Thursday, May 5, 2016

५ सुनखानीमा वुद्ध (विक्रम सुब्बा A Travelogue 5)

९। मन्टेरे: मन्टेरे पुगियो । मन्टेरे सहर पहिले (स्पेनी र मेक्सीकन शासनका बेला) काउण्टीको राजधानी थिएछ । क्यालिफोर्निया अमेरिकाको अंगको रुपमा (सन् १८४६) बिलय हुँदा मन्टेरे पनि स्वत: यसकै अंगका रुपमा गाभिएर आयो । स्पेनी उपनिवेशवादीहरू आउँनु अघि मन्टेरे आदिवसि 'रुमसेन ओहलोन'हरूको मुलुक रहेछ । जहाँ उनीहरू मन्टेरे-प्रायद्वीपमा सिकार गरेर, माछा मारेर र कन्दमूल खोजेर जीवन निर्बाह गर्नेगर्दा रहेछन् । सन् १६०२ मा स्पेनी उपनिवेशवादी सेवाष्टीयन भिजकाइनोले सबैभन्दा पहिले यो ठाउँलाई "बाहिया डे मोन्टेर्रे" भन्ने नाम दिएकारहेछन्  । कालान्तरमा त्यही शब्द 'मन्टेरे बे' हुन पुगेको रहेछ । जुलाई ७, १८४६ मा मन्टेरेमै मेक्सिकन-अमेरिकन युद्ध भयो र यही दिन मन्टेरेको कष्टम हाउसमा अमेरिकन झण्डा फहराईयो र क्यालिफोरनियालाई पनि अमेरिकाकै अंका रुपमा गाभिएको रहेछ । पछि सन् १८८९ मा आएर क्यलिफोरनिया कानुनी रुपमै अमेरिकाको एउटा राज्यका रुपमा स्थापित भएकोरहेछ । पहिले मन्टेरे माछा मार्ने स्थलका रुपमा प्रसिध्द रहेछ तर अत्यधिक माछा मार्ने काम गरेकोले १९५० मा त माछा नै सिद्धिएछन् । पछिल्लो समयमा आएर मन्टेरेलाई अंग्रेजी बाहेकका भाषाहरूको अनवाद-केन्द्रका रुपमा बिकसित भएको रहेछ र सन् १९९५ मा आएर "सन्सार भरिका भाषाहरूको राजधानी" का रुपमा घोषित भएकोरहेछ । कस्तो कस्तो विशेषतालाई भजाएर पनि आफ्नो आय आर्जन गर्ने बाटो खोलेका भनेर म छक्क परेँ । यो सहर सान एन्ड्रियास फल्ट (करीब ४२ किमि)को माथि अवस्थित भएकोले भुइँचालो गईरहने क्षेत्रमा पर्दोरहेछ ।

यहाँ लगभग करीब १०० वर्षमा एकपल्ट (९ फीट सम्म अग्लो) सुनामी आउँने रहेछ । यहाँ २७६ (४४४ किमि) लामो "मन्टेरे बे राष्ट्रिय सामुद्रिक सेंङ्कचुरी" स्थापना गरी पर्यक आकर्षणको रुपमा बिकास गरिएकोरहेछ । सन् १९०० मा १,७४८ रहेको यो सहरको जनसंख्या सन् २०१२ मा २९,००३ पुगेको रहेछ जहाँ ९१.०% मानिस आफ्नै रमा बस्दारहेछन् भने बाँकी भाडामा बस्दा रहेछन् । जातजातिका हिसाबले यहाँ गोरा, अफ्रिकन अमेरिकन, नेटीभ अमेरिकन, एशियन, प्यासिफिक आइस्लेण्डर्स, हिस्प्यानिक लेटिनो र अन्य रहेछन् । यहाँ श्रीमान बिनाका ७.४% महिलाहरूको (Female headed) अगुवाईमा चलेका परिवार रहेछन् भने ३.०% श्रीमतीबिनाका पुरुषहरूको अगुवाईमा चलेका परिवार हरेछन् ।  .७% अबिबाहित तर बिपरितलिंगी पार्टनरशीप सम्बन्धमा रहेका परिवार रहेछन् । .९% होमो सेक्सुअल परिवार रहेछन् भने ११.८% मानिस एक्लै जीवन यापन गर्दारहेछन् । यहाँको परिवारको आकार प्रति घर .८१ जना रहेछ ।

मन्टेरे र प्वाईन्ट पिनोसको वीचमा 'प्यासिफिक ग्रोभ' नामक समुद्री तटको एक सुन्दर ठाउँ पनि रहेछ जसलाई "अमेरिकाको अन्तिम गृहनगर" (America's Last Hometown)  "अमेरिकी पुतली सहर" (Butterfly Town USA)  पनि भनिँदोरहेछ । प्रसिद्ध गायक जोन डेनभर अक्टोबर १२, १९९७ का यहीँ आफ्नो नीजि हवाईजहाज दर्घटनामा परेर मरेका रहेछन् । यहाँ राज्यले नै मेरिन कन्जर्भेशन गर्दै प्यासिफिक ग्रोभ मेरिन बगैँचा स्थापना गरेको रहेछ जुन अत्यन्तै सुन्दर छ । यहाँ लभर्स प्वाइन्ट, एडवार्ड एफ रिक्केट्स मेरिन कन्जर्भेसन क्षेत्र, असिलोमार मेरिन रिजर्भ जस्ता संरक्षित क्षेत्रहरू अत्यन्तै सुन्दर किसिमले बिकसित गरिएकारहेछन् । यहाँको शान्त वातावरणमा करीब ८०० मानिस बसोबास गर्दारहेछन् । यहीँ अनेक राजनितिज्ञ, लेखक, फेशन आइकन, वैज्ञानिक, विज्ञान फिक्शन लेखक, फिल्म डाइरक्टर, फुटबल कोचहरू महंगो तर आरामदायी घर किनेर समयसमयमा रिल्याक्स गर्न आउँदारहेछन् ।

सन् २०१० को जनगणना अनुसार यहाँको जनसंख्या १५,०४१ रहेछ  गोराहरू ८४.५%, अमेरिकन अफ्रिकन १.३%, नेटीभ अमेरिकन ०.५%, एशियन ५.८%, प्यासिफिक आइसलेण्डर्स ०.३%, अन्य ३.१% र १०.७% हिस्प्यानिक लेटिन रहेछन् । यहाँको प्रति परिवार आय प्रतिवर्ष ५९,५६९ डलर रहेछ । यहाँका प्रति पुरुषको आय ४३,८९७ देखिन्छ भने महिलाको आय ३५,९२४ देखिन्छ । करीब ५.४% गरिबीको रेखा मुनि रहेर गुजार गर्दारहेछन् भने ३.९% ६५ वर्षभन्दा धेरै उमेरका मानिस रहेछन् ।

१०। बाई! बाई!! अमेरिका: मन्टेरेमा "होटल एम्बेसेडर स्वीट्स"को ९ औँ तला, जहाँबाट समुद्र्को दृश्य गज्जब देखिन्छ, मा बसेर प्यासिफिक ग्रोभ, आक्वारियम घुमिसकेर जेठो छोरोको घरमा, हामी श्रीमान श्रीमती, माइलो छोरो र वुहारी ज्यास्मीन अनि नातिनि नुमा, आइपुग्दा बेलुकाको ७ बजिसकेको थियो । बाटोमा आउँदा आउँदै जेठी बुहारी लक्ष्मीले माइली बुहारी ज्यास्मीनलाई फोन गरेर के के खाने भनेर सोधेकी थिई । हामीले अमेरिकामा जेठी बुहारीको हातबाट नेपाली म:म: खाने भनेका थियौँ । लक्ष्मीले अरु केही बनाउँ कि? भनेर सोद्धा म:म: मात्र खाने भनेका थियौँ । हामी घर पुग्दा कान्छो छोरो पनि आइसको रहेछ । माईलो छोरो दिनभर ड्राइभ गरेकोले थाकेको थियो एकछिन सुत्न पस्यो । हामीले ८ बजेतिर म:म: खान थाल्यौँ । यो वीचमा मेरी श्रीमती हरीले रहल-पहल प्याकिङ पनि गरिन् । म:म:सँग मैले जेठो र कान्छो छोरोसँग क्यालिफोर्नियाको रेड वाइन खायौँ । बुहारीहरूले पनि रेड वाईनसँग मःमः खाए ।

माइलो छोरो ९ बजेतिर उठ्यो । मं:म: खायो र हामी साढे ९ बजेतिर सान फ्रान्सिस्को एयरपोर्ट लाग्यौँ । यो २०१५ मे ७ तारिखको रात थियो । हाम्रो एयरपोर्ट पुग्ने समय १० बजे र उडान समय मे ८ तारिख १ बजे राती थियो । अमेरिकामा यस्तो अबेर रातीको उडानलाई Red eye flight भन्दारहेछन् । माइलो छोरो, माइली बुहार, नातिनी र कान्छो छोरो हामीलाई पुर्‍यउँन एयरपोर्ट सम्म आए । नातिनीलाई समातेर माया गरेँ । छोरा बुहारीहरूको निधारमा चुमेर आशिर्वाद दिएँ र श्रीमतीलाई ह्विलचेयरमा गुडाउँनेसँगै म पछिपछि लागेर भित्र पसेँ । छोरा-बुहारी, नातिन सबै छुटे । भित्र टोइलेटमा पसेर म निकैबेर रोएँ । जीउ थर्रर्रर्र काम्यो । रिंगटा लाग्यो ।


नातिनीसँग अब फेरि भेट होला नहोला? भेट भए पनि अहिलेको जस्तो उस्को वाल्य स्वरुप कहाँ पाइला र? बुध्दले भनेजस्तै हरेक कुरा अनित्य छ । नातिनीको रुप पनि हरेक दिन बदलिनेछ । उसको रुप, रंग र स्वाभाव फेरिनेछ भन्ने सम्झेर भक्कानियेँ । छोरा-बुहारीहरू सबै अमेरिकन नागरिक भइसके । मलाई पनि यतै बसौँ भनेर बोलाइरहेछन् । मैले "हुन्छ" वा "हुन्न" केही भनेको छैन । राती ठीक १ बजे हाम्रो जहाज उड्यो । मैले अमेरिकालाई मनमनै "बाई! बाई!!" भनेँ । म कुनै मानिससँग छुट्दा वा कुनै पनि ठाउँबाट विदा हुँदा अब भेट नहुन पनि सक्छ; अब फेरि यो ठाउँमा फर्केर नआउन पनि सकिन्छ, जीवनको के भरोसा? भनेर मनमनै भन्ने गर्छु । तेसैले भेटघाटलाई गुणस्तरीय (Quality meeting) बनाउँन खोज्छु र नयाँ ठाउँको घुमघामलाई पनि समय लगानी गरेर ती ठाउँहरूका बारेमा बुझ्न, जान्न र केही सिक्न खोज्छु ।

११। एघार घण्टाको ट्रानजिटः श्रीमती हरि विसन्चो भएकोले मैले केयर गर्ने जिम्मै लिएर आएको हो । नत्र माइलो छोरो द्रोणले 'मुवालाई पठाइदिउँ, किनभने उहाँको अफिस रहेछ । बुवा जुलाई सम्म बस्नु' भनेको थियो । उता यूकेबाट छोरी अदिती पनि, कोशी टप्पुमा 'माकिया माकारान्था'ले जंगल र समुदायमा पारेको असरबारे अनुसन्धान गर्न, मे १८ मा नेपाल आइपुग्ने तय थियो । छोरीको मास्टर्स कोर्शको डेजर्टेशन भएकोले छोरी नेपाल आउँदा हामी बा-आमा पनि सहयोग गर्न हाजिर हुनै पर्छ भन्ने हाम्रो सल्लाह भएको थियो । त्यो कारणले पनि म नैतिक रुपले आउँन पर्ने भयो ।

हामीले टिटकमै हाम्रो खान (मेरो लागी फलफुल मात्र र श्रीमतीको लागी नन-भेज रिक्वेष्ट गरेका थियौँ) त्यही अनुसार खाना र रेड वाईन खाँदै १४ घण्टा २० मिनेटको लामो न लामो हवाई यात्रा गरेर हामी हङकङ उत्रियौँ । ७ घण्टा ट्रान्जिटमा बिताउँनु थियो । कोर्सगोल्डमै घरमा कुरा हुँदा, जेठा छोरा बुहारी ट्रान्जिट धेरै बस्नु पर्दा हङकङ घुम्न गएको कुरा सुनाएका थिए । हामी पनि घुम्ने कि भनेर बुझ्दा नेपालीलाई भिसा चाहिने था'भो । कस्तो झ्याउ, नेपालीलाई हङकङले पनि हेपेको ।
तस्विर ३३:  हङकङ एयरपोर्ट
माइलो छोरोले एयरपोर्ट होटल नेटमा सर्च गर्‍यो तर एयरपोर्ट होटल जान पनि नेपालीलाई भिसा चाहिने कुरा थाहा भएको थियो । हरि बिसन्चो भएकोले मैले एयरपोर्ट न्यू प्लाजा लाउन्जमै ८०-८० (अमेरिकी) डलरमा दुइटा कोठा लिएँ । किनभने कोठा स-साना १ जना मात्र सुत्न मिल्ने हुँदो रहेछ । हवाइजहाजको ईकोनोमी क्लासको सीटमा कुक्कुक्क कोच्चिएर राम्रो सुत्नै नपाएकोले नुहाई-धुवाई गरेर लाउन्जकै रेष्टुरेण्ट (कोठा लिएपछि खान फ्रि पाईने) को बुफेमा गएर केही खायौँ र ढोकामा DO NOT DISTURB झुण्ड्याएर सुत्यौँ । १ मिनेट पनि फरक नपारी Wake up call ले उठायो ।

एयरपोर्टको ड्युटी फ्रि दोकानहरूमा पसेर केही किनमेल गरेपछि नेपाल जाने ड्र्यागन एयरको तोकिएको गेट नम्बरको लउन्जमा बसेर अमेरिका, नेपाल फोन गर्ने प्रयास गरेको लग्दै लाग्दैन । बल्लबल्ल ड्र्यागन एयरको मानिसलाई पासवर्ड माँगेर हरिले अमेरिकामा बुहारी ज्यास्मिनसँग कुरा गरिन् । यो कुरा गर्नेपनि कस्तो गजबको कुरा? आफन्तहरूसँग बोले पछि तेसै तेसै फ्रेश हुने । मैले पनि छोरो द्रोणले किनि दिएको Toshiba laptop खोलेर केही डकुमेन्टहरू पढेँ । तर छोरा-बुहारीहरू र नातिनीलाइ अमेरिकामा छोडेर आएको, नेपालमा भुइँचालोले सत्यानास गरेको, लामो यात्रा र श्रीमती हरि बिसन्चो भएको आदि कुराले मन कत्ति थीर भएन ।

१२। अभागी म: हामी काठमाण्डु राती ११ बजे पुग्यौँ । नेपालको एयरपोर्टको ताल तेस्तै हो  सामान लिन १ घण्टा लाग्यो । घर पुग्दा घडीले १२ नघाइसकेको थियो । बहिनी र नातिनी ईत्ता घरमा थिए । घर हेरेको कतै चर्केको थिएन । पानीको ट्याङ्की निर राखेको फिल्टर एउटा ढलेछ र बठक कोठाको शिसाको शोकेस झर्‍यामझुरुम्मै भएछ । सजाएर राखेका बस्तु छरपष्ट थिए ।  

मेरो गाडी-ग्यारेजको पश्चिमतिर पर्खाल कमजोर छ त्यो ढलेर गाडी किच्यो कि भन्ने डर मनमा थियो । केही भएको रहेनछ । खाने पानी प्रणाली बिग्रेर Overhead बाट झर्न बन्द भएको । यस्तै कुराहरूको लेखजोखा गर्दै खान खाएर भुइँ तलामै सुतियो । अमेरिका र नेपालको समय नमिलेकोले निद्रा परेन । उज्यालो भइसकेपछि निद्रा परेछ । ९ बजेसम्म सुतेछु ।

नेपाल आएपछि  दिन पुरै सुतेँ मात्र । जेट ल्याग ठीक गर्नलाई सुतेँ । उठेर बेस्सरी पानी खाँदै क्यालिफोर्नियाका केहि स्थानहरूमा घुमेको कुराहरू झलझलि याद गरेँ । सबैभन्दा तडकारो गरी सम्झनामा मेरी नातिनी नुमा नै आईरहिन् । केही दिनपछि मैले नुमाशिर्षकमा कविता लेखेः

नुमा

क्यालिफोर्नियाको एउटा सुन्दर डाँडामा
रुखहरूको बीचमा एउटा घर उम्रेको छ
सुख-दुःखको वतासमा सास फेर्ने
घर वरिपरि लोभलाग्दो बगैँचा छ,
 त्यहाँ मेरै रगत-रंगको नुमा फुलेकोछ


हरियालीको बीचमा त्यहाँ
माली जस्तै मिहनेती पति-पत्नीका
हृदयमा शान्ति-माया-ममता फलेकाछन्,
र त्यहाँ मेरो निक्खुर जीन-बिउको
पछिल्लो नुमा भर्खरै स-साना खुट्टाले
हिन्न थालेकोछ
हिसी-ओँठले आफ्नो गीत सन्सारमा भर्दैछ
साना-चम्किला आँखाले सन्सार हेर्दैछ

क्यालिफोर्नियाको एउटा सुन्दर डाँडामा
रुखहरूको बीचमा एउटा पवित्र गुम्बा खडा छ
त्यहाँ वुद्धजस्तै ज्ञानी-ध्यानी पति-पत्नी बस्छन्
घर माथि आकाशमाजस्तै त्यहाँ

मेरै नातिनी नुमाको अनुहारमा
शान्तिका लाखौँ जुन-तारा फलेकाछन्,
त्यहाँ रुखहरूको बीचमा
एउटा सुन्दर सन्सार बसेकोछ
जहाँ आँशु-हाँसो घाम-छाँया आउने-जाने गर्छ
तर त्यहाँ दुःखलाई पनि सुखमा फेरिरहने
गजबको साहाशले आफ्नो सन्सार चलाईरहेछ
त्यहाँ मेरै छोरा-बुहारीका स्वरमा विश्वशान्तिको निम्ती
नाम-म्योहो-रेङ्गे-क्यो मन्त्र गुन्जिरहेछ
र त्यहाँ मेरो सानो मुटु नुमाले
तोते बोलीमा बाजे ! बाजे !!
भनेर मलाई बोलाईरहेछ

मैले यो कविता छोरा-बुहारीहरूलाई फेसबुक मार्फत पठाईदिएँ । त्यसपछि मैले साथी डा. जंगब चौहानलाई फोन गरेँ – ‘के छ या?’

उताबाट – ‘कहिले आउँनुभो?’

मैले भनेँ – ‘अस्ति आएको 

उताबाट – ‘तपाइँ ठूलो र अपूर्व घटनालाई प्रतक्ष अनुभव गर्नबाट चुक्नु भयो । यस्तो मौका अब फेरि आउँदैन ।

मैले, हो त नि म अभागी !भनेँ । घरमा क्षति के कस्तो भयो? परिवार र आफ्ना नातागोता सबै सुरक्षित छन्-छैनन्? सोधपुछ गर्दा सबै ठिकै भएको थाहा भयो ।  केही दिनपछि भेटघाट गर्ने हाम्रो सल्लाह भयो र मैले फोन राखेँ ।

गोरखा, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, दोलखातिर भुइँचालोले गरेको विध्वँसका बारेमा खबर र पत्रिकाहरूबाट धेरै कुरा थाहा भइरहेको थियो । मर्नेहरूको संख्या ७ हजार नाँघिसकेको थियो र संख्या दिनदिनै बढ्दै थियो । काँचो इटाले लोड बेयरिङ सिस्टममा बनाएका गाउँघरका घरहरू सबै सजिलै ध्वस्त भएका थिए । सरकारले कतै पनि नेतृत्व दिएर केही आडभरोस दिन सकेको थिएन । चीनबाट सहयोग गर्न आउँने र भारतबाट सहयोग गर्न आउँनेहरूको प्रतिस्पर्धा चलिरहेको थियो । बेलायतबाट राहत सामग्री लिएर आएको जहाज दिल्लीमा थन्किएको कुरा सुनियो । कारण नेपाल सरकाले अनुमती नदिएकोलेरे । किन अनुमती नदिएको भन्दा नेपाली सेनाका कर्णेल कुमार लामालाई बेलायतमा पक्रेर थुनेकोमा उनलाई रिहा गरिदिन अनुरोध गर्दा बेलायत सरकारले नमानेकोले नेपाल सरकार रिसाएकोरे ।

काठमाण्डुको गोङगबुमा धेरै घरहरू ढले । किन ढले? भनेर पत्रपत्रिकामा लेखहरू आए । उल्लेखित कारण थिए २-३ तल्ले घरको नक्सा पास गरेर बनाएको, ब्यापार ब्यवसाय धेरै चलेपछि ईन्जिनियरलाई घुस खुवाएर २-३ तल्ले घरको जगमा थप ३-४ तला अरु थपेकोले जगले नथामेको भन्ने कुरा सुनियो । यो कुरा सही हो भने त आफैले गरेको लोभी-लालची-गल्तीले गर्दा त्यहाँ धेरैको ज्यान गयो । सेक्सपियरले मानिसले आफ्नै गल्तीले गर्दा दुःख पाउँछ ।भनेको कुरा याद आयो ।

बाहिर निस्केर हेर्न जान पनि मन लागेको थिएन । तर म बिस्तारै भुइँचालोले ध्वस्त पारेका ठाउँहरू घुम्न थालेँ । पाटन मंगल बजार पुगेँ । जुन ठाउँमा म प्राय मर्निङ वाक गर्दै पुग्ने गर्दछु । नयाँ सडकतिर पनि घुमेँ, जहाँ मलाई ट्राफिक जामले गर्दा जानै मनलाग्दैनथ्यो । ठमेलतिर पनि गएँ जहाँ म मेरा पृयहरूसँग कफी खान र मन परेका पुस्तक खरिद गर्न जाने गर्दछु । लाजिम्पाट हुँदै बुढा नीलकण्ठ पुगेँ र फर्कँदा बालुवाटार हुँदै, भाटभटेनी सुपर स्टोर पस्दै, रातो पूल भएर द्वारीकाज होटल हुँदै पुरानो बानेश्वरबाट नयाँ बानेश्वरबाट शंखमूल झरेर घरतिर आएँ ।

मुटुको बिरामी भएकोले कतै राहतको निम्ती दौडिदै जान पनि नसकेकोले दिक्क लागि रह्यो । मेरो माइलो छोरोले भुइँचालो गएको पर्सिपल्टै उसको मावली तर्फको बहिनीले खोलेको सामाजिक सेवा सम्बन्धी गैससमा १ हजार डलर पठाईदिएको थियो । त्यसले पनि एकप्रकारको सन्तोस त लागेको थियो तर आफैले पनि केही गर्न पाए हुन्थ्यो सकिएनभनेर म रन्थिन थालेँ । श्रीमतीले एघार हजार एक सय एघार कान्तिपुर दैनिक मार्फत सहयोग छोरी अदितीको नाममा बैँक मार्फत जम्मा गरिन् । तैपनि के गर्ने र कसो गर्ने भनि मन उथलपुतल हुन थाल्यो । जुन एउटा कविताका रुपमा बाहिर निस्क्योः


लाफिङ बुद्ध

भुइँचालोले ढाल्यो सिसाको शोकेस
लाफिङ बुद्ध उछिट्टिएर पुग्यो कुनामा
अमेरिका-भारतका सिसाका उपहार-चिनोहरू फुटे
माटोको हुक्का, सुराही र प्याला पनि फुटे, तर
धनुकाँड-भाला समाएर उभिएको
धातुको ९ इन्चे यलम्बरको मूर्ति सकुशल रहेछ
बैठक कोठाका यी सबै लथालिङ्ग देखेर
प्लास्टिकको लाफिङ बुद्ध कुनामा हाँसिबसेको छ ।

तस्विर ३४: लाफिङ वुध्द

घरनजिकै लड्डु खाने गणेशको मन्दिर लड्यो
छिमेकी ठेक्दारको पाँच तल्ले घर आँगनमै ढल्यो
एउटा रक्सी व्यापारीको छाना खसेर गाडी किच्यायो
टिभी बोल्यो सिंहदरबारमा चिराचिरा परेछ
सेनाका ठूलो जंगी अड्डा ठाउँठाउँमा चर्किएछ
सर्वोच्च अदालतका भित्ता, मुद्दा हार्नेको छातीझैं चिरिएछन्
तर स्वयम्भूनाथको छ्योर्तेन केही भएनछ भन्ने सुनेर
प्लास्टिकको लाफिङ बुद्ध कुनामा हाँसिबसेको छ ।

रेडियोले खबर बोल्यो
लामा, पुजारी र पण्डितका बासस्थान लडेछन्
अनमोल गरगहनासँगै सुन-दोकाने घरले पुरिएछ
केटी जिस्क्याउने एक हुल बहर केटाहरूको
धरहराले किचेर खुट्टा भाँचिएछन्
बैंक र साहुका मतोमा उठेका
गगनचुम्बी नबिक्ने गरी चर्केछन्
भोटे ताल्चाले थुनेको जेलका पर्खाल फुटेछन्, 
आफै मुक्त कैदीहरू उद्धार कार्यमा व्यस्त भएछन्
रद्दी मासु बेचेर बनाएको बगरेको घर पनि ढलेछ
पैसा बजारको दादा राष्ट्र बैंकका कोठा पनि चर्किएछन्
तर, पशुपतिनाथको गजुर केही भएनछ भन्ने सुनेर
प्लास्टिकको लाफिङ बुद्ध कुनामा हाँसिबसेको छ ।

राजनीतिमा लागेर करोडपति भएको
पार्टीको एक सुलसुलेका सबै परिवार घरले पुरिएछन्
चुनावमा ६ करोडमा टिकट किनेर सांसद बनेको
एक व्यापारीको एक्लो छोरो रेस्टुरेन्टमा किचिएर मरेछ
ठमेलमा हप्ता असुल गर्ने एउटा पुलिस हाकिमको
जवान छोरीको फूलसहितको गमलाले टाउको फुटाएछ
सहरका एक डनकी प्यारी गर्लफ्रेन्डलाई
रेफ्रिजरेटर ढल्दा लागेर नाकै भाँचिदिएछ
तर बौद्धको छ्योर्तेन र गुम्बा केही भएनछन् भन्ने सुनेर
प्लास्टिकको लाफिङ बुद्ध कुनामा हाँसिबसेको छ ।

१३। वैशाख २९, २०७१: साथी डा. जंगब चौहानसँग आज भेट्ने सल्लाह भएको थियो । छोरी डा. शैली चौहानको लागी उसको नाम कम्पनीबाटै Engrave गरेर उसले भनेकै Brand को १ थान Stethoscope, Raspberry tube अमेरिका बाट ल्याईदिएकोथिएँ त्यो पनि दिनु थियो । म गाडीमा जाँदैथिएँ, सानेपा हुँदै ILO Office मास्तिर पुगेको मात्र थिएँ । अब रिङरोड निस्केर धोबीघाट जंगबको घर पुग्न २ मिनेट मात्र थियो । त्यति नै बेला मानिसहरू हुरुरुरु बाटोमा निस्के । सबै मानिस अग्ला-अग्ला घरतिर हेर्दै भाग्दै थिए । भुइँचालो आएको थाहा भयो । गाडी अलि सुरक्षित ठाउँमा रक्न खोज्दै थिएँ । भुइँचालोले बेस्सर हल्लायो । कोक्रोमा जस्तै हल्लायो । मैले सकिनसकि गाडीलाई बाटोको वीचमा रोकेर बसेँ । भुइँचालो गईरहेको बेला गाडी चलाउँनु, गाडिको ढोका खोल्नु खतरा हुन्छ भन्ने (तालिममा सुनेको) कुरा सम्झेँ । भुइँचालोले निक्कै बेर हल्लायो र अलि मत्थर भएको बेला गाडी स्टार्ट गरेर म सिधै जंगबको घर नजिकैको अस्पताल नजिकै खुल्ला ठाउँमा गाडि राखेर जंगबको घरतिर लागेँ ।

घरमा पुग्दा कोही छैन । बोलाएँ कोही बोलेन । घर बाहिर सुरक्षित ठाउँमा सेल्टर लिएको कुरा मैले थाहा पाई हालेँ र अलि पर खुल्ला ठाउँतिर हेरेको जंबलाई देखेँ । र म पनि उतै लागेँ । त्यहाँ केही मानिस थुप्रेर उभिएका थिए । म पनि मिस्सिएँ । एकजनाको मोबाइल फोनमा हेरेको ६.७ रेक्टर स्केलको गएको रहेछ । "कुखुराको मासु पकाउँदा पकाउँदै बाहिर निस्केको" भनेर छोरी डा. शैलीले भनिन् । "आगो त निभायौ?" मैले सोधेँ । निभाएको रहेछ । नजिकै सिद्दर्थ होटेलको प्रांगणमा बस्ने सल्लाह भएर जंगब र म गयौँ । शैली र उनको मालाई बोलाएको शैलीले नजिकै मामाको घर जाने भनेर जवाफ  दिईन् । हाम सिद्दार्थमा बस्दाबस्दै फरि स-साना धक्काहरू आएको आएई थियो । मानिसहरू एकैछिनमा हुरुरुरु खुला ठाउँमा जम्मा हुन्थे फेरि हलतिर वा छहारीतिर जान्थे ।

त्यहीँ बस्दाबस्दै जंगबले घरमा राखेको रेड वाईन लिएर आए । हामी त्यही बसेर खान थाल्यौँ । श्रीमती हरिले अफिस (बनेपाबाट) फोन गरिन् । जो जहाँ छौँ सुरक्षित रहने सल्लाह भयो । मैले शंखमूल घरमा बहिनी कुसुमलाई फोन गरेर सोधेँ । सबै सुरक्षित भएको कुरा थाभयो । माइलो छोरोले अमेरिकाबाट फोन गरेर सोध्यो । हामी सबै सुरक्षित भएको कुरा बताएँ । होटल सिद्दार्थमा नेपाल आर्मी हस्पिटलका एकजना डाक्टरले Post Disaster Psycho-social Counseling का बारेमा Orientation चलाउँदै रहेछन् । त्यो कार्यक्रमका सहभागि र स्रोत व्यक्तीहरूसँग भुइँचालोसँग सम्बन्धित अनेक घटनाहरूका बारेमा कुरा भयो ।

१४। सुनेका कुरा

कुरा १: गंगाला अस्पतालमा ३ जनाको Open Heart surgery हुँदै थियो'रे । भुइँचालोले सबै हल्लाउँन थाल्दा डाक्टरहरुलाई आफत । के गर्ने गर्ने ? अलिकति तलमाथि परे Patient को ज्यान जाने । भुइँचालोले घर लडाए सबैको ज्यान जाने । तर डाक्टरहरू Operation theatre छोडेर भागेनछन् । जसले गर्दा ३ जनाको मुटुको सल्यकृया राम्रैसँग सफल भयो'रे ।

कुरा २: आर्मी अस्पतालका डाक्टरभन्दा छिटोछिटो बिरामीहरू बाहिर निस्के'रे । डाक्टरहरू हेरेको हरै चकित् ।

कुरा ३: गंगबुमा सबैभन्दा बेसि घर-होटलहरू ढलेछन् । किनभने त्यहाँ २ तल्ले घरको निम्ती जग राखेर बनाएको घरमाथि (स-साना होटल व्यवसाय चलेपछि) ५-७ तल्ला थपेछन् । थाम्दै नथाम्ने भयो । अहिले पनि कति घर-होटल ढलेकोभित्र मानिस पुरिएकाछन्'रे । खनेर निकाल्नलाई Excavators हरू चाहिन्छ । नेपालमा त्यो १०-२० वटा त होलान् । बिजोकछ ।

कुरा -४: भुइँचालोले धरहरा ढल्दा त एउटा पुलिस केटी माथि रेलिङ समातेर बसेको त्यही रेलिङ समातेर उडेर झरेछिन् । झर्दा 'हे भगवान म नमरौ है!' 'म नमरौँ है' भन्दै झरेको साँच्चै पो बाँचेछिन् गाँठे !

कुरा ५: भुइँचालो जान एकछिन अघि धरहराको पाले आईपुगेछ । ड्युटिमा माथि चढ्नु अघि 'एउटा सिग्रेट धित मर्नेगरी खाएर चढछु' भनेर नजिकै एउटा सानो रेष्टुरेण्टमा पसेर सिग्रेट खान थालेछन् । सिग्रेट आधा खाइ नसक्दै भुइचालो आयो । धरहार ढल्यो । पालेको ज्यान सिग्रेट खाने 'नराम्रो' बानीले गर्दा बच्यो । यसलाई भाग्यले बचाएको नभनेर के भन्ने?

कुरा ६: नेपाली सेनाको जंगी अड्डाको भवन, सेनाको अस्पताल भवनहरू सबै नराम्रोसँग चर्किएर खत्तमछन'रे । सेनाका घर भवन बनाउँदा झन कत्ति भष्टाचार भएको रहेछ भन्ने कुरा यहीँबाट थाहा भैहालोनि भन्ने कुरा जताततै सुनियो 

अरुतिरबाट पनि सुनेका कुरा

कुरा  ७: राजेस हमाल (फिल्मी कलाकार) भुइँचालो (१२ गतेको) आउँदा भर्खरै बिहे गरेको श्रीमतीलाई एक्लै छोडेर भागे'रे । जसले गर्दा अहिले सम्म पनि 'भुइँचालो उँदा तिमी मलाई एक्लै छोडेर भाग्ने? बास्तबमा तिम मलाई माया गर्दोरैनछौ ।' भनेर दिनैजसो भुइँचालोमा परेको परेई रान छरे ।

कुरा ८: बनेपाको शीर मेमोरियल अस्पतालको Operation Theatre   केही सल्यकृया हुँदै थिए रे । भुइँचालो आइहाल्यो । डाक्टरहरू डरले भाग्न लाग्दा नर्सहरूले च्याप्पै पाखुरामा समातेर "हामी छौ डक्टर, डराउँनु पर्दैन ।" भनेर भाग्न दिएनछन् जसले गर्दा Patient हरूको ज्यान जोगियो ।

कुरा ९: लुम्बिनीमा एउटा घर भुइँचालोले ढलेछ । केहीदिन पछि खनेर मानिस निकाल्दा त 'देवर र भाउजु अंगालो मारेर एउटै कोठामा मरिराख्या । देवर भनाउँदोको श्रीमती अर्को कोठामा एक्लै मरिराख्या । यो अनौठो घटना सार्जानिक गर्ने कि नगर्ने? भनेर खनेर लास निकाल्ने पुलसिहरूलाई आफत परेछ'रे ।

कुरा - १०: बनेपामा एकजनाले लुकाएर राखेकी दोस्रो श्रीमतीको घर ढलेछ । अब श्रीमानकै घरमा बस्न जाने र अंश माग्न तरखर गर्दैछिन'रे । भुइँचालोले अनेक कुरा उधिनेर निकाल्दो रैछ बा !

कुरा ११: Skyscraper घर बनाएर Flat बेच्ने कंपनीहरूका करीब करीब ९०% घरहरू बस्न नहुने भएकाछन् । अब कंपनीका मानिस डुबे । यिनले कि आत्म हत्या गर्नेछन् कि भाग्नेछन् । जसरी पनि बैँकको लोन डुब्ने भयो र अब आर्थिक मन्दी सुरु होला जस्तो छ ।  

कुरा - १२: भुइँचालोले पुरिएकाहरूको उद्दार गर्न भनेर दोलखा गएको अमेरिकन हेलिकप्टर हरायो रे । त्यहाँ अमेरिकन र नेपाली सेना थिए'रे । केही दोलखाका घाइते पनि बोकेर फर्कँदा बिजुलीको हाई टेन्सन तारमा ठोक्किएर आगो लागर जलेर सखाप, मान्छे चिन्नै सकिन्नरे ।

कुरा १३: अर्मन्त्री राशरण महतका पीएले राहतको निम्ती आएको जस्तापाता अन्तै लगेर बेचे'रे । यो कममा रामशरण महतको नै ठुलो हात थियो'रे भनेर पत्रिकाहरूमा पढ्न पाईयो 

कुरा १४: नगर बिकास मन्त्री नारायण खडकाले राहतको निम्ती भनेर लिएको बजेटबाट ठूलो भ्रष्टाचार गरेकोले सँशदमा जवाफ दिन डाकियो'रे ।

कुरा १५: भारत र चीनले Competition  गरेर भुइँचालो प्रभावितहरूका लागि पाल टाँग्ने, औषधी बाँड्ने काम गरे'रे । भारतको भन्दा चीनको काम गर्ने शैली छिटो छरितो रहेछ'रे ।

कुरा १६: भारत र चीनका सेनाले भुइँचालो प्रभावित क्षेत्रमा नेपाल सरकारसँग सोद्धै नसोधी काम गरेकाले Protocol तोडे भनेर विदेश मन्त्रिले भने'रे ।

कुरा १७: अझै भुइँचालो आउँदैछ भनेर भविष्यवाण गर्ने ज्योतिषी र हल्ला गर्दै हिँड्ने केही मानिसलाई पुलिसले पक्रेर "जनतालाई आतंकित गरेको अपराधमा थुन्यो रे । तर भोलिपल्टै ज्योतिषी छुटेछन् ।

कुरा १८:  नेपालमा भुइँचालो आउँदा नेपाल अवस्थित UNDP ले नेपालको निम्ती भनेर खरबौँको बजेटको अन्तर्राष्ट्रिय निकायहरूसँग प्रस्ताब राख्यो'रे । अब धेरै कन्सल्टेन्ट र हाकिमले जागिर खाने भए । हेटीमा Billions of dollars खर्च गरेर भुइँचालो पिडितका निम्ती जम्मा ६ वटा घर बनाएकै हो भन्ने हल्ला छ ।

कुरा - १९: NRN का अध्यक्ष शेष घलेले सरकारसँग समन्वय नै नगरी आफ्नो खुशी सन्सारभरका NRN हरुले दिएको राहत सामग्री र पैसा बाँडेको र परराष्ट्र मन्त्री महेन्द्र पाण्डे, गृह मन्त्री बामदेव र अर्थमन्त्री रामशरणले कमिशन नपाएकोले शेष घलेको नामै सुन्न मन पराउँदैनन् रे । न मन्त्रीले 'शेष घले जस्ताको नागरिक समाजको समेत प्रतिनिधी राखेर राहत वितरणको अनुगमन गर्ने संयन्त्र बनाउँ' भन्दा तिनैजना भ्रष्ट मन्त्री एक्कैचोटी कराए'रे । राम शरणको ठूलो आवाज थियो रे । यो सुनेर न मन्त्री महेस आचार्यले  यो मुलांखारेले मैले भनेको जहिले बिरोध गर्छ" भन्दा अर्का मन्त्री खगराजले सुनेर 'मनत्री ज्य यो बोली फर्ता लिनोस्' भने'रे । महेश आचार्यले पनि 'ल मैले फिर्ता लिएँ तर कुरा तेही हो ।' भने'रे ।

कुरा २०: अर्थमन्त्री रामशरण महतले 'भुइँचालो पिडितलाई १ रुपियाँ पनि दिन्न भने'रे' भनेर पत्रपत्रिकामा छापियो ।

कुरा २१: भुइँचालोले गर्दा काठमाण्डु उपत्यकाबाट डरले १२ लाख मानिस आफ्नो जिल्लातिर (सुरक्षाका निम्ती) गए । जसले गर्दा कैयौँदिन उपत्यकामा काम गर्ने मानिस नभएर कलकारखाना चलेनन् । कारखानाहरू नचलेपछि लोडशेडिङ पनि भएन । उपत्यकामा केश काट्ने ७ लाख मानिस समेत सलुन बन्द गरेर गएकोले केश काट्न पनि पाइएन भनेर केही मानिसले गुनासो गरे ।

कुरा २२: भुइँचालो पिडितहरूलाई राहत भनेर WFP ले बाँडेको चामल कुहिएको रैछ'रे । तेसैले सरकारले कार्वाही गर्न Document माँगेछ । तर WFP कागज-पत्र केही पनि दिन मानेन'रे ।

कुरा २३: शहरी बविकास मन्त्री नारायण खडकाले शंसदमा "विपतको बेला धेरै ठाउँबाट समान खरिद गरियो, कुनै महंगा परे, कुनै सस्ता परे । तेसैले एउटै समानको खरिद मुल्य पनि फरक परको हो । वितरण गर्ने ठाउँमा पुग्दा पनि सामान्य परिस्थिती थिएन र रसिद लिएर दिने भन्दापनि कति ठाउँमा त मानिसले सामान हामीसँग लुटेर लगे ।" भन्ने जवा दिएर भयंकर भ्रष्टाचारबाट उम्किए'रे । भनेर पत्र पत्रिकामा पढ्न पाईयो । क्यानाडामा पढेर मन्त्री भएपनि पनि नेपालीको बटम लाईन मन्त्री हुँदा भ्रष्टचार नै रहेछ भनेर नेपाली प्रवृत्तिको कुरा चलेको सुनियो ।

नेपालका वरिष्ट कवि माधव घिमिरेले "भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो" शिर्षकमा कविता पनि लेखे:
  
भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो
अनायासै देशै थाम्न जुट्यो हातेमालो
कराउँदै रूखदेखि सारा पन्छी उडे
उडूँ भने, पंख छैन भुइँमा मान्छे लडे
घर ढले, मन्दिर ढले, धूलो उड्न थाल्यो
खोज गर्न, खबर गर्न जुट्यो हातेमालो

बहत्तरको भुइँचालो, धक्का कति सारो
मर्न पनि गारो भयो, बाँच्न पनि गारो
ज्युँदो जाति उठ्न थाल्यो लुकाई घाउ आलो
कहरबाट उद्धार गर्न जुट्यो हातेमालो

एकाएक धर्ती काम्दा कसको आड लियौ
बगलमा जल्लाई पायौ त्यसको आड लियौ
एकताको सूत्र मिल्यो, फाट्यो थोत्रो जालो
आहतलाई राहत बाँड्न जुट्यो हातेमालो

देश रिङ्दा त्यससँगै समय पो रिँग्यो
वारितिर कुर्दा कुर्दै पारि दृष्टि पुग्यो
दूरदर्शी संविधान लेख्ने जुर्‍यो पालो
अनि नवनिर्माणमा जुट्यो हातेमालो
१५। भुइँचालोको असर: भुइँचालोले गर्दा (आज आषाढ ५, २०७२ का दिन यो लेख लेखिसक्दा सम्ममा) दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपूर, ललितपूर, काठांण्डू, धादिङ, गोरखा जिल्लाका ८६९३ मानिस मरेको (४७९८ म; ३८९८ पु), २२२२१ मानिस घाइते भएको, ५०४०१४ घर पुरै ढलेको वा बस्न नहुने गरी क्षतीग्रस्त भएको भनेर रिपोर्टिङ भएकोछ ।
उल्लेखित ८ जिल्ला बाहेक अन्य जिल्लाहरूमा पनि भुइँचालोको कम्पनले जमिन थर्केको र क्षतीहरू भएको हो तर ठूलो क्षती भएका जिल्लाका कुरा मात्र बढी सुनियो । भुइँचालोले थर्काएर छोडेको पहाडहरूमा जताततै सुक्खा पहिरो जान थालेकोछ । ताप्लेजुङमा धेरै गाउँनै बग्यो, मानिस मरे । भुइँचालोले थिल्थिलो पारेको अरु जिल्लामा पनि अब पहिरो जानेछ भनेर सबैले भनिरहेछन् । भुइँचालो, पहिरो, बाढी आदिले गर्दा खेती गर्न नसकेपछि अन्न उत्पादन यो वर्ष हुँदैन र त्यसको असर कम्तीमा आउँदो २-३ वर्ष सम्म पर्ने देखिन्छ । तेस्तै गरेर अब यही आपतको बेला कति मानिस शरणार्थीका रुपमा बेलायत, अमेरिका, अष्ट्रिया, क्यानाडा, अष्ट्रेलिया बसाइँ सरेर पनि बाँच्नको निम्ती जानेछन् । ती बसाइँ सरेर जानेहरूले नेपाली भाषा र सँस्कृती त्याग्ने नै छन् ।
देशी, विदेशी धेरै सहयोग आइरहेकाछन् । नेपाल सरकारको योजना आयोगले Post Disaster Needs Assessments (PDNA) गरेर नेपाललाई पुन:निर्माणका निम्ती कति बजेट चाहिन्छ भनि प्रस्ताब तैयार गरे त्यो प्रस्ताब पेस गर्न सबै दातृ सँस्थाहरूको (आजै) आषाढ १० गतेका दिन "सहयोग मेला" आयोजना गर्‍यो । निम्तो दिए पनि भारत र चीनका प्रधानमन्त्रीहरू आएनन् । तर पनि सहयोग घोषणा गरे । जसमा भारत १ खर्ब (७५ अर्ब ऋण बाँकी अनुदान); चीन ७७ अर्ब २० करोड; एशियाली विकास बैँक ६० अर्ब; विश्व बैँक ५० अर्ब; जापान २६ अर्ब; अमेरिका २३ अर्ब; युरोपियन यूनियन ११ अर्ब; बेलायत ११ अर्ब र नर्वेले २ अर्ब ९८ करोड सहयोग गर्ने बचन दिएकाछन् । यी ठुला दाताहरू बाहेक स-साना अन्य दाताहरू समेतको जोड्दा  खर्ब ४० अर्व (२ खर्व २० अर्ब सहुलियत ऋण) जति सहयोगको वचनबद्दता जुटेको कुरा सन्चार माध्यमबाट जानकारी पाईयो । ठीक यसैबेला ईमेज एफएम रेडियोमा प्राडा लोकराज बराल अन्तर्वार्तामा बोल्दै थिए – “"नेपाल सरकारको खर्च गर्न सक्ने क्षमता र ल्याकत खोइ? धेरै रकम त भ्रष्टाचार नै त हुने हो !"
१। त्यसै गरेर इन्सटिट्युड फर सोसल एण्ड इनभारोन्न्ट ट्रान्जीशन-नेपालका कार्यकारी निर्देशक अजय दीक्षित एउटा पत्रिकामा भन्दै थिए – "सम्मेलनमा दाताहरू र सहयोगि मित्रहरू आउने छन्पुननिर्माणका विविध पक्षबारे छलफल गर्ने छन्दाताहरू र सरकारको तर्फवाट पनि प्रतिवद्धता गरिनेछ । यसर्थप्रस्तावित सम्मेलनलाई विदेशी सहयोगको अर्थराजनीतिको झ्यालबाट हेर्नुपर्छ 

केही प्रश्न उठाउनु नागरिकहरूको जिम्मा हो ।  आवश्यकता के होकस्का लागिकति सहयोग लिनेकुन प्रक्रियाबाटकस्ता शर्तमाकार्यक्रम के कस्ता बनाउनेती कसरी कार्यान्वयन हुन्छन्बिगतमा गरिएका प्रतिबद्धताहरू त्यतिकै हराएका छन्पोहोरको बजेट बक्तव्यमा स्थानीय चुनाव उल्लेख भएको थियो,खै चुनावविश्वसनीयताको संङ्कट छसरकार मात्रै होइन दाताहरुपनि जिम्मेबार  छन् ।  दाताहरूसित सहकार्य जरुरी हुन्छ तर तिनले भनेका शर्त मान्नैपर्छ भन्ने जरुरी हुँदैन ।

सरकारी अधिकारीहरूको भनाइ छ, नयाँ तरिकाबाट काम सुरु गर्ने मौका होपुननिर्माण । यदि यसो हो भनेत्यस मौकामा मुलुक र मुलुकवासीको हितमा उपलब्ध बजेट शत प्रतिशत खर्च गरिने उपयुक्त प्रणाली बनाउन र कार्यन्वयन गर्न सरकार प्रतिवद्ध होस । दाताहरूले अनावश्यक शर्त राख्दैनौ भन्ने प्रतिबद्धता गरुन् । परनिर्भरता बढ्न नदिनू राज्य र सरकारको दायित्व हो । संस्थागत हिसाबले बलियो बन्नुको विकल्प छैनविपतवाट  निरन्तर संङ्कटमा नर्पर्ने  हो भने।"

२। आजै पत्रपत्रिकामा "दाताले सरकारी निकायलाई टेर्दैनन्" भन्ने समाचार पनि पढ्न पाईयो । जसले लेखेको थियो – 'किसान र खाद्य उत्पादनको जिम्मेवारी सम्हालिरहेको कृषि विकास मन्त्रालयले राजनीतिक तरलताको फाइदा उठाउँदै’ केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आफूखुसी कार्यक्रम सञ्चालन गरिरहेको गुनासो गरेको छ । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले बुधबार कृषि कर्जाबारे आयोजना गरेको बैठकमा पुगेका कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले अमेरिकी सहयोग नियोग (यूएसएड)अक्सफाम र सेभ द चिल्ड्रेनले सरकारको जानकारीबिना काम गरेको र निर्देशन पालना नगरेको जानकारी गराए ।

अमेरिकी सहयोग नियोगले खाद्य सुरक्षामा ९ अर्बको फिड द फ्युचर’ कार्यक्रम लागू गर्दैछ । तर मन्त्रालयसँग यस निकायको कुनै साइनो छैन,’ मन्त्रीले भने । उनले हाल अमेरिकी सहयोगमा सञ्चालित कार्यक्रमले पनि कृषि मन्त्रालयललाई बाइपास गरेको आरोप लगाए । मैले दुई पटक चेतावनी दिइसकें । सहयोग गर्नुहुन्न भने जानुहोस् सम्झौता गर्ने अर्थ मन्त्रालयसँग काम गर्नुहोस् भनेको छु,’ दातृ निकायबाट सञ्चालित परियोजना किसानमुखी नभएको लामो समयदेखि बताउँदै आएका मन्त्रीले भने ।
यसैगरी भूकम्पपछि अक्सफाम र सेभ द चिल्ड्रेनले आफूखुसी बीउ बाँडेको पनि मन्त्री पराजुलीले  बताए । अक्सफाम र सेभ द चिल्ड्रेनले राजनीतिक तरलताको फाइदा लिई बाँडेको बीउमा मन्त्रालय जिम्मेवार छैन,’ उनले भने । उनले मन्त्रालयको अनुमति नलिई यी दुई संस्थाले धानको बीउ आफूखुसी वितरण गरेको बताए ।
मन्त्रालयका सहसचिव उदयचन्द्र ठाकुरका अनुसार अक्सफामले असार पहिलो साता नुवाकोटधादिङ र सिन्धुपाल्चोकमा १६ हजार किसानलाई र सेभ द चिल्ड्रेनले भक्तपुरकाभ्रे लगायतका भूकम्प प्रभावित जिल्लामा धानको बीउ बाँडेका थिए । हाम्रो प्रणालीमार्फत बीउ बाँड्न भनेका थियौं तर उनीहरूले आफ्नै मनोमानीमा बाँडे,’ प्रवक्तासमेत रहेका सहसचिव ठाकुरले भने, ‘भोलिका दिन उनीहरूले वितरण गरेको बीउमा दाना नलागेरोग लागे को जवाफदेही हुन्छ ?’ मन्त्रालयले आफ्नो प्रणालीमा रहेको राष्ट्रिय बीउ बिजन कम्पनीमार्फत बीउ वितरण गरिएको भए गुणस्तरमा खराबी आए किसानलाई राहत वा क्षतिपूर्ति उपलब्ध गराउन सहज हुने भनेको छ ।
गत वर्ष चिनियाँ वर्णसंकर बीउमा रोग देखापरेपछि निजी एग्रोभेटबाट बीउ खरिद गर्ने काभ्रे र भक्तपुरका किसानले राहत र क्षतिपूर्तिस्वरूप २२ करोड माग्दै जिल्लामा रहेका कृषि कार्यालय घेराउ गर्दै आन्दोलन गरेका थिए । त्यस्तै तराईमा मकैको घोगा नलाग्दा मन्त्रालयले करोडौं रुपैयाँ क्षतिपूर्ति दिनुपरेको छ । बीउ गुणस्तरमा खराबी भएपछि त्यसको दबाब सरकारलाई पर्न थालेपछि मन्त्रालय बीउ वितरणमा संवेदनशील हुँदै आएको छ ।
यसपटक संयुक्त राष्ट्रसंघ मातहतको विश्व खाद्य संगठनले पनि ६ जिल्लामा धानको बीउ बाँडेको छ । राष्ट्रिय बीउ बिजन कम्पनीमार्फत बाँडेको १ सय ८८ टन बीउको गुणदोषमा भने मन्त्रालयले जिम्मेवारी लिने भनेको छ । यसैबीच संसदीय समितिका सभापति गगन थापाले आफूखुसी बीउ बाँड्ने दुई गैरसरकारी संस्थाका गतिविधिलाई गम्भीरतापूर्वक लिइएको बताउँदै उनले दण्डहीनताको अवस्था भएको बताए ।
समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समितिको बैठकमा माननीय कृषि विकासमन्त्रीले सेभ द चिल्ड्रेन र अक्सफाम इन्टरनेसनलले अनुमति बिना बीउ वितरण गरेको तथा मन्त्रालयले वितरण नगर्न आग्रह गर्दा पनि नमानेकाले ती संस्थाले वितरण गरेको बीउबाट उत्पादनमा पर्न जाने असरको जिम्मेवारी मन्त्रालयले लिन नसक्ने भन्ने जानकारी गराएको विषयलाई समितिले गम्भीर रूपमा लिएको छ,’ समितिको निर्णयमा भनिएको छ ।
यसबारे समितिलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाउने निर्णय गर्दै समितिले भनेको छ, ‘वास्तविकता के हो छानबिन गर्न र कृषि विकास र किसानको हित हुने गरी आवश्यक निर्णय गर्नू । (आषाढ १०, २०७२; कान्तिपुर दैनिक)
भुइँचालोको प्राकम्पनहरू (Aftershocks) दिनदिनै आईरहेछन् । अमेरिकाबाट छोरा-बुहारीहरू फोन गर्छन् र Face time मा कुरा गर्छन् - के केस्तो छ? भनेर सोधिरहन्छन् । Take care है ! भन्छन् । आजमात्र मैले भाइबरमार्फत बुहारी ज्यास्मिनलाई इसएमएस गरेँ – "वैशाख १२ पछि हिजो सम्म ९९१ भन्दा धेरै पटक भुइँचालोका Aftershocks आए र गए । हामी त Desensitized जस्तो भइसकेका छौँ । कुन दिन Frog in boiling water syndrome मा भ्यागुताले मरेको नै थाहा नपाएजस्तो हुने हो ? थाहा छैन । क्यालिफोर्निया पनि सेस्मिक जोनमै पर्छ । तिमीहरू बसेको Range तिर जंगलमा धेरै आगलागी भईरहने रहेछ । तिमीहरूले  पनि होस् गर्नु ।
(लेखि सम्पन्न जुलाई २, २०१५, शंखमूल काठमाण्डु)


No comments:

Post a Comment