Tuesday, May 3, 2016

विश्वका १२ अति जातिवादी मुलुकहरू (अमेरिकादेखि भारतसम्म) (अनु. विक्रम सुब्बा)

मानव सभ्यता अनेक कठिनाइ पार गरेर यहाँसम्म आइपुगेको छ । युद्ध भन्नोस्, खतरनाक रोगहरू भन्नोस्, प्राकृतिक प्रकोपहरू भन्नोस्, मानव सृजित प्रकोपहरु भन्नोस् अनेकौँ विपत्तीहरूसँग जुझेर ती सबैबाट नष्ट हुनबाट आफूलाई बचाएर मानव सभ्यता यहाँसम्म आइपुगेको हो । यहाँसम्म आइपुगेर पनि संसारभरिका अनेक निकायले शान्तिको सन्देश फैलाउने काम निरन्तर गरे पनि आज दुनियाँमा बलात्कारका घटना घटिरहेछन्, मानिसले नै मानिसलाई हत्या गरेको गरेकै छ, जातिवादमा आधारित द्वन्द्व जताततै फैलिएको छ, यौनजन्य अपराध जताततै भइरहेछन्, मुलुक-मुलुकहरूका वीच हतियारबन्द युद्धहरू भइरहेका छन् ।
यी अनेक अमानवीय मानव-व्यवहारमध्ये जातिवाद एउटा यस्तो निकृष्ट व्यवहार हो जसलाई मानिस भएर सहनै सकिन्न । जातिवादमा एउटा जातका मानिसले अर्को जातका मानिसलाई पूर्वाग्रही नजरले हेर्छन् र भेदभव गर्दछन् । यस्ता जातिवादी व्यवहार पहिलेभन्दा धेरै कम हुँदै गएको छ तर पनि अझै जताततै जातिवाद व्याप्त चलिरहेछ । यहाँ दुनियाँमा सबैभन्दा बढी जातिवादका आधारमा चलिरहेका १२ मुलुकहरूका बारेमा पेश गरिन्छ : 
१) भारत: भारत जातजातिका हिसाबले विविधतायुक्त मुलुक त हुँदै हो तर संसारको सबैभन्दा बढी जातिवादी मुलुक पनि हो । भारतमा जन्मेको बच्चालाई कुनै पनि गोरोछाला भएको मानिसलाई गोरा साहिबभन्दै पूजा गर्न सिकाइन्छ भने कालोछाला भएको मानिसलाई कुकुरजति पनि महत्व नदिने कुरा सिकाइन्छ । यसरी बच्चैदेखि पत्तैबिना भारतीयहरू कालाछाला भएका (अफ्रिकन) मानिसका विरुद्ध जातिवादिका रुपमा हुर्किन्छन् । कुनै सेतो छाला भएको पर्यटक आयो भने भगवानजस्तै व्यवहार गरिन्छ भने उत्तिकै बिल तिरेर होटलमा बस्ने अफ्रिकनलाई छि:छि: दुरदुर गरिन्छ ।

भारतभित्रका फरक फरक जातिहरूका बीच पनि जातिवाद चल्छ । जस्तै: मराठीहरूले बिहारीहरूलाई जातिका आधारमा बेस्सरी हेप्ने गरेको पाइन्छ । तर अचम्म ! भन्न चाहिँ अतिथी देवो भव (पाहुनालाई देउताजस्तै सत्कार गर)भन्छन् । भारतले नेपाली, बांगलादेशी, पाकिस्तानी, थाई, चाइनिज, श्रीलंकन, बर्मेली लगायत सबैलाई हेपेर हेर्ने दृष्टिकोण राख्छन् र भेदभावपूर्ण किसिमले व्यवहार गर्छन् ।
२) पाकिस्तान: पाकिस्तान एक मुस्लिम मुलुक हो । तर मुस्लिम नै भए पनि सियासुन्नीसमुहका बीच एकअर्कालाई घृणाको दृष्टिले हेराहर गर्ने गर्दछन् । यो एकअर्कालाई घृणा गर्ने चलन युगयुगदेखि चलेर आइरहेछ र यसमा सुधार ल्याउन कसैले प्रयास गरेको पनि छैन । जसले गर्दा सियासुन्नीका नाममा अनेक झडप-झगडा-मारामार गर्ने आपराधिक घटना निरन्तर भइरहन्छन् ।

यसका साथै पाकिस्तान जहिल्यै भारतसँग युद्ध गरिरहन्छ जुन संसारका सबैलाई थाहा छ । पाकिस्तानमा भारतीयपाकिस्तानीभनेर पनि जातीय दंगाहरु बेलाबेला भइरहन्छन् । यसका साथै पाकिस्तानमा अफ्रिकन, ल्याटिन अमेरिकनहरूलाई पनि जातिवादी किसिमले नराम्रोसँग घृणा र भेदभाव गरिन्छ ।
३) रसिया: रुसमा अझै पनि अन्धराष्ट्रवाददेशभक्तिको भावना जताततै देखिन्छ । जसले गर्दा रुसीबाहेकका अन्य जातिप्रति रुसीहरू भेदभाव गर्ने गर्दछन् । जस्तै, रुसीहरु अहिले पनि अफ्रिकन, एसियन, ककेसियन र चाइनिजप्रति भेदभावपूर्ण दृष्टि राख्दछन् । सुरुसुरुमा यी विभेद भावनात्मक रुपमा हुन्छन् र विस्तारै घृणामा बदलिन्छन र अनेक किसिमका अपराधको रुप समेत लिने गर्छन् । रुसी सरकार र संयुक्त राष्ट्रसंघले यस किसिमको जातिवादलाई रोक्न अनेक प्रयास गरेको हो तर अझै पनि जातिवादी अपराधका घटनाहरु दूरदराज गाउँहरु लगायत शहरहरूमा पनि घटिरहेका छन् ।

४) इजरायल: इजरायल यस्तो मुलुक हो जो धेरै लामो समयदेखि विवादमा छ । यसको कारण इजरायलले प्यालेष्टानी जनताविरुद्ध गरेको अपराधले गर्दा नै हो । दोस्रो विश्वयुद्धपछि यहुदीहरूका निम्ति एउटा देशको जन्म दिइयो र त्यस जमिनमा बसोबास गरिरहेका मानिसहरू आफ्नै जमिनमा शरणार्थी भए । जसले गर्दा इजरायल र प्यालेष्टाइनबीच जातिवादमा आधारित द्वन्द्व सुरु भयो र आजपर्यन्त युद्ध कायम छ । अहिले इजरायलले प्यालेष्टानीहरुलाई हेला गरेको र भेदभाव गरेको जोसुकैलाई थाहा भएको कुरा हो ।

५) जर्मनी: यदि तिमी अरुलाई घृणा गर्छौ भने तिम्रो लागि पनि घृणा नै फलिफाप हुनेछभन्ने कुराको ज्यूँदो उदाहरण जर्मनी हो भनिन्छ । हिटलरले शासन गरेको धेरै वर्ष बितेर गए पनि अहिले पनि जर्मनी संसारको सबैभन्दा जातिवादी मुलुकमध्ये एक भनेर चिनिन्छ । जर्मनहरूको मन, भावना र व्यवहारमा अहिले पनि विदेशीहरूका निम्ति घृणा गर्ने नै छ र अहिले पनि जर्मनहरूमा आफूलाई संसारको सबैभन्दा उच्च जात र तीक्ष्ण बुद्धिवालाहौं भन्ने सुपेरियोरेटी कम्प्लेक्स छ ।

यसरी हेर्दा हिटलरको भौतिक शरीर त मर्‍यो तर उसको अवधारणा अझै जीवित छ र यस्तो भावना बोकेका जर्मनहरूलाई नवनाजी” (Neo-Nazi) भनेर पनि चिनिन्छन् । यी नवनाजीहरू अहिले पनि भूमिगत रुपमा यहुदीविरोधी गतिविधि गर्दछन् । यिनीहरू अझै पनि कुनै दिन नाजीहरूको शासन फर्किनेछ भन्ने कुरामा विश्वास गर्दछन् । जर्मन सरकार र संयुक्त राष्ट्रसंघ मिलेर जातिवादविरोधी धेरै काम गरे पनि यी नव-नाजीवादीहरू भूमिगत रुपमा अझै सक्रिय रुपमा आफ्ना गतिविधि सन्चालन गरिरहेछन् ।
६) जापानः जापान अहिले धेरै विकसित भएको मुलुक भनेर चिनिन्छ । तर, जापान वास्तवमा अझै पनि अन्धराष्ट्रवादी (Xenophobic) मुलुक पनि हो जुन भावनाले गर्दा जापानलाई धेरै वर्ष पछि धकेलेको छ भनिन्छ । त्यसो त जापानको कानुनले अन्धराष्ट्रवाद, जातिवाद, भेदभाव जस्ता कुराहरूलाई गैरकानुनी रुप दिइसकेको छ । तर, सरकार आफै नै सकारात्मक विभेदभनेर विभेदपूर्ण काम गरिरहेको हुन्छ ।

जापानीहरू विदेशी र शरणार्थीहरूलाई हेर्ने सक्दैनन्, फिटिक्कै सहँदैनन् र जहिले पनि हेला-विभेद गर्ने गर्दछन् । जापानी सरकार मुस्लिमहरू जापान पस्न नपाऊन् भनेर विशेष सतर्क रहने गर्दछ । जापानीहरुको विचारमा मुस्लिम र जापानी संस्कार-संस्कृति मिलेर बस्न सक्दैनन् । यस किसिमको समाज-भँडुवा विचार अहिले पनि जापानमा कायमै रहेको छ ।
७) रुवान्डाः रुवान्डामा भएको सन् १९९४ को आमसंहार मानव सभ्यताको इतिहासकै डरलाग्दो, लाजलाग्दो र मानवविरोधी घटनाका रुपमा चिनिन्छ । यहाँ तुत्सी र हुतु दुइ जातिको जातीय द्वन्द्वले गर्दा ८ लाख तुत्सीहरूलाई हुतु हत्याराहरूले कत्लेआम आमसंहार गरे । यो डरलाग्दो घटनाले गर्दा यी दुई जाति बीच अहिले पनि दुस्मनीको भावना कायमै छ र ससानो निहुँ पायो कि अहिले पनि आपसमा मारामार गरिहाल्छन् ।

८) अस्ट्रेलियाः अस्ट्रेलिया बाहिरबाट जातिवादीजस्तो लाग्दैन । तर अस्ट्रेलिया कतिको जातिवादी छ भन्ने कुरा भारतबाट अस्ट्रेलिया गएर बसेकाहरुलाई मात्र थाहा छ । विदेशबाट आएकाहरू उनीहरुकै मुलुकमा फर्किनुपर्छ भन्ने अस्ट्रेलियनहरूको भित्री धारणा हुने गर्छ । सन् २००९ मा भारतीयहरूलाई अस्ट्रेलियनहरूले धेरै दु:ख दिएका थिए । त्यति बेला दर्ता भएका १०० केसहरूमा २३ केसहरू जातिवादी किसिमका थिए । अहिले कानुन सशक्त किसिमले कार्यान्वयन गरिएकोले त्यो दबेर बसेको त छ । तर जातिवादी भावना भित्रभित्र (Latently) भुसको आगोझैँ बसेको छ र कुनै पनि बेला त्यो सल्किन सक्छ ।

९) बेलायतः भनिन्छ दाँत र नंग्रा सबै झरिसकेको बाघभइसके पनि बेलायतीहरूमा अहिले पनि सुपेरियरिटी कम्प्लेक्स छ । जुन कुनै बेला बेलायतले संसारमा शासन गरेको इतिहासले उनीहरूको गिदी र मनोविज्ञानमा हालिदिएको भावना हो । परिणाम स्वरुप बेलायत अहिले पनि संसारको सबैभन्दा सशक्त जातिवादी भएर बसेको छ । बेलायतीहरू अहिले पनि देशीअर्थात् भारतलगायत अरु मुलुकबाट बेलायत पसेकाहरूका विरुद्ध अत्यन्तै भेदभावपूर्ण व्यवहार गर्दछन् ।

त्यसका साथै बेलायतीहरू अमेरिकन, फ्रेन्च, रोमानियन, बुल्गेरियनहरूलाई याङ्किजभनेर हेय उपनाम दिएर उल्याउँछन् । यी विदेशीहरूलाई बेलायतीहरुले हेर्नै पनि मन पराउँदैनन् । अचम्मको कुरा के छ भने अहिले पनि राजनीतिक चुनावका बेला आप्रवासी (विदेशी)हरूलाई ब्रिटेनबाट खेदाउने कि ब्रिटेनमा बस्न दिनेजस्ता सवाललाई मुद्दा बनाएर हरेक पटक भोट मागिन्छ जुन चरम जातिवादी धारणाको प्रकटीकरण हो ।
१०) अमेरिकाः स्वतन्त्रताको ठूलो हिमायती भनिने अमेरिका पनि भयानक जातिवादी मुलुक नै हो । दक्षिणी र मध्य-पश्चिमी जस्तै एरिजोना, मिस्सोरी, मिस्सिसिपी जस्ता अमेरिकी प्रान्तहरूमा अहिले पनि जातिवादी व्यवहार हरेक दिन घटिरहने घटनाहरू बहिरहने हावाजत्तिकै मानिन्छन् ।

चाहे एसियनहरूका बिरुद्धमा होस् या अफ्रिकनहरूको विरुद्धमा होस् वा दक्षिण-अमेरिकीहरूका विरुद्धमा होस् वा आफ्ने रैथाने नेटिभ अमेरिकनहरूका विरुद्धमा होस् अमेरिकन गोराहरूले जातिवादी व्यवहार नगरेको, नहेपेको, घृणा नगरेको, विभेद नगरेको वा दंगा-फसाद नगरेको दिन नै हुँदैन । छालाको रंग कालो भएको आधारमा गरिने विभेदले त यति घृणित रुप लिइसकेको छ कि अमेरिकामा विभेदविरुद्ध लेखिएका कुनै पनि संविधान, कानुन र नियमहरू बेकार सिद्ध भइसकेका छन् ।
११) साउदी अरबः धनी हुँदैमा कुनै पनि जात सभ्य नहुने रहेछ भन्ने कुरा साउदी अरबलाई हेरेपछि प्रष्ट हुन्छ । साउदी अरब धनी मुलुक हो । उसले गरिब मुलुकहरू (पाकिस्तान, बंगलादेश, भारत, नेपाल) बाट श्रमिक आयात गरेर काममा लगाउँछ । तर ती श्रमिकहरूलाई पशुजस्तै ठान्छ र कुकुरभन्दा निकृष्ठ व्यवहार गर्छ । गरिब मजदुरहरूप्रति मात्र होइन गरिब अरब मुलुकहरुलाई समेत साउदी अरबले अति नै हेप्छ ।

जस्तै, केही वर्ष अघिको घटना- सिरियनहरू शरणार्थीका रुपमा साउदी अरब पसे । तर साउदी अरबले ती शरणार्थीहरुलाई ज्यादै नराम्रो व्यवहार गर्‍यो । जसले गर्दा प्रख्यात सिरियन क्रान्ति नै भयो । दु:खको कुरा, सिरियनहरूको अन्यत्र कतै जाने ठाउँ पनि छैन ।
१२) दक्षिण अफ्रिकाः दक्षिण अफ्रिकामा गोराहरुले अपनाएको चरम र मुटु नै हल्लाउने जातिवादले गर्दा नेल्सन मन्डेलाको समेत जन्म भयो । मन्डेलाले जीवनभरि जातिवादविरुद्ध आन्दोलन गरिरहे । परिणामस्वरुप जातिवादी व्यवहार अब गैरकानुनी भएको पनि छ । तर दक्षिण अफ्रिकाका गोराहरुको रगतमै जातिवाद अझै छचल्किरहन्छ । यहाँको सुन र हीरा खानीहरूमा ९०% गोराहरूको कब्जामा छन् । कालाहरू अझै पनि मजदुरी गर्ने दासजस्तै छन् ।

गोराहरुको विभेदकारी व्यवहारले गर्दा कालाहरु पनि कहिलेकाहीँ उग्र किसिमले गोराहरूका विरुद्ध जाइ लाग्ने गरेका घटनाहरू पटकपटक घटिरहेका छन् । दक्षिण अफ्रिकामा जातिवाद ऐन कानुनभन्दा पर संस्कार-संस्कृति र डीएनएमै निहित कुरोजस्तो भइसकेको छ ।
अनुवाद : विक्रम सुब्बा
Source: http://listovative.com/top-12-most-racist-countries-in-the-world/


No comments:

Post a Comment