नेटीभ अमेरिकन जीवनदर्शन: कुनै पनि सभ्यता र समाजको
जीवन र जगतलाई हेर्ने आफ्नै दृष्टिकोण र जीवनदर्शन हुन्छ जसको आधारमा मानिसले आफ्नो दिन महिना, मौसम र समाजलाई व्यवस्थापन तथा संचालन गर्दछ । जस्तै: ख्रिश्चियनहरू बाइबलमा
उल्लेखित नियम-संहिताका आधारमा, बुद्धिष्टहरू तृपिटक-धम्मपदमा उल्लेखित
नियम-संहिताका आधारमा, सनातनी(हिन्दु)हरू
मनुस्मृती-वेद-पुराण-गीतामा उल्लेखित नियम-संहिताबाट र लिम्बुहरू मुन्धुममा
उल्लेखित नियम-संहिताका आधारमा सन्सारलाई हेर्ने, बुझ्ने र त्यसैअनुसार जीवन-समाज-मुलुकलाई
सन्चालन गर्ने प्रणालीको विकास गरेर निर्वाह गर्ने गर्दछन् । मलाई नेटीभ अमेरिकनहरुको जीवन दर्शनका बारेमा जान्ने
उत्सुकता जाग्यो । नेटमा खोजेर पढ्दा निम्ना कुरा पाएँ:
१। सालिश[1]हरूको सृष्टिकथा: हाम्रा पितापूर्खाहरू
शक्तीसाली थिए । जनावर वा अरु मानिसभन्दा धेरै बाठा पनि थिए । हाम्रा पूर्खा बाहेक
पनि त्यतिबेला धेरै समाज र मानिसहरू धर्तीमा बसोबास
गरिरहेकाथिए । एकजना सबैभन्दा पाको हाम्रो पूर्खाले धर्तीबाट गिलो माटो लिएर
मान्छे बनाए । ती माटोबाट बनाईएका मान्छेहरु जन्तु-जनावरहरु मध्ये सबैभन्दा निरिह
थिए ।
तर यी नयाँ मान्छेहरूभन्दा
पहिलेका मानिसहरू ज्यादै स्वार्थी र मूर्ख थिए । कुन मान्छे हो कुन हरिण हो भनेर
छुट्याउँने चेतना पनि उनीहरूमा थिएन । त्यसैले कहिले मान्छे पनि मारेर खन्थे भने
हरिण त मारेर खान्थे नै ।
अन्तमा हाम्रो पाको पूर्खाले सोचे – "यसरी नै जे पायो त्यही गर्न
दिने हो भने त केही समयपछि 'मान्छे' त नरहने भो त !" यही सोचेर
हाम्रा पूर्खाले नेटीभ अमेरिकनहरुलाई नियम-विधान-संहिताबारे ज्ञान-वुद्धि दिन कोयोटे (Coyote[2]) लाई पठाए । अब कोयोटेले धर्तीमा
घुमिघुमि नेटीभ अमेरिकनहरुलाई के कसो गरेर जीवन व्यवस्थित र सुखमय किसिमले चलाउँने? भन्ने बारे अनेक चमत्कारिक
कामहरू गर्दै सिकाउँन थाले । सिकेको नियम-विधानका आधारमा मानिसहरू समाज सन्चालन गरी बस्न थाले
।
२। ईन्नुईट[3]हरूको सृष्टिकथा: आफ्नो पखेटाले
हिर्काएर राभेनले जमीन र जल सृष्टि गरेको हो । राभेनसँग मानिस र चरा दुबै हुन
सक्ने चमत्कारी शक्ती थियो । त्यतिबेला धर्तीलाई अँध्यारोले सर्वत्र ढकेको थियो । राभेनले नै जल र
पर्वतहरूको सृष्टि गरेर जमीनमा मटरकोशाबाट निकालेर वीउ छरे ।
पाँच
दिनपछि मोटरकोसा फुटेर जवान मानिस निस्कियो जसले राभेनको जमीनलाई पहिलोचोटी टेक्यो । मोटरकोसाबाट जन्मेको
मानिसलाई रिंगटा लागेर अलमल्ल परेको थियो । उसले आफैले टेकेको पानी पिएपछि र अलि बिसेक भएको महसुस गर्यो
।
एक
दिन राभेनलाई अर्को मानिसले देख्यो र सोध्यो –
"तिमी
को हौ र कहाँबाट आएका हौ?"
राभेनले
– "म मटरकोसाबाट जन्मेको हुँ ।" भन्यो ।
"तिमीले
केही खायौ?" राभेनले सोध्यो ।
"मैले
पानी खाएँ ।" मानिसले जवाफ दियो ।
"तिमी
मलाई यहीँ एकछिन पर्ख है त!" भनेर राभेन चरा बनेर अँध्यारोमा उडेर गयो ।
मानिसले
राभेनलाई चार दिन पर्खेर बस्यो । दुइटा ऐँसेलु, दुइटा काफल लिएर राभेन
फर्क्यो र भन्यो – "यी फलहरू तिम्रा लागी हुन् ।
यी जमीनभरि उम्रिनेछन् जसले तिम्रो निम्ती खानाको आपूर्ति गर्नेछन् ।"
मानिसले
एक्कै सासमा ती फलहरू निल्यो । राभेनलाई 'यो भोको मानिसलाई ऐँसेलु र
काफलले मात्र खान पुग्लाजस्तो छैन' भन्ने लाग्यो ।
त्यसैले
राभेनले काँचो माटोबाट दुइटा मोटा भेडाहरू बनाएर पखेटाले हम्क्यो । भेडाहरू जिँउदो
बनेर डाँडातिर चर्न थाले ।
राभेनले
अझै धेरै भेडाहरू बनायो । मानिसले ती भेडाहरूलाई "भोकाएको
आँखा"ले हेरिरहन्थ्यो । तेसैले भेडाहरूलाई मानिसले एक्कै पटकमा नखाओस् भनेर
राभेनले भेडाहरूलाई डाँडाकाँडामा टाढा-टाढा छरपष्ट खेदिदियो ।
राभेनले
विस्तारै माछा, चराहरू र अरु जनावर पनि बनाएर पखेटाले हम्किँदै
ज्यान हालिदिन थाल्यो ।
मानिसले
सबै जनावरहरूलाई एक्कै पटकमा नमारोस् भन्नका खातिर फरक फरक जनावरहरूलाई फरक फरक
ठाउँमा राखिदियो । जस्तै: माछालाई खोलामा हालिदियो, चराहरुलाई आकाशमा उडाईदियो ।
यस्तैमा मानिसले मटरको खेती गरेको पनि देख्यो । मानिसलाई “डर
पनि लागोस्” भनेर काँचो माटोबाटै राभेनले बडेमानको भालु पनि बनायो ।
केही
दिनपछि हेर्दा मानिस एक्लो र निरस बाँचेको देखियो । त्यसैले राभेनले काँचो
माटोबाटै मानिसभन्दा अलि सानो नरम-मुलायम हात-गोडा र गाला भएकी सुकोमल र आकर्शक आईमाई बनायो र मानिसलाई
भन्यो – "यो आईमाई हो । तिम्रो सहयोगी
र सहयात्री ।"
विपरित
लिंगी सहयात्री पाएर मानिस दंग पर्यो । राभेनले सृष्टि गरेका तिनै मानिस र
आईमाईले मिलेर थुप्रै सन्तान जन्माए जसले पुरै धर्ती विस्तारै ढाकदै लगे ।
३। नाभाजो[4] सृष्टिकथा: अहिलेको यो सन्सारको सृष्टि हुनु अघि
मानिसहरूले चार चानगिङ[5] तालको पीँदको झारपतिंगरहरू
टेक्दै घुमे । यसरी घुम्दा पहिलो पुरुष र पहिलो नारीले अरु सबैलाई बाटो देखाउँने
काम गरे । यिनै पहिलो पुरुष र पहिलो नारीबाट जुम्ल्याहा चानगिङ छोराहरूको जन्म भयो
।
एउटा छोराले खोल्साको केही गीलो माटो हातमा लियो र त्यसलाई
अन्न राख्ने भाँडो बनायो । दोस्रो छोरोले झार-पतिङगर समायो र त्यसबाट पानीको
बास्केट बनायो । त्यसपछि तिनले जमीनबाट ढुंगाहरू उठाएर काट्ने-फुटाउँने-घोच्ने
बन्चरो, हतौडा र चक्कुहरू बनाए । यिनै जुम्ल्याहाका
सन्तानले माहोगानी रुखका हाँगाबाट जमिनमा खन्ने हतियार बनाए; हरिणका करङ-पाताहरूबाट कोदालोजस्ता औजारहरू
बनाए ।
ती औजार र बास्केटहरू धर्तीका उपत्यका र खोला किनारतिर
किसानको काम गरिरहेका, बगैँचामा फलफुल लगाईरहेका मानिसहरूको
प्रयोगको लागी बेचबिखन गर्न पनि थालियो । तिनले बिस्तारै खोलाहरूमा बाँध बाँधेर
सुक्खा ठाउँहरूमा सिँचाई गर्न र खेतीपाती गर्न पनि सिके ।
४। पेनोब्स्कट[6] सृष्टिकथा: जुनबेला सृष्टि कर्ता क्लोसकुर्बेह[7] धर्तीमा आईपुगे त्यसतिबेला मानिसहरुको
उत्पती भइसकेको थिएन । तर एकदिन समुद्रका छालहरूले बनेको एकजना युवक प्रकट भए र
क्लोसकुर्बेहका प्रमुख सहयोगी बने । यसपछि यी दुईले सन्सारका अनेकौँ जीबजन्तु र
बनस्पती बनाउँदै जाँदा एक दिन एउटी सुन्दर युवती तिनको नजिक देख परिन् । धर्तीको
बनस्पती, आकाशबाट खसेको शीत र धर्तीकै न्यानोपनहरू
मिस्सिएर बनाईएकी यी युवती अनौठै राम्री थिइन् ।
यिनैलाई पहिली माताका रुपमा क्लोसकुर्बेहका प्रमुख सहयोगीले
बिबाह गरे । यिनैका सन्तानहरू बढ्दै गए र धेरै सन्तान भएपछि जब सबै बन्यजन्तु खाएर
सिद्धिए यी पहिली माताले आफुलाई मारिदिन भनि आफ्ना श्रीमानलाई भनिन् । मारिसकेपछि
उनका सन्तान र श्रीमानले प्रथम माताको पार्थिव शरिरलाई एउटा उजाड चौरमा लगे, र उनकै इच्छा मुताबिक, उनको लाशलाई चौरको वीचमा गाडिदिए । सात
महिनापछि आएर हेर्दा त्यो चौरमा हरियाली सहित मकैहरू फलेको र चौरको वीचमा सुर्ती
उम्रेको पाईयो ।
यसरी फरक-फरक नेटीभ अमेरिकन (जेमिनी) जातिका केहि
सृष्टि-कथाहरू पढिसकेपछि मैले उनका २ लोकगीतहरू पनि खोजेर पढेँ । केही नमुना यहाँ
राख्न चाहान्छु:
१।
धर्ती हाम्री आमा हुन्
धर्ती
हाम्री आमा हुन्
हामीले
आमाको राम्रो रेखदेख गर्नै पर्छ
हे यान्ना, हो यान्ना, हे यान् यान्
हाम्रा
हरेक पाइलाहरू
हाम्री
धर्ती आमाको पवित्र भूमिमा हिँडिरहेकाछन्
धर्ती
हाम्री माता हुन्
उनैले
हाम्रो रेखदेख गर्नेछिन् ।
२।
गीत गाउँन नबिर्स
गीत
गाउँन कहिल्यै नभुल्नु !
दुनियामा
जेसुकै भइरहेको भएपनि
गीत
गाउँन कहिल्यै नभुल्नु !
चराका
बचेराहरू गुँडमा चिच्याईरहेछन्
उनका
आमाले भनिरहेछन् –
"तिमीहरु
छिट्टै उड्न थाल्नेछौ
हजारौँ
बर्षदेखि चराहरूले गरेजस्तै आफ्ना पखेटाहरु फिँजाउँनेछौ
अनि
माथि माथि आकासमै आफुलाई हाल्नेछौ ।"
नीलो
समुद्रमा डुबुल्कि मार्दै
ह्वेलको
बच्चा पौडिखेलिरहेथ्यो आफ्नो बासँग
"पानीहरू
धेरै गहिरा र बुझिनसक्नुका थिए
मलाई
बोलायौ भने नजिकै हुनेछु म तिमीसँग ।"
हामीसँग
प्वाँख होस् या भुत्ला
बोक्रा
होस् या कत्ला होस् या छाला
हामीसँग
आफ्नै बोली छन्
आफ्नै
चालमा रमाउँने हाम्रो चाला
हामीसँग
पाखुरा होस कि खुट्टा
हाम्रो
बाघे-पञ्जा या पखेटा होस
हामी
सानो हौँ या ठूला हौँ
आफ्नै
गीत गाउँदै जाने हो
म
सानो छँदा
सुन्थेँ
कुरा अनेक झुठो तथा साँचो
बा-आमाबाट
सुनेको राम्रा सबै कुरा
तिमीलाई
सुनाउँदै लानु मलाई छ खाँचो
नेटीभ अमेरिकन जातिका केही जीवनदर्शनहरू पढिसकेपछि थाहा लागेका केही जीवनदर्शन यहाँ उल्लेख
गर्न चाहन्छु:
नेटीभ अमेरिकन जीवनदर्शन: कुनै पनि सभ्यता र समाजको
जीवन र जगतलाई हेर्ने-बुझ्ने, अबलम्बन गर्ने र त्यसै अनुसार जीवन सन्चालन
गर्ने आफ्नै दार्शनिक पक्षहरू, नियम-संहिताहरू हुन्छन् । जस्तै: ख्रिश्चियनहरू
बाइबलमा उल्लेखित नियम-संहिताका आधारमा, बुद्धिष्टहरू तृपिटक-धम्मपदमा उल्लेखित
नियम-संहिताका आधारमा, हिन्दुहरू
मनुस्मृती-वेद-पुराण-गीतामा उल्लेखित नियम-संहिताबाट र लिम्बुहरू मुन्धुममा
उल्लेखित नियम-संहिताका आधारमा सन्सारलाई हेर्ने, बुझ्ने र त्यसैअनुसार जीवन-समाजलाई व्यवस्थापन-सन्चलान गर्ने गर्दछन् ।
मलाई क्यालिफोर्नियाका नेटीभ अमेरिकनहरूको जीवनदर्शनका बारेमा जान्ने उत्सुकता जाग्यो । मौका मिल्यो र मैले खोजेर पढ्दा सालिश[8], ईन्नुईट[9], नाभाजो[10], पेनोब्स्कट[11] जस्ता आदिवासिहरुको जीवनदेर्शन निम्नानुसार
जानकारी पाएँ । शेयर गर्न चाहान्छु:
दर्शन
१: महान महिला: महिलाको जीवन चक्र १) बालिकाबाट सुरु हुन्छ र
२) युवती, ३) आईमाई र ४) हजुरआमाका
रुपमा अन्त्य हुन्छ । यी चार चरणहरू महिलाको जीवनका कोशे ढुंगा हुन् । प्रकृतीले ‘जन्माउँने’ गुण र क्षमता महिलालाई मात्र
दिएकोछ जुन सान्सारिक जीवनको सबैभन्दा पवित्र कार्य हो । त्यसैले हरेक पुरुषले
महिलाप्रति आदर-सम्मान र उच्च मर्यादाका साथ व्यवहार गर्नु पर्दछ । पुरुषहरूले
महिलालाई मानसिक वा भौतिक रुपमा दु:ख दिनु ठूलो पाप हो । हामी नेटीभ अमेरिकन पुरुषहरू कहिल्यै पनि महिला-पिडक हुन सक्दैनौँ । नेटीभ अमेरिकनले महिलालाई जहिले पनि
आदरपूर्वक तथा विवेकशीलताका साथ व्यवहार गर्दछौँ । त्यसैले म पनि नेटीभ अमेरिकन
लोग्ने मान्छेको रुपमा आजैदेखि "महिलाहरूलाई पवित्रताका साथ व्यबहार गर्ने
कसम खान्छु।"
धर्तीमा
नयाँ ‘वच्चा जन्माउँने अभिभारा’ सृष्टिकर्ताले नै महिलाहरूलाई दिएका हुन् ।
जीवन पवित्र हुन्छ र नयाँ जीवन धर्तीमा जन्माउँन सक्ने महिलालाई "म नेटीभ
अमेरिकन लोग्ने मानिसले पनि पवित्रताका साथ व्यबहार गर्ने कसम खान्छु । हामी नेटीभ
अमेरिकनहरुको सँस्कार-सँस्कृती अनुसार 'महिला नै परिवारको जग हुन् ।' नेटीभ अमेरिकनको नाताले उनै
महान महिलासँग मिलेर परिवारको वातावरण सुरक्षित बनाउँने, आदरणीय र सन्तुलित ढंगले परिवार संचालन गर्नेछौँ र म कुनैपनि हालतमा महिलालाई शारिरिक वा
भावनात्मक किसिमले पिडा दिनेछैन । महिलालाई पिडादिने कुरा मेरो मनमा झुक्किएर
आईहालेमा म सृष्टिकर्तालाई सम्झेर माफ माँग्दै उचित पथप्रदर्शन गर्न अनुरोध
गर्नेछु । म हरेक महिलालाई आफ्ने नातेदारका रुपमा हेरेर व्यबहार गर्नेछु ।
जीवनभरिका निम्ती म यही प्रतिज्ञा गर्दछु ।"
दर्शन २: देवदूत बालबालिका: देवदूतले सृष्टि गरेर
सान्सारिक जीवन-चक्रमा भाग लिन भनि बच्चालाई हाम्रो घरलाई (पंक्षीको) गुँडका रुपमा
उपयोग गर्न मात्र पठाएका हुन् । अर्थात हामी
बा-आमालाई वच्चाको गोठालाका रुपमा सृष्टिकर्ताले
नियुक्त गरेकोले हामीले त्यसै अनुसार वच्चाको रेखदेख-हेरचाह गर्नु पर्दछ ।
सन्सारमा जिउने शीपका निम्ती वच्चालाई सँस्कार-सँस्कृती सिकाउँनु पर्दछ । वच्चालाई
दिने सबैभन्दा अमुल्य कुरा नै हामीले वच्चालाई दिने "समय" हो । म, बाबुको नाताले, मेरा वच्चाहरुसँग धेरै समय
विताउँनेछु, उनीहरूका कुरा सुन्नेछु र
उनीहरूबाट धेरै कुरा सिक्नेछु । म वच्चालाई भगवानको प्रार्थना गर्न र सबैलाई आदर
गर्नुको महत्वबारे सिकाउँनेछु । हामी (बा-आमा) त सृष्टिकर्ताको वच्चालाई हेर-चाह
गर्ने गोठाला मात्र हौँ । वच्चाहरु उनै सृष्टिकर्ताका सन्तान हुन् । हामी मार्फत
सन्सारमा आए पनि वच्चाहरू हाम्रा सन्तान होइनन् बरु सृष्टिकर्ताका सन्तान हुन् ।
म
मेरो आफ्नो मातृभाषाप्रति गौरव गर्दछु । म आफ्नो मातृभाषा सँधै बोल्नेछु र
वालवालिकालाई पनि सिक्न मद्दत गर्नेछु । अहिलेको सन्सारमा बालबालिकाहरू छिट्टै बरालिन सक्छन् । तेसैले म
बालबालिकाहरूलाई सकारात्मक विकल्पहरू दिएर पथप्रदर्शन गर्नेछु । म हाम्रो
सँस्कृतीहरू र तिनको जीवनसितको सम्बन्धबारे बताउँनेछु । म उनिहरूलाई हरेक कुरा सिक्न सँधै प्रोत्साहित गर्नेछु । म
बालबालिकहरूलाई समाजका जेठा-पाका र जानिफकारहरूसँग कुरा गर्न र उनका अनुभवबाट
सिक्न प्रोत्साहित त गर्नेनैछु त्यो बाहेक म आफै पनि उनको निम्ती हरेक कुरा
सिक्ने स्रोत-व्यक्तीका रुपमा सदा हाजिर हुनेछु ।
बच्चाहरूप्रति यी मेरा प्रतिबद्धता हुन् जुन म हाम्रै सँस्कृतीले देखाएको-सिकाएको
तौर-तरिका अपनाएर समाजमा असल मानिसहरूको बिकास गर्ने काम गर्नेछु ।
दर्शन ३: परिवार प्रथम-पाठशाला : सृष्टिकर्ताले परिवारका रुपमा हामी केही मानिसलाई एक ठाउँ भेट गराएका हुन् जहाँ सबै किसिमका
जीवनोपयोगी शिक्षाहरू पिता-पूर्खाबाट हाजुर-बा-आमामा, हाजुर-बा-आमाहरूबाट बा-आमामा, बा-आमाबाट छोरा-छोरीहरूमा हुँदै पुस्ता-दर-पुस्ता बालबालिकामा सर्दै-सार्दै निरन्तरता दिने काम
चल्दै आयो र जुग-जुग निरन्तर चल्नेछ । बालबालिकाहरूको
स्वाभाव जस्तो देखिन्छ त्यसबाट नै ब-आमाको सँस्कार-व्यबहार थाहा पाइन्छ ।
यही तथ्य कुरा थाहा भएकोले नै नेटीभ अमेरिकन लोग्ने मानिसको रुपमा मैले परिवारको आवश्यकता पुरा गर्ने र परिवारको अमनचैनको जिम्मा लिनु पर्छ । यसकिसिमको काम गर्दा नै मैले अरुलाई दुखित तुल्याउँने
दुश्चक्र तोड्नुका साथै जन्मिन बाँकी रहेका बालबालिकाको निम्ती पनि उचित वातावरण बनाउँने काममा सहयोग गरिरहेको हुनेछु । त्यसैले अबदेखि म मेरो
परिवारलाई सुन्दर किसिमले पुनःनिर्माण गर्ने कामलाई प्राथमिकता दिएर मिहनेतका साथ
काम गर्नेछु । मैले कहिल्यै हरेस खानु हुन्न र घर-परिवार सम्हाल्ने कामको जिम्मा आमालाई मात्र लाद्नु हुन्न ।
म नै मेरो परिवारमा शक्ति र
बैभव भर्ने कामका निम्ती जिम्मेवार हुँ । यी जिम्मवारीहरू पुरा गर्न मैले मेरो
परिवारको सबै किसिमका अध्यात्मिक,
साँस्कृतिक र सामाजिक अवस्थाको पुरा-पुर ख्याल गर्नु पर्दछ । परिवारमा आपसी
विश्वास, आदर, अनुशासन, सम्मान कसरी कायम राख्नु पर्दछ भन्ने कुराको म आफैले पनि उदाहरण बनेर
देखाउँनु पर्दछ । मैले मेरा बाल-बच्चालाई प्रशिक्षित गर्न समाजका अनुभवी पाका
मानिस र जानिफकारहरूको पनि सहयोग निरन्तर लिनु पर्दछ । मलाई थाहा छ – महिला र पुरुष दुबै नभई पवित्र परिवारको सृजना हुन सक्दैन । म मेरो
परिवार तथा हाम्रो नेटीभ अमेरिकन समाजको भलाई र सुख-अमनचैनका निम्ती के के गर्नु
पर्ला भनि जहिले पनि साथी-भाइ र श्रीमतीसँग सल्लाह गरेर मात्र काम गर्नेछु ।
दर्शन ४: समाज एक भव्य बैभव: हाम्रो नेटीभ अमेरिकन समाज र सँस्कृतीले नै
हामीलाई जीवनोपयोगी सारा कुराहरू प्रदान गर्दछन् । हाम्रो समाजले दिने सबैभन्दा
ठूलो कुरा भनेको ‘अपनत्वको सुरक्ष्या भावना’ हो । हाम्रो
आफ्नै समाज छ जसले हाम्रो सुखदुःखका बेला र मर्दा-पर्दा हेरचाह गर्दछ भन्ने सहारा दिन्छ
। सन्सारको जहाँ पुगेपनि फर्केर आउँने र ढुक्क साथ बाँच्ने आफ्नै समाज छ भन्ने
भावनात्क आड-भरोसा र मनोवैज्ञानिक साहारा यही समाजबाट हामी पाउँछौँ । हाम्रो नेटीभ अमेरिकन समाजलाई निरन्तर सुसंगठित र बलियो बनाउँदै
लैजानुपर्छ जसले गर्दा हामी पछिका सन्तान-दर-सन्तानलाई
हाम्रै समाजले आफ्नो भाषा-सँस्कृती सिकाईरहन र समाजिकिकरण गर्ने काम गरिरहन सकोस्
।
कुनै पनि असल समुदायमा
एउटालाई आदर गर्नु भनेको सबैलाई आदर गर्नु हो र समाजमा एकजनालाई दुख्यो भने सबैलाई
दुख्छ । ‘म मेरो समाजलाई अझ सुदृढ र सुसंगठित पार्न सँधै
सहयोग गरिरहनेछु । एक नेटीभ अमेरिकनको नाताले म मेरो समजाका मानिसलाई सकेको दान र
जानेको शीप दिएर निरन्तर बलियो बनाउँने काम गरिरहनेछु । म मेरो समाजका अन्य नेटीभ
अमेरिकन मानिससँग मिलेर आपसी सहयोग गर्ने काम पनि गरिरहनेछु ।
कुनै पनि काम गर्ने निर्णय
गर्दा हाम्रो आउँदो ७ पुस्तालाई त्यो निर्णले के कस्तो ‘नकारात्मक वा सकारात्मक’ असर पार्ला भन्ने कुरा
सोचेर भरसक नकारात्मक असर नपार्ने वा कमभन्दा कम नकारात्मक असर पार्ने किसिमको भए
मात्र त्यसलाई सम्पादन गर्ने निर्णय गर्नेछु । यसो गर्दा हाम्रा
सन्तान-दर-सन्तानले स्वस्थ्य-असल समाजको निम्ती के गर्नु पर्दछ भन्ने कुराको
शिक्षा सम्पदाका रुपमा हाम्रो साँस्कृतिक चालचलनबाटै पाईरहनेछन् । म हाम्रो समाजका
नराम्रो लतमा फसेर हल्ला गर्ने,
मातेर समाज बिरोधी काम
गर्ने सबैलाई सुधार्ने काममा सहयोग गर्नेछु र हिंसामुक्त समाजको सृजनागर्न सँधै
लागिरहनेछु । यस्तो काम हामी सबै
जनाले गरे अरुले यसको सिको गर्नेछन् र चाँडै हाम्रो समाज गौरवसाली समाज बन्नेछ ।
दर्शन ५: धर्ती-माता नै जीवनस्रोत: चहे पात-पतिङगर होस्, चाहे दुई-खुट्टे जीव होस्, चाहे चार-खुट्टे प्राणी
होस्, चाहे मानिस होस्, हरेक जीवनको स्रोत नै धर्ती
माता हुन् । यदि आदरपूर्वक ध्यान दिएर सुन्ने, हेर्ने-बुझ्ने र सिक्न
खोज्ने हो भने धर्ती माता सबैभन्दा महान शिक्षिका हुन् । यदि सन्तुलित किसिमले
बाँचे हामीले उपयोग गरेका हेरक कुरा धर्ती माताले हामी पछिका हाम्रा सन्तानका
निम्ती पुनरउत्पादन (रिसाइकल) गरेर उपलब्ध गराउँनेछिन् । एक नेटीभ अमेरिकन भएको
नाताले धर्ती माताको के कसरी ख्याल-रेख-देख गर्नु पर्दछ भन्ने कुरा बालबालिकहरूलाई
सिकाउँनेछु ताकि यो ज्ञानगुनको कुरा समाजमा कायम भएर रहिरहोस् र युगयुगसम्म त्यसले
सबैलाई प्रशिक्षित गरिरहोस् । मैले के बुझेँभने ‘धर्ती माता हाम्रो आमा समान
छिन् । म धर्ती मातालाई जहिले पनि आदर र सम्मान गर्नेछु ।‘
सन्सारका हरेक कुरा तथा
वस्तुका रुप र आकारले एक-आपसमा अन्तरसम्बन्धित रहेर दुनियामा सन्तुलन कायम गर्दै
आएकाछन् भन्ने कुरा मैले बुझेकोछु । मैले के पनि बुझेँ भने – धर्ती हाम्रो सम्पती होइन बरु हामी पो धर्तीका सम्पती हौँ ।
प्राकृतिक कानुनले नै जल र जमीनमा आफै शासन गर्दछ । म प्राकृतिक कानुनबाट ज्ञान र
विवेकहरू सिक्नेछु र ती ज्ञान-गुन र विवेकका कुरा नयाँ पुस्तामा हस्तान्तरण
गर्नेछु । धर्ती माता एक जिवित ईकाई हुन् जसले सबै जीव-जीवनलाई सम्हाल्ने काम
गर्दछिन् । कसैले धर्ती माताको अपमान गरे उसलाई नम्रतापूर्वक यसो नगर्न म भन्नेछु
। जसरी मेरी आफ्नी आमाको आदरपूर्वक सुरक्षा गर्न म सँधै तत्पर हुन्छु त्यसरी नै
धर्ती माताको सुरक्षा-संरक्षणका निम्ती पनि सदा तत्पर हुनेछु । मैले शुद्ध जल, पवित्र जमीन र स्वच्छ
हावाहरू केही नबिगारी जस्ताको तेस्तै मेरा छोराछोरी र नाति-नातिनीका निम्ती र
जन्मिन बाँकिरहेका मेरा सन्तानको निम्ती अमुल्य सम्पतीका रुपमा यहीँ छोडेर जानु
पर्छ ।
दर्शन ६: आत्माः एक नेटीभ
अमेरिकन भएको नाताले मैले के बुझ्नु पर्दछ भने हामीभित्र निहित आत्मा नभए हामी
केही गर्न सक्दैनौँ । न मैले वा अरु कसैले पनि गर्न खोजेको कुरा सृष्टिकर्ताको
इच्छाबिना केही संभव हुँदैन । हामी नेटीभ अमेरिकनहरू अध्यात्मिक जीव भएको नाताले
यही कुरा मानिआएकाछौँ । यसरी नै मैले असल बाटोमा हिँडिरहनुपर्छ ।
एक नेटीभ अमेरिकन भएको
नाताले मेरा पुर्खाहरूबाट मैले हासिल गरेका सँस्कृती-सँस्कार र आध्यात्मिक
मुल्य-मान्यताहरू समाजलाई र नयाँ पुस्तालाई नै फर्काइदिनु पर्दछ । म हाम्रो
उत्सव-महोत्सव र धार्मिक कृयाकलापका शक्तीहरू हाम्रो समाज कायम रहनको निम्ती
महत्वपूर्ण हुन्छन् भनेर नयाँ आँखाले हेर्दछु । हाम्रो जाति अहिलेसम्म बाँचेर
आएकोछ र अझ बढ्दै जानेछौँ र अध्यात्मिक रुपमा हामी झन झाँगिदै जानेछौँ । हामीलाई
सृष्टिकर्ताले आदरपूर्वक दिएको शिक्षा र गर्नु पर्ने कामको जिम्मा पुरा गरेरै
छाड्नेछौँ ।
म हेरक दिन प्रर्थना गरेर
सृष्टिकर्तासँग पथप्रदर्सनको निम्ती माँग-अनुरोध गर्नेछु । म मेरो
सँस्कार-सँस्कृतीले देखाएको असल आध्यात्मिक बाटोमा सदा हिँड्नेछु । म जुन धर्ममा
लागेपनि असल आध्यात्मिक हुनेछु र परम्परागत बाटो पछ्याएपनि पुरै समर्पित भएर
लाग्नेछु । यदि हामी सबै एक-एकले यसो गरे अरुले पनि यो सिक्नेछन् । अबदेखि म
अध्यात्मिक शान्तिका निम्ती दैनिक केही समय छुट्याउँनेछु र सृष्टिकर्ताको ईच्छा
अनुसार चल्ने कोशिष गर्नेछु ।
दर्शन ७: म कस्तो हुने? बुढेसकालमा
पुग्दा “म कस्तो हुनुपर्छ?” भनेर सोच्दछु । एउटा असल
मानिसको मेरै तस्विर मेरो दिमागमा हाजिर हुन्छ र त्यही बन्नको निम्ती अहिलेदेखि नै
काम गर्न थाल्दैछु । यो काम गर्न म मेरा पुर्खाहरूकै बाटोमा सदा सकारात्मक सोचाई
लिएर बाँच्नेछु । म असल मन लिएर बाँच्नेछु । म हेरक साँझ सुत्नु अघि “मैले आज के के राम्रो काम गरेँ? र, मैले आफुमा के के सुधार गर्नु पर्छ?” भनेर आत्मसमिक्षा गर्नेछु ।
म भित्रका सबल र दुर्बल पक्षहरूको समिक्षा गर्नेछु र सृष्टिकर्तासँग थप शक्ती र
बुध्दी माँगेर आफ्नो सबल पक्षसँग मिसाएर दुर्बल पक्षहरूलाई निमिट्यान्न पार्नेछु ।
म हरेक दिन शुद्ध र असल मन बिकास गर्दै लैजानेछु । म हरेक दिन वतासमा
सृष्टिकर्ताले मलाई के भनिरहेछन्?
भनेर सुन्ने-बुझ्नेछु र
बाटो देखाए अनुसार गर्नेछु ।
प्रकृतीको नियमित अबलोकन
गरेर ‘राम्रो मानिसका रुपमा कसरी बाँच्नु पर्छ? भनेर शिक्षा लिने कोशिष गर्नेछु ।‘ म मेरा पूर्खाहरुलाई
पथ-प्रदर्शक तथा सँस्कृती-साँस्कारलाई निर्देशक सिद्धान्त मानेर सिक्दै नयाँ नौला
काम गर्दै जानेछु । म मर्यादा पालन गर्दै आदर तथा बिनम्रताका साथ तर एक महान
योद्धाका रुपमा बाँच्नेछु । म मेरा पिता-पूर्खाहरूबाट सिकेर ज्ञान-गुन, उत्सव र गीत-संगीत आफ्ना सन्तान-दर-सन्तानलाई सिकाएर हस्तान्तरण
गर्नेछु ।
यी सबै काम म गर्नेछु भनेर
भनेर मैले आफै निँधो गरेको हो किनभने यस्ता कुरा मेरो लागि अरु कसैले गरिदिने होइन
। मलाई राम्रोसँग थाहाछ ‘मसँग केही छैन भने अरुलाई केही दिन पनि सक्दिन ।‘ त्यसैले मैले धेरै कुरा सिकिरहने बाटोमा हिँड्नु पर्दछ अनिमात्र म
अरुलाई पनि सिकाउँन योग्य बन्नेछु ।
वास्तबमा हरेक जात-जातिका
जीवन दर्सनहरूले मानिसलाई अरु प्राणीभन्दा फरक गराएकै मानिसका जात जातिसँग जीवन
दर्शनहरू हुन्छन् । हिजो हामी के थियौँ? आज हामी के छौँ? र भोलिका हाम्रा सन्तानको भलाईका निम्ती हामीले के गर्नु पर्छ र के
गर्न हुन्न भन्ने साँस्कृतिक नियम बिधान र संहिता हुन्छ जसले गर्दा मानिस
प्राणीमध्ये “सचेत”मा गनिन्छ । यो कुरा यहाव
मैले प्रस्तुत गरेका नेटीभ अमेरिकन जीवनदर्शनका केही उदाहरणबाट पनि प्रष्ट हुन्छ ।
४। लस एन्जेलस: क्यालिफोर्निया घुमाउँने जिम्मा छोरो
द्रोणकै थियो, उसको ८ सिटे टोयोटा ‘सकाया’ मोडल गाडीमा । लस एन्जलसको लोमालिण्डा
विश्वविद्यालयको नर्शिङ विभागमा भेटघाट गर्ने विष्णु दिदीहरूको टिमको एपोइन्टमेन्ट तय थियो । छोराले लस एन्जलसको
एउटा ‘भ्याकेशन
होम’को एक प्ल्याट बुक गर्यो ।
आफै किनमेल गरेर ल्याएर पकाएर खाँदै बस्न मिल्ने सुबिधा रहेछ । लोमालिण्डा
विश्वविद्यालयको भेटघाट पछि एउटा समुद्र किनारको विच घुम्न गइयो । बाटोमा मैले सोद्धा लोमालिण्डा विश्वविद्यालय र
शिर मेमोरियल नर्सिं कलेज/नेपालको वीच विद्यावरिधी (पिएचडी) गर्ने गराउँने (एक्सचेन्ज प्रोग्राम) समेतको कुरा चलेको रहेछ । अब विस्तारै
कार्यान्वयन हुँदै जाला । हामी समुद्रमा पुग्यौँ । जहाँ ‘पियर’मा पर पर सम्म गएर समुद्रको छाल हेर्न मिल्ने
रहेछ । मानिसहरू छालमा तैरिरहेका । स्वच्छ हावा । रेड वाइन खाँदै घुम्न मजा भयो ।
फर्केर आएपछि म र छोरो द्रोण किसानहरूको मार्केटमा किनमेल
गर्न गयौँ । सबै मिलेर आफै पकाएर खाइयो । अर्को दिन वैज्ञानिक म्युजियम घुम्न
गइयो । म्यूजियमको डाँडाबाट पारी ठूलो ठूलो अक्षरमा HOLLYWOOD लेखेर डाँडैभरि ढ्याप्प राखिएको देख्दा प्रचारको
शैली पनि गजब लाग्यो । डाँडामा त्यति लेखेकोलाई पनि
पर्यटकहरूको निम्ती आकर्षण बनेकोछ । पर्यटकहरूले लस्करै लाम लागेर हेरेकाछन्, फोटो खिचेकाछन् । यो पर्यटन पनि मानिसलाई
गज्जबले बेकुफ बनाएरै कमाउँने व्यबसाय रहेछ कि क्या हो? यस्तै खुइले डाँडाहरूलाई पनि एउटा थप केही (भ्यालु एड) गर्यो पर्यटकीय आकर्षणको रुपमा बेच्यो । यसरी सोचेर काम
गर्ने हो भने त हाम्रो नेपालको हिमाल, पहाड, तराईमा अनेक आकर्षणहरू सृजना गर्न सकिन्छ क्यारे ।
लस एन्जेलस हलिउड फिल्महरू बन्ने ठाउँ रहेछ । जति पनि
राम्रो रमणीय ठाउँमा सलेब्रेटीहरूले घर किनेका हुँदा रहेछन् । जसरी विदेशबाट पैसा
कमाएर आउँने कसैले काठमाण्डुमा कुनै ठाउँमा महंगोमा जग्गा किने पछि त्यो ठाउँको
जग्गाको दर-रेट स्थापित हुने गर्छ तेस्तै त्यहाँ पनि हलिउडका सेलेब्रेटीले कुनै
ठाउँमा घर किने पछि दर-रेड स्थापित हुने रैछ । तर त्यहाँ घर पनि रेडिमेड
मात्र किन्ने-बेच्ने । घर मात्र होईन कुरा रेडिमेड मात्र । खाना
पनि घरमा ल्याएर तताएर खाँदा भइहाल्ने । हुँदा हुँदा कतिको त पारपाचुके गरेकी
महिलासँग बिहे गरे २-३ लोग्ने तिरका छोराछोरी पनि रेडिमेड । यी
सेलेब्रेटीले किनेका महंगा घर के गर्छन् होला? शायद, रिटायर्ड जीवनमा बेचेर खाँदै
गुजारा गर्ने होला ।
साँझ नेपाल फर्किने विष्णु दिदी, प्रतिमा मान्धर र निर्मला मान्धरलाई सान
फ्रान्सिस्को एयरपोर्ट पुर्याएर श्रीमती हरि, म र छोरा द्रोण फर्कियौँ । म
र श्रीमती हरिको अप्रिल २९ सम्म बस्ने नै कार्यक्रम थियो ।
त्यसैले हामी बस्यौँ ।
यो लस एन्जेलस भन्ने सहरलाई छोटकरीमा एलए (हाल जनसंख्या
३८६२८३९, २०१४ मा) भनेर पनि चिनिँदो रहेछ जुन जनसंख्याको
हिसाबले अमेरिकाको दोस्रो, न्यूयोर्क पछि, ठूलो सहर रहेछ । ऐतिहासिक
रुपमा यो ठाउँ पनि छुमास र टोङभा नामक नेटीभ अमेरिकनहरूको मुलुक रहेछ । त्यतिखेर उनले यो ठाउँलाई
याङगा (स्पेनीले याङना, अर्थात विसालु ओक वृक्षहरूको ठाउँ भन्ने गरेको)
भन्दा रहेछन् जसलाई सन् १५४२ मा स्पेनी उपनिवेशवादीहरूले
कब्जा गरेका रहेछन् र सन् १८२१ मा मेक्सिकोको अंगको रुपमा रहेको रहेछ । सन् १८४८ को मेक्सीको-अमेरिकन युद्ध पछि गुआदालुपे
हिडाल्गो सम्झौताको मातहतमा अमेरिकाले लस एन्जेलस लगायत क्यालिफोर्नियालाई अप्रिल
४, १८५० मा किनेको ५ महिनापछि क्यालिफोर्निया
अमेरिकाको एउटा राज्य बनेको रहेछ । हाल यो सहरको जीएमपी (ग्रस
मेट्रोपोलिटान प्रोडक्ट, २००८ अनुसार) सन्सारकै सहरहरूको तुलनामा (टोकियो र
न्यूयोर्कपछि) तेस्रो स्थानमा रहेछ । अर्थात प्रतिवर्ष ८३१ बिलियन डलर । यस सहरको
मुख्य आयस्रोत भनेको हलिउड सिनेमा, टेलिभिजन सामग्री उत्पादन, भिडियो गेम उत्पादन, संगीत र संगीत सामग्री उत्पादन र पर्यटन रहेछन्
।
झन्नै जर्मन भाषा अमेरिकामा औपचारिक (Official) भाषा भएको
मलाई "England को भाषा पो English हो तर अमेरिकाको औपचारिक भाषा English कसरी भयो?" भनेर खुल्दुलि
लाग्यो र मैले खोजेर पढ्न थालेँ । कुरा किम्बदन्तीजस्तो लाग्ने, यस्तो रहेछ:
केही मानिसहरूले– "पहिलेका बृटिश
शासकहरूले शासन गरेको अमेरिका भन्दा "अमेरिका" भिन्न हो भन्ने देखाउँन
पनि English को सट्टा अर्कै भाषा अमेरिकाको औपचारिक भाषा हुनु पर्छ ।"
भनेर विचार गरेछन् । त्यतिखेर अंग्रेजी बाहेक हिब्रु, ग्रीक, स्पेनिस, र जर्मन भाषाहरू
मध्ये कुनै एक भाषा अमेरिकाको औपचारिक भाषा हुन सक्ने संभावना थियो ।
Ripley's Believe it or Not नामक पुस्तकको एक प्रति Dimmick Memorial
Library मा छ । त्यसमा
"सन्सारको सबैभन्दा महत्वपूर्ण भोट" भन्ने एउटा लेख छ । जस अनुसार:
"सन् १७७४ मा अमेरिकाको औपचारिक
भाषा अंग्रेजीबाट जर्मन भाषामा फेर्नु पर्छ ।" भनेर American
Continental Congress मा प्रस्ताब आयो । यो Congress मा २७ जनाले "हुन्न" भन्नेमा
भोट हाले । "हुन्छ" र "हुन्न" भन्नेहरूको भोट बराबरी भयो ।
सभाध्यक्ष Frederik
Muhlenberg ले "हुन्न" भन्ने मत खसाले पछि सिरिफ १ मतले जर्मन भाषा अमेरिकाको
औपचारिक भाषा हुन सकेन Believe it or Not.
|
५। सान फ्रान्सिस्को: यो सहरलाई बिभिन्न जातिहरू अन्तरघुलित (Melting
pot) भएको सहर पनि भनिँदो रहेछ । यहाँ
सबैभन्दा धेरै (सन् २००० का अनुसार) गोराहरूको जनसंख्या (३८५,७२८) रहेछ; हिस्प्यानिकहरूको जनसंख्या
(१०९,५०४) दोस्रो स्थानमा; अफ्रिकन अमेरिकनहरूको जनसंख्या (६०,५१५) तेस्रो स्थानमा रहेछ; त्यसपछि हवाइयनहरू (३८४४), नेटीभ अमेरिकन ईण्डियन र अलास्काका आदिबासिहरू
(३,४५८), अन्यको जनसंख्या ५०,३६८ रहेछ । यहाँका मानिसहरूको सरदर आय (सन् २०००मा) ३४,५५६ डलर प्रतिवर्ष रहेछ । सबैभन्दा कम आय हुनेको वार्षिक १०,००० डलर (३२,२६१ जना रहेछन्) रहेछ भने
२००,००० डलर सम्म आय हुनेहरू (२०,२६० जना) पनि रहेछन् । यो सहरमा कुल ३२८,८५० घर-परिवार रहेछन् । गरिबीको रेखमुनीका मानिसको जनसंख्या
७.८% रहेछ भने यहाँ वर्षमा २२.१ ईन्चसम्म वर्षा हुँदो रहेछ ।
यो सहरको जन्म – स्पेनका उपनिवेशवादीहरूले
क्यालिफोर्नियालाई सन् १७६९ तिर कब्जा
गरे । सन् १७७६ मा यूरोपियनहरूको पहिलो बस्ती गोल्डेन गेटको दक्षिणपट्टि बस्यो ।
त्यही वर्ष फ्रान्सिस्कोनले क्याथोलिक मिशन डोलोरिजहरू निर्माण
गर्न लगाए र क्यालिफोर्नियाको समुद्री तटहरूमा २१
वटा बने । मेक्सिको सँगको युद्धपछि सन् १८४६ मा क्यालिफोर्नियामा अमेरिकी झण्डा फहरायो । यसको एक वर्ष पछि
यो सहरको नाम सान (सन्त) फ्रान्सिस्को रहन गयो । त्यसको एक वर्ष पछि यहाँबाट ४०,००० मानिस सेइराको पर्वत
सृंखलामा सुन खोज्न निस्के । करीब ३५,००० मानिस मात्र सान
फ्रान्सिस्को सहरमा रहे । सन् १८५० सम्म पुग्दा नपुग्दै सुनको चम्किलो व्यापार
सुक्यो तर सान फ्रान्सिस्को सहर कलकारखाना
र पानी जहाजको बन्दरगाहका रुपमा अघि बढ्यो । यो सहरमा सन् १९०६ मा ठूलो भुइँचालो
आयो र आगलागी भएर ५०० मानिस मरे, सहरको मुख्य भागको ३,००० एकडमा सहर ध्वस्त भयो जसले १,००० मानिसलाई घरबार बिहिन तुल्यायो ।
यो सहरको आय स्रोत भनेको पहिले सुनको उत्खनन् थियो भने
अहिले (सन्सारको चौधौँ र अमेरिकाको ९ औँ) सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय हवाई
अड्डा, पानी जहाजका अनेक बन्दरगाहहरू, कम्प्युटरको अड्डा सिलिकन भ्याली, हातहतियार बनाउँने कारखाना, स्टानफोर्ड लगायतका प्रसिध्द विश्वविद्यालयहरू, वैज्ञानिक सामग्री बनाउँने २,८०० भन्दा धेरै एलेक्ट्रोनिक उद्योगहरू, पर्यटन, नासा र लकहीडजस्ता अनुसन्धान
केन्द्रहरूले यो सहरको अर्थिक गतिबिधीलाई जिवन्त (भाइब्रेण्ट) तुल्याईराखेका रहेछन् । यो सहरमा पर्यटकहरूले
मात्र प्रतिवर्ष ६.७३ बिलियन डलर खर्च गर्दा
रहेछन् भने फेशनको दुनियामा सबैभन्दा ठूलो उद्योग मानिने र ख्याति
प्राप्त लिभाइज उद्योग पनि यहीँ रहेछ । सन् २०१३को आँकडा हेर्दा यहाँको ५
काउण्टीको जिडीपी ३८३.३ बिलीयन डलर देखिन्छ ।
यो सहरमा बस्न गुजारा गर्न महँगो हुँदै गएको भन्ने कुरा
१९९० को तुलनामा घरको मुल्य ९६% बढेकोबाटै
प्रष्ट हुन्छ । सालाखाला यहाँको घरको मुल्य ८४६,००० डलर पर्छ (सन् २००४मा)
भने खाना खर्च करीब १८२.४ डलर (अमेरिकाको सरदर १००
डलर) प्रति महिना पर्ने देखिन्छ । यहाँ आय कर धेरैमा ९.३ र थोरैमा १.०%
सम्म तिर्नु पर्दछ भने राज्यलाई बिक्रि कर ६% र स्थानिय कर १.२५% तिर्नु पर्दछ । यहाँको एयरपोर्टले सन् २०११ मा ४०.9 मिलियन मानिसलाई ३५ हवाईजहाज कंपनीहरू मार्फत
आवागमनको सेवा प्रदान गरेको देखिन्छ । यहाँ ८५% स्व-रोजगार (साना तथा मध्यम तहका)
कंपनीहरू स्थापित रहेछन् जसलाई यहाँको मध्यम वर्गीय
अर्थव्यवस्थाको मेरुदण्ड भनिँदोरहेछ । यही सहरको नजिकै रेडउड
सिटिमा जेठो छोरो रबी, बुहारी लक्ष्मी र अलि पर सान मटेउमा कान्छो
छोरो वीरु बस्छन् । समय धेरै नभएकोले छोराहरूले
केही छानिएका ठाउँहरूमा घुमाए । ती छानेर घुमेका ठाउँहरू मध्ये पनि छानेर
केही ठाउँका बारेमा उल्लेख गर्न चाहान्छु:
क। शान्ता क्रुजको समुद्री छाल: समुद्रको किनारमा पर्यटकीय आकर्षणको रुपमा
विकास गरिएका सुन्दर ठाउँहरू मध्ये, शान्ता क्रुज सन् १७९१ मा स्पेनी मुलका बासिन्दाहरू
बसोबास गर्न थालेपछि बिस्तारै विकसित भएको, ६२, ८६४ (सन् २०१३ को जन गणना अनुसार) जनसंख्याको
एक सुन्दर ठाउँ रहेछ । १८४६-१८४८ को मेक्सिको-अमेरिकन युद्धपछि सन् १८५० मा
क्यालिफोर्निया अमेरिकाको ३१ औँ राज्य बनेछ र सन् १८६६ मा शान्ता क्रुजलाई पनि क्यालिफोर्नियमा बिलय गराईएछ
जसलाई आप्रिल १८७६ को एउटा बडापत्र मार्फत अमेरिकाको अंगका रुपमा कानुनी रुपमै
व्यवस्थित गरिएछ ।
१९ सौँ साताब्दीमा आएर शान्ता क्रुज Beach
Resort Community का रुपमा विकसित भएको रहेछ । अर्थात ओह्लोन नामक जनजातिहरूको यो बासस्थानलाई स्पेनी उपनिवेशवादीहरूले
१८ रौँ सताब्दीमा कब्जा गरेका रहेछन् । स्पेनीहरूले कब्जा गरेको ५० वर्ष पुग्दा
नपुग्दै ओह्लोन जातीहरूको नामोनिसाना नै सिद्धिएछ, मेटिएछ । यसरी आदिवासी
जनजातिहरू मासेर गोराहरूले यो रमाइलो ठाउँमा आफ्नो सभ्यतालाई बढाएका रहेछन् ।
ख। जंगलभित्रको रेल यात्रा र बास ताल: कान्छो छोरो वीरु, जेठो छोरो रवि र जेठी बुहारी
लक्ष्मी पनि सानफ्रान्सिस्को/रेडवुड सिटीबाट कोर्सगोल्ड आए । भोलिपल्ट सबै
महिलाहरूलाई लिएर माइलो छोरोले किनमेल (Shopping) गर्न लैजाने कुरा भयो । कान्छो छोरो र मलाई किनमेलमा रुचि
नै भएन । त्यसैले हामी योसेमेटी राष्ट्रिय निकुन्ज (जंगल) भित्रको सानो रेल चढेर
जंगल र बास ताल घुम्न जाने भयौँ । कान्छो छोरोले गाडी हाँकिरहेको बेला हामी अमरिकी
जीवनका र केही दार्शनिक पक्षका बारेमा, केही आर्थिक पक्षका बारेम, केही भूगोल र जमीन (Land mass) r त्यसले दिएको Advantage का बारेमा अनि अमेरिकामा हुने गरेको अनुसन्धानहरूका बारेमा
कुराहरू गर्दै अघि बढ्यौँ । योसेमेटी राष्ट्रिय निकुन्जको जंगलभित्रको सानो र ढिलो
हिन्ने रेल छुट्न १० मिनेट मात्र रहेछ ।
टिकट किनेर हामी तैयार भएउटा पहेँलो रेखाले कोरेको सिमामा उभियौँ । समय भएपछि बल्ल सिमा रेखा नाँघेर
रेल चढ्यौँ । रेल हिन्न थाल्यो । कान्छो छोरोले मेरो थुप्रै फोटो खिच्यो । मैले
पनि उसको फोटो खिचिदिएँ । घना जंगल वीचमा रेल किन बनाएको होला? भनेर मैले चासो लिएको थिएँ । त्यहाँ बाँडिएको
सूचना सामग्रीबाट थाहा भयो – धेरै बर्ष पहिले जंगलबाट काठ
काटेर बहिर निकाल्नको लागि रेलको लिख बिच्छ्याईएको रहेछ । काठ बाहिर निकाल्ने
काम सकिएपछि रेललाई के गर्ने त? भनेर छलफल गरेर यसलाई
पर्यटकका निम्ती आकर्षण बनाएर जंगल घुमाउँने भनि यो थालिएको रहेछ । हामी जंगलभित्र
भित्र रेलमै बसेर घुम्दै गयौँ । बिचमा पुगेपछि एक ठाउँ रेल रोकिने रहेछ – शौचालय जान । केही न केहीको थोत्रो रेल
जंगलभित्र घुमाएर पनि पर्यटन चलाएको देखेर मलाई गजब लाग्यो । तेसो त बेलायतमा
सबैभन्दा पहिले रेल उत्पादन गर्ने अहिलेको कारखाना (Swindon मा) पनि अहिले Super market बनेकोछ । जहाँ घुम्न सन् २००९ मा भाइ मैत कुमार लिम्बुले म, श्रीमती हरि, भाइका नानीहरू (छोरी) वृन्दा र (छोरा) सुलोचनलाई
घुमाउँन लगेको थियो ।
जंगलभित्रको रेलमा घुमेर हामी बास ताल गाउँ तिर लाग्यौँ ।
३४१५ फिटको उचाईमा बनेको बास ताल सियेरा राष्ट्रिय निकुञ्जमा करीब २३ किमि फैलिएको रहेछ । बास ताल
गाउँको स्थानिय जनसंख्या (२०१० अनुसार) जम्मा ५२७ रहेको यो ताललाई पर्यटकीय
आकर्षणका रुपमा १८९५ देखिनै विकसित गरिएको रहेछ । खासमा यो मध्य क्यालिफोर्नियाको
निम्ती पहिलो जलबिद्युत आयोजना निर्माण गर्दा जमेको ताल रहेछ ।
ताल वरिपरि बसोबास गर्नेहरू मध्ये ९५.४% गोरा; ०.२% अफ्रिकन अमेरिकन; १.९%
नेटीभ अमेरिकन; ०.२%
ऐशियन; ०.४%
अन्य जात; ४.२%
हिस्प्यानिक वा लेटिन रहेछन् । जसमा ५०.२%
महिला-पुरुष बिबाहित र वच्चा सहित, ६.९% एकल महिला, ३.३% एकल परुष, ५.८% महिला-महिला वा पुरूष-पुरुष यौन साथी (Partnership) र १ परिवारको औसत २.३५ रहेकोछ । यहाँका बासिन्दाको आयस्रोत पर्यटन
मात्र रहेछ । अमेरिकाको जनसंख्यालाई "एकल महिला", "एकल पुरुष",
"यौन
साथी (Partnership)" समेतमा छुट्याएर तथ्यांक राक्ने तरिका नयाँ लाग्यो । नेपालमा
कहिले यस किसिमले तथ्यांक
राखिएला र समाजमा विकसित हुँदै गरेका नयाँ सामजिक समुहहरूको
समस्यालाई फरक किसिमले संबोधन गरिएला? अहिले सम्म पनि "महिला",
"दलित", "जनजाती",
"दुर्गमवासी"लाई
समेत नेपाल सरकारले "शव्द"मा मात्र Delineation गरेको जस्तोछ । तिनको विकासका निम्ती विशेष कार्यक्रम-प्रोत्साहन
केही गरेकोछैन । तिनको विकास नभएपछि कर तिर्ने क्षमता कमजोर हुन्छ र कमजोर Revenue based भए सरकार चलाउँने खर्च जुट्दैन भन्ने कुरा बुझेर सोही अनुसार पचि
परेका नागरिकलाई समेतलाई उच्च कर तिर्न सक्षम बनाएर काम गर्ने सरकार कहिले बन्ला?
एउटा सानो तालले पनि पर्यटन-उद्योग कसरी चल्छ भन्ने कुरा
पोखराको फेवा ताल, रारा ताल, बेगनास तालहरू देखेरै मैले
बुझेको थिएँ । यहाँ पनि बिजुली निकाल्नको निम्ती थुनिएको पानीको तालले धेरै
मानिसलाई स्वच्छ-सफा वतास फोक्सोको निम्ती र सुन्दर दृश्य आँखाको खपतका निम्ती सृजना भएकोले मानिस घुम्न, पिकनिक खान, बोटमा शयर गर्न र अनेक
किसिमका मनोरन्जन गर्न बालबच्चा समेत लिएर वा गर्लफ्रेण्ड-बोइफ्रेण्ड एकान्त
खोज्दै आउँदा रहेछन् । तेसो त लस एन्जलस या सान फ्रान्सिस्कोबाट योसेमेटी सम्मको प्याकेज
टुरमा आउँनेहरूको निम्ती पनि यो पस्ने-खाने-जाने वा पस्ने-बस्ने-खाने-जाने रुटका रुपमा ट्राभल एजेन्सीहरूले प्याकेजभित्र पारेर ‘सेल’ गर्दा रहेछन् जसलेगर्दा यहाँका होटलहरूको आम्दामी करीव करीव
निश्चित हुँदोरहेछ भने पर्यटकहरूलाई ‘हाई वे’बाट ‘डिटुर’ गरेर भित्र ल्याईदिए बापत ट्राभल एजेन्सीहरूले पनि
कमिशन पाएर दंग । अर्थात You scratch my back, I scratch your back. Nothing is free भन्ने सिद्धान्तमा त चल्ने हो पर्यटन व्यवसाय ।
ग। नापा उपत्यकामा पिकनिक: सन पाब्लो बेको उत्तरतिर अवस्थित यो उपत्यका
क्यालिफोर्नियाका पुराना र उत्तरी बे काउण्टीहरू मध्ये एउटा रहेछ जुन अहिले
आलामेडा काउन्टीमा पर्दोरहेछ । यहाँ धेरै कृषि उत्पादनका साथै प्रसस्त अंगुरको
खेती पनि हुने भएकोले वाईन उद्योगहरू स्थापित-संचालित रहेछन् । म, कहिले काहीँ एक विर्को वाईन खाने श्रीमती हरि, बुहारीहरू र छोराहरू समेत (ह्विस्की भन्दा) रेड
वाईन खाने भएकोले छोरा-बुहारीहरुले म र श्रीमती हरिको निम्ती विशेष “ट्रीट”का रुपमा आयोजना गरेका थिए यो पिकनिक । हामी एउटा वाइन उत्पादन
गर्ने उद्योगको बगैँचे-कम्पाउण्डमा पिकनिक खान पस्यौँ । बुहारीहरू लक्ष्मी र
ज्यास्मीनले मेरो
लागी, श्रमती हरिको निम्ती, उनीहरूका निम्ती, नानु जेनेट र नाओमीका निम्ती छानी-छानी किनेका खाने कुरा
र छोराहरूले "बुवालाई क्यालिफोर्नियाको ड्राई रेड वाईन" भन्दै सुपर
स्टोरमा किनेको खाने कुराहरू एउटा भव्य रातो गुलाफको बगैँचा नजिक
पारेर राखिएको टेबल-कुर्सीमा बसेर पिकनिक खाइयो । स्थानीय वाईनको बिक्री होस् भनेर
पिकनिक खान मिल्ने गरी सुन्दर बगैँचाहरुमा टेबल कुर्सी राखिदिएका रहेछन् ।
अग्ला-अग्ला रुखका छहारी समेत भएकोले शितल पनि । कस्तो गजबको वाइन वेच्ने काइदा (Selling
strategy) । यो उपत्यकामा वाईनको ईतिहास लामो रहेछ । प्रागऐतासिक
समयमा यहाँ ‘पतविन’ नामक अमेरिकन जनजातीहरू
बसोबास गर्दा रहेछन् । यस उपत्यकाको उत्तर-पश्चिममा ‘वापु’ नामक जनजातिले पनि बसोबास गरेको हुनु पर्छ
भन्ने गरिन्छ । तेतिखेर कन्दमुल, मकै, स-साना जंगली जनावर, गड्यौँला, फटेङ्ग्रा खाएर मानिसहरूले
गुजारा गरेको देखिन्छ । जाडोको बेला रुखका हाँगा र पातका स्याउलाले छाप्रोमा र
गर्मी याममा नदी किनारतिर मानिसहरू बसोबास गर्ने गर्दथे भनिन्छ ।
सन् १७७६ मा स्पेनी गभर्नर फेलिप्पे डे नेभेले नापाको
उत्तरपश्चिममा एउटा सैनिक किल्ला (Fort) खडा गरेको देखिन्छ । १९ सौँ सताब्दीको सुरुमा
रसियालीहरू आएर गाइबस्तु र भेडा पालन गरेको देखिन्छ । गोरा उपनिवेशवादीहरु नापा
उपत्यकामा पस्न अघि यहाँ ६ किसिमका जनजातिहरु (मायाकोमोस, काल्लयोमान्स, किमस, नापा, उल्कस र सोस्कोल) बस्दथे र
उनीहरू फरक फरक भाषा बोल्दथे । सन् १८३८ को बिफर रोगको महामारीले धेरै जनजाति सखाप
भए । उपनिवेशवादीले पनि बस्तुभाउ चोरेको आरोपमा जनजातिलेई मार्ने काम गरे । सन्
१८३६ देखि १८४६ को बेला क्यालिफर्निया मेक्सिकोको स्वतन्त्र प्रान्त बनेपछि नै 'नापा काउण्टी' पनि बन्यो । जर्ज सि योन्ट
सबैभन्दा पहिलो विदेशी हुन् जसले सबैभन्दा पहिले नापा उपत्यकामा हालीमुहाली गर्न थाले । उनैले १८३६ पछि काठको मील, अन्न कुट्ने-पिस्ने मील स्थापित गरे र अंगुरको
खेती समेत थाले । १८६५ मा उनको मृत्यु पछि "योन्टभिल्ले" सहरको नाम उनकै
सम्झनामा राखिएको नाम हो जुन अहिले पनि कायमै छ ।
पिकनिक खाएर फर्कँदा, साँझमा, सान फ्रान्सिस्कोको टुरिष्ट क्षेत्रमा घुम्न
पसियो जहाँ सासु-बुहारीहरूले अनेक सामान किन्दै उपहार लेनदेन गरे । जेठो छोरोले
मलाई एउटा न्यानो ज्याकेट किनिदियो । मेरी श्रीमती हरिको नयाँ ठाउँबाट 'कप संकलन' गर्ने बानी अनुसार एउटा कप
किनिन् जसमा लेखिएको थियो – "SAN FRANSISCO WAS SO EXPEN$VE I COULD ONLY AFFORD HALF A CUP" यो कपको बनावट पनि
आधा मात्र थियो ।
घ। अजङगको सकाया (Sequoia) वृक्ष: एक दिन छोरो द्रोणले सन्सारको सबैभन्दा ठूलो
रूख देखाउँन लैजान्छु भनेर हामी बुढ-बुढीलाई लग्यो । यो रुख सेइरा-नभाडा पर्वत
सृङखलाको ६००० फिट उचाइमा उम्रने र सन्सारकै धेरै लामो आयु बाँच्ने रहेछ
। धेरै अग्ला र पुराना रुखहरू बोक्रा सुक्खा भइसकेपनि उभिएका देखिए । यहाँ
अजंङ्गको सकाय रुख हुने, मारिपोसा, मर्सिड र टउल्मोने, तीनवटा ठाउँ रहेछन् । जसमध्ये मारिपोसा
सबैभन्दा ठूलो रहेछ जहाँ ५०० अजंङगका सकाय रुख रहेछन् । यी रुखहरू ५० देखि ८५
मिटरसम्म अग्ला हुनेरहेछन् । जसमा अहिलेसम्मको सबैभन्दा अग्लो ९३.६ मिटरसम्म अग्लो भएको रेकर्ड रहेछ । अहिलेसम्म
सबैभन्दा बुढो सकाया ३ हजार २०० वर्ष उमेर सम्मको रेकर्ड रहेछ । यी अग्ला अग्ला र
धेरै बर्ष बाँचेका, कोही खडा र कुनै लडिराखेका रुखहरू देखाएर पनि
पर्यटक ल्याउँने गरिएको रहेछ । तेसको निम्ती मोटर चल्ने पीच बाटो नजिकै सम्म पुर्याएर वर्षमा लाखौँ पर्यटक ल्याउँने
गरिएकोरहेछ ।
यसरी अमेरिकाको केही सुन्दर ठाउँहरूमा घुम्दा मैले पढेको
कवियत्री एमिली डिकेन्सनलाई पनि सम्झेँ जसलाई म यहाँ
उल्लेख गर्न चाहन्छु ;
[1] Salish: are a group of ethnically and linguistically
related Indigenous peoples of the Pacific Northwest Coast,
living in British Columbia, Canada and
the states of Washington and Oregon in
the United States, who
speak one of the Coast Salish languages. According
to a 2013 estimate, population of Coast Salish numbers at least 56,590 people,
made up of 28,406 Status Indians registered to Coast
Salish bands in British Columbia, and 28,284 enrolled members of Coast Salish
Tribes in Washington State.
[2] Coyote: American Indian Legend, regarded as a cultural hero and
trickster by American Indian tribes of the West.
[4] Navajo: A
principle tribe of the southern division of the Alaskan stock of North American
Indians, located in New Mexico and Arizona, and now constituting the largest
tribal group in the U. S.
[5] Changing: Navajo Legend- Changing Woman who grows old and young with
the seasons. She represents the power of the earth and of women to create and
sustain life. Other Holy Women stand at the four directions: in the East is
Earth Woman, in the South is Mountain Woman, in the West is Water Woman, and in
the North is Corn Woman.
[6] Penobscot: North American Indian people of the Penobscot River valley. The
speak dialect of Abenaki.
[7] Kloskurbeh: A creator-god of the Hopi in North American mythology. A youth was
created from this god's breath and lore was created from one of his tears.
These two mated to produce the first humans.
[8] Salish: are a group of ethnically and linguistically
related Indigenous peoples of the Pacific Northwest Coast,
living in British Columbia, Canada and
the states of Washington and Oregon in
the United States, who
speak one of the Coast Salish languages.
[10] Navajo: A
principle tribe of the southern division of the Alaskan stock of North American
Indians, located in New Mexico and Arizona, and now constituting the largest
tribal group in the U. S.
[11] Penobscot: North American Indian people of the Penobscot River valley. The
speak dialect of Abenaki.
No comments:
Post a Comment