Tuesday, May 3, 2016

प्रोफेशन्लिज्म (विक्रम सुब्बा)

कुनै पेशेवरले काम नगरे “अनप्रोफेश्नल” भनेर भद्दा गालि गरिन्छ । जंगलमा स्कंकलाई घिन लाग्दो जनावर (कोही उसको समु परे खप्नै नसकिने अत्यन्तै गनाउँने गन्ध छरेर भगाउँने) ठानिन्छ भने कार्यालयहरूमा ‘अनप्रोफेशनल’ भन्नाले देख्दै काम ठग्न बसेको मानिस भन्ने बुझिन्छ । यो गाली गर्दैगर्दा गाली गर्नेको दिमागमा के कस्तो  मानिसको ईमेज हाजिर हुन्छ? निम्न हुन सक्छन् -

१) काम गर्ने जिम्मा लिएको तर समयमा काम नगर्ने (समय-चोर) मानिस  ।  

२) घुमाएर घुस (या जाँड-पानी या कुनै फेवर) माँग्ने मानिस् ।

३) आफ्नो जातको वा “आफ्नो मान्छे”को काम फटाफट गर्ने (रेसिष्ट) तर अरुको काम झुलाउँने मानिस् ।  

४) जुन कामको जिम्मा दिईएको हो सो कामको निम्ती अयोग्य मानिस् ।  

५) दिईएको कामप्रति उसको रुची पटक्कै नभएको अलिकदिनको निम्ती हल्लिन मात्र आएको मानिस् ।  

६) एक प्रोफेशनलले कसरी काम गर्छ? भन्ने बारेमा जिरो ज्ञान भएको मानिस् ।

७) त्यस्तो मानिस जसलाई राम्रो बोल्न र प्रोफेशनल किसिमले व्यवहार गर्नै आउँदैन ।

८) जिम्मा लिएको कामको व्यवस्थापन गर्न नजान्ने अयोग्य मानिस् ।

९) सामन्तवादी चिन्तन भएको मानिस जसले आफुलाई जनता सेवा गर्न बसेको भन्दा पनि “म जनताको मालिक हुँ” भनि ठान्छ ।

१०) मुलुकलाई वर्वाद गर्नको निम्ती तलब दिएर राखिएको ठुलाबडाको मानिस् ।

११) घुस पाउँने हो भने देशै बेच्न तैयार होलाजस्तो मानिस् । आदि ।

 

 

प्रोफेशनल र अनप्रोफेशनल?

 

एउटा डक्टरले सुत्केरी बेथा लागेको महिला हस्पिटलको गेटमा आईपुगेदेखि कुनकुन चरणमा के के काम गर्दै जानुपर्छ (विदा भएर हस्पिटलको गेटबाट बाहिर पठाउँनेसम्म) भनेर अन्तररार्ष्ट्रिय प्रोटोकल अनुसार काम गर्नु पर्छ भनेर तोकिएको छ भने -  

 

प्रोटोकल अनुसार काम गर्ने शीप भएको, ठीक समयमा ड्यूटीमा आउँने र काम पनि गरिदिने प्रोफेशनल । र, सो अनुसार काम नगर्ने अनप्रोफेशनल ।

 

तेस्तै गरेर सिडीओ कार्यालय वा जिवीस वा नगरपालीका वा गाविसमा वा कुनै पनि जिल्लाको अड्डामा

 

नागरिक बडापत्र अनुसार काम गर्ने शीप पनि भएको, ठीक समयमा काम पनि गरिदिने प्रोफेशनल । र, सो अनुसार काम नगर्ने अनप्रोफेशनल ।

 

यी बाहेक एउटा प्रोफेशनलमा निम्न कुराहरु पनि हुनुपर्छः

 

१)      जति बजे कार्यालयमा आउँने, काम गर्ने, खाना-खाजा खान जाने र कार्यालय बन्द गर्ने भनि तोकिएकोछ सोही अनुसार गर्ने मानिस प्रोफेशनल हो । र, ढीलो कार्यालय आउँने, काम गर्ने समयमा गफ गरेर बस्ने, जिस्केर बस्ने, स्वेटर बुनेर बस्ने, चिया खाएर बस्ने, फोनमा लामोलामो कुरा गरेर बस्ने, खाजा खान गएर तोकेको समयमा कुर्शीमा नफर्कने अनप्रोफेशलन हो ।

२)      सन्चो छैन भने कार्यालय नजाने (विदामा बस्ने), कार्यालयमा सेवाग्राही र कर्मचारी साथीहरुसँग हँसिलो भएर बोल्ने-काम गर्ने प्रोफेशनल । र, कार्यालय गईसकेपछि पनि ‘आज सन्चो छैन’ भनेर झोक्राएर बस्ने, ठुस्स परेर अँध्यारो अनुहार लगाएर घिसेपिठे किसिमले काम गर्ने अनप्रोफेशनल ।

३)      तोकिएकोजस्तो सफा चट्ट र सालीन किसिमको पहिरन लगाउँने, टेबल-कम्प्युटर-कुर्शी-कोठा-दराज-टोइलेट सफा राख्ने प्रोफेशनल । र, नमिलेको वा उच्छृंखल पहिरन लगाउँने, फोहोर कोठा, फोहर टेबल-कुर्शी र फोहर टोइलेट, फोहर कोठा-दराज राखेर गनाउँने टोइलेटसँगै गनाउँने मोजाको दर्गन्ध छर्दै गनाउँने खैनी खाँदै वा चुरोट तान्दै गनाउँने सास फेर्दै बस्ने अनप्रोफेशनल ।

४)      सफा दाँत, सफा हत्केला र नङहरू, सफा देखिने जुत्ता, चिटिक्क टोपी वा सारी-चोलो, सफा झोला वा ब्याग, खाने पानी राख्ने सफा जार-ग्लास, दारी-जुँगा मिलाएर काटेको, कपाल सुहाउँदिलो गरी मिलाएको र फुर्तिलो देखिएर बसेको प्रोफेशनल । पहेँला फोहिरी दाँत-नङहरू, फोहोरी जुत्ता, कच्याक्कुचुक्क टोपी, थोत्रो झोला वा व्याग, घिनलाग्दो पानीको जार र ग्लास, जिङरिङ्ग दारीजुँगा भएको, हेर्दै अल्छि लाग्दो भएर बस्ने अनप्रोफेशनल ।

५)      आफ्ना सहकर्मीलाई सहयोग गर्न तत्पर, कार्यालयमा कुनै पनि अपठ्यारो आइलागे समाधन गर्न सहकर्मीहरूसँग छलफल गरेर समाधान गर्ने प्रोफेशनल । र, आफ्ना सहकर्मीलाई सहयोग नगर्ने, आफुले जानेको कुरा शेयर नगर्ने बरु हरियारको रुपमा दुरुपयोग गर्ने, अपठ्यारो आइलागे चुपचाप बस्ने वा भाग्ने समाधान गर्न नखोज्ने अनप्रोफेशनल ।

६)      हिजो राती सिरियलमा के भयो, आज बिहान खानामा कस्तो अचार खाईयो, बाटोमा आउँदा कसले फोन गरेर के के भन्यो भने जस्ता कार्यालयको कामसँग असम्बन्धित कुरा नगरी फटाफट आफ्नो ड्यूटीको काम गर्ने प्रोपेशनल । नत्र खत्तम ।

७)      मानिसहरूसँग सकारात्मक र उत्साहका कुरा गर्ने प्रोफेशनल । र, जो जहिले पनि नकारात्मक टिप्पणी मात्र गर्ने, निरासाका कुरा मात्र गर्ने अनप्रोफेशनल ।

८)      सानो-सानो गल्ती भए “गल्ती भयो” “सरी” “यस्तो गल्ती भएकोमा म लज्जित छु”  भनेर स्वीकार गर्ने र त्यसलाई सुधार्ने प्रोफेशनल । गल्ती भए पनि “आफु ठीक” भनेर अडान लिने, गल्तीलाई सच्याउँन नचाहने अनप्रोफेशनल ।

९)      सहकर्मीहरूसँग काम गर्दा अनेक सवालहरु (Issues) सामुन्ने आउँछन् । यस्तो बेलामा जहिले पनि सहीलाई सही र गलतलाई गलत भनेर नम्रतापूर्वक आफ्नो अडान लिने प्रोफेशनल । र, गलत कुराको पक्षपोषण गर्ने र लिँडे ढिपी कस्ने अनप्रोफेशनल ।

१०)  हरेक कुराहरु नढाँटी बोल्ने, नजानेको कुरा जान्दिन भन्ने, खोजेर बुझेर बताउँने तर गलत कुरा नगर्ने प्रोफेशनल हो । र, ढाँटेर छलेर बोल्ने, आफ्नो बायोडाटामा नगरेका कामहरूको सूचि राक्ने अनप्रोफेशनल हो ।

११)   जो सँग जति कुरा शेयर गर्नु पर्ने हो ठिक्क शेयर गर्ने, चिया पसलमा जस्तो फुक्काफाल गफ नगर्ने प्रोफेशनल हो । र, जो चाहिएकोभन्दा बढी गफ दिन्छ त्यो अनप्रोफेशनल हो ।

 

सिद्धान्तः सन २००२ मा अध्ययन गरिए अनुसार प्रोफेशनलहरू सृजनशील हुँदैनन् । उनीहरूलाई त निर्दैशिका, प्रोटोकल, नियमले जे जे भनेको छ त्यो मात्र गर्न आउँछ । किनभने तोकेको भन्दा बढी सृजनशील हुन थाले उनीहरूलाई नियम कानुनले बाँध्छ । तेसैले उनीहरू ईन्डक्ट्रिनेशन गरिएको अनुसार काम गर्ने मात्र हुन् । यिनले सृजनशील हुने गुन्जायस छैन ।

 

नेपालको सन्दर्भमाः राजनीतिक पार्टीहरू जसले दिनदिनै ढाँटेर काम गर्छन्, अरुलाई उल्लु र आफु मात्र ठीक ठानेर चल्छन्, सम्पतीको विवरण ठिकसँग दिँदैनन, आफ्नै विधान र घोषणा पत्रलाई पनि बंग्याउँछन् भने यस्तालाई  प्रोफेशनल भन्न सकिन्छ?
तेस्तै सरकारी कर्मचारीहरू संगठन खोलेर नेतागिरी गर्छन्, नारा-जुलुस गर्छन् तर काम गर्ने कार्यालयमा नागरिक बडापत्र अनुसार काम गर्दैनन्, प्रमाण पुगे पनि आफ्नो मान्छे होइनभने झुलाउँछन्, दिउँसै घुस लिन्छन् भने यस्ता कर्मचारी प्रोफेशनल हुन सक्छन्?
तेस्तै व्यापारीहरू, गैससवालाहरू, कानुनचीहरू, शिक्षक-प्रोफेसरहरू, डाक्टर-ईन्जिनियरहरू, पुलिस, सेना, मन्त्रीहरूले जे जसरी काम सम्पादन गरिरहेको देखिएकोछ के त्यो प्रोफेशनल किसिमको छ? छैन । जाँचको नापोलाई ० देखि १० लाई मेजरिङ रड मान्ने हो भने २-३ भन्दा बढी स्कोर दिन सकिन्न । अहिले अल्फाबेटिकरणको चलन सुरु भएकोछ क्यारे । तेस्मा ए देखि (ए प्लस र ए, बी प्लस र बी, सी प्लस र सी, डी प्लस र डी, ई प्लस र ई) ई सम्म छ क्यारे । डी पछिकाहरू फेल सरह हो क्यारे । यो प्रणाली अनुसार पनि डीभन्दा बढी दिन सकिन्न । अर्थात फेल भएकाले नेपालको विकास कसरी गर्लान त? गफ मात्र हान्नेहरुको हातमा डाडु-पन्यू, काम गर्नेहरू ईमिग्रेन्ट वर्कर ! अनि कसरी नेपालमा विकास हुने?
-----   -----   ----
Ref

2.       https://en.wikipedia.org/wiki/Professional

No comments:

Post a Comment