बधाई कर्यक्रम
नेपालीकविता डट कमका
सदस्यहरू मध्ये एकजना एक सदश्य दिपकराज पाण्डे थिए । उनले 'जिन्दगीमा गर्नु पर्ने
सबैभन्दा महत्वपूर्ण निर्णय' गरेछन् - विहे गरेछन् । भनेजस्तोगरी
केही चाँजोपाँजो मिलाउँन सक्षम लमी कोही नभएकोले बेउलीलाई भगाएर वर्षामा रुझ्दै
भिज्दै धादिङको घरमा 'फास्टफुड' शैलीमा ब्राह्मणलाई भटटटटट
मन्त्रोच्चारण गराएर लगनगाँठो बाँध्नु परेछ । आँटिलो छातीमाथिको गर्धनमा वरमाला
पहिरेका बेहुला र निख्खुर सङ्लो सिउँदोमा रगत-रङ्गे सिन्दुर हाले पछि आधा-अंग भएकी
वेउली लिएर 'बाटोमा कतै विद्युतीय धरापमा परियोभने पनि संगै मरौँला नत्र रैथाने
किसिमको हनिमुन पोखरामा मनाएर फर्कौँला र जिन्दगीभर सँगै बाँचौँला' भन्दै पोखरा
पुगेछन् । पोखराबाट सकुशल काठमाण्डू फर्केछन् । ज्वाइँ कत्तिको आँटिलो छ ? भनेर गरेको
जाँचमा दिपक पास भएछन् । त्यसपछि मात्र थाहा भयो – एकजोर चखेवा-चखेवीका
कुरा । 'यस्तोपनि हुँदो रैछ, जिन्दगीमा कैले-कैले' – सबैभन्दा महत्वपूर्ण
कुरा पहिले घटित हुँने अनि समाजलाई पछि थाहा हुँने ।
नेपालीकविता डट कम
परिवारका सदस्यहरू मेरो घरमा जेष्ठ १७, २०६२ का दिन दिउँसो भेला हुने निँधो भयो । उदेश्य
- बेउलाबेउलीलाई बधाई दिने । सामुदायिक रेडियो बचाउ आन्दोलनमा व्यस्त भएकोले रघु
मैनाली भाइ
आउँन
सकेनन् । भन्न त - 'पक्रेर पुलिसले लगेनन् भने म जसरी पनि कुदेर आइपुग्छु दाइ, तर मलाई पर्खेर कार्यक्रम
नरोक्नु ।'
रामदेव स्वामीले सिकाएको 'नङ-घोटा-टेक्निक' लाएर हो
कि ? मञ्जुल आइपुग्दा उनको तालु माथि अलिअलि थप केशहरू ठाडै उभिए जस्तो देखियो । मणी
लोहनी र बालकृष्ण नेउपानेको अनुहारमा भने 'आफ्नो बिहे गर्दा कामलाग्ने कुरा
दिपकसँग सोध्ने चाहना' राखेको झल्कन्थ्यो । डा. जंगव चौहान सबैभन्दा अबेला एक बोतल ह्वीस्की बोकेर आफ्नै भाइको
बिहेमा दंग परेको एक दाइझैँ आइपुग्नु अघि नै बेउलाबेउली आइसकेका थिए । श्यामल
घरभित्र पस्ने बित्तिक्कै 'म त तलै बस्छु' भनेर सोफामा आफ्ना दुइ कुइना टेकाएर 'लयब्रम्ह'
साइजका एक-हल-गोडा लम्पसार फैलाएर ढुक्कसाथ भुइँमै बसेको देख्दा, लाग्थ्यो – एक दाइ, भाइको 'घरजम'
भएकोमा टेन्सन मुक्त छ । मेरी श्रीमती हरि, अमेरिकाबाट जेठो छोरोले फोन गर्दा सँधै
'तिमीहरू कहिले नेपाल आउँछौ हँ ? यहाँ हामी र हाम्रो समाज जिउँदै छ, तिमीहरूको
यहाँ पनि बिहे-कर्म गर्नु पर्छ । समाजमा तिमीहरूलाई चिनाउँनु पर्छ' भनिरहन्छिन्,
विहानैदेखि रमाइलो मान्दै पकाउँने-तुल्याउँने सकेर खानेकुराहरू दिँदै थिइन् । म अलि
अलि छाती दुखे पनि कुरा गर्दै रक्सी बाँडिरहेको थिएँ । दु:खम्-सुखम् खान-पिन सकियो
। अचम्म - आज कवि श्याललाई लागेन । 'के भयो यस्तो अचम्म कविजी, आज त लागेन नि ?' भनेर सोधेँ । रहस्य थाहा भयो – '११ बजे मात्र टन्न
खाना खएको पेट खालि नै थिएन, अनि १ बजे हाल्दा कहाँबाट लागोस् त नी ?'
अन्त्यमा हामीले दुलाहादुलहीलाई सबैले सहीछाप गरेको एउटा शुभकामना
कार्ड र सानो उपहार दियौँ । बधाईका शाब्दिक अक्षेताले पर्सियौँ । त्यस पछि सबै
बाटो लाग्न भनि ताहुर माहुर गर्न थाले । जाने बेलामा दिपकले गोजीबाट एउटा कागज
निकालेर दिए । त्यो थियो – कवि तथा गजलकार बूँद रानाको अन्तर्वार्ता, जुन
रेडियो सगरमाथाको कार्यक्रम 'संगीत सरोवर'को आर्काईभबाट उतार गरेर नेपालीकविता डट कमको पत्रिका "तरङ्ग त्रैमासिक"का लागी
तैयार भएको थियो । हाम्रो कार्यक्रम सकियो र सबैजनाले मेरो आँगन नाँघेर केही जोर
मातेका र केही जोर नमातेका खुट्टाले सार्वजानिक ग्राभेल रोड टेके । मोती (जापानिज नस्लको हाम्रो सानो सेतो कुकुर जस्ले
जो कोही आए/गए पनि भुकेर सूचना दिन्थ्यो, हाल: स्वर्गे भइसकेको छ) ले सबैलाई भुकेर
विदाई ग-यो ।
'हियो डढ्नु'को पीडाज र 'ब्लकेज' उस्तै
छातीमा अलिअलि जलन् भइरहेको थियो । मैले खाएको मासुमा
बोसो धेरै परेछ क्यारे ! 'हियो' डढ्यो भन्ठानेँ र मैले दुई ग्लास चिसो पानी पिएँ ।
अलि निमन भयो । कम्प्युटरको चेप्टो अनुहारमा बूँद रानाको अन्तर्वार्ता लिप-पोत
गर्न थालेँ । अचानक फोनको घण्टी बज्यो । एकाग्र भएर टाइप गरिरहेको म झसंग तर्सेँ ।
उताबाट कवि श्यामलको आवाज आयो – 'कविजी म घर पुगेँ है । ल, आज राम्रो भो । दीपक भाइलाई नेपालीकविता डट कमको तर्फबाट बिहेको उपलक्ष्यमा आत्मीय बधाई दिने काम
सम्पन्न भयो । नयाँ र आत्मिय परम्परा पनि बस्यो । अब मणी र बालकृष्ण भाइहरूको
बिहेमा पनि यस्तै केही गर्नु पर्छ ।' टलिफोन राखेपछि मैले जंगबलाई सम्झेँ । आज गजपैले
पिएर निस्केको साथी - सकुसल घर पुगे/नपुगेको बुझ्न फोन गरेँ । उताबाट आवाज
आयो – 'हेलो बिक्रमजी हो ? आज त म मातेँ यार ! दीपक भाइको बिहे भएको
उपलक्ष्यमा खुशीले मज्जाले पिएँ यार ! खुशीमा पिउँदा अर्कै मजा आउँदो रहेछ यार !'
घर पुगेको निधो भयो । ढुक्क भयो । फोन राखेँ ।
त्यसपछि म फेरि टाइप गर्न बसेँ । टाइप गरिसकेर
जुरुक्क उठ्दा भननन्न रिँगटा लाग्यो, छाती पोल्यो, सास फेर्न गाह्रो भयो । आँखा
अगाडी ड्याम्म अन्धकार ढाकियो । म झन्नै ढलेँ । मुस्किलले सम्हालिएर कुर्सीमा बसेँ
। श्रीमतीलाई सकि-नसकी बोलाएँ । उनले सोधिन् – 'तपाइँलाई सास फेर्न
पनि अप्ठ्यारो भएको छ ?' मैले भनेँ – 'हो' । उनले भनिन् – 'ल, अब लुगा लागाई
हाल्नोस् । म पनि लुगा लगाउँछु । छाती दुखेकोछ, सास फेर्न अप्ठ्यारो भएको छ र
अनुहारमा चिटचिट पसिना आएको छ भनेको मुटुसँग सम्बन्धित समस्या हो । यस्तोमा ढिलो गर्ने
कामै छैन । नर्विकको ईमर्जेन्सीमा जाने र डा. रावतसँग जँचाउँने ।'
श्रीमतीको यो निर्णय बिल्कुल ठीक हो जस्तो लाग्यो ।
तर मनमस्तिस्क र शरीरका नसानसामा जताततै केही उथुलपुथुल कुदिरहेको थियो । तसर्थ
भनेँ – 'ठीक छ, जाउँ तर म एकछिन ध्यान गर्छु र मनलाई स्थीर
बनाउँछु है ।' श्रीमतीले लुगा लाइन् । नर्विकमा फोन गरेर खवर गरिन् । म कोठैमा
ध्यान गर्न बसेँ । करिव १० मिनेट पछि आँखा खोल्दा मनका उथलपुथल र शरीरभरि
दौडिरहेका नकरात्मक तरङ्गहरू साम्य भएको जस्तो लाग्यो । म बिस्तारै उठेँ, उभिएर
आफ्नो शसरिरिक उर्जाको परिक्षण गरेँ – ठीकै छु जस्तो लाग्यो ।
कोठैमा यता-उता दुई-चार पाइला हिँडेर डबल जाँच गरिसकेपछि ममा निहित उर्जाले - नर्विक
अस्पताल सम्म आफै गाडी हाँकेर जान सक्छु भन्ने आँट आयो । श्रीमतीले ट्याक्सी
ल्याउँन पठाउँन खोजेको पनि रोकेँ र आफै गाडीको चालक सीटमा बसेँ र हामी बाटो
लाग्यौँ । फोन गरेर सूचित गरिसकेको हुनाले पुग्ने बित्तिकै ड्युटी डक्टर र
नर्सहरूले आफ्नो प्रणालीगत पकृया सुरु गरे । अचानक १५ मिनेट पछि मलाई जाँच-पडतालका
अझ बढी सुबिधाहरू जडित ओछ्यानमा सर्न भनियो । एउटै कोठाको ओल्लो छेउको ओछ्यानबाट
पल्लो छेउ सम्म हिँडेर जाँदा फेरि भननन्न रिँगटा लागेर आयो । श्रीमतीलाई र ड्युटी
डक्टरलाई समातेर म मुस्कीलले अर्को ओछ्यानमा पुगेँ । त्यहीँ ढल्छु होला जस्तो
लागेर आयो । छातीको पीडा झन बढ्दै गयो । 'विरामीलाई यसरी ओल्लो/पल्लो ओछ्यानमा
सार्दा सार्दै बाटैमा मार्छन् क्यारे !' भन्ने सम्झेर मनमनमा रिस पनि उठ्यो । तीन
ढिलाई, अर्थात 'स्वास्थ्य सेवा लिनका निम्ति निर्णय लिनमा ढिलो,
यातायातको उचित व्यवस्था नभएकोले स्वास्थ्य केन्द्रमा विरामलाई पु-याउँन ढिलो, स्वस्थ्य
केन्द्रमा पुगेपछि चिकित्सकको सेवा पाउँनमा ढिलो जस्ले गर्दा थुप्रैको बचाउँन
सकिने ज्यान पनि मर्छ' भन्ने कुराको याद आयो । तर मनमस्तिस्क जतिसुकै सकृय भएपनि
पीडाले गर्दा बोल्योभने झन पीडा बढ्ला भनेर म चुप लागेँ तर 'यस्तोकुराको प्रतिकृया
दिनु चाहीँ पर्छ अनि त सुध्रिन चाहनेले पनि मौका पाउँछ' जस्तो लागी रह्यो । फेरि
मेरो रक्तचाप हेर्ने काम भयो । रक्तचाप ९०/६५ तिरै अडिएर रहेको देखियो । ड्युटी
डक्टरले डा. भरत रावतलाई फोनबाट जानकारी दिँदै अन्य गर्नु पर्ने निर्देशन लिईरहेको
फोन वार्ताबाटै मैले बुझेँ ।
हरेक घण्टा मेरो ईसिजी गर्ने
काम भइरहेको थियो । घोप्टो परेर झुण्डिएको बोतलबाट सलाईन मेरो हातको नसा हुँदै
शरीरमा पसेको पस्यै थियो । शरीरमा अक्सिजनको मात्रा नाप्ने यन्त्रले मेरो बुढी
औँला च्यापेर पटकपटक नर्सहरूले रेकर्ड टिपिरहेका थिए । मेरो छातीमा अनेक किसिमका
टाँसिएका गाँठा-गुँठीहरू तार हुँदै मुटुको चाल देखाउँने सानो मनिटरमा गाँसिएका थिए
। मनिटरमा किसिमकिसिमका रेखाहरू दौडिरहेका हुन्थे । ती थरीथरीका रेखाहरू कहिले
सर्लक्क सोझो दौडन्थे त कहिले नौ ठाउँ भाँचिएर सकि नसकी वृद्ध मानिसले मर्निङवाक
गरे जस्तो ओल्लो छेउबाट पल्लो छेउ पुग्थे । फेरि पनि रक्त चापको नाप भयो, फेरि
शरीरमा अक्सिजनको मात्रा नाप्ने काम भयो । के भएर हो कुन्नी, मेरो नाकमा अक्सिजनको
नली हालेर अक्सिजन पनि दिन थाले । दुख्न कम भएको छैन । दुख्ने कम गर्न केही औषधि
पनि सुई मार्फत शरिरमा हालियो । ईमर्जेन्सिमा अरु पनि विरामी आउँन थाले । त्यहाँ
उपलब्ध जनशक्ती अरुतिर पनि बाँडियो । श्रीमती मेरो हात समातेर बसेकी छिन् । अनुहार
मेरो छातीकोभन्दा पनि बेज्जोड पीडाले भरिएको तस्बिर जस्तो देखिन्थ्यो । अहो ! श्रीमान्
श्रीमतीको सम्बन्धलाई बूढा-पाकाले त्यसै 'अर्धाङ्ग' भनेका होइनन् रै'छ जस्तो
लाग्यो ।
जीवन कथाको अन्तिम
अनुच्छेदमा
मेरो छातीको पीडा घटेन । जिउ लल्याक-लुलुक्क भएको र
फुर्तिलोपन हराउँदै गएकोले 'पक्कै पनि मेरो रक्तचाप अति न्यूनतिर पुगेर स्थीर भएको
हुनु पर्छ' भनि एक मनले अनुमान लगाउँथेँ तर अर्को मनले 'यो मर्नुको पहिलो चरण शुरु
भएको हो कि?' भनि सशंकित पनि हुन्थेँ । भएभरको शक्ती जुटाएर छातीको पीडालाई सहेर मेरो
अनुहारमा पीडा नझल्कियोस् भनि दबाउँन खोज्थेँ । एक छिन म सफल पनि हुन्थेँ तर
केहीछिन पछि झन ठूलो पीडाको बाढी उर्लेर आउँथ्यो जस्को प्रतिछाया म श्रीमतीको
अनुहारमा देख्थेँ । ड्युटि डाक्टरहरुले डा. रावतसँग सल्लाह गरे क्यारे । शायद उनले
निर्दैसन दिए क्यारे । मलाई भर्ना गरेर सिसियूमा सारियो । फेरि किसिमकिसिमका यन्त्रसज्जित
एउटा फलामे खाटमा राखेर अनेक ससाना नलीहरू कुनै मेरो छाती, कुनै मेरो पाखुरा, कुनै
नाकतिर जडान गरियो । हरेक डेढ घण्टा जतिको अन्तरालमा ईसिजी गर्ने काम भई रहेको थियो । रक्त चाप छिन-छिनमा हेर्नु पर्ने भएर
होला मेरो पाखुरामै रक्तचाप लिँने फस्फसे डल्याँठो र भुक्के पेटी हल्कासँग बाँधेर
छोडिएको थियो । श्रीमती छेउमा उभिएकी थिइन् । सेतो प्लास्टिकको एउटा कुर्सि छेउमा
देखेँ र मैले उभिँदा-उभिँदा थाकेकी श्रीमतीलाई बस्न भनेँ । ड्युटि डक्टरले फोनबाट
डा. रावतलाई मेरो अवस्थाबारे खवर गरेजस्तो
देखेँ । छातीको पीडा झनझन् बढीरहेको थियो श्रीमतीको अनुहार हेरेँ त्यहाँ झन् गाढा बादलहरू
मडारिएर ढाकिएको देखेँ । 'शायद श्रीमतीसँग यो अन्तिम देखादेख होला' भनेर सम्झेँ ।
त्यसपछि मैले जीवनमा गरेका काम-कर्महरूबारे सोच्न
थालेँ र निचोडमा – 'मैले कसैको कुभलो गरेको छैन । छोराहरू आफै गरिखाने भएका
छन् यो ढुक्क लाग्दो कुरा भयो । मैले एउटा कविता संग्रह ६५/७० वर्ष पुग्दा प्रकाशन
गरेर मर्नु पर्ला भनि गरिरहेको काम अलि अधुरो रहने भयो । तर साथी श्यामल र जंगबलाई
मेरो सो काम थाहा छ । श्यामलजीलाई त त्यो मेरो कम्प्युटरको ई ड्रइभ, जहाँ
नेपालीकविताडटकमका सामग्री रहन्छन्, भित्र त्यो छ भन्ने समेत थाहा छ । त्यसैले कविताहरूमा
चाहे जस्तो गरी फाइनल टच दिन नपाए पनि त्यो प्रकाशित भइ हल्दो हो । यो सारै ठूलो सुर्ताको
कुरा भएन । तर छोरी भर्खर कक्षा ८ मा पढ्दै छे । उसको पढाइ सक्ने गरि अझै केही
वर्ष म बाँच्नु जरुरी छ भनि सोच्ने गर्थेँ त्यो पुरा नहुने भयो । समाजमा टुहुरा-टुहुरीको
लागी विशेष सहयोग, संरक्षण गर्ने प्रणाली या प्रवृत्ती छैन । सरकार त झन अर्काको
छोरी बुहारीलाई तर्साउँने भूत जस्तो मात्र छ । जीवनमा श्रीमती भन्दा पछि मर्ने एउटा
भित्री इच्छा थियो । कारण, म मेरो श्रीमती मरेपछि विधुर भएर बाँच्दा पाउँने दु:ख
भोग्न तैयार थिएँ तर म मरेपछि मेरी विधवा श्रीमतीलाई समाजले गर्ने टीठलाग्दो
व्यबहार उनले सहन नपरोस् भन्ने चाहन्थेँ । अब म मर्छु होला । शायद मेरा यी २ इच्छा
अब पुरा नहुने भए ।'
फेरि मनमा लाग्यो – 'मेरी श्रीमती बिएस्सि
नर्सिङ गरेर एन्थ्रोपोलोजीमा एम.ए. गरेकी मान्छे । पक्कै पनि छोरीलाई पढाउँन सक्छिन्
।' मैले यही क्रममा मेरा मित्रहरू रीता थापा, ळीली थापाहरूलाई पनि सम्झैँ । जसले
विधवा भएर पनि समाजमा उदाहरणीय काम गरिरहेका छन् । शायद म बढी नै 'लोग्ने' वा
'बाबु' भइटोपलेँ कि ? शायद मेरो अवशान पछि मेरी श्रीमतीमा झन् अर्कै किसिमको उर्जा
जागरण होला जसलाई म तथाकथित 'लोग्ने'ले ढाकेको पो छु कि ? मेरो जिन्दगी मैले चाहे
जस्तो कहिल्यै भएन । यहाँ सम्म आइपुग्दा सारै गेग-यान बाटाहरू पार गर्दै आएँ । तर
कसो-कसो के जोजन मिलेर हो बाँचिएकै छ । हरेक लिम्बु लोग्ने मानिसको रगतभित्रको 'जिन'मा माइतीले 'आफ्नो
ज्यानको बाजी राखेर पनि चेलीको संरक्षण गर्नु पर्छ' भन्ने एउटा मुल्यगत तत्व हुन्छ
। तसर्थ म मरे पनि छोरीको पढाइका लागी उसका तीन जना माइतीहरूले सहयोग अवश्य
गर्लान् । यत्ति हो, बाबुको नाताले मैले नै त्यो कर्तब्य पुरा गर्न नसक्ने भएँ ।'
मनमा फेरि कुरा आए – 'अब केही घण्टा पछि
मेरो सास जानेछ । मेरी श्रीमती र छोरीलाई केही दिन आकाशै शिरमा खसे जस्तो हुने भैहाल्यो
। ईष्ट-मित्र जम्मा हुनेछन् । मेरा कवि साथीहरू – विमल निभा, श्यामल,
जंगव चौहानहरू आँसु लकाएर भित्र-भित्र सबैभन्दा दु:खित् होलान् । दिपकराज पाण्डे,
वालकृष्ण नेउपाने र लक्ष्मीसुन्दर भाईहरू शायद मलामी बोलाउँन थाल्लान् । मलामी
बोलाउँदा राजनीतिमा लागेर दुनियाँ ठग्ने पावर ब्रोकरहरूलाई चाहीँ नबोलाइदिए
हुन्थ्यो । यी सिंह दरवारको अजंगको गेटबाट गाडीमा झण्डा हल्लाउँदै भित्र पसेर देश
लुट्ने डाकाहरूको छाँया ममाथि नपरोस् भन्ने चाहन्थेँ । के भएर हो, नेपाल 'नेता'हरूको
देश कहिल्यै हुन सकेन । नेपाली बालबालिकाले आफ्नै देशमा आफ्नो आदर्स (Role
model) पुरुष
या महिला कहिल्यै भेटेनन् । जो हे-यो फोटोकपीको पनि फोटोकपीको पनि फोटोकपीको पनि
फोटोकपी जस्ता मात्र लाग्छन् । नेताहरू बिहारका पनि तेस्रो दर्जाका नेताका पनि रद्दी
फोटोकपीहरू जस्ता । ती पनि कुनै स्मगलरका, नत्र कुनै ठेकदारका, नत्र कुनै सुदखोरका
या कुनै केटी बेच्ने धन्दावालका दलाल जस्ता । विद्वत वर्गहरूका गिदीहरू – पत्याए सम्म अमेरिका,
भारत, बृटिसका नत्र दरबारका औपनिवेसिक स-साना टापु जस्ता । नेपालमा आउँने विशिष्ट विदेशी
सल्लाहकारहरू उनकै देशका - थोत्रा र रिजेक्टड माल । योजना आयोगमा छन् – कुनै दरवारको भारदारले तैयार
गरेर पठाएको 'दीर्घकालीन' योजना पावरप्वाइण्टबाट प्रस्तुत गर्न र डिफेण्ड गर्न
राखिएका तलबी डिठ्ठा जस्ता । हे हैरान ! यो मुलुकमा ५० जनाजति फ्रोफेसर सुरेसराज
शर्मा र ५० जनाजति कर्ण शाक्य जस्ता मात्र जन्मिदिए पनि मुलुक अर्कै हुने थियो । बेकारमा
सलह जस्ता 'पेसेवार' पावर ब्रोकरहरू 'राजनीतिज्ञ'का रुपमा धेरै जन्मेरै यो देश
हैरानीमा फसेको हो कि ? एउटा चिनिया उखान पनि सम्झेँ – 'डरपोकहरूसँग सपना
हुन्छन्, बहादुरहरूसँग दीर्घकालिन सोच (Vision) हुन्छ ।'
मनमनमा - दीर्घकालिन सोच (Vision) नभएका तर सस्ता हावादारी सपनाहरु (Dreams) मात्र बाँड्ने पेसेवारहरू सबैभन्दा बेसी नेपालकै
पार्टीहरूमा जन्मेछन् जस्तो लाग्यो । यस्तै अनेक कुरा खेलाउँदै फेरि आफ्नै
जिन्दगीतिर फर्केँ । आफ्नो जिन्दगी केही 'सन्तोक' र केही 'विस्मात', केही 'रमाइलो'
र केही 'नरमाइलो', केही 'सफलता' र केही 'असफलता'का रंड्गहरू पोतिएको एक रङ्ग उडेको
चित्र जस्तो देखियो जसलाई बनाइ नसिद्धिँदै चित्रकारले छोडेर गइदिए जस्तो भयो'
भन्ने निचोडमा पुगेँ र मनमनै भनेँ – 'मैले जिन्दगीमा जति
गर्न खोजेको थिएँ त्यति गर्न सकिन । तर जति गरेँ त्यो अरु कसैलाई पिराउँने खालको
काम गरिन । कथंकदाचित अञ्जानमा मैले कसैको केही चित्त दुख्ने काम गरेको रहेछु भने
यो जिन्दगीको अन्तिम अनुच्छेदको पनि अन्तिम वाक्यको रुपमा म "क्षमा"
माग्न चाहन्छु' भनि मनको निर्मल पुकारा मन्द ढुकढुकीबाट वतासमा
तरङ्गित गरेँ ।
मलामी छान्न पाइन्छ ?
मेरो हजुरआमाले भनेको कुरा सम्झेँ – 'बाँचुञ्जेल, ठूलो
मान्छे होइन असल मान्छे हुनु' । शायद त्यसैको छापले होला म ठूलो मानिस हुन कहिल्यै
चाहिन र भइन पनि । स्व. भूपु प्रधानमन्त्री मनमोहन अधिकारीको अनुभवले खारिएको कुरा
एक पल्ट सुनेको थिएँ – 'प्रधानमन्त्री भन्दा असल मानिस भएर बाँच्नु कठीन कुरा
हो !' त्यो पनि सम्झेँ । र सोच्न थालेँ - मेरो मृत्युपछि धेरै मलामी नआए हुन्थ्यो ।
कवि भिमदर्शन रोकाको इच्छा सम्झेँ – 'मरे पछि मलाई तुरुन्तै
आर्यघाट लगी हाल्नु...' । शायद उहाँले कसैको मलामी जाँदा – 'आज यस्तो/उस्तो काम
थियो, मलामी आउँनु प-यो र बर्बाद भयो...' आदि प्रतिकृया सुन्नु भएको थियो होला । तसर्थ
मलामी आउँनेहरू पनि बडो ढोँगी किसिमले मात्र आउँदा
रहेछन् भन्ने उहाँलाई लाग्यो होला र त त्यसो भन्नु भयो होला । मलाई पनि म मरिसके
पछि धेरैलाई उनका महत्वपूर्ण काम बिगारेर मलामी नआउन् जस्तो लाग्यो । धेरै मलामी
नबोलाउँनु है भनेर श्यामलजी, जंगब, लक्ष्मीसुन्दर भाइलाई भन्न पाए हुन्थ्यो । अब
भन्नै नभ्याइने भो भनेर दिक्क लाग्यो । यसरी म मनमा अनेक कुरा खेलाइ रहेको थिएँ ।
डाक्टर र नर्सहरूले कहिले अक्सिजनको मात्रा बढाउँने कहिले सुई दिने काम गरिरहेका
थिए । शायद त्यसै क्रममा सुत्ने सुई पनि दिए कि ? त्यसपछि मैले केही थाहा पाइन ।
विहानी र चिन्ताको प्रवेश
आँखा खुल्दा छेउमा श्रीमतीलाई देखिन र म जोडले कराएँ – 'सिस्टर, मेरो श्रीमती
खोई ? उनी मेरो नजिक आउँनु प-यो' । श्रीमती ढोका बाहिर रै'छिन् । ढोका खुल्यो । देखेँ - विहान
भइसकेको रहेछ । मेरी श्रीमती विहानीसँगै भित्र पसेर मेरो हात समाउँदै नजिकै उभिइन्
। मैले सिसियूको नियमै तोडेर एउटा टुल मगाएँ
र श्रीमतीलाई बस्न भनेँ । रातभरीको अनिँदो, चिन्ता र उनको बाथको रोग आदिले गर्दा
पक्कै पनि थाकेर चुर-चुर भएकी छिन् भन्ने मलाई थाहा थियो । मेरो बुवालाई क्यानसरले
असक्त पारेर मेरा दिदी-बहिनीहरू कुरुवा हुँदा मैले उनीहरूको विमारी जत्तिकै थाकेको
अनुहारमा देखेको थिएँ । मेरा बा-आमा एकै दिनको फरक पारेर स्वर्गे हुँदाको समयमा
आकास खसेझैँ लागेको बेलाको अनुभव मसँग थियो । बालाई बचाउँन सकिन्छ कि भनि कहिले
रक्तदान केन्द्रबाटै, कहिले रेड क्रसको ब्लड बैँकबाट - कहिले फ्रेस ब्लड, कहिले
प्याक सेल, कहिले प्लाज्मा गरी ७२ प्वाइन्ट ओसार्दा म थाकेर चुर-चुर भएको अनुभव
पनि मसँग थियो । टिचिङ हस्पिटलमा, बम्बेको टाटा मेमोरियल हस्पिटलमा, फेरि घरमा र
फेरि B&B हस्पिटलमा बुवालाई राख्दा आमा समेत सिकिस्त भएर
दुबैजनालाई एउटै कोठामा राखेको र हामी छोरा, बुहारी, छोरीहरु
सबै ५ महिना चिन्ता र तनावको गेग्-यानबाट गुज्रँदाको अनुभव पनि मसँग थियो । बुवा आमा बितेर गएको दुई वर्षपछि सासु
सिकिस्त हुनु भयो र फेरि हाम्रो पारिवारिक वातावरणमा चिन्ता र तनावको बाढी पस्यो ।
अनेक उपाय गर्दा पनि सासुलाई बचाउँन सकिएन । मेरी श्रीमती पहिले नै गईसकेकी थिइन्
म चाहीँ सुधाइँमा छोरी लिएर धरान पुगेँ । छोरा नभएकाले एकजना नाता पर्ने मन्छेलाई
केही सुन र केही रकम दिएर भाडामा कृयापुत्री बनाएर राखेका रैछन्, मेरी श्रीमती र जेठी
सासु पनि टाउकोमा कात्रोको सेतो टुक्रा बाँधेर कोरामा बसेको सबै तस्बिरहरू दिमागमा
घुमे । मनमनमा – 'म मरिसके हुँला भनेको त जिउँदै रहेछु' भन्दै श्रीमतीलाई हेरेँ । उनले के के सोधिन् । बोलेर जवाफ दिने
शक्ती मसँग थिएन । अलिअलि च्यापु हल्लाएर जवाफ दिने प्रयास गरेँ । संसारमा करोडौँ
मानिस होलान् तर श्रीमती एक जनाको उपस्थिती त्यतिबेला मेरो लागी कत्रो महत्वपूर्ण
! श्रीमान-श्रीमतीको सम्बन्धबारे फेरि अर्को गहन 'अर्थ' मैले भित्रैबाट बुझेँ जस्तो
लागेर आयो जुन म कुनै पनि किसिमको वाक्य गठनमा बुन्न सक्दिन । जब भावनाका सबैभन्दा
गहिरा कुराहरू आउँछन् तब हालसम्मको भाषाले त्यसलाई अभिलेखित गर्न नसक्ने रहेछन् । भाषाले
भावना होइन भावनाले भाषा जन्माउँने रहेछ । शायद त्यसैले त राल्फाहरूले 'सो-याङबो'
जस्ता शब्द निकालेका होलान् । शायद त्यसैकारण तेस्रो आयामेलीहरूले 'चिया खाएको ?'
भन्नुको सट्टा 'सुरुप्प गरेको ? भन्योभने मात्र सम्पूर्णताको अनभिव्यक्ती सम्प्रेसित
हुन्छ' भने होलान् जस्तो लागेर आयो । जिन्दगीमा कहिलेकाहीँ अनेक दु:खहरू एकै चोटी अमेरिकाले
दसतिरका परपिडकहरू जुटाएर अफगानिस्थान र ईराकमा हमला गरेझैँ आउँदा रहेछन् । यही
अनुभवको आधारमा लेखेको मेरो कविता सम्झेँ, जुन तल राख्छु:
दु:खहरू र म
दु:खहरू Û जब देउता, राजा,
नेता, हाकिम
छिमेकी र साथी-भाईबाट पनि हपहेलित
हुन्छन्
जब ऊनीहरुलाई यो संसारै विरक्तलाग्दो
नर्कझैँ लाग्छ
जब आत्महत्य बाहेक उपायै देख्दैनन्
रन्थनिँदै-सहारा खोज्दै मकहाँ आउँछन्
र बस्छन् मसँग केहि दिन केहि महिना ।
दु:खी दु:खहरूलाई म
मेरै दु:खका चुल्होमा पाक्ने मीठो-मसिनो
खुवाउँछु
मेरै दु:खका गुन्द्री ओछ्याएर दु:खकै कम्बल
ओढाएर
मेरै आँसुले पटक-पटक भिजेर सुकेका
मेरै दु:खका सिरानीमा शिर बिसाएर सुत्न
दिन्छु ।
सुतेपछि देखिने सपना त हो...
जब दु:खी दु:खहरू सपनामा
आफ्ना छोराछोरीहरु खुशीले उफ्रेको देख्न
थाल्छन्
जब आमाका आँखाहरू आँशुका पङ्ख उचालेर
खुशीका परेलाहरू चाल्छन्
तब दु:खी दु:खहरू पनि खुशीले दङ्ग पर्छन्
यो देखेर मेरो रक्त-गंगामा उमंगको बाढी
उर्लन्छ
ती दु:खी दु:खहरू र यो दु:खी कविका
छातीमा
एकैसाथ उठेका खुशीका महान छालहरूभन्दा
सुन्दर कविता म कदापी लेख्न सक्दिन ।
एन्जिओग्राम र रोग
पहिचान
मुटुको नसाहरूमा कहाँनेर ब्लकेज छ भनि पत्ता लगाउँन एक
गुड्ने टेबिलजस्तो ओछ्यानमा सुताएर एन्जिओग्राम गर्ने थिएटरमा मलाई लगियो । मुख
छोपेका, हरिया धोक्रे लुगा पहिरेका, पातला टोपीले केश छोपेर ओढेका, हातमा
प्लास्टिकका पञ्जा लाएका ५/६ जना डाक्टर-नर्सहरू देखेँ । एन्जिओग्राम गर्न सानो
नली घुसारेर मुटुसम्म पु-याउँन पर्ने नसाको ठाउँमा सुई दिएर नदुख्ने बनाए । त्यो नसा
नाइटो मुन्तिरको दाहिने खुट्टाको फेदमा हर्निया हुने ठाउँ भन्दा अलि तल हुँदो रहेछ
। नली घुसार्ने ठाउँमा मात्र नदुख्ने (Local anesthesia) दिएकोले मनिटरमा म मेरो
मुटु खलाँतीझैँ चलिरहेको आफैले पनि देखेँ । मुटुको नसामा फुसुसुसु केही पसेको पनि
देखेँ । त्यो भनेको डाईङ गरेर कहाँनिर ब्लकेज छ भनि हेर्ने प्रविधी रहेछ । हेर्दाहर्दै
ब्लकेज देखियो । मूल डाक्टरले एकछिन पछि भने – 'एउटा देब्रे कोरोनेरी आर्टेरीको
सरकमफ्लेक्स शाखामा ९५% ब्लकेज छ । अर्को एउटामा ९०% ब्लकेज छ । केही अन्य
ठाउँहरूमा पनि अलि-अलि ब्लकेजहरू छन् । ९०% ब्लकेज भएकोमा एनजोओप्लाषटी गर्नु पर्दैन । यो ब्लकेज र अन्य सामान्य ब्लकेजहरूलाई औषधीले नै गलाउँन सकिन्छ ।
तर ९५% ब्लकेज भएको ठाउँमा एनजिओप्लाष्टी गर्नु पर्छ, अरु उपाय छैन, के गर्ने ?'
श्रीमती ढोकाबाट हेरिरहेकी थिइन् । मैले – 'के गर्ने ? गरौँ होइन त एनजिओप्लाष्टी ?' भनेर अनुमोदनका
लागी सोधेँ । फेरि तुरुन्तै - 'चार्ज कति लाग्छ' भनि डाक्टरलाई सोधेँ । 'अढाइलाख
लाग्छ' भन्ने जवाफ आयो । ईमरजेन्सीको, औषधिहरू, सिसियू कोठाको, सिसियूबाट बाहिरको
कोठामा केही दिन त बस्नै पर्छ होला - त्यसको भाडा समेत गर्दा करीव साढे तीन लाख जति
लाग्ने हिसाव मैले मनमनै गरेँ । रिणै गरेर घर किनेको, रिणै गरेर बा-आमाको उपचार
गरे पनि बचाउँन नसकेको, रिणै गरेर एउटा सानो गाडी किनेर चढेको, रिणै गरेर फेरि
सानो आमाको क्यान्सरको उपचारमा जुटेको तर बचाउँन नसकेर मंसिर २०६१ सालमा उहाँ पनि
बितेको र अब आफ्नो मुटुलाई ठीक गरेर बाँच्नलाई फेरि रिणै लाग्ने भयो भनेर मनमनै गमेँ
। भनिन्छ सहरका मानिसहरू प्राय रिणमै बाँच्छन् । क्रेडिट कार्ड लियो चाहिएको जे हो
- किन्यो र सँधै बैँकको रिण बोक्यो । अनकण्टार पाहाडतिर मानिस गोजीमा एक मोहर
हालेर महिनौँ हलो-कोदालो गर्दा पनि त्यो मोहर कैयौँ महिना उनको गोजीमै हुन्छ । गाउँका
मानिस धनी कि सहरका मानिस ? जे होस् 'ज्यु रहे पो घ्यु खान पाइन्छ' भन्छन् । ज्यान
सद्दे भए कुनै न कुनै दिन तिरौँला भन्ने भित्र आँट दरो भएर बसेको थियो । हजुरआमाले
'रिण लागे नडराउँनु, दिन लागे डराउँनु' भनेको उखान पनि सम्झेँ ।
डाक्टरले – 'घर सल्लाह गर्नोस् । एक-दुइ दिन पछि
एनजिओप्लाष्टी
गरे पनि हुन्छ' भने । मैले – 'अहिले नै गर्दा हुँदैन र ?'
भनि सोधेँ । 'हुन्छ' भन्ने जवाफ आयो । त्यस पछि डाक्टरहरूले तैयारी गरे । मैले – ' एनजिओप्लाष्टी
गर्न किन यति महंगो ? भनि सोधेँ ।' डाक्टरले भने – 'एनजोओग्राम गरेको १७ हजार चार्ज, बेलिनिङ
गर्न अर्को चार्ज र स्टेण्टको मात्रै ६७ हजार जति लाग्छ आदि इत्यादि गरेर
त्यति पुग्न जान्छ ।'
मुटुको नसामा पाइप (Stenting) र नयाँ जीवन
एनजिओप्लाष्टी गर्दा पनि मानिस मर्न सक्दा
रहेछन् कि ? मेरी श्रीमतीलाई केही कागजमा सहीछाप गराएको मैले देखेँ । शायद - ' एनजिओप्लाष्टी गर्दा
केही कारणबस् मृत्यु हुन गएमा डाक्टरको टिमलाई दोस दिने छैन' भन्ने केही कागजातहरूमा
सहीछाप गराएको हुनु पर्छ । उनले ती कागतहरूमा सहीछाप गरेपछि भित्तातिर फर्केको पनि
देखेँ र सजिलै अनुमान लगाएँ - उनी रुन थालेको हुनु पर्छ । मेरी श्रीमती 'रुनु'
भनेको ठुलै 'चोट' पर्नु हो भन्ने मलाई थाहा थियो । नत्र कैयौँ कठीनाई र पेचिला
परिस्थितीहरूमा बरू मेरो आँसु खसेको छ तर उनी रोएको घटना ज्यादै कम छन् । एकजना
डाक्टरले उनलाई ढाडस् दिँदै सम्झाएको पनि देखेँ । पछि चिनेँ ती डाक्टर मिलनमा
पाण्डे रहिछन् । कस्तो ठीक समयमा ढाडस् दिन पुगेको ? मेरी श्रीमतीलाई पक्कै पनि
केही राहत भएको हुनु पर्छ । मेरो मायाले रोएको देख्दा - मैले लोग्नेको परिक्षा पास
गरेर 'साँच्चै' उनको अर्धाङ्ग भइसकेको रहेछु जस्तो लाग्यो । आफैले पनि नदेख्नेगरी म
पनि भित्र रोएँ । तर कविता कसम - 'मैले बाँच्नु पर्छ, म बाँच्ने छु, मेरो
सफलतापुर्वक एनजिओप्लाष्टी हुनेछ' भन्ने विश्वास मनमा
त्यसै त्यसै अग्राठझैँ बलियो भएको महसुस गरिरहेको थिएँ ।
४० मिनेटको 'एनजिओप्लाष्टी' को काम सफलता पूर्वक सम्मन्न हुने बित्तिकै डाक्टरले – सुब्बाजी छातीको दुखाई कस्तो छ अहिले ? भनेर
सोधे । मैले – २०%
जति बाँकी छ भनेँ । उनले भने – अब
एकछिनपछि त्यो पनि बिस्तारै हराउँदै जान्छ । मलाई केही क्षण त्यहीँ राखियो । एकछिन
पछि फेरि डाक्टरले सोधे – अब
कस्तो छ छातीको दुखाई ? मैले
भनेँ – करीव
१०% बाँकी होला । उनले – 'राम्रो
! तपाईँ एनजिओप्लाष्टी
१००% सफल भएको छ । तपाईँलाई बधाई छ । अब तपाईँको जीवन खतराबाहिर छ' भने
। मैले – धन्यवाद
! भनेँ
। त्यसपछि मलाई सिसियूको एक कोठामा मलाई सारियो ।
जुन तिघ्राको फेदको नसामा प्वाल पारेर एनजिओप्लाष्टी भएको थियो त्यो खुट्टा ६ घण्टा सम्म ओछ्यानमा तेर्छो
पारेर सिधा राख्नु पर्ने रहेछ । नसा छेडेर एनजिओप्लाष्टी गरेको घाउ वरिपरि आन्तरिक
रक्तश्राव (Internal bleeding)
हुँदो रहेछ र त्यसलाई दुबै हातका बुढी औँलाले मिचिमीचि सुन्निएर गाँठो हुनबाट रोक्नु
पर्ने रहेछ । त्यो काम तिन घण्टा सम्म डा. मिलनमा पाण्डेले गर्नु भयो
। कुनै महिलाले त्यसरी मेरो लागी खटिदिनु परेकोमा मलाई - मैले एकजना महिलालाई
कस्तो दु:ख दिनु प-यो ? यस्तो दु:ख दिन नपरे हुन्थ्यो' भन्ने लागेर आयो । तर के
गर्ने ? 'मरता मनुस्य क्या-क्या नही करवाता?' जस्तो पनि लागेर आयो । मेरो नाकमा
अक्सिजन दिने नली, पाखुरामा रक्तचाप नाप्ने पेटी, सलाईन, छातीमा ६/७ वटा केके
टाँसेर त्यसबाट तार लगेर मनिटरमा जोडेको र रगत पातलो बनाउँने ४० हजार रुपिया पर्ने
झोल एउटा ठूलो सिरिञ्ज मार्फत विस्तारै दिन थालियो ।
सिसियू मा श्रीमती पनि आइन् ।
उनको अनुहारमा खुसीको अनौठो 'हिसी' मैले पढेँ । Infection हुने डरले होला, यसपल्ट मेरो
श्रीमतीले मेरो हात समाएर मेरो शरिरभरी मयाको तरङ्ग संचार गर्ने अनुमती पाईनन् ।
तर उनको आँखाले मेरो सबै अंग-अंग हेर्दा –
मायाले सुमसुम्याएको महसुस मैले गरेँ । माया भनेको यस्तै 'महसुस' गरिने अनौठो तरङ्ग
त रहेछ । शायद त्यही तरङ्ग महसुस
गरिने शरीरको क्षेत्रलाई लोब्साङ राम्पाले
ह्युमेन औरा भनेका हुन क्यारे । शायद त्यही ह्युमेन औराबाट भित्र पस्दै जान्छ तरङ्ग
र शरीर भरि डुल्छ –
माया । बरिष्ठ संगीतकार अम्बर गुरुङले 'संगीतले मनोरञ्जन दिन्छ र गंभीर संगीतले
चाहीँ आत्मरञ्जन दिन्छ' भनेझैँ सच्चा र गहीरो मायाले बेस्सरी आत्म रञ्जित गराउँदो
रहेछ । करीव दुई घण्टा एउटै पोजिसनमा एक खुट्टा चाहीँ तनक्क तन्काएर सुतेपछि मेरो
ढाड सहनै नसक्ने गरी दुख्यो । मैले त्यो कुरा जाहेर गरेँ । मलाई दुखाई कम गर्न
भोवेरनको सुई देब्रे पाखुरामा दिए । ढाडको दुखाई विस्तारै कम भयो तर बेलुकी खेर सुई
दिएको पाखुरा दुख्यो, छाम्दा गाँठो परेको थियो र आन्तरिक रक्तश्राव (Internal bleeding) भएर
पाखुराको माथिल्लो भागतिर कालो दागैदाग बसेको देखियो । डाक्टर
रावतको साँझको राउण्डमा मैले त्यो देखाएँ ।
'ऊनले कसरी यस्तो भयो?' भनेर सबलाई सोधे । ढाडको दुखाई कम गर्न सुई दिँदा यस्तो
भयो भन्ने कुरा उनलाई सुनाए । ऊनले 'रगत पातलो गर्ने औषधि दिईराखेको बेला भोवेरन
सुई दिनै हुन्न र दिई हाले पनि हिपमा दिन पर्छ' भनेर स्टाफहरूलाई हप्काए । 'मैले
डाक्टरलाई देखाएकाले बेकारमा स्टाफहरूले गाली खाए' भनेर नराम्रो पनि लाग्यो । तर
परेको पीर मार्का वा अरुको गल्ती-कमी-कमजोरी त देखाउँनै पर्छ । तसर्थ 'मैले ठीकै
गरेँ' भनि सम्झेँ । डाक्टर रावत ले – 'सरी
सर ! यो हाम्रो तर्फबाट गल्ती भयो' भनेर
माफी मागे पछि म अक्क न बक्क परेँ । एकजना केनेडियन नागरिकले नेपालमा काम गरेर घर
फर्किने बेलामा अनुभव सुनाउँदै भनेको कुरा सम्झेँ । उनले भनेकी थिईन – 'विक्रम, जिन्दगीमा डाक्टर र
ईन्जिनियरहरूबाट होस गर्नु । उनीहरू आफुलाई मात्र जान्ने र संसारका सबै नजान्ने
ठान्छन् । तर डाक्टर रावतले आफ्नो टिमबाट भएको गल्तीका निम्ती एकैछिन पनि ढिलो
नगरी 'माफी' मागी रहेको देख्दा म अलमल्ल
परेँ । यस्ता नम्र 'मानिस' जस्ता लाग्ने 'डाक्टर'हरू
मैले मेरो श्रीमतीलाई लिएर भेलोर जाँदा भेटेको थिएँ । त्यतिबेला १० दिनको नुभव पछि
मैले निचोड नेकालेको थिएँ –
'विरामी र विरामीका परिवारजनसँग कस्तो व्यबहार गर्नु पर्छ भन्ने कुरा 'डाक्टरी
कोर्स'ले सिकाउँने होइन रहेछ । त्यो त डाक्टरको पारिवारिक सँस्कार, मूल्य (Value) र मान्यताबाट आउँने रहेछ ।
भेलोरका डाक्टरहरूभित्र नसासामा गरीव, दु:खी र अशक्तको सेवा गर्ने भावना पहिलो
शर्तका रुपमा धर्मले हालिदिएको छ । त्यो मुल्य र दीर्घकालीन सोचलाई डाक्टरी शीप मार्फत साकार
पार्ने प्रयास मात्र गरिरहेका छन् । त्यसर्थ उनीहरूका लागी डाक्टरी शीप साधन मात्र
हो, साध्य होइन । तर नेपालका ९९% डाक्टरहरू बा-आमाले डाक्टरी पढाउँदै देखि डाक्टरी
शीपलाई साध्यको रुपमा, समाजमा ईज्जतीलो "डाक्टर" हुनका निम्ती या 'अभिजात
वर्गको घेरा'मा पस्न योग्य हुनका निम्ती डाक्टर हुनु पर्छ' भन्ने सोचाई (Orientation) बाट निर्देशित (Guided) भएका लागेका हुन्छन् । नेपालका
डाक्टरहरू जो कोही कोही असल नस्लीय-पारिवारिक घरानाका हुन्छन्, उनीहरू नम्र, भद्र
र अहंकारविहीन होलान् । नत्र मेरो अनुभवमा उपचारको चक्करमा लागेका १००% भुक्तभोगी
साथीभाइ या इष्टमित्रहरू, जो डाक्टरलाई चुनौतीपूर्ण लाग्ने खालका प्रश्न गर्छन् तब
उनीहरूलाई थ्रेट फिल हुन्छ र डाक्टरहरूले –
'तिमी डाक्टर कि म डाक्टर ? बढी जान्ने हुने भए म कहाँ जचाउँन नआउँने । आएपछि म जे
जे भन्छु त्यो चुपचाप सुन्ने' भनि फुइँ नदेखाएको अनुभव कसैको छैन । नेपालका
डाक्टरहरुको यो एउटा ईदिअमिन सिण्ड्रोम कायम रहे सम्म म कवि भएकोले मेरो कविताको शब्दकोशमा
त्यस्ता डाक्टरहरूलाई 'डाक्टर' होइन बरु संसारकै सबैभन्दा घिनलाग्दा 'सेता-कोटे
डिक्टेटरहरू' भनि परिभाषित गर्छु ।
साथी भनेका 'आवश्यकताका जवाफ' हुन्
सिसियू मा सबैभन्दा पहिले मेरी श्रीमतीले भेटिन् । त्यसपछि साथी
सोमराज आचार्यको अनुहार मेरो सामु आयो – भानुभक्तका खलक मध्येका
एक 'आचार्य'को अनुहार देख्दा 'रामायण' नै देखे जस्तो लाग्यो । त्यसपछि भेट्न आउँने
साथीहरूमा – साथी सीताराम प्रसाइँ, साथी
डा. जंगव चौहान, कवि भाइ डम्बर पहाडी, कवि साथी श्यामल, चुम्लुङका अध्यक्ष र उपाधक्ष्य
मञ्जुल याकथुङबा र अर्जुन लिम्बु, रेडियो सगरमाथाका दीपक राज पाण्डे आदि थुप्रै...।
साथीहरू भेट्न आएर फर्केर जाँदा मलाई केही उर्जा दिएर गएको जस्तो लाग्थ्यो ।
त्यसपछि मैले थला परेका साथी-भाइलाई भेट्नुको महत्व बुझेँ र मनमनै संकल्प गरेँ – 'बरु म मलामी नजाउँला तर विरामी भेट्न जरुर जान्छु
।'
भेट्न आउँने साथीहरू मध्ये साथी सीतारामको आँखाभरि
आँसु भक्कानिएको देखेँ र मेरा आँखामा पनि आँसु झरेर एक अनौठो सम्वेदना शरीरभरि
दौडियो । सिताराम मेरो अनौठो साथी हो । मेरो आमाको मृत्यु भएपछि पशुपतिको जंगलमा
चिहानभित्र आमाको लाश हालेर आमालाई अन्तिम मट्टी दिनेबेलामा कहाँ हो कहाँबाट आइपुग्यो
र उसले पनि हामीले जस्तै मेरो आमालाई देब्रे हातले मट्टी दियो । त्यसबेला पनि हामी
दुवैले सँगै आँसु झारेका थियौँ । दु:खको बेला साथदिने मानिस नै शायद ईमान्दार साथी
हो कि ? भनि त्यतिबेला मलाई लागेको थियो । दीपकराज पाण्डे भाईको अनुहार मसँग भेटेको
एकछिनपछि अनौठो किसिमले गंभीर भयो । त्यो गम्भीरता खुम्चिएर आँखा वरिपरि थुप्रिन
थाल्यो र भन्नुभयो – 'दाइ, मलाई कस्तो कस्तो
असजिलो भयो, सास फेर्नै अप्ठ्यारो जस्तो भयो, म एक छिन बाहिर गएर आउँछु है' र बाहिर
निस्कनु भयो । श्रीमतीले भनिन 'तल थुप्रै साथीहरू भेट्न आउँनु भएको छ तर अनुमती
नपाएकोले रिस्साउँदै फर्कँदै हुनुहुन्छ' । मैले भने – 'किन सबैलाई फोन गरेर दु:ख दिएको ? विचरा साथीहरुको कति
काम वित्तो थियो होला ।'
मेरो कुरा सुनेर श्रीमतीले नराम्रो मानिन् तर Stress पर्ला भनेर होला जवाफ नदिई चुप लागिन् । मलाई भने लागिरह्यो
– 'मरे म मर्ने, अरुले
किन दु:ख पाउँने ?' तर 'साथीभाई भनेका आवश्यकताका जवाफ हुन्' भन्ने खहलिल जिब्रानको
उक्ती सम्झेँ । हुन पनि अब हस्पिटलको बील कहाँबाट रिण (ब्याजमा) लिएर तिर्ने ?
भन्ने टेन्सनले हामी श्रीमान्-श्रीमतीको भृकुटी खुम्चिन थालेको थियो । लक्ष्मी
सुन्दर भाई मलाई अड्को पर्दा कहाँबाट आईपुग्नु हुन्छ ? थाहा छैन । उहाँबाटै केही
सापट लिएर श्रीमतीले हस्पिटलमा 'एडभान्स' जम्मा गरेकी रहिछन् । त्यतिकै बेला मेरो
अफिसमा साथीहरू (म बाहेक बोर्डका सबैको उपस्थितीमा) बैठक बसेर चारलाख रुपिया सापट
(निर्व्याजी रिण) औषधोपचारका निम्ती मलाई दिने निर्णय गर्नु भएछ । अफिसका
साथीहरुले भेट्न आएर सो कुरा भन्नु भयो । मैले धन्यवाद दिएँ र भित्र-भित्र खुशीले
आल्हादित भएर कसैलाई आँसु नदेखाइ रोएँ । मनमनै खुसी हुँदै भनेँ – 'हे जिन्दगी ! मैले यति धेरै खुशी माँगेकै थिईन । म
भन्दा कैयौँ दु:खीहरू मेरो समाजमा छन् । तिनलाई पनि यसरी दु:खका बेला सहयोग जुट्ने
सामाजिक प्रणाली भए कति रमाइलो हुन्थ्यो ।' मनमनै भनेँ – 'शायद, Social capital हुनुको अर्थ यही होला । गरिवी र समस्याहरूसँग जुझ्न
आफुसँगै क्याँटका क्याँट थुप्रेको पैसा नचाहिने रहेछ । सोसियल क्यापिटल वृहद
भए समस्याहरु समधान गर्न आवश्यक रकम जुट्ने
रहेछ ।' यसरी मनमा कुरा खेलाउँदा मैले फेरि वाल्यकालमा मेरो अजुरआमाले मलाई
भनेको आसिर्वादीय वचन सम्झेँ – 'धन
भनेको खाक, ईष्ट भनेको लाख ।' मेरो हजुरमुवा अंग्रेजीको "सोसियल क्यापिटल" भन्न जान्नु हुन्नथ्यो तर
उहाँको उपदेशको सार चाहीँ 'सोसियल क्यापिटल दह्रो
भए साह्रो-गाह्रोमा पनि समाजमा बाँचिखाइन्छ' भन्ने नै थियो ।
केही साथीहरूबाट मैले थाहा पाएँ
कि म विमारी भएको बारे धेरैले धेरै थरीको कुरा सुनेछन् । जस्तै – 'विक्रमलाई अचानक सिकिस्त भएर अस्पतालको
आकस्मिक कक्षमा भर्ना गर्नु परेको छ रे', 'विक्रमलाई सिकिस्त रुपमा सिसियू मा भर्ना गर्नु परेको छ रे',
'विक्रमलाई मुटु सम्न्धी केही भएर अस्पतालमा भर्ना गरिएको छ रे', 'विक्रमलाई Heart attack भएर अन्तिम अवस्थामा अस्पतालमा
राखिएको छ रे' आदि आदि । 'हल्लै हल्लाको देश'मा यो स्वाभविकै हो भनि ठानेँ । तर कता-कता
यो 'हल्ला'को वस्तविकता थाहा पाए केही साथीलाई त राम्रै हुँदो हो' भन्ने पनि
लाग्यो । यसैबेला दिपकराज पाण्डे भाईले रेडियो सगरमाथामा लाइभ अन्तर्वार्ता लिन
डाक्टरले देलान् कि नदेलान् भनेर सोध्नु भयो । मैले डाक्टरलाई त्यसबारे सोधेँ । 'सिसियू
बाट अर्को कोठामा आज दिउँसो सारे पछि त्यहाँ हुन्छ ।' भन्ने जानकारी आयो । मैले
नर्सहरू मध्ये अलि फर्साईलीलाई हेरेँ र मनमनै ठानेँ – 'यिनलाई प्रस्ताव राखे पक्कै
स्वीकार्य होला !' उनलाई इसाराले बोलाएँ । मेरो अपेक्ष्या मिल्यो । उनी दगुर्दै आइन्
। मैले भनेँ –
'सिस्टर, तपाईँको एउटा जरुरी सहयोग चाहियो । सहयोग गर्नोस् है !' उनको अनुहारमा एउटा
अनौठो तरङ्ग दौडिएको देखेँ । त्यतिबेला मलाई मिर्जा गालिबको कवितांश याद आयो:
उनलाई देख्दा आउँछ मेरो अनुहारमा चमक
उनी भन्ठान्छिन्, बिरामको हालत सप्रेछ ।
तर संयमित भएर भनेँ – 'यो मेरो Blockage के कस्तो हो ? कसरी भएको हो ? भन्नेबारे
मेरो लाइभ अन्तर्वार्ता रेडियोले लिने'रे । प्राविधिक कुराहरू मलाई केही थाहा छैन
। अन्तर्वार्तामा त प्राविधिक कुराहरू पनि सकभर मिलाएर बोल्नु पर्ला । त्यसैले मलाई
अलिकति लेखेर दिनोस् न । म पढछु, बुझ्ने कोशिस गर्छु र बेलुका त्यसैअनुसार बोल्छु
। आधा घण्टापछि मैले विवरण पाएँ, जो निम्नानुसार थियो:
मुटु लाई रक्त आपूर्ति गर्ने काम कोरोनेरी आर्टरीहरूले
गर्छन् । कोरोनेरी आर्टरीलाई दुई हाँगाहरूमा बाँडिएको हुन्छ:
१.
दाहिने हाँगा, जसले मुटुमा ३०% हक्सिजन युक्त रगत
आपूर्ति गर्छ,
२.
देब्रे हाँगा, जसले मुटुमा ७०% हक्सिजन युक्त रगत
आपूर्ति गर्छ,
तपाईँ, विक्रम सुब्बाको देव्रे कोरोनेरी आर्टरीमा
ब्लकेज थियो । दाहिने कोरोनेरी आर्टरीले ३०% मात्र अक्सिजन युक्त रगत मुटुमा
आपूर्ति गर्ने भएकोले देव्रे कोरोनेरी आर्टरीभन्दा कम महत्वको भनिन्छ ।
तपाईँको देव्रे कोरोनेरी आर्टरीको पनि
सरकमफ्ल्याक्स शाखामा ९५% ब्लकेज थियो । जुन ब्लकेजले गर्दा मुटुमा रक्त सञ्चारको मात्रा नपुगेर
जुनसुकै बेला पनि हृदयघात (Heart attack) हुन सक्थ्यो ।
हजुरको स्टेण्ट (stent) राखेको ठाउँ – देव्रे कोरोनेरी
आर्टरीको पनि सरकमफ्ल्याक्स शाखामा हो । जसले ९५% ब्लकेजलाई खुला पारेर रक्त
सञ्चार गराउँन पुरापुरि काम गर्दै छ ।
तपाईँको देव्रे कोरोनेरी आर्टरीको अर्को एक शाखामा पनि
अलि-अलि ब्लकेज छ जुन एस्प्रिन, क्लोपिलेट जस्ता औषधीहरूले गलाउँन सक्छ । यस्तै अर्को
नसाको एक शाखामा पनि ९०% स्टेनोसिस छ त्यो पनि सानो शाखामा भएकाले औषधीले गलाउँन
सकिन्छ ।
नोट: यदि तपाईँको देव्रे
कोरोनेरी आर्टरीको मुख्य नसा (शाखाहरू विभक्त हुनभन्दा अघि) मै धेरै प्रतिशत
ब्लकेज भएको भए बाईपास सर्जरी गर्नै पर्थ्यो । तर त्यस्तो नभएकाले एनजिओप्लाष्टी
(PTCA) मात्र गरेर स्टेण्ट राखेको छ ।
|
माथि उल्लेखित कुराहरू
पढेँ र मैले पनि केही सिकेँ जस्तो लाग्यो । रेडियो सगरमाथाबाट राती टेलिफोनमै दिपकराज
पण्डेले सोध्नु भयो । मैले जानी नजानी मेरो एनजिओप्लाष्टी बारे बताएँ । मेरो हृदयघात
भएको होइन, ब्लकेज थियो र सफलतापूर्वक एनजिओप्लाष्टी मात्र गरेको हो
भन्ने कुरा भनेँ । त्यही मौका पारेर मैले स्रोताहरूले
थाहा पाउँने गरी दिपकराज भाई र उहाँको श्रीमतीलाई – 'विवाह र सुखमय दामपत्य जीवनको
शुभकामना' पनि दिएँ । उहाँले –
'तपाइँलाई पनि धन्यवाद' भनेर कुराकानीको बिट मार्नु भयो ।
भेटघाटका स्वाद: अनुभवहरू
सिसियू बाट अर्को कोठामा मलाई सार्दा अरु कुनै कोठा
खाली नभएकोले भिआईपी सिसियू लाउञ्ज
भन्ने
कोठामा राखे । त्यसको भाडा मात्र प्रति रात पाँच हजार रुपिया रहेछ । त्यो कोठामा
पस्ना साथ मेरो 'आर्थिक' पक्ष्यको रक्त चाप बढेजस्तो लाग्यो । 'कस्तो महंगो कोठा?'
भनेर मैले श्रीमतीलाई भनेँ । उनले भनिन् – 'चिन्ता नगर्नुस्,
अहिले ज्यान ठूलो हो । जे-जे पर्दै आएको छ, दु:ख सुख टर्दै पनि आएको छ ।' श्रीमतीको
कुरा सुन्दा ट्रन्सेक्सनल एनालिसिसको कुरा याद आयो । दिनभरिको कन्टिनियममा एउटा मानिसलाई
हेर्ने हो भने ऊ कहिले 'केटाकेटी' जस्तो व्यवहार गरिरहेको हुन्छ, कुनै बेला ऊ
'चञ्चले teen ager' जस्तो व्यबहार
गरिरहेको हुन्छ, फेरि एक छिन पछि 'गम्भीर' र 'जिम्मेवार' व्यक्ती जस्तो केही सोची
रहेको हुन सक्छ आदि इत्यादि । यसरी फरक-फरक उमेरगत व्यवहार गरिरहेको व्यक्तीसँग
'-याङको ठ्याङ' मिलाएर सँगैको साथीले पनि व्यबहार (Response) गरिदियो भने दुईजना बिच तालमेल (Rytheme) कायम हुने हुन्छ । होइन, एउटा 'चञ्चले teen ager' भएर पेस हुँदा अर्को साथी चाहीँ बडो 'गम्भीर' बूढो
भएर पेस भयो भने '-याङको ठ्याङ' (Chemistry) मिल्दैन र दुईजनाको तालमेल पनि मिल्दैन । यसलाई
राम्रोसँग मिलान गर्ने प्रयास गर्नु चाही कुनै पनि 'जिम्मेदार' (Matured) ब्यक्तीको काम हो । त्यही सम्झेँ । श्रीमती यतिखेर एक
अविभावक भएर बोलेझैँ लाग्यो र – 'हो त नी, जिउ रहे पो
घिऊ खान पाइन्छ' भनि मैले पनि भनेँ । तर भित्र कता-कता – 'अब रिण तिरिसक्न फेरि ३/४ वर्ष घोटिनु पर्ने भयो । हे रिण
! जिन्दगीमा सबैभन्दा कहिल्यै छुटकारा नपाइने तँ कस्तो गजबको रैछस् ? राजा देखि
बैँक सम्म, साहु देखि रहु सम्म, राजनीतिमा लागेका देखि कालो धन्दा गर्नेहरू सम्म,
तरकारी बेच्ने देखि गाडी बेच्ने सम्म, घर-जग्गा देखि देशै बेच्नेहरू सम्म सबैलाई
तँ सबैको जीवनमा ब्याप्त छस् ।'
त्यो कोठामा धेरै इष्ट-मित्र र साथी-भाइहरू भेट्न
आउँन थाले । भिआईपी
लाउञ्जमा बसेकोले होला फोनको सुबिधा पनि थियो । भेट्न कोही आए पठाउँने कि नपठाउँने
भनि मलाई सोधिन्थ्यो र मेरो स्वीकृती अनुसार भेट्न पठाइन्थ्यो ।
सुमित्रा वन्तवा दिदीले भेट्न आउँदा एउटा कार्ड र
फूलको बुके दिनु भयो । कार्डमा लेखिएको थियो:
Dear Bikram Bhai
This Get Well wish
is here, to cheer you up
and make you feel better….
…for, someone as special as you,
deserve to be happy and
healthy always
WISHING YOU A
SPEEDY RECOVERY!
From Bantawa didi + dai
कवि र कवियत्री श्रीमान्-श्रीमती डा.
सरोज धिताल र सुलोचना पनि भेट्न आउँनु भयो । उहाँहरूले आफ्नै हातले बनाएको सानो कार्डमा
छोटो कविता लेखेर बुके पनि दिनु भयो । कवितामा लेखिएको थियो:
नदुखाउ
त्यो मुटुलाई
बेर्सेर
फेरि विक्रम !
दिइ सक्यौ तिमीले त्यो त
कवितालाई
देशलाई
मान्छेलाई
जीवनलाई
त्यो
मुटु दुख्दा
सबलाई
दुख्छ
नदुख्नु
दुखिसक्यो, मित्र !
यही
एकचोटीले पुग्छ ।
जून ४, ०५
सलोचनाको कतै नगई नहुने काम
परेछ, उहाँ
जानु भयो । सरोज र मैले निकैबेर कुरा ग-यौँ
। कुरामा काठमाण्डौ मोडल हस्पिटलको दिगोपनाको कुरा उठ्यो । लागेको कुरा मैले भनेँ – 'काठमाण्डौ मोडल हस्पिटल जस्तो
सँस्था हाम्रो समाजको सम्पती (Asset) हो
। तर तपाईँहरूको, जो अहिले सकृय हुनुहुन्छ, जीउले एक दिन नसक्ने हुन्छ । यो
प्रकृतीको नियमै हो । तसर्थ चल्दाचल्दै कुनै दिन त्यो अस्पताल बन्द भयो भने त
समाजलाई घाटा लाग्छ । त्यसैले त्यसको संस्थागत विकाशको बारेमा केही सोच्नु भएको छ ?'
यो कुरा राख्दा मैले अन्य केही संस्थाहरूको पनि नाम लिएर चिन्ता ब्यक्त गरेँ,
जस्तै - तीलगंगा आँखा अस्पताल । काठमाण्डौ मोडल हस्पिटललाई चाहीँ संस्थागत गर्दै
लाने, प्रणालीले चल्ने-चलाउँने बारे कुरा भइरहेको थाहा पाएँ र खुसि पनि लाग्यो ।
नेपालमा सँस्था जन्मन्छन् र कुनै एक 'व्याक्ती'को व्याक्तित्व वा 'प्रयास'ले
चल्छन् तर त्यो व्यक्ती असक्त भए पछि ती सँस्थाहरू पनि मर्दै जान्छन् । किनभने
उपरोक्त 'व्यक्ती' सँस्थाबाट हासिल हुने 'शक्ती (Power)' छोड्न नचाहने एक 'सामन्त' भइदिन्छ
जसले गर्दा राम्रा र सक्षम व्याक्तीहरूले त्यो सँस्थालाई छोड्दै जान्छन्, बजारमा
अनेक गतिशील (Dynamic)
किसिमले सेवा प्रदायकहरू प्रतिस्पर्धामा आउँछन्, सामाजिक गतिशीलता (Social dynamics) को
नियमै यस्तै हुन्छ । अगाडी बढनेले पछि परेकालाई छोडेर जान्छ
। परिणामस्वरुप ती पुरातन या 'सामन्त' पाराले चलाईएका सँस्थाहरुको नियती
प्रतिस्पर्धाबाट मैदान खाली गरेर विस्तारै 'मर्नु' बाहेक के होस् त ? घाटा लाग्ने
त समाजलाई हो ।
मुटुको
ठूटोबाट दोस्रो जीवन पलायो
जून ५, ०५ कविहान एनजिओप्लाष्टी गरिएका ५ जनालाई डाक्टर भरत रावतले छोटकरीमा तर सबैको
कसरी एनजोओग्राम गरियो र कसरी एनजिओप्लाष्टी गरियो भनि कम्प्युटरको मनिटरमा देखाए । अन्य ४ जनाको जस्तो केशमा
संसारमै असफल र मृत्यू दर ३% रहेछ तर मेरो जस्तो केशमा ५% रहेछ भन्ने कुरा मैले
त्यही थाहा पाएँ र अलि झसंग पनि भएँ । डाक्टर रावतले त्यस दिन मेरो कोठामा आएर
विदाईका बेला मलाई ईमरजेन्सी र सिसियू मा भर्ना गरिसकेपछिका ईसोजीहरू आफ्नै क्वाटरमा मगाउँदै हेर्ने
क्रममा त्यसै रात करिव २ बजे चाहीँ आफु १००% यो ब्लकेज केश हो र यसको उपाय एनजिओप्लाष्टी
नै हो भनेर निचोडमा आफु पुगेको कुरा गरे । मैले 'अनि किन राती नै एनजिओप्लाष्टी नगरेर रातभरि मलाई पीडामा राखेको ?' भनेर सोधेँ । उनले
– 'प्राविधिक रुपमा सही
प्रश्न हो यो । तर मेरो आजसम्मको अनुभवमा डाइग्नोसिस भएपछि नेपालमा सबभन्दा छिटो एनजिओप्लाष्टी गर्ने निर्णय लिएको केशमा तीन दिन लागेको थियो । नत्र
कम्तीमा एक महिना देखि तीन महिना लगाएर मात्रै निर्णय लिएको पाएको छु । कसै कसैको त
रोग डाइग्नोसिस भएपछि पनि एनजिओप्लाष्टी नगरिकनै मृत्यु भएको
दुखद समाचार सुनेको छु । म एक प्राविधिक मात्र हुँ । म केवल रोग पत्ता लगाइदिन
सक्छु, निको पार्न के गर्नु पर्छ भनि बताउँन सक्छु । तर निर्णय त विरामीका
पक्षबाटै हुनु पर्छ । नेपालमा मेरा लागी एनजिओग्राम गर्ने टेवलमै निर्णय लिएर
एनजिओप्लाष्टी पनि गरेको पहिलो केश
तपाइँको मात्र हो । म तपाईँकी श्रीमतीको ठीक समयमा निर्णय लिने क्षमताको प्रशंसा
गर्दछु । मलाई विश्वास छ तपाईँको हेरविचार (Care) पनि उहाँले राम्रोसँग गर्नु
हुनेछ'
भनेर विदाई गर्नु भयो ।
म घर फर्केँ । आफ्नै मुटुको ठूटोबाट दोस्रो जीवन पलाएर
एउटा गमलामा फुलेको फूल भएर घर भित्र फेरि कतै फेरि सजाईएँ जस्तो लाग्यो । घरमा
थुप्रै साथीहरू भेट्न आए । कहिल्यै मेरो घर नआइपुगेका साथीलाई पनि मेरो विरामी
अवस्थाले तानेर ल्याई पु-यायो । विरामी हुँदाको फइदा यो पनि हो जस्तो लाग्यो । एक
हुल वहिनीहरूले भेट्न आउँदा बुद्धको मूर्ती उपहारमा ल्याइ दिएका छन् । शायद अव
शान्त स्वाभावको जीवनतिर लाग्ने संकेत मलाई गरेका होलान् भन्ने अर्थ लगाएँ । हाल
डाक्टरको सल्लाह मुताविक – मासु बन्द, ह्वस्की बन्द,
तारेको-भुटेको खाने कुरा बन्द, धेरै नुनिलो, चिल्लो र धेरै अमिलो-पीरो बन्द गरेर
साधा खाना खाँदै गुजारा गर्दैछु । 'साधा जीवन बाँचेको भए, लगातार शारिरिक अभ्यास नियमित
गरेको भए मलाई यस्तो रोगै लाग्ने थिएन' भनेर आफ्नै गल्तीले गर्दा यत्रो समस्या भएकोमा
बेला-बेला आफैलाई धिक्कार्छु । त्यसो त ससुराली (धरान) बाट पहिले सासुले र सासु
वितेपछि देवी दिदीले पठाइदिएको निख्खुर कोदोको २/४ ग्यालेन रक्सी र एउटा सिंगो धराने
कालो सुँगुरको मासु खाईसके पछि खान छोड्ने मेरो योजना हरेक वर्ष तर्जुमा हुन्थ्यो र
राष्ट्रीय योजना आयोगको कार्यक्रम जस्तै फितलो कार्यान्वयन हुँदै 'रोलिङ प्लान'मा
झैँ 'खान छोड्ने' कार्यक्रम अर्को वर्षको कार्यक्रममा पस्दै आएको पनि चार-पाँच
वर्ष भइसकेको थियो ।
No comments:
Post a Comment