Tuesday, May 3, 2016

स्वस्थानी व्रतकथा-सारः कुन ग्राह्य कुन असान्दर्भिक? (विक्रम सुब्बा)


“स्वस्थानी-व्रत कथा” नेपालका अनेक स्थानहरूमा समेत घटित घटना भनि उल्लेख गर्ने ग्रन्थहरूमध्ये एक होला । यसमा जति नेपालका अनेक स्थानहरू उल्लेख भएको प्राचिन ग्रन्थ शायद छैनन् । यस प्राचीन ग्रन्थबाट अहिलेको वर्तमान अवस्था सुहाउँदो कुरा अपेक्षा गर्न मिल्दैन जसरी अहिलेको संविधानले २५-५० वर्षपछिको समाजको आवश्यकता र सवालहरूलाई संवोधन गर्न सक्दैन । तथापि, यसको सार निम्न अनुसार रहेछन् । केही अझै जीवनपयोगी नैतिकताका कुरा होलान् । केही पुरानो जमानामा मात्र व्यवहारिक थिए होलान् ।

१)       विनम्रताले जस्तोसुकै मानिसलाई पनि जित्न सकिन्छ । मानव सभ्यतामा जहिले पनि आक्रामकहरूले दुःख दिएको तर जीत जहिले पनि विनम्रताकै हुने गरेको कुरा हिजो पनि सत्य थियो र आज पनि यो सत्य छ ।

२)       गुरु र आदरणीय व्यक्तीहरूको सम्मान गर्नु पर्दछ । अहिले गुरूको परिभाषा (१) ‘गुरू’ भनेको सबै जान्ने, चेलाको गिदी खाली वा रित्तो हुन्छ त्यसलाई गुरुले भरिदिन्छ भन्ने धारणाबाट २) ‘शिक्षक’ जसले केटाकेटी विद्यार्थीलाई उनको उमेर र मनोविज्ञान अनुसार पाठ्यपुस्तकहरूका आधारमा पढाउँछ; ३) ‘प्रशिक्षक’ जसले प्राविधीक तालिम दिन्छ; भन्ने धारणा हुँदै अहिले – ४) ‘सहजकर्ता’ अर्थात सिक्ने काम सहभागीको हो । सहभागीले सिक्ने चाहे सिक्छ नत्र “सिकाउँन” सकिन्न । तेसैले सिक्ने वातावरण तैयार गर्ने र सूचना र ज्ञानगुनका कुराहरूमा पहुँच बढाईदिने वा उपलब्ध गराउँने हो र अड्को परे सघाउँने मात्र हो । “सिकाउँने होईन” भन्ने नयाँ धारणा आएको छ । तर, ‘गुरु’ वा ‘सहजकर्ता’ जो भएपनि उसले सिक्ने काम र प्रकृयामा सहयोग गरेकोमा सम्मान गर्नु पर्छ । तेस्तै, समाजका कुनै पनि आदरणीय (आसल काम गर्ने) व्यक्तीहरूलाई पनि आदर गर्नु पर्छ भन्ने कुरा हिजो पनि ठीक थियो अहिले पनि ठीक छ । अझ कुनै पनि मानिसलाई “आदर” गर्नु पर्छ, उसको कुनै १-२ विचारमा असहमत हुनु स्वाभाबिक होला तर “व्यक्ती”लाई आदर गर्न सकिन्छ ।

  
३)       कसैको डाहा नगर्नु, ईर्ष्या नगर्नु । यसो गरे सबै कुलकुटुम्ब, नाता-गोता, इष्टमित्र र छरछिमेकमा हार्दिकता रहन्छ भन्ने कुरा यो कथाबाट बुझिन्छ । डाहा र ईर्ष्या मानव संबन्धहरूका निम्ती विषालु कुरा हुन् । यिनले जहिले पनि द्वन्द सृजना गर्ने, अशान्ती फैलाउँने काममा सघाउ पुर्‍याउँछन् । यो कुरा करीब सबै धर्महरूले पनि भन्छन् ।

४)       रिस-क्रोध नगर्नु किनभने रिस-क्रोधको बेला गरिएको छलफल वा निर्णय कहिल्यै राम्रो हुन्न । जुन मानिसमा रिस हुन्न उसलाई सबैले मनपराउँछन् । उसलाई सबैले सहयोग गर्न तत्पर हुन्छन् जसले गर्दा उ आफ्नो काममा सफल हुन्छ ।

५)       श्रीमानको प्रिय वस्तुहरूमा श्रीमतीले ख्याल गर्नु । अर्थात, श्रीमान स्वीकार गर्नु अघि सोच्नु तर स्वीकार गरिसकेपछि श्रीमानको रुचीहरूलाई सम्मान गरिदिनु । यसको मतलब आफ्नो रुची सबै बिर्सनु भन्ने कुरा होईन । बरु, श्रीमानको रुचीको सम्मान गरे श्रीमानले पनि पत्नीको रुचीप्रति सम्मान गर्ने वातावरण बन्छ र श्रीमानले माया गरिरहने अवस्था आउँछ । मनोवैज्ञानिक किसिमले हेर्ने हो भने पनि पुरुषहरूलाई ‘सम्मान’ नभई हुन्न भने ‘नारी’हरूलाई माया नभइ हुन्न । सम्मान र मायाको सन्तुलनले श्रीमान-श्रीमतीको घरबार राम्रोसँग चल्न सके यही हो त चाहिएको ?

६)       आफ्नो मालिकको हित गर्नु । अर्थात, जसको निम्ती काम गरिन्छ उसको अहित कहिले नगर्नु । आज एउटा अहित गर्ने सोचेर “एउटाको त हो” भन्ने नठान्नु । किनभने अरुको अहित सोच्ने बानी बसेपछि मनमा सँधै अरुको अहित सोच्ने वीउ रोपिन्छ र जहाँ काम गर्न थालेपनि उक्त कार्यालय वा सँस्थानको अहित सोच्ने काम गरिन्छ । यो कुरा धेरैदिन लुक्दैन । कुनै न कुनै रुपमा त्यो प्रकट हुन्छ र अरुले थाहा पाईहाल्छन् र त्यसको परिणाम स्वरुप आफ्नो जागिर गुम्छ । नयाँ काम त पाइएला तर त्यही अरुको अहित सोच्ने बानीले नयाँ कार्यालयमा पनि मार खाइन्छ । 

७)       लुगा, गहना, सृंगार आदिमा बढता उत्ताउलो नहुनु । जसको सृंगार उत्ताउलो हुन्न त्यस्ताको सम्मान हुन्छ । मानिसको सबैभन्दा सुन्दर गहना उसको वुद्दि र विवेक हो । कुनै पनि महँगा गहना र वस्त्र पहिरेको तर राम्रो दिमाग नभएको मानिसलाई, गहनाकै भरमा, कसैले पत्याउँदैनन् । कथा र ईतिहासमा सँधै राजाहरुले महँगा गहना र वस्त्र पहिरेर बसेको देखाईन्छ तर गुरु जहिले पनि साधारण वस्त्रमा हुन्छ । किन? किनभने राजा भनेको घमण्ड, रिस, राग भएको मानिस हो तेसैले उसको कमजोरी छोप्न उसलाई अनेक महँगा गहना र चम्किला वस्त्र चाहिन्छ तर गुरुको ज्ञान नै सबैभन्दा अमुल्य गहना हो । कथा र ईतिहासमा गुरु र राजाका भूमिका राम्रोसँग हेर्ने हो भने दुश्मनलाई युद्धमा जित्न के कसरी तैयारी गर्ने? कसरी दुस्मनलाई घेर्ने र जित्ने? सम्मका कुरा पनि गुरुहरूले निर्देश गरिरहेका हुन्छन् ।   

८)       मीठो र मधुर बोली पनि मानिसको एउटा ठूलो पुँजी हो । मिजासिलो बोली वचन भएको मानिसलाई जसले पनि मनपराउँछन् र उसलाई जहिले पनि धेरैले सुखदुःखमा साथ दिन्छन् । सबै मानिससँग राम्रो बोल्न सकिन्न होला तर ‘मन परेको छैन भने’ चुप लागेर बस्न पनि त सकिन्छ । छुच्चो नबोलेर चुपचाप बस्ने र रिस उठेकोछ भने केही बेर भित्रै दबाएर राख्ने र अर्को कोठामा गएर रिस पोख्ने ।

९)       जब मानिस कमाउँन सक्ने अवस्था आउँछ अनि मैले क-कसको पालन-पोषण गर्न सकेँ र सकिरहेछु? भनेर सँधै ध्यान-समिक्षा गर्ने र सुधार गर्दै जाने गर्नु पर्दछ । आफ्नो मात्र नहेरेर, जस-जसलाई मैले भरण-पोषण गर्नु पर्ने हो सो जनको भरण-पोषण मबाट भएको छ छैन? भनि ख्याल गर्नु पर्छ । आफुले भरण-पोषण गरेकाहरूको व्यवहार के कस्तो भइरहेछ? सो को सँधै यथार्थ ज्ञान राख्नु पर्छ । जसको भरण-पोषण गर्नु पर्ने हो तिनको भरण-पोषण ठीक ढंगले भईरहेको छ छैन? भन्ने कुराको पत्तो गर्नु र उचित भरण-पोषणको प्रबन्ध गर्नु पर्छ । किनभने हरेक कमाउदार (Productive) व्यक्ती ‘पालित’ (अरुमा निर्भर) बाट ‘पालक’ (अरुलाई पाल्न सक्ने) भइसकेको हुन्छ । आफुले कमाएको भन्ने कुरा पनि यही सन्सारको बस्तु केही क्षणको निम्ती आफ्नो अधिनमा आएको मात्र त हो । सन्सारको कुनै पनि बस्तु भनेको यही सन्सारमा मानिसको खपतको निम्ती नै हो । ‘यो मेरो मात्र हो’ भनेर कुनै बस्तु या पुँजी अँठ्याएर कतिदिन राख्ने? राख्न खोजे पनि राख्न सकिन्न । सबैको रहन-सहन र खान-पान कस्तो छ? सो को राम्रो हेर विचार गर्ने गर्नु पर्छ । आफ्ना र सौताका छोरा-छोरीमा समेत समान व्यवहार गर्नु पर्छ । सृष्टिका सबै जीव वा प्राणीमा उचित आदर भाव राख्नु पर्छ । आमोद-प्रमोद र मनोरन्जनको विषयमा पूर्ण ज्ञान र दक्षता हासिल गर्नु र आमोद-प्रमोद गर्नु पर्छ । सहनशील हुनु पर्छ । अनुशासनमा बस्नु र अरुलाई पनि अनुशासनमा राख्नु पर्छ । अध्ययनमा लागिरहनु पर्छ । क्रोधलाई पापको कारण जानेर त्यागिदिनु पर्छ ।  


No comments:

Post a Comment