Tuesday, May 3, 2016

गाईको उत्पती र महत्व (विक्रम सुब्बा)


फ्रान्स, जर्मनी, बेलायत र ईरानका गाईहरूको Genetic study बाट के पत्ता लागेकोछ भने १० हजार ५ सय वर्ष अघिको जंगली गोरूका सन्तानहरू नै अहिलेका गाईवस्तु हुन् (Duncan Geere, Wired UK) । अहिले हराइसकेको (UN ले Estimate  गरे अनुसार १.४ बिलियन वर्ष अघी), गाईको जातको नाम "आउरोच" थियो जुन यूरोप र एशियाका भूभागमा घुमफिर गर्दथ्यो । पुरातात्विक उत्खननहरूबाट पनि अहिलेको एशिया र यूरोपमा पाईने गाईको पूर्खा एउटै थियो भनेर साबित भइसकेकोछ । अर्थात, तिनै जंगली गाईहरूलाई घरेलु (Domesticated) गाई बनाईएक हुन् ।

हिन्दु (भारत र नेपालका केही) समाजमा गाईलाई अन्न-उत्पादनको स्रोत र जीवनदाताको प्रतिकका रुपमा लिईन्छ र "गाईलाई मार्नु पाप हुन्छ" भनेर मान्यता स्थापित गरिएकोछ । गाईलाई पवित्र जनावरका रुपमा पनि श्रद्धा र पुजा गरिन्छ । तर भारत र नेपालमा अहिले हेर्दा तिनै गाईहरु सबैभन्दा अपहेलित पनि देखिन्छन् । बरू भैँसीहरु सुकिला र चिल्ला बनाएर पालिएका देखिन्छन् ।

भारतमा "पवित्र" गाई: प्राचीन कालको भारतमा गाई र गोरूको बली चढाएर देउताको पुजा गर्ने र मासु खाने गरिन्थ्यो  । तर तेतिखेर पनि दुध दिँदै गरेकी दुहुना गाई "मार्न" मनाही थियो । ऋगवेदमा गाईलाई "देवी"का रुपमा देउताहरूका आमा 'अदिती'ले पहिचान गरेको कुरा उल्लेख छ । तर पछि जैन र बुद्ध धर्म सुरुभएपछि "हिन्दु"हरूले गाइको मासु खान छोडेको देखिन्छ । केही विद्वानहरू 'साकाहारी जैन धर्म सुरु भएपछि नै गाइको मासु खानु नहुने' चलन सुरु भएको पनि भन्छन् ।

कुनै जमानामा ब्राह्मभणलाई सबैभन्दा उपयुक्त उपहारको रुपमा गाई दिईन्थ्यो । यही प्रचलनसँगै 'गाई मार्नु भनेको ब्राह्मण मार्नु जत्तिकै पाप हो' भन्ने विश्वासलाई पनि अघि बढाईयो । यो अवधारणालाई श्री कृष्णको कथाहरूमा धार्मिक रुपले "पवित्र गाई" भनेर झन मलजल गरेर मानिसका मन-भावनामा सँस्थागत गरियो ।

तेसो त गाईलाई "आदर" गरेकोले अहिले पनि भारत र नेपालको गाउँ गाउँमा र धेरै गरीबका घरमा समेत एउटा सम्म भएपनि गाई पाल्ने चलनछ । जसले त्यस घरको गरिबी घटाउँन सघाएकोछ । जस्तै: एउटा गाईले  बालबालिका र सबै घर-सदश्यलाई, पञ्चगाभ्य (Five products) १। दूध, २। दही-मोही, ३। घ्यू ४। गोबर(मल), र ५। गउँत प्रदान गर्दछ । अर्थात एउटा गाईबाट यतीधेरै आवश्यकताको (बालबालिका र वृद्धवृद्धा लगायत सबैलाई पोषण पुग्ने; पुजामा दीयो बाल्ने घ्यू पाईने; खेतबारीमा हाल्न मल पाईने; (हिन्दुहरूका निम्ती त) सुध्द हुन गौमुत्र पनि पाइने) पूर्ति गर्ने भएर नै एउटै गाई बहुआयामिक स्रोत बन्यो जसको महत्वलाई बोध गरेर गाईलाई विशेष आदरसाथ हेरिन थाल्यो । हुन पनि गाउँघरमा थोरै लगानी गरेर धेरै फायदा दिने प्राणी गाई नै हो । यही कुरालाई ध्यानमा राखेर गाईलाई लक्ष्मी (धनसम्पती)को पर्यायका रुपमा हेरिन थाल्यो र कालान्तरमा लक्ष्मीको रुपमा पुज्न पनि थालियो ।

चलन भनेको चलनै हो । मानिसले सुरु गरेको त हो । अचम्म पनि लाग्छ । हिन्दुहरूले पनि धेरै पछि सम्म गाईको मासु खाने गरेको रेहछ । यो कुरा बारे प्रमाणहरू निम्नानुसार छन्:

१। ऋगवेद हेर्ने हो भने ब्राह्मणहरूले जंगलमा तपस्या गर्न बस्दा 'गाईको मासु र जौको भात' खाने गरेको देखिन्छ । तेतिखेरका देउताले पनि गाईको मासु खाएको प्रशंग वेदमा पाइन्छ । जस्तै: १) "ईन्द्रले गोरु खान्छ"(ऋगवेद; दशौँ पुस्तक: स्तुती ८५ र श्लोक १३); २) "ईन्द्रले भने – मेरा निम्ती पन्द्र गोरु र बिसवटा गाई काटेर मासु पकाएका छन् । ताकि मैले बोसो पनि खान सकौँ । खापछि मेरो पेटको दुबै तिर पूर्णरुपमा भरियो ।" (ऋगवेद; दशौँ पुस्तक: स्तुती ८६ र श्लोक ७) ।  तर गाईको आर्थिक महत्व हुन थालेपछि धर्मको आडमा गाइको संरक्षण सुरु गरियो । किनभने तेतिखेर सरकारी नियमभन्दा धार्मिक नियम शसक्त हुने गर्दथ्यो ।

२। तेस्तै प्रसंग उपनिशदमा पनि पढ्न पाईन्छ । जस्तै: "जसले म जस्तो नामी र ज्ञानी, सभा सम्मेलनमा उपस्थित हुँदा सुहाउँने, मानिसले सुन्न चाहेको जस्तै बोल्ने, वेद कंण्ठै गर्ने र लामो आयु बाँच्ने छोरा जन्माउँन चाहान्छ उसले कलिलो गोरुको कमलो मासु र भात श्रीमतीसँगै घ्यूमा मुछेर खाओस् तेसपछि म जस्तै सन्तान जन्माउँनेछ ।" (ब्रहदरण्यक उपनिसद छ – ६; खण्ड ४; मन्त्र १८)।

३। महाभारतमा पनि यस्तो प्रसंग पाइन्छ । जस्तै:

युधिष्ठिर र पितामह भिष्मका विच छलफल चल्दा पितृलाई के खानेकुरा श्राद्धमा चढाए पितृहरु सन्तुष्ट होलान्? भन्ने कुरा आउँछ । र जवाफमा भिष्म भन्छन् – "मेरो कुरा सुन, पितृको स्राद्ध गर्दा जे जे खाने कुरा चढायो सोही अनुसार पितृलाई फल प्राप्त हुनेछ । जस्तै: "तीलको बिजन, भात, जौ, पानी र फलफुल चढाए पितृहरु १ महिना सन्तुष्ट रहनेछन् । यसैमा माछाको परिकार पनि थपेर पितृलाई चढाए २ महिना सन्तुष्ट रहनेछन् । भेडाको मासु चढाए ३ महिन सन्तुष्ट हुनेछन् । खरायोको मासुसँग खाना चढाए ४ महिना सन्तुष्ट हुनेछन् । बोकाको मासुसँग खानेकुरा चढाए ५ महिना सन्तुष्ट रहनेछन् । सुँगुरको मासुसँग खानेकुरा चढाए ६ महिना सन्तुष्ट रहनेछन् । चराको मासुसँग खानेकुरा चढाए ७ महिना सन्तुष्ट हुनेछन् । पृशात नामक हरिणको मासुसँग खानेकुरा चढाए ८ महिना सन्तुष्ट रहनेछन् । रुरुको मासुसँग खानेकुरा चढाए ९ महिना सन्तुष्ट हुनेछन् । गाभानाको मासुसँग खानेकुरा चढाए १० महिना सन्तुष्ट हुनेछन् । यदि राँगाको मासुसँग खानेकुरा चढाए ११ महिना सन्तुष्ट हुनेछन् भने गाईको मासुसँग खानेकुरा स्रद्धापूर्वक चढाए पुरै १ वर्षभरि सन्तुष्ट हुनेछन् ।"

"पभास गाईको मासु र घ्यू मिसाएको परिकार अत्यन्तै स्वादिष्ट हुन्छ । भद्रीनास नामक गोरुको मासु चढाए पितृहरू १२ वर्ष सन्तुष्ट रहनेछन् । स्राद्धका दिन पितृलाई गैँडाको मासु वा रातो बोकाको मासुसँग कलस्क नामक फुलका पत्ती चढाए उनीहरु अजम्बरी हुनेछन् । अर्थात, तिमी तिम्रा पतृलाई अजम्बरी भएर रहिरहोस् भन्ने चाहन्छौ भने रातो बोकाको मासु स्राद्धका दिन चढाउँनु ।" (महाभारत अनुशासन पर्व भाग ८८)

स्रोतहरू:
1.        Duncan Geere, Wired UK; Origin of Modern Cows Traced to Single Herd
2.       John Bowker, ed., Oxford Concise Dictionary of World Religions (2000).
3.       "sanctity of the cow." Encyclopædia Britannica (2007). Encyclopædia Britannica Online.
4.       The Complete Idiot's Guide to Hinduism, p. 60.
5.         "Why is the Cow 'Sacred?'" by "Jane (USA)" at Indiayogi.com


No comments:

Post a Comment