) पिएचडी गर्न बोस्टोन विश्वविद्यालयमा भर्ना भए । यसैबेला, गायक र संगीतकार, कोरेट्टा स्कटसँग किङ (जुनियर) को भेट भयो । उनीहरूले सन् १९५३ मा बिबाह नै गरे र उनका ४ सन्तान पनि भए ।  पिएचडी गर्दा गर्दै किङ (जुनियर) अलाबामाको एउटा चर्चमा पादरी पनि भए । उनले सन् १९५५ मा पिएचडी सके जुनबेला उनी सिरिफ २५ बर्षका मात्र थिए ।

मार्च २, १९५५ का दिन, मोन्टगोमेरीमा, एकजना १५ वर्षे (काली) केटीले बसको सीट "गोरा"लाई छोडिदिन ईन्कार गरिन्, जसलाई कानु बिरुद् मानिन्थ्यो । क्लाउडेट्टे कोलभिन नामक ती केटीलाई पुलिसले पक्रेर जेल हाल्यो । यो देखेर बसमा काला र गोरामा गरिने बिभेदको कानुनलाई परिवर्तन गर्नु पर्ने भनि आन्दोलन गर्ने नागरिक समाजलाई आधार प्राप्त भयो भनि सोचेका थिए । तर ती युवती दुइ जिउकी रहिछन् जसले गर्दा नागरिक अधिकार कर्मीहरू आन्दोलन गर्नबाट हच्किए ।

डिसेम्बर १, १९५५ का दिन अर्को घटना घट्यो । रोशा पार्कस् नामक ४२ वर्षीय (काला) महिला थाकेर कामबाट घर फिर्न क्लेभलेण्ड एभेन्युको बसमा पसिन् । उनी "कलर्ड" लेखिएको बस-सीटमै बसेकी थिईन् । बस अघि बढ्यो गोराहरूको सिट सबै भरिए । अझ गोरा प्यासेन्जर आए र कालाहरूले सीट छोडिदेलान् भन्ने अपेक्षा गर्न थाले । तीनजना कालाले हिच्किचाउँदै सीट छोडिदिए तर पार्कसले सीट छोडिनन् । ड्राईभरले सीट छोड्न भने तर पनि पार्कसले सीट छोडिनन् । पार्कसलाई, मोन्टगोनेरी शहरको कानुन तोडेको भनेर पुलिसले गिरफ्तार गर्‍यो । एक हप्तापछि उनलाई अदालतले १० डलर दण्ड र ४ डलर आदालतको फि तिरायो ।

रोशा पार्कलाई गिरफ्तार गरेकै रात नेशनल एशोसिएशन फर दी एडभान्समेण्ट अफ कलर्ड पिपलका ई डी निक्सनले मार्टिन लुथर किङ (जुनियर) लगायत नागरिक अधिकार कर्मीहरूलाई भेटे र नगर बस बहिस्कार गर्ने योजना बनाए जसको नेतृत्व किङ (जुनियर) लाई सुम्पियो 

बस बहिस्कार आन्दोलन सुरु भयो र किङ (जुनियर)ले पहिलो भाषमा भने – ‘अब प्रतिबाद गर्नु बाहेक कुनै बिकल्प रहेन । हामीले गोराहरूलाई धेरै सह्यौँ तर अब हाम्रो धैर्यको बाँध टुट्यो र आज हामी न्याय र समानताभन्दा कम्तीमा सम्झौता नगर्ने अवस्थामा पुगेकाछौँ ।यसरी ३८२ दिन सम्म बस बहिस्कार गर्ने आन्दोलन चल्दा कालाहरूले हिँडेरै काममा जानु पर्‍यो, अनेक अपमना सहनु पर्‍यो, कालाहरूलाई अनेक डर-धम्की दिने र सताउँने काम गरियो । किङ (जुनियर) को घर र ई डी निक्सनको घरमा गोराहरूले आक्रमण समेत गरे । तर अधिकार कर्मीहरूले कानुनी लडाइँ छोडेनन् । अन्तमा मन्टगोमेरी नगरले, धेरै आर्थिक क्षति भएपछि, काला जातीले गोरालाई बसमा सीट छोडिदिनपर्ने प्राब्धान कानुनबाट हटाउँनु पर्‍यो ।

आन्दोलन सफल भएपछि झन देशब्यापी रुपमा कालाको अधिकारमा काम गर्न ६० जना अधिकार कर्मीहरूको एउटा नयाँ संयोजक संगठन स्थापित भयो । जसले अमेरिकाको दक्षिण भागमा काम थाल्यो । फेब्रुवरी १९५८ मा २० वटा मास मिटिङ गरेर अमेरिकाको दक्षिणमा सबै काला जातिले पनि भोटर लिस्टमा नाम दर्ता गर्ने अधिकारको अर्को आन्दोलन सुरु गरे । किङ (जुनियर) अमेरिका भरि धेरै सहरहरूमा जातिय विभेदको अन्त्य हुनु पर्ने बारेमा भाषण गर्दै हिँड्न थाले ।

सन् १९५९ मा किङ (जुनियर) ले महात्मा गांधीको मुलुकको भ्रमण गरे र गांधीको अहिंसात्मक आन्दोलनका बारेमा गहिरो अध्ययन गरे । जसले अमेरिकाको आन्दोलनलाई पनि अहिंसात्मक किसिमले सन्चालन गर्न प्रेरित गरेको भनिन्छ । फेब्रुवरी १९६० काला बिद्यार्थीहरूले ग्रिन्सबोरो, नर्थ क्यारोलिनामा काला र गोरालाई दिउँसोको लन्च-खानामा गरिएको विभेदका विरुद्ध अनसन सुरु गरे । यो बेला गोराले अनेक मौखिक गालीगलौज गर्दै भौतिक आक्रमण समेत गरे तर काला विद्यार्थीहरू चुचापम अनसनमा बसे । यो आन्दोलन छिट्टै देशभरि फैलियो र सन् १९६० को अगस्टमा अमेरिकाको २७ सहरहरूमा काला र गोरा विद्यार्थीलाई लन्चमा विभेद गर्न नपाईने निर्णय गरी आन्दोलन सफलतापूर्वक टुंगियो ।

अक्टोबर १९, १९६० का दिन किङ (जुनियर) ७५ जना काला विद्यार्थीहरू सँग एउटा डिपार्टमेन्ट स्टोरको रेष्टुरेण्टमा लन्च खान पसे । तर गोराहरुले कालाहरूलाई लन्च दिएनन । किङ (जुनियर) र विद्यार्थीहरू, निस्केर जान भन्दा पनि,   रेष्टुरेण्टमा बसिरहे ।  पुलिसले आएर किङ (जुनियर) सहित ३६ जनलाई गिरफ्तार गर्‍यो । यो घटनाले देशब्यापी रुप लिने देखेर एटलाण्टाका मेयरले छिट्टै कुरा मिलाए र दोष लगाएको कुरा फिर्ता लिए । यति बेला राष्ट्रपतिको चुनावको तातो सुरु भइराखेको थियो । किङ (जुनियर) जेलमै थिए । काला र गोरावीचको भेदभावले चुनावको मुद्दाका रुपमा प्रवेश पाइसकेको थियो । जोन एफ केनेडी उम्मेद्वार थिए । केनेडीले किङ (जुनियर)का श्रीमती कोरट्टा स्कटलाई फोन   गरेर किङ(जुनियर)लाई जेल मुक्त गराउँने बारे चासो लिए ।

सन् १९६० स्प्रिङमा किङ (जुनियर)ले बिरमिङघम, अलबामामा बिसाल आमसभा आयोजना गरे । जसमा धेरै परिवारले भाग लिए । नगर प्रहरीहरूले कुकुर र आगोको गोला फाल्दै आमसभालाई भाँडे । किङ (जुनियर)लाई उनका थुप्रै समर्थकहरु सहित जेल हाले । जुन घटनाले देशैभरिका मानिसको ध्यान तान्न सफल भयो । किङ (जुनियर)ले जेलबाटै   अहिंसात्मक सिद्धान्तका बारेमा भने - अहिंसात्मक आन्दोलन गरेरै हामी अधिकार लिएरै छोड्नेछौँ । अगष्ट २८, १९६३ का दिन २ लाख मानिसको बिसाल आमसभा न्यूयोर्कैमै किङ(जुनियर)ले आयोजना गरे । यहीँ किङ (जुनियर)ले उनको प्रसिद्ध "मसँग सपना छ"भन्ने भाषण गरे जसमा उनले कुनै दिन सबै मानिसहरू बन्धुत्वमा बाँच्नेछन्भनेर बोले । उले भनेका थिए – “"मसँग एउटा सपना छ कि एक दिन गएर यो मुलुकमा मेरा ४ जना सन्तानहरूलाई रंगका आधारमा होइन कि उनको चरित्रका आधारमा मुल्यांकन गरिनेछ ।"

किङ(जुनियर)को नेतृत्वको आन्दोलनकै कारण नागरिक अधिकारको कानुनका विभेदकारी बुँदाहरू १९६४मा हटाउँनु पर्‍यो   । यही कारणले किङ (जुनियर) ले १९६४ मै नोबेल शान्ति पुरस्कार पनि पाए । देशभरि अधिकारको आन्दोलन चलिरहेकै थियो । मार्च ७, १९६५ का दिन ठूलो आमसभामा पुलिसले हस्तक्षेप गर्‍यो । टियर ग्यास हान्यो । लाठी चार्ज गर्‍यो । थुप्रै मानिस रक्ताम्मे घाइते भए । १७ जना प्रदर्शनकारी अस्पतालमा भर्ना भए । यो घटना ईतिहासमा "ब्लडी सन्डे"को नामले अंकित भएर बस्यो । मार्च ९, १९६५ का दिन फेरि २५ सय जना प्रदर्शनकारीहरू निस्के जसलाई किङ (जुनियर)ले नेतृत्व गरेका थिए । यही आन्दोलनले गर्दा कालाहरूको भोटदिन पाउवनु पर्ने अधिकारको मुद्दा देशभरि उठ्यो ।

१९६५ देखि १९६७ को समयमा किङ (जुनियर)को नागरिक अधिकारको आन्दोलन लस एन्जेलस र सिकागोजस्ता ठूला सहरहरूमा समेत गरेर देशभरि चल्यो । किङ (जुनियर)को अहिंसात्मक आन्दोलनको तरिकाले मध्यम बर्गका गोराहरूलाई समेत प्रभावित गर्‍यो ।

यही बेला किङ (जुनिहयर) ले बिभेदकारी नीति र गरिबी बीच सम्बन्ध रहेको कुरा बोले । यसैबेला अमेरिकाले भियतनाम जस्तो सानो र गरीब मुलुकलाई युद्ध थोपर्नु अन्याय होभन्ने कुरा पनि अघि सारे । उनले आन्दोलनको एजेण्डामा बेरोजगारीको समस्या पनि एजेण्डाम रणनैतिक किसिमले थपेर बेरोजगारहरूलाई आफ्नो पक्षमा लिए । जसले गर्दा आन्दोलनमा धेरै पक्षहरूको सहभागिता बढ्यो । अप्रिल ३, १९६८ का दिन किङ (जुनियर) ले भाषण गर्दै भने  “हामीले पुग्ने ठाउँ म प्रष्ट देखिरहेकोछु । म तपाइँहरूसँगै त्यो ठाउँमा पुग्छु कि पुग्दिन मलाई थाहा छैन । तर आज तपाइँहरूलाई प्रष्ट पार्न चाहान्छु कि नागरिकको हैसियले त्यो संकल्पित ठाऊँ हासिल भएरै छाडिनेछ ।“ यसो भनेको अर्को दिन किङ (जुनियर)लाई वासस्थानको बरण्डामा उभिराखेको ठाउँमै गोलि हानेर हत्या गरियो । हत्यार थिए जेम्स अर्ल रे । किङ (जुनकियर)को हत्याले देशभरि १०० वटा सहरहरूमा आगो सल्कियो । हत्यारालाई ९९ वर्षको जेल सजाय दिईयो तर अप्रिल २३, १९९८ मा उ जेलम मर्‍यो ।


अमेरिकामा जातिय भेदभाव

जब ईटालियन क्रिष्टोफर कोलम्बसले नेटीभ अमेरिकनहरूका सारा कुरा खोसेर अन्याय अत्याचार गर्न थालेदेखि गोराहरूले २०० वर्षसम्म नेटीभ अमेरिकनहरूको आम-संहार (जेनोसाईडसमेत गरेर सखाप पारे तबदेखि नै  जातिवादले अमेरिकामा सँस्कारका रुपमा जरा गड्‍यो । पछि आएर कालाहरूलाई दास बनाउँने "दाश युग" मा झन जातिवाद गोराहरूको डीएनएमै छिर्‍यो र बाहिर नदेखिएपनि भित्रभित्र यो उर्जाशील भएर आजसम्म रहिरहेकोछ । कानुनले नै गोरा अमेरिकनहरूलाई जति अधिकार दियो त्यति अधिकार नेटीभ अमेरिकन, अफ्रिकन अमेरिकन, एशियन अमरिकन, र लेटिन अमेरिकनलाई देएकोछैन । अमेरिकामा यूरोपियन अमेरिकनहरूले १७ औँ शातब्दीदेखि सन् १९६० सम्म शिक्षा, बसाइँ सराई, भोट दिने अधिकार, नागरिकताको अधिकार, जमीन खरिद गर्ने अधिकार र आपराधिक छुटका अधिकार उपभोग गर्दै आए । त्यसो त गैर-प्रोटेष्टन्ट यूरोपेलीहरू (आइरिश, पोलेण्डी र ईटालियन) र यहूदीहरूले ले पनि अमेरिकामा भेदभाव सहनु पर्‍यो ।

२० औँ सताब्दीमा आएर जातिय भेदभावलाई कानुनी बन्देज लगाएपनि सामाजिक र आर्थिक क्षेत्रमा अझै भेदभाव कायम छ । जस्तैः रोजगारीमा, हाउजिङमा, शिक्षामा, ऋण लिँदा र सरकारी सेवाहरुमा कायमै रहेकोछ । यो कुरा सन् २००७ मा एबिसी न्यूजले गरेको अध्ययनले पनि देखायो । यस अध्ययनमा १० जनामा १ जना अमेरिकन गोरा अझै पनि हिस्प्यानिक-अमेरिकनहरूलाई भेदभाव गर्नु पर्छ भन्ने ठान्छ, ४ जनामा १ जनाले अरब-अमेरिकनहरूलाई भेदभाव गर्नु उचित हो भनि ठान्ने गरेको पाईयो ।

उपनिवेशहरू स्रोतका भण्डार हुने गर्थे । उपनिवेशवादीले ती मुलुकहरूका खानी, जल, जमीन, जंगल कब्जा गर्थे र अफ्रिकन (काला) "दाश"हरूलाई खेतीपाती गर्ने काममा लगाउँथे । जुन ३०० वर्षसम्म चल्यो । यसरी युग-युगसम्म "दाशत्व"को सँस्कार बसेपछि त्यो गोरा र केही हदसम्म कालाहरूको डीएनएमै घुलन भएर आजसम्म पनि बसेको देखिन्छ ।

यही माथि उल्लेखित कारणले "एटलाण्टिक दाश व्यापार" मौलायो । एक आँकलन अनुसार सन् १६२६ देखि १८६० सम्ममा ४ लाख ७० हजार "दाश"लाई अमेरिकामा जबरजस्ती ल्याईए र तेतिबेला एउटा गोराले ४ जनासम्म काला "दाश" राख्ने गरेका थिए । सन् १८६० को जनगणना नुसार १.५ मिलियन गोराहरूसँग ३ लाख ८५ हजार "दाश" रहेको तथ्यांकले देखाउँछ ।

दाश प्रथा उन्मुलनका प्रयासहरू १९ औँ सताब्दीको सुरुवाती दिनहरूबाट विस्तारै सुरु भएको देखिन्छ । American Colonization Society (ACS) ले सन् १८२०-१८३० तिर कालाहरूको मुक्ती र स्वतन्त्रताको कुरा अघि सार्‍यो ।

संविधानत: सन् १८०८ मै "दाश"हरूको व्यापार गर्नमा रोक लगाए पनि लुकिछिपि १८२० सम्म जतासुकै "दाश"को आयात भइरहे र यो कृयाकलाप अरु ५० वर्षसम्म चलेको देखिन्छ । अब्राहम लिंकनले जनवरी १, १८६३ मा "दाश"हरू मुक्त भएको घोषणा गरेपनि सन् १८६५ को संविधानको १३ औँ संसोधन नभएसम्म कालाहरुको "मुक्ती" कागजमा मात्र सिमित थियो । करीव ४ मिलियन कालाहरूलाई १८६५ मा मुक्त गरियो । सन् १८६० को जनगणना अनुसार (१३-४३ वर्षका) ८% गोराहरू गृह युद्धमा मारिए । सन् १८६६ मा Civil Rights Act पास भयो । बल्ल "अमेरिकामा जन्मेका" सबैले (कालाले समेत) अमेरिकी नागरिकता पाउँने भए ।

गृहयुद्ध पछि १८६५ को संविधानको १३ औँ संसोधनले अमेरिकामा दाशप्रथालाई हटायो । अझ १८६६ मा Civil Rights Act नै पास गरेर अमेरिकामा जन्मेका सबै अमेरिकन नागरिक हुनेछन् भन्ने व्यवस्था गर्‍यो । तर पनि अफ्रिकन-अमेरिकनहरूलाई व्यवहारमा बिभेद नै गरिरहियो । सन् १८६८ मा संविधानको १४ औँ संसोधन भयो र Civil Rights Act 1875 पनि परिमार्जित भयो र जातिय बिभेदलाई बिस्तारै हटाउँने काम गर्न थाल्यो । तर अझ संविधानको १५ औँ संसोधनले मात्र अफ्रिकन-अमेरिकनहरूको भोट दिने अधिकार लगायतका अधिकारहरु सुनिश्चित गर्‍यो । त्यसपछि बल्ल अफ्रिकन-अमेरिकनहरूले अमेरिकी कार्यालयहरूमा काम गर्न पाउँन थाले, शिक्षा हासिल गर्न पाउँन थाले ।

सन् १८७० तिर फेरि "गोरा अहंकारवादी"हरू सरकारमा आए र अफ्रिकन-अमेरिकनहरूको भोट दिने अधिकार खोसे । गोरा र काला विद्यार्थीलाई दिईने शिक्षाको सुबिधामा पनि फेरि भेदभाव गर्न थालियो । अनेक किसिमका भेदभावका विरुद्ध संघर्ष गर्नको लागी सन् १९०९ मा National Association for the Advancement of Colored People (NAACP) नामक सँस्थाको जन्म भयो । तर पनि जातिय भेदभावकै कारण अटलान्टा जातिय दंगा १९०६ र तुलसा जातिय दंगा १९२१ जस्ता घटनाहरू घटिरहे ।

स्कुलमा काला र गोरा विद्यार्थीहरूमा गरिएका बिभदहरूको बिरुद्ध सन् १९५४ मा सर्वोच्च अदालतले फैसला गर्‍यो । फेरि सेप्टम्बर १५, १९६३ मा गोराहरूले बम हानेर कालाहरूको हत्या गरे जसमा काला छात्रा क्यारोल रबर्टशन, सिन्थिया वेश्ली, डेनाईज म्याक्नेयर र एड्डी माए किलिन्स नामका विद्यार्थिहरू मरे ।

काला जातिको भोट दिने अधिकार १९६० सम्म कार्यान्वयन भएकै थिएन । सन् १९८१ देखि १९९७ सम्म अमेरिकन सरकारको कृषि बिभागले लाखौँ अफ्रिकन मेरिकन काला कृषकहरूलाई ऋण सुबिधा नै नदिएर बिभेद गरिरह्यो । सन् १९९३ को एक अध्ययनले (Katz and Braley) के प्रष्ट देखायो भने – "गोरा र कालाहरूले भित्रभित्र एकापसलाई दुश्मनकै रुपमा हेर्छन् । यी दुई जातिविचको सन्चार कहिल्यै प्रष्ट र हार्दिक हुँदैन ।"


समाज शास्त्री रस्स लङ्गले सन् २०१३ मा भने – "जातिवाद अहिले मिहिन किसिमले, गोप्य तर परम्परागत रुपमा चलिरहेछ ।" सन् २०१४ मा गरिएको एक अध्ययनबाट ८९% काला महिलाहरूलाई सिनेमामा आक्रामक रुपमा प्रस्तुत गरिएको तर गोरा महिलालाई १७% मात्र आक्रामक देखाईएको देखियो ।

एशियन अमेरिकनहरूले अमेरिका पसेदेखि नै भेदभाव भोगिरहेकाछन् । अमेरिकामा एशियनहरूको तीन पहिचान रहेको देखिन्छ १) एशियन डायस्पोरा, जसलाई पहिलो पुस्ता एशियन पनि भनिन्छ; २) अमेरिकामा जन्मेका एशियन, यिनलाई "न एसियन न पुरै अमेरिकन" पनि भनिन्छ; , ३) अमेरिकनहरूले एडप्ट गरेका एशियनहरू । जे जसरी भएपनि एशियनहरूले अमेरिकामा जातिय विभेद खप्नु परिरहेकैछ  

जब अमेरिकामा औद्योगिक क्रान्ति सुरु भयो र धेरै मजदुर चाहियो  तब बिभिन्न मुलुकका एशियनहरूलाई भित्र्याउँन थालियो । त्यतिखेरै देखि चिनीया मजदुरहरूलाई गोराहरूले "घृणा" गर्दथे किनभने गोराहरूलाई लग्दथ्यो कि 'चिनीयहरूले अमेरिकन गोराहरूको काम खोसिदिएका छन् ।' परिणाम स्वरुप चिनीयहरूको बिरुद्दमा लागु हुने गरी Chinese Exclusion Act नै सन् १८८२ मा पास गरेरै चीनियाहरुलाई कामबाट बन्चित गर्ने काम गरियो । कुनै जातिको   विरुद्धमा संसदले पास गरेको यो कानुन नै सन्सारको पहिलो र ठाडो विभेदकारी कानुन हो भनिन्छ । 

सन् १९०७ मा धेरै जापानी कामदारहरू अमेरिकामा पस्न थाले । जसलाई Gentlemen's Agreement ार्फत जापान सरकारलाई जापानी कामदारहरुलाई अमेरिका जाने पासपोर्ट नै दिन बन्द गर्न लगाईयो । 

सन् १९९० मा क्यालिफोर्नियाले Alien Land Law पास गर्‍यो जसले विदेशीहरूलाई ३ वर्षभन्दा बढी जमीन करारमा लिन बन्देज लगायो । यस अनुसार नै अहिले पंजाबका कृषकहरू अमेरिकामा खेतीपाती त गर्छन् तर सँधै टेन्सनमा हुन्छन् । एशियन अमेरिकनहरूलाई कार्यालयमा पनि बिभेद गरिन्छ । सन् २००० मा गरिएको एक अध्ययन अनुसार ९२% एशियन अमेरिकनहरू कार्यालयमा बिभेदको सिकार भएकाछन् । सर्वप्रथम काम दिनमै भेदभाव गरिन्छ र काम पाएपछि पदोन्नती हुनमा भेदभाव गरिन्छ । जसले गर्दा एसियनहरूले ढीलो र गोराहरूको दया-मायामा पदोन्नती पाउवने गरेकाछन् । परिणामस्वरुप आर्थिक र मानसिक रुपमा एसियनहरू ट्रउमामा रहने गर्दछन् ।

यसरी यूरोपेली, लेटिन अमेरिकन, मध्यपूर्वी तथा दक्षिण एशियन, अरब अमेरिकन, ईरानी अमेरिकन, आईरिश अमेरिकन, आदि सबैले अमेरिकामा अनेक किसिमका (समाजिक, साँस्कृतिक, कानुनी, राज्यको संरचनात्मक) जातिवाद बिभेदहरू भोगिरहेकाछन् । यस्तो लाग्छ ढीलो वा चाँडो यही बिभेदका कारण समस्याहरूको भूमरीमा अमेरिका फस्नेछ जसले अमरिकालाई बर्वाद गरिदिनेछ 

अमेरिकामा जातिवद सिद्धिएको छैन भन्ने बारे भर्खरे (जून २२, २०१५) राष्ट्रपति ओबामाले पनि स्वीकार गर्दै बोलका थिए – "दाश प्रथा र भेदभावको सँस्कृती अझै पनि अमेरिकाको डीएनएमा कायमै छ जुन ईतिहासले हस्तान्तरण गर्दै ल्याएको कुरा हो ।….जातिबदबाट हामी पूर्ण मुक्त भईसकेका छैनौँ । २-३ सय वर्ष चलेको दाशप्रथा र बिभेदी सँस्कृती झट्टै रातारात हट्ने पनि होईन रहेछ ।"


७। नेपालमा भुइँचालो गएको खबर: अप्रिल २५ माइलो छोरोको जन्म दिन । जेठो छोरो र बुहारी, कान्छो छोरो पनि रेडवुड सिटीबाट माइलोको जन्मदिन सेलेब्रेट गर्न कोर्शगोल्ड आएका थिए । छोरोको गाडी राख्ने ग्यारेजलाई उत्सब मनाउँने स्थल बनाएर, ओभरहेड प्रोजेक्टर मार्फत ठूलो भित्तामा गीतहरूको भिजुअल समेत हेर्ने र नाँच्ने गाउँने व्यवस्था मिलाएको थियो । जन्म दिनको विशेष काम पछि, केक काट्ने र उपहार दिने काम पछि खान पिन गरेर रातको ११ बजे तिर नाचगान सुरु भयो । "वारी जमुना पारी जमुना" गीतमा सबै नच्दै गर्दा १२ बजेतिर नानु जेनेटले "नेपालमा भुइँचालो गएर धरहरै ढल्यो'रे" भनेर सुनाईन । जेनेटले आईप्याडमा साथीसँग च्याट गर्दा थाहा पएको रहेछ । हाम्रो सारा रमाईलो छिनमै रोकियो  कता गयो गयो रमाईलो । होसहवास उड्यो । सबैले आ-आफ्नो मोबाइलबाट नेपाल फोन गर्न थाले । फोन नलागेर हैरान ।

म कम्पयुटरमा बसेर हेर्न थालेँ । फेसबुकमा फटाफट खबर र फोटोहरू शेयर गरेको देखिन थाल्यो । ७.९ रिक्टेयर स्केलको भुईचालो गएको था'भयो । तर नेपालमा आफ्नो घर के भयो होला? कुसुम बहिनी र ईत्ता नातिनीलाई घरमा छोडेर आएका थियौँ । फोन लाग्दैन । हैरान । मेरी श्रीमती हरिले यूकेमा (विद्यार्थी) छोरी अदितीलाई फोन गरेर 'नेपालमा कुसुम फुपुलाई फोन गरेर सोध त के के भयो? यहाँबाट फोनै लागेन' भनेर आराईन् । १५-२० मिनेटमा छोरीले फोन गरिन् – "कुसुम फुपु, ईत्ता (नातिनी) र (कुकुरहरू) फुच्ची अनि डेजी सबै सेफ रहेछन् । घर पनि केही भएको छैन'रे । केही सिसाहरू मात्र फुटेको छ रे । अहिले सबैजना छिमेकी ज्यापूको बारीमा जम्मा भएर बसेकाछन्'रे ।" बल्ल अलि ढुक्क भयो । हामी सबैले 'असन र भक्तपुर त ढुट्टै भयो होला' भनेर पनि कुरा गर्‍यौँ । नेटमा पुराना घरहरू ढलेको, मन्दिरहरू ढलेको, गोङगोबुमा घरहरू ढलेर मानिस पुरिएकोअनेक खबर आउँन थाल्यो । मन तेसै तेसै सुर्ताले आत्तिन थाल्यो । बल्लबल्ल राती २ बजेतिर सुतियो ।

अर्को दिन बिहान ९ बजेतिर निद्रा खुल्यो । मुखसुख धोएर आफै कफि बनाएर खाँदै म फेरि कम्प्युटरमा बसेर नेपालको खबर हेर्ने थालेँ । यूट्युबमा सिसिटिभीले खिचेका त्रिपुरेश्वर र नारायणगोपाल चोकका वृत्तचित्रहरूमा मानिस दगुर्दा दगुर्दै किच्चिएको देखेँ । धरहरा भत्केको, कृष्ण मन्दिर नजिकैको मन्दिर ढलेको, ोँगबुका घरहरू ढलेको, स्वयंभुनाथका घरहरू ढलेको, फेसबुकमा अनेकौँ तस्विरहरू अपलोड भएका थिए । गोर्खा, धादिङ, काठमाण्डु, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा सबैतिर जताततै धनजनको क्षति भएको खबर आए । हेरि नसक्नु, सुनि नसक्नु । मन तेसै तेसै आत्तिई रह्यो ।

अचम्म, तर असनमा केही क्षति भएको खबर थिएन । त्यो दिन बेलुका कामबाट आएपछि छोरोले "बा-आमा त्यस्तो भुइँचालो गइरहेको बेला कसरी जानुहुन्छ? हामीलाई आधा मासु हुन्छ । केहीदिन या महिना यतै बस्नुस् ।" भन्न थाल्यो ।

हाम्रो टिकट ३० अप्रेलको थियो । उसले हाम्रो टिकट लिएर क्याथे पेसिफिकमा फोन गरेर कहिलेलाई सार्न सकिन्छ भनेर सोध्यो । उताबाट "हेरेर भोलि बिहान खबर गर्छु" भन्यो । भोलिपल्ट "जून महिनाभरि प्याक छ । जुलाई महिनामा सिट मिलाईदिन सकिन्छ ।" भन्यो । हामीले सल्लाह गर्दा त्यति लामो त बस्न नसकिने भयो । मैले काठमाण्डुमा आफ्नै टिकट मिलाउँने ट्राभलमा फोन गरेर १ हप्ता देखि २ हप्ता सम्म हाम्रो टिकट एक्सटेण्ड गराईदिन भनेँ । त्यहाँबाट पनि "हेरेर भोलि भन्छु" मात्र भन्यो । भोलिपल्ट पनि खबर आएन । पर्सिपल्ट पनि खबर आएन ।

हामी अप्रिल २९ मा सान फ्रान्सिस्कोको घुम्न जाने भयौँ । नेपाल फर्किने भनेर सबै सामान लिएर हामी जेठा छोराको घर रेडवूड सिटी पुग्यौँ । भोलिपल्ट नापा उपत्यका घुम्न र पिकनिक खान गयौँ । फर्कँदा सान फ्रान्सिस्कोको गोल्डेन ब्रिज हेर्दै राती आइपुग्यौँ । मैले फेरि काठमाण्डु फोन गरेँ । यसपल्ट मे ७ तारिखको निम्ति टिकट एक्सन्शन भयो । सबैजना खुशी भए । हामी त्यो रात जेठा छोराकैमा बसेर भोलिपल्ट कोर्शगोल्ड आयौँ । कोर्सगोल्डमा मैले नेटमा क्यालिफोर्निया राज्यको भुइँचालोका बारेमा हेर्न थालेँ ।

.१ सान फ्रान्सिस्को भुइँचालो १९८९:  कम्प्युटरमा हेर्दाहेर्दै मलाई सान फ्रान्सिस्कोको १९८९ को भुइँचालो कस्तो थियो होला भनेर हेर्न मन लाग्यो । नेटमा खोजेर हेरेर केही थाहा पाएँ सन् १९०६ मा पनि सान फ्रान्सिस्कोमा ठूलो भुइँचालो गएको रहेछ ।

त्यसपछि अक्टोबर १७, १९८९ मंगलबारका दिन सान फ्रान्सिस्को बे क्षेत्रमा ठूलो भुइँचालो आएको रहेछ । जसलाई लोमा प्रिएटा भुइँचालो पनि भनिँदो रहेछ । यसको ईपी सेन्टर सान्ता क्रुज पर्वतको निसेने पार्कमा रहेछ । जसको असर वरिपरिका आलामेडा सान्ता क्लारा, सान्ता क्रुज र मोन्टेरे तिर धेरै परेको रहेछ । तर मरिना जिल्लालाई यसले नराम्रो असर पारेको रहेछ किनभने यो ठाउँको बस्ती माटो र बालुवाले पुरिएको फस्फसे जमिन माथि निर्मित रहेछ । ५० देखि १०० बर्ष पुराना घरहरू धेरै ढलेछन् । बेलुकाको ५.४ बजे आएको यो भुइँचालो ६.९ रिक्टेयर स्केलको, १५ सेकेण्ड जति, आएको रहेछ ।

यो उत्तर अमरिकन र पेसिफिक टेक्टोनिक प्लेटहरू जुदेर आएको भुइँचालो रहेछ । धेरै पुल र बाटोहरू भत्काएछ । सान् फ्रान्सिस्को-ओकलेण्ड बे पुललाई झ्याप्पै भत्काएछ । बे क्षेत्रको यातायात प्रणाली ध्वस्त नै पारेछ, हज्जारौ घर र संरचनाहरू भत्काएछ तर मानिस त ६३ जना मात्र मारेछन् किनभने सन् १९०६ को भुइँचालोले ३ हजार मानिस मारेपछि भुइँचालोबाट कसरी बच्ने बारे धेरै तालिम गरिएकोरहेछ, घरहरु भुइँचालोले नत्काउँने वा भत्केपनि कम क्षती गर्ने किसिमले बिल्डिङ कोड लागु गरेर बनाइएकारहेछन् । यही भुइँचालो गएकै दिन १९८९ को बेसबल सिरिज प्रतियोगिता सान फ्रान्सिस्को क्यान्डलस्टिक पार्कमा, सान फ्रान्सिस्को जाइन्ट टीम र ओकलेण्ड एथलेटिक्स टीमका बीच हुँदै रहेछ । जुन सिरिजलाई टेजिभिजनहरुले प्रशारण गरिरहेका रहेछन् तर भुइँचालो आएपछि टेलिभिजनहरूले अरु सबै कुरा बन्द गरेर १० दिन सम्म भुइँचालो सिरिज मात्र प्रसारण गरेछन् । भुइँचालो गइसकेपछि पुन:निर्माण गर्न करीब ३ बर्ष समय र १ बिलियन डलर बजेट लागेछ ।



1 comment:

  1. So sweet writing Bikram Subba sir. Your articles are based on reality, facts and figures. Also, your advocacy is praiseworthy. Cultural diminishing is the main problem of present world/Nepal. Let's preserve it, promote it. Our concerted efforts would definitely bring about positive changes. Thank you. (Chet Nath Kanel "Harit", Kathmandu)

    ReplyDelete