Tuesday, May 3, 2016

आहार, विहार र प्रत्याहार (विक्रम सुब्बा)

म घरको एक्लो छोरो । मैले जे माँग्यो पाउँथेँ । म लुगामा सौखिन थिईन तर खानामा सौखिन । खसीको तारेको (Deep fry) मासु, बँदेल उसिनेको वा करी, उसिनेको अण्डा, माछा तारेको, आदि करिव करिव हरेक दिन खानु पर्ने । तर मादक पदार्थ पिउँन दिईएन । हाम्रो (लिम्बु) गाउँमा भनाई थियो – “तेसै त स्कुल पढ्नेहरू बौलाहा हुन यिनले जाँड-रक्सी पनि खाए भने के होला? तेसैले स्कुल पढ्नेलाई जाँड-रक्सी खान दिनु हुन्न ।“

तर कलेज सकिएपछि, सानो हुँदा खान नदिईएको, चुरोट र रक्सी पनि खान थालेँ । कडा रंगको चिया पनि दिनको ५ कप जति खान्थेँ । चुरोट दिनको २ बट्टा पिउँने । रक्सी हरेक साँझ (मासु, बारा, गेडागुडीसँग) आधा बोतल जति खान्थेँ । लेमन चिया धेरै खान्थेँ । Acidity बढायो । मेरो मुटुको टुप्पा हल्लियो । एकजना (म तेति बेला नेपाली भाषा र सँस्कृती पढाउँथेँ र नेपालमा काम गर्न आएको विदेशी) डक्टरसँग कुरा गर्दा लेमन-चिया छोडेर कफी खाने सल्लाह दियो ।

उनको तर्क थियो – ‘तपाइँले खाने ‘लेमन टी’ को कागती गाउँबाट आउँछ । कागतीको भिटामीन सी १२ घण्टामा ५०% ईभ्यापोरेट भएर जान्छ,  २-३ दिनमा कागतीको दानामा भिटामीन सी सून्य हुन्छ र केबल रहन्छ अमिलो (एसीड) मात्र । तपाइँले बजारबाट किनेर ल्याएको कागती कागतीको किसानले टिपेर कति दिन घरमै राख्छ? कम्तीमा १-२ दिन । उसले होलसेल ब्यापारीलाई बेच्छ र होलसेल वालाले पनि १ दिन जति गोदाममा राखेर रिटेल दोकानतिर पुर्‍याउँछ । तपाइँले रिटेल दोकानबाट किनेर ल्याएर घरमा पनि १ दिन २ दिन त राखेरै खानु हुन्छ । अर्थात तपाइँको चियामा लेमन पस्दा कागती टिपेको ४-५ दिन भइसकेको हुन्छ । यसरी तपाइँले खाने गरेको ‘लेमन टी’ त ‘एसीड टी’ भइसकेको हुन्छ ।‘

मेरा डाक्टर विद्यार्थीको बम्बार्डिङजस्तो तर्कले म ढलेँ, म कन्भिन्स भएँ । तेसपछि कफी खान थालेँ त्यो पनि दिनको ५ कप । दिउँसो कोकाकोला खानै पर्ने । कोकाकोला र कफीको कडा क्याफिनले एक प्रकारको सन्तुष्टि दिन्थ्यो । मुटु हल्लिन त छोड्यो । तर मेरो खान-पिनको काइदाले विस्तारै मेरो शरिरमा रोगहरू पस्न थालेः

१। बढी मात्रामा मासु र रक्सी, कफी, आदिको असरका रुपमा निद्रा नलाग्ने । निद्रा नपुगेपछि भोलिपल्ट दिमागै फ्रेश नहुने । साथीभाइहरुसँग बसेर कुरा गर्दा मेरो दिमाग बोधो र साथीहरूको दिमाग फ्रेश र तिच्छ्ण भएको महशुस हुने र एकप्रकारले भित्रभित्र Inferiority feeling हुने ।

२। मासु र मसालेदार खाना, रक्सिले पाचन प्रणालीलाई असर गरेर कहिल्यै दिशा खलास् नहुने । पेटमा ग्यास भरिने र दिशा खलास् नभएपछि ग्यास शरिरका अंगअंगमा पसेर सोला हान्ने । भुँडी लागेर ६ महिनाको पेट बोकेकोजस्तो देखिने । खेलाडी साथीहरूसँग भेट हुँदा उनको एकदम फीट ज्यानको सामु आफ्नो “भुँडे” जिउ लिएर उभिँदा लाजै लागेर आउँने ।

३। यस्तै शैलीमा जीवन चल्दै थियो । आजभन्दा १२ वर्ष पहिलेको कुरा हो, म ताप्लेजुङ पुगेको थिएँ । मलाई रिंगटा लाग्ने, निद्रा नलाग्ने भयो । चिसोले होला भनेर झन कोदोको तीनपाने रक्सी लोकल कुखुराको झोलसँग खाएँ । हवाईजहाज आएन र एक रात उतै बस्नु पर्‍यो । बल्ल भोलिपल्ट हवाइजहाज आयो र म काठमाण्डु आएँ । सुतेर उठ्ने बेलामा मेरो छातीबाट तातो रगत सरररर जिउभरि बग्दै तल खुट्टातिर झरेको महसुस गरेँ । तातो न तातो भयो । यस्तो कहिल्यै भएको थाहा थिएन । श्रीमती ड्युटी गइसकेकी थिइन् । म ट्वाइलेट जान उठ्न खोज्दा एकातिरको खुट्टा चलेन । ला! स्ट्रोक हान्यो । प्यारालइसिस भयोभनेर म झसंग भएँ । तुरुन्तै ट्याक्सी मगाएर कैलाशसँग Norvic Hospital को Emergency  पुगेँ । जाँच गरेर आधाघन्टा भित्र डा. मेनन गर्खालीको Prescription अनुसार औषधी सुरु भयो । कैलास, जेठी सासुको छोरा, को कुममा समातेर ट्वाइलेट जानु-आउँनु पर्ने अवस्थामा म थिएँ । श्रीमती कामबाट बिदा लिएर Norvic Hospital आइपुगिन् । CT Scan गरेर हेर्दा पत्ता लाग्यो मेरो दिमागमा Stroke हानेकै रहेछ ।

म तीन दिनमै निको भएर घर आएँ । घर आएपछि पो डर लाग्यो । मलाई ताप्लेजुङमै Stroke हानेको भए? हस्पिटल आउँन ढीलो हुने थियो, औषधी गर्न ढिलो हुने थियो र म जिन्दगीभरि प्यारालाइज्ड हुन्थेँ । यसरी स्वस्थ्य स्थितीका बारेमा अनुगमन नगरेको, खानपीनमा लापर्वाही गरेकोमा मैले आफुलाई भित्रभित्र धिक्कारेँ । तेसपछि खानपीनमा होसियार भएँ । तीन तीन महिनामा Blood check up गरेर स्वस्थ्य स्थितीको अनुगमन गरिरहेँ । म छिट्टै निको पनि भएँ । Stroke भएर समयमै Hospital नपुगेका र समयमै डाक्टरले औषधी गर्न नभ्याएका केही मानिस देखेको छु उनीहरू अहिले प्यारालाईज्ड छन् र जीवन नै उनको Physiotherapy गराउँन जन्मेको जस्तो भएकोछ ।

४। विस्तारै दिन बित्दै गए । Stroke को असर विर्सँदै गएँ र पुरानै खाननपीनको शैलीमा फर्केँ । मेरो Blood pressure बढेको यादै भएन । यस विचमा मैले बा-आमा पनि गुमाएँ । दुइ वर्ष पछि एकदिन मेरो छाती दुख्यो । मेरो श्रीमती पनि नर्सिङ प्रशिक्षक भएकोले उनलाई शंका लाग्यो र Emergency जाँउ भनिन् । आफै गाडी हाँकेर हामी Norvic Hospital को Emergency department पुग्यौँ । मेरो ECG पटक पटक गरियो । मलाई Oxygen मा राखियो । मेरो छातीको दुखाइ कत्ति पनि कम भएन । रातभरिमा मर्छु होला जस्तो भयो । बिहान डाक्टर भरत रावत आए र भने Coronary artery मा Blockage हुन सक्छ । मेरो शंका यस्तो छ र Confirm गर्न Angiography गर्ने ।  Angiography गरियो - एउटा Coronary artery मा ९०% र अर्को एउटामा ७०% Blockage देखियो । ९०% Blockage भएकोलाई Angioplasty  गरी Stent (सानो Pipe) राखेर रक्त संचार खोल्ने । अर्कोमा Stent राख्न मिल्दैन त्यसलाई औषधी खाएर गलाउँने भन्ने सुझाव डाक्टरले गरे ।

मैले Angioplasty गर्न चार्ज कति लाग्छ? भनेर सोधेँ । उनले भने २.५ देखि ३ लाख जति लाग्ला । मैले श्रीमती हरिमायालाई हेरेर ईसाराले के गर्ने?’ भनेर सोधेँ । ज्यानभन्दा ठुलो के हो र? Angioplasty गर्ने भनिन् । मैले डाक्टरलाई सोधेँ कति समय लाग्छ? उनले भने ४०-४५ मिनेट । मैले सोधेँ आहिले नै गर्न सकिन्छ? उनले भने - सकिन्छ । मैले ल गरिहाल्नोस् । मेरो Angioplasty भयो । मुटुको सानो Coronary artery मा सानो Pipe लगेर राख्ने काम सिद्दियो । मेरो मुटुको दुखाइ विस्तारै कम हुँदै गयो । ओहो! कस्तो जोखिम? जे होस्, सफलतापूर्वक Angioplasty त भयो तर तेसपछि मन कमजोर हुँदै गयो । खाना जे पायो त्यो खान नहुने । मन भरंग हुन थाल्यो ।

५। अब मलाई शरिरको रोग निको भएपनि मनमा रोग लाग्यो । मलाई सँधै मेरो मुटु कमजोर छजस्तो लागिरहने । केही गर्न आँट नआउँने भयो । मन शरिरमै बसेको हुनाले शरिरमा चोट लाग्दा मनमा पनि चोट लाग्दो रहेछ र मनमा चोट लाग्दा शरिरमा पनि त्यो प्रकट हुँदोरहेछभन्ने कुरा मैले राम्ररी महसुस गरेँ । त्यसैले मनलाई बलियो बनाउँन म १०-१० दिनको विपश्यना ध्यान गर्न (बुढा नीलकण्ठ, मुहान पोखरी) गएँ । तपोवनको ३-३ दिने ध्यान शिविरमा (एउटा शिवीर पोखरा फुलबारी रिसोर्टमा) भाग तीन पटक गएँ । फर्केँ । तर कता कता म झन एक्लो भएको महसुस गरिरहेको थिएँ ।

६। यसै शिशिलामा म मनोविज्ञकोमा पनि गएँ । उनले “मन”लाई कसरी तह लगाउँने? बारेमा ४ शेसनको तालिम दिईन् । त्यस अनुसार गर्ने कोशिष पनि गरेँ । तर पनि मन र शरिरले पहिलेजस्तो संयोजित र सन्तुलित किसिमले काम गरिरहेकोजस्तो लागेन । योगका किताबहरू पढ्न थालेँ । योग गर्न थालेँ । रामदेवको च्यानल हेरेर प्राणायम लगायत योगहरू गर्न थाले । केही फायदा भएकोजस्तो पनि लाग्यो । तर म सन्तुष्ट भईन । विचविचमा डाक्टरसँग स्वास्थ्य जाँच पनि चलिरहेको थियो । डाक्टरलाई मैले निद्रा लाग्दैन भनेँ । उनले Aerobic exercise दिनको १ घण्टा गर्नु भने । मैले गरेँ । त्यसले निकै निन्द्रा लाग्न थाल्यो ।

७। माथी उल्लेखित पृष्ठभुमि र अध्ययनबाट मैले आहार, बिहार र प्रत्याहारले स्वस्थ हुन सकिन्छ भन्ने कुरा थाहा पाएँ । के हुन् त यी आहार”, “विहारप्रत्याहारहरू?

.१ आहारः हामी पाँचवटा (मुख, नाक, कान, आँखा र छाला) ईन्द्रीयहरूबाट आहारग्रहण गर्दछौँ – १) हामी मुखबाट खाना खान्छौँ । तर कत्तिको स्वास्थवर्धक खाना खान्छौँ? यो महत्वपूर्ण कुरा हो । स्वस्थ्वबर्धक खाना आहार हो । अस्वस्थ्य खाना त विष हो । तेसैले खाना खानेहोइन स्वस्थ्यबर्धक खाना खानेहो जसले हामीलाई “ज्यान” हालिदिन्छ; २) नाकबाट पनि हामी सुगन्ध ग्रहण गर्दछौँ । राम्रो फुलको सुगन्ध नाकबाट हाम्रो शरिरभित्र पस्दा मन प्रफुल्ल हुन्छ । यसरी मन प्रफुल्ल पार्ने सुगन्ध पनि आहार हो । यसैको निम्ती मनिसहरू महंगा Perfume हरु किनेर छर्किन्छन्; ३) कान अर्को आहार ग्रहण गर्ने अंग हो । मीठो गीत, मीठो बोली, मायालु कुरा आहार बनेर कानबाट भित्र पस्छन् र हामीलाई खुशी पार्छन् । यही मीठो आहार लिन मानिस नारायण गोपाल या अरुणा लामाको गीत सुनेर ग्रहण गर्छन् र सन्तुष्ट हुन्छन्; ४) अब आँखाको कुरा गरौँ । आँखाले सुन्दर उपत्यका, सुन्दर हिमाल, सुन्दर मानिस, सुन्दर युवती, सुन्दर फुल, सुन्दर मन्दिर, आदि देख्दा मन कस्तो रमाउँछ । यही सौन्दर्य हेर्नको निम्ती त मानिसले पर्यटन उध्योगै चलाएर करोडौँ कमाइरहेछन् । किन? किनभने मानिसलाई आँखाबाट खाएर प्रफुल्लित पार्ने सुन्दरता आहारका रुपमा  चाहिन्छ; ५) तेसत्, छालाबाट वा स्पर्सद्वारा कस्तो आहार ग्रहण गरिन्छ? जस्तैः आमाको न्यानो स्पर्सबाट बच्चाले मायाको आहार ग्रहण गर्दछ । तेस्तै प्रेमी-प्रेमीकाहरु सुम्सुम्याएर वा ओँठले ओँठमा (स्पर्स) चुमेर अतुलनिय माया साटासाट गर्छन् र दंगदास हुन्छन् । तेस्तै जाडो महिनामा न्यानो घामको स्पर्सले कस्तो राम्रो आहार बनेर हाम्रो जिउमा पसिदिन्छ ।

.२ विहारः मानव शरिर पनि एक प्रकारको यन्त्र हो । यो शरिर स्नायु प्रणाली, स्वासप्रस्वास प्रणाली, अस्थीपञ्जर प्रणाली, मांशपेसी प्रणाली, पाचन प्रणाली, आदि सबैको संयोजित सन्तुलनमा चलेको हुन्छ । यिनलाई नियमित रुपमा चलायमान बनाएर राखे यी ठिकठाक चल्छन् । चुपचाप राखे यीनमा जाम लाग्छ र नचल्ने हुन्छन् । यिनै प्रणालीहरूलाई जाम हुन नदिनका निम्ती Morning walk गर्ने, Aerobic exercise गर्ने, Dance गर्ने, Yoga गर्ने, Pranayam गर्ने, Game हरू खेल्ने, Zumba dance, आदिगरिन्छ । अर्को कारण, हाम्रो शरिरमा Cell हरू बन्ने र मर्ने काम निरन्तर चलिरहन्छ । मरेको Cell हरू शरिर बाहिर निस्कने माध्यम भनेको पसिना, दिशा, पिसाब, राल, सिँगान, थुक, आँशुहरू हुन् । Zumba dance या Aerobic dance गर्दा पसिना-पसिना भइन्छ । मतलब, शरिर भित्रका Dead cell हरू पसिना मार्फत बाहिर निस्कन्छन् र जीउ दुख्न, बोधो हुन कम हुन्छ, जीउ फर्तिलो हुन्छ । तर, बेस्सरी Zumba dance गरिरहेकोछ मनमा भने आज राती फलानोलाई काटेर मार्नु छ”, “आज बैँक लुट्नु छजस्ता या अनेक Negative thoughts मनमा राखेर Zumba dance गर्दा वा Morning walk गर्दा त फाइदा हुन्न । तेसैले Zumba dance वा कुनै पनि शारिरिक अभ्यास गरिरहँदा मनमा पनि Positive कुराहरु सोच्ने गरे मात्र फायदा हुन्छ ।

.३ प्रत्याहारः जब शरिरमा आहार पुग्छ, बिहार पनि राम्रोसँग हुन्छ तब शारिर स्वस्थ्य बन्छ । तर स्वस्थ्य मानिस त्यो हो जो शारिरिक, मानसिक र सामजिक रुपमा पनि स्वस्थ्य हुन्छ ।अर्थात आहार र बिहार सपारेपछि मनलाई ठीक ठाउँमा राख्ने काम पनि सचेतनतापूर्वक गर्नु पर्दछ । किनभने हाम्रा कर्महरू (बोल्ने, पक्रने, घुम्ने र सन्तानोत्पादन गर्ने कार्य) गर्दा मनलाई नियन्त्रण गर्न सकिएनभने समाजमा बेइज्जत हुन्छ । जस्तै; मनमा लागेको जे जे छ त्यो खर्लक्कै बोल्ने हो भने धेरै मानिसले हामीलाई मन पराउँदैनन्, कुनै लोग्ने मानिसले महिलाहरूलाई जहाँ पायो त्यहाँ मनपरी पक्रन थाले के होला? उचित बाटो पत्तो नलगाई जता पायो त्यतै घुम्न थाले कहाँ पुगिएला? मन लाग्यो भन्दैमा जोसँग जहाँ पायो त्यहाँ सहवास गर्ने वा सन्तानोत्पादन गर्ने कार्य खुला सडकमा गर्न थाले के होला? अर्थात, मनले त के के भन्छ भन्छ? के के अराउँछ अराउँछ? तर सामाजिक रुपमा पनि ठीक तथा साँस्कृतिक रुपले स्वीकार्य हुने गरी, ईज्जत-बेइज्जत ख्याल गरेर वा छानेर मात्र मनले भनेको/अराएको कामलाई कार्यान्वयन गर्नु पर्दछ । मनलाई हामीले दाश बनाए सुख पाइन्छ र मनको हामी दाश भए दुःख पाइन्छ । यसरी ईन्द्रियहरूलाई नियन्त्रणमा राखेर मनलाई पनि स्थिर या सन्तुलनमा राख्ने काम नै प्रत्याहार-अभ्यास हो । भनिन्छ मानव शरिर एउटा रथ हो जसलाई पाँच ईन्द्रियहरूले सन्चालन गर्छन् । तर यी पाँच इन्द्रियहरूलाई पनि मनले सन्चालन गर्दछ । मन ठीक भए नै पाँच ईन्द्रियहरूलाई पनि ठीक-ठीक, राम्रो-असल आदेश दिने भयो । यसरी मनलाई ठीक गर्नु नै प्रत्याहार हो । त्यसको विपरित काम, क्रोध, लोभ, मोह र घमण्ड जस्ता मानव शरिर भित्रै बसोबास गरिरहेका हाम्रा दुश्मनहरुले मनलाई कब्जा गरेभने र उनले अराए-खटाएजस्तो गर्न थालियो भने बर्वादी सुरु भईहाल्छ । तर कसरी दुस्मनतिर लाग्न नदिने त?

निचोडः 
१)      मनमा काम, क्रोध, लोभ, मोह र घमण्डले घरजम गर्न लागे मनलाई टाढा लैजाने । जस्तैः कुनै युवतीलाई देखेर काम जाग्यो भने तुरन्तै कुनै खेल खेल्ने वा पुस्तक पढेर मनलाई यूवतीबाट टाढा लैजाने प्रयास गर्ने ।

२)      कुनै ईन्द्रिय लालची हुन थाले त्यसको दोषहरू केलाउँने । जस्तैः तपाइँलाई चिनी रोग छ र मिठाई खान मन लाग्योभने मिठाई खाएपछि चिनी झन बढछ र मेरो रोग निको हुँदैनभन्ने तथ्यहरूका बारेमा सोच्ने जसले गर्दा मिठाई खाने लालच घटेर जान्छ ।

३)      ईन्द्रियहरूलाई बसमा राख्ने शक्तिशाली उपाय प्रणायाम र Zumba जस्ता शारिरिक अभ्यासहरू पनि हुन् । प्राणायाम या शारिरिक अभ्यास गरेपछि मन शान्त हुन्छ र शान्त मनले ईन्द्रियहरूलाई चंचल हुनबाट रोक्दछ ।


४)      प्रत्याहारको सबैभन्दा शक्तिसाली साधन वैराज्ञहो । वैराज्ञ भन्नाले कुनै पनि कुरामा लम्पट भएर नलाग्ने । खाना चाहिन्छ तर भनेकोजस्तो खाना नपाए मरुँला झैँ नगर्ने । पैसा चाहिन्छ तर आफुसँग पैसा छ भन्दैमा घमण्डी नहुने । आफुलाई माया गर्ने पति या पत्नी चाहिन्छ तर बिना म बाँच्नै सक्दिन भन्ने नसोच्ने । कुनै काम आफुले चाहेको जस्तो भए राम्रो हो तर भएन भने जिन्दगी नै वर्वाद भएकोजस्तो गरी नरिसाउँने । यी काम कठीन होलान तर अभ्यास गरिरहे संभव हुन्छ । अस्तु ।

No comments:

Post a Comment