Tuesday, May 3, 2016

यो अवस्था पनि बितेर जानेछ (अनु. विक्रम सुब्बा)

कुनै जमानामा एक साहसी राजा थिए । उनले एकदिन आफ्नो राज्यका सबै बुद्धिजीवीलाई बोलाएर सोधे– “जस्तोसुकै अवस्थामा, जहाँसुकै र जहिले पनि कामलाग्ने, खुसीमा होस् वा दु:खमा, हारमा होस् वा जितमा जहिले पनि काम लाग्ने, सबै किसिमका प्रश्नको जवाफ हुन सक्ने तिमीहरू कोही नभएका बेला पनि मलाई सल्लाहकारझैँ सल्लाह दिन सक्ने गजबको कुनै एक मन्त्र छ ? मलाई त्यो चाहियो ।
राजाको निर्देशन सुनेर सबै बुद्धिजीवी अलमलमा परे । राजाको हुकुमअनुसार सबै बुद्धिजीवीहरू बसेर सोच्न र छलफल गर्न थाले । सोच्दासोच्दै हैरान भएको बेला एकजना अनुभवी तथा पाको मानिसले एक उपाय सुझाए जो सबै बुद्धिजीवीका लागि मान्य भयो । सो कुरा एक कागजको टुक्रामा राम्रोसँग लेखियो । त्यसपछि, उनीहरु राजाकहाँ गएर कागजमा लेखेको कुरा राजालाई दिँदै भने– “यो कागजमा लेखिएको एउटा शक्तिशाली मन्त्र छ, जुन राजाले खोजेजस्तै छ तर एकदमै आपत परेका बेलामा मात्र यसलाई खोलेर हेरे काम गर्छ । जहिलेसुकै जतासुकै खोलेर हेरे मन्त्रले काम गर्दैन ।
राजाले कुरा स्वीकार गरे र मन्त्र लेखिएको कागजको टुक्रा आफ्नो हिराको औँठीको भित्रपट्टि राख्ने ठाउँ बनाएर राखे ।
केही समयपछि छिमेकी मुलुकबाट आक्रमण भयो । राजा र उनका सेनाले बहादुरीका साथ लडे । तर अन्त्यमा छिमेकी राजाका सेनाले पेल्दैपेल्दै ल्याएकाले ज्यान बचाउन भाग्नुपर्ने स्थिति आयो । राजा घोडामा केही सेनासहित भागे । भाग्दाभाग्दै राजा पहाडी जंगलको गिद्दे पहरानजिक पुगे जहाँबाट अघि जाने बाटो नै देखिएन र पछि हटे दुश्मनको फेला परिने डर थियो । राजालाई के गरौँ र कसो गरौँ भयो । अब राजालाई आफ्नो अन्तिम दिन आएछ जस्तो लाग्यो ।
यसैबेला राजाले आफ्नो औँठीमा लुकाएर राखेको शक्तिशाली मन्त्रको कुरा झल्याँस्स सम्झे र खोलेर हेरे । कागजमा छोटो हरफ (मन्त्र) लेखिएको रहेछ– “यो अवस्था पनि बितेर जानेछ ।
राजाले त्यो मन्त्र पटक पटक पढे र मनमनै भन्न थाले– ‘हो त नि ! यो अवस्था पनि बितेर जानेछ । भर्खरै केही दिन अघिसम्म म मेरो दरबारमा मोजमस्ती गरिरहेको थिएँ । म सर्वशक्तीमान थिएँ । तर अहिले यत्तिबेला ती सब मसँग केही छैनन् । बरू म दुश्मनहरुबाट कसरी ज्यान जोगाउने भनी चिन्ता र आपतमा छु । तर मलाई लाग्छ जसरी मेरा मोजमस्तीका समय गुज्रेर गए त्यसरी नै यो मेरो आपतकालीन समय पनि बितेर जानेछ ।
यस्तो सोचेपछि राजाको अनुहार शान्त भयो । राजाले आफ्ना केही सेनासँग त्यहीँ उभिएर वरिपरिका सुन्दर दृश्यहरू हेर्न थाले । त्यति राम्रो प्राकृतिक दृश्य आफ्नै राज्यमा छ भन्ने कुरा उनले पहिले कहिल्यै सोचेका पनि थिएनन् ।
यसरी त्यो कागजको टुक्रामा लेखिएको सन्देश (मन्त्र)ले राजाको मनलाई धैर्य धारण गर्न अदभूत काम गरिदियो । जसले गर्दा राजाले आफ्ना दुश्मनहरूले आफूलाई पछ्यारहेको बारे चिन्तै नलिई आनन्दसँग रहन सके । केहीबेर पछि कान लगाएर सुन्दा दुश्मनहरूको हल्लाखल्ला सुनिएन । हेर्दै जाँदा दुश्मनहरु कतै देखिएनन्, ती अर्के बाटोतिर लागिसकेछन् । आपतकालीन समय बितेर गयो र राजाको ज्यान जोगियो ।
राजा एकदमै साहसी किसिमका थिए । त्यसैले उनले फेरि आफ्नो सैन्य शक्ति बढाएर दुश्मनहरुसँग युद्ध गरेर जिते र आफ्नो राज्य फिर्ता गरे । युद्ध जितेर फर्कंदा राजधानीमा सबै जनताले उनको भव्य स्वागत गरे । मुलुकभरि सबै खुसी भए । जनताले राजालाई फुलमाला अबिरले पुरेर गाउँदै-नाच्दै खुसी व्यक्त गरे । राजाले मनमनै भने, ‘म एकजना बहादुर राजा हुँ । मलाई कसैले जित्न सक्दैन ।
तर त्यतिनै बेला आफ्नो औँठीभित्रको मन्त्र सम्झे– “यो अवस्था पनि बितेर जानेछ ।
त्यसपछि राजा झसङ्ग भए र फेरि शान्त भए । युद्धमा पाएको जितले उनको घमण्डभरिएको अनुहार विस्तारै नम्रमानिसको अनुहारमा परिणत भयो । राजाले निचोड निकाले– ‘यदि कुनै कुरा बितेर जान्छ भने यो त मेरो आफ्नो होइन । अर्थात हारपनि मेरो होइन । जितपनि मेरो होइन । म त सिरिफ दर्शकपो रहेछु । मैले हेर्दाहेर्दै सबै कुरा बितेर जाने रहेछन् । ओहो! म त सिरिफ दर्शकमात्र रहेछु, सिरिफ साक्षीमात्र रहेछु । जीवनपनि आउने र बितेर जाने रहेछ । सुखपनि आउने र बितेर जाने, ‘दुखपनि जीवनमा आउने र समयसँगै बितेर जाने रहेछ ।
लेखक:   अज्ञात ।
===
प्रिय पाठक,
यो कथा पढिसकेपछि एकचोटि चुपचाप बसेर आफ्नो जीवनको समीक्षा गर्नोस् । तपाईंको जीवनमा कति सफलता र असफलता आए र समयसँगै बितेर गए ? तपाईंको जीवनमा पनि कति सुख-दु:ख आए र समयसँगै बितेर गए ? सफलता, असफलता, सुख, दु:ख सबै क्षणिक त रहेछन् नि ! ती सबै आउँदारहेछन् र समयसँगै बितेर जाँदारहेछन् ।
जन्मेपछि, जीवन कुनै न कुनै किसिमले बितेर जाने नै रहेछ । दुनियामा सबै कुरा अनित्य रहेछन्, सबै कुरा परिवर्तनशील रहेछन् । तपाईं आफ्नै ढंगले यो कुरा मनन् गर्नोस् । तपाईंले पनि थुप्रै परिवर्तन देखी सक्नुभएको छ । तपाईंले कति धोखा खाए पनि, असफलता सामना गर्नु परे पनि वा दु:खकष्ट झेल्नु परे पनि गुजारा गरेरै आउनुभएको छ । हाल विद्यमान तपाईंको जीवनको समस्या छ भने पनि समयसँगै बितेर जानेछ । किनभने यो संसारमा कुनै पनि सुख वा दु:ख सदा सदाका निम्ति हुन सक्दैन । जवानी र प्रौढता, वैभव र गरिबी, हाँसो र रुवाइ, सुख र दु:ख जीवनका दुइ पाटा हुन् । कहिले कुन पल्टिदिन्छ कहिले कुन ? यी दुबैले बेला बेला आफ्नो अनुहार देखाउँछन् तर बलवान समयले दुवैको अनुहार खोसेर लैजान्छ । हामी त केवल परिवर्तनका साक्षीमात्र हौँ ।

त्यसैले वर्तमानलाई अनुभूत गर्नोस्, त्यसलाई ठिक ढंगले बुझ्नुहोस् र उचित किसिमले भोग्नुहोस् । आत्तिने वा मात्तिने वा घमण्ड गर्ने वा लघुताभासमा जिउने कुनै कारण छैन । किनभने यो वर्तमान पनि हेर्दाहेर्दै खोलाको पानीझैँ निरन्तर बगेर गइरहेछ । सायद वर्तमान भन्ने कुरा पनि हुन्न । किनभने आँखा झिमिक्क गरिसक्ने बित्तिकै मैले आँखा झिमिक्क गरेँभनेर भूतकालमा बोल्नुपर्छ ।

No comments:

Post a Comment