Monday, May 2, 2016

किरात भाषा-साहित्य उत्थानका कार्यहरू (विक्रम सुब्बा)

राई, लिम्बु, सुनुवार, याक्खा, मेचे लगायत किरात र किरातका भाषा र साहित्य उत्थानका निम्ती गर्नु पर्ने केही महत्वपूर्ण कार्यहरू निम्नानुसार रहेकाछन्

१। यलम्बर सम्बत पात्रोः ‘जनताको संविधान’ भनेको पात्रो वा ‘क्यालेण्डर’ पनि हो । जसले किरातहरूको नयाँ वर्ष कुन महिनाको कुन दिन पर्दछ र यसलाई किरातजन्य सँस्थाहरूले गाउँ-गाउँ र शहरहरूमा कसरी मनाउँने? कुन कुन तिथीहरू कुन कुन दिन पर्दछन्? कुन कुन दिन कुन कुन किरातजन्य चाडपर्वहरू पर्दछन्? कुन कुन दिन विदा पर्दछन्? आदि प्रश्नको जवाफ घरघरमा पुगेर दिईरहने गर्दछ । यसको निम्ती दिन, सात, महिना, वर्ष सबै तोकेर पात्रो लेखन कार्यलाई निरन्तरता दिनु पर्दछ ।

२। किराती भाषाहरुको ध्वनी (स्वर तथा व्यन्जन) पहिचान तथा तालिका विकास: नेपालमा बोलिने सबै किरात जातजातिका भाषाहरूको स्वर ध्वनीहरू (Vowel sounds) र व्यन्जन ध्वनीहरू (Consonant sounds) पहिचान गरि  International Phonetic Association (IPA) Chart को आधारमा किरात भाषाहरुको ध्वनी तालिकाको विकास गरेर एक अभिलेख तैयार गर्नु पर्नेछ । यसका आधारमा कुन कुन ध्वनीलाई के कस्तो किसिमको लिपिमा अंकितिकरण गर्दा उपयुक्त हुन्छ भनेर सोच्न सकिन्छ र फरक फरक किरात भाषाका एउटै वा फरक फरक लिपिहरू विकास गर्न पनि सकिनेछ ।


३। किरात लिपिहरूको विकास: हाल केही किरात जातजातिले किरात सिरिजंगा लिपिलाई आफनो भाषा लेखनका निम्ती उपयोग गरिरहेको पाईन्छ । तर धेरैजसो किरात जातजातिहरूको आफ्नो छुट्टै लिपि विकास गरेर प्रयोग थाल्न बाँकी रहेकोछ । अहिले आएर यस क्षेत्रका विज्ञ तथा किरात अगुवाहरुको सकृयतामा हाल उपलब्ध र जिवित रहेको किरात सिरिजंगा लिपिलाई नै सुधार वा आवश्यक चिन्हहरू (Diacritics) थपघट गरेर किरात भाषाका ध्वनीहरूलाई लाई लेखन कार्य गर्न सकिन्छ भन्ने बारे चर्चा चलिरहेकोछ । सबै किरात जातिको आफ्नै लिपि भए आफ्नै किरात भाषामा लेख-पढ गर्ने कार्य पनि अघि बढ्नेछ । लिपिलाई कम्प्युटरको प्रोग्रामिङ गरेर किसिम किसिमका अक्षरहरू विकास गर्ने र सन्सारभरिका सबै कम्प्युटरमा सो लिपि टाईप गर्न सकिने र डाउनलोड गरेर पढ्न र सेभ गर्न सकिने गरी यूनिकोडमा राख्न सकिने पनि बनाउँनु पर्दछ ।

४। किरात सँस्कारधर्म तथा दर्शनहरूको अध्ययन तथा लेखन: सबै किरात जातजातिहरूको जन्मदेखि मृत्युसम्म अपनाउँनु पर्ने सँस्कारगत तथा चरणगत चक्रहरु रहेकाछन् । किरातहरुको सँस्कार, धर्म के हो? आदि बारे हरेक (२७-३२?) किरात जातजातिहरुको सँस्कार, धर्म र दर्शनका बारेमा अद्ययन गरेर पुस्तकका रुपमा प्रकाशन गर्ने काम महत्वपूर्ण हुनेछ । यसको निम्ती हरेक किरात जातिको मुन्धुमहरूको अध्ययन र प्रकाशन महत्वपूर्ण आधार हुन सक्दछ ।  

५। किरात चाडपर्वहरूको अध्ययन तथा लेखन: सबै किरात जातजातिहरू हरेक महिना वा वर्षभरि कुनै न कुनै चाडपर्व मनाई रहेका हुन्छन् । चाडपर्वहरू मनाउँने सिलसिलामै आफ्ना हाड-नाता, छोरी-चेली, मामा-मावली, कुटुम्बहरूको भेटघाट हुने र सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनैतिक गतिविधिहरु संचालन गर्ने गर्दछन् । चाडपर्वहरूले नै समाजमा सम्बन्धहरूको संजाल (Network) निर्माण गर्ने काममा सहयोग गरिरहेका हुन्छन् जुन हरेक व्याक्तीका निम्ती सामाजिक पुँजी निर्माण कार्यको निम्ति पूर्वशर् नै हो । त्यसैले गर्दा किरात जातजातिको चाडपर्वहरू अध्ययन गरेर प्रकासन गरि ईच्छुक मानिसहरूलाई अध्ययन गर्ने अवसर दिनु वा ती सामग्रीका आधारमा स्कुल-कलेजमा पठन-पाठन गराउँन मद्दत पुग्नेछ ।

। किरात भाषाका व्याकरण अनुसन्धान तथा अभिलेखिकरण: किरात भाषाहरुको पठन-पाठन कार्य अघि बढाउँदै लैजानको निम्ती किरात जातजातिका भाषाहरुको १) प्रारम्भिक तथा २) विकसित (Advanced) गरी दुई किसिमका व्याकरण भए मात्र शिक्षकले पढाउँने र विद्यार्थीले पढ्ने काम गर्न सक्दछन् । तर हाल किरात जातजातिहरूको भाषाका व्याकरण चाहिएजति लेखिएका छैनन् । त्यसकारण छिटभन्दा छिटो हरेक किरात जातजातिका भाषाहरुको व्याकरण अध्ययन गर्न र पुस्तकका रुपमा प्रकासन गर्नु अत्यन्त जरूरी भएको छ ।

७। किरात भाषाका शब्दकोषहरूको लेखन र प्रकाशनः किरात भाषाहरुको पठन-पाठन कार्य अघि बढाउँदै लैजानको निम्ती किरात जातजातिका भाषाहरुको १) प्रारम्भिक तथा २) विकसित (Advanced) गरी दुई किसिमका शब्दकोऋहरू भए मात्र शिक्षकले पढाउँने र विद्यार्थीले पढ्ने काम गर्न सक्दछन् । तर हाल किरात जातजातिहरूको भाषाका शब्दकोष भनेजस्तो लेखिएका छैनन् । त्यसकारण छिटभन्दा छिटो हरेक किरात जातजातिका भाषाहरुको शब्दकोष लेखन र पुस्तकका रुपमा प्रकासन गर्नु अत्यन्त जरूरी भएको छ । यही सिलसिलामा हरेक किरात जातिको आ-आफ्नै भाषामा कानुन शब्दकोष, वातावरण शब्दकोष, खेतिपाती शब्दकोष, मुन्धुम शब्दकोष, विज्ञान शब्दकोष, दर्शन शब्दकोष, आदि पनि लेखन र प्रकाशन गर्नु पर्दछ ।


। किरात भाषाका साहित्य लेखन: नेपालका २७-२८ किरात भाषाहरूमा पठन-पाठन संचालन गर्नका निम्ति ती सबै भाषाहरुमा निबन्ध संग्रहरहरु, कविता संग्रहहरू, कथा संग्रहहरू, नाटकहरु, उपन्यासहरू, काव्यहरू, खण्डकाव्यहरू र समालोचानाका ग्रन्थहरू हुनु पर्दछ जुन हाल किराति जाजतजातिका भाषाहरूमा सुन्य बराबर छन् । तसर्थ किरात जातजातिहरूको साहित्य अध्ययन तथा लेखन कार्य तुरुन्तै सुरु गर्नु पर्ने भएकोछ ।

९। किरात प्रथाजन्य कानुनहरूको अध्ययन प्रकासन: नेपाल अब संघीयतामा जाने भयो । हरेक राज्यमा आफ्नै कानुन लेखिनेछन् । यो काम गर्न को निम्ती किरात क्षेत्रमा किरात प्रथाजन्य कानुनहरूको धार लिनु पर्ने हुन्छ । त्यसैले छिटोभन्दा छिटो किरात प्रथाजन्य कानुनहरुको अध्ययन गरेर प्रकाशन गरि नयाँ बन्ने राज्यमा कानुन लेखनको बेला मद्दत गरिनु पर्दछ नत्र हिन्दु विधी अनुसार नै राज्यका कानुन लेखिनेछन् । यसका साथै किराती भाषाहरूमा कानुनी शब्दकोषहरू पनि लेखन र प्रकासन गर्ने कर्य गर्नु पर्दछ ।

१०। ईतिहास लेखनः किरात जातिहरूको उत्पतीका बारेमा र नेपालको हालको भूभागमा किरातिहरूको आगमन, बसोबास, शासनको ईतिहासका बारेमा पनि वैज्यानिक अनुसन्धान र लेख्न कार्य गरिनु पर्दछ । अहिले सम्म लेखिएका ईतिहासहरूमा धेरै हदसम्म प्रमाण बिहिन वा अरु कसैको ईतिहासमा उल्लेख भएको आधारमा मात्र लेखिएकोछ । जाति उत्पती तथा आगमनको वैज्ञानिक अध्ययन गर्दा Blood sampling लिएर DNA mapping समेत गर्नु पर्ने हुन्छ ।

११। कसरी गर्ने?: नेपालका हरेक किरातजन्य सँस्थाहरूले विषय विज्ञहरूको Team हरू बनाएर यी कार्यहरूलाई परियोजनाहरू विकास गरेर कार्य सम्पादन गर्नु पर्ने हुन्छ । यो कार्यमा नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रतिष्ठन, त्रिभुवन विश्वविद्यालय, नेपाल सरकार, सिक्किम विश्वविद्यालयजस्ता निकायहरूसँग सहकार्यमा समेत काम गर्नु पर्दछ ।


No comments:

Post a Comment