Tuesday, May 3, 2016

मैन्स्ट्रिम मिडीया र 'म्यानुफ्याक्चरिङ कन्सेन्ट' (विक्रम सुब्बा)


अमेरिकामा "मैन्स्ट्रिम मिडीया": सन् १९९० तिर अमेरिकाका केही कंपनीहरूले धेरै सहरमा (र अन्य मुलुकमा) खबरपत्रिकाहरूको प्रकाशन र रेडियो (पछि आएर टिभी पनि) स्थापित गरेर मानिसहरुलाई सूचित गर्ने काम जोडतोडका साथ गरे जसलाई सबैभन्दा पहिले "मैन्स्ट्रिम मिडीया" भनियो । जसमा राजनैतिक नेता, कर्मचारी, धनवान, धार्मीक नेता, राष्ट्रपति, मन्त्री, बैंकर, नामी हिरो-हिरोइन, अनुसन्धानकर्ता आदिले बोलेका-भनेका-लेखेका धारणाहरूको जानकारी गराईन्थ्यो । सन्सारको जनसंख्या ७.२ बिलियन पुगेकोछ र यी "मैन्स्ट्रिम मिडीया"मा मुख देखाएर बोल्नेहरूको संख्या जम्माजम्मी १००-४०० होलान् । बस् । १००-४०० जनाले ७.२ बिलियन मानिसको दिमाग भुटिरहेकाछन् । यही हो "मैन्स्ट्रिम मिडीया" । यसलाई जसले कब्जा गर्‍यो उसले प्रोपोगाण्डाको भयानक हतियार चलाएर आफ्ना विरोधीलाई ढाल्ने काम गर्दै आएको जताततै देखिएकोछ ।  भनिन्छयहुदीहरूले अमेरिकालाई नै नियन्त्रण गर्दै आएकाछन् । किनभने अमेरिकाको मिडीयालाई सात जना यहूदीले संचालित गर्छन् । यिनैले "मैन्स्ट्रिम मिडीया" चलाउँछन् र अमेरिकी सरकार समेतलाई थर्काउँने हैसियत राख्छन्  यिनैले प्रचार-प्रसार गरेको कुरा धेरै अमेरिकनहरूका दिमागमा "सत्य" बनेर छापिने गर्छ ।  

"मैन्स्ट्रिम मिडीया"ले कसरी "कन्सेन्ट म्यानुफ्याक्चर" गर्छ?: एडवार्ड एस हेर्मन र नोम चोम्सकीका अनुसार केही प्रोपोडाण्डाका मोडल मार्फत "कन्सेन्ट म्यानुफ्याक्चर" गरिन्छ । कुनै पनि सूचनालाई पाँच किसिमका फिल्टरहरूबाट गुज्रिनु पर्दछ । ती फिल्टरहरू हुन्:

१। स्वामित्व: नाफामुलक व्यापार-व्यवसायको रुपमा मिडीयामा एक (या धेरै) धनी र शक्तीसाली मानिसहरूले मिलेर लगानी गरेका हुन्छन् । दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकाको ८०% खबर पत्रिकाहरू नीजि क्षेत्रबाट प्रकाशित हुने गर्थे । सन् १९९२ मा बेलायतको ९०% मिडीयालाई कोनराड ब्ल्याक, रुपर्ट मुर्डोच, लर्ड रोथेर्मेर, लर्ड स्टीभेन्स र मिरर ग्रुपले नियन्त्रण गर्दथे । यी मिडीया मुगलका स्वार्थको प्रतिकुल सूचना  "फिल्टर" गरेर फालिने नै भयो ।

२। विज्ञापन: मिडीया हाउसहरू मुनाफाकै निम्ती काम गर्नेहरूले दिने "विज्ञापन दाता"हरूमा निर्भर गर्छन् । अर्थात, "मिडीया हाउस"हरू र "विज्ञापन दाता"हरूको स्वार्थ मिल्छ । भनिन्छ धेरै विज्ञापन आउँनु नै "मिडीया हाउस"को "गुड न्यूज" पनि हो र "ब्रेकिङ न्यूज" पनि हो । विज्ञापन जसले दिन्छ उसैको स्वार्थ रक्षा गर्नु नै "पोलिटीकल ईकोनोमी" हो । पुन:श्च: कुनै राजनैतिक पार्टी र कुनै नेताको पनि मिलाएर विज्ञापन गर्ने कला र चातुर्य दुबै "मैन्स्ट्रिम मिडीया"सँग हुन्छ ।

३। स्रोत छनौट: पत्यारिला मिडीया हाउसहरूले सरकारी तथा स्थापित संघ-सँस्था वा व्यवसायिक घरानाहरूलाई मात्र सूचनाको स्रोत बनाउँछन् । 'द न्यूज' पत्रिकाका  टम कोच 'कुनै पनि विदेशका खबरहरू अमेरिकी सरकार विरोधी छ भने त्यसलाई "फिल्टर" गरेर फालिन्छ भनि स्वीकार गर्दछन् । "न्यूयोर्क टायम्स" र "वाशिंटन पोष्ट"ले गरेको एक अध्ययन अनुसार यी पत्रिकाहरूमा प्रकाशित २८५० घटना-कथा-सूचना मध्ये ८०% घटना-कथा-सूचना सरकारी घोषणाहरूमा आधारित थिए । जसले अमेरिकी सरकार "राम्रो" छ भन्ने "कन्सेन्ट म्यानुफ्याक्चर" गरिदिए ।

सोभियत सँघको पत्रिका 'प्राब्दा'को ७९% विषयवस्तुको स्रोत सरकारी प्रेस कन्फरेन्स वा सरकारी प्रेस रिलिजलाई नबनाएर "नागरिकहरुका आरोपहरु, प्रश्नहरू तथा उनका सवालहरू"लाई आधार बनायो । जसले सोभियत संघलाई धाराशयी पार्ने "कन्सेन्ट म्यानुफ्याक्चर" गर्‍यो भनिन्छ । अर्थात मिडिया दुईधारे तरबार हो ।

४। आलोचना: यो "फिल्टर" बारे उदाहरण - खराब सरकार र ठूला व्यवसायिक घरानाहरूलाई पनि उनको "पेल्न सक्ने हैसियत"लाई ध्यान दिएर मात्र मिडीयाले आलोचना गर्छ (नत्र करोडौँको विज्ञापन रोकिन्छ, मिडीया लाईसेन्स खोसिन्छ) । या, आलोचना जनताले नपत्याए आफै "बेकुफ भईने" संभावना पनि रहन्छ । लण्डन कलेज अफ प्रिन्टिङका निर्देशक भन्छन् – "कुनै पनि न्यूज डेस्कमा बस्नेले कोकाकोला खाए क्यान्सर हुन्छ ।" भन्ने न्यूज लेख्न आँटै गर्दैन । यो न्यूज जसले लेख्छ उसलाई कसैले पत्याउँदैन बरु त्यो न्यूज लेख्नेकै कारण उसको व्यवसायिक (Professional) "ईमेज" नै "ड्यामेज" हुन सक्छ ।

५। विचारधारा: शीतयुध्दका बेला धेरै "मिडीया"हरूले कम्युनिष्टलाई नकारात्मक रुपले पेश गरिएका "न्यूज", "फिचर" तथा "सामग्री"हरू विचारधाराकै आधारमा भरमार छापेर प्रोपोगाण्डा गरे । सन्सारभरिका पाठक-दर्शकहरुको मनमा 'कम्युनिष्ट भनेका नराम्रा हुन्' भन्ने धारणा बन्यो । जसले सोभियत संघलाई धराशायी पार्ने "कन्सेन्ट म्यानुफ्याक्चर" गर्‍यो ।

नेपालमा "मैन्स्ट्रिम मिडीया" र "कन्सेन्ट म्यानुफ्याक्चरिङ" 
महेन्द्रीय पञ्चायती व्यवस्थाका बेला रेडियो नेपालले सुरुमै 'हिन्दु भजन'को शंखघण्टको आवाज र राजाको "महावाणी"बाट कार्यक्रम सुरु गर्दथ्यो । राजालाई विष्णुको अवतार भनेर प्रचार गर्थ्यो । तेतिखेरै गोरखापत्र, राईजिङ नेपाल र केही राजावदी साप्ताहिक पत्रिकाले पनि पञ्चायतले गरेका कामको गुणगान गरेर "कन्सेन्ट म्यानुफ्याक्चर" गर्थे । यसरी नै पञ्चायतलाई ३० वर्ष घिसार्दै ल्याए ।

जनआन्दोलन भाग २ उठ्यो र तेतिबेला सैयौँ एफएम रेडियो र हजारौँ पत्रिकालेले राजसँस्थाको विरुद्धमा र आन्दोलनको पक्षमा  दनादन प्रचार गरेर 'राजाको शासन ठिक छैन' भन्ने "कन्सेन्ट म्यानुफ्याक्चर" गरिदिए । राजा ज्ञानेन्द्र नारायणहिटीबाट "गेट आउट" र अढाइसय वर्ष सम्म शासन गरेको शक्तीसाली सामन्ती दुर्ग "राज सँस्था" ढल्यो ।

वर्तमान नेपालमा "मैन्स्ट्रिम मिडिया"ले कस्तो "कन्सेन्ट म्यानुफ्याक्चर" गरिरहेछ? देखिएका कुरा (Observations) हरूका आधारमै भन्ने हो भने:
१)      भारतीय टिभी कार्यक्रमहरूले नेपालमा भारतीय राजनीति, हिन्दु सामन्ती सँस्कृती तथा भारतीय पुँजीवादी सँस्कृती "ठीक छ" भन्ने "कन्सेन्ट म्यानुफ्याक्चर" गरिरहेछन् ।
२)      बीबीसी, सीएनएन, अलजजीरा, डिस्कभरी, टीएलशी, स्पोर्ट्स च्यानलहरू, नेशनल ज्योग्राफिक च्यानल, आदीले "पाश्चात्य पुँजीवादी ठीक" भन्ने "कन्सेन्ट म्यानुफ्याक्चर" गर्दछन् ।
३)      नेपालका एफएम रेडियोहरूले प्रसारण गर्ने "सिण्डिकेटेट" कार्यक्रमहरूले धेरै हद सम्म भारतकै सँस्कृती र पाश्चात्य ज्ञान तथा प्राविधिक साम्राज्यवाद "ठीक छ" भन्ने "कन्सेन्ट म्यानुफ्याक्चर" गर्ने काम गर्छन् । नेपाल भित्र पनि यिनले शासकहरूको कुरा "ठीक" भनेर ठूलो स्वरमा भन्ने तर "जनजाती तथा सिमान्तिकृत समुदायको अधिकार"को कुरा सानो स्वरमा मात्र भन्ने-बोल्ने गरेकाछन् ।
४)      रासस, कान्तिपुर तथा रिपब्लिका जस्ता मिडीया हाउसले "मैन्स्ट्रिक मिडीया"को काम गर्ने हैसियत राख्छन् भन्ने हो भने यिनले भारतीय सत्ता पक्ष र पाश्चात्य पुँजीवादी पक्षको धारणा "ठीक छ" भनेर "कन्सेन्ट म्यानुफ्याक्चर" गर्छन् र "जनजाती तथा सिमान्तिकृत समुदायको अधिकार"को कुरालाई निरन्तर बेवास्ता गरेर ध्वस्त गर्ने काम गरिरहेछन् ।   
५)      पछिल्लो समयमा केही नेटन्यूज पोर्टालहरू पनि सुरु भएकाछन् । जसको आफ्नै "न्यूज सोर्स" छैन । तिनले रासस, कान्तिपुर र रिपब्लिका जस्ता मिडीया हाउसले नै उत्पादित गरेका न्यूज-मेटर्श र फेसबुकबाट झरेका "न्यूज"हरू "कट & पेष्ट" गर्ने भएकोले यिनले अहिले नै छुट्टै "कन्सेन्ट म्यानुफ्याक्चर" गर्ने हैसियत राख्दैनन् । 
६)      भर्खरैका घटना – १) राज्य पुन:संरचना गर्ने बेलामा "लिम्बुवान" "नेवा" "मगरात" जस्ता प्रस्ताबित नामांकनहरूलाई "मैन्स्ट्रिम मिडीया"ले नकारात्मक किसिमले "जातिय राज्य हुँदै हुन्न" भनेर युद्धस्तरमा प्रचार गर्‍यो र "लिम्बुवान" "नेवा" "मगरात"का पक्षधर प्रचण्ड र बाबुराम समेत हारेर "जातिय राज्य हुन सक्दैन" भन्न पुगे; २) टीकापुरको घटनालाई पनि "मैन्स्ट्रिम मिडिया"ले यस्तरी प्रचार गर्‍यो कि "थारुहरूकै गल्ती थियो" भन्ने "कन्सेन्ट म्यानुफ्याक्चर" भयो; ३) "कर्णाली प्रदेश"को माँगलाई बडो सकारात्मक तरिकाले प्रचार गर्‍यो र प्रदेश नंबर ६ बनाउँनेहरूलाई सजिलो भयो; ४) "मैन्स्ट्रिम मिडिया"ले नै मधेशको आन्दोलनलाई नकारात्मक किसिमले प्रचार गर्दा गर्दा सत्ता पक्षका नेता र मधेशी नेताहरूको सम्बन्ध नै तीतो बनाईदियो जसले गर्दा मधेशको सवाल नराम्रोसँग गिजोलियो र अहिले निल्नु न ओकल्नुको पेचीलो "नाकाबन्दी"मा पुग्यो ।

युद्धमा जासुस र मिडीया सबैभन्दा "फ्रन्ट लाईन"मा हुन्छन् ।  तेसैले भनिन्छ कुनै पनि मुलुकमा 'सीआईए' र 'रअ'ले सबैन्दा पहिले मिडीयालाई हात लिएर काम थाल्छन् । नेपालका कुनकुन मिडीया, सम्पादक, प्रेस सल्लाहकारलाई क-कसले 'आफ्नो' बनाएर काम गरिरहेछन् भन्नेबारे कसैले अध्ययन गरेको छ छैन थाहा भएन । तर अन्य मुलुकमा भएका अध्ययनका आधारमा नेपालका मिडीयाहरुको ५-१० "कन्टेन्ट एनालेसिस" गरिहेर्ने हो भने "थाहा" नहुने कुरै छैन ।      
---------------     --------------------

स्रोत: विस्तृत हेर्न, एडवार्ड एस हेर्मन र नोम चोम्सकीद्वारा लिखित Manufacturing Consent  नामक पुस्त पढ्न प्रोत्साहित गरिन्छ ।

No comments:

Post a Comment