Thursday, May 5, 2016

४ सुनखानीमा वुद्ध (विक्रम सुब्बा A Travelogue 4)

.२ नेपालमा ९० सालको भुइँचालो: नेपालमा ९० सालको भुइँचालोको धेरै चर्चा हुने गर्दथ्यो । मेरो बाल्यकालमा मेरी आमाले पनि ९० सालको भुइँचालो जाँदा जमीनले नाङ्लोले जस्तै निफन्यो । म त जताततै उछिट्टिए, बाँस र रुखहरूले झन्नै भुइँ छोउँलाझैँ नुहिँदै उठ्दै गरे, जमीन र खोलाखोलसीहरू स्वाँवाँवाँवाँ गरेर कराये,  पहाड पर्वतहरू सबै धामीझैँ कामेको देखियेको र अब सन्सारमा प्रलय भएर ध्वस्त हुन्छजस्तै लागेको कुरा गर्नु हुन्थ्यो । मैले नेपालको भुइँचालोका बारेमा नेटमा सर्च गर्दा "युगकविको कलममा ९० सालको भुइँचालो (सिद्धिचरण श्रेष्ठको अप्रकाशित संस्मरण)" शिर्षकको एउटा लेख भेटेँ, जसलाई म यहाँ राख्न चाहन्छु ।

काठमाडौं, जेष्ठ ७ १९९० सालको महाभूकम्प आएको बेला सिद्धिचरण श्रेष्ठ २१ वर्षका थिएछन् । तत्कालीन सरकारले ब्रह्मशमशेर जबराको अध्यक्षतामा गठन गरेको भूकम्प स्वयंसेवक संघ अन्तर्गत काठमाडौंका युवाहरूको नेतृत्व सिद्धिचरणले गर्ने अवसर पाएछन्  स्वयं सेवकको काम गरिरकेपछि उनको ९० सालको भुइँचालोको अनुभव निम्मानुसार लेखेछन्:

कालो बादल मडारिएको ९० सालको महाभूकम्पको बेला म २१ वर्षको थिएँ । भारतको तीनधाम यात्रा गरेर फर्केको दोस्रो दिन मात्रै थियो, कुनै आफन्तलाई भेटेर घर पुग्नै लागेको थिएँ । चारैतिर हाऽहाऽ र हुऽहुऽ भयो । मानिसहरू घरबाट निस्के, ‘भुइँचालोऽ भुइँचालोऽ भन्दै कराउन थाले ।

म के गरूँ, कसो गरूँ भएर नजिकैको एउटा चैत्य समाउन पुगें । हडबडाएर घरबाट निस्केका मानिसहरूले पनि मैले गरेको जस्तै गर्न थाले । चैत्य हल्लायो । जमिन हल्लायो । यताउता घरहरू भत्किन थाले । धूलो उडेर केही पनि नदेखिने भयो । हामी सबै अवाक रह्यौं ।  के भइरहेछ, कसो भइरहेछ, केही थाहा नै भएन । कोही रुन लागिरहेछन् । कोही आफन्तहरूको नाम काढेर बोलाइरहेछन् । घर भत्केर कति त पुरिरहेका छन् । 

चारपाँच मिनेटसम्म त कसैलाई होसहवास नै भएन । म घरबाट पचास कदमजतिको बाटोमा थिएँ । घरतर्फ जान खोज्छु त अगाडिको घर भत्केर टुक्राटुक्रा छ । बल्लतल्ल घर पुगें । आमा, मेरी जहान र अरू पाहुनाहरू बारीमा रहेछन् । टोलका अरू मानिसहरू पनि त्यहीँ जम्मा भएका  रहेछन् । सबैको सातोपुत्लो उडेको थियो ।

आफ्नो परिवार सबुत छ कि छैन भन्नेतिर नै सबै जनाको पहिलो चासो थियो । पिताजी आफ्नो अफिसमा हुनुहुन्थ्यो । सबैभन्दा पहिले उहाँले हामी सबुत छौं कि छैनौं भन्ने सोध्न मान्छे पठाउनुभयो ।

कोही मानिसहरू आफ्ना पुरिएका आफन्त खोज्न इँटा र दलिनहरू पन्छाउनतिर लागे । कोही चोट परेकालाई बिस्तारै सम्हाल्नतिर लागे । कति मरे कति ।  काठमाडौंभरि नै ठूलो तमासा थियो । कहाँ केके भइरहेछ, कति घर भत्के, कसैलाई थाहा थिएन । सुन्थें फलानाको घर भत्कियो, फलाना मन्दिर भत्कियो, धरहरा, घन्टाघर छैन, आदि आदि । वसन्तपुरको एउटा अड्डा भत्कनाले त्यसमा १०० जनाजति मानिसहरूको एकै चिहान भयो भनेको पनि सुनें । जीवन र मृत्युसँग जुध्दै पार पाउन मानिसहरूको कोलाहलको रूपमा सहर रूपान्तरित भएको थियो ।

हाम्रो बारीमा दुईचार जना पुरिएका मानिस पनि ल्याइए । सुन्दै गएँ फलानो त पुरिएर   मरेछ । फलानाको त आजसम्म पत्ता लागेको नै छैन । त्यो दिनको भयावहता सम्झनु पनि गार्‍हो हुन्छ । नभत्केका घरमा पनि फेरि के के हुने हो भन्ने त्रासले मानिसहरू जानै सकेनन् । येन केन प्रकारेण मानिसहरू घरबाहिर बस्थे ।

टुँडिखेल धेरै मानिसहरूले भरिएको थियो । अस्थायी अस्पताल नै बनाइएको थियो त्यहाँ । बाटोको ठाउँठाउँ घर भत्किएर पूरै बन्द थियो । आफ्नो घरमा माथि गएर भाँडाकुँडा ल्याउन पनि मानिसहरू असमर्थ थिए, घर नभत्के पनि । हामी पनि टुँडिखेलमै गएर बस्यौं, पाल टाँगेर ।

भूकम्पले धनजनको क्षति त गर्‍यो नै, नेपाली संस्कृतिका बहुमूल्य कृतिहरू, प्राचीन कलापूर्ण मन्दिर र भवनहरू पनि भत्के । त्यसको पुनर्निर्माणमा सस्तो र सजिलो खालको प्रक्रिया अपनाइयो । वसन्तपुरमा कुमारी चोकभित्रको कलापूर्ण भवन भत्कियो । त्यसको पुनर्निर्माण आधुनिक ढंगले गर्‍यौं हामीले । मखनटोलको महादेवको मन्दिर, भेडासिंको ढुंगाको मन्दिर अहिले पनि सम्झिन्छु । त्यस्तै अनेक मन्दिरहरूको पुनर्निर्माणमा पुरानो कलाशैलीको अपहेलना गरिएको छ । काठमाडौंको रूप यसबाट विकृत हुन गएको छ ।

त्यस बेला हामीले कला र संस्कृतिको महत्त्व सम्झेर महत्त्वपूर्ण ठाउँको पुनर्निर्माणमा ध्यान  दिएनौं । यसबाट राष्ट्रिय संस्कृतिको र्‍हास भएको महसुस गरेको छु । काठमाडौं, वसन्तपुरको एउटा दृष्टान्त लिऊँ । त्यस बेला यो यस्तो थिएन । अनेक प्राचीन कलापूर्ण भवन र मन्दिरले सुशोभित यो ठाउँ आज अर्कै देखिन्छ । कतिपय भवनका पुराना झ्यालढोका र कलापूर्ण त्वानासींहरू दाउराको सट्टामा बालेको कुरा पनि मैले सुनेको थिएँ । ती सबै भिल्लको हातमा मणि भएर गए ।

भूकम्पलगत्तै जर्णेल ब्रह्मशमशेर जबराको अध्यक्षतामा एउटा भूकम्प स्वयंसेवक संघ खडा भएको थियो । त्यस संस्थाले कहाँकहाँ कति मानिस मरेका छन् र कहाँकहाँ आश्रयविहीन मानिसहरू बसिरहेका छन् र कहाँ के सहायता गर्न सकिन्छ भनी रिपोर्ट पनि गर्नु थियो । मेरै नेतृत्वमा धेरै साथीहरू त्यो समितिमा सक्रिय बने । वास्तवमा त्यो समितिमा काम गर्नु निकै ठूलो गौरवको कुरो थियो । सायद त्यो नेपालकै पहिलो सामाजिक संस्था थियो ।

मैले र मेरा साथी शेषराज दली लगायतले स्वयंसेवक भएर काम गरेकोमा तक्मा पनि पाएका थियौं । मेरो नाम घोषणा हुनासाथ जुद्धशमशेरले त्यो तक्मा आफूले नदिई मलाई दिन लाए । यसको कारण भने आजसम्म मैले बुझ्न सकेको छैन ।

नेपालमा भुइँचालो कसरी जाँदो रहेछ भनेर मैले नेटमा खोजेर हेरेँ र थाहा भयो ५५ मिलियन वर्ष अघिदेखि ईण्डियन ओसनबाट सर्दै आएको ईण्डियन टेक्टोनिक प्लेट र १० मिलियन वर्ष अघितिर, प्रति वर्ष ५ मिमिका दरले सरेर युरेशियन टेकनिक (तिबेटन) प्लेट, जुन वर्षमा २ मिमिका दरले मात्र सर्छ, सित ठोक्किँदै जाँदा हिमालय सृङखलाको सृजना भएको रहेछ । यो ईण्डियन टेक्टोनिक प्लेट द्रुत गतीमा सर्ने र ढीलो सर्ने युरेशियन टेक्टोनिक प्लेटहरू जुध्न पुग्दा Fault हरू हुँदै भित्र गुम्सिएर बसेको उर्जा बिष्फोटित भएर बाहिर निस्कने क्रममा भुइँचालो जाने रहेछ ।

८। अमेरिकालाई पढ्दा: अप्रिल २९ को टिकट सारेर मे ८ मा मात्र नेपाल फर्किने भएपछि अमेरिकाका मैले पढेका कवि र गायक व्यक्तित्वहरूलाई फेरि पढेँ । पढिएका मध्ये केहीलाई छानेर तल राखेकोछु:

.१ माया एन्जेलोको प्रसिद्ध कविता

 "म जाग्नेछु"

घिनलाग्दा र झुठा तर्कहरू अघि सारेर
तिम्रो ईतिहासका पन्नामा
मलाई होच्याएर लेख्न सक्छौ
धुलोपिठो पार्न सक्छौ तिमी मलाई
तर म त्यही धुलोबाट पनि जाग्नेछु

मेरो जागृतीको कुरा सुनेर तिमी हैरान छौ?
तिमी किन खुम्चिएका निधार छामिरहेछौ?
म जागेर शिर उठाएर हिँडेको देख्दा
तिम्रा ठूला र गहिरा आँखा बिझायो?

तर म, घाम र जूनजस्तै
समुद्रका लहर र छालहरुजस्तै
उर्लेर उठ्ने बलिया आशाहरूजस्तै जाग्नेछु
हो म जाग्नेछु ! म जाग्नेछु !! जाग्नेछु !!!

मलाई थाहा छ, तिमी मलाई
भत्केर खत्तम भएको हेर्न चाहान्छौ
मैले शिर र आँखा झुकाएर बसेको देख्न चाहान्छौ
मेरा काँधहरू लत्रिएका, र सप्ताहान्तको छुट्टीमा, तिमी
मेरो आत्मा कुण्ठहरुसँग रोइरहेको हेर्न चाहान्छौ

मेरो हठी कुराले तिम्रो
बेईज्जत भयो होला, होस् !
मेरो कुरा ननिको मान्छौ भने मान
म मेरो घरपछाडी
सुन खानी खनिरहेकोजस्तै खुसिले हाँसौँला

मलाई तिम्रा शब्द-गोली ठोक्न सक्छौ
तिम्रा नजरका धारले काट्न सक्छौ मलाई
तिमीसँग भएको घृणाको विषले मार्न सक्छौ
तर म फेरि जाग्नेछु ! आँधी-हुरी भएर जाग्नेछु !!

घिनलाग्दो ईतिहासका पाप्राहरू च्यातेर जाग्नेछु
मेरा पिडैपिडाले भरिएको  बिगतबाट जाग्नेछु
म थेप्चो समुद्र हुँ जताततै छाललिएर बढिरहेछु
अनेक डाँडाकाँडा भत्काउँदै बढ्दै छु
डर र त्रासले भरिएका रातहरू बिर्सेर जग्नेछु
दुनियाले देख्ने दिनको उज्यालोमा जाग्नेछु
मेरा पुर्खाले छोडेको धरोहर भएर
हो म हेपिएकाहरूको प्रचण्ड सपना बनेर जाग्नेछु
म जाग्नेछु !
म जाग्नेछु !!
म जाग्नेछु !!!
म जाग्नेछु !!!!

मैले माया एन्जेलोलाई यही कविताबाट चिनेको हुँ र साक्षात रुपमा कहिल्यै नभेटे पनि भावनात्मक रुपले सँधै उस्तै विषयवस्तुमा रमाउँने र उनको नजिक भएको महसुस गरेको हुँ । माया अप्रिल ४, १९२८ का दिन सेन्ट लईस, मसुरीमा जन्मेकी हुन् । माया हाम्रो युगका प्रभावशाली मानिसहरू मध्ये एक प्रख्यात र सफल व्यक्तित्व हुन । ५० भन्दा बढी मानार्थ डक्टरेटको उपाधीले बिभषित सेलेब्रेटी कवियत्री, सस्मरण लेखिका, शिक्षाविद, नाटककार, प्रड्यूसर, अभिनेत्री, ईतिहासकार, फिल्म निर्मात्री र नागरिक अधिकार कर्मीका रुपमा स-सम्मान डा. मायाको नाम लिईन्छ । "आफुसँग जवाफ छ भनेर कुनै चराले गाएको होइन, बरू सँग गीत छ त्यसकारण चराले गीत गाएको  हो ।" भन्ने मायाले आफ्नो महान कर्मले सन्सार भरिका धेरै मानिस, खास गरेर काला जाति र महिलालाई प्रभावित र आफ्नो अधिकारको निम्ती लागिरहन प्रोत्साहित गरिन् ।

माया एन्जेलोको बाल्यकाल कठीन किसिमले गुज्र्यो । उनी सानै छँदा उनका बा-आमा छुट्टिए जसले गर्दा मायाको आमाले छोराछोरी (माया र उनका दाई) लाई आफ्नो बुवाको आमाको घर (अर्कान्सास) मा हेरचाहको निम्ती राख्नु पर्‍यो । अफ्रिकन अमेरिकनहरूप्रति कस्तो पूर्वाग्रह राखिन्छ र कसरी जातिय विभेद गरिन्छ भन्ने कुरा माया एन्जेलोले अर्कान्सासमा आफैले भोगिन् । त्यति मात्र होइन, मायालाई ७ वर्षको उमेरमा उनकै आमाको केटा साथी (बोइफ्रेण्ड) ले बलात्कार गर्‍यो । जसको प्रतिरोधमा माया एन्जेलोका मामाहरूले मायाको आमाको केटा साथीलाई मारिन दिए । बलात्कार पछि माया १ वर्ष सम्म केही बोल्नै नसक्ने गुँगी भएकी थिईन् ।

दोस्रो विश्वयुद्दका बेला मायाले नृत्य र अभिनयबारे सान फ्रान्सिस्कोको लेबर स्कुलमा छात्रवृत्ती पाएकोले उनी त्यतै सरिन् । सन् १९४४ मा (१६ वर्षको उमेरमा) मायाले, छोटो समयका लागि रोमान्टिक साथीबाट, छोरा पाईन् । मायाले आफ्नो र छोराको पालनपोषणका निम्ती अनेक काम गरिन् । सन् १९५२ मा मायाले ग्रीक समुद्र-यात्री तथा साहित्यकार आनास्तासिओस एन्जेलोपुलोसको नामको छोटो रुप एन्जेलो लिएर त्यसको अगाडी आफ्नो बाल्यकालको बोलाउँने नाम 'माया' जोडेर आफ्नो नाम 'माया एन्जेलो' राखिन् ।

सन् १९५० को मध्यतिरदेखि नाट्य अभिनेतृका रुपमा मायाको काम राम्रोसँग अघि बढ्न थाल्यो । सन् १९६१ मा मायाले "दि ब्ल्याक्स" नामक चलचित्रमा खेल्न पुगिन् । तेसपछि माया ईजिप्ट र घानाजस्ता मुलुकतिर सम्पादक र स्वतन्त्र लेखकका रुपमा काम गर्न थालिन् । उनले घाना विश्वविद्यालयमा केही समय काम पनि गरिन् । तर उनी साथी जेम्स बाल्वीनको सल्लाह अनुसार अमेरिका फर्किन र "I Know Why the Caged Bird Sings" नामक आफ्नै जीवनीमा आधारित सस्मरणात्मक पुस्तक (१९६९)  लेखिन् जसले, एक अश्वेत लेखिकाले लेखेको, ननफिक्शन जेनेरको, अमेरिकाको ईतिहासमै पहिलो पल्ट बेष्ट शेलरको सफलता हासिल गर्‍यो । माया रातारात विश्वप्रसिद्द भइन् । त्यसपछि माया शिक्षाको क्षेत्र र सामाजिक क्षेत्रमा समेत रेकर्ड तोड्दै अघि बढिन् । उनले १९७२ मा "जर्जिया" नामक नाटक लेखिन् जुन पहिलो अश्वेत महिलाद्वारा लेखिएको चलचित्र बन्यो र 'टोनी अवार्ड'का निम्ती नोमिनेशनमा पर्‍यो । त्यही चलचित्रमा राम्रो अभिनय गरे बापत मायाले १९७२ को 'लुक अवार्ड' समेत पाईन् । मायाले लेखेको टेली सिरिय  "रुट्स" 'एम्मी अवार्ड'का निम्ती नोमिनेशनमा समेत पर्‍यो ।

मायाले त्यसपछि आत्माकथाहरू "All God's Children Need Traveling Shoes (1986)", " A Song Flung Up to Heaven (2002)" लेखिन् । तर मायाले 1969 मा लेखेको "I Know Why the Caged Bird Sing" लाई नै मायाको सबैभन्दा उत्तम पुस्तक मानिन्छ । मायाले अन्य अनेक कविताहरु लेखेर प्रकाशित गरिन् । जसमध्ये  "Just Give Me a Cool Drink of Water 'Fore I Die (1971)" नामक कविता संग्रहलाई पुलित्जर पुरस्कारको निम्ति नोमिनेसन पनि गरिएको थियो । मायाका कविताहरू मध्ये "On the Pulse of Morning," प्रसिद्ध भयो जुन मायाले राष्ट्रपति बिल क्लिन्टनको सपथ समारोह (१९९३) मा पाठ गरेकी थिईन् । यस किसिमको सपथ समारोहमा रोवर्ट फ्रष्टले "The Gift Outright" (१९६१) मात्र, जोन एफ केनेडीको सपथ समोरहमा, पाठ गरेका थिए । मायाले कविताको अडियो एलबमबाट ग्रामी अवार्ड पनि पाईन् । सन् १९५५ मा मायालाई  "The New York Times" मा दुईवर्ष सम्म, जुन ईतिहासकै सबैभन्दा लामो समय होBest seller को रुपमा रहेकोले विशेष प्रशंसापत्र पनि दिईयो ।
नौलो सृजनात्मक काम गर्ने धुनमा मायाले Down in the Delta चलचित्रको निर्देशक (१९९८) का रुपमा समेत काम गरिन् । यसका साथै मायाले मानिसहरूलाई उर्जा दिने "Wouldn't Take Nothing for My Journey Now (1994), "Letter to My Daughter(2008)" जस्ता पुस्तक लेखिन भने "Hallelujah! The Welcome Table: A Lifetime of Memories With Recipes (2005)"   "Great Food, All Day Long (2010)" जस्ता पुस्तकहरू प्रकासन समेत गरिन् ।

माया एन्जेलोले अनगिन्ती मान-पदवीहरू पाईन् । उनले पाएका केही प्रमुख पदवीहरू Chicago International Film Festival's 1998 Audience Choice Award; Black Film Festival in 1999 मा Down in the Delta का निम्ती सम्मान; NAACP Image Awards (2005 cookbook का लागि  2008 मा Letter to My Daughter का लागी प्रदान गरिएको थियो ।

मार्टिन लुथर किङ (जुनियर) मायाको नजिकका साथी थिए । काक्तालि नै मान्नु पर्छ कि जुन दिन किङ (जुनियर) को हत्या भयो त्यो मायाको जन्म दिन (अप्रिल ४) परेकोथियो  किङ (जुनियर) को हत्या पछि मायाले आफ्नो जन्मदिन मनाउँन छोडिन र उनले किङ (जुनियर) को जन्म दिनका दिन हरेक वर्ष किङ (जुनियर) की श्रीमती कोरेट्टा स्कट किङलाई फुलको गुच्छा पठाउँदथिन् । यो क्रम किङ (जुनियर) की श्रीमती नमरुन्जेल (सन् २००६ सम्म) ३० वर्षसम्म मायाले जारी राखिन् ।

माया टिभी कार्यक्रम संचालिका ओप्रा विन्फ्रेको पनि मिल्ने साथी रहिन् । विन्फ्रेले मायाको अनेक जन्मोत्सव मनाई दिएकी थिईन् । माया ७० वर्ष पुगेको वर्ष (१९९८) विन्फ्रेले १ हप्ताको निम्ती समुद्री यात्रा गर्दै उत्सव मनाउँने कार्यक्रम समेत आयोजना गरिन् ।
अनेक रोगले गाँजेको मायाको मे २८, २०१४ का दिन नर्थ क्यारोलिनाको विन्स्टन-सालेमको उनकै घरमा देहान्त भयो । उनको सम्झनामा राष्ट्रपति बाराक ओबामाले बक्तव्यमा लेखे – "माया एन्जेलो एक होनाहार लेखक, भयानक साथी र एक असाधारण महिला थिईन् । जसले हामीलाई 'हामी सबै भगवानका सन्तान हौँ र हामी सबैसँग यो दुनियालाई दिने केही न केही कुरा छ' भनेर सम्झाईरहन्थिन् ।भनेर मन्तव्य राखेका थिए ।
.२ अमेरिकी गायकहरू: मैले मेरो कलेजको जीवनका बेला सुनेका अमेरिकी गायकहरू बब डिलन (हाउ मेनी रोड्स मस्ट अ मेन वाक डाउन), साइमन एण्ड गरफंकल (हेलो डार्कनेस माइ ओल्ड फ्रेण्ड), जोन डेनभर (कन्ट्री रोड टेक मी होम) र जोन लेनन् (ईम्याजीन) सबैलाई उनका गीतहरू मार्फत सम्झेँ । जुनबेला म भर्खर (२७ सालमा SLC दिएर) काठमाण्डु आएको थिएँ त्यतिबेला तथाकथित "आधुनिकता" को केन्द्र झोँछेलाई मानिन्थ्यो । झोँछेका गल्ली तिरका रेष्टुरेण्टतिर र बेला बेला हुने कन्सर्टहरुमा यी अमेरिकन गायकहरूका गीत गाँजाको नसासँगै सुन्न पाइन्थ्यो भने हिप्पीहरूको नयाँ ल्याङफ्याङ्गे जीवन शैली पनि देख्न पाइन्थ्यो । त्यतिखेर बब डिलनको एउटा प्रख्यात गीत (How many roads must a man walk down…) खुब गाईन्थ्यो

..१ बब डीलनको प्रख्यात एक गीत

मानिस भएको साबित गर्नु अघि
मानिसले कति लामो बाटो पार गर्नु पर्छ?
ढुक्कसँग बालुवामा निदाउँन अघि, उडेर
सेतो परेवाले कति समुद्र नाघ्नु पर्छ?
यो सन्सारबाटै प्रतिबन्धित हुन अघि
तोपको गोलाले अझै कति पडकिनु पर्छ?
पृय मित्र, यसको जवाफ वतासमा उडिरहेछ
जवाफ सिरिफ वतासमै उडिरहेछ

बगेर सबै समुद्रमा पुग्न अघि
कति वर्ष पहाडहरू उभिरहनु पर्छ?
स्वतन्त्र भएर बाँच्न पाउँनु अघि
मानिसले अझै कति मरिरहनु पर्छ?
नदेखेको नाटक गरेर अझै मान्छेले
कति सम्म आँखा चिम्लिरहनु पर्छ?
पृय मित्र, जवाफ त वतासमै उडिरहेकोछ
जवाफ सिरिफ वतासमै उडिरहेकोछ


नीलो आकाश देख्नु अघि मानिसले
कति पटक शिर उठाएर हेर्नु पर्छ?
रोदन-चित्कार सुन्न सक्ने हुन
मानिसलाई कति कान दिनु पर्छ?
धेरै मानिस मरिसके भन्ने बुझ्न
कति मानिसले मरेर देखाउँनु पर्छ?
पृय मित्र, जवाफ त वतासमै उडिरहेकोछ
जवाफ सिरिफ वतासमै उडिरहेकोछ
  
..२ जोन लेननको प्रसिद् गीत "Imagine"

कल्पना गर कतै पनि स्वर्ग छैन
यत्न गर सजिलो छ सम्झ
खुट्टा मुनि नर्क पनि छैन
शिरमाथि केवल आकाश छ
सबै मानिसहरूलाई सम्झ
जो बाँचिरहेछन् आज

कल्पना गर कुनै देश छैनन्
छैन भनि सम्झिन कठिन छैन
कसैलाई मार्नु र मर्नु पनि छैन
छैनन् कुनै धर्महरू पनि
कल्पना गर सबै मानिसहरू
शान्तिको जीवन बाँचेकाछन्

मलाई सपना देख्ने भन्न सक्छौ
तर म एक्लो कहाँ छु र, शायद
तिमी पनि हमीसँगै आउँनेछौ एकदिन
अनि यो सन्सार एउटै हुनेछ

कल्पना गर कतै सम्पती छैन
यसो गरे मलाई लाग्छ
लोभ-लालच र भोक पनि हुँदैन
जतातै सन्सारमा भाइचारा हुनेछ
कल्पना गर सबै मानिसहरू
दुनियामा मिलेर बस्नेछन्

मलाई सपना देख्ने भन्न सक्छौ
तर म एक्लो कहाँ छु र, शायद
तिमी पनि हमीसँगै आउँनेछौ, एकदिन
अनि यो सन्सार एउटै हुनेछ
  
.. एलेन गन्सर्ग: भर्खर भर्खर कविता लेख्न थाल्दा मैले पढेका अमेरिकन कविहरू मध्ये हमीले बिद्रोही कवि भनेर खुब मन पराएको एलेन गन्सर्गलाई पनि सम्झेँ । उनको एक प्रसिद्ध कविता अमेरिका



अमेरिका, मैले सबैथोक तिमीलाई दिएँ र आफू रित्तो भएँ ।
अमेरिका, दुई डलर र सात्ताइस सेन्ट;
जनवरी सत्र;
उन्नाइस सय छप्पन्न ।

मलाई आफ्नै मथिङ्गल गरुँगो भइरहेछ 
अमेरिका, अब युद्ध कहिले रोक्ने हो?
भयो, तिम्रो एटम बमसँग तिमी आफैँ पोइल जाऊ 
मलाई ठीक लागेको छैन, दु:ख नदेउ मलाई
मेरो दिमाग ठीक ठाउँमा नआउन्जेल कविता लेख्दिनँ म ।
अमेरिका, तिमी कहिले देवदूतझैँ हुने हो ?
तिमीले कहिले फुकाल्ने आफ्ना लुगा ?
कहिले हेर्ने तिमीले आफूलाई चिहानबाट ?
तिमी आफ्ना लाखौँ टोर्टस्किबाट कहिले चिनिने ?

अमेरिका, तिम्रा पुस्तकालयहरू किन आँसुमा डुबेका छन् ?
अमेरिका, तिमी आफ्ना अन्डाहरू इन्डिया कहिले पठाउनेछौ ?
म तिम्रा नचाहिँदा जिद्दिबाट दिक्क भइसकेँ 
सुपरमार्केटमा गएर आफूलाई चाहिएका चिज
उज्यालो अनुहारले कहिले किन्न सक्छु म ?
अमेरिका, पूर्ण भनेको आखिर तिमी र म नै हौँ, बाँकी विश्व होइन ।
तिम्रा यन्त्रहरूका टन्टाघन्टा मलाई वाइयात लाग्न थालिसके ।
तिमीले गर्दा मलाई जोगी हुन मन लाग्दैछ ।
यस अर्घेल्याईँलाई साम्य पार्ने अरू कुरा पनि पक्कै छन् ।
समलिङ्गी बरोग टेन्जियर्समा छ,
ऊ आफ्नो अलक्षिन बोकेर फर्कनेछ भन्ने मलाई लाग्दैन ।
तिमी अलक्षिना हुँदैछौ या यो कुनै ठूलै ठट्टा हो ?

म गाँठ्ठी कुरो भन्न खोज्दैछु ।
म मेरो अम्मल छोड्न अस्वीकार गर्छु ।
अमेरिका, घँच्याड्न छोड,
म के गर्दैछु भन्ने मलाई राम्ररी थाह छ।
अमेरिका, गर्विला छातीहरू रित्तिँदैछन् ।
महिनौँ भयो मैले कुनै पत्रिका नपढेको,
हरेक दिन कोही न कोही
हत्याको अभियोग बोकेर कठघरामा उभिइरहेछ ।

अमेरिका, म यो अस्थिरता देखेर भावुक हुँदैछु
अमेरिका, म केटाकेटी छँदा कम्युनिस्ट थिएँ ।
मलाई यसमा दु:ख लाग्दैन ।
म भेटेपिच्छे गाँजा तान्छु ।
म कयौँ दिन घरबाट निस्कन्न, 
टोलाएर गुलाबका फूललाई हेरिरहन्छु ।
म चाइना टाउन गएपिच्छै
बेस्सरी मात्छु तर कहिल्यै ढल्दिनँ ।
मेरो दिमागको बनोट नै आपत निम्त्याउने खालको छ ।
मलाई मार्क्स पढ्दै गरेको देखेको हुनुपर्छ तिमीले ।
मानसिक रोग हेर्ने मेरो डाक्टर
मलाई केही भएको छैन भन्छ ।
म कहिल्यै कुनै पूजापाठ गर्दिनँ ।
मेरो दृष्टि ईश्वरीय तरङ्गले निसृत र आध्यात्मिक छ ।
अमेरिका, मैले अझै भनेकै छैन,
रुसबाट आएका मार्क्स काकालाई तिमीले के गर्‌यौ भनेर ।

म तिमीलाई सम्बोधन गर्दैछु ।
के तिमीले आफ्नो भावनात्मक जीवन चलाउने जिम्मा
टाइम्स पत्रिकालाई दिइसकेका हौ ?
टाइम्स पत्रिकाले मलाई दास बनाएको छ ।
म हरेक हप्ता पढ्ने गर्छु यसलाई
म चाल मारेर कुनाको किराना पसलतिर जाँदा पनि
यसको आवरणले मलाई एकटकले हेरिरहन्छ,
म यसलाई बरकल सार्वजनिक पुस्तकालयको छिँडीमा बसेर पढ्ने गर्छु ।
यो सँधै मलाई दायित्वहरू सुनाइरहन्छ 
ब्यापारीहरू सम्वेदनशिल छन्,
सिनेमा बनाउनेहरू चिन्तित छन्,
हरेक मान्छे आ-आफ्ना काममा लागिपरेका छन् म बाहेक ।
यसले गर्दा म नै अमेरिका हुँ जस्तो लाग्छ, मलाई ।
म त फेरि आफैँसँग पो कुरा गर्न थालेँछु ।

एसिया मलाई पछार्न लागिपरेको छ ।
चिनयाँहरूको जस्तो मौका कहिल्यै पाइनँ मैले ।
मैले मेरो राष्ट्रका सम्पतिहरूको ख्याल गरेको भए ठीक हुन्थ्यो ।

मेरो राष्ट्रिय सम्पति भनेको गाँजाका दुई सर्का,
लाखौँ यौनाङ्गहरू,
प्रकाशित गर्न नमिल्ने प्रति घन्टा
चौध सय माइलको गतिमा कुद्ने ब्यक्तिगत साहित्य
र पच्चीस हजार मानसिक संस्थाको एकमुष्ठ सँगालो हो ।

म मेरा जेलहरूका बारेमा केही भन्दिनँ,
न त पाँच सय सूर्यको प्रकाशमुनि
अवसरबाट वञ्चित मेरा गमलामा बाँच्ने
लाखौँहरूका बारेमा केही बोल्नेछु ।

मैले फ्रान्सका वेश्यालयहरू भत्काइसकेकोछु, अब पालो तान्जियरहरूको छ ।
मेरो महत्वाकाङ्क्षा राष्ट्रपति हुने छ, आफू एउटा क्याथोलिक नै भए पनि ।
अमेरिका, म तिम्रो मूर्खताभित्र बाचेँर कुनै पवित्र श्लोक कसरी लेख्न सक्छु ।

म हेनरी फोर्डको झैँ गरिरहने छु,
मेरा कविताका पदावलीहरू उनका मोटरहरूझैँ एक्लाएक्लै पूर्ण छन्
अझ भन्छौ भने तिनीहरू प्रत्येक अलगअलग लिङ्गका छन्‌ 
अमेरिका, म तिमीलाई कविताका पदावलीहरू गोटाको पच्चीस सय डलरमा बेच्नेछु
तिम्रा पुराना कवितासँग साट्छौ भने त्यसमा पाँच सय डलर छुट दिनेछु ।
अमेरिका, टोम मुनेलाई छाड्देऊ
अमेरिका, स्पेनी उदारवादीलाई जोगाऊ
अमेरिका, साक्को र भेन्जेट्टीले कसैगरी मर्नु हुँदैन
अमेरिका, स्कटबोरो ब्वाइज मै हुँ ।

अमेरिका, म सात वर्षको छँदा
आमाले मलाई कम्यूनिस्टहरूको गोप्य मिटिङमा लग्नु भएको थियो ।
तिनीहरूले एउटा टिकट बापत हामीलाई एक अञ्जुली चना बेचेका थिए,
एउटा टिकटलाई एउटा निकेलको जति पैसा पर्थ्यो
र भाषण चाँहि सित्तैमा सुन्न पाइन्थ्यो;
त्यहाँ भएका सबै स्वर्गबाट आएका जस्ता कुरा गर्थे, 
कामदारहरू प्रति संवेदनशिल देखिन्थे
त्यो साह्रै गम्भीर मिटिङ थियो ।
अठार सय पैँतीसमा त्यो पार्टी कति राम्रो थियो भनेर तिमीलाई थाहै छैन ।
बुढोमान्छे स्कट नियरिङ साँच्चैका भद्र थिए,
मदर ब्लोरको कुरा सुनेर म रोएको थिएँ,
मैले एकपल्ट इज्राइल अम्तेरलाई पनि देख्न पाएँ,
र त्यहाँ हरेक ब्यक्ति जसुस हुनैपर्थ्यो ।

अमेरिका, तिमी त युद्ध चाहँदै चाहँदैनौ ।
अमेरिका, लँडाई चाहने त ती फटाहा रुसीहरू हुन् ।
ती रुसीहरू, ती रुसीहरू र ती चिनियाँहरू ।
र ती रुसीहरू ।
रूस हामीलाई जिउँदै खान उद्दत छ ।
रूस शक्तिशाली हुन बौलाहाझैँ लागिपरेको छ ।
ऊ हाम्रा ग्यारेजबाट हाम्रा कारहरू लान खोज्दैछ ।
ऊ सिकागो कब्जा गर्न खोज्दैछ ।
उसलाई एउटा लाल रिडर्स डाइजेस्ट चाहिएको छ ।
ऊ हाम्रा मोटर बनाउने फ्याक्टरीहरूलाई
साइबेरियामा सार्न चाहन्छ ।
उसको महाकाय कर्मचारीतन्त्रले
हाम्रो भावनाको केन्द्रलाई सञ्चालन गरिरहेछ ।
यस्तो हुनु ठीक हैन, उफ् !
त्यसले इन्डियनहरूलाई पढ्न सिकाउने भो 
त्यसलाई बलिया काला हब्सीहरू चाहिएको छ ।
त्यसले हामी सबैलाई दिनको सोर् घन्टा काम गर्न बाध्य बनाउने भो’,
गुहार ! मलाई जोगाऊ !!


अमेरिका, यो निक्कै गम्भीर कुरो हो ।
अमेरिका, मैले टेलिभिजन हेरिरहेर आजसम्ममा बुझेको कुरो यही हो ।
अमेरिका, के यो कुरो साँचो हो ?

गाँठी कुरो नलुकाई भनिहाल्नु नै ठीक होला ।
हो, म सेनामा भर्ती हुन चाहन्नँ
फ्याक्टरीमा मेसिन चलाउने काम गर्न पनि सक्दिनँ ।
मेरो आँखा कमजोर छ, टाढाको देख्दिनँ
र त्यसै पनि मनोरोगी त छदैँछु !
अमेरिका, म कम्मर कस्दै छु ।

(मूल अङ्ग्रेजीबाट अनुवाद -  सुमन पोखरेल)

यहाँ उल्लेखित गीत र कविता बाहेक मैले If you miss the train I'm on, You will know that I have gone… बोल (Paul & Mary)को गीत,  Sound of Silence.. बोल (Simon & Garfunkel) को गीतहरूलाई पनि बिर्सन चाहन्न जसलाई जवान हुँदा खुब सुन्थेँ र गाउँथेँ ।

. हिप्पी आन्दोलन: सन् ६० को दशकमा अमेरिकी युवाहरूले सुरु गरेर सन्सारभरि फैलिएको एक आन्दोलन थियो हिप्पी आन्दोलन । हिप्पी शब्द 'हिप्सटर' बाट आएको भनिन्छ  । जनवरी १९६७ मा सान फ्रान्सिस्कोको गोल्डेन गेट पार्कको 'ह्युमेन बी'ले हिप्पी सँस्कृतीलाई प्रख्यात बनायो । परिणामस्वरुप 'समर लभ' भनेर अमेरिकाको पश्चिमी भागमा र 'वुडस्टक फेष्टिभल' भनेर अमेरिकाको पूर्वी भागमा यो आन्दोलन परिचित भयो । यो सँस्कृती फैलिएर मेक्सिकोमा 'ला ओण्डा' कहलायो  हिप्पीहरू 'आभान्डारो'मा भेला हुने गर्थे न्यूजिलेण्डमा  यो बेलायतमा पुग्दा १९७० मा 'वाइट फेष्टिभल' मनाउँन ४ लाख मानिस जम्म गर्नेसम्म भयो । हिप्पीहरूले १९७० मै चिलीमा 'पेइद्रा रोजा फेष्टिभल' मनाए । अष्ट्रेलियाको निम्बिनको 'अक्वारियस फेष्टिभल' मनाउँन १९७३ मा हिप्पीहरू भेला भए ।

कुनै पनि सामाजिक सँस्कार-सँस्कृतीले सृजना गरेका संहिता-बन्देजहरू नमान्ने बरू आफुलाई जे मनपर्छ त्यही गर्ने र जीवनको नयाँ-नौलो परिभाषा निर्माण गर्ने ।यही अवधारणा अनुसार हिप्पीहरू ल्याङफ्याङ लुगा लगाउँथे । केश पनि कसैका जिङरिङ्ग, कसैको नमिल्ने गरी काटको, जुँगा-दारीको पनि कुनै छेक-छन्द नमिलाएको, एउटा खुट्टामा चप्पल र एउटा खुट्टामा जुत्ता लगाएको, कतै केटाले पेटिकोट लगाएको, कतै केटीले पुरुषका लुगा लगाएको हुने जस्ता देख्दै केही फरक पहिचान भएका हुन्थे हिप्पी । भाङ, धतुरो, रक्सी, गाँजा जे पनि खान्थे तर हिंसात्मक व्यवहार हुँदैनथ्यो ।

माया-प्रेम र यौनका बारेमा हिप्पीहरू  'एकजनासँग मात्र माया गर्ने वा यौन सम्बन्ध राख्ने कुरा पुरानो अवधारणा हो भनेर जो-जसले जोसँग पनि माया-प्रेम गाँस्न र यौन सम्बन्ध राख्न सक्ने (Promiscuous) अवधारणाविकास गरेका थिए र त्यसै अनुसार ब्यबहार पनि गर्दथे । यो अवधारणाबारे गंभीर अनुसन्धानहरू पनि भए । जस्तैः १) Human Sexual Response नामक क्लिनिकल अध्ययन जुन Masters and Johnson 1966 प्रकाशित भयो जसले अमेरिकाका धेरै मानिसको ध्यान तान्यो; २) १९६९ को Everything You Always Wanted to Know About Sex (But Were Afraid to Ask) नामक पुस्तक जुन डा. डेविड रउबेनले लेखेका थिए जसले लुकाएर राखिएका यौन सम्बन्धी अनेक कुराहरू उदघाटित गरिदिए; ३) १९७२ मा The Joy of Sex नामक पुस्तक एलेक्स कम्फोर्टले निकाले जसले संभोग गर्ने कला-कौसलका बारेमा खुलेर राखिदिए ।

यी प्रकाशनहरूले गर्दा नै अमेरिकामा यौनका बारेमा खुलेर बहस-छलफल हुन थाल्यो । यो पनि हिप्पी आन्दोलनको यदी मज्जा आउँछ भने गर (If it feels good do it) भन्ने नाराले गर्दा नै संभव भयो । यही नाराले समुहमा संभोग गर्नु हुन्न”, “सार्वजनिक स्थलहरूमा संभोग गर्नु हुन्न”, “समलिंगी संभोग गर्नु हुन्नभनेजस्ता परम्परागत निषेधाज्ञा (Taboos) हरूले खडा गरेका पर्खाल सब भत्काई दियो । परिणाम स्वरुप खुल्ला यौन सम्बन्धको सँस्कृती सुरु भयो । हिप्पी अवधारणा "तपाइँको स्थाई श्रीमान वा श्रीमती कोही एकजना हुन सक्छ तर त्यसको मतलब अरु कुनै पनि केटी वा केटाप्रति तपाइँ आकर्शित हुन सक्नु हुन्न भन्न मिल्दैन । मिल्छ भन्नु हुन्छ भने तपाइँ ढोँगी हो । तपाइँ ढाँट्दै हुनुहुन्छ । वास्तबमा त्यो आकर्षण हुन्छ । आकर्षण हुन्छ भने यौन संबन्ध राख्दा के बिग्रियो?"भन्ने थियो । यही अवधारणा फ्रि लभको रुपमा विश्व-प्रसिद्ध हुन पुग्यो जसले माया, यौन संबन्ध, संभोग, बिवाह, बच्चा पाउँने परम्परागत अवधारणालाई गंभीर चुनौती दिएर जसले जोसँग माया बस्छ उसैसँग माया गर्ने, जसलाई जोसँग संभोग गर्न मन लाग्छ उसैसँग गर्ने भन्ने नयाँ अवधारणा स्थापित भयो । अर्थात जति धेरैसँग माया, संभोग, सम्बन्ध गाँस्न सक्यो उति धेरै आफुले पनि पाईन्छ भने थोरैमा कुण्ठित भएर किन बस्ने?’ भन्ने हिप्पी-धारणाले गर्दा अब संभोगदैहिक मात्र रहेन बरु संभोगको आत्मिक (Spiritual) पक्षमा पनि मानिसले गहिरोगरी हेर्न र बुझ्न थाले ।

हिप्पीहरूले यी ठूला-ठूला तथाकथित स्थापित धर्महरूलाई मान्नु हुन्न, बरु आदिवासि तथा जनसमुदायका विश्वासहरू असल हुन्छन्भन्थे । १९९१ मा "Hippies and American Values" नामक पुस्तकमा टिमोथी मिल्लरले लेखे – “"हिप्पी आन्दोलन वास्तवमा एक धार्मिक आन्दोलन थियो जसले स्थापित धर्म तथा सँस्कृतीका सम्पूर्ण आचारसंहिता, नियम-विधानलाई प्रहार गरेर नयाँ जीवन शैलीको तलास गर्न भनि मानिसको दिमागमा झड्का हान्यो  सान फ्रान्सिसक्कोका प्रोफेसर स्टेफेन गास्कीन पनि हिप्पी धर्म मान्थे । उनले १९७०मा हिप्पीहरूका निम्ती The Farm नामक कम्युन नै खोले र जनगणनामा उनी जहिले पनि आफ्नो "धर्म" हिप्पीभनेर लेख्थे ।

.. हिप्पी आन्दोलनको दुरगामी असर ६० को दशक तिर हिप्पीहरूले “If it feels good, do it.” अर्थात, “मज्जा आउँछ भने गर !भनेर केटा-केटा र केटी-केटी वा एकजनाभन्दा बढीसँग या श्रीमान् श्रीमती प्रति प्रतिवध्द हुँदाहुँदै पनि कसैसँग मन मिल्यो भने यौन सम्बन्ध राखे हुन्छ ।भनेर आन्दोलन गरेका थिए त्यसको ५५ वर्षपछि भर्खरै जून २७, २०१५ का दिन अमेरिकी सर्वोच्च अदालतले समलिङगी विवाह मुलुकभर कानूनी भएको फैसला गरेको छ ।भनेर समाचार पढ्न पाईयो ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार समलिङ्गी विवाह मुलुकभर कानूनी भएको फैसला गरेको छ (प्रकाशित मिति: 1:13:10 pm, June 27, 2015 )

वासिङटनअसार १२, २०७२ – अमेरिकी सर्वोच्च अदालतले शुक्रबार समलिङ्गी विवाह मुलुकभर कानूनी भएको निर्णय गरेको छ । यसलाई समलिङ्गी समूहले मुलुकभर निकै प्रतिक्षा गरेको निर्णयको रूपमा हेरिएको छ र उनीहरूले मुलुकभर खुसी मनाएका छन् ।

अमेरिकी सर्वोच्च अदालतका नौजना न्यायाधीशमध्ये पाँच पक्ष र चार विपक्ष रही उक्त निर्णय भएको छ र उनीहरूले समलिङ्गी व्यक्तिबीचको विवाहलाई ५० राज्य सबैले पालना गर्नुपर्ने संवैधानिक व्यवस्था भएको बताएका छन् ।

राष्ट्रपति बराक ओबामाले यस निर्णलाई ‘‘अमेरिकाको बिजयको’’ रूपमा लिनुभएको छ । सर्वोच्च अदालतले एक दिन अगाडि राष्ट्रपति ओबामाको स्वास्थ्य सुधारको व्यवस्थाको विवादास्पद दफालाई कायम राख्ने निर्णय गरेको थियो भने यो निर्णय पनि उनकै पक्षमा गएको ठानिएको छ ।

उहाँले ह्वाइट हाउसमा यस निर्णयबाट अमेरिकी सङ्घ अझै बढी राम्रो भएको बताउनुभयो । यसपछि ह्वाइट हाउसमा इन्द्रेणी रङको प्रकाश पारिएको थियो । यस रङलाई समलिङ्गी अधिकारका लागि आन्दोलनको रङको रूपमा हेरिन्छ ।

उहाँले यस निर्णयले अमेरिकी जनताले पहिले नै आफ्नो मुटुमा विश्वास गरेको सबैप्रति समान व्यवहार गरिने छ र आफूहरू बढी स्वतन्त्र भएका छौँ भन्ने धारणालाई पुष्टि गरेको बताए । सर्वोच्च अदालतको निर्णयले अमेरिकालाई विश्वमा समलिङ्गी विवाहलाई कानुनी रूप दिने २१ मुलुक वा क्षेत्र बनाएको छ ।

यस निर्णयपछि सर्वोच्च अदालतको बाहिरी भागमा समलिङ्गी विवाहका वकिलहरूले अमेरिकी राष्ट्रिय गान गाएका थिए । उक्त भीडमा यस मुद्दाका प्रमुख निवेदक जिम ओबरगेफेल पनि थिए । उनले राष्ट्रपति ओबामालाई टेलिफोनमा उनी अमेरिकी जनताका लागि ठूलो उदाहरण मात्र नभई मुलुकका लागि ठूलो परिवर्तन ल्याउने व्यक्ति पनि हुनुभएको बताए । यस निर्णयलाई मुलुकभर प्रशंसा गरिएको छ ।

- See more at: http://www.ratopati.com/2015/06/27/243578.html#sthash.LkB4w9Kf.lzYnThBx.dpuf


अराजकतावदी ईतिहासकार रोनाल्ड क्रेग्हले हिप्पी आन्दोलनलाई अदर्शवादी समाजवाद (Utopian socialism) भनेकाछन् । क्रेग्हका अनुसार राजनीतिबाट होइन कि सामाजिक आन्दोलन मार्फत समाजवादी एजेण्डाहरू स्थापित गरेर सरकारहरूलाई ती एजेण्डाहरू स्वीकार गर्न बाध्य पार्ने जसले गर्दा आदर्श समाज वा उदरातावादमा आधारित समाज-समुदायहरू स्थापित हुनेछन्भन्ने हिप्पीहरूको नयाँ (राजनैतिक) रणनिती रहेको थियो भनेकाछन् ।

हिप्पीहरूले गरेका राजनैतिक हस्तक्षेपका रुपमा उनीहरूले बेलायतमा विकास गरेको शान्ति चिन्ह (Peace symbol) लाई लिने गरिन्छ जुन न्यूक्लियर अस्त्रबाट निसस्त्रीकरण गर्ने अभियानको प्रतिक चिन्हका रुपमा र युद्द विरोधीआन्दोलनको लोगोको रुपमा स्थापित भयो । आफैले राजनीति नगरे पनि हिप्पीहरू अनेकौँ राजनैतिक आन्दोलनमा समेत सामेल भए । जस्तैः नागरिक अधिकार स्थापनार्थ सन्चालित वाशिंटन डिसीको जनप्रदर्शन; भियतनाम युद्ध विरोधी जनप्रदर्शन; draft-card burnings and the 1968 Democratic National Convention protests. आदिमा सहभागीता । त्यतिखेर हिप्पीहरूले भियतनाम युद्ध विरोधी प्रदर्शनमा भाग लिनुका साथै अमेरिकी सरकाले भियतनाम युद्धमा भागलिन जानै पर्नेभन्ने नीतिलाई बहिस्कार गरेर अमेरिकन सरकारी हुकुमको विरुद्ध नयाँ तरंग सृजना गरेकाथिए । जसलाई उनीहरूले युवहरूले भरिएका हरेक कलेज र क्याम्पसहरूमा "teach-ins” अभियान अन्तर्गत भियतनामको ईतिहास र अवस्थाका साथै अमेरिकाले अन्यायपूर्वक लादेको युद्ध बिरुद्ध भित्ते लेखन-रंगाउँने काम गरे ।

हिप्पीहरूले शहरहरूबाट गाउँतिर जाने (back to the land movement) आन्दोलनको समर्थन गरे; १९६० तिर cooperative business enterprises, alternative energy, free press  तथा organic farming. आन्दोलनमा सहभागी समेत भए । जुन आन्दोलनहरू रुपमा अहिंसावदीतर सारमा 'प्रभुत्ववाद बिरोधी'थिए ।  उनले कहिलेपनि आफ्नो विचार अरुलाई लाद्ने काम गरेनन् बरू आफ्नो जीवन शैली र कार्यबाट सन्सारलाई बदल्ने काम गरेर देखा 

हिप्पीहरूकै आन्दोलनले स्थापित गरेका केही महत्वपूर्ण प्रचलनहरू १) केटा साथी केटी साथी बनाउँने र घुम्ने; २) केटा साथी र केटी साथी बिहे नगरिकनै लिभिङ टुगेदरमा बस्ने र सो कार्यप्रति बा-आमाको स्वीकृती; ३) यौन संबन्ध र संभोगका बारेमा खुला छलफल गर्ने; ४) समलिंगी सम्बन्धलाई सामाजिक र राज्य स्तरमा मान्यता दिने; ५) साँस्कृतिक विविधताप्रति आदर; ६) स्वस्थ्य बर्धक खाना (Organic and herbal) खाने; ७) सहकारीमा काम गर्ने, आदि हुन् । जुन अहिले सन्सारमा सर्वस्वीकार्य भएकाछन् ।



No comments:

Post a Comment