Tuesday, May 3, 2016

शान्तिपूर्ण किसिमले कसरी प्राण त्याग्ने? (https://www.youtube.com/watch?v=WonC2e5aOGE)

(https://www.youtube.com/watch?v=WonC2e5aOGE)

भन्ने बारे  Jeanine Staples लाई यूट्यूबमा सुने । जस अनुसारः

 

१)       सबैजना मर्छन् तर बहादुरहरू ‘म आनन्दसाथ मरौँ’ भनेर आफ्नो मृत्यूका निम्ती मानसिक तैयारी गरेर  मृत्यूलाई हाँसी हाँसी सामना गर्ने उपायहरू अपनाएर मर्छन् ।

२)       कोही ‘हे दैव म नमरौँ’ भनेर तडपिँदै तडपिँदै मर्छन् । यसरी तडपे पनि मृत्यूले त छोडदैन त !

 

अर्थात, तैयारी गरेर मृत्युलाई पनि पछि पछि हिनाउँनेहरु आनन्द साथ मर्छन् भने ‘नमरौँ’ ‘नमरौँ’ भनेर मृत्युबाट भाग्न, जुझ्न खोज्नेहरू भयानक किसिमले (अशान्त किसिमले) तडपिँदै मर्छन् । ‘आनन्दसाथ मर्न सकौँ’ भन्ने चाहना गर्नेहरूका लागि निम्न कुरा काम लाग्न सक्छन्

 

मरण वा मृत्यू ४ किसिमका हुन्छन् –

क)     दिन दिनैको मृत्यू (Everyday death) – यो सबैभन्दा धेरै मरिने मृत्यू हो । कसैले अनपेक्षित किसिमले पटक्कै मन नपरेको नकारात्मक कुरा प्वाक्क भनिदियो भने दिक्क लाग्छ । यो ‘दिक्क लाग्नु’ पनि सुक्ष्म किसिमले मर्नु नै हो । कुनै मानिसले ‘भेट्न आउँछु’ भनेर पर्खिरहँदा उ आईदिएन भने पनि दिक्क लाग्छ । यो पनि सुक्ष्म किसिमको मर्नु हो । कुनै नोकरीको लागी अन्तरवार्ता दिईसकेपछि ‘तपाई यसपटक असफल हुनु भो’ भन्ने रिजेक्शन पत्र आउँदा पनि भित्रैबाट मन खुत्रुक्कै मर्छ । यो पनि अलिकति मर्नु हो । अर्थात अब ‘नकारात्मक कुरा गर्ने’ प्रति, ‘भेट्ने वचन दिएर नाआउँने’ प्रति वा ‘रिजेक्शन पत्र दिने कार्यालय’ प्रति हामी ‘मेरो मन मर्‍यो’ भन्ने गर्छौँ पनि । 

 

 

ख)     कुनै पनि दिनको मृत्यू (Someday death) – यो मरण आफ्ना पृयहरुसँगको संबन्धसँग संबन्धित छ । हामी ‘आज मेरो काकाले गरेको त्यो तुच्छ कुरा सुनेर म त मरेजस्तै भएँ’ भनेर बोलिचालिमा भन्छौँ पनि । केही अन्य उदाहरण ‍- आफ्नो सबैभन्दा ‘बेष्ट फ्रेण्ड’ले धोखा दियो, छोराछोरीले आमाबुलाई धोखा दिए, प्रेमीले प्रेमीकालाई वा प्रेमीकाले प्रेमीलाई धोका दियोभने भित्रैबाट ‘खुत्रकै मरिन्छ ।‘ यो पनि मर्नु हो ।

 

 

ग)      अचानक मरण (Any day death) – यो किसिमको मृत्यू पारिवारिक लगायतका ठूला दुर्घटनाहरुसँग सम्बन्धित छ । जस्तैः आफ्नो सबैभन्दा माया गर्ने आमाको वा प्रेमीकाको वा प्रेमीको वा असाध्यै माया गर्ने श्रीमानको वा आफ्नो मुटुको टुक्रा जस्तो सन्तानको कुनै दुर्घटनामा मृत्यू भएपछि चितामा दागबत्ती दिएर जलिरहेको देख्नु पर्दा छाती भित्र धेरै ठूलो मनको महल वा पर्खाल भत्कन्छ, ढल्छ । यो मानसिक रुपको भत्काई वा ढलाई पनि मर्नु हो । आमा मरेर टुहुरा भएको दिन मरेतुल्य अनुभुत गरिन्छ । कुनै मन्त्रीले भ्रष्टाचार गरेको कुरा कुनै विदेशीले हामीलाई सुनाउँदा स्वाभिमान ढलेर लाजले ‘म त मरेँ’ भन्ने गर्छौँ पनि ।

 

 

घ)      अवश्य मरण (One day death) – यो मरण हाम्रो शरिरबाट आत्मा वा प्राण वा जिउँदोपना निस्केर जानु हो । यो मरणपछि शरिरले अब सास फेर्न छोड्छ, मुटुको धडकन बन्द हुन्छ, नाडी चल्दैन, अंगहरू चिसा हुन्छन् । कानले सुन्दैन । आँखाले हेर्दैन । मुखले टोक्दैन । हातले ईसारा गर्दैन । खुट्टाले पाइला चाल्दैन । मानिसहरू छुन पनि घिन मान्न थाल्छन् र छिटोछिटो आर्यघाट लैजाने काम सुरु हुन्छ । यो किसिमको मरण, रोग(हरु)ले बेस्सरी ग्रस्त बनाएर शरिरले ती रोगसँग जुझ्न नसक्ने भएपछि वा धेरै उमेर पुगेर आत्मामा हाड, मासु, नसाहरु टाँस्सिएर बस्न नसक्ने अवस्था (जस्तोः सिमेन्टले ५० वर्ष पुगेपछि बालुवा र गिट्टीहरूलाई पक्रेर राख्ने क्षमता गुमाऊँछ र सिमेन्टको फर्खाल वा घर वा पूल वा रंगसालाको प्यारापीट ढल्छ) आएपछि आउँने जीवनको एउटा चरण हो ।

 

यी सबै मृत्यूहरूमा भयानक तथा डरलाग्दो किसिमले तर्साउँने भ्रामक भावनाहरू मनमा सृजना हुन्छन् । शान्तिपूर्ण किसिमले मर्नु भनेको तिनै “भयानक किसिमले तर्साउँने भ्रामक भावना”हरूको व्यवस्थापन गर्न जान्नु हो । यो मानसिक शीपको विकास गरेर शान्तिपूर्ण किसिमले मृत्यू वरण गर्न सकिन्छ । जस्तैः

 

जब मृत्यूले भयानक भूत (Monster) को रुप लिन्छ र मुटु नै हल्लाउँने किसिमको (नबोली) डरलाग्दो रुप देखाउँछ । त्यसबेला, हाम्रो शारिर र मानमा प्रतिकृयाहरू हुन थाल्छन् । जस्तैः १) टाउको बेस्सरी दुःख्न थाल्छ, दाँतहरू कटकटी बज्न थाल्छन्, मुटुको ढडकन बेस्सरी बढछ; २) भूतसँग डराएर भाग्न खोजिन्छ, रक्सी खाएर डर मार्न खोजिन्छ, ठूलो प्लेटमा खाना भरेर सँधैकोभन्दा धेरै गुना खान थालिन्छ, कसैसँग यौन संबन्ध राख्न व्यस्त भएर भूतलाई एकछिन भुल्न खोजिन्छ, जुन साथीसँग बोल्दा डर कम हुन्छ जस्तो लाग्छ उसलाई फोन गर्ने वा एसएमएस गर्न थालिन्छ । तर यो कायदाले केही फायदा हुन्न । यसबेला बरु निम्नानुसार गर्ने -

 

चुपचाप सान्त बस्ने, नआत्तिने, नभाग्ने, लामो र गहिरो सास फेर्ने प्रयास गर्ने र शरिरमा जे जस्तो उथलपुथल भईरहेकोछ त्यसलाई आफ्नो उर्जा-शक्ती ठान्ने र त्यो भूत भएर सामुन्ने आएकोलाई हेर्ने ।  उसका आँखाहरूलाई ‘केबल प्वाल त हुन नि!’ भनि ठान्ने । उसको मुखलाई ‘अलि ठूलो प्वाल हो’ भन्ने । उसका दाँतहरुलाई ‘लट्ठीहरू रोपेर सजाएको रहेछ’ भनि ठान्ने । यो ‘केटाकेटीहरूको रमाईलोको निम्ती रमाईलो बजारमा टाँगेको एउटा निर्जिव अनुहार रहेछ’ भनेर ठान्ने । ‘मलाई त यस्ता खेलौनासँग सानैदेखि डर लाग्दैनथ्यो’ भनेर मनमनै भन्ने । ‘यो त एउटा नयाँ किसिमको कलात्मक अभिव्यक्ती रहेछ र यसको आफ्नै सौन्दर्य हुँदो रहेछ’ भनि हेर्दै मनमनै सोच्ने । मन मनै भूतलाई तुच्छ मानेर, हेपेर, जिस्क्याएर हेर्ने तर पटक्कै नभाग्ने । यसरी मनले हेपेपछि भूतले थर्काउँन सक्दैन । जस्तो कि कुनै सर्प खेलाउँने सपेराका छोराछोरीहरुले बाल्यकाल देखिनै सर्पलाई डरै नमानी च्याप्प च्याप्प समत्छन् । सपेरा बिरामी परेर अशक्त भएर ओछ्यानमा सुतेको बेला पनि नजिकै सर्प आए डराउँदैन । डराउँने ‘डरपोक’लाई पो जसले पनि हेप्छन् त डराउँदै नडराउँनेलाई कसले हेप्ने?

 

तेस्तै, मृत्यूले भयानक ठूलो मानव शरिरको रुप लिन सक्छ । बुझ्ने भाषामा बोल्दै हेप्न, हकार्न, थर्काउँन थाल्छ । ठूलो स्वरमा कराउँदै – ‘तँ मूर्ख होस् ! नालायक होस् ! बेकुफ होस्! काम न काजको होस्!’ आदि भनेर ‘तुच्छ’ बनाउँन खोज्छ । यस्तो बेलामा आफुलाई रिस उठ्न सक्छ र त्यसको घाँटीमा समातेर पछार्न मन लाग्न सक्छ । लात्तै लात्तिले हान्न मन लाग्न सक्छ । मुक्कै मुक्का हानेर बंगारा झार्न मन लाग्न सक्छ । यो मूर्ख ताल हो । मुर्खले केही कसैलाई जित्न सक्दैन बरु वुदधी भएको केटाकेटिले पनि मुर्खलाई सजिलै जित्न सक्छ । तेसैले मुर्ख कायदा छोडेर बरु निम्नानुसार गर्ने -

 

वार्तालाप गर्दै मृत्यूलाई ‘तिमीले जुन कुरा भनयौ, यो कुरा तिम्रो आमालाई कि बाको निम्ती भनेको हो? ओहो, तिम्रा बा-आमा कति असल थिए ! मलाई उनको सारै याद आईरहन्छ! मैले सुन्ने गरी यहाँ तिमी बोलेकोमा धन्यवाद ! यसको निम्ती मैले कसरी आभार प्रकट गरौँ!? अब तिमीलाई एक्लै छोड्न सक्दिन । आउ बरु मसँग आउ र एकछिन आराम गर’ भनेजस्ता विनम्र भावका कुरा गर्ने । धाक नदिने । रवाफ नदेखाउँने । भिड्न-जुझ्न नखोज्ने । त्यसो गरे मृत्यू पीडादायी बन्न पुग्छ । बरू निशर्त मायाजालले मृत्यूलाई झुकाएर मर्ने प्रकृयामा पीडालाई प्रवेशै हुन नदिने ।  

 

तेस्तै, मृत्यू अनौठो किसिमले झुक्याउँने रुपमा हाजिर भएर फुस्फुसाउँदै हाम्रो कमीकमजोरीहरूका बारेमा टिप्पणी गर्न थाल्न सक्छ । उसले भन्न थाल्छ कि ‘शायद तिमी यो सन्सारमा बाँच्न लायकको छैनौ ! शायद तिमी केही काम गरिखान सक्दैनौ ! शायद तिमीले सन्सारबाट बिदा लिनु पर्छ !’ मृत्यूका यस्ता कुरा सुनेर दिक्क लाग्न सक्छ । तर दिक्क नमान्ने । बरु भन्ने –

 

‘मैले तिम्रो कुरा सबै सुनेँ । अब मेरो कुरा सुन्न तत्पर भएकोमा धन्यवाद । मेरो कुरा सुन – म अब नयाँ किसमले काम गर्न थाल्दैछु । किनभने म यहाँको बोस् हुँ, नेता हुँ, मेरालागी म आफै मालिक हुँ, म कसैको अण्डरमा बस्ने होईन ! म तिमीलाई अब छोड्दिन । आउ, तिमी पनि बरु मेरो पछि लाग । म जता जता जान्छु मेरै पछि पछि आउ !’ यसो भनेर मृत्यूलाई कमजोर प्राणीको रुपमा हेर्न थालेपछि आफु बलियो भईन्छ । आफ्नो विश्वास र मनोवल दरो हुन्छ ।

 

यसो गर्दा हमी सहासका साथ, निसर्त मायाले जितेर, आफ्नै मर्जी अनुसार आफ्नो बाटोमा मृत्यूलाई पनि पछि लगाएर बिना डर, त्रास र बिना पीडा मृत्यू वरण गर्न अघि बढिन्छ ।  शन्त मरण मरिन्छ ।

 

माथि उल्लेखित किसिमले आफ्नो मनलाई पटकपटक यसै गर्ने सन्देश दिएर तपाइँ पनि आफ्नै मर्जी अनुसार शान्त मरण मर्ने चरणमा मानसिक रुपमा पुगेपछि, आफ्नो कुनै साथीहरूसँग भेट्दा – ‘हेलो के गर्दै हुनुहुन्छ?’ भन्नुको सट्टा हाँसीखुसी – ‘हेलो कसरी शान्तिपूर्ण तरिकाले मर्ने योजना छ?’ भनेर सोध्न सकिन्छ । तपाइँ र तपाइँको साथीको शान्तिपूर्ण मरण होस् भन्ने कामना सहित, आजलाई बाई ! बाई !!

 

अनुः विक्रम सुब्बा                              

------     ------------

Ref.

 


https://www.youtube.com/watch?v=WonC2e5aOGE

No comments:

Post a Comment